• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
अरुण गुप्तो
२०७७ असार २७ शनिबार ०८:१४:००
इतिहास

दक्षिण एसियाली लोकतन्त्रका तीन पिलर : गान्धी, पाकिस्तानी आन्दोलन र जनयुद्ध

‘सुन्नोस् अब, सुनिदिनोस् ! संसारमा सुन दिने मानिस पाउन सजिलो छ, सुनिदिने मानिस पाउन गाह्रो, साह्रै गाह्रो !’

२०७७ असार २७ शनिबार ०८:१४:००
अरुण गुप्तो

कला र डेमोक्रेसी

 

डेमोक्रेसीको बहस राजनीतिशास्त्रको दृष्टिकोणबाट मात्रै हुनुपर्छ भन्ने ठानिन्छ । तर, डेमोक्रेसी एउटा बृहत् सोचाइ हो । त्यसैले डेमोक्रेसीलाई कलासँग पनि जोडेर हेर्नुपर्छ । कलाको संवेदनशीलताले कुनै देशको प्रजातान्त्रिक अभ्यासहरूमा कसरी परिवर्तन ल्याउँछ भन्ने हेरिनु जरुरी छ । 

 

कलात्मक संवेदनशीलताको उदाहरणका लागि मल्लकालीन कलाहरू हेर्न सक्छौँ । मल्लकालीन कलाले त्यसवेला एक किसिमको परिस्थिति सिर्जना गरेको थियो । कलाका उदाहरणका रूपमा मन्दिरहरू, अनुष्ठानहरू, पेन्टिङहरूलाई लिन सकिन्छ । यी स्थान धार्मिक स्थल मात्रै थिएनन् र अहिले पनि होइनन्, यी स्थलहरू ‘सेक्युलर स्पेस’ पनि हुन् । मुक्त क्षेत्र पनि हुन् । उदाहरणका लागि ती स्थानहरूमध्ये हनुमान ढोकालाई लिन सकिन्छ ।

 

हनुमान ढोकाले अहिलेसम्म पनि हाम्रो मनस्थितिमा कसरी काम गर्छ त्यो हेर्नुपर्छ । हनुमान ढोकामा परेड, अनुष्ठान, पर्व, जात्रा भइरहेको हुन्छ, सँगै मानिसमा कुतूहलता पनि हुन्छ । काठमाडौंमा यस्ता थुप्रै स्थान छन्, जसले धार्मिक परिस्थिति मात्रै देखाएको छैन । धार्मिक अनुष्ठानसँगै धेरै कुरा देखाइरहेको छ । यस्ता गतिविधि हुने स्थान हाम्रो समाजको मुख्य धाराको ‘माइक्रो कोजम’ (सूक्ष्म जगत) हो । यी स्थानले हामी कति राजनीति र कलामा मुक्त छौँ भन्ने देखाउँछ । 

 

हनुमान ढोका, न्यातापोलजस्ता स्थल नेपालमा प्रशस्त छन् । यस्ता स्थान धेरै हुनु भनेको हामी मुक्त छौँ, एकअर्काको सोचाइलाई इज्जत गर्छौं भन्ने उदाहरण हो । त्यही स्थानहरूमा धार्मिक क्रियाकलाप मात्रै होइन, राजनीतिदेखि व्यापारसम्मका, कानुनदेखि मनोरञ्जन र सिर्जनासम्मका कुरा हुन्छ । त्यसैले नेपालका धार्मिकस्थलहरू समाजका ‘माइक्रो कोजम’ हो । स्वयम्भू, बौद्धनाथ, पशुपति यी धार्मिक स्थल मात्रै होइनन्, यी स्थानमा डेमोक्रेसीको संवेदनशीलताको अभ्यास देखिन्छ । यस्तो हुनु अलगावको परिस्थिति होइन, एकता र सम्मिश्रणको स्थिति हो । यस्तो सम्मिश्रण दरबारस्वायरजस्ता ठाउँमा पनि देखिन्छ । यो आर्टिटेक्चरले हाम्रो प्रजातान्त्रिक मनोवृत्तिलाई देखाउँछ । कसैले भन्ला, ‘यो त डेमोक्रेसीको परिभाषा होइन ।’

 

डेमोक्रेसीको परिभाषामा चुनाव मात्रै हुँदैन, राजनीतिशास्त्रको परिभाषामा मात्रै सीमित हुँदैन डेमोक्रेसी, यसमा कलाको पनि सम्मिश्रण पनि हुन्छ । सबै परिभाषा पश्चिमबाट मात्रै सिक्नुपर्छ भन्ने जरुरी छैन । पश्चिमले डेमोक्रेसीको क्षेत्रमा दार्शनिक तहदेखि प्रशासनिक तहसम्म धेरै काम गरेको छ । तर, हामीले हाम्रै अनुकूलतामा पनि डेमाक्रेसीको परिभाषा खोज्नुपर्छ । माथिका उदाहरणहरूबाट प्रस्ट हुन सक्छ कि, हामीले डेमोक्रेसीको लामो समयदेखि अन्तरीकरण (इन्टरनलाइजेसन) गरेका छौँ । 

 

डेमोक्रेसीको परम्परागत परिभाषाहरूभन्दा हामीले त्यसलाई कसरी अन्तरीकरण गरेका छौँ त्यो हेर्नुपर्छ । चुनावी प्रक्रिया चलिरहन्छ । कुनै शासक, प्रशासकले दमन गर्न सक्छ । तर, डेमोक्रेसीलाई मान्छेले चिन्तन र व्यवहारमा कसरी अन्तरीकरण गरिरहेको छ, त्यो ठूलो कुरा हो । त्यो अन्तरीकरण कला साहित्य र सामाजिक व्यवहारको संवेदनशीलताबाट आउँछ ।

 

डेमोक्रेसीलाई बाधा 

 

संसारभरिको राजनीतिक परिदृश्य हेर्दा डेमोक्रेसीलाई खतरामा ल्याउने दुईवटा पक्ष देखिन्छ । पहिलो, लामो समयसम्म शासन गरिरहने मोह । दोस्रो, विज्ञानलाई अस्वीकार गर्ने चिन्तन । जनताको समर्थन लिएर जनतामाथि नै आजीवन शासन गरिरहने चाहना शासकमा देखिन्छ । दक्षिण एसिया, एसिया, युरोप, अमेरिका, दक्षिण अमेरिका जता पनि यो महत्वाकांक्षा हिजोआज देखिएको छ । फरक यति छ कि पहिलाका निरंकुश शासकहरू चुनावी प्रक्रियामा सामेल हुँदैन थिए, अहिलेका शासकहरू चुनावी प्रक्रियामा सामेल भएजस्तो गर्छन् । एक कार्यकालभन्दा बढी शासन गर्ने चाहनाले निरंकुशतातिर लैजान्छ । धेरै समयसम्म राज गर्छु भन्ने चाहना नै डिक्टेटर बन्ने मनोकांक्षा हो । 

 

यिनीहरूले डिक्टेटरसिप लागू गर्ने हतियारका रूपमा कतै ‘गोराहरू मात्रैको राष्ट्र’ भनिरहेका छन् । कतै ‘हिन्दूहरूको मात्रै राष्ट्र’ भनिरहेका छन् । कतै ‘एउटै मात्र विचारधाराको राष्ट्र’ पनि भनिरहेका छन् । यी सबै साधारण मानिसमाथि लामो समय शासन गर्ने इच्छा हो । निरंकुश बन्ने यस्तो अचम्मको मोह २१औँ शताब्दीमा डेमोक्रेसीको अभ्यास गरिरहेका देशका नेतामा देखिएको छ । यस्तो मोह विकसित राष्ट्रहरूमा पनि देखिएको छ । यसले डेमोक्रेसीको मर्ममा आघात पु¥याउँछ । यो एक किसिमको नव–निरंकुशताको चाहना हो । 

 

शासन गर्नेहरूले अपनाएको अर्को घातक प्रवृत्ति हो विज्ञानलाई अस्वीकार गर्नु । यो प्रवृत्तिले पनि डेमोक्रेसीलाई बाधा पुगिरहेको छ । शासकहरूको मुख्य शत्रुमध्ये एउटा विज्ञान पनि बनिरहेको छ । ग्लोबल वार्मिङ झुट कुरा हो भन्नु यसको एउटा उदाहरण हो । युरोपको डेमोक्रेसीको पछाडि विज्ञानको ठूलो देन छ । १७औँ शताब्दीको अन्त्य र १८औँ शताब्दीको सुरुवाती समय जसलाई ‘इनलाइटेनमेन्ट’को समय भनिन्छ त्यसवेला युरोपको डेमोक्रेसीले विज्ञानलाई साथमा लिएर प्रगतिको बाटोमा अघि लागेको थियो ।

 

युरोपको इनलाइटेनमेन्टको मुख्य तत्व नै थियो विज्ञान । प्रशासनमा विज्ञान, धर्ममा विज्ञान, व्यवहारमा विज्ञान, दर्शनमा विज्ञान थियो, उनीहरूको । त्यही जगमा टेकेर युरोप अगाडि बढ्यो । २०औँ शताब्दीसम्म पनि त्यसको प्रभाव देखिन्छ । औद्योगीकरण र पुँजीवादको विकास विज्ञानकै आडमा भएको थियो । विज्ञानको लागि विज्ञान होइन, सही व्यवहारको विज्ञान बन्यो । व्यवहारमा, प्रशासनमा, समाजशास्त्रीय सोचाइमा हरेक क्षेत्रमा विज्ञान लागू गरे । 

दक्षिण एसियाको पछिल्लो ५०, ६० वर्षको इतिहास हेर्ने हो भने डेमोक्रेसीको क्षेत्रमा निकै महत्वपूर्ण घटना भए । ती महत्वपूर्ण घटनामध्ये मुख्यतः तीनवटा देखिन्छ । पहिलो, महात्मा गान्धीको विचार, दोस्रो, पाकिस्तानी जनताले गरेका आन्दोलनहरू र तेस्रो नेपाली जनयुद्ध ।

 

२१औँ शताब्दीको सुरुवाती चरणमा आइपुग्दा विश्वभरि नै विज्ञानलाई मन नपराउने ठुल्ठूला नेताहरू देखिए । नेपालमा पनि विज्ञानलाई बेवास्ता गरेका कैयौँ ज्वलन्त उदाहरण छन् । पर्यावरणीय समस्यालाई नजरअन्दाज गरेर एकोहोरो प्रगति भन्दै अगाडि बढ्यो भने वास्तविक प्रगति ढिलो भइदिन्छ । यी दुई ठूला बाधा अहिले संसारैभरि देखिन्छ, जसले डेमोक्रेसीलाई संकटमा लैजाँदै छ । 

 

विचार गर्नुपर्ने अर्को पक्ष के छ भने जब नेताहरूले संविधानलाई नै आफ्नो अनुकूलतामा फेर्न थाल्छन् त्यहीँबाट डेमोक्रेसी कमजोर हुन थाल्छ । निरंशुक बन्न चाहने साशकहरूले सबैभन्दा पहिला संविधानलाई आफ्नो अनुकूलतामा फेरिदिन्छन् । ठूलाठूला सन्धिहरू नकार्छन् । एउटा ज्वलन्त उदाहरण, शासकहरू संसारका वातावरणसँग सम्बन्धित सन्धिहरूबाट पन्छिने उपाय खोजिरहेका छन् । विज्ञानलाई गलत ठह-याएर संविधानलाई धक्का दिने काम गरिरहेका छन् । यस्ता कामहरूले पनि डेमोक्रेसीलाई कमजोर बनाउँछ ।

 

विज्ञान आफ्नो पद्धतिलाई समेत आलोचना गर्दै अगाडि बढिरहन्छ । विज्ञानले ‘फिक्स’ होइन ‘फङ्सनल’लाई मान्छ । विज्ञानले कुनै पनि वस्तु परिवर्तनशील छ भन्ने मान्छ । विज्ञानले आफ्ना अवगुणलाई तुरुन्तै स्विकारेर नयाँ पद्धतिमा अघि बढिहाल्छ । यो विज्ञानको गुण हो । यसको विपरीत शासकहरू राष्ट्रवाद र धर्म नै सबैभन्दा ठूलो हो भनिरहेका छन् । यो कुरा समस्याग्रस्त छ । राष्ट्रवाद र धर्मका केही अवगुण छन् । जहाँ राष्ट्रवाद हाबी हुन्छ, त्यहाँ विज्ञान शत्रु देखिन्छ । जहाँ धर्म हाबी देखिन्छ, त्यहाँ विज्ञान शत्रु भएको देखिन्छ । दक्षिण एसियादेखि अमेरिकासम्म यही देखिएको छ । त्यसैले विज्ञानको त्यो गुणलाई धर्म र राष्ट्रवादजस्ता ‘ग्रान्ड न्यारेटिभ’मा राख्नुपर्छ । 

 

राष्ट्रवाद र धर्मका ठूलाठूला गुरुहरू छन् । तर, विज्ञानमा कुनै विश्वव्यापी निरंकुश गुरु छैन । अरू विकसित विचारधारामा विज्ञानको यो गुण पाइँदैन । धर्मले आफूलाई धेरै परिवर्तन गर्न थाल्यो आफ्नो आधार कमजोर हुन्छ । राष्ट्रवादको पनि यस्तै छ । 

 

यति हुँदाहुँदै पनि नेपालको प्रजातान्त्रिक प्रवृत्ति अरू राष्ट्रहरूको भन्दा तुलनात्मक रूपमा राम्रो छ । असहिष्णु मिडियाजगत् बाहिरी देशहरूमा धेरै छ, नेपालमा त्यति छैन । नेपालका शासकहरूमा अनन्तकालसम्म शासन गर्छु भन्ने चाहना त्यति देखिँदैन । पछि अरू शक्तिशाली देशहरूको प्रभाव नेपालमा पनि पर्न सक्छ । सानो देशहरूको मन प्रजातान्त्रिक हुने गरेको उदाहरण पनि छ । त्यसैले पनि नेपालमा यस्तो देखिएको हुन सक्छ । सिंगापुर पनि सानो राष्ट्र हो । त्यो देश प्रजातान्त्रिक नै छ । ठूला राष्ट्रहरूमा घमण्डीपन छ । साना देशहरूमा शान्तभाव देखिन्छ । यसरी हेर्दा नेपालीमा प्रजातान्त्रिक संवेशनशीलता देखिन्छ । 

 

दक्षिण एसियामा डेमोक्रेसी 

 

दक्षिण एसियाको पछिल्लो ५०, ६० वर्षको इतिहास हेर्ने हो भने डेमोक्रेसीको क्षेत्रमा निकै महत्वपूर्ण घटनाहरू भए । यसका महत्वपूर्ण पक्षहरू केही दक्षिण एसियाली देशहरूको आपसी टकरावका कारण अगाडि आउन सकेको छैन । डेमोक्रेसीको क्षेत्रमा दक्षिण एसियामा भएको महत्वपूर्ण कामहरूमध्ये मुख्यतः तीनवटा पक्ष देखिन्छ । पहिलो, महात्मा गान्धीको विचार, दोस्रो, नेपाली जनयुद्ध, तेस्रो, पाकिस्तानी जनताले गरेका आन्दोलनहरू । 

 

दक्षिण एसियाली देशहरू डेमोक्रेसीको बाटोमा लाग्नुमा गान्धीको महत्वपूर्ण हात छ । गान्धी विचारको क्षेत्रीय प्रभाव छ । दक्षिण एसियाली देशहरू क्रान्तिबाट मात्रै गुज्रनुपरेको भए निरंकुश शासक हामीले सहनुपथ्र्यो होला । गान्धी विचारको नेपालसँग सीधा सम्बन्ध छैन । तर, गान्धीले मानिसको आवेगलाई शान्त बनाउन एक किसिमले भूमिका खेलेका छन् । यो सैद्धान्तिक रूपमा सोच्नुपर्ने कुरा हो । मलाई लाग्छ, नेपालको जनयुद्ध डेमोक्रेसीको बाटोमा आउनुमा गान्धीरुपी अन्तरीकरण जिम्मेवार छ । अप्रत्यक्ष रूपमा माओवादीहरूमा गान्धीको प्रभाव हुन सक्छ, यद्यपि यो पक्ष प्रमाणित गर्न सकिँदैन । किनकि दक्षिण एसियाली मानिसको पछाडि गान्धीको विशाल व्यक्तित्व उभिरहेको छ । त्यसलाई बिर्सन खोजेर पनि सकिँदैन । सकारात्मक अर्थमा गान्धीको ‘भूत’ हाम्रो पछाडि उभिरहेको छ ।

 

अर्को उदारहण पाकिस्तानको हो । पाकिस्तानी जनताले पछिल्लो ५० वर्षमा तीनपटकसम्म निरंकुश शासकलाई गद्दीबाट खसालेर डेमोक्रेसीको बाटोमा अघि बढ्ने कोसिस गरेका छन् । दुखद पक्ष, पाकिस्तानी जनताले गरेको त्यो क्रान्तिका बारेमा आज कसैले बोल्दैन, कतै चर्चा भएको सुनिँदैन । पाकिस्तान भन्नेबित्तिकै तालिवान र लस्करेतोयबाको चित्र मात्रै मानिसको दिमागमा आउँछ । क्रान्तिद्वारा शासकलाई हटाएर डेमोक्रेटिक प्रक्रियामा देशलाई लैजान पाकिस्तानीले पटकपटक कोसिस गरेका छन् । अहिले पनि इमरान खानलाई अघि ल्याएका छन् । यो ठूलो सैद्धान्तिक विषयबारे कतै चर्चा हुँदैन । 

 

दक्षिण एसियाली मानिसको पछाडि गान्धीको विशाल व्यक्तित्व उभिरहेको छ । त्यसलाई बिर्सन खोजेर पनि सकिँदैन । सकारात्मक अर्थमा गान्धीको ‘भूत’ हाम्रो पछाडि उभिरहेको छ ।

 

तेस्रो पक्ष नेपालमा भएको जनयुद्ध हो । यो सफल हो कि असफल हो ? त्यो बेग्लै कुरा हो । तर, जनयुद्धको सैद्धान्तीकरण हुनुपथ्र्यो । युद्धबाट डेमोक्रेसीको बाटोमा आएको माओवादीले नेपालको राजनीतिमा सहभागितामूलक व्यवस्था लागू गर्न धेरै महत्वपूर्ण भूमिका खेल्यो । अमेरिकन रेभ्युलुसनपछि ‘फर द पिपुल’ भनेर जनतालाई ‘फोकस’ गरियो । त्यो ऐतिहासिक शिक्षा थियो । त्यो शिक्षा फ्रेन्च रेभ्युलुसन र माओइस्ट रेभ्युलुसनबाट पनि पायौँ । यी तीन रेभ्युलुसनबाट हामीले ऐतिहासिक शिक्षा पाएका छौँ । यी रेभ्युलुसनहरू डेमोक्रेसीतिर अगाडि बढ्ने ठूला घटनाहरू हुन् । अमेरिकन रेभ्युसुलन, फ्रेन्च रेभ्युसुलन, रसियन रेभ्युसुलन, चिनियाँ रेभ्युसुलन ग्लोबलाइज भयो, तर नेपालको माओइस्ट रेभ्युलुसन ग्लोबलाइज हुन सकेन ।

 

नेपालमा भएको जनयुद्धलाई त्यति सैद्धान्तीकरण गरिएको छैन । भारतीय विद्वान आशिष नन्दी भन्छन्, ‘माओवादीहरू डेमोक्र्याटिक बाटोमा आउनु ठूलो परिवर्तन थियो ।’ तर, नेपालका विद्वानहरूले जनयुद्धलाई सैद्धान्तीकरण गरेनन् । नन्दी भन्छन्, ‘जबसम्म कुनै घटनालाई सैद्धान्तीकरण गर्न सकिँदैन, तबसम्म त्यो घटना विश्वव्यापी हुन सक्दैन ।’ माओवादी जनयुद्धलाई सैद्धान्तीकरण नगरिएको हुनाले विश्वव्यापी हुन सकेन । 

 

संसारभरिका माओवादीहरू अनन्तसम्म लडिरहन्छु भन्ने मात्रै देखिए । दक्षिण अमेरिकातिर त्यस्तै छ । उनीहरू बानी नै भइसकेका छन् । लडिरहनु पनि एउटा स्वार्थ हो । जनताका लागि लडिरहनु सजिलो छ, तर त्यही जनतालाई शासन गर्न गाह्रो छ । तर, नेपालको माओवादीले त्यसो गरेनन् । उनीहरू प्रजातान्त्रिक संवेदनशीलताले गर्दा डेमोक्रेसीको बाटोमा फर्किए । नन्दी भन्छन्, ‘माओवादीहरू जनयुद्धबाट प्रजातन्त्रमा फर्किनु निकै ठूलो परिवर्तन हो ।’ यही विषयलाई हामीले सैद्धान्तीकरण गर्नुपथ्र्यो, गर्न सकेनौँ । 

 

दक्षिण एसियामा अरू पनि घटना छन्, तर यी तीन घटना महत्वपूर्ण छन् । सन् १९७१ मा बंगलादेशमा भएको रेभ्युलुसन पनि बिर्सन नहुने घटना हो । जनताबाट सिर्जित यी महत्वपूर्ण घटनाहरूबारे हामी कम चर्चा गर्छौं । यी रेभ्युसुलनहरू पश्चिमी डेमोक्रेसीको अध्ययन गरेर त्यस्तै ल्याउनुपर्छ भनेर सुरु गरिएको थिएन । यी घटना दक्षिण एसियाका पिलरहरू हुन् । 

 

वामपन्थी र फेमिनिजम संवेदनशीलता 

 

वामपन्थी संवेदनशीलताले डेमोक्रेसीलाई सघाउँछ । मान्छेको पीडादायक परिस्थितिबाट त्यो संवेदनशीलताबाट आउँछ । त्यस्तै फेमिनिजम एउटा लक्षण हो, डेमोक्रेसीलाई अन्तरीकरण गर्ने एउटा गुण हो । उत्तरउपनिवेशवाद, नारीवाद, माक्र्सवाद, कला यिनीहरूले मानिसलाई संवेदनशील बनाउँछ । किनकि यी विचारहरूले सीमान्तकृत समुदाय र मानिसको कुरा गर्छ, दमनमा परेका मानिसको कुरा गर्छ । त्यो संवेदनशीलता प्रजातान्त्रिक हुन जान्छ । संवेदनशील हुनु भनेको ‘गुड सिटिजन’ पनि हुनु हो । गुड सिटिजनले नैतिक व्यवहार गर्छ । ऊ जिम्मेवार हुन्छ । त्यो जिम्मेवार व्यक्ति नै डेमोक्रेसीका लागि सहयोगी बन्छ । त्यही भएर डेमोक्रेसीमा कला महत्वपूर्ण छ । 

 

प्रजातान्त्रिक परिपाटीमा एक–अर्काको सुनिदिने व्यवहार गौतम बुद्धले आत्मसात् गरेको संवेदनशीलताजस्तो हो । बालकृष्ण समको ‘प्रेमपिण्ड’ मा प्रद्युम्नले नाटकको सुरुमा सुनिदिने संवेदनशीलताको आह्वान गर्छन् । उनी आफ्ना साथीहरूलाई भन्छन्, ‘आँसुजस्तो अमूल्य वस्तु पनि चाहिँदैन, पैसाजस्तो मूल्य वस्तु पनि चाहिँदैन- अलिकति शारीरिक मानवशक्ति भए पुग्छ, गुन दिनाले बल बढ्छ । सुन्नोस् अब, सुनिदिनोस् !

 

संसारमा सुन दिने मानिस पाउन सजिलो छ, सुनिदिने मानिस पाउन गाह्रो, साह्रै गाह्रो ! बाटोमा माग्ने दुःखीको कुरा बुद्धले सुनेजस्तै को सुन्छ, हामी त बरु एक–दुई पैसा वा रुपैयाँ दिएर पनि पक्षीजस्तै पन्छेर भाग्छौँ, त्यसको इतिहास को सुनिदिन्छ ? आँखा झिमझिम गर्छ त्यसैले त्यो देख्न सक्छ, कान झिमझिम गर्दैन त्यसैले होला त्यो कम देख्छ– हृदयको पुकार देख्नुपर्ने कानैले हो, कानद्वारा हृदयले । आँखा त झुत्रो फ्याङ्लो देख्छ, हेर्छ; त्यसलाई दीन सम्झन्छ, दिन्न ।’

 

इतिहास देख्ने क्षमताभन्दा पनि बुद्धजस्तो सुन्ने धैर्य छ भने गायत्री स्पिभाकले लेख्थिन् होला, ‘सबाल्र्टनले बोल्न सक्छ । प्रजातान्त्रिक अभ्यासमा आघात सबाल्र्टनले नै बोलेको, उसले भनेको कथा सुनिदिने मान्छे पाउन गाह्रो छ । हेरेर पैसा फ्याँकेर होइन, प्रजातान्त्रिक परीपाटीमा सुनिदिने कान चाहिन्छ । नेताहरूको कान ठूलो भयो भने सुनिदिने प्रद्युम्न आह्वान प्रासंगिक हुन्छ ।