• वि.सं २०८१ मङ्सिर २ आइतबार
  • Sunday, 17 November, 2024
डा. महेशराज पन्त काठमाडौं
२०७५ चैत २३ शनिबार ०७:१८:००
इतिहास

नयराजको नछापिएको टिपोट : पिताजीको डायरी पल्टाउँदा...

२०७५ चैत २३ शनिबार ०७:१८:००
डा. महेशराज पन्त काठमाडौं

खास गरी सत्री अर्थात् विद्वान्को रूपमा हिँडेका राजकाजी मान्छे, बन्दी अर्थात् भाट, नागरक अर्थात् कुनै खतरा नमोली भलादमी पाराले जीवन बिताउने र घोषवृद्ध अर्थात् आफ्नो घरपरिवारको विषयवस्तु नै ठूलो ठान्नेहरूले मात्र कलम चलाइरहेको जमानामा नयराज पन्त (वि.सं. १९७०–२०५९)को काम नितान्त फरक प्रकृतिको थियो ।संस्कृतका पण्डितहरूमा सामान्यतया नपाइने राजनीतिको चेतना नयराज पन्तमा भरपूर थियो । त्यस चेतनाको आविर्भाव उनको विद्यार्थी कालमै भइसकेको थियो भन्ने कुराको दसी उनले डायरीको रूपमा लेख्ने गरेका विषयवस्तुले देखाउँछन् । त्यसको एक अंश इतिहास–प्रधान त्रैमासिक पत्रिका ‘पूर्णिमा’ (१३५ पूर्णाङ्क २०६९, ४३१–४३५ पृ.)मा छापिई पनि सकेको छ । नेपाली भाषामा लेखिएको त्यस अंशमा वि.सं. १९९४ देखि १९९९ सम्मका घटना समेटिएका छन् । उदाहरणार्थ, वि.सं. १९९५ मा शुक्रराज शास्त्री (वि.सं. १९५०–१९९७)ले इन्द्रचोकमा गरेको गीता विषयक व्याख्यान र गंगालाल (वि.सं. १९७६–१९९७)ले गरेको भाषणको विषयमा लेखी त्यसमा केही टिप्पणी पनि जोडिएको छ ।

त्यही टिपोटको एउटा अर्को खण्ड भाषा नेपाली नै भए पनि लिपि भने गुप्तकालको भारतमा र लिच्छविकालको नेपालमा चलेको गुप्तलिपि छ । गुप्तलिपिमा लेख्नुको कारण आफ्नो लेख गोप्य राख्नका लागि नै हो जस्तो मलाई लाग्छ । महावीर स्कुलसँग नयराज पन्तको केही सम्बन्ध थियो भन्ने मैले सुनेको हुँ । त्यसैले उनले आफ्ना मामाकी माहिली छोरीलाई त्यहाँ भर्ना गराएका थिए ।

९७ सालमा नयराज पन्तकहाँ पनि सामान्य जाँचपडताल हुँदा उनका ससुरा, श्री ३ जुद्ध (वि.सं. १९३२–२००९, शासनकाल वि.सं. १९८९–२००२)का प्रियपात्र, राजपुरोहित जनकराज (वि.सं. १९३४–२०२०) अत्यन्त चिन्तित भए, तर केही ननिस्किँदा उनले सन्तोषको सास फेरेका थिए भन्ने मैले सुनेको हुँ ।त्यस्तो डायरी पछिपछि पनि नयराज पन्त लेख्दै गए । उनी परलोक हुनुभन्दा केही वर्षअगाडिसम्म पनि त्यस्तो डायरी लेखिँदै थियो । अहिले यहाँ खास चर्चा गर्न लागिएको डायरी भने वि.सं. २००७ कात्तिक २२ गते ज्ञानेन्द्र (वि.सं. २००४ मा जन्म, राज्यकाल  वि.सं. २००७, २०५८–२०६५) गादी चढेदेखि वि.सं. २००८ को अन्त्यसम्मको घटना समेटेर आफ्नो ३७ देखि ३८ वर्षको उमेरभित्र नयराज पन्तले प्राञ्जल संस्कृतमा कहीँ गद्य र कहीँ पद्यमा लेखेको डायरी हो । छोटकरीमा भन्नु पर्दा, गद्यमा खास गरी घटनाको बयान र पद्यमा चाहिँ तत्तद्विषयमा आफ्नो मनमा लागेका कुरा छन् ।

यस डायरीको मूल खुद नयराज पन्तकै हस्ताक्षरमा र त्यसको साफी उनका शिष्य ज्ञानमणि नेपाल (वि.सं. १९८९ मा जन्म)को हस्ताक्षरमा छ । मूल र साफी दुवै अहिले लक्ष्मीपति–नयराज संग्रहमा छन् ।नेपालको तात्कालिक राजकाज नयराज पन्तले सूक्ष्म दृष्टिले हेरिरहेका थिए भन्ने कुरा उनको त्यस डायरीका पन्नापन्नाले देखाउँछन् । त्यो डायरी हेर्दा उनका श्रद्धाका पात्र त्यस वेलाको नेपालमा कोही पनि देखिँदैनन् । राणाशासनको उनले जति निन्दा गरेका छन्, त्यति नै निन्दा प्रजातन्त्रशासनको पनि गर्न उनले बाँकी राखेका छैनन् । 

आफ्नो डायरीको नाउँ ‘प्रजातन्त्रारम्भको इतिहास’ भनी नयराज पन्तले अघिबाट राखे पनि उनी हुँदै वि.सं. २०४१ मा त्यस डायरीको केही अंश छापिन लाग्दा त्यसको नाउँ ‘वि.सं. २००७–०८ मा आफूले  देखेसुनेका र आफ्ना मनमा लागेका कुरा’ भनी उनले राखेका थिए । त्यस डायरीको उठानका केही पृष्ठ उनको जीवनकालमै मैले गरेको नेपाली उल्थासहित ‘पूर्णिमा’मा छापिएका छन् । पछि मूल संस्कृतको निकै भाग र तीमध्ये केहीको मैले गरेको नेपाली उल्था ‘पूर्णिमा’मै प्रकाशित छन् । ‘पूर्णिमा’मा छापिएका केही अंशको मैले गरेको नेपाली उल्था शेषराज सिवाकोटी (वि.सं. २०१६ मा जन्म)द्वारा सम्पादित नयराज पन्तसम्बन्धी कृतिमा (‘नेपालका बौद्धिक विभूति नयराज पन्त’, ज्ञानगुनसाहित्यप्रतिष्ठान, काठमाडौं, २०६० र ‘असाधारण विद्वान् नयराज पन्त’, ज्ञानगुनसाहित्यप्रतिष्ठान, काठमाडौं, २०६३) र ‘नागरिक’ दैनिकको नयराज पन्तसम्बन्धी अङ्कमा (२०७०।५।१।७) छापिएका छन् । त्यस डायरीको विषयमा र त्यसमा चर्चित विषयवस्तु लिएर मैले लेखेका केही निबन्ध पनि छापिइसकेका छन् । अविकल रूपमा अभैm अप्रकाशित त्यही डायरी अहिले फेरि पल्टाउँदा यस लेखको जन्म भएको हो ।

वि.सं. २००७ कार्तिक २१ गते श्री ५ त्रिभुवन (वि.सं. १९६३–२०११, राज्यकाल वि.सं. १९६८–२०११) हिन्द दूतावासमा शरण लिन गएपछि श्री ३ मोहन (वि.सं. १९४२–२०२३, शासनकाल वि.सं. २००५–२००७)ले भोलिपल्ट त्रिभुवनलाई पदच्युत गरी उनका ३ वर्षका माहिला नाति ज्ञानेन्द्रलाई गद्दीमा राखे । यो काम श्री ३ ले आफ्नो इच्छाअनुसार गरेको नभई भारादारी र संसद्का सदस्यहरूको रायअनुसार भएको हो भन्ने प्रचार गरिएको थियो र श्री ५ त्रिभुवनलाई हटाई श्री ५ ज्ञानेन्द्रलाई गद्दीमा राख्नुपर्छ भन्ने पत्रमा २६० जना गण्यमान्य मानिसको सहीछाप परेको थियो (‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहको राज्यारोहण—श्री ५ महाराजाधिराज त्रिभुवन वीरविक्रम शाहको पदच्युत’, ‘गोरखापत्र’, २००७।७।२३।४) ।

राणाविरोधमा प्रत्यक्ष वा परोक्ष रूपमा लागेका भनेर र प्रजातन्त्रवादी भनी कहलिएका बालकृष्णशमशेर जंगबहादुर राणा (पछि बालकृष्ण सम) (वि.सं. १९५९–२०३८), शङ्करदेव पन्त (वि.सं. १९६६–२०३०) र पूर्णप्रसाद ब्राह्मण (वि.सं. १९७९–२०४६) जस्ता मानिस पनि त्यस पत्रमा सहीछाप गर्नेमा थिए । यो भारादारी तथा संसद्का सदस्यहरूलाई केही बोल्न नसक्ने र श्री ३ मोहनका दास भनी नयराज पन्तले वि.सं. २००७ मंसिर २९ गते बिहीबारको डायरीमा लेखेका छन् । असवर्ण संयोगबाट जन्मेका राणाजीहरूको रोल झेल गरी पछि काटिनाले तिनीहरू राणाराज्यकै नाश गर्न लागिपरेका थिए, श्री ५ त्रिभुवन भारतमा शरण पर्न गएको मौका छोपी रोल काटिएका तिनै राणाजीहरूले आफ्नो पैसाको बलले विद्रोह चम्काए भनेर पनि उनले त्यही दिन लेखेका छन् (‘पूर्णिमा’ ६१ पूर्णाङ्क, २०४१, ३७ पृ., ३–५ पद्य =‘असाधारण विद्वान् नयराज पन्त’, ४७–४८ पृ.) ।

राणाशासनले दबाएर राखेका, थरीथरीका धर्म र जातिमा बाँडिएका दुनियाँ राज्यमा राणाहरूको पकड कमजोर हुँदा फेरि आफ्नो पुरानै स्थितिमा आइरहेछन् भन्ने भावको एउटा पद्य काव्यात्मक पाराले नयराज पन्तले त्यही दिन अर्थात् मंसिर २९ गते लेखेका छन् (‘पूर्णिमा’ ६१ पूर्णाङ्क ३८ पृ., १२ पद्य =‘असाधारण विद्वान् नयराज पन्त’, ४९ पृ.)। जुन दिन त्यो पद्य रचियो, त्यस वेला नेपालमा राणाशासन ढल्ने उपक्रममा थियो, ढलिसकेको भने थिएन । त्रिभुवन दिल्लीमा शरण लिन पुगेको १ महिना नाघिसकेको थियो र उनलाई पदच्युत गरी ज्ञानेन्द्रलाई महाराजाधिराज बनाइसकेको अवस्था थियो । आफ्नो आडमा नेपालमा रजाइ“ चलाएर आएका राणाहरूको वर्तमान नेपालमा अझ कति पकड छ भनी बुझ्न ब्रिटिस सरकारका प्रतिनिधि काठमाडौं आएको ९ दिनपछि यो पद्य रचिएको थियो ।

हामी वर्णव्यवस्थाभित्र पर्ने पनि होइनौ“ र वर्णव्यवस्था मान्ने जाति पनि होइनौ“ भन्ने वा हामीमाथि कालान्तरमा वर्णव्यवस्था लादिएको हो भनी ठान्नेहरू केही वर्ष यतादेखि झन्–झन् जुरमुराउँदै आइरहेका छन् र कुनै पनि धर्मलाई राज्यको आश्रय मिल्नुहुँदैन भन्ने जोडदार आवाज पनि तिनीहरूले उठाएका छन् । २००७ साल अगाडिदेखि नै उठेको यो आवाज पछि भित्रबाहिर सबैतिरबाट मलजल पाई चर्को स्वरमा सुनिँदै छ ।

राणाशासन आउनुभन्दा अगाडि नै भीमसेन थापा (वि.सं. १८३२–१८९६, शासनकाल वि.सं. १८६३–१८९४)को शासन सुरु भएदेखि सबै जातको फूलबारी  ठान्ने पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९–१८३१)को आदर्श नेपाल राज्यमा ओझेलमा पर्न थालिसकेको थियो र राणाकालमा राणाहरू गर्भैदेखि जर्नेल भएझैँ भीमसेन थापाको शासनभर उनको परिवारबाहेक अरू कोही जर्नेल भएको दुनियाँले देख्न पाएन । भीमसेन थापाले राज्य अँठ्याउँदा काटिनेमा उनी सरहका नेवार र गुरुङ काजी पनि थिए । यस कारण पृथ्वीनारायण शाहको उदयसँगै देशका थरीथरीका जाति र भाषा दबाउने कामको सुरुवात भयो भनी राजकाजको डाडुपन्युँ आफ्नो हातमा लिएकाहरूले जुन प्रचार गरिरहेका छन्, प्रमाणद्वारा त्यसलाई पुष्ट गर्न सकिँदैन । 

हजारीप्रसाद द्विवेदी (वि.सं. १९६४–२०३६)लाई अशोक वाजपेयी (वि.सं. १९९८ मा जन्म)ले प्रयोग गरेको मुहावरा नै सापटी लिएर भन्नुपर्दा, नयराज पन्त पश्चिमबाट अनाक्रान्त आधुनिकताबाट सम्पन्न थिए । उनले आजभन्दा ६८ वर्षअगाडि नै पहिल्याएको, तत्तज्जाति र तत्तद्धर्मसम्बन्धी पहिचानको अभिव्यक्ति अहिले पराकाष्ठामा पुगेको छ । त्यही पहिचानको अभिव्यक्तिले गर्दा सरकारी अखबार ‘गोरखापत्र’ भाषाहरूको ‘झन्–झन् ठूलो म्युजियम’ बन्दै गएको छ (महेशराज पन्त, ‘सूची गोरखापत्रमा छापिएका नेवारी लेखको’, काठमाडौं, २०६९, ‘उपन्यास’) । हिजोसम्म नेपाली भाषाका भाषिका भनी भाषाशास्त्रीहरूले ठह-याएका भेदोपभेदलाई अहिले तिनै विद्वान्हरू‘कोइ भासाकन पन भासिका भन्न पाइनैन’ (‘गोरखापत्र’, २०७५।११।१८।७, ७ पृ.) भनी कुर्लन लागेका छन् ।

‘एथ्नोशोभिनिज्म’ भनी परिभाषित गर्न मिल्ने, त्यस जुर्मु-याहटले हद नाघ्नु भनेको देश फेरि पृथ्वीनारायण शाह आउनुभन्दा अगाडिकै अवस्थामा फर्कने सम्भावनातिर अघि बढ्नु हो । सनातन वर्णाश्रमधर्मको रक्षाका लागि उद्यत ब्राह्मण महासम्मेलन नाउँको संस्थाको शब्दमा भन्दा, युरोपियन कुशिक्षाले देशलाई कवलित गर्दा यस्तो अवस्था आएको हो (अनन्त कृष्ण शास्त्री आदि, ‘ब्राह्मण महासम्मेलन’ ३ वर्ष ५ संख्या, शाके १८५२) । यस्तो अवस्था नेपालमा मात्र होइन, युरोपियन उपनिवेशबाट मुक्त अरू अरू देशमा पनि कतै धेरै, कतै थोरै नभएको होइन ।

यो देश त अन्त्यजहरूको हो, तिमीहरू यहाँ आगन्तुक हौ भन्ने भाव व्याप्त हुँदा नै यस्तो अवस्था आएको हो भन्ने विषयमा जगन्नाथ गुरागाञी (वि.सं. १९५९–२०३३)ले ८४ वर्षअगाडि नै लेखेको कुरा (‘गोपूजा’, ‘ब्राह्मण महासम्मेलन’ ७ वर्ष ३ संख्या, शाके १८५६, १ पृ.) अहिले पनि अप्रासङ्गिक हुन सक्दैन । यो सब हुनुको कारण एक वाक्यमा भन्दा, दुर्गृहीत पाश्चात्यीयशिक्षा र पृथ्वीनारायण शाहले लिएको नीतिको परित्याग नै हो । अर्को वाक्यमा भन्ने हो भने, अरबी–फारसी भाषामा शिक्षा पाएका मुसलमान राजनीतिज्ञसँग दबी भारत टुक्र्याउने, भारतीय विद्याको मूल स्रोत संस्कृत भाषादेखि विमुख ‘काला अंग्रेजहरू’ (नयराज पन्त, ‘हाम्रो उद्देश्य र कार्यप्रणाली’, खिलशर्म–राजीव लोचन जोशी स्मारक–प्रतिष्ठान, २०५९, ९ पृ.)ले थुकेर फालिदिएको जुठो (धनवज्र वज्राचार्य र ज्ञानमणि नेपालको ‘इतिहास–संशोधन’ ४ संख्या, २०११ मा नयराज पन्तको ‘अभिनन्दन’,७–८ पृ.)मा रमाउने नीतिको नतिजा यो हो भन्दा पनि फरक पर्दैन ।

राणाशासनको पतनको विश्लेषण गर्दै जाँदा नेपालले कोसी आदि नदीमा नौसेनाको परिचालन गर्नुपथ्र्यो र जमानाअनुसार नेपालको हवाई सेना पनि हुनुपथ्र्यो भनी नयराज पन्तले लेखेका छन्  (‘पूर्णिमा’ ६१ पूर्णाङ्क, ४१ पृ., ३८ पद्य)‘असाधारण विद्वान् नयराज पन्त’, ५१ पृ.) ।विदेशी राष्ट्रहरूसँग लड्न हामी सक्दैनौ“, यस कारण यत्रो खर्च गरेर सेना किन राख्ने, खाली भित्री सुरक्षाका लागि थोरै सैनिक राखी नेपालमा सेना घटाउनुपर्छ भन्ने जोडदार आवाज नेपालमा रजाइँ गर्न तम्सेकाहरू बराबर उठाउँछन् । यो नौलो आवाज होइन, यस्तो कुरा गान्धीवादीहरूले भारत स्वतन्त्र भएपछि र हाम्रा स्वदेशी बन्धुहरूले पनि २००७ सालपछि गरेका थिए । दण्डोपनत राज्य अर्थात् आजभोलिको भाषामा आश्रित राज्यका अधिकारी मात्र परमुखापेक्षी भई यस्तो बोल्न सक्छन् । व्यापारी वा मगन्ते नभएर बा“च्ने हो भने कुनै पनि राष्ट्र सेनाविना अड्न सक्दैन । छिमेकीले जति थिचोमिचो गरे पनि तिनैकहा“बाट पोल्टा थापी ल्याएको भीखको भरमा राजकाज गर्छु भनी आँट्नेहरूले यसो भनेकोमा हामीहरूले आश्चर्य पनि मान्नुपर्दैन । राज्यका ७ अंगमध्ये १ अंग सेना हो भनी सानैदेखि घोक्दै आएका हामीलाई यस्ता कुराले असर भने पार्दैन ।

वि.सं. २००८ कात्तिक ७ गते त्रिभुवनले भारतीय जानपद अर्थात् आजभोलिको भाषामा नागरिक आइसिएस गोविन्दनारायणलाई आफ्नो सेक्रेटरीमा नियुक्त गरे । त्यही विषयवस्तु लिएर नयराज पन्तले कात्तिक १८ गते लेखेका पद्यमा जसरी २०० वर्षअगाडि काठमाडौंका राजा जयप्रकाश मल्लले विदेशीहरूलाई भित्रिया बनाई आफ्ना प्रजाहरूलाई दुःख दिएका थिए, त्यस्तै काम विदेशीलाई सेक्रेटरी बनाएका त्रिभुवनबाट हुने हो कि भन्ने शंका व्यक्त छ (‘पूर्णिमा’, १०५ पूर्णाङ्क, ५३–५४ पृ.) ‘असाधारण विद्वान् नयराज पन्त’, ५२ पृ.) । जयप्रकाश मल्ल (वि.सं. ?–१८२६, राज्यकाल वि.सं. १७९२–१८२५)ले विदेशीहरूलाई भित्रिया बनाएको भनी यहा“ जे लेखिएको छ, त्यो उनले नगरकोटी सैनिक राखेको कुरातर्फ संकेत गरेको देखिन्छ ।

नेपालको तात्कालिक राजकाज नयराज पन्तले सूक्ष्म दृष्टिले हेरिरहेका थिए भन्ने कुरा उनको त्यस अप्रकाशित डायरीका पन्नापन्नाले देखाउँछन् । त्यो डायरी हेर्दा उनका श्रद्धाका पात्र त्यस वेलाको नेपालमा कोही पनि देखिँदैनन् । राणाशासनको उनले जति निन्दा गरेका छन्, त्यति नै निन्दा प्रजातन्त्रशासनको पनि गरेका छन् । 

भारतमा अंगे्रजबाट स्वातन्त्रय पाउन आन्दोलन चल्दा आन्दोलनका नायक मोहनदास करमचन्द गान्धी (वि.सं. १९२६–२००४)ले विद्यार्थीको प्रयोग गरेका थिए । विद्या त जैले पढे पनि हुन्छ, देश स्वतन्त्र पारिहाल्नुपर्छ र साम्राज्यवादी अंग्रेजहरूले चलाएको शिक्षापद्धति हाम्रो  अनुकूल छैन भन्ने विचारको प्रभावमा परी विद्यार्थीहरूले आफ्नो पढाइ छोडे । यताबाट भारतमा क्रमशः विद्याको तह खस्किँदै गयो र राजनीतिमा चुर्लुम्म डुबेका विद्वान् भनाउँदाहरूको चकचकी बढ्यो र क्रमशः देशको राजनीतिको परिचालन त्यस्ता मानिसबाट हुन थाल्यो । नेपालमा पनि त्यसकै प्रभाव प-यो र वि.सं. २००७ भन्दा अगाडिदेखि नै विद्यार्थी भनाउँदाहरू यतातिर लाग्न थाले र यो परिपाटी अहिले झन्–झन् विकसित हुँदै छ । साँच्चै भन्ने हो भने, नेपालको वर्तमान राजनीतिमा छाएका धेरैजसो मानिस त्यही दूषित परिपाटीका उपज हुन् । 

पहिले राणाको विरोधमा विद्यार्थीहरूलाई उचाल्ने, तिनै कांग्रेसी नेताहरू अहिले आफ्नो विरोधमा विद्यार्थीहरू उठ्दा गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला (वि.सं. १९७१–२०३९)ले तिनीहरूलाई गोलीले भुटेको र त्यसले गर्दा एकजना विद्यार्थी मरेको, केही विद्यार्थी घाइते भएको कुरा नयराज पन्तको वि.सं. २००८ कात्तिक २१,२४ र २५ गतेको डायरीको विषयवस्तु छ । सहिबुद्दीन नाउँको घाइते विद्यार्थीलाई अस्पतालमा हेर्न प्रधानमन्त्री मोहनशमशेर गएको कुरा पनि उनले वि.सं. २००८ कात्तिक २४ गतेको दिन लेखेका छन् (‘पूर्णिमा’ १०५ पूर्णाङ्क, २०६०, ५५–५६ पृ.) ।

कुरा के भने, वि.सं. २००८ कात्तिक २० गतेको दिन भूगोल पार्कमा सरकारको विरोधमा विद्यार्थीहरूले भाषण गर्न मात्र के थालेका थिए, पुलिसले पुर्जी देखाई ५ जना विद्यार्थीलाई पक्री ठानातर्फ लग्दै गर्दा अरू विद्यार्थीहरूको हुल पछिपछि लाग्यो । अनि, पुलिसले टियर ग्यास छोडी हुल तितरबितर पा-यो । त्यसैवेला रक्षा दलका— गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले मुक्ति सेनाका सैनिकहरूबाट खडा गरेको सैन्यवद् दलका—जवानहरूले गोली चलाउँदा चिनियाँ काजी, सहिबुद्दिन र राममान श्रेष्ठ नाउँका ३ जना विद्यार्थी घाइते भए । ती घाइते विद्यार्थीलाई वीर अस्पतालमा भर्ना गरियो । तीमध्ये चिनियाँ काजी त्यही राति बिते । गृहमन्त्रीको आदेशबाट भएको यस घटनाको परिणामबाट फाइदा उठाउन खोजी प्रधानमन्त्री मोहनशमशेरले कात्तिक २३ गते वक्तव्य दिन पुगे । यसको भोलिपल्टै गृहमन्त्रीले ‘जबसम्म प्रधानमन्त्री मोहनशमशेर मन्त्रिमण्डलमा रहनेछन्, तबसम्म नेपालमा शान्ति र प्रजातन्त्र आउनेछैन’ भनी वक्तव्य दिए (ग्रीष्मबहादुर देवकोटा, ‘नेपालको राजनीतिक दर्पण’ १ भाग २ आवृत्ति, काठमाडौं, २०१६, ११६–११८, १२० पृ.)।

भारतमा युरोपियनहरूको आधिपत्य जमेपछि वृत्तिसांकर्य हुन थाल्यो भनी नयराज पन्तले वि.सं. २००८ कात्तिक २९ गते लेखेका छन् (‘पूर्णिमा’ १०५ पूर्णाङ्क, ५७ पृ.) । सबभन्दा पहिले वृत्तिसांकर्य भनेको के हो भन्ने कुरा खुलाउनुपरेको छ । पूर्वाग्रहले ग्रस्त दृष्टि दोषले गर्दा वर्णव्यवस्थालाई गाली गर्ने अहिले फेसनै बनिसकेको छ र त्यस व्यवस्थामा रहेका राम्रा कुरा केलाउनतिरचाहिँ ज्यादै थोरैको मात्र ध्यान गएको छ । यस व्यवस्थाअनुसार अहिलेको दृष्टिले उ“चनीच नभन्ने हो भने सबैले वृत्ति पाउ“थे र बा“च्नका लागि त्यति कठिन अवस्था थिएन । 

यस प्रसंगमा मद्रासको प्रेसिडेन्सी कलेजका सिनियर संस्कृत पण्डितले लेखी ७० वर्षजति अगाडि छपाएको ‘लीलाविलास’ भन्ने संस्कृत प्रहसनको सम्झना मलाई हुन्छ । त्यहा“ एउटी ब्राह्मण कन्याको विवाहका लागि उनकी आमाले वरको रूपमा एकजना युवा ब्राह्मणको नाउँ लिँदा ऊ रक्सी खान्छ, कपाल छोट्ट्याउँछ, चुरोट खान्छ र दाह्री पनि आफैँ काट्छ भनी कन्याका नैष्ठिक बाबुले केटोको दुर्गुण देखाएका छन् (केएलभी शास्त्री, ‘लीलाविलास प्रहसन,’ पालघाट, इ.सं. १९३५, ४ पृ.) । वर दुव्र्यसनी भए पनि धनीलाई छोरी दिनुपर्छ भन्ने विचार केटीकी आमाको भएको र वर गरिब भए पनि नैष्ठिकलाई दिनुपर्छ भन्ने विचार बाबुको भएकाले दम्पतीको बीचमा वादविवाद चल्दै गए पनि विवाहका लागि आवश्यक सरसामानको जोरजाम गर्ने काम चल्दै गयो । विवाहमा छोरीको घरमा दिनुपर्ने सबै सरसामान आयो कि आएन भनेर दुव्र्यसनी केटाको पुरोहितले केटीको बाबुलाई सोद्धा के रक्सीको बोतल ल्याउनुप-यो कि दाह्री काट्ने सामान ल्याउनुप-यो, कि चुरोटको डिब्बा ल्याउनुप-यो भनी उनले दिएको जवाफ पनि उत्तिकै चाखलाग्दो छ (उही, ३१ पृ.) । यसको मूल अर्थ के हो भने हरेकले आफ्नो दाह्री आफैंले  काट्न थाले भने जाति विशेषलाई छुट्ट्याएको काम आफैँले गर्दा वृत्तिसांकर्य भई समाजमा संक्षोभ आउ“छ भन्ने हो । 

खेतीपाती आदि कामद्वारा आफ्नो गृहस्थी चलाउँदै आएका नेपालीमा पनि वृत्तिसांकर्य एकापट्टि बढ्दै गएको छ र अर्कोतिर विदेशी सामानले भरिएका पसल खुल्दै छन्, आयस्ता नभएका, तर त्यस्ता सामानको प्राप्तिका लागि मन डढेका दुःखी मानिस पाइलापाइलामा भेटिन्छन् भनी नयराज पन्तले वि.सं. २००८ कात्तिक २९ गते लेखेका छन् (‘पूर्णिमा’ १०५ पूर्णाङ्क, ५७ पृ.) । नयाँ हावाले गर्दा हाम्रो पुरानो विद्या नष्ट भयो, नया“ विद्या महँगो भएकाले त्यो लिन पनि मानिसले सकिरहेका छैनन् भनी उनले यस प्रसंगमा लेखेका छन् (उही) ।

भारत स्वतन्त्र हुने भएपछि अंग्रेजसँग दण्डोपनतसन्धि अर्थात् आश्रितसन्धि गरी बसेका, सानाठूला गरी सयौ“ भारतीय राजारजौटाहरूको सामुन्ने आफ्नो राज्य विशाल भारतमा मिलाउने कि स्वतन्त्र भएर बस्ने भन्ने प्रश्न उठ्यो । धेरै राज्य विशाल भारतमा अन्तर्भूत भए, तर हैदराबाद र कश्मिरले चाहि“ हामी भारतमा नमिसिने भन्ने अडान लिएका थिए । यिनलाई बल प्रयोग गरेर जित्ने अभिप्राय भारतको भयो । यसैले भारतले वि.सं. २००६ मा हैदराबादमा हमला ग-यो । त्यसमा श्री ३ मोहनले भारतको पक्ष लिई हैदराबादलाई दबाउन सेना पठाए ।

अकूत धन भएका हैदराबादका निजामको शासन र त्यत्तिकै धन भएको राणाशासनलाई भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू (वि.सं. १९४६–२०२१, शासनकाल वि.सं. २००४–२०२१) राम्रो दृष्टिले हैर्दैनथे, यसैले हैदराबाद कब्जा गर्न श्री ३ मोहनले फौज पठाए पनि भारत राणाराज्यको पक्षमा भने थिएन, शासनमा रहेका राणाजीहरूभन्दा रोल काटिएर भारत पसेका राणाजीहरूद्वारा श्री ५ त्रिभुवनलाई प्रतिष्ठापित गर्दा आफ्नो बढी स्वार्थसिद्धि हुने भएकाले भारतको सहायताले राणाराज्यको पतन भयो भनी त्यस डायरीमा वि.सं. २००८ मंसिर २० गते लेखिएको छ (‘पूर्णिमा’ १०५ पूर्णाङ्क, ६२–६३ पृ.) ।

नयराज पन्तको शिक्षादीक्षा भारतमा भएको र उनी संस्कृत विद्याका पक्षपाती भए पनि भारतको घोर विरोधी थिए । यो उनले कुनै द्वेषबुद्धिले गरेको नभई छिमेकी कहिल्यै पनि मित्र हुन सक्दैन, बरु छिमेकीको छिमेकी मित्र हुन सक्छ भन्ने राजनीतिको सिद्धान्तअनुसार यो विचार उनको मनमा जमेको थियो । हिन्दी भाषाका नामुद कवि शिवमङ्लसिंह ‘सुमन’ (वि.सं. १९७२–२०५९) हिन्द दूतावासमा एकताका कल्चरल एट्याशे भएर आएका थिए र नेपालका धेरैजसो बुद्धिजीवीहरूलाई उनले आफ्नो आगेपिछे गराएका थिए, तर नयराज पन्तले उनीसँग सम्पर्क गरेनन् । भारतमा मात्र होइन, तेहरान विश्वविद्यालयमा पनि संस्कृतका प्रोफेसर भइसकेका इन्दुशेखर पछि हिन्द दूतावासमा कल्चरल एट्याशे भई यहाँ आए । उनले संस्कृत नाटकको विषयमा एउटा पुस्तक पनि लेखेका छन् (‘स्यान्स्क्रिट् ड्रामाः इट्स अर्जिन् यान्ड् डिक्लाइन्,’ मुन्सीराम मनोहरलाल, नयाँदिल्ली, 
ई.सं. १९७७) । 

भारत नेपाल दुवैको साझा बपौती संस्कृत भाषा भएकाले हिन्द दूतावासले नेपालमा आफ्नो प्रभाव फैलाउने सन्दर्भमध्ये एक दूतावासमा गरिने संस्कृतसम्बन्धी कार्यक्रम पनि थियो । त्यसमा नयराज पन्तलाई पनि निम्तो आउँथ्यो, तर उनी कहिल्यै पनि जाँदैनथे । वि.सं. २०१६ देखि २०२१ सम्म हिन्द राजदूत भई नेपाल बसेका हरिश्वर दयालकी सासू, महाराष्ट्रकी क्षमा राव (वि.सं. १९४१–२०११)ले संस्कृतमा निकै काव्य, कथा र नाटक लेखेकी छिन् । उनीले संस्कृतमा लेखेका नाटकहरू हिन्द दूतावासमा बराबर खेलाइन्थ्यो । ती नाटक हेर्न दूतावासद्वारा निम्ता नयराज पन्तकहाँ पनि आउँथे । त्यस्तो निमन्त्रणापत्र संस्कृत भाषामा छापिएका हुन्थे ।

श्री ३ चन्द्रको गोठमा देखरेख गर्न पञ्जाबबाट नेपाल आई यहीँ बसोबास गरेका आफ्ना पितृव्यसँगै बसेका  गोकुलचन्द पछि यहीँका रैथाने भई त्रिचन्द्र कलेजमा संस्कृत र इतिहास पढाउने भए । त्रिभुवन विश्वविद्यालयमा नेपालको प्राचीन इतिहास, पुरातत्व  र संस्कृतिसम्बन्धी विभाग खुलेपछि उनी त्यसको अध्यक्ष पनि भए । तिनै डा. गोकुलचन्द शास्त्री नयराज पन्तमा निकै श्रद्धा राख्थे । उनले नयराज पन्तलाई र हिन्द दूतावासलाई जोड्न निकै प्रयत्न पनि गरेका थिए । तर, ‘संस्कृत भाषा नेपालको मात्र नभई भारतको समेत हो । तर, धेरै कालदेखि विदेशी भाषाको चमक–दमकमा परेका, भारतका ठूला मनुष्यहरूले आफ्नो देशको गौरवस्वरूप भएको संस्कृत भाषाको वास्तविक महत्व बुझ्न नसके जस्तो मलाई लाग्छ ।

नेपालस्थित भारतीय राजदूतावासबाट संस्कृत भाषामा छापी बाँडिएका निमन्त्रणापत्रमा सामान्य विद्यार्थीले पनि गर्न नहुने अशुद्धि बारम्बार दोहरिएकाले मैले यस्तो भन्नुपरेको हो’ (नयराज पन्त, ‘विद्या–रक्षा’ ५ संख्या, संशोधन–मण्डल, काठमाडौं, २०१८) भनी नयराज पन्तले हिन्द दूतावासको पिण्ड छुटाउन लेख्नुपरेको थियो (महेशराज पन्त, ‘उहाँ बुबाभन्दा माथि’, ‘अन्नपूर्ण पोस्ट्’, २०७५।५।२३।७, ग पृ. ) । एउटा कुरा, हिन्द दूतावासबाट पठाइने निमन्त्रणापत्रको संस्कृत भाषाको विषयमा नयराज पन्तले झन्डै ५८ वर्षअगाडि जुन टिप्पणी गरे, त्यस्तै टिप्पणी यही चैत ५ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हिन्द दूतावासले गरेको संस्कृत गोष्ठीको निमन्त्रणापत्रमा पनि गर्न नसकिने होइन ।