• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सरिता तिवारी
२०७७ श्रावण १७ शनिबार ०८:००:००
समाज

कतिन्जेल आइसोलेसन ?

२०७७ श्रावण १७ शनिबार ०८:००:००
सरिता तिवारी


साम्राज्यहरूले कसरी आफूबाहेक अरूको इतिहास, आत्मसम्मान र पहिचानको प्रश्नलाई निरन्तर कुल्चिँदै र दमन गर्दै आए ? यो प्रश्नमा अढाई सय वर्षदेखि शासन गरिरहेको गोर्खाली साम्राज्यतर्फ नजर घुमाउने यत्न हामीमध्ये बहुत कमले गरेका छौँ । गोर्खा राज्य जब साम्राज्यका रूपमा विस्तार भयो त्यसले ठूला–साना सबै राष्ट्र र पहिचानको ध्वस्तीकरण गर्दै आफू मात्रै साँढे पल्टिएको इतिहासलाई अलि रूखो भएर हेर्नुपर्छ । 

 

चेपाङ समुदायका हकमा पनि भएको त्यही हो । माडी, कुसुमखोलाका चेपाङ समुदायको दुःख र कहरको इतिहास त्यति छोटो होइन, जति समाचारहरूले बताइरहेका छन् । अहिले कुसुमखोलामा घर जलेका मान्छेहरू कसरी कुन चोट खप्दै त्यहाँ सुकुमबासी बन्न पुगे ? त्यसको फेरो खोजिनुपर्छ । ती मान्छेहरू कहाँबाट त्यहाँ पुगे र त्यस ठाउँमा पनि विगत तेइस वर्षदेखि निरन्तर राज्यको हस्तक्षेप खप्दै, डराउँदै खुम्चिँदै कसरी बाँचे ?

 

कुसुमखोला बस्ती व्यवस्थापन समितिका अध्यक्ष छवि चेपाङ भन्छन्, ‘हो हामी ओढार र जंगलबाट आएका हौँ, तर त्योभन्दाअघि हामी कहाँ थियौँ ? अथवा ओढार र जंगलमै किन थियौँ ? त्यो खोज्न मन छ सर ! (उनी आदरवाचक शब्दका रूपमा स्त्रीपुरुष सबैलाई ‘सर’ भन्दारहेछन् । कुराकानीका क्रममा मलाई पनि त्यही सम्बोधन गरे) बल्लतल्ल घरबास गरेर बस्न थाल्यौँ । त्यसैमा पनि बाढी लाग्यो । पहिरो लाग्यो । भौँतारिँदै टाउको लुकाउने ठाउँ खोज्दै हामी यहाँ आयौँ, यहाँ पनि सरकार लाग्यो ।’ 

 

माडीका कतिपय स्थानीयहरू यिनलाई अनधिकृत आप्रवासी ठान्छन्, तर कतिपय यिनको आवास अधिकारका पक्षमा ऐक्यबद्ध पनि छन् । केही पहिलेदेखि नगरपालिकाले स्थानान्तरण गराई बसाउन थालेको नयाँ बस्तीमा समेत निकुन्जको हस्तक्षेप भएको थियो । यसका पछाडि पहिलो समूहका स्थानीयको भूमिका छ भन्ने चर्चा पनि सुनिन्छ । यदि त्यसो हो भने यो शासकीय ‘अन्यकरण’कै अभ्यासको अर्को नमुना हो । 


यता छवि चेपाङ हामी मूलवासी नै हौँ भन्छन् । दुःखका असंख्य कथा बोक्दै मूल थलो छोडेर हिँडेका चेपाङहरू प्रायः सबै समुदायसँगै एकैठाउँमा छन् । त्यसरी बस्न उनीहरूले कुसुमखोलाजस्तो चुरेको राफिलो घाँच नै किन रोजे ? यसको नालीबेली खोज्न चेपाङ अगुवा वा बुढापाकासँग सोध्नैपर्दैन, राज्यको चरित्र हेरे पुग्छ । जंगल छेउछाउ वा जंगलबीचका सुकुमबासी बस्तीका साझा पृष्ठकथा खोजे पुग्छ । आर्थिक हैसियतले शून्य र जातीय अस्तित्व दाबीको प्रश्नमा समेत पूरै आवाजहीन समूह घुलन–मिलनको संस्कृतिदेखि भिन्दै कति हो कति पर गएर बाँच्छ । समाजको मूल प्रवाहभन्दा धेरै टाढा, डराएर, पूरै ‘आइसोलेट’ भएर बाँच्छ । यस्तो किन हुन्छ ? यो समाज मनोवैज्ञानिक प्रश्न होला । 


यिनका छुटेका पाइलाहरू धादिङ, चितवन, मकवानपुरलगायत जिल्लाका पहाडी क्षेत्रमा छन् । महाभारत र चुरे शृंखलाका अतिकमजोर भूबनोट भएका पहाडमा गुफा र ओढारमा बसेर कन्दमूल खाँदै यिनले शताब्दीहरूको यात्रा तय गरे । पछि शासकका कृपाले या अरू कुन्नि केले यिनलाई ‘प्रजा’ बनायो । तर, आजका शासकका लागि पनि यी प्रजा नै हुन् जो हकुमप्रमांगी शैलीमा यिनको डरमाथि शासन गर्छन् । सफेद झुट बोल्छन् । यो अत्ति हो । 


यस्तो कतिन्जेल ? संगठित आन्दोलनकै लागि कस्सिएर लागेका चेपाङहरूको स्वर छ, अब हामी पनि राजनीति गर्छौँ । प्रश्न सोध्छौँ र उत्तर नभेटेसम्म निरन्तर लड्छौँ । तर, यो लडाइँ चेपाङहरूको मात्रै होइन सबै न्यायप्रेमीको साझा हो ।