• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
किशोर नेपाल 
२०७७ श्रावण १७ शनिबार ०८:३५:००
सम्झना

आमाको सपना

२०७७ श्रावण १७ शनिबार ०८:३५:००
किशोर नेपाल 

 

लामो समय बितिसक्यो । घटना आफैँ आख्यानमा परिणत भइसक्यो । तर, कुनै पनि घटना रमाइलो होस् वा डरलाग्दो, जबसम्म मन र मस्तिष्कमा टाँसिएर बस्छ, त्यसको अस्तित्व पराजित हुँदैन । यो घटना मेरो खराब सपनाको विवरण मात्रै होइन । जीवनका गतिका बारेमा आफैँसँग सोधिएको एउटा प्रश्न हो । 


त्यो समय अपराह्नको थियो । आमा डाँडाको किनारैकिनार लामो–लामो पाइला चालेर तीव्र गतिमा एकोहोरो हिँडिरहनुभएको थियो । सेता बादलका टुक्राटाक्रीले सजिएको दुधिलो आकाशको सतहमा रंगीबिरंगी चराहरू उडिरहेका थिए । वातावरण स्निग्ध थियो । प्रकृतिमाथि कुनै विपत्ति आइलागेको थिएन । म आँखा तानेर हेर्दै थिएँ र आमालाई पछ्याउँदै थिएँ । मैले चराचुरुंगीको भाषा र भेउ बुझ्न पाएको थिइनँ । उनीहरूको गतिको ज्ञान थियो मलाई ।

 

चराहरू जुन लयमा उडिरहेका थिए, त्यही लयमा, लामा–लामा पाइला चाल्दै कतै अन्तरिक्षतिर लम्किरहनुभएको थियो आमा । आभास यस्तो भइरहेको थियो, उहाँ हावाकै गतिमा बिस्तारै–बिस्तारै उडिरहनुभएको थियो । आमा कता गइरहनुभएको थियो ? मलाई थाहा थिएन । कतै जान थाल्नुभएको वेला बाटोमा पिरोल्छ भनेर मलाई घरमा छाडेर जाने बानी थियो उहाँको । म आमालाई पछ्याउँदै थिएँ र सोच्दै पनि थिएँ । मैले धेरैपटक बोलाएँ, आमा, आमा, आमा, आमा, आमा ! उहाँले सुन्नु त भयो होला । सुनेको नसुन्यै गर्नुभयो । फर्केर पनि हेर्नुभएन मतिर । उहाँलाई पछ्याउँदै गरेका मेरा पाइला यति साना थिए, तिनले आमाको हिँडाइको त्यो वेग पछ्याउनु सम्भव नै थिएन ।

 

नीलो आकाशे र प्याजी रंगको बुट्टे सारीमा पहेंलो रंगको पछ्यौरा ओढ्नुभएको थियो आमाले । काठमाडौं उपत्यकाको पूर्व र दक्षिण कुनामा पुगेपछि उहाँ दक्षिण दिशातिर लाग्नुभयो । उहाँ हेर्दाहेर्दै मेरो आँखाबाट अलप हुनुभयो । त्यसपछि मैले आमालाई पछ्याउन सकिनँ...।


म झल्याँस्स बिउँझिएँ । यो दुःस्वप्न थियो । नाइटमेर । एउटा सपनाको भयानक आक्रमणबाट उम्किएको थिएँ म । बलियो सपना थियो त्यो । त्योसँग लड्दा कमजोर भएको थियो मेरो शरीर । पसिनाले निथ्रुक्क भिजेको थिएँ म । लगाएका लुगा लफ्रक्क भिजेका । मनमा अनेक प्रकारका डर र तरंगहरू रुमल्लिइरहेका । मनको कुना–कुनामा लुकेका आशंकाहरूले बीच–बीचमा छड्के मारिरहेका थिए । मेरो आँखामा आमाको यात्राको सपना थियो । आमा नै हुनुहुन्थ्यो आँखामा । मसँग आपूmलाई थेग्ने हविगत थिएन । मलाई यो सपनासँग जति डर लाग्यो, उमेरको यो चौखटमा आइपुग्दासम्म, अर्को कुनै सपनासँग पनि त्यति डर लागेन । दुःस्वप्नले त्यति घोच्ला भन्ने कल्पना पनि थिएन मेरो मनमा । मलाई दुःस्वप्नको परिभाषाको पनि पत्तो थिएन । 

तुलना गरेर हेर्ने नै हो भने हैजादेखि कोरोनासम्मको महामारीमा हिजो हामी जहाँ उभिएका थियौँ, आज पनि त्यहीँ उभिएका छौँ । के गर्‍यो त बदलिएको प्रविधिले हामीलाई ? कहाँ पुर्‍यायो परिवर्तित समयले ?


झन्डै पैंतालीस वर्षअघि देखेको त्यो सपनाको सन्दर्भ अझै सकिएको रहेनछ । सायद त्यसैले मलाई अहिले पनि वेला–वेलामा दुःस्वप्नहरूले चिथोरिरहेका हुन्छन् । खेदिरहेका हुन्छन् । तर्साउन खोजिरहेका हुन्छन् । कहिले आफ्नै बिछ्यौनामा म आफ्नो घाँटी चेपिइरहेको पाउँछु । कहिले आफ्नै खाटमुन्तिर लुकिरहेको हुन्छु । यस्तो अनुभूति हुन्छ– म घन्टौँदेखि निसास्सिएको छु । बोल्न सकिरहेको छैन । त्यतिवेला, जब बल्लतल्ल आँखा खुल्छ, वरपर अन्धकारको जमघट देखिन्छ । दुःस्वप्नहरू, अन्यथा पनि, सारै अकल्पनीय हुन्छन् । समय–समयमा दुःस्वप्नहरू बल्झिरहेका हुन्छन् । 


केही दिनअघि मात्र गोडामा नेल ठोकिएका सांसद रेशम चौधरीसँग मेरो जम्काभेट भयो । मैले सुनेको थिएँ उनलाई सदर खोर, डिल्लीबजारमा राखिएको छ, थुनामा । उनीमाथि एकदर्जन अभियोग लगाइएका छन् । अहिलेचाहिँ उनी कताबाट आएका थिए– मलाई थाहा भएन । कता जाँदै थिए, त्यो पनि थाहा भएन मलाई । मैले सोधिनँ । उनी दुब्लाएका थिए । मैले सोधिनँ, किन दुब्लाएका थिए ? कारण थाहा थियो मलाई । उनी खिन्न थिए । आफ्नो पूmलबारी रेडियोको आवाज बन्द भएकोमा उदास थिए उनी । 


अहिले त मेरी आमाको मृत्यु भएको नै उनन्चालीस वर्ष भइसकेको छ । त्यो वेला मेरो आफ्नै उमेर थियो, उनन्तीस वर्षको । ती उनन्तीस वर्षमा मैले आमासँग कति वर्ष बिताएँ ? मुस्किलले दश वर्ष । त्यो दश वर्षमा मैले कतिपटक उहाँको धोतीको फेर समातेर रोएँ होला ! अहिले ती कुरा सम्झेर साध्य लाग्दैन । म आमाको पछिपछि हिँड्न मन पराउँथेँ । मेरो बुबा हुनुहुन्नथ्यो । बुबाले मलाई काँधमा हालेर हिँडेको झिनो सम्झना छ, कताकता । केही मानिस मलाई देखेर भन्थे, ‘कस्तो राम्रो रहेछ सानो बाबु । बिचरा बा नभएको टुहुरो ।’ सुनेर मलाई रिस उठ्थ्यो । आमालाई पनि यस्तो फोस्रो सहानुभूति मन पर्दैनथ्यो । उहाँ दिउँसो सुनेका वचन राति सुत्नुभन्दा अगाडि आँसुमा बहाइदिनुहुन्थ्यो । 


सानो छँदा मैले आमासँग तीन–चारपटक लामो यात्रा गरेको थिएँ । लामो यात्रा भनेको या त हाम्रो आफ्नै घरसम्मको हुन्थ्यो, या मामाघरसम्मको । हाम्रो गाउँको घर पहाड झिल्टुंगमा थियो, र मामाघर बेलकोटमा । काठमाडौंबाट निस्किने हाम्रो बाटो हुन्थ्यो, स्वयम्भू, सीतापाइला, भीमढुंगा... । स्वयम्भूमा सेनाको ब्यारेक थियो । बिहान–बिहान सैनिकहरू स्वयम्भूको डाँडाको आडमा बोरा र परालको दुस्मन खडा गरेर तारो हान्ने अभ्यास गर्थे । सैनिकहरूले तारो हान्ने अभ्यास सुरु गर्नुभन्दा पहिले स्वयम्भूको बाटो नकाट्ने हो भने अबेरसम्म त्यही कुर्नुपथ्र्याे । घर जाने सजिलो बाटो पनि यही थियो । 


भीमढुंगाको थाप्लोबाट एउटा बाटो ठाडै ओर्लिन्थ्यो केवलपुरतिर । त्यो बाटो छाडेर अर्को बाटो, तर्पायाँ तर्पायाँ, वैद्यको धारो छिचोल्दै देउरालीतिर लाग्थ्यो । नागार्जुन पर्वतको पश्चिमी भाग । अहिलेको मेरो अन्दाजमा जामाचोबाट सिधै तल । त्यसैले पनि होला, वैद्यको धारोको पानी पियो भने रोगव्याधि निको हुने विश्वास जमेको थियो मानिसको मनमा । वैद्यको धाराको मूल जामाचोकै आसपास कतै थियो होला । आमा देउरालीबाट ओर्लिएर कोल्पुटार नपुगेसम्म खाना खाने तरखर गर्नुहुन्नथ्यो । प्रायः उहाँ मलाई देउरालीमा नै खाना खुवाउनुहुन्थ्यो । आपूm भने कोल्पुटारमा आलु–चिउरा वा दही–चिउरा, जे पाइन्छ, त्यही खाएर खन्यायोखर्कको उकालो उक्लिनुहुन्थ्यो ।


मलाई त के थियो र ? उकालो उक्लिन नसके आँखाबाट बर्बती आँसु झारेर ओढ्ने भिजाइदिन्थेँ । आमाको मन । जसोतसो मलाई खन्यायोखर्कको थाप्लोमा पु¥याइहाल्नुहुन्थ्यो । त्यति बलियो हुनुहुन्नथ्यो आमा । उहाँ कम्मर दुख्ने रोगले पीडित हुनुहुन्थ्यो । त्यो दुःखाइबाट जोगिन कम्मरमा नियमित पटुका कस्नुहुन्थ्यो । त्यो थियो घरेलु इलाज । काठमाडौं देशको राजधानी थियो र पनि अस्पतालको कमी थियो । साह्रै कम थिए डाक्टरहरू नगण्य संख्यामा । लेडी डाक्टरको त कुरै नगरे पनि भयो । जसोतसो एक मात्र सरकारी अस्पताल थियो, वीर अस्पताल । बूढा बंगाली डाक्टरले वीर अस्पतालको पूरै ओपिडी चलाउँथे । उनी थिए सारा देशभरकै जनताको आशाको केन्द्र । 


उतिवेला पनि देशमा थोरै डाक्टर थिए र धेरै बिरामी । अहिले पनि त्यस्तै छ । देशमा यत्रो महामारी चम्कियो । विशेषज्ञ डाक्टर कतै भेटिएनन् । उतिवेला पनि महामारी चम्किन्थे । भाइरस पो चिनिएका थिएनन् । जेठ–असारमा चम्किने महामारी हैजाले धेरैको ज्यान लिन्थ्यो । आतंकित हुन्थ्यो काठमाडौं । अहिले मास्क लगाउन जनतालाई जसरी आह्वान गरियो, त्यसरी नै आह्वान गरिन्थ्यो हैजाबाट जोगिन । काँचो कचिलो नखान । आरु, आलुचा र आलुबखडा नखान । हैजाका कीटाणुबाट आपूm पनि जोगिन, अरूलाई पनि जोगाउन । अभियानकै रूपमा टिएबिसीको इन्जेक्सन दिइन्थ्यो, स्कुल पढ्ने केटाकेटीलाई । पाखुरामा दिइने त्यो इन्जेक्सन यति पीडादायक हुन्थ्यो कि त्यसले ज्वरो नै निकाल्थ्यो । तीन–चार दिन त पाखुरा दुखेर हैरान हुन्थ्यो । सन्तोषको कुरा इन्जेक्सन दिएको भोलिपल्ट स्कुलले बिदा दिन्थ्यो । त्यो इन्जेक्सनको अनुभव अहिले कोरोना महामारीको प्रतिरोध अभियानमा लागेका राजनीति र प्रशासनका नेताहरूसँग पनि होला ।


त्यतिवेलाको राम्रो चलन थियो यो । सरकार अहिलेको जस्तै गरिब भए पनि जसोतसो टिएबिसी इन्जेक्सन जुटाउँथ्यो । कोरोना कहरसँग भिड्न अहिले मास्क र ग्लोबको खरिदमा जसरी अकुत कमिसन हत्याइएको खबर आयो, त्यस्तो खबर आउँदैन थियो । सरकारसँग टिएबिसी इन्जेक्सन किन्नेसम्मको बजेट पनि हुँदैनथ्यो होला । यस्ता औषधिहरू अमेरिकाले सहायतास्वरूप पठाउँछ भनेको सुनिन्थ्यो । विश्वयुद्धका कारण युरोप थाकेको थियो । जर्मनी, हिटलर, यहुदी र ग्यास च्याम्बरको नाम खुब सुनिन्थ्यो । भारतबाट अंग्रेजी शासनको सूर्य अस्ताएपछि इंग्ल्यान्डको नाम चम्किने त कुरै थिएन । सोभियत संघ भर्खर उदाउन थालेको थियो । त्यस्तो समयमा शक्ति अमेरिकामा केन्द्रित हुनु अस्वाभाविक थिएन होला । सोभियत संघको प्राविधिक विकास तीव्र भए पनि सामाजिक विकास सुस्त थियो । शैक्षिक भ्रमणबाट फर्किएका एकजना शिक्षकले एकपटक कक्षामा हामीलाई आफ्नो अनुभव सुनाउँदै भनेका थिए, ‘रुसका बच्चाहरू स्कुलमा स्याउको खाजा खान्छन् । तर, त्यो स्याउ अखाद्य हुन्छ । सुकेको वा कुहिएको ।’ 


उनको कुरा सुनेर हामी अलमलिएका थियौँ । सुकेको स्याउ । कुहिएको । अखाद्य । महान् लेनिनको त्यत्रो साम्राज्यमा पाउरोटी किन्न लाइन लाग्नुपर्ने कुरा पनि सुनाएका थिए, ती शिक्षकले । उनका कुरा चित्त बुझ्दा हुन्थे । किनभने, हाम्रो मगजले त्यस्तो कुरा बुझ्थ्यो । त्यस्तो कुराले मुटु छुन्थ्यो । हामीमध्ये कतिले त स्याउ देखेका पनि थिएनौँ । खानेकुरा त परै जाओस् । ती शिक्षकले हामीलाई बताएका थिए, सोभियत संघमा आलुको प्रशस्त उत्पादन हुन्छ । तर, जनताले पेटभरि आलु खान पाउँदैनन् । सब भोड्का बनाएर सिध्याउँछन् ।


आमाको मृत्युको ठीक ६ वर्षअघि मैले देखेको दुःस्वप्न, खराब सपना मात्र थिएन भनेर बुझ्नै पनि अर्को ६ वर्ष लागेको थियो मलाई । आमाको मृत्युले त्यतिवेला मलाई केही पारम्परिक विषय बुझ्न मद्दत गरेको थियो । अहिलेसम्म पनि त्यसका पूरै अर्थहरू खुल्न सकेका छैनन् । मेरो आफ्नै मस्तिष्क र शरीरबीचको द्वन्द्व थियो त्यो दुःस्वप्न । त्यो अस्तित्व र अर्थ नभएको घटना थियो मेरा लागि, जसले मेरो जीवनलाई विषादपूर्ण बनायो । अहिले पनि जतिवेला त्यो घटनालाई सम्झिन्छु, म, मेरो शरीर अनायास नै काँप्न थाल्छ । म आफैँसँग झस्किन थाल्छु । म आफैँसँग तर्सिन थाल्छु । दुःस्वप्न देखेको ६ वर्षपछि थाहा भयो, आमालाई क्यान्सर भएको छ युटेरसको । अहिले भइदिएको भए त्यो युटेरस अथवा पाठेघर निकालेर फ्याँकिदिएपछि मानिसको ज्यान सहज रूपमा बच्ने थियो । ज्ञानको विस्तार नभएको त्यो समयमा त्यस्तो बुद्धि कोसँग थियो र !


कोरोना महामारी देशको मध्यबिन्दुमा स्थापित भएपछि मलाई समयले उनन्तीस वर्षको उमेरमा फर्काइदियो । यसपछिको मेरो पहिलो दुःस्वप्नमा म भाइरसका बिम्बहरूसँग लड्दै थिएँ । निकै लामो थियो त्यो द्वन्द्व, तीन घण्टा लामो । जतिखेर कोरोना भाइरसका बिम्बहरूलाई पछारेर म दुःस्वप्नबाट उम्किएको थिएँ, त्यतिखेर टोलका बच्चाहरू एक स्वरमा नारा लगाउँदै थिए, ‘कोरोना भाइसरबाट बच्न साबुन–पानीले मिचीमिची हात धोऔँ । सधैँ मास्क लगाएर हिँडौँ ।’ त्यसको भोलिपल्टै आएको अर्को सपनामा चाहिँ भाइरसहरूले मेरो घाँटी निमोठेका थिए । मेरो घाँटीमा आवाज थिएन । मुख सुक्खा थियो । म कसैगरी ती भाइरसका पञ्जाबाट मुक्त भएँ । मेरा ओठमा कलेटी परेका थिए । रगत सोहोरिएर अनुहार सेतो भएको थियो । मानौँ, म ज्युँदो मानिस होइन, लास हुँ ।


र, तेस्रो दिन पनि दुःस्वप्नले पछ्यायो मलाई । तर, तेस्रो दुःस्वप्न त्यति भयावह थिएन । म बहसमा अल्झिएको थिएँ, एक हुल मानिससँग । उनीहरू कोरोनाको कुरा गर्दै थिए र म भोकमरीको । मलाई थाहा थियो, पहाडमा बुल्डोजर लगाएर ट्र्याक खोले पनि लकडाउनका कारण गाउँमा टिपर छिरेका छैनन् । भीमढुंगाको पहाडदेखि कोल्पुपारिका पहाडका कान्ला–कान्लाका मानिस भोकमरीले तिलमिलाएका छन् । दूधको व्यापार गर्ने किसानको लाखाँैलाख रुपैयाँ डुबेको छ, चिज र पनिरमा । सानो स्केलको दूध उद्योग चलाएर बसेको मेरो भतिजोले सन् २०२० को नेपाली पर्यटन वर्ष मनाउन संसारभरिका पर्यटक ओइरिन्छन् भन्ने भ्रममा करोड रुपैयाँ मूल्यको मोजरिल्ला चिज खेर फाल्यो । देशमा पर्यटकभन्दा पहिले कोरोना आयो । 


उनीहरूसँगको मेरो स्वप्न बहस टुंगिएन । उनीहरूले आफ्नो खोकिलामा राखेका थिए, सरकार र पार्टीलाई । उनीहरू केही बोल्दै थिए, म झल्याँस्स ब्युँझिएँ । मलाई लाग्यो, मैले जति भोगेको छु जिन्दगी, त्यो त्यति छोटो पक्कै होइन । तर, तुलना गरेर हेर्ने नै हो भने हैजादेखि कोरोनासम्मको महामारीमा हिजो हामी जहाँ उभिएका थियौँ, आज पनि त्यहीँ उभिएका छौँ । के गर्‍यो त बदलिएको प्रविधिले हामीलाई ? कहाँ पुर्‍यायो परिवर्तित समयले ? छोपिएको छ र पो त, देशमा अहिले पनि हैजा महामारीकै रूपमा छ । देशले सामाजिक र राजनीतिक परिवर्तनको बहुआयामिक मोड लिएको भनिन्छ । यस्तो समयमा पनि देशका वरिष्ठ चिकित्सकहरू सन्निपातले बर्बराइरहेको मानिसको उपचार गर्न आपूm असमर्थ रहेको बताउँछन् । मेरी आमालाई थाहै थिएन, उहाँको पाठेघर क्यान्सरग्रस्त छ । त्यतिवेला सुविधा थिएन । अहिले पनि क्यान्सरले ग्रस्त हजाराैँ–हजार आमाहरू क्षत–विक्षत् पाठेघरको उपचारको अभावमा काल–कवलित भइरहेका छन् । 


लाग्छ, आमाको सपना तुहिएको छ । मेरो मात्र होइन, कविवर गोपालप्रसाद रिमालको आमाको सपना पनि तुहिएको छ । त्यो साँच्चै आउँछ र बाबु ? कविवरको जवाफ, हो त्यो पक्कै आउँछ । त्यो आँधी बनेर आउँछ । 


तर, अहिलेसम्म आएको छैन । आउने लक्षण पनि कतै देखिएको छैन । आमाका सपनाहरू त्यसै–त्यसै तुहिएका छन् । लुप्त भएका छन् । नेपाली मानिस कमजोर हुँदै गएको छ । उसको उर्वर अस्तित्व पलपल धुलोमा विलीन भएको छ । ओ महाशय ! तपाईंलाई पनि थाहा छ होइन, यो कुरा ?