• वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
डा.दीनबन्धु शर्मा
२०७७ श्रावण १७ शनिबार ०९:२३:००
साहित्य

मन्दोदरी

२०७७ श्रावण १७ शनिबार ०९:२३:००
डा.दीनबन्धु शर्मा


मन्दोदरीले भनिन्– पतिव्रता चरित्रभन्दा राज्यको स्वाभिमान महत्वपूर्ण छ


महारानी मन्दोदरी महाराज रावणको मृतशरीरमाथि घोप्टिएर विलाप गरिरहेकी थिइन् । ठीक यसैवेला अयोध्यानरेश रामचन्द्रचाहिँ मन्दोदरीको विवाह विभीषणसँग गराइदिने तानाबाना सोचिरहेका थिए । घाम सीधै माथि उठ्यो, त्रिकूट गिरिमा अलिकति पहेँलो रङ लेपन गरेर सीधै पश्चिममा ओर्लियो । 


मन्दोदरी देशभित्र प्रसिद्व र जनप्रिय महारानी थिइन् । कतिपय सन्दर्भमा उनको जनप्रियता महाराज रावण र अधिराजकुमारहरूको भन्दा पनि ज्यादा थियो । यस्तो हुनुमा सम्भवतः केही कारणहरू यसप्रकार थिए :


१. मन्दोदरी अद्भुत सुन्दरी थिइन्,
२. उनको पातिव्रत्यको विशेष चर्चा हुन्थ्यो,
३. राजा न्यायबाट विचलित हुन खोज्दा पनि उनलाई न्यायको राजमार्गमा फर्काउने काम प्रायः मन्दोदरीले गर्थिन्, आदि आदि ।


आफ्ना दाजुहरू रावण, कुम्भकर्ण, भतिजो इन्द्रजित र अनेकौँ लंकावासीको प्राणहरण र सर्वनाशमा रामचन्द्रलाई सक्रिय सहयोग गरी राजा बन्दै गरेका विभीषणका निम्ति मन्दोदरीको लोकप्रियता आउँदा दिनहरूमा घातक सिद्ध हुन सक्थ्यो । विभीषणका निम्ति प्रतिकूल मन्दोदरीको यो लोकप्रियता रामचन्द्र वा अयोध्याका निम्ति पनि अनुकूल नहुने प्रस्टै थियो । त्यसैले विधवा मन्दोदरीलाई उनकै देवर विभीषणसँग विवाह गरिदिँदा निम्न फाइदाहरू हुन सक्थे :


१. मन्दोदरी विभीषणको आज्ञा र निर्देशन मान्न विवश हुन्थिन्,
२. मन्दोदरीको लोकप्रियता विभीषणका निम्ति उपयोग गर्न सकिन्थ्यो,
३. मन्दोदरीले पातिव्रत्यको कारणबाट प्राप्त गरेको लोकप्रियता सरासर गुम्दथ्यो,
४. उपर्युक्त सबै कारणले विभीषणलाई प्रत्यक्ष फाइदा पुग्ने थियो र प्रकारान्तरले रामचन्द्र वा अयोध्यालाई नै फाइदा पुग्ने थियो ।


रामचन्द्रको यो कूटनीतिक कौशलबाट लक्ष्मण निकै प्रभावित भएका थिए । यत्रतत्र धेरै लासहरू छरिएका थिए– दुर्गन्ध व्याप्त हुँदै थियो, आकाशमा गिद्धहरू मडारिन थालेका थिए भने मैदानमा स्याल र कुकुरहरू आइपुगेका थिए ।


मन्दोदरी रुँदै बर्बराइरहेकी थिइन्, ‘जब हजुर क्रोधित होइबक्सिन्थ्यो देवराज इन्द्र पनि हजुरको सामु उभिने साहस गर्दैनथे, हे शत्रुविजयी, ऋषि, गन्दर्भ, देव, दानव आदि सबै जातिमाथि आफ्नो उपस्थिति मात्रले महाभयको सञ्चार गर्न सक्ने हजुरलाई एउटा साधारण मानिसबाट पराजित हुँदा किन लज्जा नभएको हो ? हे महापराक्रमी, कति ठूलो दशा लागेर आफ्नो सम्पूर्ण ऐश्वर्य, अतिप्रय स्वजनहरू, सर्वस्व र आफ्नै प्राण गुमाउनका निम्ति हजुरले रामचन्द्रपत्नी सीताको कामना गरिबक्स्यो र हरण गरिबक्स्यो ।


मिथिलेशकुमारी सीता उत्तम पतिव्रता नारी हुन्, तर पनि न कुलका दृष्टिले, न रूपका दृष्टिले र न त दाक्षिण्य आदि गुणका दृष्टिले नै उनी मबराबर हुन सक्छिन् । यति हुँदाहुँदै पनि उनकै मोहमा चुर्लुम्म डुबेर हजुरले आफ्नो प्राण–सर्वस्व गुमाउँदै हामीलाई यो महान् दुर्गति देखाइबक्स्यो ।


हे सौन्दर्यप्रेमी महाराज, संसारका सबै सुन्दरताहरू आफ्नै आधिपत्यमा राख्नुपर्ने हजुरको अभिमानी स्वभावको यो विडम्बना भयो । दरबारको कुनै भवनको भव्यताबारे सल्लाह गर्ने उद्देश्यले मेरा पिताज्यू मयासुरलाई भेट्न हजुर आफैँ मण्डोर आइबक्सेको थियो । विश्वव्यापी प्रताप भएका रावणको अपमान किमार्थ गर्नुहुँदैन भनी मैले नै विवाहका निम्ति पिताजीलाई मनाएकी थिएँ । मण्डोरको अष्टमातृका निकट रहेको अग्निकुण्डछेउ थोरै मानिसको उपस्थितिमा हाम्रो विवाह भएको थियो । कठै ती दिनहरू कसरी स्वप्न भए ।

 

‘रामचन्द्र ।’ मन्दोदरी ठूलो स्वरमा कराइन्, ‘तपाईँ मेरो घाउमा नुन–खुर्सानी दल्दै हुनुहुन्छ, म विश्वप्रसिद्ध पतिव्रता नारी हुँ । विजयको दम्भमा तपाईँ यति असन्तुलित बोल्नुहुन्छ भन्ने लागेको थिएन । 

 

मन्दोदरी रोइरहिन्, केही रावणका भित्रिनी स्त्रीहरू मन्दोदरीलाई उठाउने असफल प्रयत्न गरिरहेका थिए । मन्दोदरीको गला सुकेर अवरुद्व भएकाले केही मानिस छेउको सानो नदीतिर पानी लिन दौडे । मानिसहरू सुस्केरा काढिरहेका थिए ।
‘यसरी विलाप र क्रन्दन मात्र कतिबेर गरिरहने ? छेउमै उभिएका लक्ष्मणले भने र आफ्ना दाजुतिर हेरे । ‘केहीबेर आँसु बगून्, रामचन्द्रले लक्ष्मणलाई चुप लाग्न संकेत गरे । 


विभीषण अलि पर सालको ठुटो रूखमुनि अपराधीसरह झोक्राइरहेका थिए । महावेली नदी निरपेक्ष भावमा दक्षिणबाट उत्तरतिर सुसाउँदै गइरहेको थियो । त्रिकूट गिरि र अन्य स–साना थुम्के पहाडहरू काला देखिँदै गए र क्रमशः सन्ध्या घनीभूत हुँदै गयो ।


मन्दोदरी प्रलाप गरिरहेकी थिइन् । रुवाइ घरिघरि पातलो हुन्थ्यो, मत्थर हुन्थ्यो र एकछिनपछि पुनः अक्कासिन्थ्यो, तर बरबराउने क्रम यथावत् थियो :

उनको मूर्छित तन्द्राभित्र महाराज रावण र पुत्र इन्द्रजित विभिन्न स्वरूपमा आउने–जाने गरिरहे ।


‘हे वीर म विचित्र वस्त्राभूषण धारण गरी अनुपम शोभाले सम्पन्न भई हाम्रो अतिप्रिय पुष्पक विमानमा हजुरसँग आलम्बित भई कैलाश, मन्दराचल, मेरु पर्वत, चैत्ररथ वन तथा देवोद्यानहरूमा विहार गर्थेँ, नानाप्रकारका देशहरू हेर्दथेँ । आज, रामचन्द्रद्वारा हजुरको बध भएपछि म समस्त कामभोगबाट वञ्चित हतभागी भएकी छु र त्यो मेरो ईष्र्यालाग्दो भाग्य अहिले सीताको पोल्टामा पुगेको छ ।


मन्दोदरी मूर्छित भएकी थिइन्– उनी बिस्तारै आफ्नै स्वैरकल्पनामा तरंगिँदै विगत जीवनयात्राका पाइलाहरू पछ्याउँदै नवविवाहिता दुलही भएको स्मृतिमा भासिन पुगेकी थिइन्– त्यो स्मृति प्रिय थियो, रोमाञ्चक थियो र दुरुस्त विपना नै थियो ।


आफ्नी नवदुलही महारानीलाई महाराज रावण आफैँ अनेकौँ दरबारिया भवनहरूभित्र पैदल हिँडाउँदै थिए । नीलम जडेका सुनका झ्यालहरूबाट हेर्दा पक्षी समूहहरूको कलरव गुन्जिरहेका संगीतमय र देदीप्यमान भवनहरूको समुदाय मन्दोदरीले देखिन् । नवविवाहिता उनको शिर लज्जाले माथि उठ्न सकिरहेको थिएन, तापनि लंका दरबारको त्यस अद्भुत सौन्दर्यले दिएको आश्चर्यले उनलार्ई आफ्ना पतिसँग बोल्न बाध्य बनाइरहेको थियो ।


‘वर्षाकालका विद्युन्मय मेघमालासमान मनोहर यी घरहरू, उनले भनिन् । नाना प्रकारका बैठक, शंख, आयुध र धनुषका मुख्य मुख्य शालाहरू र महलको माथिपट्टि विशाल चन्द्रशालाहरू उनले देखिन् । अगाडि बढ्दै जाँदा जब उनले सुन्दरताको अद्भुत नमुना पुष्पक विमान देखिन् तब उनको आश्चर्यको सीमा रहेन ।    


‘यो मेरो पुष्पक विमान हो प्रिये ! रावणले भने, ‘यो मैले आफ्ना सौतेला दाजु कुबेरबाट आफ्नो पराक्रमले हस्तगत गरेको हुँ, यसो भनिसक्दा उनको गर्दन निकै सीधा र शिर उच्च देखिन्थ्यो ।


मेघसमान अग्लो, आफ्नै उज्यालोले प्रकाशित भाँतीभाँतीका फलफूलसहितका वृक्षहरूले सुशोभित त्यो विमान पुष्पपरागले पूर्ण विशाल पर्वतजस्तो देखिन्थ्यो । जसरी अनेक वर्ण एवम् रङहरूको मनोहर संयोजनले मेघमालाहरूको विचित्र दृश्य बन्दछ त्यसैगरी नाना प्रकारका रत्न र मणिहरूले निर्मित हुनाले त्यो विमान विचित्र सौन्दर्यले सम्पन्न देखिन्थ्यो । 


विशाल लम्बाइ र चौडाइ भएका ती दरबारहरू पार गर्दै ती नवदम्पती निजी निवासतर्फ पुग्दै थिए र मन्दोदरीका निम्ति यो दरबारभित्रको प्रत्येक पाइला रोमाञ्चक अनुभव भइरहेको थियो ।


केही अगाडि हिँडेपछि एउटा ठूलो हवेलीमा प्रवेश गरेका थिए उनीहरू । यो हवेली पनि रावणका निम्ति अतिप्रिय थियो । यसमा मणिहरूका सिँढी, सुनका झ्याल र स्फटिकको भुइँ थियो । भित्तातिर हात्तीका दन्तहरू टाँसेर विभिन्न आकृतिहरू बनाइएको थियो । साँझ झमक्क पर्दा सुनका पानसहरूमा लहरै बालिएका बत्तीहरूले अपूर्व सौन्दर्यको उद्घाटन गरेका थिए ।


मन्दोदरीका आँखा खुलेका थिए । स्वर्गलोकबाट हठात् चुडिएर पछारिएझैँ यताउता हेरिन् उनले । उनी आफ्नो विशाल पलङमा थिइन्, तर सधैँ हुने गरेको दायाँ पाश्र्वमा महाराज रावण थिएनन् । उनलाई चैतन्यमा आउन केही समय लाग्यो । उनका आँखाहरू पुनः बग्न थाले । यति लामो सुन्दर अतीतको स्मृतिस्वप्नबाट हठात् यस दुःखको गहिरो गर्तमा पछारिनुपर्दा उनको हृदय फेरि नराम्ररी कम्पित भइरह्यो ।


‘अब धेरै विलाप नगर्नुहोस्, तपाईँ संसारका थोरै मात्र महान् बुद्धिजीवी महिलाहरूमध्ये हुनुहुन्छ, रामचन्द्र अगाडि उभिएर बोलिरहेका थिए, ‘तपाईँलाई धर्म, अर्थ र राजनीतिको विशिष्ट ज्ञान छ । तपाईँले नयाँ महाराज विभीषणसँग मिलेर दिवंगत महाराज रावणको अन्तिम संस्कार पूरा गर्नुपर्नेछ, जुन पूर्णतः राजकीय सम्मानका साथ होस् भन्ने हामी चाहन्छौँ । आखिर सबै कुरा क्षणिक र नाशवान् छन् भन्ने जान्दै सबैले आफ्नो कर्तव्य पथमा लाग्नैपर्दछ । तपाईँले आगामी दिनहरूमा लंकाको राजनीतिको मार्ग विभीषणसँग मिलेरै निर्धारण गर्नुमा सबैको कल्याण छ । यदि यस्तो हो भने तपाईँ विभीषणसँग विवाह गर्नुहोस् र भावी दिनहरूमा पनि महारानीकै रूपमा राजनीतिको लगाम समाउनुहोस् ।


‘रामचन्द्र । मन्दोदरी अलि ठूलो स्वरमा कराइन्, ‘तपाईँ मेरो भयानक घाउमा नुन–खुर्सानी दल्दै हुनुहुन्छ, लंका राज्यले तपाईँसँग हारे पनि र तपाईंले महाराज रावणलाई मारे पनि मेरा नैसर्गिक र चारित्रिक अधिकार खोस्ने हक तपाईँलाई प्राप्त हुँदैन । तपाईँका उपदेशहरू अहिले मेरा निम्ति वाञ्छनीय छैनन्, जानुहोस्, मलाई आराम गर्न दिनुहोस्, यति तुच्छ वचन नबोल्नुहोस् ।


‘हामी तीन–चार दिनसम्म तपाईँको निर्णयको प्रतीक्षा गर्नेछौँ, यति भनेर राम–लक्ष्मण बाहिर निस्के । सँगसँगै हात जोडेर विभीषण पनि पछिपछि दौडेको मन्दोदरीले देखिन् । राता आँखाहरू चिम्लिँदा मन्दोदरीका ताता अश्रुहरू उनकै छातीतिर बगे । रामचन्द्रको अन्तिम वाक्यमा सहिष्णुताभन्दा चेतावनीको ध्वनि ज्यादा थियो भन्ने अनुभूति मन्दोदरीका निम्ति निकै पीडामय बन्यो र उनी घुटुकघुटुक गरिरहिन् ।


विभीषण, उनका मावलीतिरका मातामह माल्यवान् र केही बन्धु–बान्धवहरूको सहयोगद्वारा रावणको दाहसंस्कार पूरा गरिएको थियो । रावणका पिता विश्रवा ब्राह्मण थिए भने माता कैकसी राक्षस जातिकी थिइन् । जेसुकै भए पनि उनको संस्कार ब्राह्मणकैसरह गरिएको थियो ।


अन्तिम संस्कारका निम्ति शकट, दाउरा, अग्निहोत्रका अग्निहरू, यज्ञ गराउने प्रतिष्ठित पुरोहित, चन्दनकाष्ठ, सुगन्धित अगर, मणि, मोती, मुगा यथेष्ट मात्रामा एकत्रित गरी रावणको शवलाई रेसमी वस्त्रमा लपेटी विभीषण र सहयोगीहरूद्वारा त्यसलाई काँधमा उठाएर श्मशानभूमितिर प्रस्थान गरिएको थियो ।


 ०००

अलिकति सुस्केरा काढेर मन्दोदरीले आफ्नो खोपीको सुवर्णमय झ्यालबाट बाहिर हेरिन्, अलि पर अशोक बगैँचा देखिन्थ्यो जहाँ लामो समयसम्म सीतालाई खुला बन्दीका रूपमा राखिएको थियो । अब सीता मुक्त हुन पुगेसँगै आफू बन्दीसरह हुने अवस्था आइपुगेको मन्दोदरीलाई लाग्यो । रावणको अहंकारी र स्त्रीलम्पट स्वभावले कुनै दिन अनर्थ आउने पो हो कि भन्ने लागे पनि आफ्नो परिवार र लंका राज्यको जीवनमा यति ठूलो दुर्घटना हुन्छ भन्ने उनलाई लागेको थिएन । 


मुख्य कुरा रामलक्ष्मणजस्ता सामान्य मनुवाद्वारा महावीर रावणको यो गति हुन्छ भन्ने कसैले सोचेको थिएन । नसोचेको पनि हुन्छ भन्ने पनि सोच्नैपर्ने रहेछ ।


साल, अशोक, निम्ब र चम्पाका वृक्षहरूमा अहिले वसन्त ऋतु नाचिरहेको देख्न सकिन्थ्यो । फलफूलको लदाबदी, पक्षीहरूको कलरव र महावेली नदीको जलतरंगमाझ हरिणहरूको समूह दौडिरहेको थियो । जति हेरे पनि नअघाइने यो सुन्दर दृश्य मन्दोदरीलाई कुरूप लाग्यो र माथि उठेको प्रचण्ड घाममा उनको कपाल बलकबलक बल्किरह्यो । भोलिपल्ट बिहान मन्दोदरीले सहायिका चारुकाको हात सन्देश पठाएर माल्यवानलाई बोलाइन् ।


‘मातामह, महाराजले पनि आफ्नो जीवनकालभरि तपाईँको सल्लाह लिनुभएको हो र मलाई पनि अहिलेको संकटको घडीमा तपाईँको राजनीतिक परामर्श आवश्यक भएकाले यहाँ बोलाइएको हो, कौचमा बस्ने इसारा गर्दै मन्दोदरीले वार्तालाप सुरु गरेकी थिइन् ।


माल्यवानले दिएका सुझाबको मोटामोटी निष्कर्ष यस्तो थियो : ‘रामचन्द्रका पिता दशरथले विवाह कूटनीति वा विवाह राजनीतिको चतुरतापूर्ण उपयोग गरेका थिए । कोशलबाट कौशल्यालाई, काशीबाट सुमित्रालाई र उत्तरपश्चिमको केकयबाट कैकेयीलाई दशरथले विवाह गर्नुको खास उद्देश्य राजनीतिक प्रभाव विस्तार वा औपनिवेशिक विस्तार नै हो । त्यसमा उनी अपेक्षित रूपमा सफल पनि थिए ।

 

दशरथ र रामचन्द्रसमेतले त्यसबाहेक श्रावस्ती, मिथिला, नैमिषारण्य, दण्डकारण्य, किष्किन्धा आदि ठाउँमा गरेको राजनीतिक प्रभाव विस्तारलाई महारानीले अर्थपूर्ण रूपमा हेरिबक्सियोस् र त्यसै शृंखलामा अब विभीषणलाई स्थापित गरेर लंकामाथि अयोध्याको झन्डा फहराउने उद्देश्य रामचन्द्रको हो भन्ने निष्कर्ष हामीले निकाल्नुपर्दछ । यस्तो निष्कर्ष निकालिसकेपछि लंकाको सम्प्रभुता हामी कसैको आत्मबलिदानभन्दा पनि महत्वपूर्ण हो भन्ने कुरा विदूषी महारानीलाई मैले सम्झाउनुपर्दैन ।


माल्यवानको सङ्क्षिप्त र सारगर्भित विश्लेषणबाट मन्दोदरी प्रभावित भएकी थिइन् र चारुकालाई आदेश दिएकी थिइन्, ‘मातामहलाई फीर्ति सवारीको निम्ति घोडाबग्गीको व्यवस्था गर । 

०००

विभीषण र उनकी पत्नी सुरमाले महाराज महारानीको आसन ग्रहण गरिसकेका थिए र दरबारभित्र–बाहिर विभीषणको दबदबा देखिन थालिसकेको थियो । मन्दोदरीको खोपीबाहिरको बरन्डामा पनि गुप्तचर विभागबाट आएका दुई सैनिक ओहोरदोहोर गर्न थालिसकेका थिए ।


अतिथिगृहमा विशिष्ट पाहुनाका रूपमा राखिएका रामचन्द्र र लक्ष्मण खाना खाएर बैठककक्षतर्फ जाँदै थिए । ‘हाम्रो अधीनता स्वीकार गर्ने धेरै राजाहरूमध्ये ऐश्वर्यका दृष्टिले र समुद्री द्वीप भएकाले सामरिक दृष्टिले पनि लंका नै बढी महत्वपूर्ण छ । यद्यपि रावणले हरण गरेकाले भाउजूले धेरै दुःख पाउनुभयो, तर त्यसलाई माध्यम बनाएर लंकालाई अधीनमा ल्याउनु हाम्रो उल्लेख्य सफलता हो, लमकलमक लम्किरहेका दाजु रामचन्द्रलाई पछि–पछि दौडेर लक्ष्मणले भने ।


‘हामीले विभीषणलाई हाम्रो प्रतिनिधिका रूपमा राजा बनाएर स्थापित गरिसकेका छौँ, तर राजनीतिमा एकपटक गरिएको कार्य सधैँका निम्ति स्थिर हुँदैन, यदि त्यस्तो हुने भए लंकाजस्तो महाशक्ति राष्ट्रले यति ठूलो पतन देख्नुपर्ने थिएन, भोलिका दिनहरूमा मन्दोदरीले आफ्ना प्रजा र अरू राज्यहरूको समेत सहायता र समर्थन लिई हामीमाथि नै, चढाइ गर्ने शक्तिसञ्चय गर्न पनि त के बेर ? सधैँ चनाखो रहनुपर्दछ,’ रामले भने ।


‘यही नहोस् भन्नका लागि नै विभीषणसँग मन्दोदरीको विवाह हजुरले चाहनुभएको हो भन्ने मैले बुझेँ । लक्ष्मण सन्तुष्ट देखिए, ‘तर मन्दोदरीको उत्तर कहिले आउँछ ?


मन्दोदरीलाई वर्तमान यथार्थ आत्मसात् गर्न बारम्बार गाह्रो भइरहेको थियो । रावणको अहङ्कार र विभीषणको अन्तर्घातले लंकाको ठूलो वैभव र अन्तर्राष्ट्रिय प्रताप एवम् शक्ति रसातलमा पुगेको थियो र यो पनि यथार्थ थियो कि उनी अब एक शक्तिहीन विधवा मात्र थिइन् । साँच्चै भन्ने हो भने अब एक अघोषित बन्दी थिइन् । यसरी बन्दी भएर अवसादग्रस्त भई आफ्नो खोपीमा पिल्सिएर सड्नुको राजनीतिक अर्थ विभीषणजस्तो विदेशीको कठपुतलीको हातमा आफ्नो लंकालाई सुम्पनु र प्रकारान्तरले अयोध्याको औपनिवेशिक प्रभुत्व स्वीकार गर्दै लंकाको ऐतिहासिक गौरवलाई निमिट्यान्न पार्नु नै हुन्थ्यो ।


‘यसभन्दा आत्महत्या बरु सह्य हुन्छ, मन्दोदरीले आफैँलाई भनिन् । 
चार दिन–चार रात मन्दोदरीलाई निद्रा लागेन, पानी मात्र खाइरहिन् ।


पाँचौँ दिन उनले चारुकालाई बोलाएर भनिन्, ‘यो चिठी दिएर आऊ । हे चारुका, जुन अन्तर्देशीय शक्तिसंघर्षको दबदबामा अहिले लंका छ, यसबाट यस राज्यलाई बचाउने मैले जानेको र मसँग भएको उपाय म प्रयोग गर्दै छु । म विभीषणलाई खुट्टा टेक्न लगाएर यस राज्यको सम्प्रभुतालाई जोगाउँछु । म दरबारमा बसेर श्रीहीन भएको लंका हेर्न सक्दिनँ ।’


‘यो चिठी कसलाई दिऊँ महारानी ? के छ यस चिठीमा ? चारुकाले सोधी । ‘यो चिठी महाराज विभीषणलाई देऊ,’ मन्दोदरीले भनिन्, ‘यसमा मैले विभीषणसँग विवाह गर्ने निर्णय छ, मेरो तथाकथित पतिव्रता चरित्रभन्दा मेरो राज्यको स्वाभिमानी चरित्र मेरा निम्ति महत्वपूर्ण छ,’ मन्दोदरीका आँखाबाट बरर्र आँसु झरे, तर उनको शिर सीधा र उच्च देखिन्थ्यो ।