• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
जेबी विश्वकर्मा
२०७७ श्रावण १७ शनिबार १०:४५:००
समाज

जातिवादसामु घुँडा टेकेको नेपाली मार्क्सवाद

२०७७ श्रावण १७ शनिबार १०:४५:००
जेबी विश्वकर्मा

 

अहंकार निर्देशित नरसंहार

सन् २०१४ डिसेम्बर १६ मा पाकिस्तानको पेसावरमा आतंकवादीले एक्कासि गोली हानी १३४ जना बालबालिकासहित १५० जनाको हत्या गरेजस्तै वा शक्तिकेन्द्रले अफगानिस्तान, सिरिया, लिबिया आदि देशमा युद्धकविमानबाट आक्रमण गरी सयौँ निहत्था नागरिकको हत्या गरेझैँ रुकुम सोतीमा गाउँलेले निहत्था १८ जना युवामाथि आक्रमण गरी नवराज विश्वकर्मा (२१), टीकाराम सुनार (२०, गणेश बुढामगर (१७), लोकेन्द्र सुनार (१८), सञ्जु विक (२१) र गोविन्द शाही (१९)को नृशंस हत्या गरियो । आतंकवादी हमलालेझैँ मनमस्तिष्क हल्लाउने रुकुम नरसंहारले सिंगो राज्यसंयन्त्र, राजनीति, नागरिक संगठनसमक्ष गम्भीर प्रश्नहरू खडा गरिदिएको छ । 


संसारभरि नै अत्याचारी शासकहरूले वर्ग, रङ्ग र जातका मानिसमाथि चरम दमन गर्दै आएका छन् भने त्यस्ता दमनविरुद्ध प्रतिरोध संघर्ष पनि प्रशस्त भएका छन् । पहिलो विश्वयुद्धको अन्त्यपछि अमेरिकामा रङ्गभेदी अहंकारवादी गोराहरूले अफ्रिकन-अमेरिकनमाथि अत्याचारी हत्याको शृङ्खला नै चलाएका थिए । मिचिगनमा उत्तर र दक्षिणी गाउँबाट कामका लागि सहर पसेका अफ्रिकन-अमेरिकनमाथि सत्ताधारी गोराहरूले पासविक दमन गरेको थियो । पहिलो विश्वयुद्धलगत्तै २७ जुलाई १९१९ मा अफ्रिकन-अमेरिक युजिन विलियम्स मिचिगनको समुद्रको गोरालाई छुट्याइएको क्षेत्रमा गएर पौडी खेलेपछि उनलाई गोराहरूले ढुङ्गाले हिर्काएर पानीमा डुबाएर हत्या गरे । त्यहाँको सत्ताले गोराहरूकै साथ दियो, हत्यारालाई पक्रिएन । त्यसपछि अफ्रिकन-अमेरिकनले प्रतिरोध गर्ने क्रममा गोराहरूसँग झडप सुरु भयो । युजिन हत्याको ५ दिनभित्र १५ गोरा र २३ अफ्रिकन-अमेरिकनको मारिए । यसरी सुरु भएको रंगभेदी दमन देशव्यापी बन्यो ।

 

सन् १९१७ देखि १९२३ अमेरिकाका २७ वटा सहरमा गोराहरूको भिडले अफ्रिकन-अमेरिकनविरुद्ध ९७ वटा हत्याकाण्ड मच्चिए । ‘रेड समर’ले चिनिने उक्त हत्याकाण्डमा हजारौँ अफ्रिकन-अमेरिकनको निर्ममतापूर्वक हत्या भएको थियो, उनीहरूका घर र व्यवसायमा आगो लगाइएको थियो र राज्यले एक किसिमले गोराहरूको साथ दिएको थियो । ठीक त्यसैगरी रुकुम नरसंहारमा स्थानीय सत्ताका मालिक नै युवाहरूको हत्यामा संलग्न हुनु र रुकुमको राजनीतिक नेतृत्व आफ्नो जाति र नातागोताको संरक्षणमा उभिनु अमेरिकामा एक सय वर्षअघि भएको ‘रेड समर’जतिकै गम्भीर अपराध हो । 


दक्षिण एसियामा जातिवादी दबदबा र अहंकारसहितको सत्ताले दलितमाथि निरन्तर हत्याकाण्ड वा नरसंहार मच्चाउँदै आाएको छ । बिहारमा कथित उपल्ला जातिका भू-सामन्तहरूले श्रमिक र मजदुर दमनका लागि गठन गरेको रणवीर सेनाले सन् १९९६ जुलाई ११ मा भारतको बिहारस्थित बथानीमा २१ जना दलितको सामूहिक हत्या गरेको थियो । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)ले श्रमिकको ज्याला प्रतिदिन रु. २० बाट बढाएर रु. ३० पु-याउन भू–सामत्वलाई दबाब दिएको थियो । श्रमजीवि दलितले ज्याला वृद्धिको मागलाई समर्थन गरेकै कारण दलितमाथि त्यति ठूलो नरसंहार भएको थियो ।

नागरिक अधिकारका लागि लड्ने नागरिक समाज भने दलित अधिकारका लागि भएका संघर्षमा गुमनाम छ । जातव्यवस्थाको बलमा स्थापित सत्ता र स्वार्थबाट निरन्तर लाभ लिइरहेको यो गैरदलितको ठूलो हिस्सा यसलाई दलितको मात्रै सरोकार देख्छ ।

यसैगरी सन् १९९७ मा बिहारकै लक्ष्मणपुरमा रणवीर सेनाले नै ५८ जना दलितको हत्या गरेको थियो । एकवर्षको बालकदेखि गर्भवती महिलालाई समेत अत्यन्तै निर्ममतापूर्वक हत्या गरिएको थियो । त्यसको कारण भूमिहीन र गरिब दलितले भारतीय माओवादीको समर्थन गरेको आरोपमा उनीहरूको हत्या गरिएको थियो । हातहतियारसहित रातको ११ बजे गाउँ छिरेका रणवीर सेनाले घरको ढोका फोरेर सुतिरहेका निहत्था दलितको निर्ममतापूर्वक हत्या गरेको थियो । ७ अप्रिल २०१० मा पटना अदालतले उक्त घटनाका दोषीमध्ये १६ जनालाई मृत्युदण्ड र १० जनालाई आजीवन कारावासको व्यवस्था गरिएको फैसला सुनाएको थियो । 


जातीय हिंसाका चरम घटना भारतमा हुने गरेको छ । भारतमा दैनिक औसत २ जना दलितको हत्या हुन्छ भने ४ जना दलित महिला गैरदलित पुरुषबाट बलात्कृत हुन्छन् । अन्तर्जातीय विवाहका कारण भारतमा पनि यस्ता हत्या हुने गरेका छन् । नेपालमा पनि अन्तर्जातीय विवाहकै कारण थुप्रै हत्याका घटना भएका छन् । उच्च जातीय अहंकार र आपराधिक सोचका कारण भएको हत्याको पछिल्लो शृङ्खला हो, रुकुम नरसंहार । लोकतान्त्रिक भनिएको राज्यव्यवस्थाको चरित्र उदाङ्गो पार्ने र सचेत नागरिक लाजले झुक्नुपर्ने रुकुम नरसंहारले समाज, राज्यव्यवस्था, राजनीतिक दल, संस्कृतिकर्मी, मानवअधिकारवादी र सिंगो गैरदलित समुदायसमक्ष गम्भीर प्रश्नहरू खडा भएका छन् । 

 

समाजको निर्लज्जता 

 

नेपाली समाजको आधारभूत चरित्र विभेदकारी जातव्यवस्था हो । यस किसिमको सामाजिक शक्ति–सम्बन्धका कारण समाजको एउटा सिंगो तप्का दलितविरुद्ध निरन्तर दमन गरिरहेको छ । नेपाली समाजमा एउटा ठूलो तप्काले औपचारिक वा अनौपचारिक शिक्षा हासिल गरेका छन्, तर समाजचाहिँ जातव्यवस्थाले निर्माण गरिदिएको विभेदकारी चेतनाबाट मुक्त छैन अर्थात् जातव्यवस्थाको कोणबाट हेर्दा समाजका अधिकांश शिक्षित जमात विभेदकारी जातव्यवस्थाविरोधी छैन । समाजले मानिआएको शिक्षित, सचेत तर विभेदकारी जातव्यवस्थाबाट मुक्त नभएको समाज वा सामाजिक–राजनीतिक संरचना नै मूलतः दलितमाथि हुने हिंसाका स्रोत हुन् । यस्तो विभेदकारी समाजमा अन्तर्जातीय प्रेमलाई अपराधका रूपमा व्याख्या गरिन्छ ।


प्रेम व्यक्ति–व्यक्तिबीचको महत्वपूर्ण सम्बन्ध हो । मन परेको व्यक्तिलाई माया गर्नु वा विवाह गर्नु व्यक्तिको आधारभूत अधिकार हो । कुनै व्यक्तिले कसैलाई प्रेम वा विवाह गर्नु उनीहरूको सहजीवन र खुसीसँग जोडिएको हुन्छ । तर, हिन्दू समाजमा प्रेम र खुसीलाई जातीय पर्खालले छेकिँदै आएको छ । यसैको परिणाम हो, रुकुम नरसंहार । सो नरसंहारले समाजका अगाडि केही प्रश्न खडा गरिदिएको छ । के नवराज र सुष्माबीचको प्रेम सम्बन्ध हुनु ‘अपराध’ थियो ? के फरक जातिबीचको प्रेम सम्बन्धलाई समाजले अपराधीकरण गर्न र हत्यासमेत गर्न मिल्छ ? एउटा प्रेमीको हत्याका लागि सिंगो गाउँ नै संलग्न हुनु कुन तहको चेतनाबाट निर्देशित छ ? प्रेमलाई अपराधीकरण गरेर कुनै समाज मानवीय समाज बन्न सक्छ ? नवराज र उनका साथीहरूको रगतको आहालमा डुबेको सोती नरसंहारले प्रत्येक शिक्षित र सभ्य नागरिकबाट यस्ता प्रश्नको उत्तर खोजेको छ ।


अभिभावकलाई आफ्ना सन्तान सबैभन्दा प्यारा हुन्छन् । सन्तानका खुसीका लागि धेरै अभिभावकले त्याग गर्न तयार हुन्छन् । नवराज र सुष्मा दुवैका परिवारका अभिभावकका खुसीका पात्र हुन् । रुकुम घटनामा सुष्माको खुसी नवराज हुन् र नवराजका लागि सुष्मा । तर, सुष्माका अभिभावक सबैभन्दा धेरै माया गरेका छोरीको खुसी खोस्न उनकै प्रेमीको हत्या गर्न किन तयार भए ? छोरीको खुसी खोस्न अपराधसमेत गर्ने मनोदशाका कारण के हुन् ? कुन चेतनाले यस्तो आपराधिक समाजको निर्माण गरिरहेको छ ? निर्दोष र निरपराध छोरीको प्रेमी र उनका साथीहरूको हत्या कसरी जायज हुन्छ ?

 

सन्तानको खुसीविरुद्ध गरिने योभन्दा गम्भीर अपराध के हुन सक्छ ? जातव्यवस्थाले निर्माण गरेको आपराधिक मनोवृत्तिले परिवारको खुसी मात्रै होइन, सिंगो समाजलाई नै अपराधीकरण गरेको कुराको आत्मसातीकरण कहिले होला वा यस्ता नरसंहार मच्चाउनमै समाज उद्यत रहला ? विभेदकारी जातव्यवस्थाका अगाडि शिक्षित र सचेत वर्ग दाबी गर्ने समूह नै लम्पसार गर्छ भने त्यसले समाज रूपान्तरणमा के भूमिका खेल्न सक्ला ? समाजका हरेक सदस्यसँग प्रश्न खडा गरिरहेको छ । 

 

सत्ता मातले मृत संवेदना 


सन् १९९७ मा भारतको बिहारमा रणवीर सेनाले ५८ जना दलितको नरसंहार गरेपछि भारतका राष्ट्रपति केआर नारायणनले शोकसन्तप्त परिवारलाई संवेदना दिए र उक्त नरसंहारलाई ‘राष्ट्रिय लज्जा’का को विषय भएको विचार राखे । सोती घटनामा चौरजहारीका टीकाराम सुनारको हत्या गरी भेरीमा बगाइयो । उनकी १८ वर्षकी श्रीमती र दुई वर्षकी छोरी छन् । त्यसैगरी जाजरकोटको भेरी नगरपालिका रानागाउँका सञ्जु विक नवराजकी प्रेमिकालाई लिएर फर्किएपछि ५ वर्षको आफ्नो छोराको जन्मदिन मनाउने योजनामा थिए । तर, उनको पनि हत्या गरेर भेरीमा बगाइयो । यति कलिलै उमेरमा सञ्जु र टीकारामका श्रीमतीहरू विधवा हुनुप-यो । एकातिर श्रीमान्को हत्याका कारण कलिलै उमेरमा विधवा हुनु र बालबालिकाले बुबा गुमाउनुको पीडा कति हुन्छ होला भनेर राष्ट्रपतिलाई अलिकति पनि बोध नहुनुको कारण के हो ?

 

२०७६ मंसिरमा बाग्लुङमा जिप दुर्घटना हुँदा मृत्यु हुनेहरूलाई संवेदना दिन सक्ने राष्ट्रपतिले अन्तर्जातीय प्रेम सम्बन्धकै कारण नवराज विश्वकर्मालगायत ६ जना होनाहार युवाको हत्या हुँदा, कलिला युवतीहरू विधवा हुनुपर्दा वा कलिला नाबालक टुहुरो हुँदा पीडित परिवारलाई संवेदनसमेत दिन नसक्ने अवस्था कसरी सिर्जना भयो ? राष्ट्रको अभिभावकीय भूमिकामा भएको राष्ट्रपतिमा संवेदनासमेत प्रकट नहुनुका कारण के हुन् ? नरसंहारकर्ता गैरदलित भएकै कारण राष्ट्रपतिले श्रद्धाञ्जली दिन र परिवारलाई समवेदनासमेत दिन नमिलेको हो ? पीडित परिवार र न्यायप्रेमी समुदायले यो प्रश्नको उत्तर खोजिरहेको छ । 


यसैगरी झापा विद्रोह हुँदै देशको प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले पनि अन्तर्जातीय विवाह गरेका हुन् । उनले नेवारसँग विवाह गर्नु एक हदसम्म प्रगतिशील कदम मान्न सकिन्छ । तर, दलित र गैरदलितबीचको प्रेम सम्बन्धका कारण रुकुम नरसंहार हुँदा भने उनमा कुनै खालको संवेदनशीलता देखिएन । गुण्डा समूहबीच झडप हुँदा घाइते भएकाहरूलाई भेट्न अस्पतालसम्म पुग्ने र प्रहरी इन्काउन्टरमा एक गुण्डाको मृत्यु भएपछि संसदीय छानबिन समितिको माग गर्ने नेकपा (एमाले)का तत्कालीन अध्यक्षका ओलीले रुकुम नरसंहारमा मारिएका परिवारलाई एकपटक समवेदना प्रकट गर्ने शब्दसमेत भेटेनन् । किनकि मारिएका ती गुण्डा नाइके कथित उच्च जातका थिए, नवराज दलित थिए र साधारण परिवारका सदस्य थिए । यति ठूलो नरसंहार हुँदासमेत प्रधानमन्त्रीले चासो नदिनु भनेको यो सरकार दलितमाथिको अत्यचारलाई वैधता दिन तल्लीन छ भन्ने देखाउँछ । रुकुम नरसंहारमा प्रधानमन्त्रीको मौनता सत्ता उन्माद र जातिवादी मनोविज्ञानको परिणाम हो । 


जनयुद्धका कमान्डर प्रचण्डका छोरा प्रकाश दाहालको २०७४ मंसिर ३ गते असामयिक मृत्यु भयो । प्रकाशकी आमा सीता छोराको मृत्युपछि विक्षिप्त भइन् । रुकुम नरसंहारमा मारिएका नवराज विश्वकर्मा, सञ्जु विक, टीकाराम सुनार परिवारका एउटा मात्रै छोरा हुन् । छोरा गुमाएका कारण सीता दाहाललाई जुन स्तरको आहत परेको थियो, त्यत्तिकै शोक, पीडा र अहात रुकुम नरसंहारमा मारिएकाहरूको परिवारलाई पनि परेको छ भन्ने कुरा प्रचण्डलाई किन बोध हुन सकेन ? उत्पीडित जनताको मुक्तिको नारासहित जनयुद्धको कमान्ड गरेका नेताले आधारभूत जनतामाथि भएको यति ठूला अत्याचारबारे बोल्नुपर्दैन ? नरसंहारमा मारिएका परिवारका सदस्यलाई संवेदना दिन र पीडितको न्यायका पक्षमा बोल्न उनलाई केले छेकेको छ ? 


यति मात्रै होइन, नरसंहारको नेतृत्व र संरक्षणमा जनप्रतिनिधि नै संलग्न छन् । सोतीका वडाअध्यक्ष डम्बर मल्ल हत्याकाण्डको नेतृत्व गर्छन् । संसदीय छानबिन समितिले पनि यही निष्कर्ष निकालेको छ । चौरजहारीका मेयर विशाल शर्मा नरसंहारका अपराधीलाई कसरी ढाकछोप गर्ने भन्ने षड्यन्त्रमा सामेल छन् । प्रदेश र संघीय सांसद पनि नरसंहारमा संलग्न आफ्नो जाति, समुदाय र आफन्तको अपराधीको संरक्षणमा सिंगो राज्यसत्तालाई नै परिचालन गरिरहेका छन् । यदि यो घटनामा दलित वा जनजातिले मल्ल खलकमाथि आक्रमण गरेको भए उनीहरूको भूमिका के हुन्थ्यो ? पीडितको न्यायका पक्षमा राष्ट्रिय स्तरमा उनीहरूले ठूलो तरंग पैदा गर्थे । तर, यस नरसंहारमा दलित र उनका साथीहरू मारिए, त्यसैले जाजरकोट र रुकुमका राजनीतिक नेतृत्व मौन छ, अर्थात् पीडितविरोधी कित्तामा छन् ।

 
यति मात्रै होइन, प्रतिपक्षी दलको मुख्य नेतृत्व रुकुम नरसंहारबारे औपचारिक धारणा सार्वजनिक गर्दैन । संसद्मा दलितबाहेक गैरदलित सांसदका लागि यति गम्भीर नरसंहार संघर्षको विषय नै बन्दैन । यदि यति ठूलो नरसंहार खसआर्यमा भएको भए के हुन्थ्यो ? जातिवादी सत्ताको मातले लट्ठ राजनीतिक नेतृत्वले रुकुम नरसंहारका पीडितको न्यायका पक्षमा बोल्छन् वा लड्छन् भन्ने कुरा दलितका लागि केवल मिथ्या सपना मात्रै बनिरहेको छ । मूलतः सत्तारुढ कम्युनिस्ट पार्टीको यो गतिविधिले नेकपाले भनेको माक्र्सवादी सिद्धान्त जातिवादसामु घुँडा टेक्छ भन्ने दृष्टान्त पेस गरेको छ । रुकुम नरसंहारमा नेकपाले खेलेको भूमिकालाई दलितविरोधी, न्यायविरोधी, मानवताविरोधी कित्तामा उभिएको घटनाका रूपमा दलित समुदायले इतिहासमा सम्झिरहनेछन् । 

 

गैरदलित मौनता : जातिवादको संरक्षण 


नेपालका मानवअधिकारवादी संघसंस्था र व्यक्तिहरू नाफा–घाटाको राजनीतिका खेलाडीजस्ता देखिन्छन् । सामान्यतया मानवीय मूल्य निश्चित जाति, लिङ्ग, वर्ग, क्षेत्र र समुदायबीच फरक हुँदैन । माओवादी जनयुद्धका क्रममा ०५५ असार १० गते ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या भयो । ०५८ माघ ३ गते लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको हत्या भयो । मानवअधिकारवादीले यो मुद्दालाई सशक्त रूपमा उठाए । कतिलाई यो मुद्दा राजनीतिक र व्यावसायिक फाइदाको मुद्दा बन्यो ।

 

०६१ जेठ २४ मा गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या भयो । मानवअधिकारवादीको एउटा समूहले यो विषयमा निरन्तर राजनीति ग-यो । ती मुद्दालाई राजनीति स्वार्थसहित मावनअधिकारवादीको एजेन्डा बनाउनेहरू रुकुम नरसंहारमा किन मौन छन् ? रुपन्देहीकी अंगिरा पासीदेखि धनुषाका शम्भु सदाका मुद्दा उनीहरूका लागि किन मानवधिकारका मुद्दा बन्दैनन् ? किनकि उनीहरूभित्र पनि जातीय अहंकार कायमै छ । उनीहरूलाई एकातिर राजनीतिक फाइदा छैन भने अर्कोतरि उनीहरूमा भएको जातीय अहंकारले यी मुद्दा उठाउन उत्साहित गर्दैन ।


राजनीतिक रूपान्तरणका मुद्दामा नेपालको नागरिक समाजले निकै ठूलो संघर्ष गरेको छ । तर, दलितमाथि भएका अत्याचारका मुद्दामा उनीहरू किन मौन हुन्छन् ? दलितहरू दलितमाथि भइरहेको नरसंहार, अन्याय र अत्याचारविरुद्ध सडक संघर्षमा छन् । सचेत र प्रगतिशील गैरदलितको एउटा सानो समूह दलितमाथि भएको अत्याचारविरुद्ध निरन्तर बहस गरिरहेको छ, सडकमा नारा लगाउन पनि उपस्थित छ । तर, नागरिक अधिकारका लागि लड्ने नागरिक समाज भने दलित अधिकारका लागि भएका संघर्षमा गुमनाम छ ।

 

जातव्यवस्थाको बलमा स्थापित सत्ता र स्वार्थबाट निरन्तर लाभ लिइरहेको यो गैरदलितको ठूलो हिस्सा यसलाई दलितको मात्रै सरोकार देख्छ । जातव्यवस्थाका कारण आफ्नै परिवारमा सुष्मा र नवराजहरू जन्मिने कुराकोे नजरअन्दाजसम्म गर्दैनन् । किनकि एउटा ठूलो गैरदलित समूह विभेदकारी अन्ध जातिवादको नसामा लट्ठ छन् । समाज र मानवताविरोधी जातीय अहंकारवादका कारण समाजमा अपराधीका रूपमा विभूषित भएर दम्भ प्रस्तुत गर्ने जातिवादी राज्यसत्ता बाँच्दासम्म यस्ता घटनाले उनीहरूलाई छुने छैन । यदि त्यसो होइन भने दलितको न्यायका पक्षमा भएको संघर्षमा उनीहरू किन मौन छन् ।

 

यही मे २५ मा अमेरिकी गोरा प्रहरीले अश्वेत जर्ज फ्लोएडको हत्या भएपछि कोरोनाको कहरबीच हत्याविरुद्ध हजारौँ गोराहरू सडकमा उपस्थित भएर विरोध गरे । अमेरिका मात्रै होइन, अन्य देशमा पनि प्रदर्शन भयो । तर, नेपालमा गैरदलितको ठूलो हिस्सा रुकुम नरसंहारका विरुद्ध बोल्न तयार भएनन् अर्थात् अत्याचारको पक्षमा उभिए । यस्तो जातिवादी अत्याचारी राजनीतिक, सामाजिक र सांस्कृतिक सत्ताको अन्त्य नहुँदासम्म नेपालमा जातिवादी सत्ता कायम रहन्छ ।

 

सचेत, न्यायप्रेमी र समता चाहने हरेक व्यक्तिले यस्तो विभेदकारी शक्ति–सम्बन्ध भत्काउने प्रयन्त नहुँदासम्म नेपाल जातिवादी अत्याचारबाट शासित भइरहनेछ । रुकुम हत्याकाण्ड नेपालको इतिहासमा सधैँभरि सम्झिइरहने एउटा क्रूर नरसंहार हो । यस नरसंहारमा राजनीतिक दल, सत्ता, नागरिक अगुवा वा मानवअधिकारवादी, दलित संगठन, प्रगतिशील गैरदलितले खेलेका सकारात्मक र नकारात्मक भूमिका इतिहासमा लेखिनेछ । जातिवादी सत्तालाई इतिहासमा रुकुम नरसंहारमा गरेको भूलले पोलिरहनेछ ।