• वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०७५ चैत २३ शनिबार ०७:४४:००
समाज

सासू : पितृसत्ताको ढोकापाले !

परिवार ४

२०७५ चैत २३ शनिबार ०७:४४:००

धन् इज्जत् घरबार देख्छु बढिया छैनन् कुनै चीज् कमी
बूहारी यदि कर्कशा हुन गया क्या घर् गरौला तिमी ।
साह्रै झोक उठ्यो मलाई र वधूशिक्षा बनाया पनी
यस्ले पत्नि–बुहारि–छोरीहरूको तालिम् गरौला भनी ।।

दुई शताब्दीअघि भानुभक्त आचार्यले लेखेको वधू–शिक्षाको कवितांश हो यो । उनले ‘वधूशिक्षा’ कवितामार्फत बुहारीलाई उपदेश दिएका थिए । वधूशिक्षामा सासू, ससुरा र पतिसहित सम्पूर्ण परिवारको हितमा बुहारीले काम गर्नुपर्ने उल्लेख छ । त्यस्तै, उपदेश खण्डको अठारौँ अनुच्छेदमा नारीले कदापि हाँस्न नहुने र हाँस्ने त ‘वेश्या’ हुन् भनिएको छ । 
वि.सं. १९९० को दशकमा रुद्रराज पाण्डेले ‘रूपमती’ उपन्यास लेखे । उपन्यासमा ६ वर्षको उमेरमै विवाह गरेकी बुहारी रूपमती र सासूबीचको सम्बन्ध देखाइएको छ । रूपमती सुशील छे । चरित्रवान् छे । तर, पण्डित परिवारकी सासू उग्र छे । तुच्छ छे । रूपमतीमाथि शासन गर्छे । ५० को दशकमा आइपुग्दा पनि सासू–बुहारीको सम्बन्धमाथि आख्यान, गीत, कविता र फिल्म लेखिए । शताब्दी बितिसक्दा पनि फिल्ममा सासू–बुहारीको घरझगडा नै देखाइयो । उदाहरणका लागि नेपाली फिल्म ‘म तिमीविना मरिहाल्छु’ मा सासू–बुहारीको तिक्ततापूर्ण सम्बन्ध देखाइएको छ । सासू–बुहारीकै सम्बन्धमा हिन्दी र नेपाली टेलिसिरियलहरू बनाइए । भारतमा बनेका त्यस्ता टेलिसिरियल नेपालमा समेत लोकप्रिय बने । तिज गीतहरूमा सासूले माइती जान नदिएका व्यथा पनि निकै सुनिए । 

आख्यान इतिहास होइन । न हो गीत–संगीत र सिनेमा नै । तर, तत्कालीन समाजको प्रतिविम्ब भने अवश्य हो । भानुभक्तको कवितांशबाट तत्कालीन समाजको चित्र झल्किन्छ । रूपमती पनि सोही समय चियाउने आँखीझ्याल पक्कै हो । लेखक अर्चना थापा भन्छिन्, ‘वधूशिक्षा ठूलो कविले लेखेको भनेर मानिसले सुने । पढे । ठाउँ–ठाउँमा वाचन भए ।’ सासू–बुहारीको सम्बन्ध सधैँ टकरावपूर्ण मानिन्छ । परिवारभित्र हुने झगडाको मुख्य स्रोत नै सासू–बुहारी हुन् समेत भनिन्छ ।

लन्डनबाट प्रकाशित हुने पत्रिका ‘टेलिग्राफ’मा क्याम्ब्रिज युनिभर्सिटीको अनुसन्धानलाई उद्धृत गर्दै पत्रकार टनिथ कैरीले १० विवाहित महिलामध्ये ६ महिलाका सासूसँग तनावपूर्ण सम्बन्ध हुने गरेको उल्लेख गरेकी छिन् । सोही रिपोर्टिङमा मनोचिकित्सक डिनना ब्रानले सासू–बुहारीको सम्बन्ध प्रतिस्पर्धात्मक हुने बताएकी छिन् । दुई व्यक्ति अलग परिवेशबाट आएको हुनाले त्यस्तो हुन पुगेको उनको मत छ । भन्छिन्, ‘सासू–बुहारीको सम्बन्ध अलग दृष्टिकोणमा आधारित छ ।’ दुई महिलाबीचको सम्बन्ध पुरुषको तुलनामा अधिक भावनात्मक र अन्तरंग हुने, तर प्रतिस्पर्धात्मक हुने डा. ब्रानको भनाइ छ ।

पछिल्लो समय नेपाललाई पुँजीवादी र समाजवादउन्मुख समाज भन्दै विश्लेषण हुने गरेको छ । सासू–बुहारीको सम्बन्धमा आएको परिवर्तनको संकेत हो ? अब कता जाँदै छ समाज ? 

पश्चिमा मुलुकमा सासू–बुहारीको सम्बन्धबारे मनग्य अध्ययन भएका छन् । नेपालमा भने पत्रकारका सामान्य समाचार र मनोचिकित्सकका टिप्समा सासू–बुहारी सम्बन्ध सीमित भएको छ । यो सम्बन्धबारे सम्भवतः कुनै सर्वेक्षण र तथ्यांक छैन । अनुसन्धानकर्ताले यस विषयलाई अनुसन्धानयोग्य विषय ठानेकै छैनन् । कुनै मन्त्रालय र आयोगका सेमिनारमा यो विषयले प्रवेश नै पाउँदैन । तर, विश्लेषकको मत छ– पितृसत्ताबाट निर्मित घरेलु हिंसाको सिकार युगौँदेखि सासू–बुहारी भइरहेका छन् । उनीहरू चुलोको साँघुरो चौघेरामा एक–आपसमा लडिरहेका छन्–जुधिरहेका छन् । तर, पितृसत्ता भने बार्दलीमा तमाखु खाँदै तमासा हेरिरहेको छ । समाजमा पछिल्लो समय सासू र बुहारी बनेका महिलाहरूका केही प्रतिनिधि अनुभूति यस्ता छन् :

सासू भन्छिन्, ‘जान्ने नबन’, बुहारी भन्छिन्, ‘म पनि सक्छु’  मोरङकी २७ वर्षीया सम्झना राई (नाम परिवर्तन) को बुहारी जीवन सुरु भएको दुई वर्ष भयो । छोरीबाट बुहारी हुँदाका केही नयाँ अनुभूति छन् उनका । भन्छिन्, ‘छोरी हुँदा बिहानै उठेर घर सरसफाइ गर्ने, भाँडा धुने गर्दिनथेँ । बुहारी हुँदा त्यो सबै गर्नुपर्छ ।’ आफूलाई ठीक लागेको कुरा परिवारमा सेयर गर्न खोज्दा ‘बुहारी भएर जान्ने बन्ने होइन’ भन्ने वचन उनले सुनेकी छिन् ।

मकवानपुरकी सीता तामाङ (नाम परिवर्तन) (२८) ले बिहे गरेको ६ वर्ष भयो । सासू कामको सम्पूर्ण ‘क्रेडिट’ एक्लै लिन खोज्छिन् । भन्छिन्, ‘सासूको कुरा ध्यान दिएर सुन्नैपर्छ । नत्र रिसाउनुहुन्छ । बीचमा कुरा काटेर बोल्नै हुन्न ।’ घरको सम्पूर्ण तालाचाबी सासूकै हातमा छ । काठमाडौंकी ३४ वर्षीया अप्सरा केसी (नाम परिवर्तन) ले सासूको खटनपटन व्यहोर्नु परेन । उनको बिहे भएको १२ वर्ष पुग्यो । अप्सराकी ७३ वर्षे सासूले आफ्नी सासूलाई झेल्नु परेन । अप्सराकी सासूको बिहे नहुँदै उनकी सासूको निधन भइसकेको थियो । अप्सराको निष्कर्ष छ– सासूको खटन नव्यहोरेकी महिला र श्रीमान्को माया पाएको महिलाले बुहारीमाथि अत्याचार गर्दैनन् । भन्छिन्, ‘म त छोरीजस्तै छु यो घरमा ।’

पाल्पाकी ५९ वर्षीया जानुकादेवी थापासँग बुहारी र सासू दुवै हुँदाको अनुभूति छ । १६ वर्षमै उनको बिहे भयो । गाउँको भैरव मन्दिरमा घन्टी बजेपछि दुई पाथी मकै जाँतोमा पिस्थिन् उनी । उज्यालो नहुँदै दुईवटा गाग्री बोकेर पँधेरो पुग्थिन् । उज्यालो भइसक्दा गोबर सोहोर्नेदेखि घर बढार्नेसम्मका काम सक्थिन् । डाँडामाथि घाम झुल्किँदा भुटेको मकै खाँदै घाँस काट्न जंगल जानु, १० बजे अर्मपर्म जानु, साँझ फेरि ढिकीजाँताको अगाडि हाजिर हुनु उनको दैनिकी हुन्थ्यो । कान्छी बुहारीका रूपमा भित्रिएकी उनले सासूको शासन खेप्नु परेन । तर, दुःख भने निकै गरिन् । जानुकादेवी सासू बन्दा समय निकै बदलिइसकेको थियो । उनले सुनाइन्, ‘हाम्रो पालामा ३ बजे उठेर पँधेरामा कुद्नुपथ्र्यो । अहिले तीन तलामाथि मोटरले पानी तान्छ । अहिलेका बुहारी भाग्यमानी छन् ।’

कास्कीकी ५५ वर्षीया सुन्तली मगर (नाम परिवर्तन) सँग पनि सासू र बुहारी दुवै हुँदाका अनुभूति छन् । सासूसँग राम्रो सम्बन्ध छ सुन्तलीको । जब उनी आफैँ सासू बन्ने भइन्, उनले निकै अनौठो अनुभूति गरिन् । छोराले बिहे गर्ने टुंगो लागेको दिन उनी रातभरि निदाइनन् । कहिले रोइन्, कहिले हाँसिन् । भन्छिन्, ‘त्यसबेला सोचेँ– अब मेरो छोरासँग अर्को महिला आउँछे । मैले खाना खुवाउनु पर्दैन । अर्कै महिलाले खुवाउँछे । अब मेरो छोरालाई म चाहिँदैन । उसलाई साथ दिने अरू कोही महिला आउँदै छे भन्ने कुरा मनमा खेलिरह्यो । त्यसपछि रातभरि निदाउनै सकिनँ ।’ उनले आफैँलाई सम्हालिन् । भन्छिन्, ‘छोरा अब ठूलो भयो । अब उसले पनि आफ्नो जीवन सुरु गर्नुपर्छ । यो प्रकृतिको नियम हो भन्ने लाग्यो । अनि चित्त बुझाएँ ।’ बिहेपछि छोरा–बुहारी उनीसँग बसेनन् । पढाइ, जागिरको सिलसिलामा टाढा छन् । छोराले बिहे गर्दा र नगर्दाका फरक छुट्याउँछिन् उनी । भन्छिन्, ‘छोराले बिहे गर्नुअघि दिनमा तीनपटक फोन गथ्र्यो । अहिले हप्तामा दुईपटक फोन गर्छ । मलाई थाहा छ, मेरो छोरा अहिले खुसी छ । जुन दिन दुःख पर्छ, त्यस दिन आमालाई सम्झिनेछ ।’ 

०००
बदलिँदो सम्बन्ध माथिका पाँच प्रतिनिधि घटनाले बदलिएको सम्बन्धको झल्को दिन्छन् । विश्लेषकहरूको निष्कर्ष छ– सासू–बुहारीको सम्बन्धमा निकै फेरबदल आयो । सासू र बुहारी हिजोकै रूपमा छैनन् । किनकि, समाज रूपान्तरण भयो । समाज रूपान्तरण भएपछि सम्बन्धहरूमा परिवर्तन आउने विश्लेषक बताउँछन् । सासू–बुहारीको सम्बन्धमा परिवर्तन आउनुको मुख्य कारण शिक्षा रहेको बताउँछन्, समाजशास्त्री सुरेन्द्र मिश्र । भन्छन्, ‘परिवर्तन ल्याउनुको मुख्य कारण शिक्षा नै हो । सम्बन्धलाई शिक्षाले लिड गर्छ । शिक्षाले संस्कृति, संस्कार र सम्बन्धमा परिवर्तन ल्याउँछ ।’ 

बदलिँदो आर्थिक सम्बन्धले सासू–बुहारीको सम्बन्धमा परिवर्तन ल्याएको मत कवि प्रणिका कोयूको छ । उनी भन्छिन्, ‘पुरुष घरबाहिरको फराकिलो संसारमा छन् । महिला घरभित्रै सानो घेरामा जुधिरहेका छन् । यो क्रम भत्किँदो छ ।’ आर्थिक क्रियाकलापमा बुहारीको संलग्नता बढेपछि पुरानो सम्बन्ध भत्किँदै गएको उनी बताउँछिन् । अर्थतन्त्रमा देखिएको परिवर्तनले सासू–बुहारीको सम्बन्धमा परिवर्तन ल्याएको मत अर्की समाजशास्त्री डा.बिन्दु पोखरेलको छ । भन्छिन्, ‘महिलाहरू आत्मनिर्भर हुँदै छन् । हिंसा सहेर बस्ने बाध्यता अब छैन । अवसर छ । पहिलाको जस्तो सासूको कन्ट्रोलमा बुहारी बस्दैनन् अब । यो परिवर्तनको जगको अर्थतन्त्र हो ।’ कृषिमा आधारित समाज भत्किएर आधुनिक युगतर्फ समाज अघि बढ्दा सम्बन्धहरूमा परिवर्तन आएकोे लेखक अर्चना थापाको धारणा छ । भन्छिन्, ‘पुरानो सामाजिक संरचनामा परिवर्तन भयो । कृषिप्रधान समाजमा जस्तो संयुक्त परिवार अहिले छैन । अर्थव्यवस्था पनि बदलियो ।’ शिक्षामा महिलाको पहुँच बढेसँगै अधिकारका बारेमा आजका बुहारीहरू बोल्न थालेपछि पुरानो सम्बन्ध बदलिएको उनको भनाइ छ । 

कलहको कारण 
मिलेर बसेका सासू–बुहारी समाजमा नभएका होइनन् । बुहारीलाई छोरीकै रूपमा व्यवहार गर्ने सासू समाजमा हिजो पनि थिए, आज पनि छन् । तर, सासू–बुहारी भन्नेबित्तिकै झगडा गर्ने दुई विपरीत ध्रुवका मानिस भन्ने आमधारणा छ । सामन्तवादी समाजलाई कृषिमा निर्भर समाज मानिन्छ । त्यसवेला परिवारका सबै कृषिमा संलग्न हुन्थे । घरबाहिरको काम पुरुषले गर्थे भने घरभित्रको काम महिलाले । सँगै घरभित्रै बस्दा अधिकार कसले लिने भन्ने विषयमै सासू–बुहारीबीच कलह हुने विश्लेषक बताउँछन् । कोयू भन्छिन्, ‘घरभित्रको झगडाको मुख्य कारण अर्थ हो । अर्थ घरमूलीसँग हुन्छ । आर्थिक शक्ति कसले लिने भन्नेमा नै मुख्य कलह भएको हो ।’

सासू–बुहारी सम्बन्ध परिवेशअनुसार फरक पर्ने मिश्रको धारणा छ । उनी सासू–बुहारी सम्बन्ध भूगोल र जातिका आधारमा फरक पर्ने बताउँछन् । भन्छन्, ‘सम्बन्धलाई गाउँ र सहर, मधेस र पहाड, जनजाति, मधेसी र क्षेत्री–ब्राह्मण समुदायमा विभाजन गरी हेर्नुपर्छ ।’ उनी मधेसको उदाहरण अघि सार्दै भन्छन्, ‘मधेसका गाउँमा घरको माल्किनी सासू हो । बुहारीले घरको काम गर्ने हो ।’ दुई पुस्ताअघिको सासू–बुहारी र आजका सासू–बुहारीमा धेरै नै फरक भएको उनको अध्ययन छ । मिश्रका अनुसार, सासू–बुहारी दुवै आर्थिक क्षेत्रमा संलग्नु हुनुले यस्तो फरक आएको हो । 

विद्रोह गर्नु दुःख निम्त्याउनु हो भन्दै सासूको खटनपटनमा बस्ने बुहारी अझै समाजमा भएको बताउँछिन् कोयू । उनी आमा ‘आमा’ नै भएको र सासू ‘सासू’ नै भएको बताउँछिन् । तर, थापा कोयूको भनाइसँग सहमत छैनन् । भन्छिन्, ‘सासू, आमा बन्न सक्छिन् ।’ छोराले बुहारी ल्याउँदा माथिको उदाहरणमा सुन्तली मगरले जे अनुभव गरिन् त्यो अनुभव अन्य महिलामा पनि हुन सक्ने कोयूको धारणा छ । ‘आमाले छोरालाई हुर्काउँछिन् । त्यहाँ अर्की महिला आइपुग्छे । अनि माया बाँडिन्छ,’ कोयू भन्छिन्, ‘सम्बन्धमा दरार आउनुको एउटा कारण यो पनि हो । माया बाँडिएपछि तलब बाँडिन्छ । परिवारभित्रको स्रोत बाँडिन्छ । अनि त्यहीँ सुरु हन्छ तनाव ।’ तर, अहिलेका सासूले बुहारीलाई छोरीकै रूपमा राख्न थालेकोप्रति कोयू पूर्णतः सहमत छिन् । 

थापाका अनुसार, समाजको संरचना उही रूपमा रहेन । मूल्यहरूमा परिवर्तन आयो । बाँच्ने तरिकामा परिवर्तन आयो । पुस्तान्तरण र अर्को परिवेशबाट आएको बुहारी भएकाले सम्बन्ध फरक पर्ने उनी बताउँछिन् । थापा भन्छिन्, ‘अर्कै सामाजिक परिवेशमा बाँचेकी छोरी एकाएक बुहारीमा परिवर्तन हुन्छे । त्यो परिवर्तन आफैँमा द्वन्द्वात्मक र जटिल प्रक्रिया हुन्छ ।’ सासू सहज नभए त्यही बिन्दुबाट द्वन्द्व सुरु हुने उनको भनाइ छ । पोखरेलको मत फरक छ । उनी अर्थतन्त्रसँग जोड्दै भन्छिन्, ‘पहिलेका सासू र बुहारी दुवै छोराको कमाइमा आश्रित थिए । छोरालाई रिझाउन सकिएन भने बुढेसकालमा दुःख पाउँछु भन्ने त्रास थियो । बुहारीले छोरालाई फकाएर लगी भने मैले के गर्ने भन्ने डर थियो ।’ 
त्यसपछि एकजना पुरुषलाई कसले रिझाउने भन्नेमा तीव्र प्रतिस्पर्धा हुने गरेको उनी बताउँछिन् । 

बदलिँदो आर्थिक सम्बन्धले सासू–बुहारीको सम्बन्धमा निकै परिवर्तन ल्याएको छ । पुरुष घरबाहिरको फराकिलो संसारमा छन् । महिला घरभित्रै सानो घेरामा जुधिरहेका छन् । यो क्रम भत्किँदो छ ।

सासू : पितृसत्ताको ढोकापाले !
नेपाली समाज लामो समयदेखि पितृसत्ताबाट निर्देशित भइरहेको छ । घरको निर्णयमाथि पुरुषको एकाधिकार रह्यो । परिवारभित्रको शक्तिसम्बन्ध पुरुषकै प्रभुत्वमा रह्यो । सासू–बुहारीको सम्बन्धको अन्तर्यमा पितृसत्ता नै रहेको विश्लेषकहरूको भनाइ छ । लेखक थापा सासूलाई पितृसत्तात्मक समाजको ढोकापाले मात्रै ठान्छिन् । भन्छिन्, ‘सासूको निर्णय गर्ने अधिकार हुँदैन । पितृसत्ताले जे–जे अह्राउँछ त्यही गर्छे । सासू पितृसत्ताको ढोकामा बस्ने पाले मात्रै हो ।’ पितृसत्ताबाट निर्देशित सासूले बुहारी कसैको छोरी हो भनेर नसोच्ने थापा बताउँछिन् । ‘त्यस्ता सासूले आफूले जे भाेगेर आयो बुहारीले पनि त्यस्तै गर्नुपर्छ भन्छे,’ उनी भन्छिन्, ‘तर, सासूलाई दोष दिनुभन्दा त्यसको जरामा कारण खोज्नुपर्छ । त्यसको जरा भनेको पितृसत्ता नै हो ।’ 

थापासँग सहमत छिन् कोयू । सासू–बुहारी सम्बन्धमा पितृसत्ताले महिलालाई एक–आपसमा जुधाएको निष्कर्ष छ उनको । भन्छिन्, ‘पुरुष घरबाहिरको फराकिलो संसारमा छ । महिलालाई घरभित्रको सानो घेरामा पुरुषले जुधाएर राखेको छ । तर, त्यो क्रम भत्किँदो छ ।’एक समय समाजमा बहुविवाह गर्नुलाई सामान्य मानिथ्यो । ‘मर्दको १० वटी’ जस्ता कहावतहरू समाजका ‘लोग्ने’ मान्छेहरूले चलाए ।

कानुनतः दण्डित गरे पनि बहुविवाह पूर्णतः अन्त्य भइसकेको छैन । हजुरआमा पुस्ता बहुविवाहको सिकार भयो । आमा पुस्तामा बहुविवाह कम भए पनि घरको शक्तिसम्बन्धमा कमजोर ठहरियो । सबैभन्दा कमजोरमाथि परिवारभित्रै पनि शासन चलाइयो । किनकि राजनीतिको सूक्ष्म रूप परिवार मान्छन् राजनीतिशास्त्रीहरू । ‘घरभित्रको राजनीतिमा सबैभन्दा कमजोर जो हुन्छ उसैमाथि प्रभुत्व जमाइयो,’ थापा भन्छिन्, ‘कमजोर बुहारी नै हुन्छे । जब कमजोर बुहारी सासू बन्छे, अनि बुहारीमाथि प्रभुत्व जमाउन थाल्छे । यही गलत धारणाको पुनरावृत्ति भइरह्यो ।’ आफूले जस्तो जीवन भोगेर आयो त्यस्तै बुहारीले पनि भोग्नुपर्छ भन्ने मान्यता शिक्षाको अभावले महिलाहरूमा उत्पन्न हुने उनी बताउँछिन् । 

पितृसत्ता उही रूपमा रहेन । शिक्षा र आर्थिक क्षेत्रमा महिलाको उपस्थिति बढेसँगै पितृसत्ताको जग डगमगाएको कतिपय बताउँछन् । आर्थिक उपार्जनका तरिका फेरियो । आन्तरिक तथा बाह्य बसाइँसराइँ बढ्यो । श्रम बजारमा महिलाको उपस्थिति बढ्यो । पुरानो सामाजिक संरचनामा टिकेको परिवार धर्मरायो । त्यसो भए परिवारभित्रको पितृसत्ता अन्त्य भएको हो त ? विश्लेषक तथा समाजशास्त्रीहरू यस विषयमा सहमत छैनन् । थापा भन्छिन्, ‘संविधान लेख्नेहरूको मस्तिष्कमा र शासनको चाबी लिएर बस्नेहरूको मानसिकता फेरिएन ।’

कता जाँदै छ समाज ? 
परिवार समाजको आधारभूत इकाइ हो । परिवार–परिवार मिलेर समाज बन्छ । समाजको बृहत् रूप नै राज्य हो । परिवारभित्रको सूक्ष्म सम्बन्धमा आएको परिवर्तनले समाजको गति प्रतिबिम्बित गर्ने समाजशास्त्रीहरूको भनाइ छ । नेपाल लामो समय सामन्तवादी रह्यो । पछिल्लो समय नेपाललाई पुँजीवादी समाज र समाजवादउन्मुख समाज भन्दै विश्लेषण हुने गरेको छ । सासू–बुहारीको सम्बन्धमा आएको परिवर्तनको संकेत हो ? अब कता जाँदै छ समाज ? अहिले नेपाल कहाँनिर छ ? समाजशास्त्री मिश्रको भनाइ छ, ‘नेपालमा आधा पुँजीवाद छ, आधा सामन्तवाद छ । सासू गाउँमा सामन्तवादको प्रतिनिधित्व गरिरहेकी छिन् । बुहारीले सहरमा पुँजीवादको प्रतिनिधित्व गरिरहेकी छिन् ।’ हिजो सँगै रहेका सासू–बुहारीलाई पुँजीवादले छुट्याइदिएकी उनी बताउँछन् । 

गाउँमै छुटेका सासूप्रति गम्भीर हुनुपर्ने लेखक थापाको भनाइ छ । उनका अनुसार, आन्तरिक र बाह्य बसाइँसराइले आज बुढाबुढी मात्रै गाउँमा छन् । यस्तो अवस्थामा श्रीमान् नहुने सासूहरू एक्लोपनमा बाँचिरहेका छन् । भन्छिन्, ‘आधुनिकताले हामीलाई सुविधा त दिएको छ, तर भावनात्मक सम्बन्ध निकै कमजोर हुँदै गएको छ । यहीँनिर राज्य वृद्धवृद्धाको सहारा बन्न सक्नुपर्छ ।’ 

पितृसत्ता बोक्ने महिला 
 डा. बिन्दु पोखरेल,समाजशास्त्री

सासूलाई हेर्ने दृष्टिकोणमा पहिले र अहिले धेरै परिवर्तन आयो । परिवर्तनको कारण अर्थतन्त्र हो । पहिला कृषिमा निर्भर समाज थियो । जग्गा जसको नाममा छ उसैसँग सबैजना आश्रित हुन्थे । सबैजना सँगै काम गर्थे । महिला बाहिर गएर काम गर्ने अवसर थिएन । जति अन्याय भए पनि सहेर बस्थे । अर्थतन्त्रमा परिवर्तन आएपछि पुरानो सम्बन्धमा परिवर्तन आयो । 

पितृसत्ता व्यक्ति होइन, व्यवस्था हो । नियम हो । त्यो नियममा परिवारका सम्पूर्ण सदस्य हुन्छन् । परिवारका सदस्यहरूको भूमिका कस्तो हुने भन्ने पितृसत्ताले तोकिदिएको हुन्छ । हामीलाई त्यसरी नै सामाजिकीकरण गरिन्छ । पितृसत्ताको व्यवस्थाभित्र महिला–पुरुष दुवै छन् । पितृसत्तालाई महिलाले पनि नबोकेको भए उहिल्यै ढलिसक्थ्यो । आज पितृसत्ताको स्वरूप फेरियो । घरभित्रको पितृसत्ता कमजोर भएको छ । अब त्यो पितृसत्ता बजार र राज्यमा शक्तिशाली बन्दै गएको छ । 

धेरैजसो मानिसको स्वभाव शक्तिको आडमा अर्कालाई दबाउन खोज्ने हुन्छ । आफूभन्दा शक्तिशालीलाई दबाउन नसकेपछि आफूभन्दा शक्तिहीनलाई दबाउने मानिसको स्वभाव हो । सासू र श्रीमान्बाट दबिएकी सासू बुहारीलाई पनि दबाउन खोज्छिन् । बुहारी घरमा काम गर्नेलाई दबाउँछिन् । काम गर्नेले आफ्ना केटाकेटीलाई वा कुकुर र बिरालोलाई कुट्छ । कसैलाई दबाउन सकिएन भने भाँडा बजार्छ । अनि रोएर आफ्ना पीडा व्यक्त गर्छ । 
कुराकानीमा आधारित