• वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सावित्री गौतम
२०७७ श्रावण २४ शनिबार १०:३०:००
समाज

मर्यादाको विनिर्माण

‘मर्यादा’को विनिर्माण विश्वभरका महिलाले आफैँ र आफ्नै तरिकाले गर्दै छन्

२०७७ श्रावण २४ शनिबार १०:३०:००
सावित्री गौतम

 

हालसालै एउटा सरकारी कार्यालयकी कर्मचारी महिला छुट्टीमा भएको र सार्वजनिक यातायात नचलेका वेला अलिकति ढाड देखिने लुगा लगाएर सरकारी मोटरसाइकल चढेको फोटो सार्वजनिक भयो । सार्वजनिक गर्ने नेपालको प्रशासनिक सेवामा लामो समय बिताएका व्यक्ति हुन् । तर, उक्त फोटोसम्बन्धी जति पनि समाचार आए, तिनमा ती व्यक्तिलाई ‘कसैको व्यक्तिगत फोटो सार्वजनिक गर्नेजस्तो तुच्छ काम किन ग‍र्‍यौ ?’ भनेर सोध्ने व्यक्तिहरू नगण्य छन् । बरु उनै महिलालाई ‘मर्यादित’ लुगा लगाउनुपर्ने अर्ती दिनेहरू नै ‘महिलाका मुद्दालाई मूल प्रवाहीकरण गर्ने’ नारा भएका संस्थामा लामो समय हर्ताकर्ता बनिसकेकाहरू छन् । सामाजिक सञ्जालमा गरिने गालीगलोजको त सीमा नै भएन, उनी कार्यरत गाउँपालिका अध्यक्षले समेत उनको लुगा कति तलसम्म काटिएको थियो, गहिरिएर हेरीकन कति सजिलै आफूलाई असीमित अधिकारधारी ठानेर घोषणा गरे, ‘म स्पष्टीकरण सोध्नेछु ।’ 

 

ढाड देखाउने सबै ‘पुँजीवाद’ नामक ‘वाद’का समर्थक नहुन पनि सक्छन् वा हुन पनि पाउँछन् । बहुलवादी समाजमा तँ यो हुन पाउने, यो हुन नपाउने भनेर तोकिदिने अधिकार कसैलाई छैन ।


महिलाका सबै लुगामा राजनीति छ । कुनै समय जनावरको हड्डीले सिलाइने र त्यो अपवित्र हुने भन्ने (अन्ध)विश्वासअनुसार भारतवर्षका पुरुष-महिला दुवैले नसिलाइएका लुगा लगाएकै हुन् । तर, पुँजीमाथि पुरुषको स्वामित्व हुन थालेपछि उनीहरूले आफ्ना लुगालाई सयौँपटक पुनः डिजाइन गरिसके । आज पुरुषका हरेकजसो लुगामा लुगामै टाँस्सिएका बडेमानका खल्ती हुन्छन् । तर, महिलाका लुगालाई सुन्दरता र ‘मर्यादा’सँग जोड्न छोडिएको छैन । त्यसैले त हामी आजसम्म पनि ‘सारी ट्विटर’ ट्रेन्ड चलाएर बस्छौँ । ‘परम्परागत’ मात्र किन ? पातलो शरीर राम्रो भन्ने मान्यताका कारण ‘पश्चिमा’ भनेर चिनिने पाइन्ट वा अरू विनाखल्तीका वा भए पनि ड्राइभिङ लाइसेन्ससमेत नअट्ने गरी ताछिएका खल्ती भएका लुगा व्यहोरेर बस्न बाध्य छौँ । यो राजनीति बुझेका महिलाले त ‘पश्चिमी’ लुगाबारे पनि बहस गरेकै छन् । संसद्मा भिडन्त भए सारीचोलो लगाएका महिला मर्यादापालकले संसद्को मर्यादा कसरी जोगाउन सक्लान्, वा परिचयपत्रसमेत मुस्किलले अट्ने बेकम्मा खल्ती भएका जिन्स हामी किन लगाउने भन्ने बहस अर्काे पाटो हो । तर, कुनै विशेष प्रकारको लुगा लगाइदिएर महिलाले परिवार र समाजको मर्यादा बोक्नुपर्छ भन्ने मानसिकताचाहिँ आफूलाई महिलाको शरीरको मालिक ठान्ने प्रवृत्ति हो ।

 

पृष्ठभाग प्रदर्शनको पृष्ठभूमि


महिलाको लुगा र शरीरले अब समाजको मर्यादा धान्न सक्दैन भन्ने हुंकार गर्दै यसपटक धेरै सामाजिक सञ्जाल प्रयोगकर्ता महिलाले कडा प्रतिरोध गरे । कतिपयले शब्दमार्फत मात्रै र कतिपयले भिजुअल इमेज अर्थात् फोटोमार्फत पनि । कुनै सार्वभौम महिलाको मर्यादालाई चंगा बनाएर उडाउने मान्छेमाथि कुनै टिप्पणी नगरीकन उल्टो मर्यादित लुगाको अर्ती दिने ‘गन्यमान्य’हरू देखेपछि म आफैँले ढाड देखिएको फोटो खिचाएर विरोध जनाएँ । किनभने आफ्नो शरीर र लुगामार्फत मर्यादाको ठेक्का लिने जनसंख्याको ठूलो हिस्सामध्ये म पनि एक हुँ । एक त मलाई ती कर्मचारी महिला एक्लैले यो भोगेकी होइनन्, म पनि हुँ भनेर उनीसम्म यो सन्देश पु‍-याउनु थियो । दोस्रो, यो मेरा लागि कुनै स्टन्टबाजी नै थियो भने पनि यो स्टन्टको लामो पृष्ठभूमि छ । उक्त फोटो खिचाउँदै गर्दा, सामाजिक सञ्जालमा राख्दै गर्दा मभित्र आफ्नो शरीर, लुगा, कपाल, हिँडाइ, लवज अर्थात् मेरो समग्र व्यक्तित्वमाथि मैले सुनेका टिप्पणी, लगाइएका प्रतिबन्ध, भोगेका दुव्र्यवहार र दबाएको आक्रोश उम्लिरहेको थियो । ती अनगिन्ती यादमध्ये केही यसप्रकार छन् ।

०००

सानोमा भाडामा बस्दा घरबेटीकी छोरीलाई निनी (अर्थात् नेवारीमा फुपू) भनेर बोलाउँथ्यौँ । निनी आइए पढ्थिन् । म दश पुगेर एघारमा हिँड्दै थिएँ । निनीले कहिलेकाहीँ एक्लै भएको वेला मलाई धम्क्याउँथिन्, ‘तेरो ‘दूध’ हेर्ने हो एक दिन ।’ निनीले मलाई एक्लै कतै नभेटून् भनेर डराउँथेँ । तर, एक दिन कलेजबाट आएर भर्‍याङ चढ्दै गर्दा उनले मलाई दोस्रो तलामा भएको आफ्नो कोठाभित्र एक्लै देखिन् । मेरो कोठाभित्र छिरिन् र मेरो टिसर्ट उचाल्न खोजिन् । मैले सकेको बलले टिसर्ट तल तान्ने र उनले सकेको बलले माथि तान्ने चलिरह्यो । तर, बलियी निनीले मलाई भुइँमा पछारिन् । बजारका धारामा माथिल्लो हर खुलै राखेर नुहाउने बालिकाका स्तन कत्रा थिए होलान् ? तर, हेरिसकेपछि उनी खुन खाएको बाघजस्तो विजयीभावसहित मेरो कोठाबाट गइन् । नयाँ–नयाँ फेसनका लुगा लगाएर कलेज जाने निनी मलाई निकै आकर्षक लाग्थिन् । त्यो हरकतपछि मलाई निनी ‘राम्री’ लागिनन् । पछि थाहा भयो, निनीले मेरी बहिनी र मेरो सम्पर्कमा भएका अरू बालिकालाई पनि त्यस्तै गरेकी रहिछन् । महिलाको शरीरलाई यौनिकीकरण गरिने मानसिकता महिलाले पनि सर्लक्कै निलेका हुन्छन् भन्ने कुरा निनीको त्यो हरकतले स्पष्ट पार्छ ।


निनीले गरेको दुव्र्यवहार त केही महिनापछि बिर्सें । तर, अर्काे वर्ष अर्काे ठाउँमा सरेपछि केटीहरूका स्तनबारेमा मान्छेले गरेका टिप्पणी सुन्न, आफैँलाई हेरेर ‘ए तरुनी भइछिन्’ भन्ने मान्छे भेट्न लागिसकेकी थिएँ । त्यसैले हुन सक्छ, म ‘बालिका’ नै देखिने कोसिसमा आफ्ना स्तन पलाएका सुरुका वर्षमा कुप्रिएर हिँडेँ । नुहाउने वेला आमाले ‘तैँले मैलो निखार्दिनस्’ भनेर नुहाइदिन नआइदिएहुन्थ्यो जस्तो लाग्थ्यो । आमा मलाई विनाकुनै अप्ठ्यारो नुहाउन सघाउनुहुन्थ्यो, किन कुप्रेर हिँड्छेस् भनेर गाली पनि गर्नुहुन्थ्यो । तर, छोरीसँग स्तन पलाउने उमेर नै यही हो र यसमा तैँले हिचकिचाउनुपर्दैन भनेर छलफल गर्ने खुलापन आमामा पनि त्यतिन्जेल आइसकेको थिएन सायद । सत्र वर्षको उमेरमा मेरो दाहिने स्तनमा घाउ भएर पाकेको थियो । कलेज पढ्दा सारी लगाएर जान्थेँ । घर आएपछि ‘समिज’ भनिने गन्जीजस्तो चीजसँग अरू नै लुगा लगाउँथेँ । कलेजबाट आएर सारी–ब्लाउज फुकाल्दा घाउमा टाँस्सिएको ब्रा उप्काउँदा हुने सकसले एक्लै रुन्थेँ । तर पनि शरीर र त्यसमाथि पनि महिलाको शरीर लुकाउने चिज हो भन्ने कुराले दिमागमा यति शासन गरेको थियो कि मैले त्यो घाउबारे आफ्नै घनिष्ठ साथीहरूलाई पनि बताउन सकिनँ । संयोगवश त्यो घाउ केही दिनमा आफैँ ठीक भयो ।


निनीकै सहरमा हुँदाको कुरा, हामी सहरमा नयाँ थियौँ । सहरका मुख्य धाराहरूको भिड छिचोलेर नुहाउने, लुगा धुने हाम्रो पहुँच पुग्दैनथ्यो । त्यसैले धेरैजसो शनिबार म, बहिनी र भाइ बजार एरियाभन्दा परका धाराहरू खोज्दै हिँड्थ्यौँ, जहाँ भिड कम हुन्थ्यो । एकपटक बहिनी र मैले खोज्दै जाँदा सहरको अलि तल खेतैखेत झरेर गएपछि दुई–तीनवटा धारा देख्यौँ । दुई–तीन कान्ला माथिको धारामा एकजना वयस्क व्यक्ति आफ्नो लिंग निकालेर भिजाउने र खेलाउने गर्दै थियो । दश वर्षकी म र साढे आठ वर्षकी बहिनीलाई उसले के गरेको थाहा हुने कुरै भएन, हामीले आफ्नो सुरले नुहायौँ । ऊ भएको धारा हुँदै घर जाने आली पथ्र्याे, हामी उक्लियौँ । हामी हिँड्दै गर्दा उसले हामीतिर हेरेर ‘मैया, मैया’ भनेर बोलायो, वास्ता नगरी गयौँ । आज सोच्दा सिरिंग हुन्छ, धन्न उसले तल्लो धारामा झरेर हामी दुई बालिकाहरूलाई केही गरेन । माथि नै उभिएर हस्तमैथुन (आज आएर बुझ्दा उसले त्यही गरेको थियो भन्ने लाग्छ) गरिरह्यो ।


केही वर्षअघि पोखरामै एउटा स्कुल पढाउँदा सो स्कुलनजिकै साथीको होस्टेल थियो । होस्टेलअगाडि स्कुले छात्राहरू हिँड्ने समय र बाटो पारेर एउटा युवक दिनदिनै आउने, पाइन्टको जिपर खोलेर ठिक्क परेर बस्ने, छात्राहरू मात्र त्यो बाटो हिँडेको देखेपछि उनीहरूको अगाडि गएर आफ्नो लिंग देखाउने खेलाउने गर्दाे रहेछ । एक दिन म गएको वेला साथीले त्यो केटालाई देखाइन् । मैले पुलिस बोलाउनुपर्छ भन्दा भोलि होस्टेलका केटीहरूलाई ‘केही’ गरे के गर्ने भन्ने डरले त्यो दृश्य देख्न लागेको धेरै दिन हुँदा पनि पुलिस बोलाउन सकेको छैन भनिन् । मैले उनलाई हप्काएर पुलिस बोलाइदिएँ । तर, ऊ टाढैबाट पुलिसको भ्यान देखेपछि भाग्यो । एक–डेढ महिनापछि अर्काे बाटोमा म आफैँ स्कुल पढाएर फर्कंदै थिएँ, अर्काे कुनै मान्छेले ठ्याक्कै त्यस्तै गर्दै थियो, ऊ पनि म नजिक पुगेपछि मेरो अगाडि आयो । बडेमानको ढुंगा टिपेर ऊतिर झटारो हानेँ, ढुंगा छलाउँदै ऊ भाग्यो ।


त्यति मात्र होइन, नारायणी नदीमा एक्लै नुहाउँदै गर्दा नजिकै आएर लगातार हेरेर बसिदिने केटाहरूबाट भाग्न ज्यान नचोपली कपाल मात्र नुहाएर, बाँधेको पेटीकोटमाथि नै स्कर्ट टिसर्ट उनेर घर फर्केको याद छ । स्कुल वा कलेजबाट नारायणीको पुल हुँदै फर्कंदै गर्दा हावा चल्यो भने कुन वेला यिनीहरूको स्कर्ट उडाउला भनेर बीस मिटर परबाट कुरेर बस्ने आँखाहरूबाट त्रसित भएको, उडाए पनि ती मान्छेहरू बसेको ठाउँ कटेपछि उडाओस् भनेर प्रार्थना गरेको याद छ । एकाबिहानै कपाल नुहाएर बाटोमा केही कामले निस्केकी मेरी आमालाई ‘ए भाउजू कपाल बाँधेर आउनुस्’ भनेर नियन्त्रण गर्ने गाउँले ‘देवर’को अनुहार आजसम्म पनि मलाई टड्कारो याद छ । छोरीले, बुहारीले, कथित मान्यजनका अगाडि उपरखुट्टी लगाएर, खुट्टा फैलाएर बस्दैनन्, उत्तानो परेर सुत्दैनन् भनिएको सयौँपटक सुनेको र भोगेकोसमेत छु । मेरा आमा र काकी आजसम्म पनि जेठाजुका अगाडि कपाल देखाएर बस्न नसकेको, अब नछोप्नुस् भनेर कैयौँपटक भनिसक्दा पनि उनीहरूको दकस नगएको देखेको छु । 


सिंगो मानवलाई आफ्नो शरीरमा बोकेर हिँडेकी गर्भवती महिलाले आफ्नो पेट छोपेर हिँडेको म दिनदिनै देख्छु । बच्चालाई भ‍-याङमा बसेर दूध खुवाएकी बुहारीलाई ससुराले हकारेको देखेको छु । ‘हिपलाई टिसर्टले नछोप्ने पाइन्ट लगाएर घुम्न जाँदा नातेदारको अगाडि बेइज्जत गरिस्’ भनेर बहिनीलाई हकारेका दाइ देखेको छु । आफ्नो मनपरेको डिजाइनमा कपाल काट्न, बाट्नसमेत नपाएकी छोरी र बिहेपछि मूल घर जाँदा ‘कुर्ता होइन, सारी नै लगाऊ’ भन्ने उर्दी सुनेकी ‘बुहारी’को रूपमा हारेको समय पार गरेर यहाँसम्म आइपुगेको छु । अर्थात् आफ्नो लिंग पनि सार्वजनिक ठाउँमा निर्धक्क देखाउन, खेलाउन नहिचकिचाउने मैमत्त लोग्नेमान्छे र यति धेरै प्रतिबन्ध भोगेकी स्त्रीलिंगीको रूपमा आफ्नो उपस्थिति एउटै समाजमा देख्दा कैयौँपटक आक्रोशित भएकी छु ।

 

स्त्रिलिंगी शरीरको सीमाहीन यौनिकीकरण 


कतिपय घरमा नवजात शिशुको नांगो फोटो खिचाउने चलन छ । छोरा र छोरीको नांगो फोटोको अनुपात कति होला ? कसैकहाँ जाँदा ५–६ वर्षको बालक नांगै यताउता दौडिरहेको छ भने तपाईं–हामीलाई त्यो दृश्य कत्तिको असहज लाग्छ ? त्यसको दाँजोमा त्यति नै उमेरकी बालिकालाई त्यस्तै रूपमा देख्दा कत्तिको सहज लाग्छ ? तपाईं–हाम्रो बाह्र वर्षको छोरा छ र उसले आँगन वा पिँढीसम्म कपडा फेर्दै ज्यानमा आधा कपडा लगाएर आइपुगे हामीलाई कत्तिको अस्वाभाविक लाग्छ ? त्यसको दाँजोमा त्यति नै उमेरकी छोरीलाई त्यही रूपमा देख्दा कत्तिको स्वाभाविक लाग्छ ?

महिलाका सबै लुगामा राजनीति छ । कुनै समय जनावरको हड्डीले सिलाइने र त्यो अपवित्र हुने भन्ने (अन्ध)विश्वासअनुसार भारतवर्षका पुरुष–महिला दुवैले नसिलाइएका लुगा लगाएकै हुन् । तर, पुँजीमाथि पुरुषको स्वामित्व हुन थालेपछि उनीहरूले आफ्ना लुगालाई सयौँपटक 
पुनः डिजाइन गरिसके ।

 

‘बिकिनी बडी’बारे हामीले सुनेका छौँ । अर्थात् पातलो शरीर जुन शरीरले बिकिनीकै ‘शोभा’ बढाउनुपर्छ । समुद्र किनारमा वा पौडी पोखरीमा लगाउने लुगाका लागि महिलाको पातलो शरीर हुनुपर्छ भन्ने सोचका कारण भोगिने असहज हेराइका कारण यस्ता ठाउँमा गएर रमाइलो गर्नबाट रोकिएका महिलाको हिसाबकिताब खोइ ? खुट्टामा फित्ता लिएर नाप्दै स्कर्टलाई घुँडाबाट कति तल बनाउने भनेर तोकेर उर्दी दिइने स्कुल पढ्ने साना छात्राको मनस्थितिको तथ्यांक खोइ ?

 

उनीहरूको त कपालसमेत स्कुल प्रशासन र शिक्षकको नियन्त्रणमा हुन्छ । कि पूरै छोट्याएर आउनुपर्ने कि घाँटीसम्मको लामो भए रिबन लगाएर आउनुपर्ने आदेश सुनाइन्छ । कतिपय बैंक, स्कुल र सरकारी कार्यालयमा वर्षभरि महिला–पुरुषले सर्टपाइन्ट लगाउँछन्, तर वार्षिकोत्सव वा अरू विशेष कार्यक्रम परे महिलाले सारी–चोलो लगाएर संस्थाको ‘मर्यादा’ धानिदिने चलन अझै छ । जबकि पुरुषले ती दिनमा पनि आफ्ना नियमित लुगा नै लगाउँछन्, बढीमा माथि कोट थप्लान् । चाडबाड वा बिहे–व्रतबन्धमा पुरुषले काम गर्न छरितो लुगा चाहियो भनेर भेस्ट र हाफपाइन्ट मात्र लगाउँछन्, तर महिलाले गह्रुंगा र अल्झाउने सारीचोलो लगाएर भान्सामा घन्टौँ खटिएर ‘मर्यादा’ धान्नुपर्छ ।


पोखरामा भएको एउटा ‘देशकै ठूलो’ कलेज पृथ्वीनारायण क्याम्पसभित्र महिलालाई हाफपाइन्टको कुरा छोडौँ, गोलीगाँठासम्मै आउने वन पिस लुगा वा लेगिंग्ज भनिने एक प्रकारको सुरुवाल लगाएर छिर्न मनाही छ । यही नियम क्याम्पसमा दौडन, खेल्न–कुद्न, दिनमा बीसौँपटक हाफपाइन्ट लगाएर ओहोरदोहोर गर्ने पुलिंगी खुट्टाका लागि अनिवार्य छैन । देशको कुनै कुनाबाट उक्त कलेजमा प्रवेश परीक्षाका लागि आएकी, कलेजले तोकेको पोसाक सिलाउन भ्याउनु त परको कुरा, पोसाक छ भन्ने पनि थाहा नभएकी युवतीलाई गेटैमा रोकिएको छ र ऊ प्रवेश परीक्षाको आधा समय छुटेर रोएकी छ । कलेज सकिइसकेको र जाँच आउने वेला प्रवेशपत्र लिन हिँडेकी केटीलाई त्यसैगरी रोकिएको छ । कलेजकी विद्यार्थी नै होइन, तर त्यहाँ हुने कुनै कार्यक्रममा सहभागी हुन आफ्नो सुविधाअनुसारको लामो नै पोसाक लगाएर गएकी युवती रोकिएकी छ । त्यति मात्र होइन, कलेज बन्द भएको समय र सिजनमा क्वार्टरमा बस्ने साथी भेट्न क्वार्टर पाइन्ट नै लगाएर आएकी बच्चाकी आमासमेत रोकिएकी छ । 

 

ढाडेहरूलाई देखाइएको ढाड


महिलाले शरीरको कति भाग देखाउने र कसका अगाडि देखाउने भन्ने सोचको परिधि उनीहरूले आफ्नो स्तन, योनी र पाठेघरमा संक्रमण भएर अस्पताल जाँदा पनि पुरुष डाक्टर त नपरेहुन्थ्यो भनेर प्रार्थना गरिने स्थितिसम्म तन्किएको छ । तर, अब आफूले धान्नुपरेको ‘मर्यादा’को विनिर्माण विश्वभरका महिलाले आफैँ र आफ्नै तरिकाले गर्दै छन् । कतिपय देशमा सार्वजनिक स्थानमा महिलाले आफ्ना बच्चालाई स्तनपान गराउन नपाउने घोषित-अघोषित नियम नै छन् । स्तनमाथिको यो स्त्रीद्वेषी हेराइको अन्त्य गरौँ भन्दै पश्चिममा ‘फ्री द निप्पल’ अभियान विगत केही वर्षयता चल्दै आएको छ । ‘पश्चिमको कुरा नगर’ भन्नेहरूलाई ०६४ सालमा नेपालका बादी महिलाले शरीरको माथिल्लो हरमा भित्री वस्त्र मात्र लगाएर सिंहदरबारको पर्खाल नाघ्ने गरी गरेको प्रदर्शनबारे थाहै होला ।


ढाड देखाउने प्रतिरोधपछि हाम्रा ढाडहरूलाई फल्याकजस्ता, घिरौँले ढाड आदि भनेर खिसी गरिएको छ । ‘पुँजीवादबाट शासित छौँ भनेर नबुझ्ने, क्रान्तिको ‘सही’ तरिका नजानेर स्वेरकल्पनामा हराएकाहरू’ भनेर कटाक्ष गरिएको छ । अर्थात् यी दुवैथरी मान्छेहरूले कसैको शरीर र त्यसलाई कति देखाउने वा कस्ता लुगा लगाउने, कसरी विरोध गर्ने आदि भनेर हाम्रो शरीर र प्रतिरोधका तरिकामाथि आफ्नो नियन्त्रण छ भन्ने भ्रम नै ओकलिरहेका छन् । ढाड देखिएकी महिलालाई छाडा गाली गर्नेहरू र ढाड देखाएर प्रतिरोध गर्नेहरूका आवाजलाई कटाक्ष गर्नेहरूका शब्द फरक होलान्, तर प्रवृत्ति दुरुस्तै एउटै हो । आज ढाड देखाउनेले भोलि बलात्कारको विरोधमा योनी देखाउलान् त ? पनि भनिएको छ । सन् २००४ मा भारतको मणिपुरमा मनोरमा नामक युवतीलाई सेनाले बलात्कारपछि योनीमा बीसौँपटक गोली हानेर हत्या गरेको विरोधमा त्यहाँका आमाहरूले ‘भारतीय सेना हामीलाई बलात्कार गर्’ भन्दै नग्न प्रदर्शन गरिसकेकै हुन् । विनाकुनै योजना बाह्रजना आमाहरूले परिवारका सदस्यलाई समेत थाहै नदिई गरिएको स्वस्फूर्त प्रदर्शन थियो त्यो । उनीहरूले हाम्रो यो विरोध कुन वादभित्र अटाउँछ भनेर वा यो मुद्दा उठाएपछि भारतभरि सधैँलाई बलात्कार रोक्न सक्छौँ भनेर उठाएका पनि थिएनन् । 


ढाड देखाएर गरेको प्रतिरोधले पनि महिलाका सबै मुद्दालाई आजको आजै समाधान गर्ने होइन । एउटै वा एकैथरी आन्दोलन, अभियान वा क्रान्तिले सधैँभरिका सबै मुद्दा सम्बोधन गर्दाे हो त संसारमा एउटै देशमा केही समयको अन्तरालमा बारम्बार विभिन्न क्रान्ति किन हुन्थे ? त्यसैले ढाड देखाउनेहरू महिलाको अन्य मुद्दाप्रति उदासीन छन् वा महिलामाथिको ऐतिहासिक दलनबारे उनीहरूलाई जानकारी नै छैन, उनीहरू स्टन्टबाज मात्र हुन् भनिनु उनीहरूको आवाजलाई खारेज गर्नु हो । शब्दमार्फत जनाइएको विरोध ‘शुद्ध’ हुने र दृश्यमार्फत जनाइएको नहुने भन्ने कुनै तर्क नै होइन । यो त आफैँमा ‘कन्डेन्सेन्डिङ’ अर्थात् आफूलाई अरूको ‘तरिका’को परिभाषा के हो भनेर खुट्याउन, घोषणा मात्र होइन, खारेज नै गरिदिन सक्ने सामर्थ्य भएको सर्वेसर्वाको रूपमा देख्ने प्रवृत्ति हो ।


ढाड देखाएर प्रतिरोध गर्नु पुँजीवादबाट शासित हुनु हो भने खाना पकाउँदा चोलो फुकाल्न बाध्य पारिनु वा मृत्यु संस्कारको नाममा ब्लाउज, पेटीकोट मात्र होइन, ब्रा र अन्डरवेयरसमेत नलगाईकन एकसरो सारीमा आधा ढाड देखाएर कपाल नकोरी, दाँत नमाझी तेह्र दिन किरिया बस्न बाध्य भइनु पनि सामन्तवाद वा रुढीवादबाट शासित हुनु हो । ढाड देखाउने सबै ‘पुँजीवाद’ नामक ‘वाद’का समर्थक नहुन पनि सक्छन् वा हुन पनि पाउँछन् । बहुलवादी समाजमा तँ यो हुन पाउने, यो हुन नपाउने भनेर तोकिदिने अधिकार कसैलाई छैन । त्योभन्दा मुख्य कुरा मैले ढाड प्रदर्शन कुनै ‘वाद’भित्र अटाउला कि नअटाउला भनेर गरेकी थिइनँ । यो मेरा लागि महिलाको शरीरमाथि पुरुषवाद, पुँजीवाद, सामन्तवाद वा रुढीवाद, जुनसुकै ‘वाद’ले अधिकार जमाएको प्रवृत्तिविरुद्धको स्वस्फूर्त विरोध हो । तर, यसपटक महिलाको शरीरको यौनिकीकरण गर्ने र त्यसको प्रतिरोधको तरिकालाई नानाथरी नामले न्वारन गर्ने दुवैथरी ढाडेहरूलाई नेपाली महिलाको अलिकति संख्याले मज्जाले ढाड देखाइदियो । पहिरन होस् वा प्रतिरोध, कसैको वैयक्तिकतालाई खारेज गर्न तम्सिनेहरूसँग अब नयाँ पुस्ताका महिलाले आफूलाई ढाड देखाएको हेरेर बस्नेबाहेकको विकल्प बाँकी नहोला ।