• वि.सं २०७८ बैशाख २ बिहीबार
  • Thursday, 15 April, 2021
निभा शाह
२०७७ श्रावण ३१ शनिबार १०:१५:००
समाज

पहेँलो अफिम

विवाह संस्था लालपुर्जाले बेरिदिएको साइनो मात्र हो

२०७७ श्रावण ३१ शनिबार १०:१५:००
निभा शाह

 

‘एक धर्सो सिन्दुर अणुबमभन्दा खतरनाक हुन्छ’

 

हामीले विवाह देखेका छौँ । विवाहमण्डप देखेका छाैँं । विवाहमण्डपमा अग्निलाई साक्षी राखेर दुलाहाले दुलहीको सिउँदोमा एक धर्सो सिन्दुर हालेको पनि देखेका छौँ । लगनगाँठो कस्दै दुलाहा–दुलहीले सात जुनीसम्म सँगै मर्ने–बाँच्ने वैवाहिक शपथ खाएको पनि देखेका छौँ । माइती पक्षले वरवधूको गोडा धोएको पानी खाँदै छोरीलाई कन्यादान (छोरीदान) दिँदै गरेको पनि देखेका छाैँ । जब वरवधूको कन्यादानको प्रक्रिया सकिन्छ, दुलहीका माइती पक्षले दुलहीको हात दुलाहाको हातमा राख्दै भन्छन्, ‘ज्वाइँसाब, हाम्री छोरी आजदेखि हजुरकी जिम्मा भई, मारे पाप पाले पुण्य ।’ तर, छोरी कुनै अमुक पुरुषलाई विवाहको नाममा दान गरिदिएपश्चात छोरी मारिदिए पाप लाग्ने र पालिदिए धर्म लाग्ने वैवाहिक संस्थाको जरा हामीमध्ये धेरै कमलाई थाहा छ । 

 

०००

 

कुरा अछामको हो । म त्यतिवेला १४–१५ वर्षकी हुँदी हुँ । उकाली ओराली तीन घन्टाको स्कुलयात्रा तय गर्दै थकित भई घरको पिँढीमा आएर थचक्क मात्र के बसेकी थिएँ, मेरी गंगाकाकीलाई खै के सुझ्यो कुन्नि, अचानक मलाई भन्नुभयो, ‘ए काली (मेरो निक नेम) अब तु कसइका किला बाधिजा । हेर्, अब त तेरा किलारु पन तेरा खोजी आउन्नानप ?’ म त अचानक यस्तो किला बाँधिने प्रथाको झटारो सुनेर अक्क न बक्क भएँ । अनि मैले गंगाकाकीलाई ट्वाँ पर्दै यति भनेँ, ‘म के गाईवस्तु हो र किला बाँधिने ?’ मैले यति भनेको सुनेपछि हाम्री एकजना कान्छी जिजुमुमाले भन्नुभयो, ‘तु लाटी छै काली, तु पैली अन्नि खाइहेल अनि कुरा बुझाउँला ।’ मैले अन्नि खाइसकेपछि कान्छी जिजुमुमाले वैवाहिक संस्थाका बारेमा जाने–सुनेजति पोथीपातणो खोल्न थाल्नुभयो । 


‘हेर् लाटी, तेरा बाज्याले (जिजुबुबा) मुलाई किला बाँधी ल्यायो । विवाह गर्नु भन्याको पोइली घरका किला बाँधिनु हो । तेरा बाज्याले उसै किला बाँध्याको होइन, जन्त गरी किला बाँध्याको हो । विवाहमण्डपमा मेरा बाआमाले तेरा बाज्यालाई किला बाँधी दियाको हो । पाप धर्मका कुरा गरी हजुरकी लक्ष्मी भई भन्याको हो । लक्ष्मी भन्याको थाहा पाउँछेस् ? लक्ष्मी गाईलाई भन्दा छन् । धनलाई पनि लक्ष्मी भन्दा छन् (हाम्रो गाउँतिर गाईलाई लक्ष्मी भनिन्छ) । अझ मेरा बुबा धर्मी छिया (थिए), मेरा बुबाले त तेरा बाज्यासँग धन पन खाएन हेर । क्या कुरा गर्दी छै हेर ठुला राजा माहाराजाहरू त छोरीको धन भनी बिर्ता–बिरौटाको धनखेत खादा छिया । तब त छोरी जातकीलाई लक्ष्मी भन्दा छन् । बैकिनी सैकिनी जैकिनी तैकिनी जैसँग छनछनी उसैकी बैकिनी भन्दा छन् । क्यालाई भन्दा छन् त ? छोरीको धन खान्या हुनाले भन्दा छन् ।

 

बैकिनीलाई कटौरी, माना, पाथी, भदौल्या, दुना, टपरी, फुगली किन भन्दा छन् त ? पोइलीका गच्छेअनुसार छोरीको धन माइतीले दुनानी, कटौरानी थापी खान्या हुनाले भन्दा छन् । पोइली जारी धन खाँदा माइती छोरी धन खाँदा । बुझी राख् नातिनी, यो तेरा पालाको कुरा होइन । मेरा पालाका कुरा हुन् । तु ठुली हुँदासम्म मु जिजुमुमा मरिसक्छु । कुरा गाँठा पारेर राखी राखेई है ! अझै मेरी मुमा जिजुमुमाका पालामा त सुन् नातिनी छोरी कन्यादान दिँदाखेरि यसो भन्दा छिया, ‘ज्वाइँ साहेब हाम्री छोरी हजुरकी कमारी भई, सती भई, मार्‍या पाप पाल्या पुण्य भन्दा छिया ।’

निजी सम्पत्तिले वंशवाद जन्मायो, वंशवादले वैवाहिक संस्थालाई संस्थागत गर्दै लग्यो, वैवाहिक संस्थाले स्त्रीलाई लालपुर्जा बनायो, लालपुर्जाले स्त्रीलाई किलोप्रथाद्वारा  सती बनायो ।


विवाह धार्मिक अनुष्ठान, सभ्यता, संस्कृतिको महानता हो भन्दै विवाहलाई पवित्र नाता मानिन्छ । जब कि विवाह संस्था लालपुर्जाले बेरिदिएको साइनो मात्र हो । विवाह संस्थाद्वारा माइती पक्षले छोरी धन खाने, पोइलीे पक्षले जारी धन खाने हुनाले विवाह संस्था लालपुर्जाले बेरिदिएको साइनो मात्र हो भनेर आफैँ प्रमाणित हुन्छ । किलोप्रथा, सतीप्रथा, विधवाप्रथा आदि–इत्यादि प्रथाहरूले पनि प्रमाणित गर्छ, विवाह संस्था एक पवित्र नाता नभई अपवित्र लालपुर्जा हो । यस्तै रीतहरूले पुष्टि गर्छन्, वैवाहिक संस्था स्त्रीलाई कब्जा गर्ने, वस्तुकरण गर्ने राज्यको वैधानिक संस्था मात्र हो । यहाँ प्रेम उन्मुक्तिको वैधानिक इतिहास छैन । यो म बोलिरहेकी छैन, स्वयं वैवाहिक संस्थाका प्रमाण बोलिरहेका छन् । 

 

निलो फूल 


हाम्रो गाउँका बजुहरूले सुनाउने निलो फूलको साँचो कथा यस्तो छ, एउटा कुनै गाउँकी विधवा युवतीले गाउँको कुनै मन्दिरमा गएर देउतालाई रातो फूल चढाइछिन् । त्यो पनि रातो फूलको गुच्छै लगेर चढाइछिन् । देउचढौती रातो फूलको गुच्छा देखेर पुजारीजीको ब्रह्माण्ड तातेछ अनि त के चाहियो । मन्दिर, देउता, धर्मशास्त्र, सृष्टिको देउता सबै बिटुलो भयो भन्दै पुजारीजीले देउसभा बोलाएछन् । नेपालमा भारदारी सभा शब्द प्रचलनमा आउनुअघि भारदारी सभालाई देउसभा भनिन्थ्यो । अहिले पनि हाम्रो गाउँघरका बजुबाजेहरूले सभा कचहरीलाई देउसभा (देउता सभा) नै भन्छन् । 


यस्तै किसिमको देउसभाले रातो फूल देउ चढाउने ती कथित विधवा युवतीलाई कचहरीमा बोलाई प्रश्न सोधेछन् । तिमीले लगाउने लुगाको रङ के हो ? युवतीले भनिछिन्, ‘सेतो हजुर ।’ फेरि कचहरी सभाले प्रतिप्रश्न सोधेछ, ‘तिमीले लगाउने टीकाको रङ कस्तो हो ?’ विधवा युवतीले भनिछिन्, ‘पहेंलो हजुर !’ देउसभाले तेस्रो प्रश्न सोधेछ, ‘पहेंलो रङ भनेको के हो ?’ विधवाले भनिछिन्, ‘केशरी हजुर केशरी ! केशरी रङको टीको लगाउँछु ।’ देउसभाले चौथो प्रश्न सोधेछ, ‘तिम्रोे भाग्यमा परेको रङको नाम के हो ?’ युवतीले भनिछिन्, पहेंलो र सेतो हजुर !’ कचहरी सभाले ती विधवा युवतीलाई भनेछन्, ‘अनि किन भाग्यको विरुद्धमा ईश्वरलाई रातो फूल चढाएकी त ? ईश्वरले जुन बाटो हिँडाएका छन्, त्यही बाटो खुरुखुरु हिडेस् । अबदेखि ईश्वरका विरुद्धमा ईश्वरलाई बिटुलो बनाउँदै नहिँडेस् ।’ विधवा कलंकिनी भन्दै रातो फूल देउ चढौतीको सजाय ती विधवा युवतीलाई पाँच कोर्राको सुनाइयो ।

 
ती कथित विधवा महिलालाई पाँच कोर्रा लगाइसकेपछि गाउँभरिका महिला बोलाई देउसभाले प्रवचन दिएछ, ‘हेर बैकिनी हो, पहिलाका ब्याइता महिला कति भाग्यमानी थिए । रातो फूल रोजी आफ्नै देउता (श्रीमान्) सँग सती जान्थे । अब त नियम–कानुन आतंककारी आएको छ । सती जाने महिला विधवा भई बस्न थाले, विधवा कलंकिनीजतिले देउता बिटुलो बनाएर बिछट्ट छ । अबदेखि विधवा पोइटोकुवाजतिले गुलैचीको फूल (सेतो र पहेंलो रङ मिश्रित फूल) देउ चढाउनू । गुलैचीको फूल नपाए सेतो निख्खर फूल देउ चढाउनू ।’ देउसभाको उर्दी सुनिसकेका महिलाले जब सम्बन्धित कथित विधवा युवतीको पिठ्युँमा हानेको पाँच कोर्राको डाम हेरे, त्यहाँ पाँचवटा निलो डाम देखेछन् । त्यहाँदेखि ती कथित विधवाको नयाँ नाम गाउँले महिलाले राखेछन्- ‘निलो फूल ।’ यो निलो फूल धार्मिक सभाको सेतो अफिम हो । 

 

पहेंलो अफिम


हाम्रो परिवारमा अन्तिम सती जाने महिलाको नाम हासु राज्यलक्ष्मी शाही हो । उनका श्रीमान्को नाम मस्तक शाही हो । जब हासु शाहीका श्रीमान् बिरामी परे, हासु शाहीले लोग्ने बचौती (बचाउने उपाय) का लागि कालीका देवीमा कालो बोको भाकल गर्दै वैद्यनाथ शिवजीको मन्दिरमा गएर लोग्ने बचौतीका लागि परगलो चढौतीको प्रार्थना गरिन् । तर, उनका लोग्ने बाँचेनन् । लोग्ने मरेपछि हासुदेवी आफ्ना तीनजना नाबालक छोराहरू छाडेर सती गइन् । उनी तत्कालीन सती जानेहरूमध्ये अब्बल दर्जाकी सती कहलिइन् । जब सती जाने समुदायभित्रका पतिहरू मर्थे, शङ्ख मरुबाजो (शोकको मृत्यु आवाज) फुकिन्थ्यो ।

मरुबाजो फुक्नेबित्तिकै सती जाने महिलालाई सती चोख्याउन नुहाइन्थ्यो । नुहाइ–धुवाइपश्चात उनको कपाललाई फुको राखी उनलाई नयाँ रातो सारीचोलो लगाउन दिइन्थ्यो । वा अरू कुनै महिलाले लगाइदिन्थे । सती रातो सारीचोलोमा सजिएपश्चात पण्डितजीका अगाडि सतीलाई सतीपुराण सुन्न बसालिन्थ्यो । पण्डितजी सतीपुराण पढ्दै जान्थे । त्यतिवेलासम्म घरका महिलाले सती जाने महिलाको हातमा रातो चुरा, निधारमा रातो टीका, गलामा रातो पाते लगाइदिन्थे । अनि गाउँभरिका महिला–पुरुष मिलेर सतीको फुको टाउकोमा तेल अबिर र रातो फूलको पत्रहरू खन्याउँदै जान्थे । जति–जति पण्डितजी सतीपुराण पढ्दै जान्थे, उति–उति सतीको टाउकोमा तेल, अबिर, रातो फूलपत्रहरू खनिँदै जान्थे । 


सतीलाई यसरी तेल, अबिर, फूलपत्र खन्याई राताम्य पारिरहँदा सतीपुराणका मन्त्रजपले पनि उनलाई मन्छी रहिन्थ्यो । जब सतीपुराणभित्रको सती मन्छने पाठ सकिन्थ्यो, पण्डितजीले सती जाने महिलालाई सोध्थे, ‘तपाईंको मनले सती जान कबुल गर्‍यो कि नाइँ ?’ यदि सती जाने महिलाले सतीपुराण सुनिसकेपश्चात पनि सती जान कबुल गरिनन् भने उनलाई अफिम खुवाएर भए पनि सती जान कबुल छु भन्न लगाइन्थ्यो । अनि जसै सती जाने स्त्रीले कबुल शब्द उच्चारण गर्थिन्, तब पतिको लास उठाइन्थ्यो र सतीलाई पतिको लासका पछाडि–पछाडि नाङ्गा खुट्टा हिँडाएर दायाँबायाँ, पछाडि कतै पनि नहेरी अगाडिको बाटो टाउको निहुराउँदै हिँडिरहने उर्दी जारी हुन्थ्यो । अनि जसै आर्यघाटमा सती पुग्थिन्, मलामीहरूले ‘च्यारु’मा राखेर सतीलाई बाँधिदिँदै लोग्ने चितामा राखी जिउँदै जलाएर मार्थे । यदि आर्यघाट पुगेकी सतीले आफूलाई च्यारुमा बाँधिन अस्वीकार गरिन् भने उनलाई मलामीहरूले ढुङ्गा हानी मार्थे । अनि पोइ चितामा राखेर थुक्क कलंकिनी सती भन्दै थुकेर पोलिदिन्थे । 


बाजुराको काग्या बगड (आर्यघाट)मा तत्कालीन बाजुराका राजाकी श्रीमतीले आर्यघाट पुगिसकेपछि सती जान अस्वीकार गरिन् । उनलाई मलामीहरूले अलच्छिनी सती घोषित गरी ढुङ्गा हानेर मारे । अनि मलामीले थुक्दै, सराप्दै पोइको चितामा राखी उनलाई पोलिदिए । उनी राणाकी छोरी थिइन्, त्यसैले उनको इतिहास साक्षी बनेर बाँचिरह्यो । 


सती जानेहरूमध्ये अब्बल दर्जाकी सती ती कहलिन्थे, जो सतीपुराण सुनिसकेपछि अफिम नखाएरै पतिको चितामा जल्न स्वीकार गर्थे । कमसल दर्जाकी सती ती कहलिन्थे, जसलाई अफिम खुवाएर आर्यघाट पुर्‍याउनुपर्थ्याे । कलंकिनी सती ती कहलिन्थे, जो आर्यघाट पुगेर पनि च्यारुमा बाँधिन आफैँ तयार हुँदैनथे । जसलाई मलामीहरू ढुङ्गाले हानेर मार्थे । 


हाम्रो परिवारकी अन्तिम सती जाने हासु शाह चाहिँ अब्बल दर्जाकी महारानी सती घोषित हुन पुगिन् । जो अफिमै नखाएर सतीपुराण सुन्न, आर्यघाट जान, आफूलाई च्यारुमा बाँधिन स्वीकार गर्दै पितृसत्ताका लागि महारानी सती हुन पुगिन् । हासु शाहको सती इतिहास पितृसत्ताका लागि महारानी सती नै हो भने यसै पितृसत्ताका लागि राणाकी छोरीको सती इतिहास कलंकिनी सती हो । विद्रोही सतीलाई कलंकिनी सती हो भन्ने महान् धार्मिक सनातनी सभ्यता धन्य हो ! धन्य हो अफिम संस्कृति ! धन्य हो सतीपुराणका महान् रचनाकारहरू ! यिनीहरूलाई मरणोपरान्त ‘हिटलर पुरस्कार’ जरुर दिनुपर्थ्याे । 


कतिपय फिल्म, कथा, पटकथा, उपन्यास, नाटकहरूमा सती उम्केर जाने जो घटनाक्रम देखाइन्छ, त्यो पितृसत्तावादी दृष्टिकोणको स्वेरकल्पना मात्र हो । सतीको इतिहासमा सती बाँचेको इतिहास हुँदैन । किनकि ‘च्यारु’ बाँसले बनाएको एउटा यस्तो मृत्युशय्या हो, जहाँबाट सती उम्किने सम्भावनाको विकल्प हुँदैन । बरु बलिको बोको मन्छिन नमाने उम्किने सम्भावना रहन्छ । तर, सतीप्रथाकी सती बलि हुनबाट उम्कन सक्ने वैकल्पिक व्यवस्था केही रहँदैन । त्यसैले सतीप्रथा आफैँले प्रमाणित गर्छ, वैवाहिक संस्था लालपुर्जाले जन्माएको धार्मिक अफिम हो ।     

 

०००

 

वर्तमान अवस्थामा चलायमान हुँदै आइरहेको दहेज प्रथा, एसिड अपराध, स्त्रीदेह किनबेच प्रथा, छोरी भए गर्भपतन गर्ने प्रथा, वैवाहिक बलात्कारी प्रथा, बालिका वधू प्रथा इत्यादि प्रथाले पनि प्रमाणित गर्छ, वैवाहिक संस्था लालपुर्जाले जन्माउँदै आएको धार्मिक अफिम हो । गैरवैवाहिक संस्थाबाट स्त्री उत्पीडित हुनु पनि वैवाहिक संस्थाको सहउत्पादन हो, जसो कि झुमा, देउकी, कुमारी प्रथा । 


स्त्रीहरू आर्थिक एवम् मानसिक रूपमा सबल हुनुपर्छ । महिलाहरू आर्थिक एवम् मानसिक रूपमा सबल हुनका लागि विद्यमान  लालपुर्जामा आधारित आर्थिक संरचनामा हेरफेर हुनुपर्छ, तब मात्र महिला मुक्ति सम्भव छ । यो महिला मुक्ति लालपुर्जा बोक्ने खाइपाई आएको सत्ताधारी वर्गले त्यसै महिलाको पोल्टोमा खन्याइदिनेवाला छैन । यसका लागि महिलाले ठूलै विद्रोह गरी क्रान्तिमा सहभागी हुनुपर्छ । 

 

वैवाहिक संस्थाको गर्भाशय


यो पृथ्वी कसैको निजी होइन । यो पृथ्वी प्रकृति हो । प्रकृति पृथ्वी, हावा, पानी, घाम, जूनजस्तै सबैको साझा हो । यो साझा पृथ्वीलाई जब केही व्यक्तिले ओगट्दै गए, तब निजी सम्पत्तिको अवधारणा जन्मिँदै गयो । यदि यो ‘ओगटेवाद’ हँुदैन थियो भने न निजी सम्पत्ति हुन्थ्यो, न पुख्र्यौली सम्पत्ति हुन्थ्यो । जङ्गबहादुर र पृथ्वीनारायण शाहका सन्तान भन्छन्, ‘यो हाम्रो पुख्र्याैली सम्पत्ति हो ।’ जबकि न पुर्ख्याैली सम्पत्ति हुन्छ, न निजी सम्पत्ति हुन्छ, न स्त्री वैवाहिक किलाकी लक्ष्मी (गाई) हुन्छे । यी सबै सत्ताले बनाइदिने लालपुर्जा मात्र हुन् । बिर्ता, मौजा, ठेक्कापट्टा, कमिसन, भ्रष्टाचार आदि–इत्यादि सबै लालपुर्जाले जन्माउने अप्राकृतिक दास कर्मकाण्ड हुन्, जसले मालिक उत्पादन गर्छ । 

 

निजी सम्पत्तिले वंशवाद जन्मायो, वंशवादले वैवाहिक संस्थालाई संस्थागत गर्दै लग्यो, वैवाहिक संस्थाले स्त्रीलाई लालपुर्जा बनायो, लालपुर्जाले स्त्रीलाई किलोप्रथाद्वारा सती बनायो । जसका कारण एक धर्सो सिन्दुरले हजारौँ वर्षदेखि करोडौँ स्त्रीलाई पोइको चितामा जिउँदै पोली सती बनायो, जसको नयाँ संस्करणहरू दहेज, एसिड अपराधद्वारा स्त्रीहरू जलेकोजल्यै छन् । लालपुर्जा जो छ, जसले स्त्री–पुरुषलाई सहचर बनाउँदैन । न नै सहचर सम्बोधन गर्ने वैवाहिक लालपुर्जासँग नैतिक आधार छ । लालपुर्जाले भन्छ, धर्मपत्नी अर्थात् धर्मले बनाएकी दासी । किनकि पतिको शाब्दिक अर्थ मालिक हो भने पत्नीको शाब्दिक अर्थ दासी हो । अतः धर्मले बनाएकी दासी, लालपुर्जाले बनाएकी वस्तु । 

 

[email protected]