• वि.सं २०८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रीता बरामु 
२०७७ श्रावण ३१ शनिबार ०७:०५:००
संगीत

बदला होइन, बलात्काररहित समाज

२०७७ श्रावण ३१ शनिबार ०७:०५:००
रीता बरामु 

युट्युबमा अहिले गायिका देवी घर्तीको आवाज, प्रकाश सपुतको संगीत तथा संयोजनमा सार्वजनिक भएको ‘बदला बरिलै’ बोलको गीत चर्चित छ । यो लेख लेखिरहँदाको बखत उक्त गीतको भ्युअर्स दुई मिलियन नाघेको छ, भने एक नम्बर ट्रेन्डिङमा परेको देखिन्छ । गीतको तारिफ गर्दै सामाजिक सञ्जालमा सेयर गर्ने पनि धेरै भेटिन्छन् । 


गीतले यौनहिंसा र विशेषगरी बलात्कारको मुद्दालाई समेटेको छ र त्यसका विरुद्ध सन्देश दिन खोजेको भनिएको छ । गीत सकिँदा पुरुष आवाजमा भनिएको पनि छ, ‘कुनै पनि शक्तिको आडमा अपराध नगरौँ, बलात्कार नगरौँ ।’ यो लाइन सर्जक आफैँलाई चाहिँ काफी लागेको होला, तर बलात्कार संस्कृति (रेप कल्चर) र प्रवृत्तिका विरुद्ध भने यो भनाइ काफी छैन । गीतले दिन खोजेको भनिएको सन्देशभन्दा भिडियो प्रत्युत्पादक साबित हुन्छ । कसरी प्रत्युत्पादक हुन्छ, यसबारे यो लेखमा केलाउने प्रयास गरेकी छु । 

 

महिलाबारे प्रस्तुत गरिएका बिम्ब 


गीतका शब्द र समग्र भिडियोभरि नै महिलालाई साह्रै निरीह व्यक्तिका रूपमा देखाइएको छ । जुन पटक्कै चित्त बुझ्ने खालको छैन । घरदेखि नै छोरीलाई ‘संस्कारी’ र ‘फूल’ जसरी हुर्काइएको जस्तो देखाइन्छ । त्यसैको नतिजाजस्तो लाग्ने कसैले बारम्बार स्टेजमै छुँदा, घुरेर हेर्दा र बाइकमा बस्नका लागि तान्दा आँखा तरेरसमेत विरोध गर्न सक्ने सामथ्र्य नभएको यो कस्तो पात्र सिर्जना गरिएको होला ? त्यतिसम्म पनि नजरअन्दाज गरिएला, किनभने सबैसँग त्यसरी हाकाहाकी प्रतिरोध गर्ने हिम्मत हुँदैन ।

 

तर, जब जंगलमा आफूमाथि दुव्र्यवहार र बलात्कार हुने सम्भावना देखिन्छ, महिला पात्रले जंगलमा भागेर एक चक्कर लाउने वा चिच्याउने, प्रतिआक्रमणमा उत्रनेसम्म पनि प्रयास गरेकी छैन । यस्तो देखाइँदा महिला पात्र श्वास, विवेक नभएको अर्धचेत पुतली मात्र जस्तो लाग्छ । संसारमा पुरुषले सिर्जना गरेका महिला पात्र र उनीहरूका कथामा यस्तै खोट धेरै भेटिन्छन् । किनकि, पुरुषको आँखाले महिलालाई सधैँ अबला नै देख्छ वा देख्न चाहन्छ । 


अर्काेतर्फ, गीतका शब्दलाई केलाउँदा ‘बरिलै आफैसँग हारेँ म’, ‘छोरी भएर जन्मिनु अभिशापै हो भने, बरिलै नजन्माइदेऊ सृष्टिले’ जस्ता भाव प्रयोग भएका छन् । यसको अर्थ पनि आखिर समाजले महिलालाई भिराइदिएको ‘बिचरा’ र ‘लाचार’ छविलाई नै यथावत् राख्नु हो । नत्र किन गीतका शब्दमा बलात्कारी अनि बलात्कार संस्कृतिप्रति रोष देखिन्न ? किन पीडितले आफ्नै र तमाम महिलाको अस्तित्वमाथि नै दुःख पोखिरहेका शब्दहरू लेखिएका हुन् ? के आफूमाथि भएको अपराधबारे बोल्न पनि आफ्नै अस्तित्वप्रति बिलौना गरिरहनुपर्ने हो ? फेरि पनि महिलाबारे पुरुषले लेख्ने यस्ता शब्दले न्याय गर्न सक्दैन भन्ने तथ्य स्विकार्न बाध्य पार्छ । 

 

बलात्कार र पीडितबारे भ्रम


बलात्कारसम्बन्धी वेलावेला सार्वजनिक हुने अध्ययनमा अधिकतम बलात्कार नजिकका आफन्त, अन्तरंगी पार्टनर र आफूले चिनेजानेका व्यक्तिबाट नै हुने गर्छ । तर, हामीलाई देखाइने यस्ता गीत, चलचित्रमा भने बलात्कारी कुनै भिलेन पात्र नै हुन्छ । जसको निश्चित आकार, रङ, छवि र व्यवहार हुने गर्छ । सौन्दर्यशास्त्रको परिभाषाले राम्रो भनेको र घरमा आफ्ना आमा, दिदी, बहिनी, श्रीमतीमाथि राम्रो व्यवहार गर्नेले पनि बलात्कार गर्छ, तर त्यो पर्दामा विरलै मात्र देख्न पाइन्छ । गीतमा पनि यस्तै पात्र सिर्जना गरिएको छ, जुन अनौठो नमान्दा हुन्छ । 


त्यस्तै, बलात्कार निश्चित उमेर र शारीरिक बनावट भएका महिलाहरूमाथि मात्र घट्ने अपराध होइन । यो त हरेक उमेर (बालबच्चा, युवती, वृद्धा) शारीरिक बनावट (मोटो पातलो, होचो, अग्लो), अपांगता भएका व्यक्ति, पारलिंगी महिला इत्यादिमाथि हुने अपराध हो । तर, मैनबत्ती लिएर सेतो पोसाकमा लहरै उभिएका बलात्कृतजस्ता लाग्ने महिला बिम्बहरूलाई हेर्दा त्यस्तो लाग्दैन । उनीहरूलाई यसरी सिर्जना गरिएको छ, मानौँ बलात्कार केवल महिला, त्यो पनि निश्चित उमेर र शारीरिक समूहमाथि मात्र हुन्छ । छोरी पात्रलाई मात्र हेर्ने हो भने त अझ संस्कारी र फूलजस्ती पालिएकी छोरीहरू बढी पीडित हुन्छन् । अनि संस्कारको दायराभित्र नबस्नेहरूमाथि बलात्कार हुन सक्दैन वा भए पनि उनीहरू त्यसका लायक भएर हुन् भन्ने जस्तो सन्देश जान सक्छ । कम्तीमा म र मेरा साथीहरूले त यही देख्यौँ । 

 

बलात्कारको दृृश्य 


यहाँनिर सुरुमै एउटा ‘डिस्क्लेमर’ दिन चाहन्छु । मलाई भिडियोमा देखाइएको बलात्कारको दृश्यबारे लेख्न एकदम असहज भइरहेको छ । तैपनि, यो नलेखी हुन्न भनेर लेखिरहेकी छु । बलात्कारपीडितको अवस्था देखाउन जुन नीलो डाम, घाउ वा रगत देखाइएको छ, त्यसले बलात्कारको पीडालाई कति न्यायपूर्ण तरिकाले देखाउन सक्यो भन्ने सवाल मनमा आइरहेको छ । कतै उल्टै त्यसले वास्तविक पीडितलाई गिज्याइरहेको महसुस त हुने होइन ? वा त्यसले अझै पीडालाई ट्रिगर पो ग-यो कि भन्ने प्रश्न पनि मनमा आइरह्यो । 

‘कुनै पनि शक्तिको आडमा अपराध नगरौँ, बलात्कार नगरौँ ।’ यो लाइन सर्जक आफैँलाई चाहिँ काफी लागेको होला, तर बलात्कार संस्कृति (रेप कल्चर) र प्रवृत्तिका विरुद्ध भने यो भनाइ काफी छैन ।

 

संसारभरि प्रदर्शन हुने विभिन्न क्षेत्र र भाषाका फिल्ममा देखाइने यौनजन्य हिंसा र बलात्कारको दृश्यबारे धेरै बहस भएका छन् । ती चलचित्रमा बलात्कारको दृश्यलाई धेरै काल्पनिक र अतिरञ्जित गरी देखाउने चलन छ । साउथ एसिया क्षेत्रका फिल्ममा बलात्कारपछि उसको इज्जत गयो भन्ने कथावाचन हुँदै जान्छ । कि त उसको इज्जत जोगाउन उसको दाइ वा प्रेमी नै पेस हुने कथा लेखिन्छ । अनि तिनै हिरोहरूको हिरोइज्ममा फिल्म अगाडि बढ्छ । त्यसो हुँदा बलात्कार प्रयास गर्ने अपराधीलाई कुनै कानुनको कठघरामा उभिन पर्दैन । हिरोले नै अपराधमा कारबाही गरिसक्यो र पीडितले न्याय पाइसक्यो जसरी कथालाई थामथुम पारिएका धेरै फिल्म हामीले हेरेकै छौँ । 


यो गीतमा भने कुनै हिरोलाई खडा गरिएको छैन । त्यसैले होला पीडितले न्याय पाउनका लागि मर्नैपर्छ । अनि मात्र प्रेतात्मा बनेर आई बदला लिन सम्भव भएको छ । यो त देख्दैमा काल्पनिक र हास्यास्पद कुरा लाग्छ । गीतकार आफैँले पनि भूतप्रेतमा विश्वास त लाग्दैन, तर कुनै न कुनै रूपमा बलात्कारीले सजाय पाउँछ भन्ने विश्वासचाहिँ लाग्छ भनेका छन् । त्यो कुनै रूप भनेको सायद कर्म वा भोगको रूपमा आउन सक्ने कुरा पनि होला । तर, यस्ता मनगढन्ते कुरा गरेर बलात्कार संस्कृतिलाई परास्त गर्न सकिँदैन । बरु यसले अझ बल दिन्छ । 


अर्काेतर्फ, आफ्नो शरीरमाथि भएको भौतिक आक्रमण र बलात्कार वा बलात्कार प्रयासले कति मानसिक यातना दिन्छ भन्ने कुरा नगन्य मात्रामा पर्दामा देखाइन्छ । जसको न्यायोचित प्रस्तुति त कुनै फिल्मी दृश्यले गर्न पनि सक्दैन । यो गीतबाट त्यो अपेक्षा राख्न पनि सकिँदैन । 


अधिकतम बलात्कारका दृश्य पर्दामा देखाउँदा बलात्कारीमा नै बढी फोकस गरिएको हुन्छ । उसले कस्तो हाउभाउ गर्छ, कतिसम्म जिब्रो नचाउँछ, कसरी बेल्ट र प्यान्टको बटन खोल्छ, कसरी पीडितलाई काबुमा लिन्छ ? यता पीडितको शरीरलाई वस्तुजसरी पेस गर्ने त राष्ट्रिय अन्तर्राष्ट्रिय पर्दाहरूको स्कुलिङ नै हो । 


समग्रमा ‘बदला बरिलै’ गीतले बलात्कारलाई ‘ग्ल्यामराइज्ड’ गरेको छ । यस्तै थोत्रा अनि घिनलाग्दा स्टन्टहरूकै पुनरावृत्ति नै गीतमा भएको बलात्कारको दृश्यमा प्रशस्त देखिन्छ । त्यसैले गीतले दिन खोजेको सन्देशभन्दा भिडियो प्रत्युत्पादक बन्न गएको छ । राम्रो सन्देश दिने मनसायले बनाए पनि सवाल यहाँ मनसायको होइन, गलत प्रस्तुतिको हो । 


त्यसो भए प्रश्न आउँछ, बलात्कारका दृश्यलाई कसरी देखाउने त ? उत्तर सहज छ । बलात्कारलाई ‘ग्ल्यामराइज्ड’ तरिकाले नदेखाउने । वास्तविक पीडितलाई ट्रिगर हुन सक्ने गरी नदेखाउने । क्लिसेजस्तो लाग्ने दृश्य होइन, धेरै सोचविचार र ब्याकग्राउन्ड रिसर्च गरेर मात्र काम गर्ने । यस्ता अतिरञ्जित र पीडितहरूको भोगाइलाई न्याय दिन नसक्ने लामा दृश्यहरूभन्दा बरु बलात्कारको दृश्य नै नदेखाउने । 


गीतको शीर्षकमा लेखेजस्तो बलात्कारपीडितलाई बदला होइन, बरु न्याय चाहिएको हो । त्योभन्दा पनि बलात्कार र बलात्कारको सम्भावनारहित समाजमा बाँच्ने हक चाहिएको हो । यो गीत र भिडियोको मर्मले यी सवाललाई उठाएको छैन, बरु अरू नै मनगढन्ते कुरामा बहकिएर १५ मिनेट समय खर्च गरेको छ ।