• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
जीवन खत्री
२०७७ श्रावण ३१ शनिबार ०७:५९:००
साहित्य

पाइतालाको कुरा

२०७७ श्रावण ३१ शनिबार ०७:५९:००
जीवन खत्री

 

तिमी खाली टोपी-टोपी भनिरहन्छौ
लाज ढाक्नलाई त 
सुरुवालको इँजार बलियो हुनुपर्छ नि,
कि हैन ?
कसले भनेको छ र ?
शिरको टोपी काटेर मोजा बनाउनुपर्छ
पुछ्नुपर्छ, गोडामा लागेको हिलो
हरेकपल्ट गाउँमा 
महिनावारी हुँदा आमाहरू, भाउजूहरू र दिदीहरू
जसरी सिरकको पुरानो खोल च्यात्नुहुन्छ
उसैगरी च्यात्नुपर्छ टोपी, कसले भनेको छ र ?
यी हेर,
जताततै दन्किरहेछ समानताका लागि आगो
लागिरहेछ चारैतिर डढेलो
र जलिरहेछन्, स्वयम् आगोहरू पनि 

 

के कहिल्यै सोचेका छौ ?
आगोमा गुन्यू जल्दा, कसरी बाँकी रहला पछ्यौरी ?
आगोमा सुरुवाल जल्दा, कसरी बाँकी रहला टोपी ?

 

टोपीको स्थान पाउ हो भनेर
हामीले कहिल्यै भनेनौँ 
तर, 
सुरुवाल च्यातिएर लाजसमेत लजाइरहँदा
टोपी-टोपी भनिरहनु यो कुन काइदा हो ?

 

भन्नुहोस्, जान्नेहरूले भन्नुहोस्
कट्टु लगाएर तल कट्टीमा, 
माथि शरीरमा कोट सुहाउँछ, सुहाउन्न ?
हुरीले रूखबाट पात टिपैझैँ
टोपीकै लागि शिर चुँडाउने अठोट सुहाउँछ, सुहाउन्न ?

 

खासमा
अँध्यारोको पर्दा च्यातेर समय, बिहान भैसक्यो
र गीत नबुझ्नेहरूले समेत गाइसके परिवर्तनको गीत
यस्तोमा,
पाइतालाहरूलाई चप्पलसमेत नदिएर
शिरले टोपी-टोपी भनिरहनु न्यायसंगत हो र ?

 

वास्तवमा
शिरमा टोपी त्यतिवेला मात्र सुहाउँदो हुन्छ,
जतिवेला चोट लागेर रगत बग्दा गोडामा
टोपी बन्न सक्नेछ मलमपट्टी
जतिवेला, बाध्यताको लाज लजाउँदा अभावमा
टोपी बन्न सक्नेछ सुरुवाल या धोती

 

वा कम्तीमा
जतिवेला शरीरलाई हुनेछ कमिज 
बाँधिनेछ टिमिक्क, कम्मरमा सुरुवालको इँँजार
र दुवै गोडलाई हुनेछ पाउपोस
तब मात्र सुहाउनेछ शिरमा टोपी

 

महाशय,
यसपटकलाई मेरो कुरा यत्ति हो ।