• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
कुन्ता शर्मा 
२०७७ श्रावण ३१ शनिबार ०८:१०:००
सम्झना

दरभित्रको डर

२०७७ श्रावण ३१ शनिबार ०८:१०:००
कुन्ता शर्मा 


आइपुग्यो तिज लौ ल्याऊ चिज खाने र लाउने 
नभए धन काढ्न ऋण मरेर के लाने 
चाहिन्छ दर घिउ चिनी तर रेशमी फरिया 
यसैले पा
र्‍यो हामी सारो कैयाको करिया ।

 

प्रस्तुत कविता मैले किशोरी हुनै लाग्दा सुनेकी थिएँ । यसका लेखक भाषाशास्त्री महानन्द सापकोटाले मलाई सुनाउनुभएको थियो । आयुर्वेदका विज्ञ मेरा बुबासँग कवि तथा समाजसुधारक सापकोटाको निकै हिमचिम थियो । त्यसवेला हामी भव्यताका साथ तिज पर्व मनाउने गथ्र्यौं । यस्ता तिजविरोधी कविता सुने पनि यसले हामीलाई खासै फरक पारेको थिएन । 


वंशी साहुको दोकानबाट आमा र मेरा लागि सुन्दर कपडाहरू ल्याइन्थे । हामी शाकाहारी भएको हुनाले ढकने, मालपुवा, पुरी, हलुवा, आलुदम, काँक्राको खल्पी आदि पकवानहरू खान्थ्यौँ– आधारातसम्म दरको रूपमा । कतिपय घरमा बिहान उज्यालो नहुन्जेलसम्म दर खाने चलन भए पनि हाम्री आमाचाहिँ राति १२ बजेभन्दा अघि नै दर खाइसक्नुपर्छ भन्नुहुन्थ्यो । भोलिपल्ट बिहानै नुहाइधुवाइ गरेर नयाँ कपडा लगाई उपवास बस्नुहुन्थ्यो । 


म किशोरी भएपछि आमा उपदेश दिँदै भन्नुहुन्थ्यो, ‘हेर् नानी ! पानी नखाई व्रत बसे महादेवजस्तो पति पाइन्छ ।’ ‘छ्या आमा, मलाई त महादेव मनपर्दैन !’ म भन्थेँ । आमा भन्नुहुन्थ्यो, ‘धत्, कस्ती मूर्ख केटी ! भगवान्लाई पनि कहीँ त्यसो भन्छन् ? माता पार्वतीले एक सय आठपल्ट जन्मिएपछि, त्यो पनि ठूलै तपस्या गरेर मात्रै भगवान् महादेवलाई पतिको रूपमा पाउनुभएको थियो ।’ ‘होस् आमा ! सर्पको माला लगाउने त्यस्तो नांगो मान्छेसँग त म मरिगए पनि बिहे गर्दिनँ,’ म भन्थेँ ।


आमाको करकापले व्रत बसे पनि अँध्यारो कोठामा लुकेर घरिघरी पेटभरि पानी खान्थेँ । आमा दिनभरि पानीसमेत नखाई बस्नुहुन्थ्यो र बेलुका घाम अस्ताएपछि बुबाको खुट्टा धोएको पानी टाउकोमा अचाउँदै खानुहुन्थ्यो । त्यस बेलुका बुबाले पकाएर दिएको पाटे गिलासभरिको बाक्लो चिया टन्न खाएर सुत्नुहुन्थ्यो । अर्को दिन बिहान नुहाइधुवाइ गरेर मात्र खाना खानुहुन्थ्यो । तर, त्यसवेला ती सबै स्वाभाविक लाग्थे । किनकि हरेक वर्ष यस्ता चाड धुमधामले मनाइन्थ्यो । 


त्यसो त बुबा उदार विचारको मान्छे हुनुहुन्थ्यो । स्कुल–कलेजको अनुहारसमेत नदेखेका मेरा बुबा आयुर्वेदका ज्ञाता हुनुहुन्थ्यो । तीस वर्षसम्म भारतमा हराउनुभएको उहाँको कतिपय व्यवहार परम्परामुक्त थिए । तर, आमाले बुबाको खुट्टा धोएर पानी खाएको देख्दा म छक्क पर्थें, दिगमिग पनि लाग्थ्यो । खुट्टा फोहोर हुन्छ । फोहोर खुट्टा पखालेको पानी टाउकोमा अचाउनु, अझ त्यसलाई सुरुप्प पारेर निल्नु कति कष्टकर कुरा हो । अहिले पनि परम्परागत, चेतनाशून्य परिवारमा यो चलन छँदै छ । स्वास्नीलाई फोहोर पानी खुवाउने पितृसत्ताका वाहकहरू मख्ख परिरहेकै होलान् ।


जति नै क्रान्तिकारी गफ हाँके पनि दिमागमा लेउजसरी टाँस्सिएको विचार र परम्परा फाल्न गाह्रै हुँदो रहेछ । मैले बिहे गरेपछि पनि आमाको आदेश सम्झिँदै तिजको व्रत बसिरहेँ । तर, आमाझैँ कट्टर भएर पानीसमेत नखाई होइन । मन्दिरमा गएर पूजाआजा गरेर होइन । नुहाइधुवाइ गरी अनेकौँपटक चिया खाएर साँझतिर टन्न फलपूmल खाई परिवर्तित रूपले व्रत बस्थेँ । 


सोच्थेँ– लोग्ने ढोडकै लौरोजस्तो भए पनि नभाँचियोस् । जसरी–तसरी ९ वर्षसम्म चलेको बिहेरुपी गाडी एकतर्फी रूपमा घचेट्तै जाँदा सायद ९ वर्ष नै व्रत बसेँ, आधुनिक रूपमा । तर, राताम्मे भएर शिवलिंग दर्शन गर्नचाहिँ गइनँ । जसमनी सम्प्रदायबाट प्रभावित मेरो बुबाले सिकाउनुभएको थियो– मूर्तिपूजा नगर्नू । हो, बुबा मूर्तिपूजाको कट्टरविरोधी हुनुहुन्थ्यो र भन्नुहुन्थ्यो, ‘ईश्वर निरञ्जन निराकार छन् ।’ 


‘संकल्प’ गीति अभियानमा नारीमुक्तिसम्बन्धी चर्का गीत गाइन्थे । तिजबारे एक सुन्दर गीत थियो– 


तिजका वेला सबै जान्छन् माइत 
आफ्नो माइत डाँडापारि छैन साइत 
यो रमाइलो वेला जानुप
र्‍यो मेलामा 
मै छोरीको आँसुु खस्यो दैला ठेलामा 

 

गीतले भन्छ– तिज श्रमिक महिलाको चाड होइन । तिज अभिजात वर्गका महिलाले प्रदर्शन गर्ने महँगा वस्त्र र आभूषणको प्रतिस्पर्धात्मक पर्व रहेछ । हरेक पर्वमा नयाँ–नयाँ गहना र महँगा वस्त्र किन्न सक्ने महिलाको पर्व रहेछ । सोच्छु, आर्थिक रूपले अक्षम महिलाहरू भित्रभित्रै कति निराश र कुण्ठित हुँदा हुन् । आजभोलि त सम्पन्न आर्थिक स्थिति भएका महिलाहरू आलोपालो गरेर, कुक राखेर महिना दिनसम्म दर खान दौडिरहेका हुन्छन् । यसलाई चाड भन्ने कि विकृति ! 


म महिला जागरणको क्यासेट घन्काएर हिँड्थेँ, कुनैवेला । क्यासेटले गाउँथ्यो– 


अब आउने तिजमा घरघर गएर 
मैजस्ता दुःख पाका जम्मा भएर 
लड्न परे लडौँला मर्न परे मरौँला
मैदान उत्रिएरै कुरा गरौँला

 

त्यसरी क्यासेट घन्काउँदैमा परिवर्तन हुने होइन रहेछ । जागरण–क्यासेट घन्काएर हिँड्ने म र मजस्ता अनेकौँ महिला पतिबाट सधैँ प्रताडित छन् र अझै भइरहनेछन् । तर, नेताहरूले भनिरहेकै छन्, ‘वर्गीय मुक्ति नभई महिला मुक्ति सम्भव छैन । पहिले वर्गहीन समाजको निर्माण गरौँ, त्यसपछि मात्र महिला मुक्ति हुन्छ ।’ अहिले यसै पनि वर्गीय मुक्ति ‘आकाशको फल आँखा तरी मर्’ भएको छ । वर्गविहीन समाज निर्माण गर्न हिँडेका लगभग सर्वहारा वर्गमा पर्ने नेताहरू अहिले अभिजात वर्गमा पर्न थालेका छन् । ०४६ साल अगाडि कार्यकर्ताको भरमा बल्लबल्ल स्विटर तथा अन्य कपडा फेर्ने नेताहरू अहिले राजकीय ठाँटमा छन् र उनीहरूका पत्नीहरूको लगभग आधा करोडका हारको चर्चा पनि सुनिएकै हो । 


केही ठूला नेता–पत्नीहरू घरमै मन्दिर राखेर पूजापाठ गर्छन् भन्ने गाइँगुइँ सुनिन्छ । करोडौँको गाडी चढेर ज्योतिषीकहाँ धाई चिना हेराउँदै ग्रहशान्ति गर्ने वामनेताहरू पनि धेरै छन् । आजकल धर्मगुरुहरू पनि बाठा भएका छन् । महिलाको व्रतमा अनास्था होला कि भन्ने सोचले तिजको व्रत पतिहरूका लागि मात्र होइन, छोराहरूको स्वास्थ्य र दीर्घायुका लागि पनि हो भनेर नयाँ आतंक खडा गर्दै छन्, उनीहरू । 

०००

०४० सालको तिज मेरा लागि सबैभन्दा कठिन र अविस्मरणीय रह्यो । ठीक तिजकै वेला पार्टीको अदालत बस्यो । त्यत्रा न्यायकर्तामा एकजना पनि महिला थिएनन्, जसलाई महिला संवेदना र समस्याबारे थाहा हुन्छ । यसै पनि लोग्नेले स्वास्नीलाई जतिसुकै प्रताडित गरेर हदैसम्मको दानवीय व्यवहार गरे पनि आममान्छे मात्र होइन, क्रान्ति र परिवर्तनको ढोल पिट्नेहरू, आफूलाई बौद्धिक ठान्नेहरू पनि यसलाई लोग्नेस्वास्नीको समस्या वा पारिवारिक समस्या भनेर पन्छिने गर्छन्, जसको कारणले क्रुर पत्नीपीडक पुरुषले उन्मुक्ति पाउँदै आइरहेका छन् । मञ्जुलले मलाई लगाएको आरोप र त्यो ‘अदालत’को निर्णयमाथि यसअघि नै मैले लेखिसकेको हुनाले म त्यतापट्टि लाग्दिनँ । बरु तिजमै केन्द्रित होऔँ । 


तिज श्रमिक महिलाको चाड होइन । तिज अभिजात वर्गका महिलाले प्रदर्शन गर्ने महँगा वस्त्र र आभूषणको प्रतिस्पर्धात्मक पर्व रहेछ । हरेक पर्वमा नयाँ–नयाँ गहना र महँगा वस्त्र किन्न सक्ने महिलाको पर्व रहेछ । सोच्छु, आर्थिक रूपले अक्षम महिलाहरू भित्रभित्रै कति निराश र कुण्ठित हुँदा हुन् । 

 

पार्टीको अदालतको निर्णयबाट मन निराश र लाचार भएको थियो । म थकित शरीर लिएर धरान फर्कने तरखरमा थिएँ । चरम गरिबी छँदै थियो, त्यसमाथि थेगिनसक्नुको तनाव पनि थपियो । पार्टीका तथाकथित न्यायाधीशहरूबाट गजबको ‘न्याय’ पाएको भोलिपल्ट थियो– तिजको दर खाने दिन ।


सहोदर जेठाजुको डेरा त्यतिखेर क्षेत्रपाटीनजिक भुरुंगखेल भन्ने ठाउँमा थियो । धरापमा परेको मान्छेलाई लहराको पनि सहारा भनेभैmँ सहानुभूतिको ठूलै आशा राखेर कान्छो छोरोसहित म उनीहरूको डेरामा गएँ । स्वादिष्ट पकवान बनाउन माहिर ‘दाजुपत्नी’ दर पकाउँदै थिइन् । भान्सामा विविध पकवान तयार हँुदै थिए । 


‘आज बस न यतै, सँगै बसेर तिज मनाऔँ’ भनेर उनीहरूले मलाई आडभरोसा देलान् भन्ने ठूलै आशा बोकेर पुगेकी थिएँ । तर, उनीहरूले कुनै प्रकारको सहानुभूति व्यक्त गरेनन् । उनीहरूको चिसो व्यवहार देखेर म चुपचाप त्यहाँबाट हिँडेँ । सरासर सुन्धारा पुगेँ र धरान हिँड्न लागेको गाडीको टिकट लिएँ । मन घोर निराशाले घेरेको मात्र होइन, भक्कानिएको पनि थियो । आफूभित्र चलेको भयानक चक्रवातको छनकसमेत अनुहारमा नपरोस् भन्ने प्रयासमा थिएँ । डाँको छाडेर रुन मन लागिरहेको थियो । तर, विवश थिएँ । कस्तो विडम्बना ! छातिभरि ज्वालामुखी बोकेको भए पनि ‘उफ’सम्म गर्न नपाइने । धन्य हो पितृसत्ता ! 


बाढीग्रस्त त्रिशूलीको किनारैकिनार बस गुडिरहेको थियो । आकाशमा बादल डम्म लागेको यियो । त्यहाँ ताराहरू छन् जस्तो पनि लाग्दैनथ्यो । ०३९ साल चैत अन्तिमदेखिका घटना एकएक गरी मेरो आँखाअघि सिनेमाको रिलजस्तो भएर फन्को मारिरहेका थिए । किन होला त्यो रात मलाई त्रिशूलीमा गाडी खस्ला कि भनेर अलिकति पनि डर लागेन ! कतिखेर त्रिशूली सकियोे र मुग्लिन आइपुग्यो, पत्तै पाइनँ । अतीतका अनेकौँ घटना सिलसिलेवार भएर आँखाअगाडि नाचिरहेका थिए । बसको एकतमासको आवाजसँग मेरो अतीत एकाकार भएको थियो । त्यो रात मेरो आँखा झपक्क पनि भएन । पितृसत्ता कस्तो चिज रहेछ ! पितृसत्ताले निम्त्याएको तनावले किचेर त्यसपछिका मेरा अनेकौँ रात उस्तै लामा, कष्टकर र निन्द्राविहीन भए । 


बाटोभरिको बाढी–पैह्रो छिचोल्दै बिहान ढिलो गरी बसले धरान पु¥यायो । घर पुगेर नित्यकर्मपछि एक गिलास बाक्लो चिया बनाएर खाएँ । त्यही बिहानदेखि तिजको तथाकथित व्रत भंग भयो । आमा र बुहारीहरू उपवासको तयारीमा थिए । काठमाडौंका घटना सुनाएपछि आमाले दुःखी भएर सोध्नुभयो, ‘तैँले दर कहाँ खाइस् त ?’ मैले भनेँ, ‘राति नारायणघाटको होटेलमा पेटभरि खाएँ । अब घरमा मज्जासँग खान्छु ।’


मेरो कुरा सुनेर आमा चकित हुनुभयो । मभित्र दन्किरहेको आगो सायद आमाले महसुस गर्नुभएन । मेरो मनभित्रको भयावह तनावले मलाई क्रुद्ध नदीजस्तो जुनसुकै अवरोध पनि भत्काउन सक्ने आक्रोश र शक्ति प्रदान गरिरहेको थियो । सामन्ती सोचको ओसिलो र कालो पहाडले त मलाई पनि वर्षाैं सम्म बेस्सरी थिचेको रहेछ । नेपाल र भारतका केही नगण्य भागहरूमा मात्र कट्टरतापूर्वक बसिने यो व्रत वामपन्थी आन्दोलनमा लागेकी मजस्ती महिलाले पनि पूर्ण रूपमा बहिष्कार गर्न किन सकिनँ ? धिक्कार होस् मेरो क्रन्तिकारितालाई ! पुस्तौँदेखि चलिआएको परम्पराबाट मुक्त हुन नसकेर नै होला परिवर्तित रूपमा नै भए पनि व्रत त बसेँ नै । झपक्क निदाउन नसकेको त्यो रातको बसयात्रामा मेरो मनमा धेरै ज्वारहरू उठे । अविवेकी नेताहरू, सिंगो पार्टी, करुणाहीन समाज र समग्र पितृसत्ताप्रति मेरो मनमा तीव्र आक्रोश र ग्लानि उत्पन्न भइरहेको थियो । बाहिर बहुदलको बम भनिने अनि घरभित्र विनाअपराध कुटाइ–पिटाइ, जगल्ट्याइ, गालीगलोज, अपमान, हेपाइ आदि उत्पीडन पराकाष्ठासम्म सहने लाचार कुन्ता शर्माको त्यही रात मृत्यु भयो ।


भोक र तनावले शरीर फतक्कै गलेको थियो । आमाहरू तिजको व्रत बसेको दिन मैले दुईवटा अन्डाको अमलेट बनाएँ र केटाकेटीसँग बसेर कपाकप दुई थाल भात खाएँ । अहो ! मलाई चरम आनन्दको अनुभूति भइरहेको थियो । भर्खरै काठमाडौंमा भएको घटनापछि मैले अब श्रीमान्को नाममा व्रत बस्नुको कुनै औचित्य थिएन । नेपालमै पनि विविध जनजातिहरू, क्रिस्चियन, मुस्लिम र बुद्धमार्गी महिलाहरू यो व्रत बस्दैनन् । उनीहरूले पानी खाँदा पतिको रगत नखाइने तर हिन्दू धर्मावलम्बीले पानी खाँदा पतिको रगत खाइने, यो पनि विचित्रको कुरा होइन र ? 


म नितान्त शाकाहारी परिवारको भए पनि बिहेपछि मन नलागी–नलागी मासु खान सुरु गरेकी थिएँ । पहिलो चोक्टा मासु निल्न मलाई आधा घन्टा लागेको थियो । पतिलाई खुसी पार्न नै मैले मासु कष्टपूर्वक खाएँ । जसको करले खाएँ, ऊ हिँडेको केही वर्षपछि मासु खान छाडेँ र अहिलसम्म पनि खान्नँ । माछामासु खानु जीवहत्या मात्र नभएर स्वास्थ्यका लागि पनि राम्रो होइन भन्ने प्रमाणित पनि भइसकेको छ । रह्यो कुरा व्रतको । हप्ताको एक दिन वेला–वेलामा पानी र फलफूल आदिको रस खाँदै उपवास राखियो भने यो स्वास्थ्यका लागि लाभदायक हुन्छ । यदि यसको र उसको आयु बढाउने निराधार परम्पराको नाममा लामो समयसम्म पेट खाली राखियो भने पित्तको थैली र किड्नीमा स्टोन भने पक्कै पनि बन्छ । 


तिजमाथि अरूको आस्थाप्रति मेरो आपत्ति होइन । उपवास बस्नोस्, तर ज्यान फालेर होइन । श्रीमान्–श्रीमतीले एकआपसमा सहयोग गरेर, समस्यामा सहभागी बनेर, घरमा प्रेममय वातावरण तयार गर्न सकियो भने सबैभन्दा राम्रो दाम्पत्य सम्बन्ध हुन्छ । दुवैजनाको आयु बढ्छ । तर, परम्परावादी सोचले ग्रसित पितृसत्ताका अनुयायीहरूलाई मेरो यस अभिव्यक्तिले पक्कै घोच्ला । धैर्यतासाथ सुन्नुहोस्, ०४० सालपछिका केही वर्षका तिजमा मैले मेरा केही पतिपीडित साथीहरूलाई बोलाएर झोल हालेको खसीको मासुभात टन्न खुवाएँ, मैले पनि खाएँ । यसले मलाई परित्याग गरेर हिँड्ने मञ्जुलको न एउटा राैँ झर्‍यो, न मेरा सहयोगी महिलाहरूको मतुवा पतिलाई कुनै ठागेले छोयो । मन आस्वस्त थियो । अब यो कुहेको सोचाइलाई सधैँका लागि लुतोजस्तै प्mयाँक्नुपर्छ भन्ने प्रण गरेँ । 


त्यही साँझ धरानको छाताचोकस्थित माइतीघर ‘मनोहर कुटी’ को बरन्डामा बसेर शिवमन्दिरमा पूजा–अर्चना गरी निस्किएका राताम्मे महिलाको लामलाई निकैबेरसम्म हेरिरहन थालेँ । मन सहज थियो । मेरो स्मृतिमा एउटा गीत तरंगित भयो–

‘आकाशको तिम्रो चन्द्र 
कुल्चिसक्यो मानिसले
तिम्रै कुनै सन्तानले 
तिमीजस्ता दिदीबैनी 
रकेटमा उडिसके 
आफ्नो शक्ति चिनिसके 
तिमी भने मझेरीमा 
छुनमुनाउँछौ दंग परी 
जीवनभरि कैदी बनेर 
आमा दिदीबहिनी हो 
कति बस्छौ दासी भै 
सुखको सधैँ प्यासी बनेर । 

धरान–१३, अमरपथ