• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रेयज सुवेदी 
२०७७ भदौ ६ शनिबार ०८:१६:००
रिपाेर्ट

कर्पोरेट कुकर : जहाँ तलबभन्दा बढी तनाव थापिन्छ

२०७७ भदौ ६ शनिबार ०८:१६:००
श्रेयज सुवेदी 

 

अँध्यारोमा डोरी पनि सर्पजस्तै लाग्छ । देखिएका सबै कुरा सत्य हुँदैनन् । कहिलेकाहीँ लाग्छ, यो आकाश पनि भ्रम हो । प्रायः सुन्दरताको नेपथ्य कुरूप हुन्छ । कर्पोरेट संसार त्यस्तै एउटा सुन्दरता हो । चिल्लो कागतीभित्रको अमिलो यथार्थ । चम्किलो आकर्षणभित्रको गहिरो अन्धकार । सपना निराशामा परिणत हुने परिणाममुखी प्लेटफर्म, जहाँ तलबभन्दा बढी तनाव थापिन्छ । यो भोकले डोर्‍याएको रोग लाग्ने ठाउँ हो । अफिस अस्पताल हो, जहाँ रोगीहरू काम गर्छन्, उपचार हैन । 


बाउ हुलाकमा खरदार । खुट्टा नदेखिने गरी बढेको भुँडीको दोष सधैँ जागिरलाई जान्थ्यो । बाउको सधैँको गुनासो र आर्थिक स्थिति न्युट्रल भएकाले मलाई सरकारी जागिरमा कहिल्यै आकर्षण भएन । गल्ती गरेछु..., काठमाडौंतिरका सचिवहरूको घर घुम्न पाएको भए म प्राइभेट सेक्टर कहिल्यै पस्ने थिइनँ । आइरन धसेको लुगामा, ब्राउन कलरको साइड ब्याग बोकेर घरबाट अफिसका लागि निस्किनु मेरो सधैँको सपना थियो ।

 

ढड्डामा कलम कुदाएको बा देखेर, ल्यापटपमा औँला कुदाउने रहर पलायो । पान र पुकार थुकिएको कार्यालय देखेर, छेउमा सिसा र तल मार्बल टल्किने अफिसको चाहना भयो । र, ब्याचलर सक्नेबित्तिकै पाँचौँपल्टको इन्टरभ्युपछि छानिएँ, एउटा ट्रेडिङ कम्पनीका लागि । लाग्यो...., जीवनको ट्रेनले लिक भेट्यो । नेपालका ट्रेकिङ रुटहरू सर्लक्क खाइदिने हो । वर्षदिनभित्र आइफोन, केही वर्षपछि एउटा साधन जोड्ने हो । कलेज लाइफका सबै सपना पूरा गरिनेछ । तर, मलाई के थाहा, सपनाको ब्राउन खाली ब्यागभित्र आज आएर फ्रस्टेसन भरिनेछ । 


महिनाको अन्तिम शुक्रबार, किस्ता तिर्ने मिति पुग्छ । भाइ पढाउन लिइएको ऋणको जिम्मा मेरो हो । तर, जागिर गरेको पाँच वर्ष पुगिसक्दा पनि बिचरो किस्ता सापटीबाटै तिरिन्छ । ‘सर्भर डाउन छ, आज तलब आउँदैन’ भन्न बडा सजिलो हुन्छ । एक मिनेट ढिला हुँदा स्पष्टीकरण माग्ने अफिससँग, तलब ढिला हुँदा म प्रश्न गर्न पनि सक्दिनँ । एड्भान्स माग्दा घरको लालपुर्जा मागेजसरी दच्किन्छन् । सिस्टमबाट चलेको अफिसले व्यवहार कहिल्यै बुझ्दैन । महिनाको अन्तिम दश दिन, हरएक जागिरेको रङ फुंग उडेको हुन्छ । ढोकाअगाडि आएर घरबेटीको सांकेतिक खोकीले भाडा कहिले दिने ? भनेर प्रश्न गर्र्छ । उधारो चल्ने किराना पसलेको बोली रुखो भइसकेको हुन्छ । सयको तेल हाल्दा पम्पको भाइले हेपाइको हाँसो हाँस्छ । प्रत्येक महिनाका अन्तिम दिनहरूमा सहरमा गरिबीको ग्राफ उकालो लाग्छ । सफा सर्टभित्रको मैलो सापटी अफिसले देख्दैन । सबै कर्पोरेट हाउसहरू साउनमा आँखा फुटेको गोरु हुन् । यिनलाई हरियो भनेको काम हो । कामबाहेक केही देख्दैनन् । 

तनाव अमेरिकी डलरमा हुन्छ र तलब नेपाली रुपैयाँमा । त्यही तलब पनि अनेक फन्ड, सर्भिस र ट्याक्सको नाममा कहिल्यै हातमा पूरा आउँदैन । एक किलो तलबमा एक पाउ त कटेरै आउँछ । जम्मा तीन पाउ तलबमा एक पसेरी काम कसरी हुन्छ ?

 

बच्चामा म भूत भनेसी खुब डराउँथेँ । आजकाल म टारगेटदेखि खुब डराउँछु । मेरो जीवनमा सबैभन्दा बढी सुनिएको शब्द नै यही हो । अफिसले हरेक महिना टारगेट दिन्छ, अचिभ नहुने गरी । र, अचिभ गराउन एउटा घाँस हाल्छ, जसलाई इन्सेन्टिभ भनिन्छ । आर्थिक प्याकेजहरू हरेक महिना बन्छन् । तर, भावनात्मक प्याकेजले यो दुनियाँमा कुनै अर्थ राख्दैन । भारी बोकाउन पालिएको गधालाई क्षमताको प्रश्न किन गर्नु ? अनि गधालाई भारी होला भनेर मालिकले कसरी भारी बोक्नु ? कसरी, किनको ठाडो प्रश्नमा सटिक लजिक चाहिन्छ । हाम्रो लजिक बालुवामा पानीजस्तै हुन्छ । डिबेटमा जितेर माथि पर्नु र नजाने पनि इंग्लिस बोल्नु, माथिल्लो पदको जब स्पेसिफिकेसनमा लेखिएको हुन्छ, सायद । रिभ्यु मिटिङमा हाकिमहरू एकाएक युके डिग्रीहोल्डर बन्छन् । एउटा काम सकाउन ५० वटा फोनको सामना गर्नुपर्छ ।

 

काममाथि काम थोपर्नु अनिवार्य नियमजस्तै छ । दुर्गा माताजस्तो सबैको ६ वटा हात हुँदैन । डेडलाइन लक्ष्मणरेखाजस्तो हुन्छ । पार भयो भने रावणले क्याबिनमा बोलाएर सातोको अपहरण गर्छ । हाकिमहरू रावण नै हुन् । मुडअनुसारको दशवटा मुखौटा हेर्न पाइन्छ । यस्ता रावणहरू हरेक डिपार्टमेन्टमा भेटिन्छ, र दशवटा जिब्रो पनि । आपैmँले हुन्छ भनेको काम साँझ पर्दा ‘मैले कहिले भनेँ ?’ वाला प्रश्नवाचक हेराइ बन्छ । प्राइभेट फर्मको एउटै मान्यता छ, प्रेसरमा काम गरे रिजल्ट निस्किन्छ । त्यसैले सबै फर्म प्रायः वातावरण कम र प्रेसर बढी दिन्छन् । अफिस प्रेसरकुकर हो । सिठ्ठी लाग्नु नै भात पाक्नु हो । र, यो सिठ्ठी लगाउन सबै कर्मचारीको हात धोएर सिठ्ठी बजाइन्छ । प्रविधिका कारण झनै काम गर्न गाह्रो भएको छ । जुनैवेला पनि सिसीटिभीको निगरानी । जुत्ता खोलेर काम गर्दा, झुक्किएर विनारुमाल हाच्छिउँ गर्दा अनहाइजिनिक टपिकमा गाली खाइन्छ । बाथरुममा दुई मिनेट ढिला हुँदा आफूभन्दा पहिले ‘यु आर लेट’ वाला मेल आइसकेको हुन्छ ।

 

फिल्ड भिजिट जाँदा, प्रमाणका लागि भिडियो कल अनिवार्य चाहिन्छ । फोन नउठाउनु पाप र अफ हुनु अपराध हो । काम गर्ने कालु हामी हुन्छौँ, मकै खाने भालु हाकिम हुन्छ । ‘मैले गर्दा भएको’ भन्ने महावाणि उनीहरूको थेगो हो । यस्ता ओजासु (ओभर जान्ने सुन्ने)हरूले गर्दा सामान्य मान्छेको खप्परमा टेन्सनको ओभर डोज हुन्छ । कामजत्तिको दाम भए पनि चित्त बुझाउने बाटो हुन्थ्यो । तनाव अमेरिकी डलरमा हुन्छ र तलब नेपाली रुपैयाँमा । त्यही तलब पनि अनेक फन्ड, सर्भिस र ट्याक्सको नाममा कहिल्यै हातमा पूरा आउँदैन । एक किलो तलबमा एक पाउ त कटेरै आउँछ । जम्मा तीन पाउ तलबमा एक पसेरी काम कसरी हुन्छ ? एक किलो गहुँ पिसेर दुई किलो पिठोको आस कसरी राख्न सकिन्छ ? गाली त यस्तरी गर्छन्, मानौँ खाने मान्छे हजमोला पाचक हो । जे आउँछ मजाले पचाउँछ । बारमा दारु खाएर घरमा छादेजस्तै, घरायसी झगडा, बालबच्चाको कचकच सबै अफिसमै आएर ओकल्छन् । 


हाकिमहरूको काम केही हुँदैन । यी प्राणीहरू गाली गरेरै तलब खान्छन् र यो कुरा मैले मेरो सिनियरलाई भनिरहँदा मेरो जुनियरले मलाई यही भनिरहेका हुन्छन् । म पनि हाकिमजस्तै भइसकेँ । मान्छेले जे सिक्छ, त्यही गर्ने हो । र, अफिसले कलिलै उमेरमा प्रेसरको औषधि खान सिकाइदिन्छ । 


सरकारी बिदा हाम्रो भागमा कहिल्यै पर्दैन । पात्रोमा रातो लागेको दिन मुख कालो बनाउँदै अफिस जानुपर्छ । साथीहरू मस्त घुमिरहँदा, आफू एउटाबाट अर्को क्याबिनमा फाइल घुमाइरहेको हुन्छु । अफिस बसेर मित्रहरू चिल हानेको फोटोमा लाइक हान्दा मनभन्दा बढी औँला पोल्छ । ट्रेक र इन्टरनेसनल टुर त दसैँ–तिहार हापेर मात्र सम्भव हुन्छ । नर्मल दिनमा बिदा माग्नु भनेको मौरीको चाकामा हात हाल्नुबराबर हो । हाकिमको टन्टले मनभरि खिल बस्ने गरी चिल्छ । मागेको बिदाभन्दा लामो त क्लारिफिकेसन माग्छन् । दिएकोभन्दा बढी काम समयमै गरेर, हाकिमको व्यक्तिगत काम सघाएर, भूमिका बाँधेर, आइस्यो गाइस्यो भनेर माहोल बनाएपछि मात्र बिदा मागेको अर्थ लाग्छ । यो प्रक्रियालाई ‘इम्प्रेस पार्नु’ भनिन्छ । अफिसले हकको रूपमा दिएको बिदा लिन पनि राम्रै पापड बेल्नुपर्छ ।

 

यति दुःखपछिको बिदामा पनि दुई–चार काम होमवर्कको रूपमा पाइन्छ । फोन त उठाउनैप¥यो । यो कहाँ छ, त्यो कहाँ छ भनेर अनावश्यक टर्चर दिइन्छ । सबै चिज गर्नै थियो भने बिदामा बस्नुको के अर्थ ! पर्सनल लाइफको अनुहार बिर्सिसकेँ । अफिस जाने समयको ठेगान हुन्छ । फर्की आउने समय सुकुमबासी । आठ घन्टाको जागिरमा १२ घन्टाको खटाइ । चार घन्टा निःशुल्क सेवाको कुनै मूल्यांकन छैन । गर्लफ्रेन्डसँगको भिडियो कलमा मेलको नोटिफिकेसनले निरन्तर ब्याकग्राउन्ड म्युजिक दिइरहन्छ । रुम पनि अफिसजस्तै भइसक्यो । आधा रातमा रिपोर्ट चाहिन्छ । जागिरे जीवनमा यति रिपोर्ट बनाइयो कि सरकारले योजना आयोगको प्रमुख आयुक्तमा आँखा चिम्लेर नियुक्ति दिए पनि पाप लाग्दैन । अब त यस्तो लाग्छ, मेरो जन्म मेरा लागिभन्दा बढी अफिसका लागि भएको हो । 

 

महिनाको अन्तिम दश दिन, हरेक जागिरेको रङ फुंग उडेको हुन्छ । ढोकाअगाडि आएर घरबेटीको सांकेतिक खोकीले भाडा कहिले दिने ? भनेर प्रश्न  गर्छ । उधारो चल्ने किराना पसलेको बोली रुखो भइसकेको हुन्छ ।

 

थाङ्नामा सुतेर मैले त्यति तेल लगाएको छैन होला, जति आसेपासे वर्गले हाकिमलाई लगाउँछन् । प्रमोसनका लागि कामभन्दा बढी चाप्लुसी प्राथमिकतामा पर्छ । कति काम गर्‍यौ भन्दा पनि कति लिटर तेल लगायौ भन्ने कुरा प्रमुख हुन्छ । मुखमा ठिक्क पारेर बोल्नु, पुच्छर बनेर हाकिमको रहलपहल काम धपाइरहनु, नारदको भूमिका निर्वाह गर्नु, हाकिमका घरायसी काममा ‘म छँदैछु नि’ भन्दै सम्पन्न गर्नु उनीहरूका प्रमुख कार्य हुन् । 


कर्पोरेट दुनियाँमा पनि पार्टीका झोले कार्यकर्ताको फोटोकपीहरू पाइन्छन् । र, केही समयपछि यिनै कार्यकर्ता हाकिमको रूपमा क्याबिनमा देखा पर्छन् । त्यहाँसम्म पुग्नका लागि निम्न कार्य अत्यधिक जरुरी छ : अरूको खुट्टा तान्नु, अरूको राम्रो काममा खोट देखाउनु, नराम्रो कामको प्रचारका लागि रेडियो नेपालको भूमिका निभाउनु, गलत सल्लाह दिनु, काम बिगारिदिनु, स–सानो गुट बनाएर खेदो खन्नु, हाकिमको कानमा नेगेटिभिटी भरेर डिपार्टमेन्ट चेन्ज गराउनु र केही सीप लागेन भने व्यक्तिगत जीवनको कुरालाई म्यानेजमेन्टसम्म बास्ना आउने गरी स्प्रे गर्नु । यसरी चाप्लुसीको तेलमा काम गर्ने कर्मचारी नराम्रोसँग चिप्लिन्छ । इमानदारिताको जरा हुन्छ र बेइमानीको खुट्टा । इमानदार मान्छे रूखजस्तै जहाँको त्यहीँ रहन्छ । बेइमान मान्छे हिँड्दै, कुद्दै, लडाउँदै, उफ्रिँदै.... धेरै पर पुग्छ । 


बाउकै जागिर ठीक छ । तनाव बढ्नुभन्दा पेट बढेकै राम्रो । दिक्क लाग्नुभन्दा बोसो लागेकै राम्रो । अफिसको वातावरणले दिमागको पार्टपुर्जा हल्लाएकाले ममा अब ऊर्जा छैन । ‘तेरो उमेरमा उडेको चरा मार्थें’ भन्ने बाउलाई बसेको लामखुट्टे मार्ने जाँगर पनि छैन भनी कसरी भन्नु ? जाँगर चल्नलाई फुर्सद पनि हुनुप-यो । यति दुःख कोरियाको खेतमा गरेको भए, काठमाडौंमा दुइटा जग्गा जोडिसकेको हुन्थेँ । अहिलेसम्म दश धुर व्यस्तता र एक कठ्ठा फ्रस्टेसन मात्र जोड्न सक्या छु । जागिर छाडौँ, प्रमोसनको आस, सेक्टर चेन्ज गरौँ, फेरि जिरोबाट सुरु गर्नुपर्छ । 


चाहिनेभन्दा बढी तनावले तालु बन्जर भइसक्यो । बचेका कपाल सबै आइसियूमा छन् । घर व्यापार गर्न सल्लाह दिन्छ । घरका लागि व्यापार भनेको किराना पसल मात्र हो । जवानी दोधारमै बित्ने भयो । यी दुनियाँ दिवाना टन्टाको भारीभन्दा स्कुल ब्याग नै हलुंगो थियो । जीवन भनेको बिगत सम्झेर हाँस्नु र भविष्य सम्झेर तनाव लिनु नै रै’छ । 


कर्पोरेट सेक्टरका ८० प्रतिशत कर्मचारी आफ्नो कामबाट खुसी छैनन् । ‘अब जागिर छोड्छु’ भन्नु हाम्रो राष्ट्रिय थेगो हो । अफिसको ब्राउजिङ हिस्ट्री हेर्ने हो भने थुप्रै जब साइटहरू खोजेको भेटिन्छन् । अफिसमा कर्मचारी परिवर्तनको रेसियो सोचेभन्दा माथि छ । ३० प्रतिशत कर्मचारी विदेश जाने सोचमा हुन्छन् । 


कर्पोरेट फिल्डमा कर्मचारी किन टिक्दैनन् ? लगानीकर्ताले नाफा मात्रै सोच्छन्, कर्मचारीबारे कसले सोच्ने ? नाफा गराइदिने पनि त कर्मचारी नै हुन् नि । व्यवसाय विस्तारमा लगानी गर्दा तपाईंको व्यापारले आय त पाउला, तर कर्मचारीमा लगानी गर्दा तपाईंको व्यापारले आयु पाउँछ । बोर्ड मिटिङमा ग्रिन टी मात्र खाएर हुँदैन, कहिलेकाहीँ कर्मचारीसँग क्यान्टिनमा बसेर नास्ता पनि खाने गर्नुस् ।

 

ब्यालेन्स सिटको गहिरो अध्ययन गर्न सक्ने तपाईंको खुबीले कर्मचारीको मनोदशा अध्ययन गर्न पनि सिक्नेछ । देशको आर्थिक वातावरणमा चिन्तित हुने तपाईं अफिसको आन्तरिक वातावरणमा चिन्तित कहिले हुने ? ढिला नगर्नुस् है, घरकी मुर्गी दालबराबर गर्दा बाहिरबाट अस्ट्रिच आयात गर्नुपर्ला । अधिकांश प्राइभेट लिमिटेडमा प्रेसर अनलिमिटेड दिइन्छ । तपाईंले भर गरेको एचआरले इन्टरभ्युमा व्यक्तित्व मात्र नाप्छ, तनाव र निराशा नाप्न सक्दैन । सरकारबाट उत्कृष्ट करदाताको प्रमाणपत्र थाप्ने होडबाजीमा कर्मचारीलाई काम गर्न कहिलेसम्म कर लगाउने ?