बिहान एक डोको घाँस काट्यो, घरमा ल्यायो, हतार–हतार खाना खायो, झोला टिप्यो अनि विद्यालयतिर दौड्योे । यही थियो, मेरो दिनचर्या । विद्यालय बिदा भएको दिन अलि टाढाको खरबारीमा घाँस-दाउरा काट्न जान्थेँ । खरबारीभन्दा अलि तल थियो, आरन ।
गाउँगाउँबाट मान्छे हँसिया, खुर्पा, बन्चरो, कुटो, कोदालोमा धार लगाउन, चुहिने भाँडा टाल्न, बिग्रेका भाँडा बनाउन, नयाँ हतियार र भाँडा बनाउन आरनमा आउँथे । पाही, देवलधारा, राङखानी, चिलाउने खर्क, सावलीसमेतबाट मान्छे आरनमा जम्मा हुन्थे । आफ्नो काम नभए पनि हतियारमा धार लगाएको, भाँडा बनाउँदै गरेको हेर्न र अन्य गाउँबाट आरानमा काम लिएर आएकाहरूले गरेका गफ सुन्न रमाइलो लाग्थ्यो । कहिले खलातीबाट हावा दिन सहयोग गर्थें, कहिले भाँडी लिएर जानी-नजानी टुकटुकाउँथेँ । त्यसरी आरनको छेउमा बस्दा समय गएको पत्तै हुँदैनथ्यो । भात खाने वेलासम्म आरनमै हुन्थेँ ।
आरनमा बस्न मन लाग्नुको पनि कारण थियो । आरनमा टुकटुक र ढ्याङढ्याङको आवाज मात्रै होइन, त्यहाँ सिर्जना थियो, नवीनता थियो, मेरै उमेरको दावली साथी कामी माइलो पनि त्यहीँ थियो । समाजले बनाइदिएको पर्खालले हाम्रो उमेरअनुसारका भावना र मानवीय पक्षहरूलाई छेक्न सक्दैनथ्यो । विद्यालयमा पढेका कुरा बिर्सिएँ होला, तर त्यतिवेला आरनमा सिकेका धेरै कुरा अझै ताजा छ । आवश्यक पर्यो भने अझै पनि आरनमा गएर भाँडाको प्वाल टाल्न सक्छु भन्ने विश्वास छ ।
हेर्दाहेर्दै माइलाले हतियारमा धार लगाउन, भाँडा बनाउन सजिलै सिक्यो । हामी स्कुल जानेहरूको पढाइमा भने कुनै रोचकता थिएन, मात्र डर थियो, त्रास थियो, बाध्यता थियो, आरनमा जस्तो रमाइलो स्कुल थिएन ।
आरनमा व्यक्तिअनुसार गफ हुन्थे । कतिले सुनौँ–सुनौँ लाग्ने घटना पनि सुनाउँथे । नढाँटी भन्ने हो भने मेरा लागि विद्यालयभन्दा आरन सिकाइको थलो थियो । हेर्दाहेर्दै माइलाले हतियारमा धार लगाउन, भाँडा बनाउन सजिलै सिक्यो । हामी स्कुल जानेहरूको पढाइमा भने कुनै रोचकता थिएन, मात्र डर थियो, त्रास थियो, बाध्यता थियो, आरनमा जस्तो रमाइलो स्कुल थिएन ।
एक दिन आरनमा बसेर गफ गरिरहँदा माइलालाई पनि स्कुल जाऊँ भन्यौँ । उसको प्रतिप्रश्न थियो, ‘बाहुन, क्षेत्रीका छोरालाई त सरकारले जागिर दिन सकेको छैन । हामी आरनमा काम गर्नेले पढेर के काम ?’
समयले हामीलाई कहाँबाट कहाँ हुत्यायो । हामी बसाइँ सरेर चितवन झर्यौँ । म त्यो आरनमा फेरि पुग्न पाएको छैन । एकपटक माइलो चितवनको हाम्रो घरमा पुगेछ । म घरमा थिइनँ । बाआमालाई सोधेँ । माइलो कहाँ बस्यो ? कहाँ खायो ? आमाले पाहुना सुत्ने कोठामै बसेको र त्यहीँ खाना खायो भन्नुभयो । म मनमनै खुसी पनि भएँ । मेरा ८० वर्ष कटेका बाआमाको सोचमा पनि परिवर्तन आएछ । त्यतिवेला कहाँको बाहुनको घरमा कामी माइलो ढोकाको संघारबाट भित्र छिर्न पाउनु, कल्पना पनि गर्न सकिँदैनथ्यो । अर्को साह्रै खुसी लागेको कुरा सुनेँ, माइलाकी छोरीले काठमाडौंमा बिए पढ्दै रहिछन् । मनमनै सोचेँ, ‘माइलाजस्तै मिहिनेती र सिर्जनशील भइदिए हुन्थ्यो, माइलाकी छोरी ।’ माइलाकी छोरी पनि माइलोजस्तै सर्जक, समाजका लागि कामयावी बन्न सकून्, हाम्रो समाजमा भएका हरेक अन्याय, अत्याचारका विरुद्धमा आवाज उठाउन र समाज परिवर्तनका लागि काम गर्न सकून् भन्ने मनमनै कामना गरेँ ।
कामी माइलासँग भेट्न निकै मन लागेको छ । माइलासँग माफी माग्न पनि मन लागेको छ । बिहान उज्यालो नहुँदै डोको बोकेर खोला तरेर खेतमा जाँदा माइलाहरूले मिहिनेत गरेर माछा बल्झाउन थापेको ढडिया झिकेर माछा चोरेको कुरा गर्न मन लागेको छ । भन्न मन छ, ‘माइला, म बाहुनको घरमा जन्मेको भएर तिम्रो घरमा खाजा र खाना खाइनँ । मलाई याद छ, तिम्री आमा निकै मिहिनेती हुनुहुन्थ्यो । त्यतिवेलाको समाजले हामीलाई त्यस्तै सिकाएको थियो ।’
एसएलसी पास गरेपछि मैले गाउँ छाडेँ । त्यहाँबाट निस्केर जागिरका दौरान हिमाली क्षेत्रको भोटमा, विकट पहाडहरूमा, तराई र मधेसका भित्री गाउँहरूमा समेत पुग्ने मौका पाएँ । हाम्रो समाजभन्दा धेरै पुरातन सोचाइ राख्ने, मान्छेले मान्छेलाई पशुसरहको व्यवहार गर्ने व्यक्तिहरूसँग पनि भेट भयो । हाम्रो गाउँतिर त्यतिवेला पनि एउटै धाराको पानी खान हुँदैन, एउटै पँधेरो प्रयोग गर्न हँुदैन भन्ने थिएन । दलितलाई दूध, मही दिनुहुँदैन भन्ने पनि थिएन । कैलालीमा जागिर खाने क्रममा सुदूरपश्चिमको रहनसहन जानकारी पाउने मौका मिल्यो ।
कक्षा ३ सम्म पढाइ हुने हाम्रो कोलपाखाको विद्यालयमा दर्जी गाउँबाट आउने धने, वीरे, मिठेहरूसँग हामी एउटै बेन्चमा बसेर पढ्थ्यौँ । शिक्षासँग सम्बन्धित मेरो जागिरका क्रममा छलफल हुँदा बाजुराको शाह थरका एकजना शिक्षकले गौरवका साथ भन्दै थिए, ‘विद्यालयमा ६ जना दलित बालबालिका भर्ना भएका कारण बाहुन–क्षेत्रीका बालबालिका आउन नै छाडे । मैले पनि ती दलितका बालबालिकालाई विद्यालयबाट निकालिदिएँ ।’ जागिरका क्रममा नै पछिल्लो अवधि तथा दुई वर्ष पहिला पूर्वी मधेस पुगेँ, त्यहाँ त दलित समुदायका बालबालिकालाई अझै विद्यालयमा शिक्षक र साथीहरूबाटै अपहेलित हुनुपर्ने रहेछ ।
माइलालाई यो पनि भन्न मन छ, त्यतिवेला जसरी लेकबाट आउने मगर दाइ र दिदीहरूले तिम्रो घरमा खाजा र खानासमेत खानुहुन्थ्यो, त्यस्तै अन्य ठाउँमा पनि मंगोलियन समुदायले छुवाछुतलाई कम मान्दा रहेछन् । मनाङको नेस्याङ उपत्यकामा रहेका तिमीहरूजस्तै सर्जक भाँडा बनाउने विश्वकर्मा समुदायका व्यक्तिलाई छुवाछुतको समस्या नै रहेनछ । सबैमा दाजुभाइसरहको व्यवहार हुँदोरहेछ । अनि महिलाहरू हाम्रो समुदायमा जस्तो कमजोर ठानिँदा रहेनछन्, बरु पुरुषभन्दा अगाडि रहेछन् ।
ढ्वाङबाट कानै खाने आवाजमा ‘जिताइदेउ दाजै बहुदल, हराइदेउ दाजै निर्दल’ भन्ने बोलको गीत हाम्रो गाउँमा गुन्जिएको वर्ष ०३६ सालमा म कक्षा ८ मा पढ्न अढाई घन्टा हिँडेर स्कुल पुगेको थिएँ । हुन त हाम्रै बाग्लुङका सर्वजित विश्वकर्माको पहलमा समाजमा मान्छे–मान्छेबीच हुने उँच–नीच, छुवाछुतजस्तो गलत परम्परा हटाउन ००४ सालमा नै विश्व सर्वजन संघ गठन भइसकेको रहेछ । हामी जन्मनुभन्दा पहिला नै छिमेकी देश भारतमा बिआर अम्बेडकरले हिन्दू समाजमा भएको छुवाछुतजस्तो गलत सामाजिक परम्परा हटाउन ठूलो अभियान चलाइसकेका रहेछन् । त्यस्ता समाजसुधारका कुरा हाम्रोमा नपुगेर होला सायद हामी भने हाम्रा बाबुबाजेले बनाएका गलत रीतिथितिमै बाँधिएका रहेछौँ ।
माइलाजस्ता मानिसहरूलाई औपचारिक शिक्षा दिनुहुन्न भन्ने सोच गलत रहेछ । पढ्नु भनेको जागिर खान मात्र हैन रहेछ, संसार बुझ्नु रहेछ । विश्वविद्यालयमा पढ्दा थाहा पाएँ, माइलाको जस्तै थर भएका व्यक्तिहरू धेरै पढेलेखेका र समाजका थोत्रा परम्परालाई परिवर्तन गर्न चाहाने धेरै रहेछन् । समाजलाई बुझाउन सक्ने क्षमता राख्ने, गलत परम्पराको विरुद्धमा खरो लेखन गर्ने साहित्यकार तथा राजनीतिज्ञ आहुति र हालै नेपाल सरकारको सचिव हुन सफल डा. मनबहादुर विश्वकर्मा पनि त हाम्रै दावलीका रहेछन् । के थाहा हामीलाई, त्यतिवेला हामीले मान्दै आएका समाजले हामीलाई महत्व दिएर सिकाएका ती परम्परा झुटा र सभ्य समाजका लागि बाधक हुन् भन्ने कुरा !
माइलालाई भन्न मन छ, ‘त्यतिवेला जे जस्तो भए पनि अब म र मेरा छोराछोरीबाट तिमीहरूजस्ता सर्जकलाई अपमानित गर्ने काम कहिल्यै हुनेछैन ।’