• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
सुन्दर कुरुप 
२०७७ भदौ ६ शनिबार ०८:५४:००
पर्यावरण

हात्तीसँग लुकामारी

हामीले हाम्रो भोकको मात्रै वास्ता गर्‍यौँ, जीवजन्तुको भोकको कहिल्यै वास्ता गरेनौँ 

२०७७ भदौ ६ शनिबार ०८:५४:००
सुन्दर कुरुप 

 

त्यसदिन पनि म स्कुल गइनँ । किताब ढाडमा लुकाएर सर्टले बाँधे । त्यसपछि सरासर लागेँ भद्रेको घरतिर । म पुग्दा गुलेली बाँध्दै थियो ऊ । एकछिनपछि सानो हातेझोलामा मट्याङ्ग्रा बोकेर गोबिन्दे र हर्के पनि आइपुगे । त्यसपछि लाग्यौँ जंगलतिर । सधैँझैँ ढुकुर जुरेलीका गुँड खोज्याैँ । हलेसोको बथानलाई गुलेलीले हिर्कायाैँ । चेप्टे बाजेको बारीमा उखु, सुटुनी चोरी खायौँ । दिनभर साथीहरूसँग बतासिएपछि साँझ खन्युखोल्साको बाटो बकैनाका रूखहरूमा छलिँदै घर फर्किएँ । 


०४४ साल माघ महिनाको शनिबार । हुस्सुको पातलो तहले बिस्तारै छोप्न सुरु गरिरहेको थियो । ममाथि बाउको निगरानी बढेकाले साथीहरूसँग भेट नभएको तीन–चार दिन भइसकेको थियो । बिहानभरि आमालाई घरको काममा सघाएर दिउँसो लागेँ माथिल्लो गाउँ । तर, कसैसँग भेट हुन सकेन । हर्के, गोबिन्दे र भद्रे बिहानै घरबाट निस्किसकेका रहेछन् । कहाँ गए भन्ने पत्तो नपाएपछि खिन्न हुँदै घर फर्किएँ ।


अफसोस.. ! त्यही रात अचानक हात्तीको आक्रमणबाट भद्रेको ज्यान गयो । डल्लेडल्ले, मोटो ज्यान, अलिअलि नाके स्वरमा बोल्ने, सोझो, शान्त मिलनसार स्वभावको थियो ऊ । साथीहरूको जमातमा निकै आत्मीय थियौँ हामी दुई । प्रिय साथी गुमाउनुको पीडाले निकै दिन छटपटिएँ । हाँस्दा हराइजाने दाहिने ओठछेउ एउटा सानो कोठी थियो । आजकल कतै गालामा कोठी भएको कोही मान्छे देख्दा झल्याँस्स सम्झना आउँछ त्यही भद्रेको ।


उसवेला मंसिर लागेपछि खलाको धान रुँग्न अस्थायी गोठ बनाएर सुत्ने चलन थियो । प्रायः सालिन्दा हर्केहरूकै खलामा नयाँ गोठ बनाएर पछि माघ, फागुनसम्म त्यही सुत्थे साथीहरू । मचैँ बाउको डरले त्यति घरबाहिर सुत्दिनथेँ । 


अचानक हृदयविदारक घटना सुनेपछि बिहान हत्तपत्त दौडिए गएँ माथिल्लो गाउँ । मान्छेहरूको बाक्लो भिडबाट घुस्दै भित्र छिरेँ । लपक्कै रगतले भिजेको परालमाथि उत्तानो लडिरहेको थियो भद्रेको शव । छेउमा आमा र बैनी डाँको छोडेर रोइरहेका थिए । धेरैबेर हेर्न सकिनँ त्यो दृश्य । कदमको रूखमुनि झोक्राएर बसिरहेको थियो हर्के । छेउमा गएर घटनाबारे सोधेँ । 

त्यसपछिका वर्षहरूमा पनि हात्तीको आक्रमणबाट थुप्रै गाउँलेहरूले ज्यान गुमाए । जंगलमा दाउरा जानेहरूलाई मारे । कुवामा पानी लिन जानेहरूलाई मारे । आजपर्यन्त जारी छ, हात्ती र गाउँलेबीचको घम्साघम्सी ।

 

त्यो रात खोलापारि पाट्नेगाउँको बिहेमा गएर आएपछि भद्रे, गोबिन्दे, हर्केलगायत केही साथीहरू गोठमा सँगै सुतेका रहेछन् । मध्यरातमा एक्कासि हात्तीले आक्रमण गरेपछि अत्तालिएर उठ्दाउठ्दै सुतेकै ठाउँमा कुल्चिएर मारेछ भद्रेलाई । गोबिन्देलाई चैँ सुँडले समातेर होलितिर फालिदिएछ । बाँकी भाग्न सफल भएछन् । एक महिनासम्म भद्रपुर हस्पिटलमा उपचार गरेपछि बल्ल तङ्ग्रियो गोबिन्दे । गाउँघरमा पछिसम्म साथीहरूले उसलाई ‘हात्तीको झटारो’ भनेर जिस्क्याउँथे । 


भद्रेको मृत्युपछि गुलेली बोक्न छाडिदियौँ । हात्तीको डरले निकै समयसम्म माथिल्लो गाउँ पनि गइनँ । छुट्टीको दिन गोठालो जान्थेँ । हर्के र गोबिन्देले स्कुल जान छाडिसकेका थिए । भद्रेको न्यास्रो मेट्न वेलावेला भेट्न जान्थेँ उनीहरूलाई । त्यो साल मुस्किलले पाँच कक्षा पास गरेँ । हर्के पनि एकदिन अचानक गाउँबाट बेपत्ता भयो । सानैमा आमा बितेपछि निकै अभाव र दुःखमा हुर्किएको थियो ऊ । पछि थाहा पाएँ, पारिगाउँका साथीहरूसँग भागेर रोडको काम गर्न मुग्लिनतिर हिँडेछ ।


त्यसपछिका वर्षहरूमा पनि हात्तीको आक्रमणबाट थुप्रै गाउँलेहरूले ज्यान गुमाए । जंगलमा दाउरा जानेहरूलाई मारे । कुवामा पानी लिन जानेहरूलाई मारे । खेतमा पानी पटाउन जानेहरूलाई मारे । आफन्तका घरबाट फर्किरहेकाहरूलाई मारे । आजपर्यन्त पनि हात्ती र गाउँलेबीच वेलावेला घम्साघम्सी चलिरहन्छ ।


गाउँको नाम नै हात्तीलेदा अर्थात् कुनै समय जताततै हात्तीको बिस्टा पाउने ठाउँ । केही बुढापाकाहरू चैँ उहिल्यै जंगलबीचमा रहेको दबदबे माटोको लेदोमा भासिएर एउटा हात्तीको छावा मरेपछि यस ठाउँको नाम हात्तीलेदा रहन गएको जिकिर गर्छन् । यही गाउँको सिरानमा आज पनि एउटा सानो घर छ भद्रेको । जहाँ बुढीआमा र दाइभाउजू बस्छन् ।


इलाम जिल्लाको दक्षिणी भेगमा रहेको चुलाचुली गाउँपालिकाभित्र पर्ने हात्तीलेदा गाउँलगायत यसका छिमेकी (मरङेझोडा, बाह्रगोठे, अर्नाखाडी, पेल्टीमारी, बुुकुवा) गाउँहरू कुनै समय बाक्लो जंगलले ढाकिएको हात्तीहरूको जैविक मार्ग थियो । यही बाटो हुँदै हात्तीको झुन्ड विनारुकावट पूर्वी आसाम मनिपुरदेखि नेपालको बाहुनडाँगी, कोसीटप्पु, कमला नदीसम्म आउजाउ गर्थ्याे । तर, घनाजंगल बिस्तारै आवाद हुन थाल्यो । हात्तीहरू विस्थापित हुँदै गए । भनिन्छ, हात्तीले एकपल्ट हिँडेको, बसेको ठाउँलाई कहिल्यै भुल्दैन । त्यसैले होला आजभोलि पनि वेलावेला हात्तीको झुन्ड यही बाटो भएर ओहोरदोहोर गर्छ । 


तर, उहिले रूखका गाछीहरूमा ठोकिँदै हिँड्ने हात्ती अहिले मान्छेका बस्तीसँग ठोकिँदै हिँड्न विवश छन् । जब गाउँमा हात्ती छिर्छ तब हातमा पट्का र राँको लिएर होहल्ला गर्दै मान्छे निस्कन्छन्, मानौँ कुनै अर्को ग्रहबाट आएका एलियनहरूले पूरै सखाप पार्न लागिरहेछ मानव बस्ती । 


सुख्खायामको रातमा त झन् हातमा राँको बोकेका अनियन्त्रित भिडले आगलागी हुने डर पनि उत्तिकै रहन्छ । हात्तीसँगको द्वन्द्व आफैँ दुखद घटना भए पनि एउटा कुराचैँ के गज्जब हुन्छ भने जब गाउँमा हात्ती आउँछ, तब वर्षौँ भेट नभएका वल्लो–पल्लो गाउँका साथीभाइसँग हात्ती खेदाउने क्रममा भेट हुन्छ । हाँसीमजाक भलाकुसारी चल्छ । हात्तीसँग जोडिएका किस्साहरूको दोहोरी चल्छ ।


विशेषगरी धान, मकै पाक्ने मौसममा बढी आउँछन् हात्तीहरू । तर, खडेरीको सिजनमा आएका हात्ती निकै आक्रामक हुन्छन् । सायद भोकले हुनुपर्छ । ती हात्ती रात परेपछि नजिकैको जंगलबाट गाउँमा छिर्छन् र घरहरू भत्काएर अन्नपात खाने गर्छन् । त्यही समय मान्छे र हात्तीबीच बढी द्वन्द्व हुने गर्छ । 


हालसम्म यस क्षेत्रमा हात्तीको आक्रमणबाट बीसजनाको ज्यान पनि गइसकेको छ । भारतीय हात्तीको प्रवेशद्वार बाहुनडाँगीमा सोलर फेन्सिङ गरिएपछि यस क्षेत्रमा आउने हात्तीको संख्या विगतभन्दा निकै घटेर गएको छ । अझ हात्ती र मानवबीचको द्वन्द्व कम गर्न झापाकोे केचनाकवलदेखि बाहुनडाँगीसम्म निर्माण भइरहेको हात्ती करिडोरले पनि चुलाचलीका जनतालाई पक्कै राहत मिल्ने नै छ । 


तर, जिल्ला वन कार्यालय झापाका अनुसार झापा जिल्लाकै सामुदायिक वनहरूमा बस्ने तेह्र, चौधवटा रैथाने हात्ती र स्थानीय गाउँलेबीचको द्वन्द्व कम हुनेछैन । झापा जिल्लासँगै सिमाना जोडिएको यस चुलाचुली गाउँपालिका पनि यो द्वन्द्वबाट अछुतो रहने कुरै भएन । 


हात्ती जंगल तथा घाँसे मैदानमा हुने पारिस्थितिक प्रणालीको प्रमुख रखवाला पनि हो । भनिन्छ मान्छेजस्तै संवेदना हुन्छ हात्तीमा । जस्तो, परिवारमा नयाँ सदस्य जन्मिए खुसी हुने र मृत्युमा दुःखी हुने । तर, हामीले हाम्रा दुःख मात्र ठूला देख्यौँ । बडो भावुक भएर हाम्रा भोकहरूको कथा मात्र गुनगुनाइरह्याैँ । लगभग दिनमा एक सय पचास केजीसम्म आहार चाहिने हात्तीलगायत अरू ती कैयन् जंगली जीवजन्तुहरूको भोकको कहिल्यै वास्ता गरेनौँ । जब कि तिनीहरूकै गाँसवास लुटेर हामी प्रकृतिको छातीमा रंगहीन क्याटवाक गरिरहेका छाैँ ।


निःसन्देह पृथ्वी सबैको साझा घर हो । तर, यसको सबैभन्दा बढी दोहनकर्ता हामी मानिस नै हौँ । विकास र समृद्धिको नाममा हाम्रा महत्वाकांक्षी चेतहरूले प्राकृतिक स्रोत तथा सम्पदामाथि निर्मम अतिक्रमण गरिरहेछाँै । तर, यसबाट पर्यावरणमा पर्न गएको असरबारे भने अनभिज्ञजस्तो भएर बाँचिरहेछौँ । जरुर कुनै न कुनै दिन यसको ठूलो मूल्य चुकाउनुपर्नेछ, हामीले । 


कुनै समय हामी पनि जंगलमै थियौँ । तर, हाम्रो चेतना र विचारको फैलावटले जंगलभित्र मात्र बसिरहन सकेनौँ । जंगल नै आवाद गरेर सुरु गर्याैँ आआफ्नो बस्ती । घोषण गर्याैँ, आफूलाई सर्वश्रेष्ठ प्राणी । हुदाहुँदै कोही शासक त केही रैती भयौँ । शासक वर्गले आफ्नो भाषा, धर्म, विचारहरू अरू निरीह, शोषित, उत्पीडित, अल्पसंख्यक मानिसमाथि लाद्नुजत्तिकै खतरनाक हुन सक्छ, वन्य जीवजन्तुमाथि आफ्नो शासनसत्ता लाद्नु पनि ।


जैविक तथा अजैविक वस्तुहरूबीचको निरन्तर सन्तुलित चक्रले मात्र पारिस्थितिक प्रणाली प्रकृतिप्रदत्त चलिरहन्छ र पर्यावरण स्वस्थ्य बाँचिरहन्छ । प्रकृतिले निर्माण गरेका हरेक वस्तुहरूको पृथ्वीमा आआफ्नै जिम्मेवारीपूर्ण अस्तित्व छ । एउटा सानो ब्याक्टेरियाले पनि आफू उत्पत्ति हुनुको दायित्व निभाएर बाँच्छ । तर, सुपरह्युमेनको परिकल्पनामा बाँचिरहेका हामी मान्छे आफ्नो मानवीय दायित्व भुलेर पृथ्वीलाई प्रयोगशाला बनाइरहेछौँ । जसले दिनदिनै ओजोन तह नष्ट हुँदै गइरहेछ । अम्लीय वर्षा, विषादी तथा रासायानिक मलको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति घटेको छ । नदीनाला, ताल, पोखरी तथा सिमसार क्षेत्रमा पाइने विभिन्न प्रजातिका रैथाने जीव तथा वनस्पतिहरूको अस्तित्व लोप हुँदै गइरहेछ । 


०००


बिगतका दिन सम्झन्छु । गएको पच्चीस, तीस वर्षभित्र पर्यावरणमा आएको ठूलो बदलावको कारण हाम्रो ठाउँबाट थुप्रै जीवजन्तु हराए । कति विस्थापित भए । गाउँभरि सिमसार थिए, जहाँ विभिन्न प्रजातिका माछा तथा चराचुरुंगीहरू प्रशस्त भेटिन्थे, देखिन्थे । सिमसारसँगै तिनीहरू हराएर गए । बाह्रै महिना घर, गोठको छानाभरि भँगेराका गुँड हुन्थे । हिउँद लागेपछि खेत, खरबारीभरि जंगली खरायोका हुल भेटिन्थे । मकै पाक्नेवेला खेतै ढाक्ने गरी उड्थे सुगाहरू । तिनीहरू सबै गाउँबाट हराएर गए ।


उँधौली सुरु भएपछि झुन्डझुन्ड बनाएर आउँथे लेकाली चराहरू । जेठ सुरु भएपछि घरवरपर नरिवलका रूखहरूमा तोपचरालाई गुँड बनाएर बच्चा हुर्काउन चटारो हुन्थ्यो । ती चरा पनि अचेल त्यति आउन छाडे । मंसिर लागेपछि खेतभरि आउमुसुली र बास्मतीका सुगन्धित बालाहरू लहलहाउँथे । वर्षदिनमा पनि खाएर नसकिने आलु, मकै, गहुँ, केशरी, तोरी फल्थ्यो । तर, अत्यधिक चुरेक्षेत्र दोहनका कारण पानीका मुहानहरू सुक्दै गएपछि ती सबै बालीनालीको उत्पादन घटेर गयो । अचेल गाउँ दिनानुदिन कुनै दीर्घरोगले चपाइरहेको रोगी मानिसको अनुहारजस्तो हुदैँ गइरहेछ । 


०००


०६८ साल । हेर्दै उराठलाग्दो चैतमास । खेतभरि खक्रक्क सुकेका मकैका बोटहरू । विनापात चुपचाप उभिरहेका नांगा रूख । माटोमै आगो लाग्लाजस्तो सुख्खा मौसम । पूरै शरीर रापेर उडिरहने तातो हावा । गाउँ मास्तिर डढेलो र खडेरीले पूरै खाइसकेको विरक्तलाग्दो चुरेपहाड । 


वर्षौँपछि हर्के घर आएको छ भन्ने सुनेर साँझपख माथिल्लो गाउँतिर लागेँ । दुई–चार घर धिमाल, दुई–चार घर राई लिम्बू, केही घर विष्टहरू । लगभग नेपाली समाजबाट लोप भइसकेको पर्म परम्परा आजसम्म पनि धानिरहेको गाउँ । धेरैजसो मेरो बाल्यकालका साथीभाइ भएको ठाउँ भएर होला आज पनि आनन्द लाग्छ त्यहाँ जान । 

 

तर, त्यो साँझ हर्केसँग भेट हुन सकेन । ऊ बिहानै फर्किसकेछ । घरपरिवारसँग बुझ्दा आजकल ऊ बर्दियातिर घरजम गरेर बस्दोरहेछ । घर बनाउन घरसरुवा पुर्जी मात्र लिन आएको रहेछ । बाल्यकालको साथीलाई भेट्न नपाएकोमा मन खिन्न भयो । मूल घर हो फेरि अवश्य कुनै दिन आउला र भेट होला भनेर चित्त बुझाएँ । 

 

माथिल्लो गाउँमा साँझ भएपछि जमघट हुने ठाउँ कलबहादुर दाजुको घर, भाउजूको जाँडरक्सीको पैकार, लोकल कुखुराको सितन । कुनै समय त्यहाँ दिनमा एकपल्ट नपुगी मेरो जिब्रोको स्वाद नै मर्दैनथ्यो । लगत्तै घर फिर्न मनले मानेन र लागेँ उतैतिर । आँगनमा उत्तिकै थिए जाँडरक्सी खाने बुढापाका र तन्नेरीहरू । साथीभाइसँगको हाँसीमजाक रात बितेको पत्तै भएन । 


लगभग रातको १२ बजिसकेको थियो । कतै जाँदा रात परेपछि भुतको भन्दा पनि हात्तीको डरले खुब सताउँछ मलाई । तर पनि साथीभाइहरूसँग बिदा मागेर मधुरो टर्चलाइटको सहारामा घर हिँडेँ । अलि तल पुगेपछि मान्छेजस्तो एउटा आकृति बाटोमा घस्रिरहेको देखेँ । मनमा चिसो पस्यो, तर हात्ती हो भन्नेचैँ पटक्कै लागेन । बिस्तारै आकृतिछेउ पुगेर हेरेँ...कान्छा काका पो हुनुहुँदोरहेछ । ल्वाँठ मातेर घस्रँदै रहेछन् ।

 

मैले सोधैँ, ‘के गर्नुभको काका..?’
‘...घर हिँडेको भतिज....!’
‘अनि घस्रिँदै कहिले पुग्नुहुन्छ ? उठ्नु म पुर्‍याइदिन्छु ।’
‘पर्दैन तँ जा...म पुगिहाल्छु,’ यति भनेर फेरि घिस्रन थाल्नुभो ।


यस्तो रात काकालाई एक्लै छाड्न मनले मानेन, बिस्तारै काकासँगै हिँडे । मेरो पनि खुट्टा लर्बराइरहेको थियो ।


अलि तल खोल्सानेर आइपुगेपछि अचानक पल्लोगाउँमा मान्छेहरूको होहल्लाले झसंग बनायो । कान थापेर सुने साँच्ची हात्ती आएछ । शरीर थरथर काँप्न थाल्यो । पिसाब पनि आउलाआउला जस्तो भयो । अत्तालिएर यताउता हेरेँ, काकालाई देखिनँ । हतार मास्तिर एउटा घरमा गएर लुकेँ । अचानक काका गायब भएकोका सुर्ता लागिरहेको थियो । 


एकछिनपछि होहल्ला सामसुम भयो । सम्झेँ हात्तीले अबचैँ बाटो काटिसकेछ । चनाखो हुँदै फेरि हिँडैँ । काकाको घरछेउ आइपुगेपछि बरन्डाबाट एउटा धमिलो स्वर आयो । 


‘ओ भतिज...हात्ती...! हात्ती...!’ स्वर त काकाको जस्तो छ... । यसो पश्चिमपट्टि टर्च लगाएँ । अलिक परतिर बडेमानको हात्ती ठिंग उभिरहेको थियो । सातोपुत्लो उड्यो । हतारहतार काकाको घरको टाँडमुनि गएर लुकेँ । शरीर अझै लगलग काँपिरहेको थियो । काका तल झर्नुभो र भन्नुभो, ‘हाउ भतिज...! रातसाँझ नहिँड्नु है मार्छ नि हात्तीले...!’ यति भनिसकेर फेरि काका माथि उक्लिनुभो । 


छक्कै परेँ अघिसम्म घस्रिँदै हिँड्ने मान्छे एकाएक तन्दुरुस्त ! सम्झेँ...मृत्युजस्तो डरलाग्दो चिज केही नहुँदो रहेछ । आधा घन्टापछि जब फेरि खोलापारि होहल्ला सुरु भयो । थाहा भो, हात्तीले खोला तरिसकेछ । त्यसपछि दौडेर घरको आँगन मात्र के पुगथेँ...।
‘मर्छस् गधा...!’
‘के खोज्छेस् राति–राति गाउँमा..?’
‘रातमा त दुर्जनहरू मात्र हिँड्छन् नि... । अलि होसियारले हिँड्..।’


झसंग भएर यसो हेरेँ, बाउ पो ठिंग उभिरहेका रहेछन्, नीमको रूखछेउमा । होसहवास उड्यो मेरो । हात्तीभन्दा पनि ठूलो देखेँ, बाउलाई । हत्तपत्त कोठामा छिरेँ । निकैबेर निदाउन सकिनँ ।