• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामगोपाल आशुतोष
२०७७ भदौ २० शनिबार ०७:१२:००
साहित्य

नांगाहरूको कार्निवल

२०७७ भदौ २० शनिबार ०७:१२:००
रामगोपाल आशुतोष

 

अहिले 
सबैभन्दा बढी बिकिरहेछ राष्ट्रवाद ।
अनि बिक्छ
रूप बजारकी नग्नता ।
त्यसपछि
बिकिरहेको छ - एकल राज्यसत्ता ।

 

बिक्रीमा
मोलमोलाइमा सिसिफसहरू
क्रान्तिकारीको खोलमा छन् ।

मैले भनेको यति हो 
कि -
बजारमा नग्न उभिएका
डमी राष्ट्रवादीहरूले फुकालेको लुगा
र, स्वेच्छाले नांगिएर
रक स्टार, सिने स्टार, सिंगिङ स्टार
वा, 
भर्च्युअल च्याटिङमा नांगिने 
फेसबुक, टिकटक, युट्युब
वा इन्स्टाग्राम मोडलहरूको लुगा बटुली
व्यवस्थाले नांगोभुतुंगो पारेकाहरूको तन ढाकौँ ।

 

अनि
लाइक, कमेन्ट र सेयरिङमा रमिरहेको
सेयर बजारका कथित मोडल र
बडेमानका शिवलिंग अवतारहरूको 
नागरिक सम्मान–अभिनन्दन गरौँ
र, सार्वजनिक गरौँ 
नग्नताको राष्ट्रिय तथ्यांक विश्वसामु ।

 

मेरो प्रस्ताव-
तीन पंक्तिमा हिँडाऔँ नांगाहरूको मार्चपास !

 

- पहिले हिँडून्
व्यवस्थाले नंग्याएका नांगाहरू

 

- पछि हिँडून्
व्यवस्थाका पुँजीपति, क्रान्तिकारी र कर्मकाण्डीहरू

 

- र, अन्त्यमा हिँडून् नांगो व्यवस्था
अनि
व्यवस्थाले नङ्ग्याएका नाङ्गाहरूलाई चुनौती दिने
युट्युब, फेसबुक, टिकटक वा इन्स्टाग्रामका
अन्तर्राष्ट्रिय नांगाहरूलाई

 

र, हेरौँ दर्शकहरूलाई
कसको आँखामा
कोप्रति, कति करुणा
कति घृणा र कति विषयराग देखिने छ !!!