• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सुजित मैनाली
२०७७ भदौ २० शनिबार ०९:४८:००
इतिहास

सतीप्रथा : किन सजिलै उन्मूलन भयो ?

धर्मशास्त्रहरूको बलियो टेको सतीप्रथालाई कहिल्यै उपलब्ध भएन

२०७७ भदौ २० शनिबार ०९:४८:००
सुजित मैनाली

  

वि.सं १९७७ असार २५ गते चन्द्रशमशेरले नेपालभरि सतीप्रथाको अभ्यासमा रोक लगाए । श्रीमान्को मृत्युपछि श्रीमतीले पनि जिउँदै जलेर प्राण त्याग्नुपर्ने प्रथा त्यसपछि बन्द भयो । राजनीतिले धर्मसँग जेलिएको त्यस्तो संस्कार बन्द गर्ने गरी ‘हस्तक्षेप’ गर्दै गर्दा कुनै प्रतिरोध भएन । बरु त्यसको पाँच वर्षपछि चन्द्रशमशेरकै पालामा करियाप्रथा अमलेख गर्दा दुनियाँदारले प्रतिरोध गर्लान् कि भनेर राज्यले क्षतिपूर्तिको प्रबन्धसहित धर्मशास्त्रमा वर्णित करियाप्रथाविरोधी प्रावधानहरूको त्यान्द्रो समात्नुपरेको थियो । सतीप्रथा र करियाप्रथा उन्मूलन भइसक्दा पनि वर्णव्यवस्थाजनित छुवाछुतलाई कानुनले संरक्षण गरिरह्यो । विसं २०२० मा मुलुकी ऐन जारी भएपछि मात्रै छुवाछुत प्रथा उन्मूलन भयो । 


कानुनले उन्मूलन गरे पनि दिनदिनै हुने छुवाछुत प्रथा आजका मितिसम्म कायम छ । तर, सतीप्रथा राज्यले घोषणा गर्नासाथ बन्द भयो । यस्तो हुनुको कारण आखिरमा के थियो ? 

 

धर्मको टेको


वर्णव्यवस्था र करिया (दास) प्रथा हिन्दू धर्मशास्त्रसँग सतीप्रथाको तुलनामा बढ्तै अभिन्नसँग गाँसिएका छन् । ऋग्वेद (१०।९०।१२) मा ब्राह्मण, राजन्य (क्षत्रीय), वैश्य र शूद्र ईश्वरको क्रमैसँगै मुख, पाखुरा, जाँघ र पाउबाट उत्पन्न भए भनिएको छ । यही ऋचा यजुर्वेद (३१।११) मा पनि दोहोर्‍याइएको छ । ऋग्वेदका अन्य प्रसंगमा कतै पनि वैश्य र शूद्रबारे उल्लेख नभएकाले प्राचीन संस्कृत वाङ्मयका अध्येताहरूले यो ऋचालाई प्रक्षिप्त मान्ने गरेका छन् । यति हुँदाहुँदै पनि आर्यहरू भारतीय उपमहाद्वीपमा आएपछि वर्णव्यवस्था अस्तित्वमा आएको र समयक्रममा छुवाछुतसम्बन्धी व्यवस्था जोडिएर यो कट्टर बनेको हो भन्नेमा कसैको विमति छैन । 


ऋग्वेदका विभिन्न प्रसंगमा (१।५१।८;१०।२२।८ आदि) मा दस्यु अर्थात् दासबारे उल्लेख भएकाले र दस्युहरूमध्येबाटै प्रकारान्तरमा शूद्रहरूको उदय भएकाले वर्णव्यवस्था र दासप्रथा हिन्दू धर्मशास्त्रसँग बढ्ता जोडिएका छन् । द्विजहरूले शूद्रमार्फत श्रम दोहन गर्न सहज मानेर आफूहरूको धार्मिक तथा सामाजिक संरचनालाई तदनुरूप ढाल्दै गएपछि हिन्दू समाजमा दासभन्दा शूद्रहरूको व्यवस्था बढ्ता संस्थागत हुन पुग्यो । यसकारण करियाप्रथा समाजबाट हराएको दशकौँ बितिसक्दा पनि छुवाछुत प्रथा अझैसम्म हिन्दू समुदायको आङमा उडुसजस्तै जब्बर बनेर टाँसिरहेको छ । 

 

कानुनले उन्मूलन गरे पनि दिनदिनै हुने छुवाछुत प्रथा आजका मितिसम्म कायम छ । तर, सतीप्रथा राज्यले घोषणा गर्नासाथ बन्द भयो । यस्तो हुनुको कारण आखिरमा के थियो ?

 

धर्मशास्त्रहरूको बलियो टेको सतीप्रथालाई कहिल्यै उपलब्ध भएन । ऋग्वेद (१०।४०।२ र ८ आदि) का विभिन्न प्रसंगमा विधवाहरूबारे उल्लेख छ । यसको एउटा ऋचा (१।८७।३) मा ‘पवन तीव्र गतिमा बत्तिँदा पृथ्वी विधवाजस्तै थर्थरी कापिन्’ भनिएको छ । पाण्डुरंग वामन काँणेले यसको अर्थ त्यतिवेलाका विधवा अनेकन् दुःख अथवा बलात्कार खेप्नुपर्ने भयले काप्ने गर्थे भनी निकालेका छन् । ऋग्वेदको एउटा ऋचा (१०।१८) मा प्राणपखेरु उडिसकेका पतिको छेउमा सुतेकी पत्नीलाई उठ्न भनिएको छ । यही ऋचाका आधारमा वेन्डी डोनिगरले त्यतिवेला विधवाहरूले पतिको मृत्युपछि उसको शवछेउमा आफूले पनि देहत्याग गरेजस्तो गरी पल्टिने संस्कार थियो र प्रकारान्तमा यही प्रावधानलाई प्रमाण मानेर सतीप्रथा संस्थागत गरिएको हुन सक्ने अनुमान गरेकी छिन् । 


वेद, उपनिषद्, ब्राह्मणलगायत हिन्दूहरूका पुराना धर्मग्रन्थमा सतीप्रथाबारे कतै उल्लेख छैन । हिन्दूहरूको सामाजिक जीवनलाई नियमन गर्ने शास्त्र भनेर चर्चित गौतमधर्मसूत्र, मनुस्मृतिलगायत पनि यसबारे मौन छन् । विष्णुधर्मसूत्र, विष्णुपुराण, व्यासस्मृति, पद्यपुराणलगायत पछिल्लो कालमा रचिएका धर्मशास्त्रमा मात्र सतीप्रथाबारे उल्लेख छ । 


संस्कृत वाङ्मयलाई समग्रमा नियाल्दा वर्णव्यवस्था अथवा दासप्रथाभन्दा सतीप्रथा निकै नयाँ रहेको र यो मूलतः राजघराना र क्षत्रियहरूमाझ बढी अभ्यास हुने गरेको देखिन्छ । पतिको मृत्यु भएपछि पत्नीले सती जानैपर्ने बाध्यता भने कहिल्यै थिएन । उदाहरणका लागि महाभारतमा पाण्डुको मृत्यु भएपछि उनकी कान्छी पत्नी माद्री सती गएको र जेठी पत्नी कुन्तीले विधवा बनेर बाँकी जीवन बिताएको, कृष्णको मृत्यु भएपछि उनका पाँच पत्नी सती गएको र सत्यभामालगायत पत्नीहरू विधवा बनेको प्रसंगलाई लिन सकिन्छ । लिच्छवि राजा मानदेवले विसं ५२१ मा उत्कीर्ण गराएको चाँगु अभिलेखमा धर्मदेवको मृत्यु भएपछि उनकी पत्नीले सती जान खोजेको, तर छोरा मानदेवले नजानू भनेपछि विधवा बनेर रहन मञ्जुर गरेको विवरणलाई पनि यही सन्दर्भमा उल्लेख गर्नु वाञ्छनीय हुन्छ ।


सतीप्रथालाई बाध्यकारी अथवा न्यायोचित ठहर्‍याउने गरी यसको देवत्वकरण गरिएका मिथक पनि संस्कृत वाङ्मयमा पाइँदैनन् । कुनै पनि धार्मिक अथवा संस्कृतिक प्रथाले दह्रोसँग जरा गाड्न त्यस्तो प्रथालाई अनुमोदन गर्ने मिथक समाजमा संस्थागत भएको हुनुपर्छ । यस्ता दुइटा मिथकबारे वेन्डी डोनिगरले चर्चा गरेकी छिन् । पहिलो, दक्ष प्रजापतिले आयोजना गरेको यज्ञमा सतीदेवीले आत्मदाह गरेको प्रसंग । र दोस्रो, सीताले आफ्नो सतित्व अक्षुण्ण रहेको पुष्टि गर्न अग्निपरीक्षाबाट गुज्रिएको प्रसंग । तर, दुवै कथामा सतीदेवी र सीता आ–आफ्ना पतिको शवसँग दग्ध भएका छैनन् । बरु योभन्दा बढी प्रासंगिक एउटा कथाबारे महाभारतको वनपर्वमा वर्णन गरिएको छ, जहाँ सावित्रीले आफ्ना दिवंगत पति सत्यवानको शव लिएर हिँडेका यमराजको पछि लागेर (अर्थात् आफूले पनि मृत्युवरण गरेर) पतिलाई (परलोकमा) पुनर्जीवन दिलाउँछिन् र उनीसँगै पुनः गृहस्थी बसाउँछिन् । यी यावत् विवरणले सतीप्रथा हिन्दूधर्मसँग बलियोसँग गाँसिएको थिएन भन्ने देखाउँछ । धर्मले बलियो टेको नदिएकाले यसलाई उन्मूलन गर्न चन्द्रशमशेरलाई अप्ठेरो भएन ।

 

अर्थतन्त्रको टेको


वर्णव्यवस्था र दासप्रथा अर्थतन्त्रसँग अभिन्न रूपले गाँसिएका छन् । धर्मशास्त्रहरूले शूद्रलाई आफूभन्दा माथिल्ला वर्ण अथवा जातका मानिसको सेवा गर्ने कार्यभार सुम्पिएका छन् । हिन्दूू समुदायमा अर्थव्यवस्था र वर्णव्यवस्थाबीचको सम्बन्ध घनिष्ठ थियो । द्विजहरूको आर्थिक हितका लागि वर्णव्यवस्था कायम राख्नु अपरिहार्य थियो । 


द्विजहरूको सेवा गर्नु शूद्रहरूको परम कर्तव्य थियो । यसबापत द्विजहरूले उनीहरूको प्राण धान्नेजति मात्रै पारितोषिक दिए पुग्थ्यो । मनुस्मृतिमा यस्ता केही व्यवस्थाबारे चर्चा गरिएका छन् । त्यहाँ (१०।१२१) ब्राह्मणहरूको सेवामा रहेर शूद्रको जीवन निर्वाह हुन सकेन भने उसले क्षत्रीयको सेवा गरोस्, क्षत्रीयको सेवाबाट पनि जीवन निर्वाह भएन भने वैश्यको सेवा गरोस्, अर्थात् आफूभन्दा ठूलो जातका मानिसहरूको सेवाबाट उसले उन्मुक्ति नपाओस् भनिएको छ । यस्तो सेवा गरेबापत शूद्रले पाउने प्रतिफल निम्नकोटीको थियो । उसलाई जुठोपुरो, जडौरी, पुराना भाँडाकुँडा, खाट, सिरकडस्ना दिए पुग्छ भन्ने व्यहोरा मनुस्मृति (१०।१२५) मा उल्लेख छ । संस्कार र धर्मकार्यमा शूद्रको अधिकार नहुने भएकाले फोहोर खाना खानाले उसलाई दोष लाग्दैन, त्यसैले उसलाई त्यस्तो खालको खाना खान दिए हुन्छ समेत भनिएको छ (१०।१२६) ।

 
अत्यन्तै हीन मूल्यमा श्रम बेच्न बाध्य शूद्रहरूलाई उद्यमशील बन्न पनि रोक लगाइएको थियो । यसबाट अर्थव्यवस्थामा द्विजहरूको एकाधिकार सुनिश्चित भएको थियो । धन सञ्चय गर्ने सामथ्र्य भए पनि शूद्रले त्यसो नगरून्, नत्र उनीहरूले ब्राह्मणलाई सताउँछन् भनेर मनुस्मृतिमै (१०।१२९) भनिएको छ । द्विजहरूको आर्थिक हितका लागि वर्णव्यवस्था सिर्जना गरिएकाले यसलाई उन्मूलन गरिएको भए द्विजहरूबाट त्यसले चर्को प्रतिरोध खेप्नुपर्ने पक्का थियो । 


अर्कोतर्फ करियाप्रथा पनि अर्थतन्त्रसँग दह्रोसँग गाँसिएको थियो, तर वर्णव्यवस्थाजति होइन । करियाप्रथा उन्मूलन गर्नुभन्दा करिब एक वर्षअघि यसको माहोल बनाउन भनेर चन्द्रशमशेरले विसं १९८१ माघ १४ गते काठमाडौंको टुँडीखेलमा गरेको भाषणको लिखतमा पनि नेपालको अर्थतन्त्रसँग करियाप्रथाको साइनोबारे राम्रो झलक दिइएको छ । 


भाषणमा हिन्द महासागरको पेम्बा टापुका अश्वेत दास र छेवैको सिचेलिस टापुका अश्वेत मजदुरहरूको श्रमको तुलनात्मक अध्ययनले निकालेको निष्कर्षबारे उल्लेख छ । अध्ययनबाट दासले भन्दा ज्यालादारी मजदुरले तीन गुणा बढी काम गर्छन् भन्ने निष्कर्ष निस्किएको जनाउँदै भाषणको लिखतमा यसबाट दुई–तीनजना करिया पाल्नुको सट्टा एकजना मजदुरलाई ज्यालामा काम लगाउँदा आर्थिक भार बढी पर्ने जोखिम रत्तिभर नरहेको भन्दै दुनियाँदारलाई करिया अमलेख गर्ने सरकारको योजनामा सघाउन आह्वान गरिएको छ ।

 

भाषणको लिखतमा भनिएको छ, ‘दासत्वको चलन बन्द हुनुभन्दा अगाडि पेम्बा टापुमा सरकारका तर्फबाट यसबारे तहकिकात गर्न खटिएका पञ्च भलादमीहरूले सबै राम्ररी गौर–विचारसँग हेरी सबुत प्रमाणबाट देखिएको कुरा जाहेर गर्दा ‘पेम्बाका हब्सी करियाहरूको र त्यसभन्दा केही पर सिचेलिस भन्ने टापुका आफूसुखी त्यस्तै हब्सीहरूको काम दाँजी हेर्दा धेरै नै फरक देखिन आयो, खेतीपातीको काममा पनि आफूसुखी हब्सी एकजनाले गरेको काम करिया हब्सीले गरेभन्दा तीन दोब्बर बढ्ता रहेछ’ भन्ने रिपोर्ट गरेथे, हाम्रो यहाँ तीन दोब्बरसम्म पनि नसम्झी एकजना बनियारे वा दर्माहादारले गरेको काम दुईजना करियाबाट हुने गर्दो हो भन्ने यत्ति मात्र सम्झेको पक्षमा पनि काम दिने दुईजना करियालाई लाग्ने खर्चबाट एकजना बनियारे वा दर्माहादारलाई राख्नाले त्यसबाट काम घटी हुने होला वा खर्च बढ्ला भन्ने शंकै हुन आओइन ।’ यसका अतिरिक्त अमलेख हुने करियाको मोल सरकारले सबै मालिकलाई तिरिदिने र अमलेख भएको सात वर्षसम्म करियाले साबिककै मालिकका लागि साबिकबमोजिम खान–लाउन पाउने सर्तमा काम गर्ने व्यवस्था गरिने जनाएर मालिकहरूलाई मनाउन खोजिएको छ । 


सतीप्रथा यहाँको अर्थव्यवस्थासँग जेलिएको थिएन । बंगालमा पुत्रहीन श्रीमतीले दिवंगत पतिको भागको सम्पत्ति पाउने चलन थियो, जसलाई दायभाग भनिन्थ्यो । विधवाको भागमा पर्ने त्यस्तो सम्पत्ति हत्याउन भनेर परिवारका सदस्यले उनलाई सती पठाइदिने गर्थे । हिन्दू समुदायमा सतीप्रथा मूलतः बंगालमा अभ्यास हुनुको कारण दयाभागको अभ्यास नै हो । सतीप्रथाको विरोध गर्दै हिन्दू समुदायभित्र सर्वप्रथम बंगालमै संगठित अभियान सुरु हुनुको कारण पनि यही हो । 


तर नेपालमा दायभागजस्तो प्रचलन अभ्यासमा थिएन । जंगबहादुरले विसं १९१० मा जारी गरेको मुलुकी ऐनको ‘विधुवाको अंश धनको’सम्बन्धी महलमा विधवाले पुनः विवाह गरे उसले ‘अघिला लोग्न्याका सत्यमा वस्ता कमायाको धन माल नगद जिनिस् वस्तु चाकरे गैह्र केही पनि लिजान पाउदिन’ भनिएको छ । आफ्ना छोराहरू पैतृक सम्पत्तिबाट वञ्चित नहून् भनेर विधवाहरू जेठाजु, देवर अथवा ससुराको घरमा मन नलागीकनै भए पनि बस्न बाध्य हुनुपर्ने अवस्था अन्त्य भएको हामीकहाँ धेरै भएको छैन । 


यति हुँदाहुँदै पनि विधवाको भागको सम्पत्ति हत्याउने लालसाले परिवारका सदस्यले उनलाई सती पठाइदिने अभ्यासमा नेपालमा पनि थियो । यो कुरा १९१० को मुलुकी ऐनको ‘सती जान्याको’सम्बन्धी महल र चन्द्रशमशेरले संशोधन गराएको मुलुकी ऐनको ‘ज्यानसम्बन्धीको’ महलमा विधवाको सम्पत्ति हत्याउने उद्देश्यले सती पठाइएको फेला परेमा सती पठाउनेलाई त्यस्तो सम्पत्तिबाट वञ्चित राख्नु भनी गरिएको व्यवस्थाले पनि स्पष्ट पार्छ । तर, यस्ताखालका घटना नेपाली समाजको मूल चरित्र थिएन । यो कुरा नेपालमा सती जाने अभ्यास कहिल्यै पनि बाक्लो नरहेको अवस्थाले पुष्टि गर्छ । 

 

नजिरको टेको


नेपालमा चन्द्रशमशेरले हठात् सतीप्रथा उन्मूलन गरेका होइनन् । सतीप्रथालाई निरुत्साहित गर्न उनका पूर्ववर्तीहरूले विभिन्न प्रयास गरेका थिए । ती प्रयासले खडा गरेको जगमा टेकेर सतीप्रथा उन्मूलन गर्न उनलाई सहज भएको थियो । 


जंगबहादुर राणाले पनि सतीप्रथालाई निरुत्साहित गर्ने विभिन्न प्रयास गरेका थिए । यसका लागि उनले मुलुकी ऐनको ‘सती जान्यको’सम्बन्धी महलमा विभिन्न प्रावधान राख्न लगाएका थिए । १६ वर्षमुनि नपुगेका, कान्छो छोरो १६ वर्ष र कान्छी छोरी पाँच वर्षको नभएका, एकभन्दा बढी पुरुषसँग विवाह गरेका र गर्भवती स्त्रीलाई सती नपठाउनू भनी ऐनमा भनिएको छ । त्यस्तै चितामा आगो लगाएपछि पीडा सहन नसकी भाग्ने स्त्रीले चाहेमा पतिया दिलाएर घर फिर्ता पठाउन भनिएको छ ।

 

चिताबाट उम्किएपछि विधवाले फेरि पनि सती जान खोजेमा मुचुल्का लेखाएर मात्र चितामा चढाउन भनिएको छ । विधवालाई लागुपदार्थ खुवाएर नशाको बेहोसीमा सती जान कबुल गराई चितामा चढाउनसमेत प्रतिबन्ध लगाइएको छ । जंगबहादुरका यस्ता प्रयासबाट सती जाने क्रममा कमी आयो होला । तर, सतीप्रथा उन्मूलन हुन सकेन । जंगबहादुरको मृत्युपछि स्वयं उनकै तीनजना पत्नीलाई सती पठाइएको थियो । 


वीरशमशेरले समेत सतीप्रथालाई निरुत्साहित गर्ने प्रयास गरेका थिए । श्री ३ महाराज छँदा विसं १९४४ उनले यससम्बन्धी एउटा इस्तियार जारी गरेका थिए, जसमा कुनै पनि स्त्रीलाई सती पठाउनुअघि छेउमा रहेको अदालत अथवा अन्य सरकारी अड्डामा खबर गर्नु, सरकारी अड्डा पुग्न २–३ दिन लाग्ने रहेछ भने मृतक लोग्नेको शवलाई त्यतिन्जेल सुरक्षित राखेरै भए पनि अड्डामा खबर गर्नु भनिएको छ । सती जान खोज्नेलाई नजान सम्झाइ–बुझाइ गर्नू, त्यति गर्दा पनि केही लागेन भन्ने कुरा अड्डाले ठहर गरेपछि मात्र सती पठाउनू भनिएको छ । यस्ता खालका प्रक्रिया पूरा नगरी कसैलाई सती पठाएको पाइए ‘सती पोलन्या मलामी र तेस गाउँका द्वारे थरी मुषिया मिझार चौधरी जमिदारलाई पक्री नेल ठोकी अदालतमार्फत हाम्रा हजुरमा जाहेर गरी पठाउनू र जवाफ भयाबमोजिम गर्नू’ भनिएको छ । 


जंगबहादुर बेलायती ढाँचा र रहनसहनबाट प्रभावित थिए । यही कारणले गर्दा उनले परिवार र आफन्तमाझ बेलायती शैलीअनुरूपको शिक्षा, खानपान, पहिरन आदिलाई प्रवद्र्धन गरेका थिए । शासनसत्तामा उनको उदय हुनुभन्दा करिब १७ वर्षअगावै भारतका गभर्नर जनरल विलियम बेन्टिकले सन् १८२९ मा भारतमा सतीप्रथा उन्मूलन गरिसकेका थिए । त्यसअघि ‘ब्रह्मसमाज’का संस्थापक राजा राममोहन रायले सतीप्रथालाई हिन्दूधर्मले अनुमोदन नगरेको ठहर गर्दै सतीप्रथाविरुद्ध बंगाली र अंग्रेजी भाषामा लेखरचनाहरू प्रकाशित गरेका थिए । विभिन्न ठाउँमा यसबारे प्रवचन दिएर उनले सतीप्रथाविरोधी आन्दोलन नै चलाएका थिए । उनकै कर्मको आडमा सतीप्रथा उन्मूलन गर्न गभर्नर जनरल बेन्टिकलाई सहज भएको थियो । 


सतीप्रथाविरुद्ध भारतमा चालिएको त्यस्तो कदमबाट प्रभावित भएकै कारण जंगबहादुर र वीरशमशेरले नेपाल सरहदभित्र सतीप्रथालाई निरुत्साहित गर्ने प्रयास गरेका थिए । अंग्रेजहरूलाई आदर्श मान्ने सवालमा चन्द्रशमशेर अझ अगाडि थिए । अंग्रेजहरूको पद्धतिअन्तर्गत शिक्षा लिएर उनले कलकत्ता विश्वविद्यालयबाट म्याट्रिक उत्तीर्ण गरेका थिए । अंग्रेजी भाषामा सहज ढंगले व्यवहार चलाउन उनी सक्षम थिए । अंग्रेजहरूको सोच र व्यवहार अनुसरण गरेर उनीहरूजस्तै ‘सभ्य’ र ‘आधुनिक’ बन्ने अभिलाषा उनमा तीव्र थियो । यसले समेत उनलाई सतीप्रथा पूर्णतः उन्मूलन गर्न प्रेरित गरेको थियो । यो कुरा पैसा दिएर पर्सिभल ल्यान्डनद्वारा उनले लेखाएको किताब ‘नेपाल’मा सतीप्रथा र करियामोचन गर्ने चन्द्रशमशेर गएगुज्रेको परम्परालाई सुसंस्कृत चेतले प्रतिस्थापन गर्ने पात्र थिए भनी उल्लेख भएबाट पनि स्पष्ट हुन्छ ।


सतीप्रथाको जरा त्यति नझांगिएकाले यसलाई उन्मूलन गर्न त्यति चुनौतीपूर्ण छ भन्ने चन्द्रशमशेरले ठानेनन् । त्यसलै सतीप्रथा उन्मूलनलाई उनले करियामोचनको ‘परीक्षण’जस्तो बनाए । सतीप्रथा उन्मूलन गर्दैगर्दा उनले कुनै बिघ्नबाधाको सामना गर्नुपरेन, जसका कारण त्यसको पाँच वर्षपछि करियामोचन गर्न उनी अग्रसर भए । नेपाली समाजमा करियाप्रथाभन्दा कैयौँ गुणा बढी झांगिएको जातपात र छुवाछुतप्रथालाई चाहिँ उनले त्यसउप्रान्त पनि कानुनी संरक्षण दिइरहे ।