• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हरि अधिकारी 
२०७७ भदौ २० शनिबार ०८:५३:००
सम्झना

राहत इन्दौरी : एक मूर्धन्य कविको देहावसानमा

२०७७ भदौ २० शनिबार ०८:५३:००
हरि अधिकारी 


आफ्ना साना आकारका, सरल संवेद्य र मर्मस्पर्शी कविता र गीत–गजलका लागि प्रसिद्ध थिए, राहत इन्दौरी । नाटकीय र प्रभावपूर्ण भाव–भंगिमाका साथ कविता वाचन गरेर हर कवि सम्मेलन वा मुसायराका श्रोताहरूलाई मन्त्रमुग्ध पार्न सक्ने अद्भूत कलाका लागि समेत सर्वप्रशंसित र लोकप्रिय सायर इन्दौरीको गत ११ अगस्टका दिन कोभिड–१९ भाइरसको संक्रमणका कारण ७० वर्षको उमेरमा भारत, मध्यप्रदेश राज्यस्थित उनकै गृहनगर इन्दौरमा निधन भयो । राहत इन्दौरी मधुमेह, उच्च–रक्तचाप र श्वासप्रश्वाससम्बन्धी जटिल स्वास्थ्य समस्यासँग लामो समयदेखि जुधिरहेका थिए ।


करोडौँ भारतीय काव्यप्रेमीहरूका प्रियवर ती जनकवि अत्यधिक मद्यपानको खराब अम्मलमा फसेका थिए । त्यसले गर्दा उनको स्वास्थ्य कमजोर हुँदै गएको थियो । आफ्नो स्वास्थ्य–स्थितिको संज्ञान भएर हो वा किन हो, पछिल्लो समयमा राहत इन्दौरी आफ्ना शे’रहरूमा मृत्युको कुरा अलि बढी नै मात्रामा उल्लेख गर्न थालेका थिए । हालैका उनका दुई शे’रमा उनले भनेका थिए :

 

घर से यह सोच के निकला हुँ कि मर जाना है 
अब कोई राह दिखा दे के किधर जाना है । 
दो गज सही यह मेरी मिल्कियत तो है 
ऐ मौत तूने मुझे जमीन्दार कर दिया ।

 

आफ्नै मृत्युको चर्चा यस्तो उन्मुक्त भाव र ठाँटबाँटका साथ गर्न सायद राहत इन्दौरी जस्तो कविले मात्र सक्छ । राहतका शे’रहरूको सर्सर्ती अध्ययन गर्दा पहिले–पहिले पनि उनले मृत्युजस्तो गम्भीर विषयमा समेत रोमान्टिक काव्यिक विमर्श गरेका रहेछन् भन्ने थाहा हुन्छ । उनका यी दुई शे’र :

 

मैँ मर जाउँ तो मेरी एक अलग पहिचान लिख देना
लहू से मेरी पेसानी में हिन्दुस्तान लिख देना ।
जनाजे मे मेरे लिख देना यारों
मोहब्बत करनेवाला चला जा रहा है ।

 

राहत इन्दौरीको सर्वाधिक ख्याति कवि सम्मेलन वा उर्दू मुसायराको चमत्कारी सायरका रूपमा छ । मुसायराहरूमा भाग लिन र तिनमा आफ्नो मजबुत उपस्थिति दर्ता गराउन थाल्नुअघि र धेरै पछिसम्म, सँगसँगै पनि राहतले हिन्दी र उर्दू दुवै भाषामा सयौँ भावप्रवण कविता, नज्म र सायरीको रचना गरेका छन् । राहत इन्दौरीका कविता र नज्मका प्रकाशित संग्रहहरू यस प्रकार छन् : 


धूप बहुत है, रुत, मेरे बाद, पाँचवाँ दरवेश, लम्हे लम्हे, चाँद पागल है, दो कदम और सही, नाराज, र मौजूद । जनजिभ्रोले सजिलै टिप्न सक्ने सरल शब्दबाट बुनिएका तर मानवीय संवेदनालाई गहिरोसँग छुन सक्ने राहतका कविताको आम र खास दुवै किसिमका पाठकहरूले स्वागत त गरेका हुन्, तर साहित्यिक वृत्तमा उनका कविताहरूले पाउनुपर्नेजति चर्चा कहिल्यै पनि पाएका छैनन् । संसारभर निरन्तर रूपमा भइरहने कवि सम्मेलन र मुसायराहरूको पहिलो रोजाइमा पर्ने अत्यन्त लोकप्रिय कवि–सायर भएको कारणले उनलाई सस्तो मञ्चीय सर्जक ठानेर हो वा किन हो, साहित्यका समालोचक, विद्यार्थी र अनुसन्धानकर्ताहरूले उनका रचनाहरूको अध्ययन गर्ने, तिनको चर्चा चलाउने र तिनका बारेमा लेख्ने कुनै जमर्को गरेको देखिँदैन । 

राहत इन्दौरीलाई पुरस्कार र सम्मानका मामिलालाई लिएर भारत सरकारले पूरै बेवास्ता त गरेकै थियो, त्यस देशमा सक्रिय साहित्यिक प्रतिष्ठानले पनि उनको विशद योगदानको सधैँ उपेक्षा नै गर्दै आएको पाइन्छ


अथाह जनमानसका प्रिय कवि राहत इन्दौरीलाई पुरस्कार र सम्मानका मामिलालाई लिएर भारत सरकारले पूरै बेवास्ता त गरेकै थियो, त्यस देशमा सक्रिय अनगन्ती साहित्यिक प्रतिष्ठानहरूले पनि उर्दू कविताको क्षेत्रमा उनको विशद योगदानको सधैँ उपेक्षा नै गर्दै आएको पाइन्छ । वशीर बद्र, वशिम बरेलवी र मुनब्बर रानाका साथ आजको हिन्दुस्थानको उर्दू कविताका चार प्रमुख हस्ताक्षरमध्ये एक मानिने राहत इन्दौरी यसरी उपेक्षित रहनुमा आफ्नो व्यक्तित्व र कामको प्रचार गरेर कुनै किसिमको मान–सम्मान प्राप्त गर्नमा उनको गहिरो अरुचि त जिम्मेवार छ नै, साथै एक शततः जागरुक सर्जकका रूपमा उनले गर्दै आएको सत्ताका अपकर्महरूको प्रस्ट र चर्को विरोध पनि त्यत्तिकै ठूलो कारण रहेको छ । सन् २०१४ पछि भारतको केन्द्रीय सत्तामा विराजमान भएको उग्र हिन्दुवादी भारतीय जनता पार्टीको सरकारका आँखामा त उनी कसिंगरजस्तै भएको हुनुपर्छ । 


मुसलमानलगायत अल्पसंख्यक समुदाय, कानुनको राज्यको पैरवी गर्ने बौद्धिक वर्ग, प्रगतिशील साहित्यिक जगत् र राजनीतिक विपक्ष आदि सबैलाई निषेध गर्दै, दबाउँदै भारतलाई हिन्दुराष्ट्रमा परिणत गर्ने एकल एजेन्डामा काम गरिरहेको भारतीय जनता पार्टीको सरकारका कर्ताधर्ताहरूको चुरीफुरीमाथि कडा प्रहार गर्दै राहतले लेखेका केही शे’रका बान्की यस प्रकार छन् : 

 

अगर खिलाफ हैं तो हो जाने दो, जान थोडी है
ये सब धुवाँ है, कोई आसमान थोडी है । 
आज जो साहिबे मसनद है कल नहीं रहेंगे 
किरायेदार है जाती मकान थोडी है ।
सभी का खून है शामिल यहाँ की मिट्टी में 
किसी के बाप का हिन्दुस्तान थोडी है ।

 

राहतले लेखेका र मुसायराहरूमा पूरै नाटकीय मुद्रामा सुनाउने गरेका माथिका द्विपदीहरू पछिल्लो समय, खासगरी नरेन्द्र मोदीको सरकारले लागू गर्न खोजेको नागरिकता संशोधन ऐनको देशव्यापी विरोध भएका वेलामा त्यस विभेदकारी ऐनको खिलाफमा उभिएका प्रदर्शनकारीहरूका लागि ‘एन्थेम्’ अर्थात् जागरण–गान बन्न पुगेको थियो । यी द्विपदीहरूलाई पाकिस्तानका महान् कवि फैज अहमद फैजले जनरल जिया–उल–हकको सैनिक तानाशाहीका वेला लेखेको ‘हम देखेंगे’ शीर्षकको अमर प्रतिरोधी कविताकै समकक्ष राखेका थिए, प्रदर्शनकारीहरूले । 


मध्यप्रदेशको देवास भन्ने सानो ठाउँबाट इन्दौर सहरमा बसाइँ सरेका मिस्त्री रफतुल्लाह कुरैसीका छोरा राहतले बाल्यकाल गरिबीमा बिताएका थिए । उनमा पढाइप्रति ठूलो लगाव थियो । उनका पिताजी पनि छोराले पढे–लेखेर नाम कमाओस् र आफूलाई मिस्त्रीको तहबाट माथि उठाओस् भन्ने चाहन्थे । राहतले आफ्नो रुचि र बाबुको इच्छा दुवैको मान राख्दै उर्दू साहित्यमा एमए गरे, संसारभर आयोजना गरिने उर्दू मुसायरामाथि अनुसन्धान गरेर पिएचडीको उपाधि पनि हासिल गरे र गृहनगरको एउटा कलेजमा करिब १७ वर्ष उर्दू साहित्य पढाए पनि । तर, उनको वास्तविक ख्याति भने आफ्नो नाम राहतका पछाडि कुलनाम कुरैसीको सट्टा इन्दौरी राखेर गीत–गजल र कविता लेख्न अनि मुसायराहरूमा सरिक हुन थालेपछि चुलिएको हो । त्यसो त उनले हिन्दी सिनेमाहरूका लागि गीत पनि लेखेका छन् । सर, खुद्दार, करिब, मीनाक्षी, मुन्नाभाइ एमबिबिएस, मिसन कास्मिर, नाराजलगायत करिब २० वटा फिल्मका लागि गीत लेखेका छन् राहतले ।