• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सुशीला श्रेष्ठ
२०७७ भदौ २० शनिबार ०६:२९:००
सम्झना

तिज : नेपाली ‘कम्युनिस्ट’जस्तै विलासी बन्यो 

२०७७ भदौ २० शनिबार ०६:२९:००
सुशीला श्रेष्ठ

 

कोरोनाको कहरबीच तिजले पनि यो वर्षका लागि बिदा लियो । यस वर्ष अघिल्ला वर्षहरूजस्तो महिलाले तिजलाई मनाउन पाएनन् । हाम्रा लागि चाहिँ तिजजस्ता महिलासँग सम्बन्धित पर्वले मनको सम्झनामा बेग्लै अनुभूति बोकेर आउँछन् । 

 

म त्यसवेलाका तिज सम्झिन थाल्छु । तिजलाई महिलाले वर्षदिन दुःख पोखेर एक दिन हाँसखेल गर्न पाउने क्षणका रूपमा लिइन्थ्यो । अनि हाम्रा लागि भने राजनीतिक चेतना विस्तार गर्ने माध्यमजस्तो हुन्थ्यो, तिज । तर, अचेल तिज नेपाली कम्युनिस्ट आन्दोलनजस्तै विलासी बन्न पुगेको छ । 

 

सानो छँदा मैले तिजलाई दर खाने दिन वा ढकने खाने दिन भनेर बुझेकी थिएँ । म ताप्लेजुङ जिल्ला लिम्बुवान भूमिमा जन्मेँ र हुर्कें । ००७ सालपछि फुङलिङ बजार जिल्ला सदरमुकामको रूपमा व्यवस्थित हुन थाल्यो । मानिसहरू गाउँबाट बजार आउन थाले । हामी पनि ००८ सालमा बजार आयौँ । ०१६ सालमा आमाबुबाले घर बनाउनुभयो । हाम्रो घरमा काफ्ले बाजे र थापा काकाले पसल चलाउनुभयो । हरेक वर्षको तिजको दिन दुवै परिवारको घरमा चेलीबेटी बोलाउने र अचार, तरकारी र मासुसहित ‘ढकने’ (चामल घिउमा भुटेर दूधमा पकाउने) खुवाउने र खाने चलन थियो । तर, नाचगान हुने चलन थिएन । अहिले पनि नेवार समाजले क्वाँटी पुर्णिमा, तराई समुदायले जितिया, जनजाति समुदायले वैशाखे र मंसिर पूर्णिमालगायत आफ्नो चाडमा चेलीबेटीलाई बोलाएर खुवाउनुका साथै भलाकुसारी गर्ने चलन कायमै छ । 

 

त्यसवेला महिलालाई असार, साउनको खेतीको चटारो सकिएपछि माइतीले बोलाउने र २–४ दिन आरामले बस्न दिने चलन थियो । माइत आउने र आफ्नो दुःख–सुख पोख्ने चलन राम्रो पनि हो । म ०३९ सालमा सुत्केरी हँुदा उत्तरा कोइराला दिदीको डल्लुको घरमा बसेकी थिएँ । महिलाले तिजको दिन बिहान उज्यालो भएदेखि बेलुका अँध्यारो हुन्जेलसम्म नाचेको देखेर म छक्क परेँ । ५–१० जना महिला मादल र ताली बजाइरहेका थिए । मैले झ्यालबाट दिनभरि हेरेँ । उत्तरा दिदीले पश्चिमतिरका बहिनीहरू हुन् भनेर मलाई जानकारी गराउनुभएको थियो । मैले तिज मान्ने चलन पूर्वमा भन्दा पश्चिममा अलिक बढी भएको महसुस गरेँ ।

 

म ०४० सालमा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य भएँ । केन्द्रीय समितिको बैठक सकेर रुपन्देहीबाट पूर्व फर्कें । तिजको दिन रहेछ । वर–पीपलको फेदमा ५–१० जनादेखि २०–२५ जनासम्म महिला मादल बजाउँदै घरपरिवारभित्रको पीडादायी गीत बनाएर गाउँदै–नाच्दै गरेको बाटोभरि देखेँ । 
उनीहरू गाउँदै थिए :


आकाशकी दिदी पातालकी बहिनी,
कहाँ होला तिम्रो हाम्रो भेट
वर्षदिनको तिज आउला बाबा लिन आउलान्
त्यहीँ होला मेरी बैनी तिम्रो हाम्रो भेट’

 

‘आमाले पकाएको चिचिन्डी र घिरौली,
सासूले पकाएको करकली,
खाम भने करकली ज्यानै मरकली
नखाम भने करकली, सासू झरकली’

 

हामी त्यसवेला नेकपा (माले)को मातहतमा पञ्चायतविरोधी अभियानमा लागेका थियौँ । पार्टीले पञ्चायतलाई उपयोग गर्ने नीति लिएको थियो । हाम्रो अभियानलाई कसरी आमनेपाली महिलाको बीचमा पुर्‍याउने ? महिलालाई घरभित्रको बुहार्तनको कामबाट कसरी बाहिर निकाल्ने ? महिलाले भोगिरहेको पीडाबाट कसरी मुक्ति दिलाउने ? गाउँघरमा भएको सामाजिक राजनीतिक घटनालाई महिलाको सरोकारको विषय बनाएर कसरी चेतना जगाउने ? यसका लागि तिजको दिनलाई प्रयोग गर्नु उपयुक्त हुने निर्णय लियौँ ।

 

०४२-४३ सालदेखि अखिल नेपाल महिला संघले तिजको दिनलाई सामाजिक जागरण फैलाउने रूपमा मनाउने निर्णय गर्‍यो । हामीले देशैभरि ‘तिजी गीति कार्यक्रम’ गर्ने निर्णय गर्‍यौँ । उक्त कार्यक्रममा लुम्बिनी अञ्चलले सफलता प्राप्त गर्‍यो । अरू अञ्चलमा त्यो रूपमा सफलता प्राप्त हुन सकेन । अखिल नेपाल महिला संघ लुम्बिनी अञ्चल समितिले ‘तिजी गीतिमाला’ प्रकाशन गर्‍यो । रूपन्देही जिल्लाको बुटवल गोलपार्कमा ०४५ सालको तिजमा महिलाहरू भेला भएर गीत गाउँदै–नाच्दै तिजी गीति कार्यक्रम भव्यताका साथ मनाउन थाले । त्यसवेलाको गीत अहिले पनि सम्झिन्छु : 

 

‘नेपालमा नयाँ तिज अझै आ‘छैन 
गरिबले पेटभरि खान पा‘छैन । 
उठ हौ दिदीबैनी, राइफल बोकी लड्न जाम्, 
पढ्ने इच्छा छँदै छ, जुट है दिदीबैनी स्कुल पढ्न जाम्’

 

कार्यक्रम थलोमा पुलिस आए । दमन गरे । मैया भट्टराई र कविता पौडेललगायतका महिलालाई गिरफ्तार गरे । दमनका बाबजुद पनि तिजी गीति कार्यक्रम हरेक वर्ष देशैभरि मन्दिर र चौतारामा व्यवस्थित रूपले मनाइन थाल्यो । यस्ता कार्यक्रमको अगुवाइ कविता पौडेल, मैया भट्टराई, रुक्मिणि कुँवर, सीता खरेल, राधा ज्ञवाली, शान्ता मानवी, मैना भण्डारी आदिले गर्नुभएको थियो । तिजी गीति कार्यक्रम गर्दासमेत पञ्चायत व्यवस्थाका पक्षधरले धरपकड र दमन गरेकाले जनचेतना जागरण गर्न थप सहयोग मिलेको थियो । उहाँहरूले बहुदल आएपछि पनि निरन्तर तिज कार्यक्रम गरिरहनुभयो । जिल्ला–जिल्लामा तिजी गीति प्रतियोगिता कार्यक्रम गर्दै अञ्चलस्तरीय रनिङ सिल्ड प्रतियोगिता लुम्बिनी अञ्चल अखिल नेपाल महिला संघले आयोजना गरिरह्यो । ०५७ सालमा पाल्पा जिल्ला अखिल नेपाल महिला संघ विजयी भई सिल्ड हात पार्‍यो । उक्त ठूलो सिल्ड अहिले पनि पाल्पा जिल्लामा थन्किएर बसेको छ । त्यसपछि उक्त कार्यक्रम हुन सकेन।

अचेल तिज नेपाली कम्युनिस्ट आन्दोलनजस्तै विलासी बन्न पुगेको छ । बहुदलको आगमनले राजनीतिक परिवर्तन भयो । तर, सामन्ती पितृसत्तात्मक सामाजिक सोचमा कुनै परिवर्तन भएको छैन ।

 

नेकपा एमालेले महाकाली सन्धि संसद्बाट पास गरी राष्ट्रघात गर्‍यो । ०५४ सालमा पार्टी विभाजन भई नेकपा (माले) बन्यो । महिला समानताको पक्षधर धेरै महिला महाकाली सन्धिको विपक्षमा उभिए । महिला समानता र सशक्तीकरणका लागि कठिन संघर्ष गर्दै आएका महिला नेता पार्टी एकता भएपछि ओझेलमा परे । महिलामाथि हुने हिंसाको विरोधमा लागेका समानता पक्षधर महिला अभियन्ताहरूको सबल नेतृत्व विस्थापित भएको छ । अनेमसंघले समग्र महिलाको नेतृत्व गर्ने अपेक्षामाथि कुठाराघात भएको छ। 

 

हिजो उठाएका महिलाको समानताको मुद्दा ओझेलमा परेको छ । महिला समानता र अधिकारको पक्षपोषण हुने कुरा निकै टाढा पुगेको छ । तिजमा गरगहना, लुगाफाटो र खानपिनको आडम्बर र होडबाजीले उपभोक्तावादी चिन्तनको विकास भएको छ । योजनाबद्ध सामाजिक रूपान्तरणको अभियानलाई आजको तिजले बोक्न सकेको छैन । हुन त तिज सबै नेपाली महिलाको सांस्कृतिक चाड होइन । यसलाई राज्यले महिलालाई दिएको प्रोत्साहन सरकारी छुट्टीलाई सदुपयोग गर्ने र साथीहरूको लहैलहैमा लागेर रमाइलो गरी समय बिताउने उद्देश्यले रातो साडी, हरियो चुरा, हरियो पोतेमा छड्के तिलहरीका साथै गरगहनाले सजिएर राम्रो बन्ने अस्वस्थ होडबाजीमा दिदीबहिनीहरू लागेका छन् । चुरा र पोतेमा मात्र अर्बौं रुपैयाँ फजुलमा खर्च भएको छ ।

 

महिलालाई राज्य र समाजले त्यस्तै भुमरीभित्र अलमल्याएर राख्ने कुचेष्टा गरिरहेको छ । बहुदलको आगमनले राजनीतिक परिवर्तन भयो । तर, सामन्ती पितृसत्तात्मक सामाजिक सोचमा कुनै परिवर्तन भएको छैन । हिजो आन्दोलनमा लागेका महिलाहरू महिला आन्दोलनलाई सशक्त बनाउने, महिला समानता प्राप्त गर्ने अभियानमा कहाँ चुकेका छन्, खोजी गर्नुपर्ने बिषय बनेको छ । कुन गुटमा लाग्दा आफूले के अवसर प्राप्त गर्न सकिन्छ भन्ने अवसरको अपेक्षामा तल्लीन भएजस्तो देखिन्छ । अवसर प्राप्त नगर्नेहरूको आवाज मन्द भएको छ । जनताले जे सोचेर ठूलो त्याग, तपस्या र बलिदान गरे, परिवर्तन ल्याए, यो परिवर्तनको उपलब्धि जनताले पाउन सकेका छैनन् ।