• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
अरुन्धती रोय
२०७७ भदौ २७ शनिबार ०९:४७:००
सम्झना

असंख्य सेप्टेम्बर ११

२०७७ भदौ २७ शनिबार ०९:४७:००
अरुन्धती रोय


जे बिर्सन सकिन्न, त्यसलाई सम्झाउन वार्षिकी आउनुपर्दैन । सेप्टेम्बर भयानक वर्षगाँठहरूको महिना हो । अझ अमेरिकी नागरिकका मनमा ‘सेप्टेम्बर ११’ एउटा त्रासदी हो । त्यस विनाशकारी आतंकवादी हमलामा तीन हजार मान्छेले ज्यान गुमाएका थिए । पीडितको वेदना अझै गहिरो छ । आक्रोश अझै तीक्ष्ण छ । आँसु सुकेका छैनन् । र, संसारभरि नै एउटा अनौठो र घातक युद्ध छेडिएको छ । तर, प्रियजन गुमाउनेहरू भलिभाँती जान्दछन्– कुनै पनि युद्ध, कुनै पनि बदलाको कार्बाही र अरू कसैका प्रियजन र सन्तानमाथि खसाइएका बमले न उनीहरूको पीडाको धार भुत्ते हुन्छ, न तिनका प्रियजन नै फर्किन्छन् । युद्धले मृतकहरूको बदला लिन सक्दैन । युद्ध त उनीहरूको स्मृतिको निर्मम अपवित्रीकरण मात्र हो ।


सेप्टेम्बर ११ । यो मितिले सन् २००१ को सेप्टेम्बर ११ मा आफन्त गुमाउने अमेरिकीहरूका लागि मात्रै अर्थ राख्दैन । संसारका अन्य देशमा पनि सेप्टेम्बर ११ युगौँदेखि महत्वपूर्ण मिति रहँदै आएको छ । यस दिनको इतिहास खोतल्नुको अभिप्राय कसैमाथि दोषारोपण गर्नु होइन, न कसैलाई उक्साउनु नै हो । इतिहासका दुःख बाँडौँ, अभिप्राय यति मात्रै हो । इतिहासमा लागेको कुहिरो फाटोस्, कामना यत्ति हो । सेप्टेम्बर ११ को इतिहास उत्खनन गर्नुको उद्देश्य अमेरिकी नागरिकलाई सबैभन्दा विनीत र मानवीय शैलीमा भन्नु हो– ‘तपाईंहरूलाई दुःखको संसारमा स्वागत छ !’ 


सन् १९७३ सेप्टेम्बर ११ मा चिलीमा जनरल पिनोसेले राष्ट्रपति साल्भाडोर आलेन्देको लोकतान्त्रिक तवरले निर्वाचित सरकार ढालेका थिए । अमेरिकी गुप्तचर संस्था सिआइएको साथ र समर्थन पाएर पिनोसेले ‘कु’ गरेका थिए । त्यही दिन आलेन्दे राष्ट्रपति भवनमा मृत फेला परेका थिए । उनले आत्महत्या गरेका थिए वा उनको हत्या भएको थियो, कदापि थाहा पाइनेछैन । त्यसपछि सुरु भएको आतंकको राजमा चिलीमा हजारौँ मान्छे मारिए । हजारौँ ‘बेपत्ता’ भए । ‘फायरिङ स्क्वाड’हरूले मृत्युदण्ड दिन्थे । देशैभरि बन्दी शिविर र यातना–शाला खोलिएका थिए । मृतकहरूलाई खानीका सुरुङ र सामूहिक चिहानमा गाडिन्थ्यो । मध्यरातमा कसले ढोका ढकढकाउने हो, कुन दिन बेपत्ता भइने हो, कतिखेर गिरफ्तारीमा परिने हो, कति वेला यातना पाइने हो..., चिलीका जनताले यस्ता भयमा किचिएर सोह्र वर्षभन्दा बढी समय बिताए । 

सेप्टेम्बर ११ को इतिहास उत्खनन गर्नुको उद्देश्य अमेरिकी नागरिकलाई सबैभन्दा विनीत र मानवीय शैलीमा भन्नु हो– ‘तपाईंहरूलाई दुःखको संसारमा स्वागत छ !’

 

लोकतन्त्र (जतिसुकै त्रुटिपूर्ण नै किन नहोस्) मा मात्रै बाँच्ने बानी परेका मान्छेलाई तानाशाहीमा बाँच्नु र स्वतन्त्रताको निरपेक्ष क्षति भोग्नुको पीडा कल्पना गर्न पनि कठिन हुन्छ । सवाल पिनोसेले हत्या गरेकाहरूको मात्र होइन । जीवित तर पिनोसेका हातबाट जीवन खोसिएका मान्छेहरूको पनि कुरा हो यो । 


अमेरिकी सरकारको दृष्टिमा चिली मात्र परेको थिएन, सिंगै दक्षिण अमेरिका परेको थियो । ग्वाटेमाला, कोस्टारिका, इक्वेडर, ब्राजिल, पेरु, डोमिनिकन रिपब्लिक, बोलिभिया, निकारागुवा, होन्डुरस, पानामा, एल साल्भाडोर, पेरु, मेक्सिको र कोलम्बिया..., यी सारा देश सिआइएका प्रकट–अप्रकट गतिविधिका खेलमैदान बने । अमेरिका–समर्थित निरंकुश शासन, रद्दी तानाशाह, लागुऔषध कारोबारी र हतियार व्यापारीले लाखौँ ल्याटिन अमेरिकीको हत्या गरे । असंख्य जनलाई यातना दिइयो । हजारौँलाई बेपत्ता पारियो । (ती अत्याचारीमध्ये अधिकांशले आफ्नो शिल्प कुख्यात ‘स्कुल अफ द अमेरिकाज’मा सिकेका थिए । जर्जिया राज्यस्थित फोर्ट बेनिङमा रहेको यो ‘पाठशाला’ अमेरिकी सरकारको आर्थिक सहयोगले चलेको थियो । त्यहाँबाट ६० हजार स्नातक उत्पादन भएका थिए ।) दक्षिण अमेरिकी जनताले दुःख र अपमान त भोगेकै थिए, उनीहरूमाथि ‘लोकतन्त्रका लागि अयोग्य’को ठप्पा पनि लगाइयो । यस कलंकको बोझले उनीहरू थिचिए । मानौँ, दक्षिण अमेरिका यस्तो समाज थियो, जसको जिनमै ‘कु’ र नरसंहार कुँदिएका छन् । 


अमेरिकी सैन्य हस्तक्षेप व्यहोर्ने देशको सूचीमा अफ्रिका र एसियाका देश पनि छन् । सोमालिया, भियतनाम, कोरिया, इन्डोनेसिया, लाओस, कम्बोडिया आदि । दशकौँदेखि कतिवटा सेप्टेम्बरमा लाखौँ एसियाली जनतालाई बम हानिएको छ, जलाइएको छ र उनीहरूको वध गरिएको छ ? कसैले हिसाब राखेको छ ? हिरोसिमा र नागासाकीमा अगस्ट, १९४५ मा अमेरिकाले आणविक हमला गरेर हजारौँ जापानी सर्वसाधारणको संहार ग¥यो । त्यस वर्षको अगस्टपछि कतिवटा सेप्टेम्बर बितेर गए ?  


मध्यपूर्वमा पनि सेप्टेम्बर ११ को दुःखान्त प्रतिध्वनि सुनिन्छ । सन् १९२२ सेप्टेम्बर ११ मा अरब जगत्को असन्तुष्टि र आक्रोशलाई उपेक्षा गर्दै ब्रिटिस सरकारले प्यालेस्टाइनमा आफ्नो शासनाधिकार घोषणा ग¥यो । यो सन् १९१७ को बालफोर घोषणाको निरन्तरता थियो । साम्राज्यवादी ब्रिटेनले गाजा सहरको ढोकैमा आफ्नो सेना तैनाथ गरेर बालफोर घोषणा जारी गरेको थियो । घोषणाले युरोपेली यहुदीवादीलाई ‘यहुदी जनताका लागि राष्ट्रिय घर’को वाचा गरेको थियो । (त्यस बखत सूर्य कदापि नअस्ताउने साम्राज्य राष्ट्रिय घरहरू खोस्न र बाँड्न स्वतन्त्र थियो, कुनै स्कुले गुन्डाले गुच्चा बाँडेझैँ ।) 


सन् १९३७ मा विन्स्टन चर्चिलले प्यालेस्टाइनी जनताबारे भनेका थिए : ‘कुनै कुकुर डुँडमा लामो समय बस्दैमा त्यसमा उसको अन्तिम अधिकार हुन्छ भन्ने कुरा म मान्दिनँ । म त्यो अधिकारलाई स्वीकार गर्दिनँ । न स्वीकार गर्छु– अमेरिकाका रेड इन्डियन वा अस्ट्रेलियाका काला वर्णका मान्छेमाथि भयानक अत्याचार गरिएको थियो । उनीहरूमाथि अन्याय भएको होइन । उनीहरूभन्दा शक्तिशाली, उच्च श्रेणीको, अनुभवी र बुद्धिमान् जाति आयो र उनीहरूको ठाउँ ओगट्यो ।’ 


चर्चिल–वाणीले प्यालेस्टाइनीप्रति इजरायली राज्यको रबैयाका निम्ति प्रवृत्ति स्थापित गरिदियो । सन् १९६९ मा इजरायली प्रधानमन्त्री गोल्डा मेयरले अभिव्यक्ति दिइन्– ‘प्यालेस्टाइनीहरूको अस्तित्व छैन ।’ अर्का प्रधानमन्त्री लेभी एस्कोलले भने, ‘प्यालेस्टाइनीहरू कहाँ छन् ? म यहाँ (प्यालेस्टाइनमा) आउँदा साढे दुई लाख गैरयहुदी थिए, मूलतः अरब र बेदुइन ।’ अर्का प्रधानमन्त्री मेनाकेम बेगिनले प्यालेस्टाइनीलाई ‘दुईखुट्टे जनावर’ भने । अनि, प्रधानमन्त्री यित्ज्याक समिरले उनीहरूलाई ‘फट्यांग्रा’ उपनाम दिए, जसलाई ‘कुल्चिन सकिन्थ्यो’ । यो राष्ट्रप्रमुखहरूको भाषा हो, सामान्यजनको बोली होइन ।  


सन् १९६७ को ग्रीष्ममा इजरायलले पश्चिमी तट र गाजापट्टी कब्जा ग¥यो । अतिक्रमित भूमिमा बस्न जाने इजरायली नागरिकलाई राज्यले अनुदान र सहायता दिने भयो । हरेक दिनजसो कैयौँ प्यालेस्टाइनी परिवारलाई आफ्नो जमिन छोड्न बाध्य पारिन्छ र शरणार्थी शिविरमा धपाइन्छ । इजरायलमा बसोवास गरिरहेका प्यालेस्टाइनीले इजरायलीका झैँ अधिकार पाउँदैनन् र आफ्नै मातृभूमिमा दोस्रो दर्जाका नागरिक भएर बसेका छन् ।  

 

यो मितिले सन् २००१ को सेप्टेम्बर ११ मा आफन्त गुमाउने अमेरिकीहरूका लागि मात्रै अर्थ राख्दैन । संसारका अन्य देशमा पनि सेप्टेम्बर ११ युगौँदेखि महत्वपूर्ण मिति रहँदै आएको छ । यस दिनको इतिहास खोतल्नुको अभिप्राय कसैमाथि दोषारोपण गर्नु होइन, न कसैलाई उक्साउनु नै हो ।

 

दशकौँदेखि विद्रोह भइरहेका छन्, लडाइँ चलिरहेका छन् र इन्तिफादा (विप्लव) जारी छन् । हजारौँले ज्यान गुमाएका छन् । सन्धि र सम्झौतामा हस्ताक्षर गरिन्छन् । युद्धविराम घोषणा गरिन्छन् । युद्धविराम भंग गरिन्छन् । तर, रक्तपात अन्त्य हुँदैन । प्यालेस्टाइनमा आजपर्यन्त इजरायलले गैरकानुनी ढंगले कब्जा जमाएको छ । यहाँका मानिस अमानवीय अवस्थामा बाँचिरहेका छन् । सामूहिक सजाय र चौबीसघन्टे कफ्र्यु भोगिरहेका छन् । दिनहुँजसो उनीहरू अपमानित हुन्छन् र उनीहरूलाई पशुवत् व्यवहार गरिन्छ । कुन दिन उनीहरूका घर भत्काइने हुन्, कति खेर उनीहरूका सन्तानलाई गोली ठोकिने हो, कहिले उनीहरूका अमूल्य रूख काटिने हुन्, कति वेला सडक बन्द हुने हो, प्यालेस्टाइनी बेखबर रहन्छन् । 


आक्रोश नियन्त्रण गर्न नसक्ने प्यालेस्टाइनी युवा मानवबममा परिणत हुन्छन् र इजरायलका सडक र सार्वजनिक स्थलमा मडारिन्छन् । आफू विस्फोट हुन्छन् र जनसाधारणलाई मार्छन् । दैनन्दिन जीवनमा आतंक भरिदिन्छन् । अन्ततः दुवै समाजका शंका र आपसी घृणा झन् कठोर बन्छन् । हरेक बम विस्फोटले निर्दयी प्रतिशोध आमन्त्रण गर्छ र प्यालेस्टाइनी जनताको कष्टमाथि कष्ट थप्छ । यसै पनि आत्मघाती बम हमला व्यक्तिगत निराशाको कदम हो, क्रान्तिकारी रणनीति होइन । प्यालेस्टाइनी आक्रमणले इजरायली नागरिकमा भय त पैदा गर्ला, तर तिनले इजरायली सरकारलाई बहाना प्रदान गर्नेछन् । बहाना, प्यालेस्टाइनी भूभागमा दैनिक घुसपैठ गर्ने उत्तम बहाना । बहाना, उन्नाइसौँ शताब्दीको पुरानो चालढालयुक्त उपनिवेशवादलाई नव–चालढालयुक्त एक्काइसौँ शताब्दीको परिधानमा सजाउने सर्वाेत्तम बहाना । 


अमेरिकी सरकार सर्वदा इजरायलको कट्टरतम राजनीतिक र सैन्य मित्र रहिआएको छ । अमेरिकी सरकारले सधैँ इजरायलको साथ दिएको छ । उसले इजरायल–प्यालेस्टाइन संघर्षमा शान्तिपूर्ण र न्यायसंगत समाधान खोज्ने संयुक्त राष्ट्रसंघको हरेकजसो प्रस्तावमा भाँजो हालेको छ । अमेरिकी सरकारले इजरायलले लडेका प्रायः युद्धमा सघाएको छ । इजरायलले प्यालेस्टाइनमाथि आक्रमण गर्दा प्यालेस्टाइनीका घर ध्वस्त पार्ने मिसाइल अमेरिकी हुन्छन् । र, हरेक वर्ष इजरायलले अमेरिकाबाट अर्बाैं डलर प्राप्त गर्छ । 


मध्यपूर्वको अर्काे भागमा सेप्टेम्बर ११ ले ताजा स्मृति आह्वान गर्छ । सन् १९९० को सेप्टेम्बर ११ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस सिनियरले कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै इराकविरुद्ध युद्धमा जाने आफ्नो सरकारको निर्णय घोषणा गरेका थिए । अमेरिकी सरकार सद्दाम हुसेनलाई युद्ध अपराधी र क्रूर सैन्य तानाशाह भन्थ्यो, जसले आफ्नै जनताको आमसंहार गरेका थिए । निःसन्देह सद्दाम अमेरिकाले भनेजस्तै व्यक्ति थिए । सन् १९८८ मा उनले उत्तरी इराकका सयौँ गाउँ नष्ट गरेका थिए । रासायनिक हतियार र मेसिनगन प्रयोग गरेर हजारौँ कुर्द नागरिकको हत्या गरेका थिए ।

 

आज हामीले थाहा पाएका छौँ, त्यही साल अमेरिकी सरकारले सद्दामलाई अमेरिकी कृषि उत्पादन खरिद गर्न पचास करोड डलर अनुदान दिएको थियो । कुर्दहरूको आमसंहार अभियान सफलतापूर्वक सम्पन्न गरेपछि अर्काे वर्ष अमेरिकी सरकारले उनलाई दोब्बर अनुदान दियो, एक अर्ब डलर । सद्दामलाई अमेरिकाले के मात्रै दिएन ? एन्थ्य्राक्सका निम्ति उच्च गुणस्तरको बीजाणु दियो । हेलिकोप्टरहरू दियो । अनि दियो, सैन्य र गैरसैन्य प्रयोजनमा प्रयोग गर्न सकिने दोहोरो उपयोगी पदार्थ, जसलाई रासायनिक र जैविक हतियार बनाउन प्रयोग गर्न सकिन्थ्यो । सद्दाम जतिवेला निकृष्ट नृशंसतामा संलग्न थिए, अमेरिकी र ब्रिटिस सरकार उनका घनिष्ट मित्र थिए । 


सन् १९९० को अगस्टमा सद्दाम हुसेनले कुवेतमाथि आक्रमण गरे । अमेरिकी सरकारको नजरमा युद्ध सुरु गर्नु उनको पाप थिएन । तर, स्वतन्त्रतापूर्वक, मालिकहरूको आदेशविना कुवेतमाथि धाबा बोल्नु उनको अपराध थियो । यो स्वाधीनताको प्रदर्शन खाडीमा शक्ति समीकरण बिथोल्न पर्याप्त थियो । त्यसैले सद्दाम हुसेनको विनाश तय गरियो । त्यसपछि अमेरिकी र ब्रिटिस फौजले वर्षाैंसम्म इराकमा हजारौँ मिसाइल र बम हाने । इराकका चौर, खेत, खलियानमा सयौँ टन ह्रासित युरेनियम छरिएका थिए । दक्षिणी इराकमा बालबच्चामा क्यान्सर हुने क्रम चार गुणाले बढेको थियो । आर्थिक प्रतिबन्धका कारण इराकी नागरिक खाद्यान्न, सफा खानेपानी, औषधिजस्ता आधारभूत आवश्यकताबाट वञ्चित भए । प्रतिबन्धका कारण पाँच लाखभन्दा बढी इराकी बालबच्चाले ज्यान गुमाए । 


इराकसँग ‘आमविनाशकारी हतियार’ भए-नभएकोबारे हतियार निरीक्षकहरूका भनाइ परस्पर विरोधी थिए । धेरैले उसको शस्त्रागार ध्वस्त भइसकेकाले आमविनाशकारी हतियार बनाउने उसको सामथ्र्य नै नभएको तर्क प्रस्तुत गरेका थिए । बरु, अमेरिकाको कोतमा थरी–थरीका आणविक र रासायनिक हतियार छन् भन्नेमा कुनै संशय छैन । अमेरिकी सरकारले हतियार निरीक्षकलाई स्वागत गर्ला ? ब्रिटेनले गर्ला ? इजरायले गर्ला ? 


मानिलिऊँ, इराकसँग आणविक हतियार थियो । त्यसले अमेरिकाको पूर्वाक्रमणलाई न्यायसंगत सिद्ध गर्छ ? अमेरिकासँग संसारको सबैभन्दा विशाल शस्त्रागार छ, आणविक हतियारको । ऊ मात्रै यस्तो देश हो, जसले गैरसैनिक जनसंख्याविरुद्ध आणविक हतियार प्रयोग गरेको छ । 


लोकोपकारको अभिप्रायले युद्ध लडिँदैन । युद्ध त आधिपत्यका निम्ति लडिन्छ, व्यापारका निम्ति लडिन्छ । संसारको तेलमाथि अमेरिकाको नियन्त्रण छ । यही नियन्त्रणको रक्षा गर्नु अमेरिकी विदेश नीतिको मूल सिद्धान्त हो । मध्यपूर्वमा अमेरिकी सरकारले विक्षिप्त भएर किन पहरा दिइरहेको हुन्छ ? किनभने, संसारको दुईतिहाइ तेल सञ्चय मध्यपूर्वमै छ । तेल छ, र त अमेरिकाको इन्जिन सुमधुर ध्वनि निकाल्दै चलिरहेको छ । तेलले स्वतन्त्र बजारलाई चलायमान बनाउँछ । जसले संसारको तेलमाथि नियन्त्रण गर्छ, उसले संसारको बजारमाथि नियन्त्रण गर्छ । 


युद्धले व्यापार गर्छ । यता, हामीमाथि बम बर्सिरहेका हुन्छन्, क्रुज मिसाइल आकाशमा कावा खाइरहेका हुन्छन्, संसारलाई सुरक्षित थलो बनाउन आणविक हतियारहरू थुपारिन्छन्, उता, ठेक्कापट्टाका सम्झौतामा हस्ताक्षर भइरहेका हुन्छन्, पेटेन्टहरू दर्ता भइरहेका हुन्छन्, तेलका पाइप बिछ्याइन्छन्, प्राकृतिक स्रोत–साधनमा लुट मच्चाइन्छ, नदी र पानीको निजीकरण हुन्छ र लोकतन्त्रलाई खोक्रो बनाउँदै गइन्छ । 


आतंकवादविरुद्धको युद्धमा अमेरिकी तत्कालीन रक्षामन्त्री डोनाल्ड रम्सफेल्डको लक्ष्य स्पष्ट थियो । उनको ‘मिसन’ थियो– अमेरिकीहरूलाई ‘अमेरिकी जीवन पद्धति’ निरन्तर अंगिकार गर्न दिन विश्वलाई राजी गराउनु । तर, अमेरिकी जीवन पद्धति चिरस्थायी छैन । किनभने, यसले अमेरिकाबाहेक पनि विश्व छ भन्ने सत्यलाई स्वीकार गर्दैन ।


संयोगवश, शक्तिको निर्दिष्ट आयु हुन्छ । समय आएपछि सायद यो शक्तिशाली साम्राज्य पनि, अरू साम्राज्यजस्तै, आफैँसँग पराजित हुन्छ र आफैँभित्र विस्फोट हुन्छ । यस्तो लाग्छ– संरचनागत चिराहरू देखिन थालेका छन् । आतंकवादविरुद्धको युद्ध फैलिँदै जाँदा अमेरिकाको कर्पाेरेट हृदयमा रक्तस्राव भइरहेको छ । लोकतन्त्रको खोक्रो रट जति लगाए पनि आज संसार तीन अत्यन्त रहस्यमय संस्थाले चलाइरहेका छन्, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र विश्व व्यापार संगठन । यी तीनै संस्थामा अमेरिका हाबी हुन्छ । यिनले गोप्य तवरले निर्णय गर्छन् । यी संस्था हाँक्ने मान्छे बन्द कोठाभित्र नियुक्त हुन्छन् । उनीहरूको राजनीति, उनीहरूको आस्था, उनीहरूको अभिप्राय कसैलाई थाहा हुँदैन । उनीहरूबारे कसैलाई केही पनि थाहा हुँदैन । उनीहरूलाई कसैले निर्वाचित गरेका हुँदैनन् । ‘यी संस्थाका हाकिमले हाम्रोेतर्फबाट निर्णय लिन्छन्’ भनी आजसम्म कसैले बोलेका छैनन् । कसैले नचुनेका, दुईचारजना लोभी बैंकर र सिइओहरूले चलाएको संसार कतिन्जेल चल्छ ?

 
बालसाहित्य लेखक लेविस क्यारोलको कविता ‘द वालरस एन्ड द कार्पेन्टर’मा वालरस भन्छ, ‘वेला यही हो, धेरै चिजबारे कुरा गर्नुपर्ने वेला यही हो ।’ सायद चिजहरू झन् खराब हुनेछन् र त्यसपछि अवस्था सुध्रिनेछ । सायद स्वर्गमा सानी ईश्वर छिन्, हाम्रो स्वागतार्थ आफूलाई तयार गरिरहेकी । अर्काे संसार सम्भव छ । सम्भव छ मात्रै होइन, उनी त्यतातर्फ हिँडिसकिन् । हुन सक्छ, हामीमध्ये धेरै उनको सत्कार गर्न यहाँ हुनेछैनौँ । तर, कुनै शान्त दिनमा ध्यान दिएर सुनेँ, म उनले सास फेरिरहेको सुन्न सक्छु । 

 

(प्रसिद्ध लेखक रोयले सन् २००२, सेप्टेम्बर १८ मा न्यु मेक्सिको, सान्टा फेस्थित लेन्सिक पर्फमिङ आट्र्स सेन्टरमा ‘कम सेप्टेम्बर’ शीर्षकमा सम्भाषण दिएकी थिइन् । पछि यही वक्तृता यही शीर्षकमा निबन्धका रूपमा प्रकाशित भयो । रोयका निबन्धको प्रकाशोन्मुख नेपाली अनुवाद ‘प्रोजेक्ट प्रतिरोध’का लागि किरण दहालले अनुवाद गरेको निबन्धको सम्पादित अंश ।)