सुम्निमाले अस्वीकार के गरिन्
रुष्ट पारुहाङले मच्चाए त्राही पृथ्वीमा
कलिली जवान सुम्निमाले भन्दा नाइँ
ती सृष्टिपुरुष बहुलाए र खडेरी पारे पृथ्वीमा
र समयसँगै भर्भराउँदो तृषाग्निमा सुम्निमा जल्दै गइन्
उनको तिर्खा मेटाउने
पानीका मूल सुके
शीतका थोपा हराए
झारेन बादलले पानी
अनि के थियो त
सुम्निमा र उनको जलनका लागि ?
जिउँदै जल्दै काल पर्खनु
या पारुहाङलाई रोज्नु
मरण जलनको या जीवन हरणको
विकल्प यही दुई थियो
बुझेर पनि कि दुत्कारेकी छे उनले
छोड्यो शीतको थोपा बनाई आफ्नो वीर्य एक पातमा
बालेर धूर्त चमक आफ्ना आँखामा
ओझैलै रही हेर्यो चुपचाप
उनले मेटाएको तिर्खा–
बेखबर कि बदलिनेछ जीवन यसै–यसै
साँच्चै,
त्यो टोड्कामा कसको थियो वीर्यमिश्रित पानी ?
के पारुहाङकै वीर्य हो त
मेरी आमाले पिएर म गर्भमा आएकी ?
घामले नसुकाएको
धर्तीले नलुकाएको
हावाले नबिलाएको
एक क्रूर परिहास हो मेरो जन्म
कि म जाली विकल्पको उपज
कि म त्यही पीडक प्रेमकी प्रमाण
मेरी आमाकी अनिच्छित लोग्नेकी छोरी
म मात्र सुम्निमाकी छोरी ।