• वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कविता नेपाल
२०७७ भदौ २७ शनिबार ०८:४५:००
समाज

जाततोडक संघर्षमा समावेश नहुने ?

२०७७ भदौ २७ शनिबार ०८:४५:००
कविता नेपाल

 

सनातनी हिन्दू ब्राह्मण परिवारमा जन्मिएँ । यस्तो परिवारमा जन्मिएर हुर्किने महिलाहरूको हालत सबैलाई थाहा हुन्छ । कारण थाहा छैन, तर मेरो स्वभाव अलि विद्रोही बन्यो । आदेशको अवज्ञा गर्नमा रुचि बढ्यो । ‘यसो नगर्, उसो नगर्, यो लगा, त्यो नलगा’प्रति अटेर भएँ । कहिलेबाट यस्ती भएँ, यकिन छैन । तर, स्वभाव नै त्यस्तो बनेछ । 


झापा सदरमुकाम चन्द्रगढीस्थित गाउँमा सबै जातजातिको बसोवास भए पनि बाहुन समुदायको बाहुल्य थियो । बाहुन परिवारमा जस्तै विद्रोहीलाई पनि कज्याएर संस्कारी बनाइदिने सम्भावना ज्यादा हुन्छ । गाउँमा केही घर दलित समुदायका पनि थिए । उनीहरूमाथि गरिएको विभेदको बखान गर्नै गाह्रो छ । अहिले त अवस्था चिन्ताजनक छ भने त्यो वेला झन् कस्तो थियो होला ? 


कोही कसैमाथि जानजान वा अन्जानमै पनि गरिने विभेद देख्दा मलाई असहज लाग्थ्यो । बुझ्ने हुँदै गएपछि झगडा गर्न तम्सिन्थेँ । उपल्लो जाति भन्नेहरूका घरमा हली बस्ने प्रायः दलित हुन्थे । श्रम गरेर पसिना बगाउँथे, छाक टार्थे । उनीहरूको श्रमविना हाम्रा खेत बाँझै हुन्थे । हाम्रा आङका लुगा बनाउने उनीहरूले नै थिए र हुन् । खुकुरी, हँसिया नअर्जाप्ने हो भने गाउँमा के काम बन्थ्यो र ? जसको श्रम र सीप उपयोग गरियो, उपेक्षा पनि उनीहरूलाई नै गरियो । घर होओस् वा मन्दिर, सबैतिर उपेक्षित । बिहे बटुलोमा अलग्गै । यो रीत अझै उस्तै छ, हाम्रो गाउँमा । कम भएका दाबी होलान्, यथार्थ फरक छ । 


मानबहादुर विश्वकर्मा हाम्रा छिमेकी थिए । उनीहरूका घरमा जान हामीलाई बन्देज थियो । अटेरी भएरै छिमेकी दिदीहरूसँग नजिक भएँ । सँगै बस्न, खान थालेँ । एक दिन बिहान एक बटुको मासु खाइसकेपछि उनीहरूले भने, ‘लु है, बाहुनीले हाम्रो घरमा पाकेको सुँगुरको मासु खाएर जात बिगारी ।’ सारै मिठो थियो, मासु सुँगुरको हो भन्ने मेसै पाइनँ । बरु, अर्को एउटा आदेश तोडेकोमा खुसी नै लाग्यो । मैले भनेँ, ‘कसैले थाहा पाउँदैनन्, केही हुँदैन ।’ उनीहरूको घरबाट बाहिरिएको बाले देख्नुभयो, नुहाएर मात्रै घर पस्ने आदेश भयो । 


‘किन नुहाउने ?’ मैले प्रश्न गरेँ, बाको गाली थपियो । नुहाएर घरभित्र छिर्न लाग्दा आमाले आफूले लगाएको कानको माडबारी गहना कचौराको पानीमा चोबेर निकाल्नुभयो । त्यो पानी मेरो शरीरमा छर्किनुभयो । यी सबै रीत पूरा गर्दा पनि जिब्रोमा भने मासुको स्वाद झुन्डिएकै थियो । 

 

ऊवेला खासै ठूलो खतरा मोलेको वा उत्पात नयाँ काम गरेको भन्ने केही महसुस भएन । तर पछि लाग्यो, खासमा त्यो एउटा दुस्साहस पो गरिएको रहेछ कि ! अहिले लाग्छ, कसो मेरा प्रेमीलाई पनि नवराज विकलाई झैँ कुटिकुटी मारिएन !

 

स्कुल पढ्दादेखि नै नाटकहरू गर्थें । ०५६ सालतिर सरस्वती पूजाका वेला गाउँमै नाटक गर्ने भइयो । ‘खोसिएको सिउँदो’ शीर्षक नाटकमा मुख्य अभिनय मेरो थियो । साथीसंगी मिलेर नाटक गर्‍यौँ, गाउँमा सबैले राम्रो प्रतिक्रिया दिए । त्यसैवेलादेखि नाटकमा रस बस्यो । अनि धेरै सडक नाटक लेखियो, गरियो । मूलतः जातीय विभेदविरोधी, एकल महिलाका अधिकार, विपन्न र गरिबका अधिकारजस्ता विषय मुख्य हुन्थे । नाटक गर्नमा परिवारले नाइँनास्ती गरेनन् । दाजुका साथी रंगकर्मी कृष्ण अनमोलको हौसलाले नाटक क्षेत्रप्रति मलाई उत्साहित बनाइरह्यो । त्यसपर्यन्त निरन्तर नाटकमै छु ।


०६० को दशकमा उच्च माध्यमिक अध्ययनका लागि काठमाडौं गएँ । मदन भण्डारी कलेजमा पत्रकारिता पढ्थेँ । कलेजमा हामी एउटा सानो पत्रिका पनि प्रकाशित गथ्र्यौं । त्यही क्रममा मनोक्रान्तिका अभियन्ता डा. योगी विकासानन्दको अन्तर्वार्ता लिने मौका मिल्यो । उहाँको विचारले प्रभावित भएँ, मनोक्रान्ति शिविरमै केही समय बिताएँ । मनोक्रान्तिमा गई भनेर दाजु, बुबाहरू रिसाउनुभयो, एक किसिमले परिवारबाट बहिष्कृत भएँ । तर, मनोक्रान्ति अभियानमा देशका विभिन्न ठाउँ जाने अवसर पाएँ । त्यही क्रममा मैले नेपाली समाज, जात व्यवस्था, वर्गीय समाजबारे थोरबहुत बुझ्न र प्रत्यक्ष अनुभूत गर्न पाएँ । 


समयक्रममा झापा फर्किंदा एकजना पत्रकारसँग संगत भयो । पछि उनैसँग बिहे गर्ने टुंगोमा पुगेँ । संजोगले उनी दलित थिए । जातमा चासो नराखेकाले उनी दलित रहेछन् भन्ने पछि मात्रै थाहा पाएँ । कुनै प्रसंगमा विश्वकर्मा रहेछन् भन्ने थाहा लाग्यो, तर मलाई केही बिगारेँ भन्ने भाव आएन । चुनौती आउनेछन् भन्ने महसुस भने भयो । बरु माइतीबाट टाढै बसौँला, आफ्नो निर्णयमा अडिन्छु भन्ने निक्र्योल गरेँ । अन्ततः ०६७ साल जेठमा हामीले भागीबिहे गर्‍यौँ । 


जे हुनु थियो, त्यही भयो । दलितसँग बिहे गरेको कुरा भुसको आगोझैँ फैलियो गाउँमा । ‘कविताले कामीसँग बिहे गरी’ भन्दै गाउँ चहार्नेले केही साता कामै पाएछन् । मैले रोजेर गरेको बिहेप्रति परिवारको साथ रहला भन्ने अपेक्षा थिएन, भएन । समाजको त कुरै छाडौँ । मेरो निजी निर्णय कार्यान्वयन गरेकोमा, वैयक्तिक अधिकारको उपयोग गरेकामा भने गौरवबोध भयो ।  


उवेला खासै ठूलो खतरा मोलेको वा उत्पात नयाँ काम गरेको भन्ने केही महसुस भएन । तर पछि अनेक घटना देख्दै र भोग्दै जाँदा लाग्यो, खासमा त्यो एउटा दुस्साहस पो गरिएको रहेछ कि ! अहिले लाग्छ, कसो मेरा प्रेमीलाई पनि नवराज विकलाई झैँ कुटिकुटी मारिएनछ !


जात हाम्रो मस्तिष्कमा यसरी गढेर बसेको रहेछ कि त्यसलाई फुत्त निकालेर मिल्काउन हत्तपत्त कसैले आँट गर्न सक्दैन । मिल्काउने त परको कुरा, सोच्नसम्म सक्दैनन् धेरैले । त्यसैले मैले आफ्नो विवेकको उपयोग गरेर लिएको अत्यन्त व्यक्तिगत निर्णय पनि आखिर यो समाजका लागि गफ गर्ने, हल्ला फिँजाउने, चियो गर्ने र बहसै गर्ने विषय बनेको रहेछ । 


दलित र गैरदलितको विवाह अहिले पनि अत्यन्तै जटिल र खतरनाक विषय मानिन्छ । सबै कुरा बुझेका मान्छेले यति हिम्मत जुटाउन नसक्दा रहेछन् । सामाजिक सञ्जालमा जातीय विभेदविरोधी पोस्ट गर्दा आउने प्रतिक्रियाहरू हेर्छु, युवा भनिएकाले नै टिठ जगाइदिन्छन् । भन्नलाई त अन्तर्जातीय विवाह सामान्य प्रक्रिया हो, अब नेपाली समाज धेरै परिवर्तन भइसक्यो आदि भन्छन् । तर, जब कसैले गरेरै देखाउँछ, अनेक बहानामा खोटहरू अघि सारिन्छ । पुरानो पुस्तापछि यो कुरीति सकिनेछ भन्ने धेरैले दाबी गर्छन्, तर विश्वास गर्ने आधार बनिसकेको छैन । 


मैले बिहे गरेको एक दशक बित्यो । दश वर्षमा मेचीनदीमा धेरै पानी बग्यो । हेर्दाहेर्दै साना घर ठूला महलमा परिणत भए । साँघुरा बाटालाई एसियन हाइवेले छोएर संसारसँग हामीलाई प्रत्यक्ष जोडिसक्यो । हामीले लगाउने पहिरन फेरिए, खाना फेरिए । सिंगो संसार साँघुरिँदै गयो । तर, यो कथित विज्ञानको युगमा जातप्रतिको हाम्रो बुझाइ बदलिएन । जातप्रतिको सामाजिक चेत र दलितलाई हेर्ने दृष्टिकोण उही रह्यो । जातीय अहंकार अभिव्यक्त गर्ने पाल्सी तरिका भने नयाँ–नयाँ देखिन्छन् । 


जातका कुरा गर्नासाथ दलितसँग सँगै बसेर खाएको, पिएको छु भन्ने धेरै सुनिन्छ । त्यसो भनेर आफ्नै बडप्पन साबित गर्न कोसिस गर्नेले जातकै कारण आफूले उपभोग गरेका सुविधा र सामाजिक प्रतिष्ठाबारे चुइँक्क गर्दैनन् । नवराज विक मारिनुको मूल जड जात नै थियो । तर, आफूलाई उच्च जात ठान्नेहरूले त्यो स्विकार्नै चाहेनन् । रुकुम घटनामा नवराजलाई दोष दिनेहरूमा अधिकांश युवा थिए, आफूलाई बौद्धिक र प्रगतिशील भन्नेहरू पनि थिए । 


जात व्यवस्था नमासेसम्म देशका करिब ६० लाख दलितको मुक्ति सम्भव छैन । मूलतः हिन्दू वर्णाश्रम व्यवस्थाको उपज हो, जात व्यवस्था । जसले हिन्दू धर्मलाई आफ्नो मूल धर्म मान्छ, ऊ जातप्रथाबाट पूर्णतया मुक्त हुन असम्भव छ । धार्मिक अन्धताबाट मुक्त नभएसम्म दलितहरूले सधैँ उत्पीडन भोगिरहनु नै पर्छ । 


०२० को मुलुकी ऐनमै छुवाछुत प्रथा अन्त्यको घोषणा भएको थियो । यसअघि कानुनमा धेरै कुरा लेखिए पनि ती सबै कागजमै थन्क्याउने काम भए । न छुवाछुत गर्नेले सजाय पाए, न उत्पीडितले न्याय । गणतन्त्रमा पुगिसकेका छौँ, अनेक रूपरंगमा उही समस्या ब्युँतिरहेछ । नवराज विक, अंगिरा पासी, अजित मिजारहरूका कथा अझै दोहोरिने निश्चित जस्तै छ । 


०७२ को संविधानको प्रस्तावनामै जातीय विभेद गर्न नपाइने उल्लेख छ । धर्म, वर्ण, वर्ग वा कामका आधारमा छुवाछुतको भेदभावपूर्ण व्यवहार वा बहिष्कार गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर, कानुन कार्यान्वयन गर्ने निकाय फितलो हुँदा छुवाछुतजन्य सामाजिक अपराध गर्नेहरूलाई दण्ड या सजाय लगभग हुँदैन ।


अब विकल्प के ? संघर्ष र चेतनाको विस्तार । गर्ने कसले ? जात व्यवस्थाबाट प्रभावित सबैले । प्रभावित को ? दलितलाई अमानवीय व्यवहार गर्नेहरू सबैभन्दा ज्यादा प्रभावित हुन् किनभने उनीहरू सभ्य बन्न सकेकै छैनन्, असल मान्छे भएकै छैनन् । जसले आफूलाई असल र सभ्य मान्छे ठान्छ, प्रश्न उसलाई हो– दलित नेतृत्वको जातविरोधी संघर्षमा समावेश हुने कि नहुने ?