• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
कृष्ण पोखरेल
२०७७ असोज ३ शनिबार ०८:२९:००
इतिहास

किंवदन्तीजस्ता मोहनचन्द्र

झापा आन्दोलनको वास्तविक मास्टर माइन्ड मोहनचन्द्र नै थिए

२०७७ असोज ३ शनिबार ०८:२९:००
कृष्ण पोखरेल

 

मलाई यो लेख्न मैले मुहारपुस्तिकामा आफैँले अपलोड गरेको एउटा साधारण श्वेत–श्याम तस्बिरमा मेरा मित्रहरूले जनाएका असाधारण प्रतिक्रियाहरूले नै घचघच्याएको हो । अझ मेरी श्रीमतीको घचघच्याइको त कुरै नगरौँ । हुन त त्यस तस्बिरमा म र मेरा अर्का मित्र सुन्दर मास्के पनि छौँ, तर सबैको आकर्षणको केन्द्र मोहनचन्द्र अधिकारी बनेका छन् । र, केहीमा मेरो उनीसँगको सम्बन्धलाई लिएर पनि कुतूहल छ । अतः यहाँ म उनीसँगको आफ्नो सम्बन्धका केही पक्ष सम्झन तयार भएँ ।


कुरा २०१९ सालको हो । मेरा लागि पन्ध्र वर्ष टेक्नु र एसएलसीको जाँच दिनु एकैपल्ट भयो । विराटनगरको खद्राटोलबाट बखरीमा नवनिर्मित मोरङ कलेजमा राखिएको परीक्षा केन्द्रसम्म छोरा कसरी त्यत्रो दिनसम्म जाला भनेर आमा चिन्तामा हुनुहुन्थ्यो । तर, नगई सुख ? माघ २ देखि सुरु भएको त्यो जाँचका सुपरिटेन्डेन्ट जुँगे प्राध्यापक बि.सी. मल्ल थिए । पहिलो दिन नै आफ्नो कोठामा परेका गार्ड पनि जुँगे नै थिए । ठुल्ठूला आँखा भएका उनी जब मोटो र रुखो स्वरमा डन्ट टक भन्थे, कोठामा सन्नाटा छाउँथ्यो । अरूको त के हुन्थ्यो कुन्नि मेरो त सातो पुत्लो उड्थ्यो । 


अंग्रेजीको जाँचको दिन पनि उनै गार्ड परे । छेउछाउमा खासखुसको कुनै सम्भावना रहेन । केटीहरूले उनले नदेख्ने गरी धारे हातसम्म लगाए । एस्से त आफूले पानी बनाएको कोएजुकेसन आयो तर साथमा पुच्छर जोडेर । जानेजति लेखिसकेँ तर अब पुच्छरको के गर्ने ? यही मेसोमा म डराइ–डराइ उठेँ । मेरो नजिक आएर उनै जुँगे गार्डले प्रश्नवाचक नजरले हेरे । मैले प्रश्नपत्रको त्यो लाइन, जहाँ कोएजुकेसन एन्ड इट्स एप्लिकेसन इन नेपाल लेखेको थियो, त्यो देखाएँ । उनले एकपटक प्रश्न हेरे र अर्कोपल्ट मलाई हेरे । हप्काउँछन् कि भन्ने डर लागिरहेको वेला उनी मुसुक्क हाँसे । उनको हँसाइमा व्यंग्य थियो कि ढाडस मैले ठम्याउन नसक्दै उनले बिस्तारै नेपालमा यसको एप्लिकेसन कसरी भइरहेछ भन्या हो भने र हिँडे ।


उनले जुन गाँठो फुकाइदेलान् भन्ने आस थियो, त्यो उनले अथ्र्याउँदा पनि फुस्केन । आफूले एप्लिकेसन भनेको बिदा लिन हेडमास्टरलाई र नोकरीका लागि हाकिमलाई लेख्न मात्र जानेको छु, अब यहाँ नेपालमाथि एप्लिेकसन लेख्नु भन्छ । परेन फसाद ? लटरपटर लेखेर कापी बुझाएँ । त्यसवेला के थाहा कि एप्लिकेसन भनेको कार्यान्वयन वा प्रयोग पनि हुन्छ भन्ने ? जे–जस्तो होस्, परीक्षा गान्धी डिभिजनमा पार लगाइयो ।  


पछि बिए पढ्न थाल्दा जब म वामपन्थी विद्यार्थी राजनीतिमा लागेँ अनि पो थाहा पाएँ कि म थर्कमान हुने ती जुँगे गार्ड त मोहनचन्द्र अधिकारी रहेछन्, आफ्ना नेता मनमोहन अधिकारी र भरतमोहन अधिकारीका भतिज । तिनताक मोहनचन्द्र धनकुटाको चुङवाङमा मास्टरी गर्दै पार्टी काम गर्दा रहेछन् । 


म बिए परीक्षाको तयारी गर्दै थिएँ । त्यही वेला उनी पनि प्राइभेट विद्यार्थीको रूपमा बिएको परीक्षा दिन विराटनगर झरे । घुँडा धसेर पढ्नलाई हुन सक्छ, बालकृष्ण रुपावासी सरको घरमा डेरा लिएर साथीहरूसँग बसेका रहेछन् । मेरा कक्षासाथी राधेश्याम दली र चन्द्रमणी न्यौपानेको आग्रहले नपुगेर भरतमोहन दाइकै जोड लागेपछि मैले पनि केही समयका लागि त्यो कम्बाइन स्टडीमा सामेल हुनुपर्‍यो । म फ्रेस विद्यार्थी र आफ्नो ब्याचमा पढैया भनेर दरिएकाले हुन सक्छ, उनीहरू मसँग राजनीतिशास्त्रका कतिपय च्याप्टरबारे जान्न चाहन्थे र मेरो नोटकापी चाहन्थे । समयको फेर यसैलाई भन्छन् क्यारे । कहाँ एसएलसीमा मेरा गार्ड मोहनचन्द्र यतिवेला मैसँग बिए परीक्षाको कम्बाइन स्टडी गर्न आइपुगे । 


हामी दुवै पास भयौँ र पार्टीले विद्यार्थी फाँटमा काम बढेको भनेर उनलाई धनकुटाको साटो विराटनगरमै बसेर काम गर्न अह्रायो । त्यही वर्ष विराटनगरमा बिएल खुलेकाले हामी दुवै भाइले त्यसमा नाम लेखायौँ । त्यसपछि मोहनचन्द्रसँगको मित्रता यति झाँगियो कि कैयौँपटक त बेलुका क्लास सकिएपछि तीनटोलियाको उनको घरमा उनका लागि राखेको भात हामी बाँडेर खान्थ्यौँ र त्यहीँ सुत्थ्यौँ अनि भोलिपल्ट मेरो घर पुगेर बिहानको खाना खान्थ्यौँ ।

 

पार्टीमा प्रान्तीय तहको जिम्मेवारी भएका कारण उनी कहिलेकाहीँ मसँग छुट्टिन्थे । होइन भने त हाम्रो साथ छुट्दै छुट्दैनथ्यो । दुई गुँडका सबै अधिकारी खलक विराटनगरै बसे पनि मोहनचन्द्रका बुबा वीरगन्ज घर बनाएर बसेका थिए । अतः म जेल पर्दा उनी नपर्ने कुरै थिएन, तर काम विशेषले उनी त्यो वेला वीरगन्ज गएकाले जोगिए । 


त्यति वेलादेखि उनमा हतियारबन्द संघर्षको तीव्र मोह थियो । उनी काकाहरूलाई दाजु नै भन्थे । भरतमोहन दाइको घरमा मिटिङ सकेर निस्किँदा उनी बारम्बार भन्थे– हाम्रा काकाहरूले क्रान्ति गर्दैनन् । अलिकति आस भरत दाजुसँग थियो तर उनले पनि बिहे गरिहाले अब केको क्रान्ति गर्थे ? उनमा बिहे गरेपछि कोही मान्छे पनि क्रान्तिमा लाग्न सक्दैन भन्ने बलियो धारणा थियो । आफ्नो यो मान्यतालाई उनले आफ्नो लामो जेल बसाइबाट नबाहिरिउन्जेलसम्म आफ्नै जीवनमा पनि प्रयोग गरे । 

 

म तिनताक कवि पनि भइटोपलेको थिएँ । 
सँगै बस्दा मोहनचन्द्रले एक दिन भने, ‘तपाईं हाम्रो क्रान्तिमा सामेल हुनुहुन्न कि भन्ने मलाई डर छ ।’ 
मैले प्रश्न गरेँ– किन ?
उनले भने– कविहरू भावुक प्राणी हुन्छन् । 
मैले सोधेंँ– भावुकता र क्रान्तिको के साइनो ?


उनले भने– क्रान्ति भनेको हिंसा हो, रक्तपातपूर्ण घटना हो, त्यसैले तपाईंजस्तो भावुक प्राणीले क्रान्ति गर्दैन । उनको यो तर्क मैले हाँसेर उडाएँ । मोहनचन्द्रको क्रान्तिसँग यस्तो अब्सेसन थियो कि भनिसाध्ये छैन । एक दिन हामी महेशजीकोमा एरिया कमिटीको मिटिङ गर्दै थियौँ । त्यस मिटिङमा मोहनचन्द्रका अतिरिक्त राधेश्याम दली, चन्द्रमणी न्यौपाने, गिरीश पोखरेल र म भएको सम्झना छ । त्यहाँ मनमोहन दाजु पनि उपस्थित हुनुभएकाले पहिला उहाँले कुरा राख्नुभयो । आफ्नो कुरा सकेपछि– तपाईंहरूको केही जिज्ञासा भए राख्नुस् भन्नुभयो । 

 

मोहनचन्द्रले ठाडठाडै प्रश्न गरे, ‘हाम्रो पार्टीले क्रान्ति गर्छ कि गर्दैन ? र गर्छ भने कहिले ?’अचानक आएको त्यो असान्दर्भिक प्रश्न सुनेर हामी सबै छक्क पर्‍यौँ । मनमोहन दाजुले पनि मुलुकको तत्कालीन परिस्थितिको विवेचना गर्दै क्रान्तिका लागि हाम्रो तयारी नै पुगेको छैन मात्र के भन्नुभएको थियो, मोहनचन्द्रले तुरुन्त सोधिहाले, ‘कहिले पुग्छ त तयारी ?’ यसपटक मनमोहन दाजु अझ स्पष्ट बोल्नुभयो, ‘आफ्नो पार्टीको अवस्था देख्याछस् ? यो भारतको सिपिएमजत्तिको क्रान्तिकारी हुने त कुरै छोड्, डाँगेको दक्षिणपन्थी पार्टीजत्तिको पनि छैन ।

 

अनि क्रान्तिको कुरा गर्छस् ?’ उहाँको कुरा सकिएकै थिएन । बीचमै कुरा काटेर मोहनचन्द्रले फेरि प्रश्न गरे, ‘नेता तपाईंहरू अनि पार्टीलाई क्रान्तिकारी बनाउने कसले ?’ उनको यो व्यवहार हामीलाई पनि मन परेको थिएन । तर, अरू कोही बोल्नुअगावै मनमोहन दाजु बोल्नुभयो, ‘मेरो कुरा पनि पूरा सुन्दैनस् तँ, बीचमै गुन्डाले जस्तो झम्टिन्छस् । के तरिका हो यो ?’


मोहनचन्द्रले यो कुरा टपक्क टिपिहाले, ‘कमरेड महेश, यो कुरा नोट गरियोस् । कमिटीको औपचारिक बैठकमा एउटा कमरेडले अर्को कमरेडलाई गुन्डा भनेको छ । हाम्रो माझमा जे साइनो छ, त्यो आफ्नो ठाउँमा छ, तर औपचारिक बैठकमा एउटा कमरेडमाथि अर्कोले यस्तो अमर्यादित आरोप लगाउँछ भने कि त्यसको पुष्टि हुनुपर्छ कि त त्यस्तो व्यवहार गर्ने कमरेडले आत्मालोचना गर्दै माफी माग्नुपर्छ । यो कुराको छिनोफानो नभई बैठक कार्यसूचीमा प्रवेश गर्न मिल्दैन ।’ त्यस दिन त्यो मिटिङ त्यत्तिकै सकियो ।


ल पढ्दैको एउटा अर्को घटना सम्झन्छु । मोहनचन्द्र, राधेश्याम दली, चन्द्रमणी न्यौपाने र म फोटो खिचाउन रिजाल स्टुडियो छिर्‍यौँ । फोटो खिच्ने उद्देश्य पनि विद्यार्थी परिचय पत्र बनाउने थियो । तिनताक भर्खर आराथुन बस चलेको थियो र हाम्रै प्रयासबाट त्यसले विद्यार्थीलाई पचास प्रतिशत छुट दिन थालेको थियो । पार्टी कामले बसबाट विराटनगरबाहिर जानुपर्ने भयो भने त्यो बडो कामलाग्दो हुन्थ्यो । रिजाल दाइ फोटो खिच्न जसै तयार भए, मोहनचन्द्रले अत्तो थापे, ‘निगेटिभ दिने भए मात्र म फोटो खिच्छु ।’ 


 रिजाल दाइ निगेटिभ नम्बर दिन्थे, निगेटिभ नाइँ । यो उनको व्यापारिक दस्तुर थियो । उनले काम टक्क रोके । बरु तपाईंहरूको फोटो खिच्दिनँ भैगो, भन्न थाले । अब परेन फास्टो ? मैले नै मध्यस्थता गरेँ र भनेँ, ‘रिजाल दाइ, हामी सबैको निगेटिभ राख्नुस्, क्यै बात छैन । उहाँ एकजनाको फिर्ता दिनुस् न ।’ बडो अप्ठ्यारो मान्दै रिजाल दाइ तयार भए ।

 

हामीले त्यसवेला यो मोहनचन्द्रको लहड होला भन्ने ठान्यौँ र यो कुरालाई त्यति गम्भीरतासँग लिएनौँ पनि । तर, जुन वेला उनी झापा विद्रोहका नेता भए अनि सरकारलाई जब उनको फोटो पाउन मुस्किल भयो । त्यसवेला रिजाल दाइसँगको निगेटिभलाई लिएर उनको गलबदीको अर्थ खुल्यो । पुलिसले उनको फोटो खोज्न उनको आफ्नो घर मात्र होइन, साथीभाइहरूको घर र विराटनगरका कुनै फोटो स्टुडियो पनि बाँकी राखेन । कतै नभेटेपछि विश्वविद्यायलमा जाँच दिँदा भरेको फारामबाट फोटो झिक्यो भन्थे । 

त्यति वेलादेखि मोहनचन्द्रमा हतियारबन्द संघर्षको तीव्र मोह थियो । उनी बारम्बार भन्थे– हाम्रा काकाहरूले (मनमोहन अधिकारी, भरतमोहन अधिकारी) क्रान्ति गर्दैनन् । अलिकति आस भरत दाजुसँग थियो तर उनले पनि बिहे गरिहाले, अब केको क्रान्ति गर्थे ?


जेलबाट छुटेपछि म जाँच दिन काठमाडौं गएँ र उतै एमए पढ्न थालेँ । त्यसपछि चाहिँ उनीसँग मेरो भेटघाट पातलियो । एकपटक अनेरास्ववियुको राष्ट्रिय सम्मेलनका वेला केही दिन हामी काठमाडौंमा सँगै बस्यौँ । सम्मेलनको केहीअघि म बागबजारमा दाजुको डेराबाट निस्केर त्यसवेला त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनका सभापति गोविन्दमान श्रेष्ठको ओमबहालस्थित डेरामा बस्न आएँ । त्यही वेला ओमबहाल र चिकँमुलगको माझमा बालकृष्ण साहुको घरको ठिक्क पछाडि सम्मेलनको हेडक्वार्टर चलाउन एउटा ठूलो कोठा बहालमा लिइयो । म त्यहीँ सरेँ ।

 

सम्मेलनमा भाग लिन आएका धरान र विराटनगरका साथीहरू मसँग त्यहीँ बसे । विद्यार्थीका तर्फबाट प्रतिनिधि भई विराटनगरबाट ज्वाला रेग्मी, धरानबाट शरण राई र हिरा रिजाल आएको सम्झना छ । पार्टीका तर्फबाट भने मोहनचन्द्र आएका थिए । उनी झापा खटिनुअघिको त्यो मेरो अन्तिम भेट थियो । तिनताक भारतमा नक्सलवादी आन्दोलन उत्कर्षमा थियो र उनी त्यसबाट खुबै प्रभावित थिए । कोलकाताबाट प्रकाशित हुने उनीहरूको पत्रिका ‘लिबरेसन’का हामी नियमित पाठक पनि थियौँ । त्यस आन्दोलनका आइडोलोग चारु मजुमदारको प्रख्यात भनाइ थियोे– वर्गशत्रुको रगतले हात नरंगिउन्जेल कोही सच्चा कम्युनिस्ट बन्न सक्दैन । यसबाट मोहनचन्द्र अति प्रभावित थिए । 


एमए फाइनलको जाँच दिएर म विराटनगर फर्केका वेला सुन्दर मास्केको घरमा उनीसँग मेरोे भेट भयो । मास्के ल पढ्दाताका हाम्रो घनिष्ट साथी बनेका थिए, त्यो मित्रता अद्यावधि कायम छ । त्यसवेला मोहनचन्द्र पूर्वकोसी प्रान्तीय पार्टीबाट अलग भइसकेका रहेछन् । मास्केको क्यामेराबाट हामीले फोटो पनि खिच्यौँ । यो काममा हामीलाई महेश मास्केले सघाए । तिनै महेश मास्के, जो तिनताक आइएस्सी पढ्थे । पछि आफ्नो विषयका नामी  डाक्टर बने र वाम आन्दोलनमा लाग्दै गर्दा चीनका लागि राजदूत भए ।


भोलि हामी को कहाँ हौँला । जहाँ भए पनि कमसे कम हाम्रो मित्रताको कहानी यी फोटाहरूले बताउलान् । यही भनेर छुट्टियौँ तर जाने वेलामा मोहनचन्द्रले सुन्दरकहाँ धेरै समयदेखि प्रयोगमा नआएको पुरानो भरुवा बन्दुक लिएर गए । हो, मैले मुहारपुस्तिकामा अपलोड गरेको तस्बिर तिनैमध्येको एक हो, जुन कि मलाई उही सुन्दर मास्केको सौजन्यबाट धेरै पछि प्राप्त भएको थियो र मेरी श्रीमतीले जतनसाथ राखेकाले अद्यावधि सुरक्षित रहेको हो ।


०२८ सालको असारमा मैले मेची महाविद्यालयमा प्राध्यापन सुरु गरेँ । त्यसै सालको हिउँदको एक दिन मोहनचन्द्र भानुनगरको म बसेको डेरामा टुप्लक्क आइपुगे । साथमा थिए, राधाकृष्ण मैनाली (त्यतिवेलासम्म उनी हाम्रा माझ आर के भनेर चिनिन थालेका थिएनन्) । त्यसवेलासम्ममा उनले ज्यामिरगढीका एक वर्गशत्रुको रगतले हात रंगाइसकेका थिए । तर, हुस्सु सरकार त्यो वारदातलाई पछि संग्रालिएर आएको झापा विद्रोहका रूपमा बुझिरहेको थिएन । र अन्यत्र नै अपराधी खोजिरहेको थियो । त्यसैले उनीहरू फुक्काफाल हिँड्न सकिरहेका थिए ।

उनीहरूको योजना मलाई मेची महाविद्यालयको जागिरबाट छुटाएर आफैँहरूसँग हिँडाउने रहेछ । त्यस दिन निकै लामो राजनीतिक कुराकानी भयो । उनीहरू गाउँमा विद्यमान श्वेत आतंकलाई लाल आतंकले विस्थापित गर्छाैं भन्थे । सहर त प्यारासाइट हो । अतः जब हामी गाउँहरू मुक्त पार्छौं र गाउँहरूले सहर घेर्छौं । गाउँमा आश्रित सहर पाकेको फलझैं हाम्रो झोलामा आउनेछ । तपाईंले यो बुर्जुवा शिक्षा पढाएर के हुन्छ ? समाज मुक्त नभई तपाईं मुक्त हुनुहुन्न क्यारे ! त्यसैले छाड्नुस्, व्यक्तिगत सुखको यो सरल बाटो र हिँड्नुस् हामीसँग समाज मुक्तिको बाटोमा । 


हामीले माक्र्सवाद त उही पढेका थियौँ, तर हाम्रो निष्कर्ष फरक थियो । त्यसैले मैले भनेँ– हाम्रो भौतिक र आत्मिक परिस्थिति क्रान्तिका लागि तयार छैन । तपाईंहरु जे गर्दै हुनुहुन्छ, त्यो देखासिखी हो र हो दुस्साहस । युवा जोसले तपाईंहरूलाई परसम्म देख्न दिइरहेको छैन । क्रान्ति आयात–निर्यात गर्ने वस्तु होइन । वर्गशत्रु खतम अभियानको चारु मजुमदारको लाइनले कुनै परिणाम दिँदैन र तपाईंहरू कहीँ पुग्नुहुन्न । उल्टो घेराउ र सफायामा पर्नुहुन्छ र आन्दोलनले धक्का खान्छ । मोहनचन्द्रले फेरि पनि ढिपी गरिरहे । उनको तर्क के थियो भने उनी पनि यतिवेला यही निष्कर्षमा पुगेका छन् । तर, उनी एक्लो परे । तपाईं पनि साथमा हुनुभयो भने हामी दुईजना हुन्छौँ र अरू साथीहरूलाई पनि कन्भिन्स गर्न र फर्काउन सक्छौँ । 


मलाई त्यसवेला उनकोे यो कुरामा जसरी पनि मलाई साथ हिँडाउने युक्ति लुकेको अनुभूति भयो । किनकि झापा आन्दोलनले जुन लाइन लिएको थियो, त्यसका प्रमुख शिल्पी नै उनी थिए । अनि उनले मसँग राखेको भनाइ कसरी सही हुन सक्छ ? एकपल्ट उनीहरूसँग हिँडेपछि हिँडिहालियो, फर्कन कहाँ सहज हुन्छ र ? क्यै नलागेर मैले भनेँ– ठीक छ, दुई वर्ष म तपाईंहरूको क्रान्ति हेर्छु, मेरो विचार ठीक रहेछ भने कुरै सक्किगो । तपाईंहरूको विचार ठीक साबित भयो भने म पनि आउँला । 


मेरो यो कुरा सुन्नेबित्तिकै राधाकृष्णले भने–कृष्णजी, यो त तपाईंको अवसरवादी कुरा भैहाल्यो नि ।मैले भनेँ– कसरी ? आज तपाईंहरू मलाई जाऊँ भन्न आउनुभएको छ । गएँ भने तपाईंहरू नेता हो भने म पनि नेता हुन्छु । दुई वर्षपछि म आएँ भने तपाईंहरू नेता र म कार्यकर्ता हुने हो । अनि कसरी म अवसरवादी ? हो, मलाई पनि नेता बनाऊ भनेँ भन्देखि पो तपाईंको आरोप सही हुन्छ । 


मेरो कुरा सुनेपछि अन्तमा राधाकृष्णले नै भने, ‘लु, तपाईंसँग बहस गरेर नसकिने भो ? भन्नुस्, हामीलाई के सहयोग गर्नुहुन्छ ?’ मैले भनेँ, ‘हेर्नुस्, तपाईंहरू आफ्नो ज्यानै त माया मारेर हिँड्नुभएको छ भने मलाई आर्थिक सहयोग गर्न के गाह्रो ? म महिनाको ६ सय ५० पाउँछु, त्यसबाट तपाईंहरूलाई महिनाको सय रुपैयाँ लेभीका रूपमा सहयोग गर्छु ।’ हामीसँगै बजार निस्क्यौँ ।

 

मोहनचन्द्रले केही औषधि किनिमागे । त्यसपछि भने हामी छुट्टियौँ । यतिवेलाको हिसाबमा यो सय रुपैयाँ महत्वहीनजस्तो भए पनि ५० रुपैयाँ महिनामा भाडामा रोज्जा कोठा पाइने र असी रुपैयाँमा हप्तामा एक छाक मासुसहित महिना दिन त्यसवेलाको भद्रपुरको नामी संगम होटलमा अघाउँजी दालभात तरकारी खान पाइने त्यसवेलाका लागि ठूलै थियो ।

 

मैले कबोल गरेको लेभी लिन एक–दुईपटक खड्गजी (अर्थात् अहिलेका केपी ओली, जसलाई कम्युनिस्ट पार्टीको नेतृत्व गरिब किसानले गर्नुपर्छ भनेर मोहनचन्द्रकै जोडबलमा राधाकृष्णलाई हटाएर जिल्ला पार्टीको सचिव बनाइएको थियो) आए, नत्र प्रायः राधाकृष्ण नै आउँथे । दिउँसोको उज्यालोमा होइन, झमक्क साँझ परेपछि आउँथे । क्षयरोगले ग्रसित भएपछि त झन् पक्राउ नपरुन्जेल उनै आइरहे ।


हेर्दाहेर्दै उनीहरूको वर्गशत्रु सफाया अभियान झापामा दावनल नै फैलियो । गरामनीको धानखेतमा चुडाल र विमलीको हत्या र त्यसपछि भएको धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानी ढकालको हत्याले झापा मात्र होइन, मुलुकै हल्लियो । त्यसपछि त कहाँ मोहनचन्द्र, कहाँ म । एकैचोटि जनमत संग्रहको घोषणापछि राजनीतिक परिस्थिति अलिक होलो भएका वेला उनीसँग सेन्ट्रल जेलमा भेट्ने अवसर मिल्यो । गिरीश पोखरेल र म गएका थियौँ । कहाँ उवेलाको क्रान्तिकारी उत्तेजनायुक्त मोहनचन्द्र र कहाँ सेन्ट्रल जेलका शान्त र सौम्य मोहनचन्द्र । 


०४६ सालको जनआन्दोलनपछि एक दिन द्रोणाचार्यको पुतली सडकस्थित डेरामा सिपी मैनालीसँग भेट भयो । त्यहाँ उनीसँगको बातचितमा के थाहा भयो भने एउटै एक्सनपछि मोहनचन्द्र यो बाटो ठीक छैन भन्ने निष्कर्षमा साँच्चै नै पुगेका रहेछन् । त्यसैले उनले मलाई फकाउन मात्र त्यसो भनेका होलान् भन्ने मेरो आँकलन गलत रहेछ । तर, पार्टीभित्र उनको त्यो विचारलाई डरको उपज भन्ने अथ्र्याएर कसैले सुन्न र बुझ्न मानेनन् । 


यो त उनी झापा आन्दोलनमा होमिनुअघिको मोहनचन्द्रको कुरा भयो । आन्दोलनमा लागेर किंवदन्ती बनेका मोहनचन्द्र र पक्राउपछि बन्दी विमुक्ति आन्दोलनका आइकन बनेका र नेपालको नेल्सन मन्डेलाको उपनाम पाएका मोहनचन्द्रको गाथा होइन । झापा आन्दोलनको भित्री पाटो र त्यसका उतारचढावका मुख्य पात्र र साक्षी उनै हुन्, अतः त्यो त कि उनैले लेख्न सक्छन् । वा घोस्ट राइटरमार्फत लेखाउन सक्छन् । त्यसैले मैले जतिपटक उनलाई भेटेको छु, लेख्न घचघच्याएको छु । हेरौँ, मेरो घचघच्याइले कुनै परिणाम दिन्छ कि नाइँ ? 


क्रान्तिप्रति प्रारम्भदेखि नै उनमा जुन अब्सेसन थियो, त्यसको आलोकमा भन्नुपर्दा झापा आन्दोलनको लाभांश आज जसजसले लिए पनि त्यसको वास्तविक मास्टर माइन्ड मोहनचन्द्र नै थिए । यस कुरामा मलाई कुनै द्विविधा छैन ।