• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रिता बरामु
२०७७ असोज १० शनिबार ०७:५१:००
समाज

नेपाली कार्टुन पुरुषद्वारा पुरुषका लागि

२०७७ असोज १० शनिबार ०७:५१:००
रिता बरामु

समसामयिक विषयमा विभिन्न चरित्र र व्यंग्यमिश्रित प्रस्तुतिका कारण कलाक्षेत्रमा कार्टुनको पनि आफ्नै स्थान छ । चित्रहरू हेर्दा रमाइलो र सन्देश पनि स्वादिलो हुनाले पाठकहरूमा पनि कार्टुन लोकप्रिय छ । साथै यो कला कलाकारले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न पाउने सशक्त माध्यम पनि हो । यद्यपि नेपाली मूलधारका मिडियामा प्रकाशित र चर्चित कार्टुनलाई सिर्जनात्मक आलोचनाको आँखाबाट हेर्दा कस्तो देखिन्छ भन्ने प्रश्न पनि जरुरी छ । 

 

सर्सती हेर्दा नेपाली कार्टुनजगत् राजनीतिक दाउपेचलाई मार्मिक र व्यंग्यात्मक लयमा देखाउन अब्बल छ । कुनै कार्टुन त यति सटिक हुन्छन् कि मान्छेलाई रुनु न हाँस्नु वा हाँसेको हाँस्यै पारिदिन सक्छन् । अर्थात् धेरै समयसम्म मानिसको मन मस्तिष्कमा बस्न सफल हुन्छन् । 

 

०७५ असोज ८ गते नागरिक दैनिकमा प्रकाशित ‘अखबारी कार्टुनको आठ दशक’ लेखमा राणाकालदेखि कार्टुनिस्टहरूले झेलेको राजनीतिक सामाजिक र अनेक संर्घषका बाबजुद अहिले कार्टुन क्षेत्रमा भएको प्रगतिले नेपाली कार्टुनहरू अन्तर्राष्ट्रियस्तरमै अब्बल भएको स्विकार्छ । जसरी राणाशासनदेखि व्यवस्था परिवर्तन र व्यक्तिको मौलिक हकको लडाइँमा कार्टुनहरू जति अग्रगामी थिए, त्यसरी नै हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक व्यवस्थामाथि प्रहार गर्न र त्यसलाई परिवर्तन गर्न ती कतिको सहयोगी भए भन्ने अर्को सवाल हो । 

 

त्यसरी हेर्दा हाम्रो कार्टुनजगत् पुरुषद्वारा पुरुषका लागि रचिएका रचनाहरू हुन् भन्दा फरक पर्दैन । नेपाली सार्वजनिक वृत्त, मिडिया, राजनीति सबैतिर निश्चित जात, वर्ग र क्षेत्रका पुरुषहरूको वर्चस्व हुँदा त्यसको प्रतिबिम्ब कार्टुनहरूमा पनि त्यस्तै देखिन्छ । लगभग सबै राजनीतिक कार्टुनहरूमा देखिने नेताको चरित्र गिनेचुनेका टाउकोहरू नै हुन्छन् । समग्र राजनीतिक वृत्तकै मुहार नफेरिएसम्म यसमा परिवर्तन पनि सायदै होला । त्यसमा पनि मूलधारे कार्टुनिस्टहरू निश्चित जात र वर्गका पुरुषहरू नै भएपछि कार्टुनजगत् यही यथास्थितिमै अलिक समय चलिरहने निश्चित छ ।


त्यसो भए के महिला वा विविध रूपले सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू कार्टुनिस्ट छैनन् त ? छन् तर निकै कम मात्र । तिनै कममध्येको नाम हुन्, कलाकार सुस्मा राजभण्डारी । उनी ३० वर्षदेखि कलाको क्षेत्रमा र कार्टुनिस्टको रूपमा समेत काम गर्दै आएको पाइयो । कार्टुनिस्ट रवि मिश्रसँग कुरा गर्दा सजना कोइरालाले तनहुँको ‘सेतीमादी’ दैनिकमा २–३ वर्ष कार्टुन बनाउनुभएको जानकारी दिनुभयो । म आफैँले भने उनका बारेमा खासै जानकारी भेट्न सकिनँ । त्यस्तै कलाकार सुप्रिया मानन्धरसँग कुरा गर्दा चित्रात्मक (इलुस्ट्रेटिभ) विधालाई समेत हेर्ने हो भने कृषा ताम्राकार, अवानी मल्ल इत्यादिको नाम लिन सकिने कुरा गर्नुहुन्छ । सुप्रिया आफैँ पनि स्वतन्त्र कलाकारितासँगै ‘द रेकर्ड’सँगको सहकार्यमा इलुस्ट्रेटिभहरू बनाउनुहुन्छ । 


त्यस्तै ‘दिदीबहिनी’, ‘सिकारु कमिक्स’, ‘वीरांगना कमिक्स’ र स्तुति शर्माजस्ता थुप्रै नामहरू स्वस्फूर्त हिसाबले चित्रात्मक (इलुस्ट्रेटिभ), चित्रांश (स्ट्रिप), कमिक्सहरू बनाएर आफ्नै सोसल मिडियाबाट आफ्नो कलाकारिता पस्किरहेकाहरू पनि छन् । उनीहरू आफ्नो क्षेत्रमा अब्बल छन् । त्यत्तिकै रुचाइएका पनि छन् ।

 

तर, मूलधारे राजनीतिभन्दा अलग लैंगिकता, यौनिकता, सामाजिक सांस्कृतिक परिवेश, पप कल्चरजस्ता विषयवरपर नै उनीहरूको रचना हुने हुँदा मूलधारे एडिटोरिएल कार्टुनजगत्ले उनीहरूलाई नदेखेको हुन सक्छ । यसको मतलब फेरि मूलधारले देख्नुपर्ने वा त्यसमै समावेश हुनु मात्र महत्वपूर्ण कुरा हो भन्ने हुँदै होइन । सबैलाई मूलधारको अर्थ, महत्व र मोह हुन्छ भन्ने पनि छैन । 


अब फेरि एडिटोरियल कार्टुनकै कुरा गरौँ । हामीले उपभोग गरिरहेका कार्टुनहरू कस्ता छन् त ? सजीवजस्ता लाग्ने चित्र, हास्यव्यंग्यपूर्ण संवादभित्र अझै गहिरिएर हेर्ने हो भने त्यहाँ हाम्रै सामाजिक व्यवस्थाको प्रतिबिम्ब प्रस्ट देखिन्छ । तिनमा धेरै त पुरुष चरित्रकै बोलवाला हुन्छ । थोरै मात्रामा सिर्जना गरिने महिला पात्रहरू पनि छायामा पारिएका हुन्छन् । अर्थात् पत्रिका पढ्ने, नेता या मिडियासँग प्रत्यक्ष संवाद गर्ने, सभा–सम्मेलन, बैठकमा सहभागी हुने इत्यादि सबै हर्ताकर्ता पुरुष देखिन्छन् ।

 

महिला पात्रको भूमिका केवल भान्छाघर, पानीपँधेरो वा बजारमा किनमेलसम्म सीमित देखाइएका छन् । पुरुष पात्रहरू गफ गरिरहेका ठाउँमा चिया लिएर जाने वा उनीहरूका कुरा साइडमा बसेर ट्वाँ परेर सुन्ने प्रतिबिम्बहरूले पनि यो कुरा प्रमाणित गर्छ । महिला मुक्ति वा महिलाकै विषयमाथि बनाइएका कार्टुनमा भने महिलाको प्रतिनिधित्व र सवाल थोरै सन्तोषजनक हुन्छ । तर, त्यस्ता कार्टुन आउनका लागि कि नारी दिवस नै पर्खिनुपर्छ कि त कुनै महिलामाथि जघन्य हिंसा, जस्तै–बलात्कार, बोक्सी आरोप, छाउपडीबाट मृत्यु भएर मूलधारका मिडियामा त्यो कुरा छाएको हुनुपर्छ । 

महिलाको प्रतिनिधित्व भएको कार्टुन आउन कि नारी दिवस पर्खिनुपर्छ, कि महिलामाथि जघन्य हिंसा हुनुपर्छ


नगण्य मात्रामा देखिने महिला पात्रहरूको पोसाकको छनोट पनि सारी, चुरा, पोते, टीका इत्यादिमै सीमित देखिन्छ । अझ कुनै नेतालाई अक्षम देखाउन महिलाको भनिने पोसाक, जस्तै– सारी, चोलो नै लगाइदिएको कार्टुनहरूले पनि वेलाबखत बजार पिट्ने गर्छन् । त्यस्ता कार्टुनबारे रचनात्मक आलोचना हुँदा कोही प्रतिरोधमा उत्रिने र कोही काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ जस्तो गरी बेवास्ता गर्ने कलाकार पनि छन् । पछिल्लो समय त अनलाइनमा टिप्पणी गर्नेहरूलाई नै उल्टो ट्रोल गर्ने प्रवृत्ति पनि देखिन्छ । यहीबीचमा निकै कमले मात्र आफ्ना कमी–कमजोरी मनन गरेका घटना छन् । तर, त्यो स्वीकार्यताले कतिसम्म फड्को मार्छ भन्ने फेरि अलग पाटो हो । 


सारीबाहेक अन्य पोसाक, जस्तै– सर्ट, मिनिस्कर्ट, जामा लगाएका महिला छन् भने त्यसका संवाद, हाउभाउ, परिवेश फेरि बेग्लै हुन्छन् ।  राजधानीबाट प्रकाशित हुने एक साप्ताहिक पत्रिकामा प्रकाशित एउटा कार्टुनको उदाहरण दिन चाहन्छु । जसमा एउटी महिला पात्र कोट प्यान्ट लगाएर बाटोमा हिँडिरहेकी छिन् । दुईजना पुरुषहरू छेउमै बसेर ‘वा क्या राम्री केटी’ भनेर जिस्काइरहेछन् ।

 

कुरैकुरामा एकले भन्छ, ‘उसको बारेमा मलाई सबै थाहा छ ।’ अर्काेले के थाहा छ भनेर सोध्दा भन्छ, ‘बैंकमा काम गर्छिन् । नामचाहिँ चल्तीखाता लेख्याथ्यो ।’ यो त एउटा उदाहरण मात्र हो । योसँगै एक मासिक पत्रिकाको गाईजात्रा शृंखलामा यस्तो प्रत्यक्ष र अप्रत्यक्ष महिलाद्वेषी सन्देश त कति छापिएका छन् कति ? समग्रमा ती कार्टुनहरू पुरुषकेन्द्री दृष्टि (मेलगेज) बाट बनाइएको हो, जसमा महिलाद्वेषी, पूर्व चित्रण (स्टेरियोटाइप्स्) प्रचुर मात्रामा भेटिन्छन् । साथसाथै ती विविध यौनिक तथा लैंगिक समुदायप्रति घृणात्मक पनि हुन्छन् । 


पुरुष पात्रहरूको पोसाकको कुरा गर्ने हो भने पनि अधिकतम पुरुष चरित्रहरूले ढाकाटोपी लगाएकै पाउँछौँ । चाहे त्यो चरित्र नेता, कार्यकर्ता हुन् वा प्राकृतिक विपत्ति अथवा गरिबीले थलिएका आमअनुहार नै । बरु टालेको, फाटेको लुगामा नै किन नहोस् भादगाउँले वा ढाकाटोपी लगाएकै चित्र अनिवार्यजस्तो देखिन्छ । नेपाली हुनुको मानक उही दौरा, सुरुवाल, स्टकोट र टोपी नै भएको कुरा यी कार्टुनहरूले बारम्बार पुष्टि गर्छन् । ती अनुहारहरूमा विभिन्न जात, जाति, समुदाय, क्षेत्र, शारीरिक अवस्था, लैंगिकतालाई समेट्ने पात्र नगण्य मात्र देखिनु पनि विडम्बना नै हो ।

 

अनि जति देखेका छौँ, त्यो पनि प्रभावशाली वर्गको आँखाबाट उनीहरू जस्तो देखिन्छन् त्यस्तै तरिकाले देखेका छौँ । त्यसो हुँदा यी कार्टुनहरूले प्रत्यक्ष–अप्रत्यक्ष नै हाम्रो धार्मिक, सामाजिक, सांस्कृतिक, भौगोलिक मान्यता, विभेद र उत्पीडनकै पुनरुत्पादन गरिरहेको हुन्छ । यसो हुन नदिन के गर्न सकिन्छ, कार्टुनकारिताकै क्षेत्रमा क्रियाशील सदस्यहरू सजक भएको राम्रो । आउँदो दिनमा यसबारे बहस गर्दै गर्न पनि सकिन्छ । तर, माथि भनिएजस्तो कार्टुनको सिर्जना गर्न अझै लामो बाटो तय गर्नैपर्ने देखिन्छ ।