• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज १० शनिबार ०७:३३:००
समाज

अनि यो कार्टुन बनाएँ

कार्टुनिस्टका कुरा

२०७७ असोज १० शनिबार ०७:३३:००

एउटा सालिक छ, माला लगाइरहेको । सालिकमुनि लेखिएको छ, ‘अमर सहिद’ । छेवैमा एक आममानिस घुँडा टेकेर, हात जोडेर बसेका छन् । सालिक हेर्दै भनिरहेका छन्, ‘राम्रो गर्नुभयो ! बाँच्नुपरेको भए आत्महत्या गर्नुहुन्थ्यो ।’ सहिद दिवसको अवसरमा कार्टुनिस्ट वात्सायन (दुर्गा बराल) ले बनाएको कार्टुन हो, यो । कान्तिपुर दैनिकमा छापिएको यस कार्टुनबारे वात्सायन भन्छन्, ‘जो परिवर्तनको सपना बोकेर आन्दोलनमा होमिए र सहादत प्राप्त गरे, उनीहरू बाँचेका भए यो समयमा कति दुःखी हुन्थे ?’

 

वि.सं. ००७, ०४६, ०६२/६३ । यी आन्दोलनहरूले राजनीतिक व्यवस्थामा केही परिवर्तन ल्यायो । परिवर्तनका खातिर धेरै मानिसले प्राण आहुति दिए । यथार्थतः जुनसुकै व्यवस्था परिवर्तन भए पनि मान्छेको मूलभूत आवश्यकता र सपना भने पूरा हुन सकेन । सहिद दिवस सम्झनासाथ दिमागमा यस्तै विषय खेलेकाले आफूले यस कार्टुन सिर्जना गरेको वात्सायनको भनाइ छ । ‘सायद सहिदहरू अहिले पनि जीवित हुन्थे भने परिवर्तनको यस्तो अवस्था देख्न सक्ने थिएनन्, आत्महत्या गर्थे,’ उनी भन्छन् ।


वात्सायनको अनुभवले भन्छ, कार्टुन सिर्जना गर्न जनभावनाको अन्तर्यमा पुगेर विषयलाई व्यक्त गर्नुपर्ने रहेछ । उनी पत्रपत्रिका हेर्छन्, समाचारहरू कार्टुन निर्माणको एउटा स्रोत बनिदिन्छ । त्यसपछि सडक, चिया पसलतिर हुने आमचर्चा र चासोको विषय नियाल्छन् ।

 

समाचारहरूसँग सम्बन्धित टिप्पणी हेर्छन् । उनी भन्छन्, ‘यी सबैको पृष्ठभूमिमा रहेर आफ्नो विचार कार्टुनमा व्यक्त गर्छु,’ उनलाई कार्टुन चित्रमा उतार्न भने समय लाग्दैन । तर, आफूले बनाइरहेको कार्टुनको विचार र त्यसको प्रस्तुतिमा भने धेरै घोत्लिन्छन् । 

 

यस कार्टुन बनाउँदै गर्दा पनि वात्सायनले सहिद र अहिलेको राजनीतिक घटनाक्रम सम्झिए । उनकै शब्दमा, ‘यी दुई विषय सम्झँदा विरोधाभासपूर्ण लाग्ने । परिस्थिति यस्तो छ । तर, सहिद दिवस मनाइन्छ । हाँसो लाग्यो । यो त साह्रै भएन भनेर केही लेखौँ–लेखौँ लागेपछि यो कार्टुन बनेको हो ।’


कार्टुन बनाउन उनलाई खासै समय लाग्दैन, तर कार्टुनको विचार निर्माणको प्रक्रिया निकै सकसपूर्ण छ । कार्टुन बनाउनुअघि दुई–चार किसिमको दृष्टिकोण टिपोट गर्छन् । त्यसपछि प्र्रस्तुतिमा कुन दृष्टिकोण फिट हुन्छ, त्यसैलाई छान्छन् । त्यसलाई परिमार्जन गर्छन् ।

 

कसरी व्यंग्यमार्फत तिखो र रमाइलो पाराले भन्न सकिन्छ, घोत्लिन्छन् । यसपछि एउटा विचार निर्माण गरेपछि कार्टुन बनाउनतिर लाग्छन् । ‘एउटा कार्टुन बनाउँदै गर्दा अर्को कार्टुनको विषय पनि सँगै आइरहेको हुन्छ । त्यसका लागि फेरि घोत्लिन्छु,’ उनी भन्छन्, ‘यो कार्टुनमा पनि दृष्टिकोण पहिल्यै निर्माण भएको थियो । सहिद दिवसको अवसर पारेर बाहिर ल्याएको मात्र हो ।’