• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
अवीन श्रेष्ठ
२०७७ असोज १० शनिबार ०९:२४:००
समाज

कार्टुनको मर्यादाको ख्याल गर्नुपर्छ

२०७७ असोज १० शनिबार ०९:२४:००
अवीन श्रेष्ठ

पूर्वसभामुख कृष्णबहादुर महरालाई नर्स रोशनी शाहीले बलात्कारको आरोप लगाएकी थिइन् । यो समाचार बाहिरिएपछि सामाजिक सञ्जाल तातेको थियो । अवीन श्रेष्ठले यही विषयमा कार्टुन बनाउने सोच बनाए । तर, सभामुखजस्तो पदमा आसीन व्यक्तिमाथि कार्टुन बनाउँदा आफैँ कार्टुन बनिने हो कि भनेर श्रेष्ठलाई तनाव भयो । 


सामाजिक सञ्जालमा कहिल्यै नलेख्नेले पनि महरामाथि स्टाटस लेखिरहेका छन् । उनलाई दिउँसोदेखि नै तनाव भयो । सभामुखमाथि कार्टुन बनाउँदा पदीय मर्यादाले पनि अर्थ राख्छ । फेरि बलात्कारको आरोप मात्र हो । ‘तर, कार्टुनले त सधैँ तिखो बोल्छ,’ श्रेष्ठ भन्छन्, ‘सभामुखले पदीय मर्यादाको ख्याल नगरे पनि आफूले त कार्टुनको मर्यादाको ख्याल गर्नुपर्छ ।’


अपराह्न ५ बज्यो । कार्टुन आउँछ कि आउँदैन भनेर अफिसबाट फोन आउन थाल्यो । राति ८ बज्यो, ९ बज्यो । दिनभरि दिमाग खियाए, तर आइडिया फुराउन सकेनन् । अचानक ९ बजेतिर एउटा समाचार आयो–रोशनी शाहीले आरोप फिर्ता लिइन् । श्रेष्ठ भन्छन्, ‘यो हेडलाइन देख्नासाथ दिमागमा आइडिया फुरिहाल्यो । र, कार्टुन बनाउनतिर लागेँ ।’


कार्टुनमा दुईवटा चित्र छन् । एउटामा एक महिलाले एक पुरुषलाई ‘ऊ बलात्कारी हो’ भनिरहेकी छन् । पुरुषको सुरुवाल खुस्किएको छ । भित्री कट्टु देखिएको छ । दोस्रो चित्रमा पुरुष नांगै बनेको छ । तर, महिलाले भनिरहेकी छन्, ‘भनेर म भन्दिनँ ।’


कार्टुन तयार गरे । तर, श्रेष्ठलाई साथीहरूले ‘बलात्कारी’ शब्द त नराखौँ कि भने । ब्रोडसिट पत्रिका । बच्चादेखि बूढासम्मले हेर्छन् । बलात्कारी भनेपछि नमीठो पनि सुनिने भयो । तर, यो शब्द नराखे कार्टुनको स्वादै हराउने भयो । श्रेष्ठले साथीहरूलाई भने, ‘यो शब्द त महिलाले भनेकी हुन् । कार्टुनले होइन । भोलि पत्रिकामा बलात्कार शब्द प्रयोग भएर आउँछ । अनि कार्टुनमा राख्दाचाहिँ के हुन्छ र !’


श्रेष्ठले कार्टुन सम्पादकलाई भाइबरमा पठाए । सम्पादकले भने, ‘गज्जब छ !’ कार्टुन फाइनल भयो ।  कार्टुन बनाउँदै गर्दा श्रेष्ठ निकै सचेत हुन्छन् । दबाब पनि महसुस गर्छन् । कुनै निश्चित धर्म, समुदायको आस्थामाथि चोट पर्ला, महिलालाई होच्याइएला, सामाजिक मूल्य मान्यता बिथोलिएला कि भनेर निकै सचेत हुन्छन्, उनी । ‘सचेत भएर कार्टुन बनाउँदा समय निकै लाग्छ, मलाई ।’ कहिलेकाहीँ कार्टुनको विचारलाई लिएर पनि दबाब महसुस गर्छन्, उनी । आफ्नै विचारको विरोधमा पो गयो कि भनेर निकै हेर्छन् । तर, विचार भन्ने कुरा कतिवेला आउँछ, पत्तो नहुने बताउँछन्, उनी । भन्छन्, ‘कुनै विषय हप्तौँसम्म आउँदैन । कुनै एकै क्षणमा आउँछ ।’