• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
सजना कोइराला
२०७७ असोज १० शनिबार १०:०५:००
समाज

‘कुनै वेला म पनि कार्टुन बनाउँथेँ’

२०७७ असोज १० शनिबार १०:०५:००
सजना कोइराला

पत्रपत्रिकामा कार्टुन बनाएर छाप्ने उद्देश्य त कहिल्यै थिएन, तर अचानक एक दिन कम्प्युटरमा चित्र कोर्न मन लाग्यो । करिब दश वर्षअगाडि पत्रकारिता एउटा रहर थियो । पत्रिकामा काम गर्दागर्दै समाचार टाइप गर्ने इन्टरनेटबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार डाउनलोड गर्ने क्रमसँगै पत्रिकामा छापिएको कार्टुनसँग विशेष लगाव थियो । 

 

राष्ट्रिय पत्रिकामा कार्टुनमा नहुँदा खल्लो लाग्थ्यो । दमौलीको स्थानीय पत्रिका ‘सेतीमादी’ दैनिकका सम्पादक डम्बर अधिकारीले मलाई चित्र कोर्दै गरेको देखेपछि पत्रिकामा छाप्नलायक चित्र कोर्न सल्लाह दिनुभयो । चित्र कोर्न सुरु गरेँ । पत्रिकामा छापियो पनि । जसको चर्चा केही दिन बजारमा चलेछ । चित्र कुनै विशेष थिएन, त्यही पनि स्थानीय पत्रिकामा सामान्य विषयवस्तु पनि महत्वका साथ हेर्ने गरिन्थ्यो ।

 

कार्टुनको लोकप्रियतासँगै सम्पादकज्यूले सल्लाह दिनुभयो, ‘कार्टुनको राम्रै चर्चा चल्यो । अरू पनि यस्तै चित्र कोेर्न सक्छौ ?’ चित्र कोर्न विशेष परिश्रम लाग्दैनथ्यो, जस्तो चित्र कोरे पनि सम्पादकले छापिदिनुहुन्थ्यो । त्यही क्रमसँगै उहाँले प्रस्ताव राख्नुभयो, ‘यदि समसामयिक विषयमा कान्तिपुर, नागरिक, दैनिकको जस्तै कार्टुन बनाउछौ भने स्तम्भको रूपमा दैनिक छापिदिन्छु ।’


त्यसपछि सुरु भयो, मेरो कार्टुन बनाउने सिलसिला । पत्रिकामा छापिने मुख्य समाचार विशेषगरी राजनीतिक विषयमा आधारित हुन्थ्यो । त्यही समाचारको कन्सेप्टमा आधारित कार्टुन कोर्ने गर्थेँ । नेताहरूको अनुहारको फिचर तयार गर्न साह्रै गाह्रो लाग्थ्यो । त्यस्तो फिचर ल्याउन कान्तिपुर र नागरिकमा छापिने कार्टुनको सहारा लिन्थेँ । चित्र मात्र भएको भए जे कोर्दा पनि हुन्थ्यो, तर औपचारिक रूपमा कुनै तालिम नलिईकन पत्रिकामा छापिनेस्तरको कार्टुन बनाउनु भनेको मेरा निम्ति निकै चुनौती थियो । बिस्तारै कोसिस गर्दै गएँ, अनि दिन–प्रतिदिन कार्टुनहरू राम्रा बन्दै गए ।


स्थानीयस्तरको पत्रिकाको पनि आफ्नो ठाउँमा स्थान हुन्छ । कार्टुनको स्तर उत्कृष्ट नभए पनि स्थानीयस्तरमा त्यसको राम्रै स्थान थियो । मेरो कार्टुनको माध्यमबाट मानिसहरू मलाई चिन्थे, त्यसले कामप्रति झन् हौसला दिन्थ्यो । त्यसमाथि महिला भएका कारण मानिसहरू मेरो कामलाई विशेष तारिफ गर्थे ।

एकजना जुनियर विद्यार्थीले मसँग भनिन्, ‘आज पत्रिकामा कार्टुन किन नछापिएको ?’ मलाई अचम्म लाग्यो । मलाई त मानिसहरूले चिन्दा पो रहेछन् । नेपालमा त्यसरी दैनिक रूपमा कार्टुन प्रकाशित गर्ने महिला कार्टुनिस्ट म मात्रै पो रहेछु ।


एकपटक कलेजमा एकजना जुनियर विद्यार्थीले मसँग आएर भनिन्, ‘आज पत्रिकामा कार्टुन किन नछापिएको ?’ मलाई अचम्म लाग्यो । मलाई त मानिसहरूले चिन्दा पो रहेछन् । नेपालमा त्यसरी दैनिक रूपमा कार्टुन प्रकाशित गर्ने महिला कार्टुनिस्ट म मात्रै पो रहेछु । 


त्यही क्रममा दमौली रहुन्जेल लगभग तीन वर्षजति पत्रिकामा लगातार कार्टुन बनाएँ । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडांै जानुपर्ने भयो । अनि पत्रकारिता र कार्टुनसँगको नाता बिस्तारै बिरानो हुँदै गयो ।


काठमाडाैं आएपछि यहाँको राष्ट्रियस्तरका दैनिक पत्रिकामा काम गर्ने इच्छा त थियो, तर पढाइसँगसँगै त्यसलाई निरन्तरता दिन सकिनँ । उत्साह र जाँगर आफैँ हराउँदै गयो । 


अहिले ती दिनहरू सम्झिँदा एकादेशको कथाजस्तो लाग्छ । हाल अस्ट्रेलियामा छु । कहिलेकाहीँ कसैलाई ‘कुनै वेलामा म पत्रिकामा कार्टुन बनाउँथे नि’ भन्दा उनीहरू अचम्म मान्छन् ।