• वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
श्रवण उप्रेती
२०७७ असोज १७ शनिबार ०९:४२:००
अनुवाद

कोभिडले अमेरिकामा दुई लाखको मात्र मृत्यु भएको छ, २० लाखको हुनसक्थ्यो : ट्रम्प

पहिले ट्रम्प बंकरबाट बाहिर निस्किनुपर्छ, ह्वाइट हाउसको ओभल अफिसमा फर्किनुपर्छ : बाइडेन

२०७७ असोज १७ शनिबार ०९:४२:००
श्रवण उप्रेती

कोभिड–१९ को महामारीबीच संयुक्त राज्य अमेरिकामा यही वर्षको नोभेम्बरबाट राष्ट्रपतीय निर्वाचन हुँदै छ । राष्ट्रपतिको प्रत्यासी रुपमा छन्, रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उमेदवार जो बाइडेन । ट्रम्प दोस्रो कार्यकालका लागि लड्दै छन् र बाइडेन अमेरिकाका पूर्वउपराष्ट्रपति हुन् । सेप्टेम्बर २७ मा ‘फक्स न्युज’ टेलिभिजनका पत्रकार क्रिस वालेसले मोडरेट गरेको बहसमा दुवै आ आफ्नो मत राखे । श्रवण उप्रेतीले अनुवाद गरेको सोही बहसको सम्पादित अंश :

 

क्रिस वालेस : केस वेस्टर्न रिजर्भ युनिभर्सिटीको स्वास्थ्य शिक्षा क्याम्पसबाट सबैलाई नमस्कार ! म फक्स न्युजको क्रिस वालेस हुँ र म तपाईंहरूलाई राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो बाइडेनबीचको यस राष्ट्रपतीय बहसमा स्वागत गर्छु । यो बहस सन् २०२० मा हुने राष्ट्रपतीय बहसहरूमध्ये पहिलो हो । यस बहसलाई ‘कमिसन फर प्रेसिडेन्सियल डिबेट्स’ले प्रयोजना गरेको छ । बहसको तौरतरिका पनि कमिसनले डिजाइन गरेको हो । यस बहसलाई लगभग १५ मिनेटको अन्तरालका ६ ओटा खण्डमा बाँडिएको छ । हरेक खण्डको पहिलो प्रश्नमा वक्ताले दुई मिनेटभित्र आफ्नो भनाइ राख्नुपर्नेछ । त्यसपछि खुला छलफल हुनेछ । दुवै पक्षले यसमा सहमति जनाएका छन् । बहसको शीर्षक तथा प्रश्नहरू मैले नै चयन गरेको हुँ । म के कुरामा विश्वस्त पार्न चाहन्छु भने यी प्रश्न तथा शीर्षक न त कमिसन फर प्रेसिडेन्सियल डिबेटलाई देखाएको छु, न दुई उम्मेदवारलाई नै । 

 

यो बहस क्लिभल्यान्ड क्लिनिकले डिजाइन गरेको स्वास्थ्य तथा सुरक्षा प्रोटोकलअन्तर्गत सञ्चालन गरिएको छ । क्लिभल्यान्ड क्लिनिकले ‘कमिसन फर प्रेसिडेन्सियल डिबेट’ले सञ्चालन गर्ने सबै बहसमा स्वास्थ्य सुरक्षा सल्लाहकारको भूमिका निभाइरहेको छ । सुरक्षाका लागि दुवै पक्षले आफ्ना उम्मेदवारले बहसको सुरुमा हात नमिलाउन सहमत भएका छन् । यहाँ हलमा रहनुभएका श्रोताले पनि मौन रहने प्रतिबद्धता जनाएका छन् । कुनै हुटिङ तथा अन्य हस्तक्षेप नहुने भएकाले तपाईंहरूले उम्मेदवारले भनेका कुरामा ध्यान दिन सक्नुहुनेछ । यति भन्दै रिपब्लिकन उम्मेदवार राष्ट्रपति ट्रम्प र डेमोक्रेटिक उम्मेदवार उपराष्ट्रपति बाइडेनलाई स्वागत गर्छौं । 
जो बाइडेन : के छ हालखबर ?
डोनाल्ड ट्रम्प : तपाईंको के छ ? 
 

जो बाइडेन : म ठीक छु । 

क्रिस वालेस : हाम्रो पहिलो विषय छ, सर्वोच्च अदालत । राष्ट्रपति ट्रम्प तपाईंले यो साता दिवंगत रुथ ब्याडर गिन्सवर्गका ठाउँमा एमी कोनी ब्यारेटलाई मनोनयन गर्नुभयो । अमेरिकी संविधानले सर्वोच्च अदालतको न्यायाधीशको मनोनयनबारे तपाईं र सिनेटको कामकर्तव्य स्पष्ट गरेकाले मनोनयनका लागि बाध्य रहेको तपाईंको भनाइ छ । उपराष्ट्रपति बाइडेनले यस कार्यलाई राष्ट्रपति ट्रम्प र रिपब्लिकन पार्टीको शक्ति दुरूपयोग बताएका छन् । आजको रातको मेरो पहिलो प्रश्न तपाईं दुवैजनालाई यसै विषयमा छ । तपाईंहरू आफूले दिएको तर्कलाई सही र विपक्षीको भनाइलाई गलत किन मान्नुहुन्छ ? र, न्यायाधीशको रूपमा ब्यारेटले अदालतलाई कुन दिशामा लग्लिन् ? राष्ट्रपति ट्रम्प यस खण्ड तपाईंबाट सुरु गरौँ । समय दुई मिनेट । 

 

डोनाल्ड ट्रम्प : हामीले चुनाव जित्यौँ । निश्चित रूपमा चुनावको प्रभाव हुन्छ । ह्वाइटहाउस र सिनेटमा हाम्रो पार्टीको पकड छ । र, हामीले असाधारण उम्मेदवार सिफारिस गरेका छौँ । उनलाई सबैले सम्मान गर्छन् । उनी एक वरिष्ठ प्राज्ञ हुन् । खासमा उनका केही बलिया समर्थकमा नोट्र डेम र अन्य ठाउँका उदारवादी मानिस पनि छन् । त्यसैले उनले असाधारण काम गर्नेछिन् भन्ने मेरो विश्वास छ । हामीले चुनाव जितेकाले हामीलाई न्यायाधीश चुन्ने अधिकार छ । हाम्रो ठाउँमा डेमोक्रेट हुन्थे भने तिनले पनि यही गर्थे, अझ छिटो गर्ने थिए । तर, दुर्भाग्य ! चुनावी परिणाम तिनको पक्षमा आएन । त्यसैले ती रोकिए । हामीले चुनाव जितेका थियौँ, त्यसैले हामीसँग न्यायाधीश चुन्ने अधिकार छ ।


क्रिस वालेस : राष्ट्रपति ट्रम्प, धन्यवाद ! यही प्रश्न उपराष्ट्रपति बाइडेनलाई पनि । तपाईंसँग दुई मिनेटको समय छ । 


जो बाइडेन : सर्वोच्च अदालतको उम्मेदवार को हुने भन्नेमा अमेरिकी जनतालाई पनि आफ्नो धारणा राख्ने अधिकार छ । अमेरिकी सिनेटर र राष्ट्रपतिको चुनावका क्रममा तिनले यो अधिकार प्रयोग गर्छन् । तर, अहिले हामी चुनावको माझमा भएकाले अमेरिकी नागरिकले त्यो अवसर गुमाउनेछन् । चुनाव सुरु भइसकेको छ । दशौँ हजारले मत खसाइसकेका छन् (अमेरिकामा नोभेम्बर ३ लाई राष्ट्रपतीय चुनावको अन्तिम दिन मानिन्छ । फरक–फरक राज्यमा चारदेखि ५० दिनअघिबाटै मत खुला हुन्छ) । त्यसैले हामीले यो निर्वाचनको परिणाम पर्खनुपर्छ । राष्ट्रपति ट्रम्पका कुराबाट के कति कुरा दाउमा छ भन्ने स्पष्ट हुन्छ । उनी ‘एफोर्डेबल केयर एक्ट’ (ओबामाको पहलमा आएकाले यस विधेयकलाई आमरूपमा ‘ओबामा केयर’ नामले चिनिन्छ)लाई खारेज गर्न चाहन्छन् । उनले आज यही मुद्दामा लडिरहेका छन्, हिजो पनि यसैमा लडेका थिए र अहिले शासनसमेत यही मुद्दामा गरिरहेका छन् ।

 

अहिले उनी सर्वोच्च अदालतको पछाडि लाग्नुको कारण पनि यही हो– उनी एफोर्डेबल केयर एक्टलाई हटाउन खोजिरहेका छन् । यो विधेयक खारेज भयो भने दुई करोड मानिस स्वास्थ्य बिमाबाट विमुख हुनेछन् । न्यायाधीशको कुरा गर्दा म उनको विरोधी होइन । उनी असल मानिस लाग्छिन् । तर, उनले ‘एफोर्डेबल एक्ट’ संवैधानिक नभएको लेख्दै आएकी छन् । अहिलेको उम्मेदवारलाई चुनियो भने महिला अधिकारमाथि आधारभूत परिवर्तन आउनेछ । महिलाले विगतमा गर्भवती भएकै कारण बढी रकम तिर्नुपर्नेछ । ‘एफोर्डेबल केयर एक्ट’ पास भएपछि त्यो अवस्थाको अन्त्य भएको थियो । विगतमा कुनै न कुनै स्वास्थ्य उपचार गरेका अमेरिकीको संख्या दश करोड छ, तिनको अधिकार पनि कटौती हुनेछ । पूर्वस्वास्थ्यस्थिति भएकाले बढी शुल्क तिर्नुपर्ने कुरालाई बिमा कम्पनीले मन पराउनेछन् । यसैले चुनावअघि नै सर्वोच्चको न्यायाधीश चुन्न हामी अहद हुन सक्दैनौँ । यदि उनले चुनाव जिते र सिनेट पनि रिपब्लिकनको पकडमा आयो भने हाम्रो केही असहमति हुनेछैन । तर, अहिलेलाई भने फेब्रुअरीसम्मका लागि पर्खनुपर्छ । 


डोनाल्ड ट्रम्प : जनताको धारणाको कुरा गर्ने हो भने तिनले आफ्नो मत चार वर्षअघि नै जाहेर गरिसके । राष्ट्रपति चार वर्षका लागि चुनिन्छ, तीन वर्षका लागि होइन । अहिले सिनेट हाम्रो पार्टीको पकडमा छ र राष्ट्रपतिका रूपमा रिपब्लिकन पार्टीबाट म...


जो बाइडेन: राष्ट्रपति अबको चुनावबाट चुनिनेछन् ।
डोनाल्ड ट्रम्प : म तीन वर्षका लागि चुनिएको होइन, चार वर्षका लागि चुनिएको हुँ । र, जो तपाईंले भन्नुभएको दश करोड मानिसको तथ्यांक गलत छ । त्यो तथ्यांक तपाईंले कहाँबाट पाउनुभयो ? मुख्य समस्या के हो भने तपाईं निजी स्वास्थ्य बिमा व्यवस्थामा खुसी रहेका १८ करोड मानिसलाई समस्यामा पार्न खोज्दै हुनुहुन्छ ।
जो बाइडेन : त्यसमा कुनै सत्यता छैन । 
डोनाल्ड ट्रम्प : त्यसो भए तपाईं समाजवादी (नीति)तर्फ जाँदै हुन्छ । तपाईं समाजवादी स्वास्थ्य नीतितर्फ जाँदै...
क्रिस वालेस : महोदय, तपाईंहरू अब खुला बहसमा जान सक्नुहुन्छ । खुला बहस उपराष्ट्रपतिले सुरु गर्नुस् ।
जो बाइडेन : पहिलो कुरा ट्रम्पलाई मेरो प्रस्तावबारे थाहा छ । मैले ओबामा केयरमा कुनै कटौती नगरी त्यसमा थप विस्तार गर्न भनेको छु । मैले जितेको पार्टी उम्मेदवारीको प्रतिस्पर्धामा २३ प्रत्यासीसँग मेरो सबैभन्दा ठूलो बहस नै निजी विमान राख्न दिने मेरो मागमा परेको थियो । मेरो प्रस्तावनाअनुसार निजी बिमा हुनेले तिनको सुविधालाई यथावत् राख्न सक्छन् । 
डोनाल्ड ट्रम्प : तर, तपाईंले पहिले यसो भन्नुभएको छैन । तपाईंको पार्टीले पनि त्यसो भनेको छैन । 
जो बाइडेन : यो सरासर झुट हो । 
डोनाल्ड ट्रम्प : तपाईंको पार्टीले अर्कै कुरा गरिरहेको छ । तपाईंको पार्टी समाजवादी औषधोपचार तथा समाजवादी स्वास्थ्य सेवा चाहन्छ । 
जो बाइडेन  पार्टी नै म हुँ । अहिले म नै डेमोक्रेटिक पार्टी हुँ । 
डोनाल्ड ट्रम्प : पार्टी तपाईंमाथि हावी हुनेछ, जो । तपाईं पनि त्यसमा अवगत हुनुहुन्छ । 
जो बाइडेन : अहिले डेमोक्रेटिक पार्टी भनेकै म हुँ । 
डोनाल्ड ट्रम्प : (कमला) ह्यारिसका अनुसार त त्यस्तो लाग्दैन । 
जो बाइडेन : डेमोक्रेटिक पार्टीको घोषित नीतिसँग मेरो सहमति छ । तर, मुख्य कुरा मेरो प्रस्तावले पूर्वस्वास्थ्यस्थितिका आधारमा उत्पन्न समस्यालाई खारेज गरिदिन्छ । मुख्य कुरा ट्रम्पको शासनमा दुई लाख मानिसले ज्यान गुमाए । ७० लाख मानिसलाई कोभिड लागेको छ । यदि एफोर्डेबल केयर एक्टलाई खारेज गर्ने हो भने अहिले कोभिड लागेका लाखौँ मानिसमाथि के होला ?
डोनाल्ड ट्रम्प : तपाईंले सेनाका लागि पर्याप्त स्वास्थ्य सेवा नदिनु भएकाले ३तीन लाख आठ हजार मानिस मरिरहेका छन् । त्यसैले यसबारेमा तपाईं मलाई नसिकाउनुस् । 
जो बाइडेन : म यसबारेमा कुरा गर्न तयार छु । 
डोनाल्ड ट्रम्प : तपाईं सत्तामा भएको भए अहिले २ लाख होइन, २० लाख मानिस मर्थे । किनकि, तपाईंको होस आउँदा धेरै ढिलो भइसक्थ्यो । चीन र युरोपमाथि मैले लगाएको प्रतिबन्धको पनि तपाईंले विरोध गर्नुभएको थियो । 
क्रिस वालेस : यो चरण सकियो, राष्ट्रपति महोदय ! 
डोनाल्ड ट्रम्प : जो तपाईं ढिलो मान्छे हो । 
क्रिस वालेस : राष्ट्रपति महोदय !
डोनाल्ड ट्रम्प : हामीहरू २० लाख मानिसको कुरा गरिरहेका छौँ । 
जो बाइडेन : ट्रम्प चुप लगाउन सकिने मान्छे होइनन् । 
क्रिस वालेस : राष्ट्रपति महोदय, मोडरेटरका रूपमा भन्दै छु, कोभिडबारे हामी अर्को खण्डमा कुरा गर्नेछौँ । तर, आफ्नो कुरा पूरा गर्नुस् । 
जो बाइडेन : पहिले मलाई आफ्नो कुरा पूरा गर्न दिनुस् । राष्ट्रपति रो भी वेडको पनि विरोध गर्छन् । त्यो पनि अहिले दाउमा छ । त्यसैले चुनावमा... ।
डोनाल्ड ट्रम्प : मतपत्रमा के छ भन्ने तपाईंलाई थाहा छैन । त्यो किन मतपत्रमा छ ? 
जो बाइडेन : यो अदालतसम्बन्धी मतपत्रमा छ ।
डोनाल्ड ट्रम्प : मलाई त्यस्तो लाग्दैन । 
जो बाइडेन : अदालतमा । 
डोनाल्ड ट्रम्प : त्यहाँ केही भइरहेको छैन । 
जो बाइडेन : डोनाल्ड, कृपया तपाईं एक मिनेट मौन बसिदिनुहुन्छ ?
डोनाल्ड ट्रम्प : तपाईंहरूलाई रो भी वेडबारे उनको विचार थाहा छैन ? 
क्रिस वालेस : ल ठीक छ । यस विषयमा कुरा गरौँ । हामीले धेरै विषयबारे कुरा गर्न बाँकी छ र हामीसँग प्रशस्त समय छ । स्वास्थ्य सेवापछि हामी रो भी वेडमा फर्कन्छौँ ।
जो बाइडेन : ठीक छ । 
क्रिस वालेस : राष्ट्रपति महोदय, सर्वोच्च अदालतले चुनावको एक सातापछि एउटा मुद्दामा सुनुवाइ गर्र्दै छ । त्यस मुद्दामा ट्रम्प प्रशासन तथा १८ महान्यायाधिवक्ताले ओबामा केयरलाई खारेज गर्न माग गरेका छन् । 
डोनाल्ड ट्रम्प : त्यो सही हो । 
क्रिस वालेस : तपाईंले अघिल्लो हप्ता के कुरामा खर्च... ।
डोनाल्ड ट्रम्प : किनकि, उनीहरू अहिलेको भन्दा राम्रो स्वास्थ्य सेवा दिन चाहन्छन् । 
क्रिस वालेस : सर, के म मेरो प्रश्न पूरा गर्न सक्छु ? 
जो बाइडेन : राम्रो स्वास्थ्य सेवा !
क्रिस वालेस : विगत चार वर्षको अवधिमा तपाईंले ओबामा केयरलाई फिर्ता लिएर अर्को कानुनले विस्थापित गर्ने वाचा गर्नुभयो । तर, यो चार वर्षमा ओबामा केयरलाई विस्थापित गर्ने तपाईंको त्यस्तो कुनै विस्तृत योजना आएन । 
डोनाल्ड ट्रम्प : मसँग (योजना) थिए । निश्चित रूपमा थिए । इन्डिभिजुअल म्यान्डेट... ।
क्रिस वालेस : (बीचमै रोक्दै) मैले प्रश्न पूरा गरेपछि तपाईंले जवाफ दिन पाउनुहुनेछ... ।
डोनाल्ड ट्रम्प  माफ गर्नुस् । मैले ओबामा केयरको महत्वपूर्ण हिस्सा रहेको इन्डिभिजुअल म्यान्डेट हटाएँ । 
क्रिस वालेस : तर, त्यो त विस्तृत योजना होइन । 
डोनाल्ड ट्रम्प : तर, त्यो निकै ठूलो कुरा हो । त्यो ओबामा केयरको सबैभन्दा खराब कुरा थियो । 
क्रिस वालेस : मेरो प्रश्न अझै पूरा भएको छैन, सर ! 
डोनाल्ड ट्रम्प : क्रिस, त्यो ओबामा केयरको सबैभन्दा खराब पाटो थियो । 
क्रिस वालेस : राष्ट्रपति तपाईं मसँग होइन, बाइडेनसँग बहस गर्न आउनुभएको हो । मलाई प्रश्न सोध्न दिनुस् । 
डोनाल्ड ट्रम्प  म जोसँग सोध्न चाहन्छु । इन्डिभिजुअल म्यान्डेट ओबामा केयरको सबैभन्दा अलोकप्रिय पक्ष थियो । 
क्रिस वालेस : राष्ट्रपति महोदय !
डोनाल्ड ट्रम्प : मैले सो प्रावधान हटाएँ र हामी जनता बचाउनेछौँ । 
क्रिस वालेस : राष्ट्रपति महोदय, यो बहसको मोडरेटर म हुँ । त्यसैले मलाई प्रश्न सोध्न दिनुस्, त्यसपछि तपाईं जवाफ दिनुस् । 
डोनाल्ड ट्रम्प : सोध्नुस् । 
क्रिस वालेस : विगत चार वर्षको अवधिमा तपाईंले ओबामा केयरलाई विस्थापित गर्ने कुनै विस्तृत योजना ल्याउनुभएन । यो डिबेटको पाँच दिनअघि तपाईंले पूर्वस्वास्थ्य समस्या रहेका मानिसलाई सुरक्षा गर्नका लागि एक कार्यकारी निर्देशन (एक्जेक्युटिभ अर्डर)मा हस्ताक्षर गर्नुभयो । त्यो सांकेतिक थियो भन्ने प्रस्ट छ । मेरो प्रश्न के भने, ‘ट्रम्प स्वास्थ्य योजना’भन्नाले के हो ? 

डोनाल्ड ट्रम्प : पहिलो कुरा म बाइडेनसँग बहस गरिरहेको छु जस्तो लाग्छ, उहाँसँग होइन । तर, पनि ठीकै छ । म आश्चर्यचकित छैन । म केही कुरा स्पष्ट गर्न चाहन्छु । कुनै कुरा सांकेतिक थिएन । म औषधिको मूल्यमा कटौती गर्दै छु । ठूला औषधि उद्योगविरुद्ध मजति कुनै पनि राष्ट्रपतिले साहसपूर्वक भिडेको छैन । औषधिको मूल्य ८० देखि ९० प्रतिशतसम्म तल झर्नेछ । यो कुरा बाइडेनले ४७ वर्षसम्म सत्तामा रहँदा गर्न सक्नुहुन्थ्यो । तर, तपाईंले गर्नुभएन । कसैले पनि गरेन । त्यसैले हामी स्वास्थ्य सेवा (मूल्य) कटौती गरिरहेका छौँ । 
क्रिस वालेस : विगतमा स्वास्थ्य समस्या रहेका मानिसबारे के छ योजना ? 
डोनाल्ड ट्रम्प : हामीले त्यस सम्बन्धमा धेरै काम गरेका छौँ । 
जो बाइडेन : उनले स्वास्थ्य सेवामा केही गरेका छैनन् । 
डोनाल्ड ट्रम्प : म उदाहरण दिन्छु । इन्सुलिनका कारण परिवार ध्वस्त भइरहेको थियो, मानिसहरू पीडित थिए । मैले यसको मूल्य पानीबराबर बनाइदिएँ । हामीले काम गरिरहेका सबै ड्रग्समा हेर्नुस् । प्रेस्कृप्सन औषधिका सन्दर्भमा हामी राज्य गभर्नरलाई अन्य देशबाट औषधि किन्न अनुमति दिँदै छौँ । किनकि, ती देशमा यहाँको भन्दा निकै थोरै मूल्यमा औषधि आउँछ । 
क्रिस वालेस : यो खुला बहस हो । 
डोनाल्ड ट्रम्प : मैले गरेको काम निकै ठूलो कुरा हो । 
क्रिस वालेस : राष्ट्रपति महोदय, तपाईंलाई खुसीको कुरा, म अब तपाईंले उठाउनुभएको एक बुँदा उपराष्ट्रपतिलाई सोध्न जाँदै छु । उपराष्ट्रपति महोदय, तपाईं ओबामा केयरमा ‘पब्लिक अप्सन’ (निजी बिमासँग प्रतिस्पर्धा गर्न सरकारी लगानी रहने बिमा एजेन्सी खोल्ने प्रस्ताव) राख्न चाहनुहुन्छ ? 
जो बाइडेन : हो । 
क्रिस वालेस : तर, रिपब्लिकन र ट्रम्पले यसले निजी बिमा अन्त्य गर्ने बताइरहेका छन् ?
जो बाइडेन : त्यस्तो हुँदैन । 
क्रिस वालेस : यदि मैले तपाईंलाई यो प्रश्न... ।
डोनाल्ड ट्रम्प : खासमा तपाईंको पार्टीले त्यो भनेको छैन । 
क्रिस वालेस : र, निजी बिमा अन्त्य भएपछि स्वास्थ्य क्षेत्रमा सरकारको पकड कायम हुन्छ । 
जो बाइडेन : त्यस्तो हँुदैन । यो त्यस्ता व्यक्तिका लागि हो, जो यति गरिब छन्, जो मेडिकेडका लागि योग्य छन् र त्यो तिनले निःशुल्क पाउनेछन् । मेडिकेडका लागि योग्यहरू स्वतः पब्लिक अप्सनमा छनोट हुनेछन् । अधिकांश अमेरिकी त्यस विकल्पमा हुनेछैनन् । 
डोनाल्ड ट्रम्प : जो, तपाईंले चुनावी घोषणापत्रमा उग्र वामपन्थी वर्नी स्यान्डर्ससँग सहमति जनाउनुभएको छ । त्यसैले तपाईंको औषधोपचार समाजवादी भयो । 
जो बाइडेन : हेर्नुस् । 
डोनाल्ड ट्रम्प : तपाईंले यसमा सहमत छैन भन्नुभएको हो ? 
जो बाइडेन : म उनको प्रश्नको जवाफ दिनेछैन । मैले बर्नी स्यान्डर्सलाई जितेको किन बिर्सनुहुन्छ ? 
डोनाल्ड ट्रम्प : झिनो अन्तरले । 
जो बाइडेन : मैले उनलाई धेरै अन्तरले जितेको हुँ । 
डोनाल्ड ट्रम्प : झिनो अन्तरले !
जो बाइडेन : तपाईंको अघि अहिले म उभिएको छु । 
डोनाल्ड ट्रम्प : यदि पोकहोन्टस (एलिजावेद वारेनलाई लक्षित प्रयोग गरिएको नश्लीय शब्द)ले दुई दिनअघि मात्र चुनावी अभियान परित्याग गरेको भए तपाईंले सबै प्राइमरी हार्नुहुन्थ्यो । 
जो बाइडेन : उनलाई आउने भनेकै... ।
डोनाल्ड ट्रम्प : सुपर ट्युजडेमा तपाईं लकी ठहरिनुभयो । 
जो बाइडेन: हो, पहिले पनि म लकी ठहरिएँ । आजको रात पनि म लकी ठहरिनेछु । 
डोनाल्ड ट्रम्प : केको सहायताले ?
जो बाइडेन : किनकि, उनले हालसम्म भनेको सबै कुरा झुटो हो । म यहाँ उनको ढँटुवा बानी बताउन आएको होइन । सबैलाई थाहा छ, उनी ढँटुवा हुन् भनेर । 
डोनाल्ड ट्रम्प : तर, तपाईं पनि ढँटुवा हो । तपाईं आफ्नो कक्षामा अन्तिम हुनुभएको थियो, पहिलो होइन । 
जो बाइडेन : हे भगवान्, म के कुरा स्पष्ट पार्न चाहन्छु भने ... ।
क्रिस वालेस : राष्ट्रपति महोदय, तपाईं उहाँको भनाइ पूरा गर्न दिनुहुन्छ कि ? 
जो बाइडेन : उनलाई त्यस्तो बानी नै छैन । 
डोनाल्ड ट्रम्प : तपाईं चकित हुनुहुनेछ । चकित हुनुहुन्छ । अगाडि भन्नुस्, जो । 
जो बाइडेन : गलत समयमा गलत मानिस र गलत रात । 
डोनाल्ड ट्रम्प : तपाईंले बर्नी स्यान्डर्स र घोषणापत्रमा सहमति जनाउनुभएको हो । 
जो बाइडेन: पहिलो कुरा घोषणापत्र भन्ने नै छैन । 
क्रिस वालेस : राष्ट्रपति महोदय उहाँलाई बोल्न दिनुस् । 
जो बाइडेन : दोस्रो कुरा ।
डोनाल्ड ट्रम्प : उनले यो भनेपछि अब उनले वामपन्थी मतदाता गुमाए । 
जो बाइडेन : दोस्रो कुरा । 
डोनाल्ड ट्रम्प : तपाईंले भर्खरै वामपन्थी (मतदाता) गुमाउनुभयो । तपाईंले पहिले बर्नी स्यान्डर्सको योजनामा सहमति जनाउनुभएको थियो र त्यस योजनाअन्तर्गत सामाजिक औषधोपचारको कुरा उल्लेख थियो । 
क्रिस वालेस : राष्ट्रपति महोदय ! 
जो बाइडेन : ट्रम्प स्वास्थ्य सेवा आवश्यक पर्ने मानिसलाई सहयोग गर्न सक्ने मान्छे होइनन् ? 
डोनाल्ड ट्रम्प : कसले सक्छ त, बर्नी (स्यान्डर्स)ले ? 
जो बाइडेन : उनले सिर्जना गरेको आर्थिक मन्दीले एक करोड मानिसले आफ्ना रोजगारदाताबाट पाइरहेको बिमा गुमाए । पहिलो कुरा यो हो । दोस्रो कुरा, दुई करोड मानिसले ओबामा केयरबाट स्वास्थ्य सेवा पाइरहेका छन् । तर, उनी ओबामा केयरलाई पनि खारेज गर्न चाहन्छन् । 
डोनाल्ड ट्रम्प : म जनतालाई अझ राम्रो स्वास्थ्य सेवा दिन चाहन्छु, त्यो पनि एकदम थोरै मूल्यमा । ओबामा केयर राम्रो छैन । 
जो बाइडेन : उनलाई त्यो कसरी गर्नेचाहिँ थाहा छैन । 
डोनाल्ड ट्रम्प : मैले त्यससम्बन्धी सोचिसकेको छु । 
जो बाइडेन : तर, तपाईंले कहिल्यै पनि योजना ल्याउनुभएको छैन । 
डोनाल्ड ट्रम्प : एक हिसाबले हामीले सुधार गरिसकेका छौँ । ओबामा केयर खराब छ । । 
क्रिस वालेस : महोदय, तपाईंहरू दुवैजना एकैपटक बोलिरहनुभएको कुरा ख्याल गर्नुहोला । पहिले राष्ट्रपतिले आफ्नो कुरा राख्नुहोस् । 
डोनाल्ड ट्रम्प : ओबामा केयर खराब छ । हामीले यसमा सुधार गर्‍यौँ । हामीले इन्डिभिजुअल म्यान्डेटलाई हटायौँ । पूर्वस्वास्थ्य समस्या रहेकाहरूको स्थिति प्रत्याभूत गरेर उक्त म्यान्डेट हटाएका थियौँ । हामीले जति सुधार गर्दा पनि ओबामा केयर निकै महँगो छ । भुक्तानी निकै उच्च छ र यसले काम गर्दैन । त्यसैले यसलाई खारेज नै गर्नुपर्छ । हामी ओबामा केयरलाई खारेज गरेर योभन्दा सस्तो र राम्रो स्वास्थ्य नीति ल्याउँदै छौँ । 
क्रिस वालेस : सर, हामीले दुवै वक्तालाई लगभग बराबर समय दिनुपर्छ । 
डोनाल्ड ट्रम्प : ठीक छ, अगाडि बढौँ । 
क्रिस वालेस : कृपया उपराष्ट्रपतिलाई बोल्न दिऊँ । 
डोनाल्ड ट्रम्प : राम्रो । 
जो बाइडेन : उनीसँग स्वास्थ्य सेवासम्बन्धी कुनै योजना छैन । 
डोनाल्ड ट्रम्प : निश्चित रूपमा हामीसँग योजना छ ।
क्रिस वालेस : कृपया (अवरोध नपुर्‍याउनुस् ।)
जो बाइडेन: उनका एक्जेक्युटिभ अर्डरमा कुनै बल छैन । उनले कसैको पनि औषधिको मूल्य घटाएका छैनन् । उनी चुनिएदेखि नै एउटा नयाँ स्वास्थ्य सेवा योजनाको वाचा गरिरहेका छन् । उनले भन्ने अरू धेरै कुराजस्तै उनीसँग कुनै योजना छैन । खासमा उनलाई आफूले के भनिरहेको छु भन्ने पनि थाहा छैन । 


क्रिस वालेस : ठीक छ, मसँग तपाईंहरूका लागि एउटा अन्तिम प्रश्न छ । उपराष्ट्रपति महोदय, हामी यहाँ खासमा सर्वोच्च अदालतको प्रश्नमा छौँ । यदि रिपब्लिकनको बहुमत रहेको सिनेटले ब्यारेटलाई स्वीकृति दियो भने फिलिबुस्टर अन्त्य गर्ने र नौ न्यायाधीशमा थप गर्ने चर्चा चलिरहेको छ । तपाईंले यसलाई राष्ट्रपतिको ध्यान मोड्ने चाल भन्नुभएको छ । तर, यो राष्ट्रपति ट्रम्पले ल्याएको कुरा होइन । यसलाई तपाईंका केही डेमोक्रेटिक सहकर्मीले ल्याएका थिए । यसमा मेरो प्रश्न, विगतमा तपाईंले यसबारेमा कुरा गर्न अस्वीकार गर्नुभएको छ । के आज राति तपाईं अमेरिकी नागरिकलाई यो बताइदिनुहुन्छ कि तपाईं फिलिबुस्टर अन्त्य तथा सर्वोच्चमा न्यायाधीश थप्ने कुरालाई सहमति जनाउनुहुन्छ ? 
जो बाइडेन : त्यसमा मैले जुन अडान लिए पनि विवाद बन्नेछ । मुख्य कुरा, अमेरिकी नागरिकले बोल्नुपर्छ । मतदानमार्फत आफ्ना सिनेटरलाई विचार अभिव्यक्त गर्नुस् । 
डोनाल्ड ट्रम्प : अनि अदालतमा न्यायाधीश बढाउन सहमत हुनुहुन्छ ? 
जो बाइडेन : मतदान गर्नुस् । 
डोनाल्ड ट्रम्प : अदालतमा न्यायाधीश बढाउन तयार हुनुहुन्छ ? 
जो बाइडेन : मानिसहरूले तिनका सिनेटर चिन्ने अवस्था उत्पन्न गराउनुपर्छ । 
डोनाल्ड ट्रम्प : उनी यसको जवाफ दिन चाहँदैनन् । 
जो बाइडेन : म त्यस प्रश्नको जवाफ दिँदिन । 
डोनाल्ड ट्रम्प : किन ? तपाईं सर्वोच्च अदालतमा न्यायाधीश बढाउन चाहनुहुन्छ । उग्र वामपन्थी !
जो बाइडेन : तपाईं चुप लागेर बस्न सक्नुहुन्न ?
डोनाल्ड ट्रम्प : तपाईंका सूचीमा को–को हुनुहुन्छ, सुन्नुस् । तपाईंको सूचीमा रहेका मानिसको सूची... ।
क्रिस वालेस : महोदय, योसँगै यो खण्डको अन्त्यमा... ।
जो बाइडेन : यो राष्ट्रपतिमा हुनुपर्ने व्यवहार भएन । 
डोनाल्ड ट्रम्प : उनी सर्वोच्चमा न्यायाधीश बढाउँदै छन् । तर, उनी सूची दिँदैनन् । 
क्रिस वालेस : हामीले यो खण्ड अन्त्य गरेका छौँ । हामी दोस्रो खण्डमा प्रवेश गर्दै छौँ । 
जो बाइडेन : निकै उपयोगी खण्ड भयो होइन ? अझै फतरफतर गरिरहनु । 
डोनाल्ड ट्रम्प : मानिसले बुझ्छन् । 
जो बाइडेन : निश्चित रूपमा । 
डोनाल्ड ट्रम्प : ४७ वर्षमा केही नगरेको जनताले बुझ्छन् । 

क्रिस वालेस : दोस्रो विषय छ कोभिड–१९ । विषय निकै गम्भीर भएकाले सोहीअनुसारको गम्भीरताको आशा गर्छु । अमेरिकामा ७० लाख मानिस कोरोनाबाट संक्रमित भए । दुई लाखको ज्यान गयो । विज्ञहरू खोप निर्माणपछि पनि परिस्थिति सामान्य बन्न केही महिना वा वर्ष लाग्ने बताइरहेका छन् । यस्तोमा दुवैजनालाई मेरो प्रश्न छ, तपाईंहरूको हालसम्मको बोली व्यवहारका र भावी वाचाका आधारमा अमेरिकी जनताले तपाईंलाई विपक्षीभन्दा किन बढी विश्वास गर्ने ? यसको जवाफ जो बाइडेनबाट सुरु गरौँ । समय दुई मिनेट । 


जो बाइडेन : अमेरिकाको जनसंख्या विश्वको चार प्रतिशत छ । तर, कोभिड–१९ का कुल मृतकमध्ये २० प्रतिशत अमेरिकी छन् । दैनिक ४० हजार संक्रमित भइरहेका छन् भने ७५० देखि हजारजना मरिरहेका छन् । यो संख्याभन्दा ट्रम्प ‘के नै गर्न सकिन्छ र’ भाकामा जवाफ दिन्छन् । तर, हाम्रा राष्ट्रपतिका कारण हामीले यस्तो अवस्था भोगिरहेका छौँ । राष्ट्रपतिको कुनै योजना छैन । उनले त्यस्तो कुनै प्रस्ताव अघि सारेका पनि छैनन् । उनलाई फेब्रुअरीमै रोग कति खतरनाक छ भन्ने थाहा थियो । उनले टेपमै यस रोगको गम्भीरता स्विकारेका छन् । उनले अमेरिकी जनता नआत्तिऊन् भनेर यो कुरा आमरूपमा नभनेको बताएका छन् । तर, उनले के गरे ? हामी (डेमोक्रेटिक पार्टीसम्बद्ध)ले (प्रकोपको सुरुमा) चीनमा रहेका हाम्रा विज्ञलाई वुहानमा पठाएर रोग कति गम्भीर छ भनेर जाच्न भन्यौँ । तर, उनले यसबारेमा सी जिनपिङसँग कुरा पनि गरेनन् । 
डोनाल्ड ट्रम्प : गलत । 
जो बाइडेन : उनले सीले उत्कृष्ट काम गरिरहेको बताए । उनले सीले प्रदर्शन गरेको पारदर्शिताका लागि हामीले कृतज्ञता व्यक्त गर्नुपर्ने बताए । त्यसपछि उनले के गरे ? उनले केही पनि गरेनन् । उनी पर्खिरहे । तर, अझैसम्म पनि उनीसँग कुनै योजना छैन । 
डोनाल्ड ट्रम्प : गलत । 
क्रिस वालेस : सर, उहाँको दुई मिनेट सकिएको छैन । 
डोनाल्ड ट्रम्प : यो सरासर गलत हो । 
जो बाइडेन : मैले मार्च महिनामा हामीले पालना गर्नुपर्ने योजना अघि सारेको थिएँ । त्यसपछि जुलाईमा पुन हामीले गर्नुपर्ने काम अघि सारेँ । हामीले सम्भव भएसम्मको सुरक्षात्मक उपकरण उपलब्ध गराउनुपर्छ । हामीले तल्लो सदनले पास गरेको रकम उपलब्ध गराएर मानिसलाई व्यवसाय खुला राख्न सघाउनुपर्छ । विद्यालय खुलाउन धेरै पैसा खर्च हुन्छ । यसका लागि पहिले ट्रम्प उनको बंकरबाट वा उनको गल्फ मैदानबाट बाहिर निस्किनुपर्छ र ह्वाइटहाउसको ओभल अफिसमा फर्कनुपर्छ । त्यहाँबाट डेमोक्रेट्स र रिपब्लिकनलाई साथ लिएर मानिसको जीवन जोगाउन लगानी गर्नुपर्छ । 
डोनाल्ड ट्रम्प : तपाईंले भनेको मानेको भए... ।
क्रिस वालेस : पख्नुस्, तपाईं आफ्नो दुई मिनेट समयमा बोल्नुस् । 
डोनाल्ड ट्रम्प : यदि हामीले तपाईंको कुरा सुनेको भए देश पूर्ण खुला हुन्थ्यो र दुई लाख नभएर दशौँ लाख मानिसको ज्यान जान्थ्यो । यो सब चीनको गल्ती हो । पहिले त यो हुनु नै हुँदैनथ्यो । चीन, रुस र भारतजस्ता देशले मृतकको सही संख्या दिइरहेका छैनन् । हामीले के ग¥यौँ, सबैले देखे । सीमा बन्द गर्दा तपाईंले नै हामीलाई ‘जातिवादी’को आरोप लगाउनुभयो । 
क्रिस वालेस :(बाइडेनले कुरा गर्न थालेपछि) सर, अहिले उहाँको दुई मिनेट चलिरहेको छ ।
डोनाल्ड ट्रम्प : तपाईंले देशको सीमा बन्द गर्न हुँदैन भनिरहनुभएको थियो । तपाईं भएको भए अर्को दुई महिना पनि बन्द हुँदैनथ्यो । खासमा डा. फाउचीले नै ‘राष्ट्रपतिले हजारौँको ज्यान जोगाए’ भने । डेमोक्रेट्स गभर्नरहरूले नै मेरो कामलाई असाधारण भनेका छन् । हामीले गभर्नरसँग मिलेर काम गर्‍यौँ । हामीले गाउन ल्यायौँ, मास्क ल्यायौँ । हामीले भेन्टिलेटर बनायौँ । तपाईं भएको भए भेन्टिलेटर बनाउनुहुँदैनथ्यो । अब केही हप्ताभित्रै खोप आउँदै छ । मानिस मर्ने संख्या पनि घटिरहेको छ, निकै घटेको छ । हामीले असाधारण काम गरेका छौँ । 
डोनाल्ड ट्रम्प : प्रेसको नजरमा मात्र मैले राम्रो काम गरेको छैन । मैले जस्तो राम्रो काम गरे पनि प्रेस राम्रो भन्दैनन् । तर, यो सब फेक न्युज मात्र हो । दुर्भाग्यवश ! प्रेसले सधैँ मसँग यस्तै गर्छन् । तर, मलाई यसको कुनै मतलब छैन । मलाई बानी परिसक्यो । तर, जो तपाईंले हामीले जति काम गर्न सक्नुहन्थेन । 
जो बाइडेन : मलाई काम कसरी गर्ने थाहा छ । 
डोनाल्ड ट्रम्प : तपाईंले स्वाइन फ्लुको वेला त्यति राम्रो काम गर्नुभएन । एच१एन१ मा तपाईंहरूको कामले विपद् निम्त्याएको थियो । तपाईंकै चिफ अफ स्टाफले स्विकारेका छन् । 
जो बाइडेन : त्यो समय १४ हजार मानिस मरेका थिए, दुई लाख होइन । 
डोनाल्ड ट्रम्प : तर, रोग यति प्राणघातक थिएन । 
क्रिस वालेस : राष्ट्रपति महोदय, तपाईंको कुरा सुनियो, अब उहाँले जवाफ दिनुहुनेछ । 
जो बाइडेन : हामीले अर्थतन्त्र ठप्प पारेनौँ । उनले सम्पूर्ण अर्थतन्त्रलाई बन्द गरे । यसको कारण तपाईंहरू आफैँ घरमा देख्न सक्नुहुन्छ । कतिको घरमा बुबाआमा अहिले हुनुहुन्न होला, भए पनि अस्पतालमा भर्ना हुनुहोला । 
डोनाल्ड ट्रम्प : हामीले निकै धेरै मानिस गुमाउने थियौँ । तपाईं महिनौँ ढिलो हुनुहुन्थ्यो । 
जो बाइडेन : उनकै सिडिसी निर्देशकले वर्षको अन्तिमसम्म दुई लाखले ज्यान गुमाउने बताएका थिए । निर्देशकले मास्क मात्र लगायौँ भने मर्नेको संख्या आधा गर्न सकिने बताएका थिए । मात्र मास्क ! खोपको कुरामा पनि राष्ट्रपतिको कुरा पत्याउन सकिँदैन । अरूले पनि विश्वास गर्नुभएको छैन होला । हामीले वैज्ञानिकलाई मात्र विश्वास गर्न सक्छौँ । 
डोनाल्ड ट्रम्प : तपाईं जोनसन एन्ड जोनसन, पिफाइजरलाई पनि विश्वास गर्नुहुन्न ? 
क्रिस वालेस : राष्ट्रपति ट्रम्प, तपाईं र तपाईंकै सरकारका उच्च वैज्ञानिकबीच कुरा बाझिएको, कुरा नमिलेको देखिन्छ । दुई साताअघि सिडिसीका प्रमुख डा. रेडफिल्डले खोप आमसर्वसाधारणले पाउनलाई अर्को वर्षको गर्मीको सुरुवात कुर्नुपर्ने बताएका छन् । तपाईंले उनी दिग्भ्रमित तथा गलत रहेको बताउनुभयो । अपरेसन वार्प स्पिडका प्रमुख डा. स्लाउईले पनि उही कुरा गरेका थिए । के ती दुवै गलत छन् ?
डोनाल्ड ट्रम्प : मैले औषधि कम्पनीसँग कुरा गरेको छु । तिनले निकै छोटो समयमा खोप बन्ने बताएका छन् । यो राजनीतिक विषय बनेको छ । यस्ता मानिस ज्यान जोगाउनेभन्दा खोपलाई राजनीतीकरण गर्न लागेका छन् । 
जो बाइडेन : गड ! 
डोनाल्ड ट्रम्प : यो निकै राजनीतिक कुरा हो । मैले पिफाइजरसँग कुरा गरेको छु । मैले अरू कुरा गर्नुपर्नेहरू मोर्डेना, जोनसन एन्ड जोनसन र अन्यसँग कुरा गरेको छु । ती निकै छिटो जान सक्छन् । राजनीतिक कारणले विरोध भइरहेको छ, किनकि वापमन्थीले...अब वामपन्थी भनौँ कि के भनौँ, ठ्याक्कै भन्न आएन । 
क्रिस वालेस : तपाईंले अपरेसन वार्प स्पिडको प्रमुख डा. स्लाउईलाई... ।
डोनाल्ड ट्रम्प : उनको कुरामा मेरो असहमति छ । खासमा दुवैजनासँग मेरो असहमति छ । तर, उनले त्यसो भनेका पनि होइनन् । उनले चाँडै आउँछ भनेका हुन् । दुई दिनअघि मात्र मैले उनलाई मेरो कार्यालयमा भेटेको छु । 
क्रिस वालेस : उनले डा. रेडफिल्डले जस्तै खोप आमप्रयोगमा आउनलाई गर्मी कुर्नुपर्ने बताएका छन् । 
डोनाल्ड ट्रम्प : उनले नोभेम्बर १ अघि सम्भावना रहेको बताएका छन् । तर, त्यसपछि पनि हुन सक्छ । 
क्रिस वालेस : मैले आमप्रयोगमा कहिले आउँछ भन्नेबारेमा कुरा गरेको ... ।
डोनाल्ड ट्रम्प : हामी लगत्तै वितरण गर्नेछौँ । हामीसँग सेना तयार छ । हाम्रा सेनाले दैनिक दुई लाख मानिसलाई खोप प्रदान गर्न सक्छन् । तिनले वितरण गर्न... ।
जो बाइडेन : यी तिनै मानिस होइन, जसले तपाईंलाई...।
डोनाल्ड ट्रम्प : सबै कुरा ठीक भइसक्यो । 
जो बाइडेन : ...इस्टरसम्ममा त यो सबै ठीक हुन्छ, गर्मी आएपछि यो जादुजसरी हट्छ, ब्लिचलाई सुईमार्फत दिएपछि ठीक हुन्छ । यही मान्छे हो यस्तो भन्ने । 
डोनाल्ड ट्रम्प : मैले त्यो ठट्यौलीका रूपमा भनेको थिएँ । 
जो बाइडेन : अहिले यो मान्छे खोपको कुरा गरिरहेको छ । सबैजसो गम्भीर कम्पनी वर्षको अन्त्यसम्म खोप आउने कुरा गरिरहेका छन् । तर, खोपको वितरण अर्को वर्षको मध्यसम्म सुरु हुनेछैन । 
क्रिस वालेस : उपराष्ट्रपति म अब ...।
डोनाल्ड ट्रम्प : खोप त्योभन्दा अगाडि नै आइसक्छ । 


क्रिस वालेस : म बाइडेनको भनाइलाई जोडेर प्रश्न सोध्न चाहन्छु । तपाईंले सर्वसाधारणले वैज्ञानिकलाई विश्वास गर्न सक्ने तर ट्रम्पलाई नसक्ने भन्नुभयो । तपाईंकी उपराष्ट्रपति उम्मेदवार ह्यारिसले अझ अघि बढेर स्वास्थ्यविज्ञको भनाइ ‘दबाइने’ बताएकी छन् । मानिसहरू खोपलाई लिएर चिन्तित छन्, कतिजना तिनलाई नलिने विचारमा छन् । तपाईं र तपाईंकी रनिङ मेट ह्यारिसले थप डर त बढाइरहनुभएको छैन ? 
जो बाइडेन : तपाईं आफैँले केही अघिको प्रश्नमा ट्रम्पले आफूमातहतका वैज्ञानिकलाई दबाब दिने र तीसँग असहमति राख्ने गरेको उल्लेख गर्नुभयो । त्यही नै तपाईंको प्रश्नको जवाफ हो । ट्रम्प थप स्मार्ट नहुने हो र तीव्र कदम नचाल्ने हो भने धेरै मानिसको ज्यान जानेछ । 
डोनाल्ड ट्रम्प : तपाईंले भर्खर स्मार्ट भन्नुभएको हो । तपाईं आफ्नो विश्वविद्यालयमा सबैभन्दा न्यून अंक ल्याएर पास हुनुभएको मान्छेले स्मार्ट शब्द प्रयोग नगर्दा नै राम्रो । त्यो शब्द कहिल्यै प्रयोग नगर्नुस् । र, राजनीतिमा विगत ४७ वर्षमा तपाईंले केही नगर्नुले पनि तपाईंमा स्मार्ट भन्ने कुरा केही छैन भन्ने देखाउँछ । 
क्रिस वालेस : उपराष्ट्रपति बाइडेन, विद्यालय र अर्थतन्त्र खोल्ने कुरामा तपाईं राष्ट्रपति ट्रम्पभन्दा बढी असहज देखिनुहुन्छ । किन, महोदय ? 
जो बाइडेन : किनकि, राष्ट्रपतिसँग कुनै योजना छैन । यदि म राष्ट्रपति हुन्थेँ भने म आफ्नो योजनाबारे जानकार हुन्थेँ । तपाईंले व्यवसायीलाई पैसा प्राप्त गर्ने सामथ्र्य प्रदान गर्नुपर्छ । आवश्यक पिपिई दिनुपर्छ र आवश्यक सरसफाइका लागि सहज बनाउनुपर्छ । 
डोनाल्ड ट्रम्प : यो कुरा न्यान्सी पेलोसी (डेमोक्रेट्सको बहुमत रहेका अमेरिकाको तल्लो सदनकी सभामुख) लाई भन्नुस् । 
जो बाइडेन : उनी एक मिनेट चुप लाग्न सक्दैनन् ? 
डोनाल्ड ट्रम्प : यो कुरा न्यान्सी पेलोसी र चक सुमर (रिपब्लिकनको बहुमत रहेको सिनेटका डेमोक्रेट पक्षका माइनोरिटी लिडर) लाई भन्नु । 
जो बाइडेन : न्यान्सी पेलोसी र सुमरसँग योजना छ । तर, उहाँ त तिनलाई भेट्न पनि चाहनुहुन्न । उनी आजकल गल्फ मैदानमै मात्र भेटिन्छन् । 
डोनाल्ड ट्रम्प : जो, तपाईं मभन्दा धेरै गल्फ खेल्नुहुन्छ होला । 
क्रिस वालेस : म अब अर्को विषयमा अघि बढ्न चाहन्छु । राष्ट्रपति ट्रम्प, तपाईं हजारौँ मानिस सहभागी ¥याली आयोजना गरिरहनुभएको छ । 
डोनाल्ड ट्रम्प : खुला ठाउँमा । 
क्रिस वालेस : ठीक छ, खुला ठाउँमा । उपराष्ट्रपति बाइडेन, तपाईं भने निकै साना भेला आयोजना गरिरहनुभएको छ । र ...।
डोनाल्ड ट्रम्प : मान्छे पनि आउनुपर्‍यो नि । 
क्रिस वालेस : ...सहभागीले मास्क लगाएको देखिन्छ ।
डोनाल्ड ट्रम्प : साँचो कुरा के हो भने उनको र्‍यालीमा कोही आउँदैनन् ।
क्रिस वालेस : जेसुकै होस् । राष्ट्रपति महोदय, तपाईं ठूला र्‍याली किन आयोजना गरिरहनुभएको छ र बाइडेन, तपाईं किन त्यस्तो र्‍याली गरिरहनुभएको छैन ?
डोनाल्ड ट्रम्प : किनकि, मानिसहरू मेरो कुरा सुन्न चाहन्छन् । 
क्रिस वालेस : तपाईं रोग फैलेला भनेर चिन्तित हुनुहुन्न ?
डोनाल्ड ट्रम्प : अहिलेसम्म कुनै समस्या देखिएको छैन । फेरि र्‍याली खुला ठाउँमा गरिएका छन् । विज्ञका अनुसार यसले त्यति असर गर्दैन । मेरा भेलामा २४ घन्टाअघिको सन्देशका आधारमा विशाल भीड जम्मा हुन्छ । तर, जोका केही भेलामा तीनजना मात्र पनि देखेको छु । 
जो बाइडेन : समाजिक दूरी कायम गर्ने र मास्क लगाउने कुरामा ट्रम्प गैरजिम्मेवार देखिए । उनले कति ठाउँमा निरुत्साहित गरेका छन् । 
डोनाल्ड ट्रम्प : तपाईंको र्‍यालीमा भीड आउने भए, तपाईं पनि त्यही गर्नुहुन्थ्यो । तर, तपाईंले सक्नुभएन । 
क्रिस वालेस : अब हामी अर्को विषयतर्फ अघि बढौँ । विषय अर्थतन्त्र हुनेछ । अर्थतन्त्र सटडाउन गरेपछि खोल्दा सोचिएभन्दा राम्रो प्रगति गरिरहेको छ । 
डोनाल्ड ट्रम्प : हो, धेरै छिटो । 
क्रिस वालेस : अघिल्लो महिना बेरोजगार दर ८.४ प्रतिशमा झर्‍यो । फेडरल रिजर्भका अनुसार आर्थिक वृद्धिमा धक्का परे पनि यो विगतमा सोचिएजस्तो ठूलो हुनेछैन । राष्ट्रपति ट्रम्पले आर्थिक बहाली अंग्रेजी वर्णमालाको ‘भी’ आकारमा हुने बताउनुभएको छ । उपराष्ट्रपति बाइडेनले यो ‘के’ आकारको हुने बताउनुभएको छ ? अर्थतन्त्रलाई त्यसले के फरक पार्छ ? राष्ट्रपति ट्रम्प यो खण्डमा पहिले तपाईं जवाफ दिनुस् । 


डोनाल्ड ट्रम्प : हामीले इतिहासकै सबैभन्दा ठूलो अर्थतन्त्र बनायौँ । चिनियाँ प्लेगका कारण हामीले अर्थतन्त्र ठप्प बनायौँ । चीनले यो अवस्था आउन दिनुहुँदैनथ्यो । हामीले अर्थतन्त्र बन्द गर्‍यौँ र अहिले हामीले खुला गरेका छौँ । र रेकर्डस्तरमा व्यवासाय भइरहेको छ । हामीले चार महिनाको अन्तरालमा एक करोड मानिसलाई कार्यक्षेत्रमा उतारेका छौँ । इतिहासमा यस्तो कहिल्यै देखिएको थिएन । तर, उनी भने अहिले आएर अर्थतन्त्र बन्द गर्नुपर्ने भनिरहेका छन् । उनी भए भने बन्द गर्छन् पनि । उनले यो देश बर्बाद बनाउनेछन् । अर्थतन्त्र बन्द गर्दा धेरै मानिसलाई ड्रग्स, रक्सीको लत लाग्यो । धेरैलाई डिप्रेसन भयो । तर, तपाईंले डेमोक्रेट्सले चलाइरहेको राज्य हेर्नुभयो भने अझै कडा लकडाउन लागू छ । तिनैमध्ये एकले अघिल्लो साता भने , ‘हामी नोभेम्बर ९ मा खोल्नेछौँ ।’ किन नोभेम्बर ९ मा ? किनकि, त्यसवेलासम्म चुनाव भइसक्नेछ । ती बन्द गरेर हामीलाई क्षति पुर्‍याउने सोचमा छन् । तर, खासमा तिनले जनतालाई क्षति पु¥याइरहेका छन् । मानिसलाई के गर्नुपर्ने थाहा छ । उनीहरू सामाजिक दूरी कामय गर्न सक्छन् । तिनले हात धुन जानेका छन् । तिनले मास्क लगाउन जानेका छन् । तिनले आफूलाई आवश्यक पर्ने जे पनि गर्न जानेका छन्, तर तिनका राज्य सुचारु गर्नुपर्छ । 

क्रिस वालेस : उपराष्ट्रपति बाइडेन, अर्थतन्त्रबारे मैले सोधेको प्रश्नको जवाफ दिने पालो तपाईंको । 
जो बाइडेन : करोडपति र अर्बपतिले यो संकटबीच निकै धेरै कमाए । अर्बपतिहरूले उनको कर कानुनका कारण ३०० अर्ब थपे । र, अझै उनको ध्यान बजारमा मात्र छ । तर, साना सहरमा रहनुभएका र श्रमिक वर्गका सहरका सर्वसाधारणप्रति उनको कुनै मतलब छैन । यो त्यही मान्छे हो, जसले ७५० डलर कर तिर्‍यो । 
डोनाल्ड ट्रम्प : यो झुट हो । 
क्रिस वालेस : राष्ट्रपति महोदय एकछिन पर्खनुस् । 
डोनाल्ड ट्रम्प : (पुनः बोल्ने प्रयास गर्दै...)
क्रिस वालेस : राष्ट्रपति महोदय, तपाईंले अर्को पक्षलाई दुई मिनेट बोल्न दिने कुरामा सहमति जनाउनुभएको छ । 
जो बाइडेन : उनी अमेरिकी इतिहासमा राष्ट्रपति हुँदा र छाड्दा बीचमा सबैभन्दा कम रोजगारी सिर्जना गर्ने राष्ट्रपति हुँदै छन् । अहिले उनी राष्ट्रपति बन्दाको भन्दा थोरै रोजगारी छ । कोभिडबाट मर्ने अधिकांश अघिल्लो मोर्चामा काम गर्ने मानिस छन् । हाम्रो ज्यान बचाउन लागिपरेकाहरू मरिरहेका छन्, तर उनी अर्थतन्त्र पूर्ण खुला गर्नुपर्ने कुरा गरिरहेका छन् । कोभिड संकट ठीक नपारेसम्म अर्थतन्त्रलाई ठीक पार्न सकिँदैन । 
क्रिस वालेस : राष्ट्रपति महोदय, एक नयाँ रिपोर्टअनुसार सन् २०१६ र सन् २०१७ मा तपाईंले वार्षिक रूपमा ७५० डलर संघीय कर मात्र तिर्नुभयो । हुन त तपाईंले अन्य धेरै कर तिर्नुहुन्छ । तर, के ती दुई वर्ष तपाईंले संघीय आयकरअन्तर्गत ७५० डलर मात्र तिर्नुभएको हो ? 
डोनाल्ड ट्रम्प : मैले करोडौँ डलर करका रूपमा तिरेको छु । आयकर पनि करोडौँ डलर तिरेको छु । तपाईंलाई बताइदिऊँ, एक पत्रिकाले मैले एक वर्ष ३.८ करोड र अर्को वर्ष २.७ करोड तिरेको उल्लेख गरेको छ । 
जो बाइडेन : त्यसो हो भने तपाईंको ट्याक्स रिटर्न देखाउनुस् न । 
डोनाल्ड ट्रम्प : त्यस सम्बन्धमा काम सकिनासाथ तपाईंहरूले देख्न पाउनुहुनेछ । यदि तपाईं जान्न चाहनुहुन्छ भने बोर्ड अफ इलेक्सनमा जानुस् । त्यहाँ झन्डै ११८ पृष्ठमा मसँग भएका सम्पूर्ण कुरा लिपिबद्ध छ । 
क्रिस वालेस : मैले सोधेको प्रश्नको जवाफ आएन । कृपया तपाईंले सन् २०१६ र सन् २०१७ मा कति पैसा तिर्नुभयो, बताइदिनुहुन्छ कि ? 
डोनाल्ड ट्रम्प : करोडौँ डलर तिरेको छु । र, तपाईंले त्यो देख्न पाउनुहुनेछ । 
जो बाइडेन : तर कहिले ? इन्सल्ला !
डोनाल्ड ट्रम्प : खासमा म राजनीतिमा आउनुअघि व्यवसायी थिएँ । व्यवसायी कानुनले व्यवस्था गरेअनुरूप कर तिर्छौं । र, बाइडेनको उपराष्ट्रपतिकालमा उनले तिरेको करले करछुटको व्यवस्था गरेको छ । र, मैले त्यो कानुनअन्तर्गत छुट पाएँ, हो अहिले त्यसका लागि उनै चिढिएका छन् । 
जो बाइडेन : खासमा कर कानुनले गर्दा उनले एक विद्यालय शिक्षकले भन्दा न्यून कर तिरेर उम्केका छन् । उनले कर कानुनको दुरुपयोग गरे । त्यसैले म ट्रम्पले ल्याएको कर कटौतीलाई खारेज गर्नेछु । असहाय व्यक्तिमाथि लगानी हुने अवस्था प्रत्याभूत गर्नेछ । 
डोनाल्ड ट्रम्प : ठीक छ । तर, त्यही कुरा विगत २५ वर्षमा किन गर्नुभएन ? 
जो बाइडेन : किनकि, त्यस अवधिमा तपाईं राष्ट्रपति हुनुहुन्थेन । तपाईं आएपछि सबै कुरा बिगारिरहनुभएको छ । तपाईं अमेरिकाले पाएको सबैभन्दा खराब राष्ट्रपति हो । 
डोनाल्ड ट्रम्प : जो, तपाईंलाई के कुरा स्पष्ट गरिदिऊँ भने तपाईंले ४७ वर्षमा गरेभन्दा धेरै काम मैले ४७ महिनामा गरेको छु । हामीले गरेको काम तपाईं सोच्न पनि सक्नुहुन्न । हामीले खण्डित सेनालाई ठीक गर्‍यौँ । तपाईंले बढाएको ऋणलाई पनि हामीले सम्हाल्यौँ । 
क्रिस वालेस : महोदय, हामी अर्थतन्त्र विषयमै केन्द्रित हौँ । उपराष्ट्रपति महोदय, तपाईं राष्ट्रपति चुनिनुभयो भने तपाईंले ठूलो सरकार, ठूला कर, धेरै खर्चमा ध्यान दिनुहुनेछ । म पहिले करमा केन्द्रित हुन चाहन्छु । तपाईंले आगामी एक दशक वर्षमा चार लाख डलरमाथि कमाउनेहरूमाथि नयाँ कर लगाउने ४० खर्ब डलरभन्दा बढीको प्रस्ताव गर्नुभएको छ । ट्रम्पले त्यस्तो वृद्धिले आर्थिक मन्दीबाट उठ्न लागेको अर्थतन्त्रलाई असर गर्ने बताएका छन् । 
जो बाइडेन : वाल स्ट्रिम्पका फर्मले गरेको विश्लेषण पनि ख्याल गर्नुस् । यसले चार वर्षमा ७० लाख रोजगारी सिर्जना गर्छ । दोस्रो, आर्थिक वृद्धिमार्फत १० खर्ब डलर सिर्जना गर्छ । संघीय सरकारले प्रत्येक वर्ष जहाज, स्टिलदेखि भवनजस्ता कुरामा ६०० अर्ब डलर खर्च गर्छ । मेरो प्रस्तावनाअन्तर्गत प्रत्येक पैसा कम्पनीले तिर्ने बनाइने.... ।
क्रिस वालेस : कृपया मैले करबारे सोधेको हो, खर्चबारे होइन । 
जो बाइडेन : म विभिन्न कर खारेज गर्नेछु । म कर्पोरेट करलाई २८ प्रतिशत बनाउनेछु । यो २१ प्रतिशत हुनुहुँदैन । अमेरिकाका फोच्र्युन ५०० मा रहेका ९१ संघीय कम्पनीले अर्बौं डलर कमाएर पनि एक पैसा कर तिर्दैनन् । 
डोनाल्ड ट्रम्प : तपाईंले यो ओबामाको पालामा उपराष्ट्रपति हुँदा किन गर्नुभएन ? 
जो बाइडेन : किनकि, यो व्यवस्था तपाईंले पास गर्नुभएको हो । 
डोनाल्ड ट्रम्प : मैले गरेर देखाएँ र त्यसले अर्थतन्त्र विगतमा कहिल्यै नलागेको हिसाबमा उँभो लागेको छ । 
क्रिस वालेस : राष्ट्रपति महोदय, अर्थतन्त्र वृद्धिको कुरा गर्दा के देखिन्छ भने ओबामाका राष्ट्रपतिकालको अन्तिम तीन वर्षमा तपाईंको राष्ट्रपतित्वकालको तीन वर्षभन्दा धेरै रोजगारी सिर्जना भएको देखिन्छ । 
डोनाल्ड ट्रम्प : तिनको आर्थिक बहाली सन् १९२९ यताकै सुस्त थियो । 
जो बाइडेन : हामी सरकारमा आउँदा हामीले इतिहासकै सबैभन्दा खराब आर्थिक मन्दीबाट गुज्रिरहेको अर्थतन्त्र हात पारेका थियौँ । हामीले उनलाई विरासतको रूपमा वृद्धि भइरहेको अर्थतन्त्र छाडेका थियौँ । तर, उनले खत्तम बनाए । 
क्रिस वालेस : तर, कोभिडअगाडि ऐतिहासिक स्तरको न्यून बेरोजगारी दर हुँदा उनले अर्थतन्त्र बिगारे भन्न मिल्छ र ? 
जो बाइडेन : कोभिडअगाडि नै पनि निर्माण क्षेत्र कमजोर हुन थालेको थियो । दोस्रो कुरा... ।
डोनाल्ड ट्रम्प : एकछिन पर्खनुस् क्रिस । 
जो बाइडेन : तेस्रो कुरा... ।
डोनाल्ड ट्रम्प : तपाईं दोस्रोमै हुनुहुन्छ । 
जो बाइडेन : होइन । 
डोनाल्ड ट्रम्प : क्रिस, विज्ञले निर्माण क्षेत्रलाई व्युँताउन चमत्कारको आवश्यकता रहेको बताएका छन् । मैले सोही क्षेत्रमा ७० हजार रोजगारी सिर्जना गरेँ । यिनले निर्माण क्षेत्रमा आस मारिदिएका थिए । 
जो बाइडेन : वाहन उद्योगलाई व्युँत्याउने म नै हो । 
क्रिस वालेस : ६ खण्डमध्ये अब हामी नयाँ खण्डमा आएका छौँ । यस खण्ड नश्लबारे कुरा गर्नेछौँ । उपराष्ट्रपति बाइडेन तपाईंले तीन वर्षअघि चार्लोटभिलमा भएको हिंसाबारे राष्ट्रपति ट्रम्पको ‘दुवै पक्षमा असल मान्छे रहेको’ टिप्पणीले तपाईंलाई राष्ट्रपतिका लागि उठ्न बाध्य बनाएको भन्नुभएको छ । राष्ट्रपति ट्रम्प तपाईंले आफूले अब्राहम लिंकनपछि अफ्रिकी–अमेरिकीहरूका लागि सबैभन्दा बढी योगदान गर्ने बताउनुभएको छ । यस्तोमा तपाईंहरू दुवैलाई मेरो प्रश्न छ, मतदाताले नश्लीय मुद्दा समाधानका लागि तपाईंलाई विपक्षीभन्दा बढी किन विश्वास गर्ने ? उपराष्ट्रपतिले पहिले जवाफ दिनुहोला । 

जो बाइडेन : यो समता र समानताको विषय हो । यो सम्मानको विषय हो । यो संविधानको विषय हो । सबै अमेरिकीलाई समता र समानता दिने विषयमा हामी कहिल्यै पछि हटेका छैनौँ । हामीले समानता र समता हासिल नगरेका हौलाउँ, तर हामीले प्रयास सधैँ जारी राख्यौँ । उनीजस्तो कोही पनि यो जिम्मेवारीबाट पछाडि हटेको छैन । उनले एकजना महिलाको हत्या भएको घटनाबारे प्रश्न गरिँदा जवाफमा ‘दुवै पक्षमा असल मानिस थिए’ भने । कुनै पनि राष्ट्रपतिले कहिल्यै पनि त्यस्तो भनेका छैनन् । फ्लोयडको हत्यापछि ह्वाइटहाउसअघि भएको शान्तिपूर्ण प्रदर्शनमाथि अश्रुग्यास हान्ने उनै हुन् । त्यसपछि उनी पल्लोपट्टिका चर्च गएर बाइबल समाए । सो चर्चका विसोफले समेत यसको विरोध गरे । राष्ट्रपतिका रूपमा उनले नश्लीय घृणा सिर्जना गर्ने, विभाजन गर्ने काम मात्र गरे । अफ्रिकी–अमेरिकीलाई सहयोग गरेको दाबी गर्ने यो मान्छेको शासनमा प्रत्येक हजारमध्येमा एक अफ्रिकी–अमेरिकी कोरोनाका कारण मरेका छन् । उनले केही गरेनन् भने यो वर्षको अन्त्यसम्म त्यो संख्या पाँच सयमध्ये एक हुनेछ । 


डोनाल्ड ट्रम्प : तपाईंले सन् १९९४ मा ल्याउनुभएको एक विधयेकमा तिनलाई ठूला परभक्षी भन्नुभएको छ । तिनले यो बिर्सेका छैनन् । 
जो बाइडेन : मैले कहिल्यै त्यस्तो भनेको छैन । 
डोनाल्ड ट्रम्प : तपाईंले ठूला परभक्षीको संज्ञा दिँदा मैले तिनलाई जेलमुक्त गरिरहेको छु । तपाईंले अश्वेत समुदायलाई अन्य कसैले भन्दा खराब व्यवहार गर्नुभएको छ । त्यसैले म अन्य कुनै रिपब्लिकनले भन्दा राम्रो प्रदर्शन गरिरहेको छु । किनकि, तिनले तपाईंले के गर्नुभयो भन्ने ख्याल गरेका छन् । विगतका तपाईंका अभिव्यक्ति हेर्ने हो भने तपाईंले परभक्षीभन्दा खराब शब्द प्रयोग गर्नुभएको छ । मलाई सुरक्षा निकायका मानिसले सुरक्षा व्यवस्थाका लागि सघाएका छन् । तपाईं त सुरक्षा व्यवस्था भन्ने शब्दसमेत प्रयोग गर्नुहुन्न । किनकि, त्यो पदावली प्रयोग गर्नुभयो भने तपाईंका उग्र वामपन्थी समर्थक गुम्नेछन् । 
क्रिस वालेस : उपराष्ट्रपति बाइडेन, ब्रेओना टेलरको सन्दर्भमा ग्य्रान्ड ज्युरीले कुनै प्रहरीलाई दोषी नठहराउने भनेपछि तपाईंले यो देशमा ‘सबैलाई न्याय समान लागू हुँदैन’ भन्नुभयो । तपाईंलाई अमेरिकामा अश्वेतहरूका लागि न्याय प्रणाली असमान रहेको लाग्छ ? 
जो बाइडेन : हो । यो देशमा प्रणालीगत असमानता छ । यो शिक्षामा छ । कार्यस्थल र कानुन प्रयोगकर्ताको सन्दर्भमा छ । अधिकांश प्रहरी असल छन् । ती ज्यान जोखिममा राखेर काम गर्छन् । तर, केही खराब छन्, हामीले तिनलाई छुट्याउनुपर्छ । म राष्ट्रपति भएँ भने सम्बद्ध प्रहरी अधिकारी, प्रहरी प्रमुख, सिभिल राइट्स ग्रुप सबै समूहलाई ह्वाइटहाउस बोलाउँछु र सहकार्य गर्नेछौँ । हामी थप पारदर्शिताका लागि काम गर्नेछौँ । तर, यो कुरा छुटाउन हुन्न कि कुनै पनि खालको हिंसा उपयुक्त होइन । शान्तिपूर्ण विरोधलाई मात्र सही मान्न सकिन्छ । 
डोनाल्ड ट्रम्प : शान्तिपूर्ण विरोध भनेको के हो ? जब कोही मान्छे बीच सडकबाट कुद्छ, पसल जलाउँदै हिँड्छ र मान्छे मार्छ भने... । 
जो बाइडेन : यो शान्तिपूर्ण विरोध होइन । 
डोनाल्ड ट्रम्प : तपाईंले हो भन्नुभएको छ । 
क्रिस वालेस : राष्ट्रपति महोदय, तपाईंले उपराष्ट्रपति बाइडेनले एन्टिफा (एन्टी–फासिस्टको छोटो रूप) र अन्य उग्र वामपन्थी समूहको विरोध नगरेकोमा पटक–पटक विरोध गर्नुभएको छ । तर, आज राति तपाईंचाहिँ श्वेत सर्वोच्चतावादी र सैन्य समूहको विरोध गर्न सक्नुहुन्छ ? 
डोनाल्ड ट्रम्प : निश्चित रूपमा म तयार छु । तर, मैले जति पनि हिंसा देखेको छु, त्यो वामपन्थी पक्षबाट भएको देखेको छु, दक्षिणपन्थी समूहबाट होइन । तर, म जे गर्न पनि तयार छु । म शान्ति चाहन्छु । 
क्रिस वालेस : त्यसो भए गर्नुस् सर । 
डोनाल्ड ट्रम्प : नाम भन्नुस् । कसको विरोध गर्नुपर्‍यो । 
क्रिस वालेस : श्वेत सर्वोच्चतावादी र श्वेत मिलिसियाको । 
डोनाल्ड ट्रम्प : ठीक छ । केटा हो, पछाडि हट र तयार रहु । तर, अहिलेको समस्या दक्षिणपन्थी समस्या होइन, वामपन्थी हो । 
जो बाइडेन : उनकै एफबिआई निर्देशकले श्वेत सर्वोच्चवादीजस्तो एन्टिफा संगठन वा मिलिसिया नभएर विचार रहेको बताएका छन् । 
डोनाल्ड ट्रम्प : ठट्टा नगर्नुस् । यदि उनले त्यसो भनेका भए उनी गलत छन् । एन्टिफा खराब छ । यो खतरनाक उग्रवादी समूह हो । ख्याल गर्नुभएन भने एक दिन तपाईंहरूलाई नै विस्थापित गरिदिन्छन् ।