• वि.सं २०७९ मङ्सिर ११ आइतबार
  • Sunday, 27 November, 2022
मल्ल के. सुन्दर
२०७७ असोज २४ शनिबार ०६:२४:००
पर्यावरण

कथा रानीपोखरीको

२०७७ असोज २४ शनिबार ०६:२४:००
मल्ल के. सुन्दर

त्यो दुर्घटना 
कान्तिपुरका राजा प्रताप मल्लका मन पर्ने रानी थिए, अनन्त प्रिया, बिहारकी राजकुमारी । उनकै तर्फबाट जन्मिएका चक्रवर्तिन्द्र कान्छो छोरा थिए । अन्य रानीका तर्फबाट समेत आठजना छोराहरू थिए । केही बालक छँदै बिते । तर, बाबुले पुल्पुल्याएको एक मात्र राजकुमार थिए, चक्रवर्तिन्द्र । आफू जीवित छँदै छोराहरूको राज्यारोहणको सनक चढ्यो, राजा प्रताप मल्लमा । दक्षिण भारतबाट झिकाइएका तान्त्रिक विद्वान् ज्ञानानन्द भट्टसँगको परामर्शपछि राजकुमार पार्थिवेन्द्र, नृपेन्द्र र महीपेन्द्रलाई पालैपालो एक–एक वर्ष गद्दीमा बसाए । उनीहरूको नाम अंकित चाँदीका मुद्रा पनि निकाले । 

 

कान्छो राजकुमार चक्रवर्तिन्द्र भर्खर तेह्र वर्षको मात्र भएको थियो । ने.सं. ७८९ मा उनको पनि राज्याभिषेक गरियो । हात्तीमाथि चढाएर कान्तिपुर सहरभित्र तामझामका साथ राज्यारोहणको शोभा यात्रा पनि गराइयो । राज्याभिषेक सम्पन्न भएको चार दिन पनि भएको थिएन, हनुमानढोका दरबारभित्रको हात्तीसारमा बाँधिएर राखेको त्यही हात्तीसँग राजकुमार रमाउँदै थिए । एक्कासि हात्ती मात्तिए, हात्तीको खुट्टामुनि किचिएर चक्रवर्तिन्द्रको हृदयविदारक अवस्थामा मृत्यु भयो । चुपचाप लास हनुमानढोकाभित्र अवस्थित सुन्दरीचोक (श्वेतभैरव मूर्ति भएको घरको ठीक पछाडि) राजकीय मसानमा मृतकको दाहसंस्कार गरियो ।

 

तर, एकातिर सहरबजारमा हल्ला चले, राज्याभिषेकको अवसरमा चक्रवर्तिन्द्रको नाउँमा टकसारी गरिएको चाँदीको मुद्रामा अंकित त्रिकोण तथा त्यसमा समावेश गरिएका विभिन्न चारवटा अस्त्रका चित्र अत्यन्त अशुभ थिए, असामयिक मृत्युको कारण त्यही नै थियो । अर्कोतिर, हनुमानढोका मोहनचोकभित्रको रुवावासी र सन्ताप असह्य रह्यो । रानी अनन्त प्रियाको वेदना हेरिनसक्नु थियो । 

 

किंकर्तव्यविमूढ प्रताप मल्ल एकाबिहानै पशुपति पुगेर तान्त्रिक ज्ञानानन्दसँग गम्भीर परामर्शमा लागे । लामो विमर्शपछि पुत्रशोकमा विह्वल भएकी रानी अनन्त प्रियाको सान्त्वनाका लागि एक विशेष परियोजना तयार गरियो । तन्त्रशास्त्रअनुसार यन्त्राकारमा एक विशाल जलाशय निर्माण गर्ने कार्यको प्रताप मल्ल आफैँले अगुवाइ गरे । ने.सं. ७९० आश्विन शुक्ल पूर्णिमा, उत्तर भाद्र नक्षत्र, धु्रव योग, सोमबारका दिन शास्त्रीय विधिपूर्वक त्यस जलाशयको उद्घाटन गरियो । पुत्रविछोडबाट दुःखित रानीको सान्त्वनामा बनाइएको त्यस जलाशयको नामकरण गरियो – रानीपोखरी !

रानीपोखरी – न्हूपुखू
रानीपोखरी स्थानीय भाषामा न्हूपुखू हो, अर्थात् नयाँ पोखरी । यस पोखरी निर्माणको प्रमुख कारण पुत्रशोकमा परेकी आफ्नी कान्छी रानीप्रतिको गहिरो स्नेहभाव थियो भने अर्कोतिर प्रताप मल्लमा रहेको ईष्र्याभाव पनि रह्यो । त्यतिखेर प्रताप मल्लको भक्तपुरका राजा जगतप्रकाश मल्लसँगको सम्बन्ध अत्यन्त तिक्ततापूर्ण थियो । द्वीपक्षीय सम्बन्ध बिग्रिनुमा अरू धेरै कारण त थिए नै, त्यसअतिरिक्त कान्तिपुरको तुलनामा भक्तपुर राज्यको समृद्ध कला कौशल, सुन्दर वास्तुकला, जसले प्रताप मल्लमा अव्यक्त द्वेषको भाव थियो । त्यसमा उनी आत्मग्लानि बोध गर्थे, सायद ।

 

अन्य सांस्कृतिक सम्पदा, आकर्षक भौतिक संरचनाका साथसाथै भक्तपुर पोखरीको नगरी कहलिन्थ्यो । तःपुखू वा सिद्धपोखरी ने.सं. २३९ मा नै अस्तित्वमा आइसकेको थियो । त्यस पोखरी अत्यन्त कलात्मक र चित्ताकर्षक हुनुका साथै उपत्यकाका तीनै राज्यका प्रजाजनमाझ चर्तित रहे । कमलविनायकको यातुवारे पुखू, थालाछेँको नाग पुखू, तेखापुखू, क्वाठंद्वको लामागाः पुखू आदि पोखरीको अस्तित्वबाट भक्तपुर राज्यको सुन्दरताको सर्वत्र प्रशंसा हुन्थ्यो । त्यसमा भाजु कसःद्वारा बनाउन लगाइएको पुखू, जसलाई रानीपुखू वा रानीपोखरी भनिन्थ्यो, त्यसको आकार तथा वास्तुविशेषका कारण बेग्लै स्थान थियो । भक्तपुरको रानीपोखरी पोखरीहरूमा विशिष्ट थियो ।

 

त्यसो त, कान्तिपुरमा पनि पोखरीहरूको अभाव त थिएन । ठमेल भगवान् बहालको सिंहसार्थ वाह गुठीको पूजाको अभिन्न अंग कमलपोखरी (जसलाई केशरमहल बनाउँदा अतिक्रमण गरियो, हाल त्यो मासेर छायादेवी कम्प्लेक्स बनाइएको छ), नक्सालको नागपोखरी, नारायणहिटीभित्रको पोखरी, कमलपोखरीकै कमलपोखरी, स्वयम्भू भगवानपाउको सम्यक पोखरी आदि । अनि हाल मासिइसकेका जुद्धसडकदक्षिणको खिचापोखरी, भुगोलपार्कपछाडि नेपाल बैंक भवन बनेको स्थानको न्हिकंपोखरी (तलेजु पूजाका लागि जल चढाउने) न्ह्योखा कन्यामन्दिर हाइस्कुल प्रांगणले मिचेको इखापोखरी, खाःपुखू – ठहिटीको (शान्ति शिक्षा मन्दिर स्कुल रहेको), क्षेत्रपाटी जेपी हाइस्कुलपूर्वमा क्वाःपुखू थिए । हाल सोल्टी होटेल निर्मित इलाकाको ताहाचः पुखू अनि बागदरबार परिसरभित्रको नागपुखू (जुन मासेर सिभिल मल बनाइएको छ), केही उल्लेखनीय पोखरी थिए ।

 

तर, भक्तपुरका पोखरीजस्तै डिल मिलेको, घाटहरू आकर्षक रूपमा बनाइएका सुन्दर पोखरी कान्तिपुरमा अभाव थियो । प्रताप मल्ललाई यस कुरा खट्केको थियो । सायद यिनै मनोग्रन्थिबाट सन्तप्त प्रताप मल्लले ललितपुरसँग मिलेर भक्तपुरमाथि जाइलाग्दा भक्तपुरको सौन्दर्य प्रतीक भाजु पुखू–रानीपुखूलाई लक्ष्य बनाए । पोखरीका डिल भत्काए, वरपर सजाइएका सुनका छाना उखेलिए । पोखरीमाझ आस्थापूर्वक राखिएको वासुकी नागको मूर्ति उठाएर हनुमानढोकामा ल्याए ।

 

भनिन्छ, कान्तिपुरको रानीपोखरी निर्माणका पछाडि प्रताप मल्लभित्रको यो मनोभावले पनि महत्वपूर्ण काम गरे । तसर्थ, रानीपोखरीको निर्माण वास्तुकलाको दृष्टिकोणले मात्र आकर्षक होस् भनेर चाहेको थिएन । धार्मिक, सांस्कृतिक र आस्थागत पक्षबाट नै रानीपोखरी अन्यत्रभन्दा फरक अब्बल खालको होस् भन्ने चाहना राखिएको थियो । 

तान्त्रिक मान्यता
पोखरीलाई तन्त्रशास्त्रको मान्यताअनुसार वास्तुकलाको व्यवस्थापन गरिँदा यन्त्राकारको संरचना बनाउन लगाइयो । पूर्वलाई शीर्ष भागमा पारियो । पोखरीका साँध–सिमानामा ईशान (उत्तर–पूर्व) र वायव्य (उत्तर–पश्चिम) कोणहरूमा तन्त्र साधनाबाट जीवदान गरिएका भैरवका दुई मन्दिर खडा गराइए । अनि आग्नेय (दक्षिण–पूर्व) कोणमा लक्ष्मी तथा नैऋत्य कोणमा (दक्षिण–पश्चिम)मा गणेशको मन्दिर निर्माण गरिए । 

 

मन्दिरभित्र मूल आराध्यदेवको रूप मातृकेश्वर महादेवको (बालगोपालेश्वर पनि भनिन्छ) मूर्ति राखिएको छ । सँगै अर्को शिलामूर्ति पनि छ त्यहाँ, हरिशंकरी देवीको । वास्तवमा यो मूर्ति विशिष्ट खालको छ, विज्ञहरूका दाबीअनुसार सरस्वती र लक्ष्मीको संयुक्त आकृतिमा कुँदिएको त्यसखाले मूर्ति नेपालभित्र सम्भवतः त्यो मात्र एक होला । 

 

 नब्बे सालको भूकम्पमा क्षति भएपछि राणा शासकहरूले गुम्बज शैलीमा मन्दिरको पुनर्निर्माण गराएका थिए । तर, ऐतिहासिक दस्तावेजहरूमा पर्सियाका राजकुमार वाल्डेमरको नेपाल भ्रमणका वेला लेखिएको एक चित्रमा मन्दिरको मौलिक स्वरूप ग्रन्थकुट शैलीको भेटियो । 

 

लगभग ६३ रोपनी क्षेत्रफलमा बनाइएको यस पोखरी धार्मिक दृष्टिकोणबाट पनि त्यतिकै पवित्र र श्रद्धाको स्थल बन्न सकोस् भनेर प्रताप मल्लद्वारा भारतका पवित्र तीर्थ प्रयाग, काशीबाट समेत जलघडा ल्याएर मिसाउन लगाएका थिए । मूलतः पोखरी जलमय बनाउन सुन्दरीजल तथा बुढानीलकण्ठदेखि नहर खनेर पानी जम्मा गरे । त्यस्तै, उपत्यकाभित्रका सबैजसो नदी तथा तीर्थ अनि वराहक्षेत्र, सप्तकोसी, गण्डकीबाट पवित्र जल ल्याए । शिलापत्रमा उल्लेख गरिएअनुसार जम्मा ५१ वटा तीर्थस्थल र नदीका पानीको सम्मिश्रणबाट रानीपोखरीको जलाशय भर्ने काम भयो । 

अतिक्रमणको सिलसिला
राष्ट्रिय नाचघरबाहिर रहेको शिलापत्रमा स्पष्टसँग रानीपोखरीको चार किल्ला खुलाइएको पाइन्छ । पोखरीको उत्तरतिर जमलेश्वर विहारको भौतिक संरचनाबाहेक लाजिम्पाटसम्म नै खुला खेत थिए । पश्चिम असन बजार पस्ने ढोका, पूर्वमा बालबालिकाका शव गाड्ने स्थल, दक्षिणमा पनि टुँडिखेलको खुला क्षेत्र, जुन त्रिपुरेश्वरको दशरथ रंगशालासम्म फैलिएको थियो ।

 

त्रिचन्द्र कलेज बनिसकेपछि पहिलोपटक पोखरीको पूर्व खुला स्थानमा सरस्वती सदन निर्माणबाट अतिक्रमणको थालनी गरियो । पूर्व–दक्षिण कुनातिर सर्वोच्च न्यायालय (पछि अदालत)का लागि भवन खडा भयो । उत्तरतिर मन्टेस्वरी स्कुलका लागि सानो संरचना बन्यो (हाल कानुन पुस्तकालय) । पछि भारतीय सहयोगमा उत्तर र पूर्वतिर त्रिचन्द्र कलेजको प्रयोजनका लागि विज्ञान संकायको विशाल भवन निर्माण भयो ।

 

राजा महेन्द्रले हुकुमी परम्पराअनुसार दक्षिणतिरको झन्डै सम्पूर्ण भूभाग आफन्तजनलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न दिए । त्यहीँ होटेल सोल्टीको व्यवस्थापनमा पार्क रेस्टुराँ खोलिए । भुइँतले पसलहरूका लाम थिए । एकातिर बाँसबारी छालाजुत्ता कारखानाको सोरुम खोलियो, अर्कोतिर भारतीय बंगाली व्यापारीहरूले भ्याली स्विट्सको नाउँमा पसल थापे । सँगै, ठूलो हिस्सामा साझा पसलले पेट्रोल पम्प सञ्चालन गर्‍यो ।

 

कुनै वेला त्यतातिर (हाल शान्ति वाटिका) यात्रुहरूको आश्रयस्थलका रूपमा रहेको चाक्लो पाटी भने भत्काइयो । सार्क सम्मेलनको तयारीका क्रममा सडक विस्तारको सिलसिलामा पोखरीको दक्षिणतिर ती संरचना हटाइयो । केवल सर्वोच्च न्यायालयबाट मजिस्ट्रेड अफिस अनि अञ्चलाधीशको कार्यालय हुँदै सोही स्थानमा पछि बनाइएको नेपाल प्रहरीको उपत्यका ब्युरोको भवन भने अद्यापि कायम छ ।

भनिन्छ, रानीपोखरी जहाँ बनाइयो, त्यो पहिले कास्मिरी मुसलमानहरूले कब्जा गरेर बसेको ठाउँ थियो । राजाको आदेशमा त्यहाँका मुसलमानहरू हटाइए ।

केही वर्ष पहिलेसम्म पश्चिमतिरबाट चौधहाते गणेश मन्दिर हुँदै पोखरीको बारमुनिबाट भएर पूर्वतिर मस्जिदको अगाडि पुग्ने बाटो थियो, तर अहिले प्रहरीबाट गरिएको अतिक्रमका क्रममा छेकियो । कानुनी, गैरकानुनी तथा सत्ताशक्तिको बलमा गरिएका यसखाले अतिक्रमणबाट रानीपोखरीको सौन्दर्य क्षतविक्षत पारिएको छ । यस्ता सम्पूर्ण भौतिक संरचना हटाइनु आवश्यक छ ।

कथामाथि अर्को कथा
रानीपोखरी निर्माणपश्चात् त्यहाँ पुगेर नित्य पूजापाठ गर्ने व्यक्तिमध्ये एक स्वयं राजा प्रताप मल्ल नै थिए । सखारै उनी रानीपोखरी पुग्थे । शौच तथा स्नानपछि पूजा गरेर हनुमानढोका फकर्ने उनको दैनिकी थियो । तर, दिन बित्दै गएपछि राजा अस्वस्थ बन्दै गए । हृष्टपुष्ट व्यक्ति कालोनीलो देखिन थाले । जिउ सुक्दै गयो । वैद्य, जोतिषी, तान्त्रिक आदि देखाउने काम भयो । औषधिमूलो पनि गरियो, तर बिसेक भएन । 

 

कारण के हो, कसैले भेउ पाउन सकेन । दरबारियाहरूबीच गोप्य सल्लाहअनुसार एक बिहान गोप्य रूपमा राजाको पछि लागेर चेवा गरे । प्रताप मल्ल त त्यहाँ एक अत्यन्त सुन्दरी महिलाको पे्रमपासोमा फसेका रहेछन् । रानीपोखरी जाने निहुँमा सुन्दरीसँग रसरङमा समय बिताउने कुरा चाल पाए । तर, कुरा त्यति मात्र होइन, राजाको तर्फबाट ती महिला गर्भवतीसमेत भइसकेकी थिइन् । 

 

ती महिला को हुन्, कहाँबाट आएकी हुन् ? बुझबुझार्थ गरियो । यथार्थ कुरा थाहा पाएपछि दरबारका भाइभारदार सबै सन्त्रस्त भए । राजाको संसर्गमा रहेकी महिला त वास्तवमा मनुष्य नभई किचकन्या पो थिइन् । तान्त्रिकहरूले नै सल्लाह दिए, ती किचकन्यालाई वशमा ल्याउन कोही म्लेच्छ वा विधर्मी व्यक्तिको सहायता चाहिन्छ । खोजी गरिँदा कान्तिपुर सहरमा व्यापार गर्र्दै गर्ने मुसलमानहरूका एक मौल्लाह भेटाए ।

 

उनले नै मायावी शक्ति प्रयोग गरेर ती किचकन्यालाई वशमा लिन सफल भए । जनजिब्रोमा प्रचलित कथनअनुसार त्यस मौल्लाहले किचकन्याको गर्भमा रहेको भ्रूण निकाले । रानीपोखरीको दक्षिणमा अवस्थित ढुंगाको ठूलो हात्ती, जसमाथि राजा प्रताप मल्ल, तिनका राजकुमार महिपेन्द्र मल्ल र चक्रवर्तिन्द्र मल्ल तीनजना सवार छन्, तिनै हात्तीको सुँढ डल्लो पारेर त्यसभित्र किचकन्याको भ्रूणलाई थिच्न लगाएर सधैँका लागि समन गर्ने काम भयो । त्यसपछि प्रताप मल्लको स्वास्थ्यमा सुधार हुँदै आयो ।

 

भनिन्छ, रानीपोखरी जहाँ बनाइयो, त्यो पहिले कास्मिरी मुसलमानहरूले कब्जा गरेर बसेको ठाउँ थियो । राजाको आदेशमा त्यहाँका मुसलमानहरू हटाइए । तर, मुसलमान मौल्लाहकै उपचारबाट आफू निको भएपछि खुसी भएका प्रताप मल्लले कान्तिपुरका मुसलमानहरूका लागि नियमित नमाज पाठ गर्न रानीपोखरी पूर्वस्थित बालबालिकाको शव गाड्ने मसानको जग्गा उपलब्ध गराएका थिए । त्यस स्थानमा अहिले पनि दुई मस्जिद सञ्चालनमा छन् ।