• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
अनमोलमणि
२०७७ असोज २४ शनिबार ०६:४६:००
साहित्य

छाडेर जानेहरू

कविता

२०७७ असोज २४ शनिबार ०६:४६:००
अनमोलमणि

पक्कै निर्मोही थिएनन् उनीहरू
र पनि एकएक गर्दै छाडेर गए हामीलाई
फेरि कहिल्यै नफर्किने गरी

 

दलिनमा सम्झनाको सप्को तुर्लुंग भुन्ड्याएर
संघारमा पाइलाका डोबहरू आलै छाडेर
बलेसीका खोपिल्टामा आँसुका दागहरू चुहाइराखेर
आँगनमा झझल्को र छायाहरू कोरिराखेर
हामीलाई छाडेर गए उनीहरू फेरि नफर्किने गरी

 

एकछिनअघिसम्म बुनिरहेका थिए उनीहरू पनि हामीले जस्तै
सुखको जालीरुमाल
खियाउँदै थिए दुःखको डुंगाको बहाना
जीवनको धुनमा भर्दै थिए थरीथरीका आलाप

हास्दै थिए
बोल्दै थिए
खेल्दै थिए
हिँड्दै थिए
स्मृतिमा घुमाइरहेका थिए विगतको रिल
सबैसबै छाडेर गए उनीहरू
फेरि नफर्किने गरी

 

केले खोस्यो, टहटह जूनजस्तो आँखाको तेज
केले लग्यो, भर्खरै फक्रेको फूलको पत्रजस्तो ओठको मुस्कान
केले छोप्यो, त्यो अनुहारको आभा
केले रोक्यो, हजारौँ–लाखौँको सम्झनामा एकसाथ धड्किने त्यो मुटुको चाल
केले ढाक्यो, आँखामा अँध्यारो
र कसरी उठ्नै नसक्ने गरी ढल्यो ब्रह्माण्डजस्तो शरीर
हामी रोहिरह्यौँ छेउमा सम्झनाका आँसुदाना खसालेर
हामी कुरिरह्यौँ एकछेउमा 
चौतारीमा साथी कुरिरहेको बटुवाजस्तो
तर उनीहरू हामीलाई छाडेर गए

 

छाडेर जानेहरू
सायद हिँड्नेछन्, बादलमा हावाको लौरो टेकेर टुकुटुकु
भर्खरै बामे सर्दै गरेको नानीजस्तो,

 

आखिर अन्तिम सत्य त यही हो 
ढिलोचाँडो कुनै दिन अवश्य जानेछु म पनि
उनीहरू गएकै बाटो 
फेरि कहिल्यै नफर्किने गरी !