• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मुकुन्दराज शर्मा
२०७७ असोज २४ शनिबार ०६:५९:००
साहित्य

जिन्दावाद ! मुर्दावाद !!

कथा

२०७७ असोज २४ शनिबार ०६:५९:००
मुकुन्दराज शर्मा

अचम्म छ !
बिहान ६ बजेको समाचार रेडियोमा ठूलो आवाज पारेर सुनेको पनि हो, दिनभरि घरमा बस्दा मोबाइलमा मुख्य–मुख्य खबरहरू खोजी–खोजी पढेको पनि हो । अझ रातिपख सोफामा डम्म परेर बस्दै टेलिभिजनमा भएभरका च्यानल बटारी–बटारी समाचार श्रवण पनि गरेको हो । अनि कहाँनेर त्रुटि भएछ त ? फेरि को रिसायो ? कसको चित्त बुझेन ? कसलाई मानमनितो पुगेन ? कि कसैको डाडुपन्यु खोसियो ? मैले त कतै कुनै खबर, हल्ला सुनिनँ आज । यो अचानक ? के आन्दोलन छेडिएकै हो ? के जुलुस सडकभरि ओर्लिएकै हो ? तर कसले ? किन ?


जिन्दावाद ! मुर्दावाद !!
अलिअलि शंका छ– आज भाग्यराम फेरि ब्युँझियो ।
निस्पट्ट अन्धकारमा यो कसले गर्दै छ, नाराबाजी ? न स्वरमा जोस छ, न स्पष्टता । बरु अँध्यारैबाट आएका कुकुरहरूको आवाजले उसको नाराबाजीको आवाजको घनत्व थोरै बढाइरहेका थिए । पात सर्सराएको पनि सुनिने सन्नाटामा न चप्पल पड्किएको आवाज आउँछ, न त जुत्ता बजेको सुनिन्छ । न मार्चपास गरिएको छ, न हातहरू मुठ्ठी कसेर आकाशतिर फर्किएका छन्, न त गोडाहरू सडकमा उत्रिएर कवाज नै खेलेका छन् ।


फेरि बल्लतल्ल नारा लाग्यो– जिन्दावाद ! मुर्दावाद !!
अलिअलि शंका छ– आज भाग्यराम
फेरि ब्युँझियो ।


जून, तारा आज वादल ओढेर निदाएका छन् । बाहिर उल्लुले पनि पावरदार चस्मा लगाएर बसेको छ । जूनकीरीको दियोलाई बतासले फुकेर निभाइदिए जस्तो छ । फगत मलिन आवाज आइरहेछ– जिन्दावाद ! मुर्दावाद !!

म सिरानीको छेवैमा सधैँ एउटा चहकिलो बल्ने टर्चलाइट राख्ने गर्छु, सन्तरीले झैँ । खै के बानी पर्‍यो कुन्नि, विनाटर्चलाइट आत्मविश्वासका साथ निदाउनै सक्दिनँ । सानो छँदा तराईमा यस्तो बानी परेछ । सर्पदंशको बिगबिगीले नै हो । तर, टर्चलाइट अपर्झटको गतिलो साथी हो, विनाशकारी भूकम्पले पनि अनुभवी बनायो । मानिसले उज्यालोसँग नै संगत गर्नुपर्ने रहेछ, अन्धकारले तपाईंसँग निसाफ नगर्न पनि सक्छ । अन्धकारभित्र तमगुणहरू लुकेका हुन्छन्, अन्धकारमै सलबलाउँछन् । अँध्यारो ब्वाँसा जातिहरूको प्रहर हो । उज्यालोले गन्तव्य दिन्छ, अँध्यारोले नैराश्य र भ्रान्ति ।


अन्धकारभित्रबाट चिसोले ओस्सिएको बारुद फ्यास्स पड्किएझैँ आवाजमा फेरि एउटा नारा लाग्यो– जिन्दावाद ! मुर्दावाद !! सिरानीको छेवैमा अड्याएर राखेको टर्चलाइट बालेर झ्यालबाट चारैतिर नजर लगाएँ । केही आकृति चलमलाउँदै थियो । टर्च अलि राम्ररी त्यतै ताकेर लगाएँ । भाग्यराम नै रैछ । आज फेरि टन्न पिएर आएछ । चन्द्रावती फेरि परेसान होली, पति भाग्यरामको बाटो हेर्दाहेर्दै ।

 

बिचरा चन्द्रमाझैँ धपक्क बलेकी चन्द्रावती दुई आँखाभरिको अँध्यारोमा विलुप्त छे । भाग्यरामले दिएको उसको नसिब । नपिउन्जेल त भाग्यराम आँखामा राख्दा पनि नबिझाउने साह्रै जाति मान्छे, पिएपछि के हुन्छ हुन्छ ? ऊ दुनियाँ फेर्छु भन्छ । तथाकथित अनुशासन, नियम, वाद र नानाथरीका बाँधहरू भत्काउँछु भन्छ । ‘सबथोक आँट हो बुझिस् ? आँट । आँटले दुनियाँ बदलिन्छ ।’ उसको आँट बढेको छ नसापानीले । केही बेरलाई ऊ अब पूरै बदलिएको छ ।

अँध्यारो होउन्जेल न हो, जूनकीरी पनि प्यारो लाग्ने ? उज्यालो भएपछि त मानिसहरू जूनलाई पनि बिर्सन्छन् ।


भाग्यराम एउटा घरको पेटीमा चढ्यो । ऊ जान्दछ, त्यो घर कसको हो । र त त्यही घर छान्छ, भाग्यराम पिँढीमा चढ्न । अब सुन्नुहोस् भाग्यरामले ठुल्ठूलो स्वरमा हुंकार गर्नेछ र दुनियाँलाई लल्कार्नेछ । अनि हेर्नुहोस्, भर्खरै मस्त निद्रामा परेको जगत् फेरि आँखा मिच्दै र कान थुन्दै ब्युँझिनेछ । दिनभरि भाग्यराम सबैको आँखाको नानीजत्तिकै प्यारो हुन्छ, त्यसैले रात परेपछि केही बेर सबैले उसलाई सुनिदिएझैँ गर्नुको विकल्प छैन । यो दुनियाँ जो सुनेझैँ र हेरेझैँ गर्न पारंगत छ, क्षणिक अभिनय ।


अब सुन्नुहोस्, भाग्यरामको भण्डाफोर सभा !
‘......बुझ्नुभो ? यो जमाना अनि यो दुनियाँ, यी दुवै निष्ठुरी हुन्, कातिल हुन्, जालिम हुन्, गद्दार हुन्, धोकेबाज हुन्, यी यो मेरो पेटको कसम खानेहरू जस्तै ।... यो पेटको कसम खाएर अघाउनेहरू धेरै भए... बुझ्नुभो ? कसम नखाएको पेट यी यस्तो हुन्छ, पन्चेट भएको टायरजस्तै ।’ साँच्चिकै पंक्चर भएजस्तै रैछ, उसको पेट पनि ।


उसका मनमा बिझेकाहरू खै कसकसलाई घुँएत्रो हान्न थालेको हो ?
कुनै–कुनै मानिस होस हराएपछि ब्युँझँदा रैछन्, अनि भाग्यराम पनि ।


जब मानिस होसमा हुन्छ, त्यसवेला ऊ सदाचार, लोकाचारको अधीनस्थ हुन्छ । महिला, वृद्ध, बालक, अशक्त सबैको पहिचान हुनुपर्छ, उसलाई । तर, जब ऊ मदहोस हुन्छ, जीवन बन्धनहरूबाट उन्मुक्त हुन्छ, निस्फिक्री हुन्छ र बल्ल ऊ फगत आफू हुन्छ । लोकाचारको मसिनो त्यान्द्रो, जसमा ऊ माकुराको जालोमा झिंगाझैँ अल्झिएको थियो, अहिले उसका पातला रेशमी पखेटा अल्झाउने केही छैन । लमतन्न सडक आफ्नै हो, भित्तादेखि डिलसम्म । जमिन आफ्नै हो, खाल्डोदेखि ढिकसम्म । सडक एक्लो छ, तर पछि–पछि भुक्नेहरू नै दौँतरी बनेका छन् । यो भुक्नेहरूको स्वभाव हो, भुक्दाभुक्दै दौँतरी भैदिन्छन्, केही बेर र केही परसम्मका लागि मात्रै । छुट्ने वेलामा टोक्न बेर लाउँदैनन् ।


ऊ पेटीमा थचक्क बस्यो र बतासले मात्रै सुन्ने गरी फेरि चिच्यायो– जिन्दावाद ! मुर्दावाद !!  केही बेर ऊ हुरी थामिएझैँ थामियो । एकैछिनपछि भाग्यरामको पीडा परकम्प फर्किएझैँ, पहरा फोरेझैँ गर्जंदै छातीबाट बाहिर निस्किन थाल्यो । भित्री मनबाटै उम्लिँदै र पोर्खिंदै गर्न थाल्यो ऊ ।


‘ए भोटोप्रसाद ! यै काँध हो साथी तिमीलाई माथि उचालेर तिम्रो भोटाको फेरो भिज्ला कि भन्दै त्यो खोला तारेको । म पानीमा डुबेर तिमीलाई तारेको । बिर्सियौ है ? टाकुराको ठूले दाइले तिम्रा लागि एकजोर मयलपोस सिउने रहर गर्दागर्दै बिचरा परलोकको यात्रामा गए । अब त तिमीलाई मेरो काँध पनि बिझाउँछ होला, तर तिम्रो सम्झनामा मैले मेरा चिसा कपडा अझै सुकाएको छैन, भोटोप्रसाद !’


भोटोप्रसाद उसको ठूलो भरोसा थियो । ‘हरे टोपीराम ! तिमी त गाउँभरिको चतुर । शिरको टोपी फुकालेर पाउमा राखी बिन्ती गर्न कति खप्पिस थियौ है ? पाउमा बिसाउँदाबिसाउँदै मैलो भैसकेको तिम्रो टोपीले कस्ता–कस्ता बाजी मा¥यो टोपीराम ? सुन न ! हिँड्दाहिँड्दा केराका थम्माजस्ता सुन्निएका तिम्रा गोडालाई मेरा साप्रामाथि राखेर तोरीको तेलले खुब मालिस गरेको थिएँ है ? अचेल त तिमी भुइँमा टेक्दैनौ क्यारे ? ती तिम्रा शिरपोस, मयलपोस र पाउपोसहरू पनि मगमगाउँदा हुन् है ?’

भावुक भयो, भाग्यराम !
‘साह्रै सम्झना आउँछ साथी हो ! सम्झना आउँछ ! ईश्वरले तिम्रा लागि अझ अग्ला–अग्ला आकाश बनाऊन् ।’
अँध्यारो होउन्जेल न हो जूनकीरी पनि
प्यारो लाग्ने ! उज्यालो भएपछि त मानिसहरू जूनलाई
पनि बिर्सन्छन् ।


सबै दैलाहरू थुनिए, टुकीहरू निभाइए । भाग्यराम उसको भाग्यझैँ एक्लै भयो, रातझैँ एक्लै भयो, सत्यझैँ एक्लै भयो । भाग्यराम बाल्यकालदेखि नै बहुप्रतिभाशाली थियो । सुरिलो स्वर, गाउनमा उस्ताद, नाच्थ्यो मयूरझैँ, आफैँ घरमा बाँसुरी बनाएर बजाउँथ्यो । पढ्नमा कहिल्यै ऊ दोस्रो भएन । हाँसोठट्टा ऊ यसरी गथ्र्याे कि सबै भुतुक्कै हुन्थे हाँसेर । बदमासी पनि ऊ धेरै गथ्र्याे । गुलेलीले ढुकुरलाई निसाना लगाउने, आरूको बोटको हाँगै भाँचिदिने, बेलाउती देख्यो कि झटारोले हानिहाल्ने, चकचक त के–के हो के–के ? विद्यालयमा सजाय पाउनेमा पनि ऊ अगाडि नै हुन्थ्यो ।

 

वास्तवमा भाग्यरामले साथीहरूलाई रमाइलो गराउन र अरूका गल्ती ढाकछोप गरिदिन पनि सजाय आफूले कबुल गथ्र्याे । ऊ सजाय धेरै पाउँथ्यो, तर स्याबासी बिरलै पाउँथ्यो । भोटोप्रसाद र टोपीरामका धेरै गल्तीको सजाय आफूले बेहोरेको छ । एक दिन चिन्तामणि सरको अभिनय गर्दै उसले कक्षामा साथीहरूलाई पढाउँदै थियो, सबै उसको क्यारिकेचर हेरेर रमाइलो मान्दै थिए, अचानक ढोकाबाहिर उसले चिन्तामणि सरलाई उभिइरहेको देख्यो । उसको अनुहार बर्सिन लागेको वादलझैँ कालो भयो । तर, त्यस दिन उसले सजाय होइन स्याबासी पायो, किनकि उसले चिन्तामणि सरले पढाएका कुरा नबिराईकन दुरुस्तै पढाइरहेको थियो । भाग्यरामले मन अघाउन्जेल पाएको र सम्झिन लायकको स्याबासी त्यति नै होला ।

 

थाँक्रा नपाएको लहराझैँ भुइँमै गुजुल्टिएर सकियो भाग्यराम । संसारमा ज्ञात र अज्ञात विषय धेरै छन् । आगो निभे पछि धुवाँ किन हुन्छ ? कसैले बताउला । पात सुकेपछि हाँगाले किन माया मार्छ ? कसैले बताउला । फूलमा रङ भर्ने कलाकार अदृश्य छ, शरीरमा प्राण भर्ने को हो ? अनि प्राण हर्ने को हो ? त्यो पनि अदृश्य छ । अज्ञात र अदृश्य विषयहरूमा आ–आफ्ना पैरवी र अड्कलबाजी गर्दै गरौँला, तर भाग्यराम सबैका सामुन्ने छर्लंग थियो । न अज्ञात, न अदृश्य ।
साथीभाइका लागि मरिमेट्ने भाग्यराम तिनै साथीको बिलौनामा आज बर्सिंदै छ ।


‘बरु तिम्रा बगलीको त्यो विदेशी वालेटबाट एउटा पाँच रुप्पेको नोट देऊ न परमप्रिय मित्रहरू ! म उही हाम्रो पुरानो भट्टीमा गएर थोरै आफ्नैपन भएको दारु पिउँछु र केही बेर बेहोसीमै भए पनि चक्रवर्ती बन्न चाहन्छु ।’ अब थाकिसक्यो ऊ । बिचरा ! ‘राजनीति, साहित्य, दर्शन जतासुकै वादैवादको होडबाजी छ । संसारमा धेरै वाद आए, धेरै वाद गए । अझै आउलान्, अनि फेरि जालान् । तर हेर्नोस्, यी हामीजस्ताका दुई पन्जा ! दोब्य्राउँदा मुठ्ठी बन्छन् । एउटा मुठ्ठी उठाउँदा जिन्दावाद गुञ्जिन्छ र पृथ्वीतलमा पुष्पवृष्टि हुन्छ भने अर्को मुठ्ठी उठाउँदा गगनभेदी मुर्दावाद घन्किन्छ र पृथ्वीमा कम्पन छुट्छ । यी दुई मुठ्ठी मानव सभ्यता रहेसम्म कहिल्यै क्षीण हुनेछैनन्, कहिल्यै विलय हुनेछैनन् । यो भाग्यरामको वाणी हो ।’

जिन्दावाद ! मुर्दावाद !!