• वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रजनीमिला
२०७७ कार्तिक १ शनिबार ०९:३८:००
साहित्य

विरहमा काठमाडौं

कविता

२०७७ कार्तिक १ शनिबार ०९:३८:००
रजनीमिला

यी रुखहरूका 
नर्तकीसरी कम्मर हल्लाइरहने पातहरूमा हेरी
आफ्नो अनुहार मिलाएर
कोरीबाटी गर्न नपाएको युगौँ भो ।    

 

बागद्वारबाट निर्झर झरी
किनारालाई उचाल्दै थचार्दै 
ठेल्दै पेल्दै
तन्नेरी जोसमा उर्लिंदै आउने बागमतीलाई
अतिथि सत्कार गर्न नपाएको 
मनको असामञ्जस्यता आजको पिर होइन ।

 

जताततै टुँडीखेलजस्ता खेत खलिहानमा झुलेर 
धानका बालाहरू 
कपासजस्ता बादलसँगै 
खेलिरहने परिदृश्य,
सुनले ढाकिएका मखमली फाँटजस्ता तोरीबारीहरू 
आज कापीमा कोरिएको चित्र 
इरेजरले मेटाई निमिट्यान्न पारेझैं भो ।

 

यो कस्तो विडम्बना !
हेर न 
आज मेरो लायकूमा 
फूलबारी छ, फूल फुल्दैन 
खोला छ, पानी बग्दैन 
घाँसपात छन्, जरा लाग्दैन 
यद्यपि, यहाँ
आफैँले हुर्काएका अनेक तरहका असंख्य मानिसहरू 
मेरै बर्बादी रुँगेर बस्छन्,
मेरो छातीमा उनीहरूले उठाएका असंख्य महलहरू ढाड सेक्छन्,
मेरो अधरमा कार्पेट ओछ्याएर
समय रफ्तारमा रंगी–विरंगी मोटरकारहरू दौडाउँछन् ।

 

तर, अफसोच !
देवतालाई जितेर 
पृथ्वीमा स्वर्ग बिसाउन ल्याएसरी
सग्ला र चिल्ला नोटहरूले ढाक्दै रमाइरहेका मानिसहरूमा 
एक दामजत्तिको जीवन छैन 
भैरवले झैँ मभित्र बग्ने आलो रगत चुसेरै अतृप्त 
ती मानिसहरूमा रौंजत्तिको समवेदना छैन 
संवेग छैन
सायद उनीहरूभित्र रत्तिभर मानिस छैन । 

 

मेरो छातीमाथि लहरै उठाइएका यी महलहरू
ती महल भएर लाग्ने बथानका बथान मानिसहरू
यी लहरै रहेका पसलमा चम्किरहेका नक्कली नेकलेसहरू
उस्तै–उस्तै लाग्छ मलाई । 

 

झिसमिसे उज्यालोमै 
देवताको पाउ छुन आतुर 
मनजति बाहिर छाडी
सिर्फ टाउको बोकी मन्दिरभित्र हुत्तिरहने मानिसहरू  !

 

भ्याउन्जेल चिथोर्दै, कोपर्दै कुरूप पारिदिएको 
मेरो यो अनुहारमा 
तिनीहरूले खोज्दै हिँडेको के ?
आफ्नै अनुहार ?
नाम या दाम ?
गाउँ या सहर ?
वा विश्राम गर्न एक टुक्रा वास ?
वा हराउँदै गरेको जीवन या अस्तित्व ? 

 

म आफ्नो अधरमा जीवन टुसाउँदै
मनमा आकाश अटाएर उभिरहेको
वैभवशाली काठमाडौं !
मेरै काखमा पलेका, हुर्केका ए मान्छेहरू 
हरदिन राँगालाई झैँ लडाएर 
मलाई अनेक आकारमा भाग लाउन 
तिमीहरूले सिंहदरबारभित्र हुर्‍याउने गरेको 
सदियौँ भैसक्यो ।