• वि.सं २०७७ कार्तिक ४ मंगलबार
  • Tuesday, 20 October, 2020
सबिन निङ्लेखु लिम्बु
२०७७ कार्तिक १ शनिबार १०:०४:००
समाज

कस्तो हुन्छ समाजवादी सहर ? (अडियाेसहित)

त्यसपछि माओवादीको ‘सहरी लालकिल्ला’ ‘लभ पार्क’को अगाडि घुँडा टेक्न बाध्य भयो

२०७७ कार्तिक १ शनिबार १०:०४:००
सबिन निङ्लेखु लिम्बु

हरेक वर्ष अक्टोबर १७ मा ‘अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस’ मनाइन्छ । संयुक्त राष्ट्र संघको आह्वानमा नेपालले पनि सन् १९९३ बाट यो दिवस मनाउन थालेको हो । नेपालमा गरिबीको दर घटिरहेको तथ्यांक सार्वजनिक भइरहे पनि कोभिड–१९ को महाव्याधिका कारण गरिबी अझ बढ्ने आँकलन गरिएको छ । खासगरी सहरभित्र अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरूको जीवन झन् कष्टकर हुँदै गएको देखिन्छ । यसै सन्दर्भमा ‘झन् नयाँ’ ले यसपटकको ‘दसैँ अंक’ सहरी गरिबीमाथि केन्द्रित गरेको छ :   

 

माजवादी सहर कस्तो हुन्छ ? उत्तरहरू धेरै किसिमका आउलान् । उत्तर नहोला पनि । किनकि समाजवादी सहरको चिन्तनको सरोकार गन्तव्यसँग कम, यात्रासँग बढी हुन सक्ला । यो लेखमार्फत माथिका प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरिएको होइन । खासमा प्रश्नको सन्दर्भ धेरै वर्षअघि कुनै एउटा पुँजीवादी सहरमा गरिएको कार्यक्रमको हो । 


पश्चिमी युरोप, रसिया, चीन आदिका एकाध सहरहरूलाई छाडेर, विकसित मुलुकहरूमा रहेको ‘वल्ड क्लास’ भनेर ठहर गरिएको प्रायः पश्चिमा र एसियाली सहरहरूलाई पुँजीवादी सहर भन्दा फरक नपर्ला । पुँजीवादी सहर भन्नाले कार्ल मार्क्सको ‘कारखाना’ यदि पुँजीपतिहरूका लागि नाफा संकलन गर्ने पहिलो थलो थियो भने, ‘सहर’ आधुनिक समयको ‘कारखाना’ हुन सक्ला । जहाँ भूमि, जल, ‘अव्यवस्थित र अनौपचारिक’ कामदारलगायत यावत् ‘वस्तु’हरूको दोहनले पछिल्लो चार दशकयता पश्चिमा सहरमा वर्गीय विभाजनको पुनरुत्पादन व्यापक भइरहेको छ । ‘रियल इस्टेट’लाई सहरी भूमिदोहनको मुख्य माध्यम मान्न सकिन्छ, जसले वर्ग विभाजनलाई मूर्त रूप दिन्छ ।

 

अध्ययनले देखाउँछ, विकसित भनिने पश्चिमा सहरभित्र प्रायः तीन भिन्न ‘सहर’ हुन्छन् । पहिलो, आयतन फैलिँदै गइरहेको उच्च वर्ग रमाउने एउटा सहर । दोस्रो, आकार बढ्दो संघर्र्षरत निम्न वर्ग बस्ने अर्को सहर । र तेस्रो, यी दुईबीच खुम्चिँदै गइरहेको मध्यम वर्ग जसो–तसो अटाउने अर्कै सहर । यसरी पुँजीवादी सहरले बोकेको वर्गीय चरित्र र त्यसको अन्यायी अन्तर्य खोतल्ने उद्देश्य लिएर गरिएको त्यो बहसमा कुनै एकजनाले दिक्क मानेर बीचैमा सोधेका थिए, ‘पुँजीवादी सहरमै जन्मे, हुर्के । तर, मलाई समाजवादी सहर कस्तो हुन्छ भनेर हेर्न मन लाग्यो भने त्यो सहर कहाँ छ त ?’ जवाफमा सन्नाटाबाहेक केही आएन । तर, त्यो कार्यक्रमको सन्नाटाले ठूलो अर्थ बोकेको थियो । त्यो अर्थबारे पछि छलफल गरौँला । अहिलेलाई आफ्नै देशको काठमाडौं सहरबारे कुरा गरौँ ।

०००
०६२ र ०६३ तिर जब माओवादीहरू सहर पसे, ‘नयाँ नेपाल’ नामक नाराले आकाश छोएको थियो । गाउँलाई आधारकिल्ला मानेर एक दशक जनयुद्ध हाँकी ‘नयाँ नेपाल’ निर्माण गर्न सहर पसेका कमरेडहरूको मानसपटलमा कस्तो ‘सहर’ थियो होला ? त्यतिवेलै एउटा राष्ट्रिय दैनिकका एक पत्रकारले माओवादी नेतृ हिसिला यमीलाई सहरबारे जिज्ञासा सोधे, ‘तपाईंको सपनाको सहर कस्तो छ ?’ यमीको जवाफ आयो, ‘मेरो सपनाको सहर सिकागोको जस्तो गगनचुम्बी भवनहरूले भरिएको छ । त्यहाँ दुईपांग्रे र चारपांग्रे वाहन दौडिने छुट्टा–छुट्टै सडकहरू छन् ।

 

बैंककको जस्तो टुरिस्ट सेन्टर छ । एम्सटरडेममा जस्तै साइकल लेनहरू छन् ।’ यमीजीको समाजवादी चिन्तनले कोरेको सपनाको सहर पुँजीवादी सोच र सिद्धान्तले जन्माएको ‘सुन्दर सहर’ जस्तो पो रहेछ । अर्को कुरा, माओवादी युद्धमा होमिनुअघि यमीले सहरी सुकुम्बासी समस्यालाई महिलावादी कोणबाट आफ्नो एउटा अभियानको मुद्दा पनि बनाएकी थिइन् । प्रश्न उठ्छ, सुकुम्बासी अभियानको अनुभव बोकेको, एक दशक लामो पँुजीवादविरोधी जनयुद्धमा समर्पित नेतृको सपनाको सहरमा सुकुम्बासीहरू किन अटेनन् ? सहरका गरिबहरूको यथार्थलाई उनको सपनाले किन समेट्न सकेन ? गगनचुम्बी भवन, चिल्ला सडक र सपिङ सेन्टरहरूमा अल्झिएको विकास र समृद्धिको सपनाले नेपालमा गरिबी बढिरहेको छ भनेर उनले किन सोचेनन् ? 

 

डेढ दशकअघि माओवादी राजनीतिले जब सिंहदरबारलाई कर्मथलो बनाई यथास्थिवादी उडान भर्दै थियो, त्यही वेला काठमाडौंका केही खाली देखिने जग्गामा माओवादीले सोचेजस्तै सपनाको जरो गाडिँदै थियो । सुकुम्बासी बस्तीको भेषमा माओवादी पार्टीको सहरी आधार इलाका तयार हुँदै थियो । शीर्ष नेताहरू आफ्ना कार्यकर्ताहरूलाई आफूसँगसँगै सहर लिएर आएका थिए । नेताहरूको आश्वासन थियो, ‘सहरी भूमिपतिहरूको भूमि कब्जा गरेर बस ।

 

तिमीलाई भूमिको स्वामित्व दिलाउने जिम्मा हाम्रो भो ।’ जोखिमपूर्ण भए पनि त्यो जुक्ति क्रान्तिकारी किसिमको थियो । ‘जसको जोत उसकै पोत’ भन्ने कम्युनिस्ट नाराको सहरीकृत रूप थियो त्यो । भूमिलाई निजी सम्पत्तिमा रूपान्तरण गर्ने पुँजीवादले सत्रौँ शताब्दीयता लागू गरेको नियमलाई एउटा गज्जबकै चुनौती थियो त्यो । ‘पार्टीका लागि त्यतिका वर्ष लडियो । आफ्नै नेताहरू पावरमा पुगे । अब त केही हुन्छ भनेर साह्रै आशा लाग्थ्यो,’ एक अर्धबैंसे पौरखी बस्तीवासी महिलाले भनेकी थिइन् ।

 

युद्धताका झोला–तुम्बी र बन्दुकै बोकेर हिँडेकी थिइन् उनी । ती महिलालाई जस्तै अरू धेरैलाई यस्तै आशा भएको हुँदो हो । नभन्दै बागमती खोलाकिनारमा माओवादी नेतागणले देखाएको सपनालाई आधार बनाई केही छाप्रोहरू ठडिए । सँगसँगै माओवादी राजनीतिले पनि राम्रै उडान लियो । ०६२ र ०६३ मा जरो गाड्न सुरु गरेका छाप्राहरू ०६४ र ०६५ मा जब माओवादी नेपालकै सबैभन्दा ठूलो पार्टी बन्यो, त्यतिन्जेलसम्ममा ती छाप्राहरूले बस्तीको स्वरूप ग्रहण गरिसकेको थियो । ०६८ र ०६९ मा आएर जब माओवादी राजनीति र उसका नाराहरूले चरमबिन्दु छोयो, बस्तीले अर्को नाम कमाइसकेको थियो– माओवादी पार्टीको काठमाडौंस्थित ‘लाल किल्ला ।’ यस्तो लाग्थ्यो, बस्ती माओवादी राजनीतिको एउटा मूर्तरूप हो ।

 

सहरी गरिबी नवउदारवादी पुँजीवादको सुनियोजित उत्पादन हो र यसको विकल्प समाजवादी सहर हो भने विकल्प खोज्ने कसरत पुँजीवादी काल्पनिकीभन्दा बाहिर निस्केर गर्न जरुरी छ

 

तर समयले बिस्तारै कोल्टो फेर्न थाल्यो । आफू मेयर छँदा सडक विस्तारमार्फत भरपुर नाम कमाएका केशव स्थापित बाबुराम भट्टराईको प्रधानमन्त्री कालमा ‘काठमाडौं उपत्यका विकास प्राधिकरण’को प्रमुखमा नियुक्ति पाए । दुईजनाको नेतृत्वमा सडक विस्तार नै सहर विकासको पर्यायवाची बन्दै गयो । एकातिर सडक चिल्लो हुँदै, अर्काेतिर बागमती सफाइ अभियान सल्बलाउन थालेको थियो । कहिले सडक विस्तार त कहिले खोला सफाइको नाममा त्यही ‘लालकिल्ला’ अब बिस्तारै राज्यको आँखाको कसिंगर बन्दै गयो । 

 

त्यहीताका एउटा टिभी कार्यक्रममा प्राधिकरण प्रमुख स्थापितले आफ्नो एउटा चाहना फर्माए, ‘बागमती किनारका खाली जमिनलाई लभ पार्क बनाउँदा गज्जब हुन्छ !’ एक दिन अचानक ‘लाल किल्ला’माथि सरकारी डोजर चल्यो । ‘लाल किल्ला’ को अर्को नाम पनि थियो, ‘पौरखी बस्ती’। वास्तवमै आफ्नो पौरखको भरमा बस्तीले केही वर्षमै एउटा राम्रो टोलको रूप लिइसकेको थियो ।

 

केही पसलहरू थिए । एउटा चर्च । चर्चको छेउमै एउटा स्कुल । बीचमा एउटा चोक, जसलाई केटाकेटीहरू स्कुल छुट्टी भएपछि खेल मैदानमा रूपान्तरित गर्थे । वरिपरि रंगीचंगी एक तले घरहरू । यसरी सामुदायिक स्वरूप लिइसकेको त्यो बस्ती स्वसञ्चालित बस्ती थियो । मानौँ, यसले हिसिला यमीलाई फेरि सपना देख्ने एउटा अर्कै विकल्प दिइरहेको छ । पौरखी बस्तीलाई विकल्पै मान्ने हो भने त्यसभित्र समेटिएको दृश्य र अदृश्य आधारहरूमा टेकी सपनाको सहरको एउटा भिन्नै मानचित्र कोर्न नसकिने पनि होइन । तर, यसका लागि पहिले सहरलाई सहरका निम्नवर्गीय बोली, भाषा र बुझाइमार्फत अथ्र्याउने इच्छाशक्ति र संयममता चाहिन्छ होला ।


०००
सामान्यतया सहर कुनै ‘मास्टर प्लान’ अथवा ‘टेम्प्लेट’को बन्धक हुँदैन । हुँदो हो त अहिलेसम्म ‘स्मार्ट सिटी’, ‘स्याटलाइट सिटी’ आदि–इत्यादिका चलायमान जीवित रूप कतै न कतै देखिनुपर्ने हो । सहर त एउटा ‘अर्गानिक’ जीव हो, जो आफ्नै गतिमा सिर्जित हुँदै जान्छ । कुनै सहर बन्दै जानु भनेको त्यहाँ रहेका टोलहरू बन्दै जानु हो । परिस्थिति र परिवेशअनुरूप कुनै एक ठाउँमा ८–१० घरहरू बन्ने सिलसिला सुरु हुन्छ, अनि थपिँदै जान्छन् । स्थानीयहरूलाई आ–आफ्नै आवश्यकताले बिस्तारै अनौपचारिक रूपमा संगठित बनाउँदै जान्छ । राज्य र निजी क्षेत्रहरूसँग सम्पर्क, सम्बन्ध बढ्दै जान्छ ।

 

ढल, बाटो, बत्ती जस्ता आधारभूत सुविधाहरू जोडिँदै जान्छन् । २,४ पसलहरू खुल्छन् । अनि त्यस ठाउँले एउटा टोलको रूप लिँदै जान्छ । यसरी सहरको घनत्व र जीवनमा एउटा आयाम थपिन्छ । पौरखी बस्ती ‘बस्नु’को परिस्थिति र परिवेश नितान्त बेग्लै भए पनि, बस्ती ‘बन्नु’ पछाडिको कर्मकाण्ड प्रायः माथि उल्लेख गरिएको जस्तो थियो ।

 

माओवादी नेताहरूले त आश्वासन देखाए, ल्याए, खोलाकिनारमा थन्काए, अनि लागे सिंहदरबारतिर । तर, त्यसपश्चात् बनिनु–बनाउनु आफ्नो पौरखको खेल भयो । उनीहरू प्रायः ज्यालादारी मजदुरीमा गए, धेरै भरिया बने, अलि जान्ने कोही कोही सिकर्मी डकर्मी बने, कोही सुरक्षा गार्ड बने । कोही ड्राइभर भए, कोही खलासी । कोही नजिकैको होटलमा थालबटुको सफा गर्नतिर लागे । कोही खोलापारिको सम्भ्रान्त परिवारहरूको लुगा धोइधाइ गरी आयआर्जन गर्नेतिर लागे ।

 

२–४ पैसा जोड्दै गएपछि प्लास्टिकको सट्टा टिनको छानो आयो । अनि बाँसको भित्तोलाई सिमेन्ट–इँटाले ढाक्ने काम भयो । जब आफ्नै पौरखले बस्ती अनि सहरको रंग–रूप नै परिवर्तन भएको देखे अनि त आफूले आफैँलाई बुझ्ने नजरियामा पनि परिवर्तन आउन थाल्यो । ‘सर्वहारा’ कम ‘सहरी बासिन्दा’ बढी देख्न थाले । ‘सहरी बासिन्दा’ हुनुको अर्थ नागरिक हकसँग जोडिएको छ यहाँ । सहरमा मर्यादित जीवन जिउने इच्छाशक्तिसँग जोडिएको छ । सहरमाथिको आफ्ना अधिकारसँग जोडिएको छ, जहाँ अधिकारको बुझाइलाई संवैधानिक धाराहरूले कम, फेरिएको सहरको मुहारमा प्रतिबिम्बित आफ्नो कर्म र पौरखले उत्पादन गरेको वैधानिकताले बढी परिभाषित गरेको हुन्छ । 

 

तर बिडम्बना ! कुनै वेला माओवादी पार्टीको नेतागणले ‘अर्बन बेस’ बन्ने जिम्मेवारी घाँटीमा झुन्ड्याइदिएपछि आफ्नो यात्रा सुरु गरेको यो बस्ती, ‘लाल किल्ला’ हुँदै ‘पौरखी बस्ती’ बन्दा नबन्दै ‘लभ पार्क’को अगाडि घुँडा टेक्न बाध्य भयो । यति वेला चर्चित उर्दू कवि साहिर लुधियानभीले ताजमहललाई समर्पित गरी सिर्जेको कविताको एक हरफ सम्झिन मन लाग्यो, ‘एक सहंसाह ने दौलतका सहारा लेकर, हम गरिबों की मोहब्बत की उडाया है मजाक ।’ सत्ताधारी माओवादीरूपी सहंसाहले वास्तवमै मजदुरहरूको पौरख र प्रेमले बनेको बस्तीलाई मजाक बनाई छाड्यो ।

 

एकजनाले दिक्क मानेर बीचैमा सोधे, ‘पुँजीवादी सहरमै जन्मेँ, हुर्कें । तर, मलाई समाजवादी सहर कस्तो हुन्छ भनेर हेर्न मन लाग्यो भने त्यो सहरचाहिँ कहाँ छ त ?’ जवाफमा सन्नाटाबाहेक केही आएन

 

२५६ परिवार घरबारविहीन भए । स्कुले पहिरनमा घरको दैलोबाट भर्खरै निस्केका लालाबालाहरू घरका न घाटका भए । महिना, वर्ष आउँदै–जाँदै गर्‍यो, तर ‘लभ पार्क’ बनेन । बागमती ज्युँ का त्युँ । उठिवास भएका धेरै परिवारहरूलाई खोलाकिनारमै फर्किनुबाहेक अरू उपाय भएन । डेराको बसाइ महँगो छ सहरमा । कुनै वेला आफूलाई जन्म दिने पार्टीको ‘अर्बन बेस’ भनेर चिनिने बस्तीका मानिसहरू अहिले टालटुल गरेर खोलाकिनारमै बसेका छन् । ती छाप्राहरू आफ्नो माउजस्तै बेनिसान छन् यति वेला । यति भनाैँ, ०६९ र ०७० सालपछि, बस्तीको पतनसँगसँगै माओवादी राजनीतिको अवसान पनि सुरु हुन थाल्यो । यस्तो लाग्छ, बस्तीले जिएको अहिलेको अवस्थाले माओवादी राजनीतिको हालको अवस्था प्रतिबिम्बित गर्दै छ । 

 

यहाँसम्म आइपुग्दा प्रश्न उठ्ला, पौरखी बस्तीको उठान र अवसानको कथा माओवादी राजनीतिको उठान र अवसानसँग जोड्न जरुरी छ र ? यो कथा नै किन जरुरी छ, किन महत्वपूर्ण छ ? जरुरी यसकारण छ कि ०४६ सालको आन्दोलन र प्रजातन्त्रको पुनरागमनपछि गरिबी र सामाजिक न्यायलाई भूमिपति र भूमिहीनतासँग जोडेर त्यसैलाई आफ्नो राजनीतिको आधार–स्तम्भ बनाई सर्वहारा वर्गलाई कुनै वेला ऐक्यबद्ध बनाउने पार्टी माओवादी मात्र थियो ।

 

जरुरी यसकारण पनि छ कि तिनै सर्वहारालाई भूमि स्वामित्वको सपना देखाई गाउँबाट सहर ल्याउने क्रान्तिकारी भनिएको पार्टीको समाजवादी सोचको सीमितता पौरखी बस्तीको अपूरो यात्राले प्रस्ट पार्छ । चाहे सपनाको सहर बुन्दा होस्, सडक विस्तार गर्दा होस्, या बागमती सफा गर्दा, या त पौरखी बस्तीलाई उखेलेर ‘लभ पार्क’ बनाई सहरलाई पूर्णता दिने क्रममा होस्, क्रान्तिकारी भनिएको राजनीतिको सहरी विकास र सहरका गरिबलाई हेर्ने सोच र नजरिया पुँजीवादी काल्पनिकीमै सीमित रहेछ भन्ने प्रस्ट देखाउँछ ।

 

क्रान्तिकारी ‘सपनाको सहर’ले समाजवादी पंख ओढी बेलगाम उडान भर्नुको सट्टा पुँजीवादकै पछ्यौरो ओढी सीमित सपनाको मायावी त्यान्द्रो बुन्न लाचार हुनुपर्दा ‘समाजवादी सहर कस्तो हुन्छ ?’ भन्ने प्रश्नको उत्तर सन्नाटाबाहेक अरू केही नआउनु स्वाभाविक नै हो । 
०००
सहरी गरिबीका धेरै आयामहरू हुन्छन् । यहाँ प्रस्तुत गरिएको पौरखी बस्तीको समसामयिक इतिहासले सहरी गरिबीको हरेक आयाम समेट्छ भन्ने पक्कै होइन । सहरी गरिबीको कुरा छोडौँ, पौरखी बस्तीले काठमाडौंको सुकुम्बासी समस्याको प्रतिनिधित्व गर्छ भन्ने पनि होइन । उपत्यकामा पहिलो बसेको सुकुम्बासी बस्ती झन्डै पाँच दशक पुरानो हो, जुन वेला बागमतीमा भरिभराउ हुने गरी पानी बग्थ्यो ।

 

त्यसपछिका दशकदेखि हालको समयसम्म आइपुग्दा करिब ७० को हाराहारीमा सुकुम्बासी बस्तीहरू काठमाडौंमा भएको अभिलेखले देखाउँछ । यी बस्तीहरूको बस्ने र बन्ने क्रमको इतिहासहरू आ–आफ्नै होलान् । सबै बस्तीहरू निम्नवर्गीय भए पनि, सबै भिन्नाभिन्नै सामाजिक–आर्थिक अवस्थिति लिएर बाँचेका छन् । तर, मूल कुरा के हो भने यदि सहरी गरिबी नवउदारवादी पुँजीवादको सुनियोजित उत्पादन हो र यसको विकल्प समाजवादी सहर हो भने विकल्प खोज्ने कसरत पुँजीवादी काल्पनिकीभन्दा बाहिर निस्केर गर्न जरुरी छ ।

 

अनि त्यो कसरतलाई अन्त कतै लान परेन । सहरभित्रै यस्ता अनेक जीवनहरू सम्भाव्यताका उदाहरण बनी छरपस्ट भएर बसेका छन् । सुकुम्बासी जनजीवनले भूमि, भूमिहीनता र बसोवासबीचको अन्तरसम्बन्धलाई नागरिक हक र अधिकारसँग जोडेर हेर्न जसरी बाध्य बनाउँछ, त्यही बाध्यताभित्रै हाम्रो माटो सुहाउँदो समाजवादी सहरको कडी लुकेर बसेको हुन सक्छ ।

(लेखक समाजशास्त्री हुन् र सामाजिक न्यायसँग सम्बन्धित विभिन्न विषयमा अध्ययन अनुसन्धान गर्छन् ।)