चुराको आवाजले बल्थ्यो चुला
चुलाको आगोले कहिले पोल्थ्यो लुगा
कहिले पोल्थ्यो औँला
चुरा बजाउँदै आगोमा पोलिँदै
माया पकाउँथिन् उनी गहिरो कसौँडीमा
कहिले डढाइनन् त्यो माया
कहिले उमालेर पोखिनन् त्यो माया
खै कसरी पकाउँथिन् पकाउँथिन्
न स्वादमा कमी हुन्थ्यो न बासनामा, न रङको मिठासमा
उनको मायाको पर्खाइमा
चुलाको वरिपरि फैलिएका थालहरू
पूर्णिमामा टल्किएको जूनजस्तै लाग्थ्यो उनलाई
र कसौँडीमा पाकेको माया
थपक्क थपक्क राखिदिन्थिन् थालभरि भरि
खै कसरी राख्थिन् कुन्नि,
न कर्कस आवाज आउँथ्यो थालमा डाडुपन्यू ठोकिँदा
न छताछुल्ल हुन्थ्यो माया कसौँडीबाट सार्दा
उनी चुलाको आडैमा हुन्थिन्
ठ्याक्क उठेको घुँडामा परेको
आगोले पोलेको फरियाको छिद्रबाट
उनलाई नै थाहा नभएका उनका रहरहरूले चियाउँथे
त्यही घुँडामुनि छपक्क चुरा भरिएका हातहरू
एकले अर्कालाई समातेर उनकै लागि साथ खोजिरहेजस्ता लाग्थे
तर उनी चुलाकै स्पर्शमा हराइरहेकी हुन्थिन्
चुलाकै आगोको नृत्यमा रमाइरहेकी हुन्थिन्
एक दिन खोपीबाट
आगोले पोलेको उनकै औँलाले बालेको टुकीले सोध्यो,
उनी र चुलाको साइनो
उनले भनिन्,
साइनो त के हो थाहा छैन
तर चुला बाल्नु मेरो धर्म हो, कर्म हो
मैले चुला बालिनँ भने
मेरा वरिपरि चम्किएका जूनहरू एकाएक अस्ताउनेछन्
उनले भनेजस्तै उनको चुला सधैँ बलिरह्यो
उनले माया सधैँ पकाइरहिन्
जूनजस्तो लाग्ने थालमा पस्किरहिन्
तर कहिल्यै ख्याल गरिनन्
उनको मायाले अघाउनेहरूको मुखको आकार
जो जति अघायो उति फैलिँदै थियो
यसरी फैलिँदै थियो कि
एक दिन उनी आफैँ बिलाइन् ती मुखहरूबाट
अचेल ती मुखहरू बोल्छन्,
महान् हुन्छिन् आमा
खोपीको टुकी लाजले झ्याप्प निभ्छ... ।