घोरै(घोराही)भन्दा होलेरी वरै हो
तिम्ले माया लाएको पोरै(पोहोर) हो
होलेरी र घोराहीसित भेट नहुँदै सुनेका गीतका गेडा थिए, यी । दोस्रो लहराको ‘पोरै’ले ‘बलै लोकाचार नपार’ भनी व्यंग्य हानेको धेरैपछि थाहा पाएँ ।
वेला–वेला गीतमा झुल्कने होलेरी ‘हटारु’ र ‘कालापारे’(रोजीरोटीका लागि भारत जाने मान्छे) किस्सा आए कि फुट्ट टुप्लुकिन्थ्यो । माओवादीले पहिलोपालि होलेरी पुलिसचौकी हानेर ‘जनयुद्ध’ थालेपछि र दोस्रो(०५८ असार २७)आक्रमणमा ७१ पुलिस(त्यसवेलासम्मको सबैभन्दा बढी सुरक्षाकर्मी कब्जा)लाई आफूसित लिएर हिँडेपछि नेपाली ‘राजनीति किस्सा’मा पनि होलेरी सामेलियो ।
होलेरीसित पहिलो भेट हुँदा खनेर बनाइएको चौरमा वीरेन्द्र रनिङ सिल्ड चल्दै थियो । यसपालि(चैत पहिलो साता) उही चौर(बजारमा परिणत भएको) मास्तिर उसरी नै बनाइएको चौरमा अक्षरमेला झुल्दै थियो । मेला मास्तिर एउटा बूढो लालीगुराँस फुल्दै थियो । खङ्रङ्ङ सुकेर ठुटो हुन बाँकी रहेको सानो हाँगामा ‘मरौती’जसरी मुस्किलले लालीगुराँस फुल्दै थियो । अचम्मित भएर साथीहरू भन्दै थिए, ‘जात्तिरी हेर तो बड्डा, दाउरा हुने वेला नि कस्तरी फुल्ल्या छ !’
अक्षर मेलामा कविता र मन्थन झरिरहेथे । तिनलाई मन–सुपामा चामल निफनेजसरी एउटी मंगोल अनुहारकी महिलाले निफन्दै थिइन् । निफन्दानिफन्दै तिनका चिम्सा आँखा यसै–यसै चनाखिन्थे ।
रुन्टीगढी गाउँपालिकाकृत अक्षर मेला भर्न दाङ, बाँके र प्युठानका साथै ‘राजधानी लेखक’पनि पुगेका थिए ।
गएको जेठ र असारमा क्रमशः लिबाङ र पोबाङमा पनि यस्तै मेला लागेथे ।
ओर्लिरहेका कविता र मन्थन निफन्ने महिला थिइन्, छमाया पुन(४२) । होलेरी केन्द्रवाल रुन्टीगढी गाउँपालिका उपाध्यक्ष ।
जबाङकी छमाया
त्यसवेला सरकारी आँखामा रोल्पाका ढुंगामाटा पनि माओवादीमा परिणत हुँदै थिए ।
घनश्याम खोज्दै पुलिस होलेरीबाट २२ किलोमिटर पूर्वजबाङ पुग्यो । छमायाले ‘कालापारबाट केही दिनमै फर्कने’ बताइन् । घनश्याम घर फर्केको चौथो दिन फेरि पुलिस पुग्यो ।
‘दोहोरो भिडन्त’ भन्दिए ‘काम तमाम’ हुन्थ्यो । त्यस्तो जगजगीमा बेपत्ता ! छमायाको मुटुले ठाउँ छोड्यो ।
कतै बाँकी नराखी गुहार मागिन् । १९औँ दिनमा मुक्त भए । तर, तारिखमा । तारिख छुटाउन अर्को महाभारत ! आखिरीमा तारिखमुक्त पनि भए ।
त्यसपछि ?
पिजडामुक्त भएको चराजसरी एकपटक पनि फर्की नहेरी छमाया दम्पती भुर्र उड्यो । एकैसासमा माइती देश (स्याङ्जा जगतभन्ज्याङ, डेलडाँडा) पुग्यो । र, शान्तिप्रक्रिया सुरु भएको केही वर्षपछि मात्र जबाङ फि-यो ।
छमाया कान्छा देवर ज्ञानबहादुर पुन जनमुक्ति सेना थिए । जसलाई अर्घाखाँची आक्रमणमा तिघ्रामा गोली लागेको थियो । पति घनश्याम ०५४ को स्थानीय चुनावमा एमाले वडासदस्य थिए भने माइती कांग्रेस ।
बिस्तारै छमायाका गोडा आँगनबाट बाहिरिए । आमा समूह अध्यक्ष भइन् । समूहले जाँडरक्सी र जुवातास नियन्त्रण अभियान थाल्यो । छमाया नाउँ जबाङबाट अन्य गाउँतिर पनि पुग्यो ।
स्थानीय चुनावी रन्को जबाङ पुग्यो । एमालेले उपाध्यक्ष उम्मेदवार खोज्दै छमायाकहाँ पुग्यो ।
संयोग ! उपाध्यक्ष मैदानमा उत्रिएकी छमाया ‘घनश्यामपत्नी’ थिइन् भने बाँकी दुई (कांग्रेसकी सरिता खत्री र माओवादी केन्द्रकी चन्द्रकली घर्ती मगर) ‘घनश्यामपुत्री’ ।
‘म त एकैपालि भएँ– एमाले पार्टी सदस्य पनि, गाउँपालिका उपाध्यक्ष पनि,’ आफ्नो राजनीति–यात्रा फर्केर हेर्दै छमायाले भनिन् । रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढा मगर पनि एमालेकै थिए ।
पाँच कक्षा पढेकी छमायासँग कामको अनुभव पनि नभएकाले ‘उपाध्यक्ष काँधमा आएको न्यायिक विभाग’उठाउन कम्ता सकस भएन ।
‘पोहोरभन्दा धेरै सजिलो भएको छ,’ गर्दै जाँदा सजिलो हुँदै गएको छमायाले आफ्नो अनुभव सुनाइन् ।
मुरुल्ले ताराखसेलेक र गढीलेक
‘मैले थाहा पाउँदा, दरबारको कुना नै भत्काएर खरको छानो हालेका थिए । अलि पर कुटी थियो । त्यसवेला पनि यी भग्नावशेष मान्छे बस्नलायक थिएनन्,’ गढीलेकका दरबार र बाह्रसुरे गढीका भग्नावशेष देखाउँदै स्थानीय गोविन्द पुन ‘नजर’ले भने ।
२३ वर्षअघि दरबार र गढीको भग्नावशेषमा लडाकु दलले ‘अन्तिम सेल्टर’ लिएको थियो । र, १.७५ किलोमिटर दूरीमा रहेको होलेरी पुलिसचौकी आक्रमण गरेको थियो । होलेरीसँगै रुकुम रारीजिउला र सिन्धुलीगढी पुलिसचौकी आक्रमण गरी ०५२ फागुन १ गते नेकपा (माओवादी)ले नेपालमा ‘जनयुद्ध’ थालेको थियो ।
नेता/कार्यकर्ता वास बस्ने सुरक्षित ठाउँ÷घरलाई माओवादीले ‘सेल्टर’ भन्थ्यो ।
तेस्रो सेल्टरमा रामबहादुर थापा बादल र कृष्णबहादुर महरा पनि थिए । रोल्पा रुकुममा ‘माओवादी जग हाल्ने’बादलले दललाई तेस्रो सेल्टरमा ‘अन्तिम निर्देशन’ दिएका थिए । आक्रमणमा ३१ जना सहभागी थिए ।
गाउँले मेलापात गर्न र बस्तुभाउ चराउन जान्थे । गढी र दरबारका भग्नावशेषलाई ‘डेटिङ थलो’ बनाएर पुग्थे, तरुनतन्नेरी ।
श्यामकुमार बुढा मगर ‘चिन्तन’ले अन्तिम सेल्टर सम्झँदै थिए, ‘बड्डा, त्यहाँ त छोट्टेछोट्टी(तरुनतन्नेरी) ठकान बस्न आनेरैछन् । देखे भने बिताउँछन्जस्तो लागेको थियो ।’
२१९० मिटर उचो गढीलेकमा ५६ फिटे भ्यु–टावरठिंग उभिएको थियो ।
०००
६७ वर्षअघि भारतीय एउटा टोली ताराखसेलेकको टुप्पोमा पुग्यो । उभिएजति रूख ढाल्यो । मुडुलो बनायो ।
होलेरीदेखि तीन किलोमिटर दक्षिणपूर्व रहेको २१६५ मिटर अग्लो ताराखसेबाट वरपर चियायो । दक्षिण हेर्दा दाङको फाँट मात्र देखेन, भारतीय सहर बलामपुर, बहराइच पनि देख्यो । त्यो टोलीले भन्यो– शक्तिशाली दूरबिनले त लखनउ पनि देखिन्छ ।
आकाश छ्याङ्ङ खुलेको वेला त खाली आँखाले भ्याएसम्म देखिन्थ्यो होला । तैपनि चैतको पहिलो साता बिहान १० बजेतिर दाङमा झुलेका घोराही र तुलसीपुर देखिए । बस्तीमाझ गजधम्म दुईवटा सिमेन्ट कारखाना नदेखिने कुरै थिएन । कारखानाले भन्दै थिए, ‘सरकार र राजनीतिक दल नेताका मुख बुजो लाए के हुँदैन ?’
तिनै कारखानाको ढुंगा आहारा छेवैको लेकका थिए ।अब पालो त्यही ताराखसेलेकको थियो । स्थानीय जनता त्रसित थिए, ‘सरकारी कागजात तयार हुँदै छ रे । अब कसले जोगाइदेला, हाम्रो मुरुल्लेलाई ?’ छेवैमा थियो, गिद्द वास । त्यसको ‘संरक्षण सकस’ पनि स्थानीयले सुनाए ।
भारतीय टोलीले मुडुलो पारेपछि गाउँलेले नाउँ नै दिएका थिए, मुरुल्ले ताराखसेलेक ।
माओवादी रुट र पोस्ट
भारतबाट दाङ हुँदै रोल्पा पस्दा जनयुद्धकालीन माओवादी नेता/कार्यकर्ताले ग्वारखोला पछ्याउँथे । स्यालापानीस्थित सहिद शिवराज रोकाको घर दाङको अन्तिम पोस्ट थियो । रोल्पा–दाङ सिमाना पटेरीमा चन्द्र पोस्ट थियो । सहिद चन्द्रबहादुर पुनको नाममा राखिएको चन्द्र पोस्ट रोल्पा पस्ने पहिलो पोस्ट थियो ।
माओवादी उकालिँदै कुर्जाको जोसिलो पोस्ट पुग्थे । जोसिलो मुख्य पोस्ट मानिन्थ्यो ।
माओवादीले लजिस्टिक र सूचना आउजाउ गराउने अनि सम्पर्क घर/ठाउँलाई पोस्ट भन्थ्यो ।
यज्ञबहादुर पुनको टेक नाम(पार्टी नाउँ)बाट जोसिलो पोस्ट भनिएको थियो ।
रुन्टीगढी गाउँपालिका वडा नम्बर–८ वडाध्यक्ष भीमबहादुर पुनका अनुसार यज्ञ अचेल काठमाडौं इँटाभट्टामा काम गर्छन् । जनयुद्धलाई आफ्ना भएजति सिरीखुरी धरेका ‘इमानदार’ कार्यकर्ताका नियति यज्ञले पनि भोग्दै थिए ।
क्षेत्रीय ब्युरो इन्चार्ज हुँदा लामो समय नेता महरा जोसिलो पोस्टमै बसे ।
जोसिलोबाट खलिबाङ हुँदै माओवादी बाकुलस्थित मोतीराम पुन ‘शिशिर’को घरमा राखिएको पोस्ट पुग्थे ।
भारतविरुद्ध सुरुङ–युद्ध गर्ने भन्दै रोल्पा छिर्दा प्रचण्डलाई तिनै पोस्ट र रुटबाट कमरेड हिक्मत गोठाला े(पूर्णबहादुर घर्ती मगर)ले थबाङ पु¥याएथे ।
आफू हिँड्ने ‘सुरक्षित गोप्य बाटो’लाई माओवादीले ‘रुट’ भन्थ्यो ।
‘घोडा चढेको त्यो मान्छे थबाङ पुगेपछि मात्र प्रचण्ड रहेछन् भन्ने थाहा पाएँ,’ गोठालोले भनेका थिए ।
माओवादीको क्षेत्रीय र जिल्ला पोस्टहरू पूर्व–पश्चिम, उत्तर–दक्षिण हुँदै भारतसम्म फैलिएका थिए ।
दहवन–उङा शिविर
होलेरी बजारका सिरानी र सहिदमार्ग मुन्तिर झन्डै चारपाटे आकारको ह्वाइटबोर्डजस्तो थियो । सडकमा गुड्ने मोटर धुलोले चोसे न मोसे थियो । धुलो झारेपछि मुस्किलले सेतो भुइँमा पोखिएका काला अक्षरसँग कुराकानी गर्न मिल्थ्यो । घामपानी र धुलोले काला अक्षर फुङ्ङ उडेका थिए ।
एक्लै टुक्रुक्क बसेको बोर्डनजिक एउटा दुब्लो मन्दिर थियो । मन्दिरको ‘भगवान् भरोसे’ छाडेर पुलिसचौकी करिब दुई सय मिटर पर सरेको थियो।
मेटिन थालेका काला अक्षरले पुलिस हवल्दारको नाउँ लेखेको थियो । हवल्दारजस्ता भुइँ तहका उपेक्षित नै थिए । तिनका जिन्दगी त राजनीतिक व्यवस्था र नेता जिन्दगीजसरी कहाँ फेरिए र !
माओवादीले दोस्रोपालि होलेरी पुलिसचौकी हान्दाती सल्यानी हवल्दार मारिएका थिए भने उनका ७१ सहकर्मी माओवादी कब्जामा ।
माओवादीले यति ठूलो संख्यामा सरकारी सुरक्षाफौज कब्जा गरेको पहिलो घटना थियो । जसले गर्दा तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सेना परिचालन गर्न चाहे । तर, परमसेनाधिपति राजाले मानेनन् ।
हवाइटबोर्डजस्तोमा काला अक्षरले लेखिएको थियो–
नेपाल प्रहरी
अमर प्रहरी स्मारक
नामः राजबहादुर गिरी
दर्जाः प्रहरी हवल्दार
वीरगति प्राप्त मितिः २०५८/०३/२७
हवल्दारको नाउँ लेखिएको ठाउँबाट पाँच किलोमिटर पश्चिम दहबनमा पूर्वजनमुक्ति सेना डिभिजन मुख्यालय थियो । मुख्यालय गेटभित्र पसेर आठ÷दस पाइला फाले चन्द्रसूर्य र हँसिया हथौडा अंकित दुई फरक झन्डाका बीचमा सेतो सालिकसित भेट हुन्थ्यो । यो थियो, पूर्वजनमुक्ति सेना अस्थायी शिविर नेपाली सेनाले जिम्मा लिनुअघिको कुरा ।
त्यो सालिक थियो, कमान्डर सुनीलको । शिविरभित्र कमरेड सुनीलको सालिक थियो भने शिविरबाहिर उनै सुनीलपुत्री सुशीलाले खिर्चिङमिर्चिङ सामान राखेर ढेब्ली रुँघिरहेकी थिइन् । युद्धमा पति प्रवीन गुमाएकी सुशीला दोस्रो पति प्रतिभासँग थिइन् । प्रतिभा ‘जनयुद्ध’का घाइते थिए । उनै सुनीलका माहिलापुत्र विज्ञान सहिद भएथे ।
राज्य र माओवादी नेताका आँखा नलागे नि होलेरीमा लालीगुराँस भने फुल्न छाडेको थिएन । होलेरी तन लालीगुराँस फुलेर लाल थियो । होलेरी मन फुलेर कहिले लाल हुने हो ? गाँठो त त्यहाँ पो परेको थियो । होलेरी अनुहारमा केही आशा र संशय तलमाथि गरिरहेका थिए, ‘फेरि लडाइँ हुन्छ कि’ भन्ने केही ‘त्रास’ र केही ‘आस’सहित ।
रोल्पा जिनाबाङ मनिमारेमा शाही नेपाली सेनाको हवाई आक्रमणमा सुनीलसहित सल्यानी जनमुक्ति सेनाका कम्पनी कमान्डर झक्कुप्रसाद पुन अभ्यस्त पनि मारिएका थियो ।
सुनील अग्ला थिए । हवाई आक्रमणबाट मारिएका सुनीलबारे हिसिला यमीको संस्मरण सार थियो– सुनील कमरेड ! ख्याल गर्नुहोला है, दुश्मनले हवाई आक्रमण गरे तपार्इंलाई मार्छ । हामीजस्ता होचालाई त फरक पर्दैन । ...कुनै वेला गरेको ‘ठट्टा’, ‘साँचो’मा परिणत भयो ।
‘असन्तुष्ट’ पूर्वजनमुक्ति सेनाले ‘शिविरमा राखिएका हतियार लग्दै छन्’ भन्ने निहुँमा सरकारले रातारात सेना र सशस्त्र पुलिसलाई शिविर जिम्मा लगायो । त्यसवेला भ्रष्टाचारविरुद्ध उठेको तल्लो तहका जनमुक्ति सेनाका आवाज मत्थर पार्न पूर्वसुप्रिम कमान्डर प्रचण्डलाई हम्मे–हम्मे थियो ।
सुनील शालिक राखिएको पाँचौँ डिभिजन मुख्यालयमा नेपाली सेना छ ।
सालिकमुनि लेखिएको थियो–
महान् सहिद क.किमबहादुर थापा (सुनील)
जनलर स्टाफ सदस्य तथा डिभिजन कमान्डर जनमुक्ति सेना, नेपाल
केन्द्रीय सदस्य
नेकपा(माओवादी)
जन्ममितिः २०१८ असार १८
जन्मस्थानः काभ्रा, गजुल, रोल्पा
सहादत मितिः २०६२ मंसिर १४
सहादत स्थानः मनिमारे, जिनबाङ, रोल्पा
जनयुद्धकालीन सेल्टर, पोस्ट, रुट, बंकर, टनेल, कम्युन, स्कुल, अस्पतालका साथै भत्केका वा बनाइएका भौतिक संरचना बेवारिसे थिए । भियतनाम, अमेरिका, जर्मनका हातमा परे तिनलाई कसरी ‘वार टुरिज्म’को नाउँमा ‘विश्वव्यापी’ बनाउँथे होला हँ ?
होलेरी कुनै याममा हुलका हुल हटारु र कालापारे होलेरी हुँदै झर्थे । पानी लिन जानेलाई सोध्दाखेरि भन्थे रे, ‘हुलका हुल रि ।’
अठार मगरात खाम भाषामा ‘रि’ भनेको पानी हो । स्थानीयका अनुसार हुलका हुल मान्छे तलमाथि गर्ने ठाउँमा पानी लिन जाने भन्दाभन्दै नाउँ नै होलेरी रह्यो ।
सखी, डुबिडाँडा, झेनाम, मसिना, जौलीपोखरी र डुबरिङ साबिकका गाउँ विकास समितिसहित जेदबाङ गाविसका तीनवटा वडा मिलाएर बनेको रुन्टीगढी गाउँपालिका केन्द्र होलेरी हो । दक्षिणी रोल्पाको व्यापारिक केन्द्र होलेरीमा ५०० घरधुरी र ३५०० जनसंख्या छ । एउटा प्लस टु छ भने एउटा प्राथमिक स्वास्थ्य केन्द्र ।
होलेरी भेगबाट जिल्ला नेतृत्व गर्ने अघिल्लो पंक्तिमा देखिँदैनन् । सरकारी आँखामा गढी, स्वर्गद्वारी प्रभुको जन्मगाउँ रुन्टी, शिवपार्वती गुफा, मुरुल्ले ताराखसेलेक पनि छैनन् । माओवादी आन्दोलनसँग जोडिएको होलेरीको अर्को पाटो त छँदै थियो । मुरुल्ले पर्यटकीय विकास तथा प्रकृति संरक्षण संस्था अध्यक्ष चेतलाल पुनले वर्काइफर्काई भन्दै थिए, ‘हाम्रो ठाउँमा राज्यको आँखा त लागेन, तपाईंहरूका आँखा पनि लागेन भने त सक्किगो नि !’
२३ वर्षअघि दरबार र गढीको भग्नावशेषमा लडाकु दलले ‘अन्तिम सेल्टर’ लिएको थियो । र, १.७५ किलोमिटर दूरीमा रहेको होलेरी पुलिसचौकी आक्रमण गरेको थियो । होलेरीसँगै रुकुम रारीजिउला र सिन्धुली सिन्धुलीगढी पुलिसचौकी आक्रमण गरी ०५२ फागुन १ गते नेकपा (माओवादी)ले नेपालमा ‘जनयुद्ध’ थालेको थियो ।
०००
विपरीत दिशाबाट हिँडिरहेका कमिला भेट हुँदा एकापसमा सुँघासुँघ गर्छन् । (सायद तिनले खबर साटासाट गर्छन् या हग) । त्यसपछि बाटो लाग्छन् । ठीक त्यसरी नै नुन बोकेर घर फर्किरहेका हटारु र कालापारेसित होलेरीमा भेट हुन्थ्यो । उभिएरै, समाचार साटफेरपछि तिनले ‘मुख रसाउनू’ भन्दै गुरका स–साना डल्ला दिन्थे । ‘बाटोनु चा खानू’ भनेर पैसा हात पार्थे ।
कालापारे कुममा टुर्लुंग झुन्डिएका खासा टेप्रिकाटबाट झर्थे, बिमाकुमारी दुरा र राजु परियार । र, तिनलाई पछ्याउँदै तीनपाने तालमा मस्तराम कालापारे नाच्थे ।
घरबाट निक्लिएपछि घोराही नपुग्दासम्म बाटोमा भेटिने कालापारे र हटारु होलेरी आँखामा अल्झिए ।सम्झनाको होलेरी फरक्क फर्कंदा ‘नोस्टाल्जिक’ भएँ ।
हटारु र कालापारे होलेरी हुँदै तलमाथि गर्ने दुब्लो बाटो मोटाउँदै घोडेटो भएथ्यो । त्यसपछि मोटरबाटो । अहिले होलेरीहुँदै रोल्पा थबाङ र रुकुम चुनबाङतिर सहिदमार्ग उत्तरिएको थियो । नुनको हाट कोइलाबास, घोराही हुँदै गाउँ पुग्यो भने कालापार तन्केर अरब ।
यसैगरी, पछिल्लो समय माओवादी आन्दोलनसँग जोडिएको होलेरीसँग न माओवादी थियो न त माओवादीसँग होलेरी । थियो त मारिएका र बेपत्ता परिवारसित । थियो त, घाइते र जिन्दगी आन्दोलनमै गुमाएकासित । थियो त गोली लागेका बनपाखा, चिसा आँखा, घरका भित्ता र भित्तामा कोरिएका नारामा मात्र ।
होलेरी घरको भित्तामा युद्धकालीन माओवादी नारा यस्तो थियो– राष्ट्रघात, दलाल, भ्रष्टाचारी र कालोबजारीलाई कारबाही गरौँ ! नेकपा(माओवादी) ।
किन नमेटाएका ? अनुमान लाउन गाह्रो थिएन । सायद ती घरवालाले माओवादी नेतालाई भन्न बाँकी होला, ‘हेर त, हिजो जसका विरुद्ध नारा लेख्न लगायौ, आज त्यो नारा तिमीतिर सोझियो । देखेर लाज लाग्ला कि भनेर मेटाएको छैन ।’
भित्ताका नारा गोजी क्यामरामा हालेँ । लगत्तै कवि केशव सिलवालकृत कवितांशले बाटो छेके–
घाइते आउँथे र आफ्नो घाउको खत देखाउँदै
बकिरहेका हुन्थे आफ्नो इतिहास
अनुहारमा हुने थिएन एकरत्ति ग्लानि
लडाकु आउँथे
र उत्साहित हुँदै
सुनाउँथे कुनै मोर्चाको गाथा
अहिले सुनसान सुनसान छ
सपना मरेको साँझ
जस्तो मसानघाट हुन्छ
राज्य र माओवादी नेताका आँखा नलागे नि होलेरीमा लालीगुराँस भने फुल्न छाडेको थिएन । होलेरी तन लालीगुराँस फुलेर लाल थियो । होलेरी
मन फुलेर कहिले लाल हुने हो ? गाँठो त त्यहाँ पो परेको थियो ।
होलेरी अनुहारमा केही आशा र संशय तलमाथि गरिरहेका थिए, ‘फेरि लडाइँ हुन्छ कि’ भन्ने केही ‘त्रास’ र केही ‘आस’सहित ।
यसका कारण थिए ।
एक, प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव रांल्पा इरिबाङको केवरीमा जन्मिए । हुर्किए । होलेरी भएर तलमाथि गरे । यसैगरी, केन्द्रीय जनपरिषद् प्रमुख सन्तोष बुढा मगर पनि रोल्पा थबाङका थिए ।
दुई, विप्लव प्रचण्डको दोस्रो संस्करण भए भने नेपाल झन् कस्तो होला भन्ने सन्त्रास ।
तेस्रो, द्वन्द्व रोक्न सर्वसाधारणका जीवनस्तर बदल्ने न कार्यक्रम थिए न त ल्याउने छनक नै ।
(पानीजहाज र रेल रटानले कति धान्ला, बरै नि !)
०००
कंक्रिट सहरोन्मुख होलेरीको अक्षर मेलामा साहित्य, संस्कृति र समृद्धि मन्थन भए । गन्थन भए– द्वन्द्व पत्रकारिता, नलेखिएको रोल्पा, छोडिएका कथा, कला र राजनीति अनि जीवन र मित्रतामाथि । मनग्ये मन्थन हुँदाहुँदै कथाले मागेको ‘होलेरी मन्थन’ भने ‘तपसिल’मा रह्यो । चल्तीको ‘सरकारी समृद्धि’को ‘बजार’ले तानेर हो कि अर्कोपालि गर्ने मेलाका लागि साँचेर ? कथाले ‘होलेरी मन्थन’ माग्नुका तीन कारण थिए ।
एक– माओवादीले ‘जनयुद्ध’ थाल्दा हानेका तीन पुलिसचौकीमध्ये होलेरी पनि एक थियो । माओवादीले ६ वर्षपछि फेरि आक्रमण ग¥यो । लगत्तै राजाले सेना परिचालन गर्न नमानेपछि तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा गरे । शान्ति प्रक्रियापछि दहबनमा जनमुक्ति सेना, पाँचौँ डिभिजन मुख्यालय बस्यो भने होलेरीबाट सात किलोमिटर पूर्व उङामा सहायक शिविर ।
दुई– प्रचण्डलगायत माओवादी नेता÷कार्यकर्ता रोल्पा पस्दा र भारत छिर्दा प्रयोग गरेका रुट, सेल्टर र पोस्ट होलेरी सेरोफेरोमै थिए ।
तीन– गढी, रुन्टी, मुरुल्ले ताराखसे, शिवपार्वती गुफा पनि ‘होलेरी मन्थन’का विषय थिए ।
०००
जारी थियो, चैत पहिलो हप्ता होलेरीमा
कविता र मन्थन । छमाया कविता र मन्थन मनमा मथिरहेकी थिइन् भने दीप–दर्पण दौडधुप । रोकिन हुन्न, ‘होलेरी मन्थन’ नगरी ।