• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
असीम चित्रकार
२०७७ कार्तिक १५ शनिबार ०८:१४:००
फिल्म

नेपाली हिट फिल्म कसरी हिट भए ?

फिल्म

२०७७ कार्तिक १५ शनिबार ०८:१४:००
असीम चित्रकार

‘नेपाली फिल्म हलमा पैसा खर्च गरेर हेर्नु र ?’


‘म त खासै नेपाली फिल्म हेर्दिनँ ।’


‘एक महिना कुरौँ न, युट्युबमा आइहाल्छ नि ।’


‘टिकट र पपकर्न किनिदिने हो भने चैँ जान्छु, लान्छस् ?’


नेपाली फिल्म हेर्न जाऔँ भन्यो भने मेरा अधिकांश साथीको जवाफ यस्तै हुन्छ ।

नेपालमा नेपाली चलचित्रले पाँच करोडको व्यापार गर्‍यो भने हिट भएको मान्न सकिन्छ । चलचित्र हिट हुने वा नहुने सिनेमा हलमा गएर फिल्म हेर्ने दर्शकको संख्यामा भर परेको हुन्छ । औसतमा एउटा टिकटको २०० रुपैयाँ पर्छ भने साढे दुई लाख दर्शकले हलमा गएर चलचित्र हेर्‍यो भने पनि त्यो नेपाली फिल्म हिट हुन्छ ।

 

२.५ लाख मानिस भनेको नेपाली जनसंख्याको एक प्रतिशत पनि होइन, तर युट्युबमा हेर्ने हो भने नेपाली फिल्मको भ्युअर्स कम्तीमा पनि ३० लाख नाघेकै हुन्छ । हरेक वर्ष देशमा निर्माण हुने नयाँ चलचित्रको संख्या १०० छुन आउँछ, जसमध्ये छिटफुटबाहेक अधिकांश फिल्म असफल हुने गर्दछन् । तर, अनलाइनमा भने नेपाली फिल्म हेर्न कुर्नेहरूको संख्या बढ्दो छ । नेपाली फिल्मलाई दर्शकले किन सिनेमा हलमा गएर हेर्दैनन् ? र, जति नयाँ चलचित्र हिट भएका छन्, तिनका विशेषता के–के होलान् त ?


सन् १८८८ मा आविष्कारक थोमस एडिसनले ‘काइनेटोस्कोपको’ आविष्कार गरे । त्यस यन्त्रबाट सर्वसाधारणले पहिलोपटक चल्ने चित्र यानि कि चलचित्र हेर्ने मौका पाए । सो यन्त्रमा सिक्का खसालेपछि २० सेकेन्ड जतिको चलचित्र हेर्न सकिन्थ्यो । त्यसको केही वर्षपछि अर्का आविष्कारक दाजुभाइ लुमियर ब्रदर्सले १८९५ मा प्रोजेक्टर बनाएर चलचित्रको पहिलो सार्वजनिक प्रदर्शन फ्रान्सको ला सियोता भन्ने सहरमा गरे ।

 

चलेको चित्र हेर्न पाए मख्ख पर्ने त्यतिवेलाका दर्शकलाई न ध्वनिको आवश्यकता पथ्र्यो, न त कुनै कथावस्तुको । त्यसपछि विश्वका हरेक देशका कुनामा चलचित्र गृहहरू स्थापना हुन थाले । प्रविधिको विकाससँगै चलचित्रको पनि परिमार्जन र विकास हुन थाल्यो । सन् १९२० मा चलचित्रमा ध्वनिको पनि समायोजन हुन थाल्यो र सोही दशकमा टेलिभिजनको पनि आविष्कार भयो ।

 

सन् १९५० मा टेलिभिजनको व्यापकताका कारण सिनेमा हलका दर्शकमा ह्रास आउन थालेको थियो । सोही समस्याको समाधानको रूपमा ‘सिनेमास्कोप’ (जसलाई अहिलेको भाषामा ‘वाइड स्क्रिन’ भनिन्छ) प्रचलनमा ल्याइयो । एक्काइसौँ शताब्दीसम्म आउँदा हलसम्म दर्शक तान्ने अनेकौँ नौटंकीहरू गरियो । स्पेसल इफेक्टस, एनिमेसन र थ्रिडी फिल्म पछिल्ला ट्रेन्ड हुन् ।


अहिले नेपालमा मात्रै होइन, संसारभरि नै हलसम्म गएर फिल्म हेर्ने दर्शकको संख्या घटिरहेको छ । हाल इन्टरनेटमार्फत सबैले मन पर्ने सामग्री सजिलै हेर्न सकिने भएको छ । नेटफ्लिक्स, अमेजन प्राइमजस्ता अनलाइन स्ट्रिमिङ च्यानलहरूको सफलता यसको प्रमाण हो । यसकारण धेरैले हलको महŒव घट्दै जाने अनुमान गरेका छन् । 


तर, मानिस सामाजिक प्राणी हो । उसले थुप्रै काम आफू एक्लैभन्दा पनि साथिभाइ, परिवार वा समूहमा गर्न मन पराउँछ । घरमा जति मिठो पकाए पनि, भोजभतेर वा रेस्टुराँमा गएर साथीभाइ, परिवारसँग रमाइलो गर्ने सबैको इच्छा हुन्छ । २१औँ शताब्दीका मानिसका लागि सिनेमा हलमा गएर रमाउनु पनि एक किसिमको सामाजिक क्रियाकलाप बनिसकेको छ । तर, धेरै थरीका चलचित्रको विकल्पहरूमाझ दर्शकले कुन चलचित्र हलमा गएर हेर्ने वा घरमै बसेर हेर्ने भनेर छान्ने गरेको पाइन्छ । विगतका दशकमा कस्ता नेपाली चलचित्रले हलसम्म दर्शक तान्न सफल भए त ? आउनुहोस् नियालौँ ।

लुट
‘लु्ट’ फिल्मले आर्थिक समस्यामा परेका युवाहरूले बैंक लुट्ने कथा पस्किएको छ । एउटै पात्रका विभिन्न आयामलाई यस फिल्ममा प्रस्तुत गरिएको छ । हाकुकाले, जसलाई फिल्मको सुरुमा खुंखार अपराधीको रूपमा देखाइएको छ तर पछि भने एकजना साधारण भट्टीको साहुजी र विवश पति र बाउको रूपमा देखाइन्छ ।

 

यसै कारणले हाकुकाले खलनायक भए पनि दर्शकप्रिय बन्न सक्यो । कथावस्तुलाई पस्कने शैली पनि चलिआएको भन्दा ‘लुट’ फिल्ममा भिन्दै छ । 
२०१२ मा ‘लुट’ प्रदर्शनमा आउँदा नेपाली चलचित्रको अवस्था नाजुक थियो । इन्टरनेट र टेलिभिजनमार्फत नेपाली दर्शकलाई अन्तर्राष्ट्रिय कन्टेन्टले धेरै प्रभाव पारिसकेको थियो, तर नेपाली फिल्म भने पुरानै शैलीका बन्थे । ‘लुट’मा दर्शकले केही नयाँ कुरा पाए र दर्शकले दिएको मौखिक प्रचारकै कारणले हलसम्म दर्शक पुगे र ‘लुट’ नेपालको नयाँ हिट फिल्म बन्यो । ‘लुट’का कारण फिल्म उद्योगले नयाँ दर्शक पाउनुका साथै नयाँ पिँढीका फिल्ममेकरहरूको पनि सफल प्रवेश भयो ।    

कबड्डी 
गाउँले केटीको सहरिया केटाप्रतिको आकर्षण देखेर सोही गाउँका केटाहरू डाह गर्ने र दुई केटाबीच झगडा पर्ने दृश्य हामीले थुप्रै नेपाली फिल्ममा देखिसकेका छौँ । तर, ‘कबड्डी’मा त्यो गाउँले केटा जसलाई अरू फिल्ममा खलनायकको रूपमा प्रस्तुत गरिएको हुन्छ, यसमा भने मुख्य पात्र बनाइएको छ । नेपालको पुरुषप्रधान समाजको टिपिकल सेटिङमा हुर्केका वीरकाजीको दिन मैयाकै पछि लाग्दै उसको मन जित्ने प्रयासमा बित्छ । वीरकाजीजस्तो पात्रलाई दर्शकले माया गरे पनि मैयाले भने फिल्मको अन्त्यसम्म पनि माया गरेको देखिन्न । यसले निर्देशकको फिल्मको कथाप्रतिको यथार्थवादी सोच देखिन्छ ।

 छक्कापन्जा
धन कमाउने चाहनाले नवविवाहित युवाहरू आफ्ना दुलहीलाई घरमै छाडेर बिदेसिने नेपालको घरैपिच्छेको कथाजस्तो भइसक्यो । यस्तै एउटा गाउँको परिवेशमा एक्लिएकी दुलहीहरूलाई फसाउँदै हिँड्ने पात्र हो, राजा । राजाको बिहे हुन्छ र त्यही बिहेकै कारण राजाले आफ्नो दुष्कर्मको कसरी सजाय पाउँछ भन्ने कथा सस्पेन्सको रूपमा प्रस्तुत गरिएको छ । चत्रचित्रको तेस्रो सिक्वेलले देशका हलहरूबाट मात्रै १८ करोड कमाउन सफल भएको थियो । 

 

माथिका यी फिल्मबाहेक अरू पनि थुप्रै सफल भएका चलचित्रलाई नियालेर हिट हुनाको कारण खोजेँ, तर सहजताका लागि यिनै तीनवटा फिल्मको उदाहरण लिएको छु । कुनै पनि कलाको सफलताको सूत्र खोजेर त्यसलाई नै अपनाउनुपर्छ भन्ने धारणा मेरो बिल्कुलै छैन । बरु सूत्रहरूको प्रयोगले नौलो र रचनात्मक उत्पादनमा ह्रास आउन सक्छ । तर, यी सबै नयाँ सुपरहिट नेपाली चलचित्रका केही मिल्दाजुल्दा तत्व पक्कै छन्, जसकारण हलमा दर्शकको ताँती लाग्यो । यी सूत्र पक्कै पनि वैज्ञानिक छैनन् र योे धेरै फिल्ममेकरको सोचविपरीत पनि हुन सक्ला, तर अहिलेका नेपाली फिल्म हेरेर सूत्र बनाउन सक्नु भनेकै नेपाली चलचित्रमा सिर्जनशीलतामा कमी आएको मान्न पनि सकिन्छ । यो मेरो नितान्त निजी धारणा हो, जसलाई सूत्रका रूपमा प्रस्तुत गरेको छु । 

 

यी सूत्रको प्रयोगले सबै नेपाली फिल्म हिट हुन्छन् भन्ने ग्यारेन्टी म दिन्नँ, तर यी सूत्रमार्फत नेपाली चलचित्रका दर्शकको मनोविज्ञान, नेपाली चलचित्रमा आएको परिवर्तन, अवस्था, नेपाली चलचित्र बनाउने प्रक्रिया, प्रणाली र चलचित्र आफैँमा भएका कमीकमजोरीहरूको निकासको खोजी गर्ने मेरो प्रयास हो ।

सूत्र नं. १
खलनायक नै मुख्य पात्र

माथिका तीनवटै चलचित्रका मुख्य पात्रहरूको अध्ययन गर्ने हो भने तिनीहरूमा पुराना नेपाली फिल्मका नायकमा हुनेजस्ता सर्वगुणसम्पन्न वा अलौकिक द्वन्द्व कला पक्कै छैनन्, बरु उल्टै अवगुण र कमजोरीहरू बढी भेटिन्छन् । तर, यी अवगुणहरू कृत्रिम र काल्पनिक भने छैनन्, बरु समाज, परिस्थिति र कालकोे उपजको रूपमा देखिन्छन् । हाकुकालेले पैसाका लागि गरेको चतुरता र अपराध, वीरकाजीको पितृसत्तात्मक सोच र व्यवहार, राजाले गरेको छक्कापन्जा सबै समयसापेक्ष नै देखिन्छन् । त्यसैले पनि उनीहरूमा दर्शकले वास्तविक जीवनमा भेटिने पात्रहरूसँगको मेल देखेकोे हुनुपर्छ । मानिस कोही पनि सर्वगुणसम्पन्न हुँदैनन्, सबैमा केही कमजोरी हुन्छन् । त्यसैले समयसापेक्ष अवगुणले भरेको पात्र नै सूत्र नं. १ मानेको छु ।

कसैका लागि चलचित्र पहिला कला र त्यसपछि मात्र व्यवसाय होला भने कसैलाई यसको ठीक विपरीत । तर, जस्तोसुकै विचारका मेकर भए पनि उसलाई आफ्नो सिर्जना सकेसम्म धेरै मानिसले हेरिदियोस् भन्ने इच्छा हुन्छ ।

 

सूत्र नं. २
मौलिक कथावस्तु

नयाँ नेपाली हिट फिल्महरूमा नेपाली समाजमा घट्दै आएका र घट्न सकिने कथावस्तुले नै धेरै चर्चा पाएको देखिन्छ । पात्रहरूलाई जीवन्त तुल्याउन चलचित्रका घटनाक्रम र कथाले ठूलो भूमिका खेलेको हुन्छ । ‘लुट’मा बैंक लुट्ने कथा, ‘कबड्डी’मा पचाएको पैसा फिर्ता लिन छोरी अपहरण गर्ने कथा र ‘छक्कापन्जा’मा राजालाई सबक सिकाउन ऊसँगै बिहे गरेर बदला लिन खोजेको कथाहरू यथार्थवादी छैनन्, तर नेपाली समाजमा हुन सक्ने र मौलिकता बोकेका कथा मान्न सकिन्छ । 


सूत्र नं. ३
भव्य सेटिङ र प्रस्तुति

मौलिक कथा र रोचक पात्रले मात्र दर्शकलाई ठूलो पर्दासम्म तान्न नसकेका थुप्रै नेपाली चलचित्र उदाहरण छन् । सिल्भर स्क्रिनमा पैसा खर्च गरेर हेरेपछि दर्शकले टिभी र इन्टरनेटमा भन्दा केही थप कुराको आशा गर्नु स्वाभाविक नै हो । ‘लुट’का कथावस्तुसँगै कथाको प्रस्तुति, संवाद र द्वन्द्वका लोकेसनहरू फरक र भव्य थिए । सानो बजेटको फिल्म भए पनि कबड्डीले लोकेसनमा भने सम्झौता गरेको देखिन्न । मुस्ताङको रमणीय दृश्यहरूलाई ठूलो पर्दामा हेर्दा दर्शकलाई पक्कै पनि भव्य महसुस भएको हुनुपर्छ । कमेडी सिरियलजस्तै मात्र देखिने भएको भए ‘छक्कापन्जा’ त्यति नै सफल हुन्थ्यो भन्नेमा शंका गर्न सकिन्छ । ‘छक्कापन्जा’लाई सफल तुल्याउन राम्रो प्रोडक्सन भ्यालु र छायांकनले पनि चलचित्रजस्तो भव्य बनाउनुमा ठूलै योगदान दिएको छ ।

 

सूत्र नं. ४
??

सूत्र नं. ४ सुनाउनुअगाडि एउटा घटना सुनाउन चाहेँ । केही वर्षअगाडि एकजना मित्रको फिल्म सेन्सर गर्न चलचित्र विकास बोर्डमा गएको थिएँ । सेन्सरको काम सकिएपछि बोर्डका एकजना महिला सदस्यले साधन नभएका कारण सँगै फर्किन अनुरोध गर्नुभयो । बाटोमा उहाँले भन्नुभयो, ‘फिल्म त राम्रै बनाउनुभाको रै’छ, तर फिल्म हिट बनाउने हो भने एउटा कुराचाहिँ थप्नुपर्छ है भाइ ।’ के कुरा भन्ने प्रश्नमा उहाँको जवाफ थियो, ‘आइटम नम्बर ।’ नेपाली चलचित्रमा महिलालाई गलत तरिकाले प्रस्तुत गरिन्छ भन्ने कुराको बहस चल्दै गरेको अवस्थामा एउटा महिलाकै मुखबाट यस्तो कुरा सुन्दा अचम्म लाग्यो । तर, ‘लुट’ फिल्म चल्नुअगाडि नै ‘उध्रेको चोली छ है’ भन्दै गुनगुनाएर हिँड्ने थुप्रै मानिसको पनि झलझली याद आयो । 

सूत्र नं. ५
सामूहिक मनोरञ्जनका तत्वहरू

राम्रो गीत–संगीत, सांस्कृतिक नाचगान र आइटम नम्बरले बलिउडमा जस्तै नेपाली सिनेमामा पनि अभिन्न अंग ओगटेको छ । माथिका तीनवटै सूत्रमा असफल भएर पनि एउटा हिट गीतकै कारणले चलचित्र हिट भएका उदाहरण पनि थुप्रै छन् । फिल्म कस्तो लाग्यो भन्दा ‘केही त छैन त्यो फिल्ममा, दुई–चार ठाउँमा खिचेर सस्तोमा बनाको फिल्मजस्तो छ, गीत पनि एउटै छैन’ भनेको पनि मैले धेरै सुनेँ । देउसी–भैलो खेल्दा, मेलामा जाँदा वा साथीभाइसँग भोजभतेर वा उत्सव मनाउँदा रमाइलो गर्दाको जस्तो अनुभव पनि गीत–संगीतले दिने गरेको छ । कथासँग मेल नै नखाए पनि सुन्दर स्थानमा नाचेको–गाएको ठूलो पर्दामा हेर्दाको अनुभवलाई नेपाली चलचित्रका दर्शकले निकै रुचाएको देखिन्छ । 


नेपालमा हिट भएका विदेशी फिल्मको अवस्था हेर्ने हो भने पनि विशेषगरी ठूला बजेटका ब्लकबस्टर फिल्महरू मात्र सफल भएका देखिन्छन् । बाहुबली–२ ले नेपालमा २० करोडको व्यापार गरेको थियो भने एभेन्जर्स एन्डगेमले ५ करोडको । कसैका लागि चलचित्र पहिला कला र त्यसपछि मात्र व्यवसाय होला भने कसैलाई यसको ठीक विपरीत । तर, जस्तोसुकै विचारका मेकर भए पनि उसलाई आफ्नो सिर्जना सकेसम्म धेरै मानिसले हेरिदियोस् भन्ने इच्छा हुन्छ । यसो भन्दै गर्दा चलचित्रको सफलतालाई हलको भीड मात्रैले मूल्यांकन गर्न भने मिल्दैन ।

 

संसारभरिका धेरै उत्कृष्ट चलचलचित्रहरू पनि फ्लप भएका छन् । नेपालमा पनि थुप्रै राम्रा चलचित्रलाई दर्शकले ठूलो पर्दायोग्य ठानेनन् । संसारकै प्रतिष्ठित अवार्ड जितेका चलचित्रहरू पनि नेपालका हलहरूमा चल्दैनन् । त्यसैले माथिका सूत्र नेपाली सिनेमा बजार बुझ्ने एउटा दृष्टिकोण हुन सक्ला । ‘लुट’ फिल्म हिट भएको एक दशक बित्न लाग्दा ‘लुट’कै गन्ध आउने थुप्रै फिल्म बनाउन प्रयास गरियो । ‘कबड्डी’ र ‘छक्कापन्जा’को तेस्रो सिक्वेल बनिसक्यो, र अब बन्दै गरेका चलचित्रहरूले पनि बढी यस्तै जनरालाई मात्र पछ्याउन खोजेको देखिन्छ ।

 

केही चलचित्रले फरक धार अपनाउन खोजे भने केहीले अन्तर्राष्ट्रिय फेस्टिभलमा इन्ट्री मार्न सफल भए । तर, समग्रमा नेपाली चलचित्र उद्योगमा सिर्जनशीलताको प्रभावकारी उपयोग नभएको महसुस हुन थालेको छ । अब यी सूत्रलाई नपछ्याईकन कस्ता नेपाली चलचित्रलाई दर्शकले हलयोग्य ठान्लान् त ? के नेपाली चलचित्र अब पनि हलकै मात्र भर पर्नु ठीक होला त ? हलबाहेक अरू कस्ता विकल्प हुन सक्लान् ? हालको महामारीले थपेको चुनौतीसँगै चलचित्रका विषयवस्तुमा मात्र होइन, नेपाली चलचित्र बनाउने प्रणाली, प्रविधि, चलचित्र वितरण र प्रदर्शनमा समेत रचनात्मक कदम र अपडेटकोे आवश्यकता परेको देखिन्छ ।