• वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
खेम लामिछाने
२०७७ कार्तिक २२ शनिबार ०६:३६:००
सम्झना

आमा यस्तो दसैँ अब कहिल्यै नआओस् !

२०७७ कार्तिक २२ शनिबार ०६:३६:००
खेम लामिछाने

दसैँ सबैजसो नेपालीका लागि महान् पर्व हो भन्ने कुरामा विमति हुने कुरै भएन । हुन त कतिपयले यसलाई हिन्दू नेपालीहरूको पर्व भन्ने गरे पनि हप्तादिनसम्मको सरकारी छुट्टी, पारिवारिक भेटघाट, साथीभाइको जमघट र गाउँघर गुल्जार हुने भएका कारण र यो समयमा मौसम पनि सुन्दर हुने भएकाले अन्य धर्मावलम्बीहरूलाई पनि चाडबाडकै मौसम महसुस हुनु यसको महत्वपूर्ण कारण हो ।तर, यसपटकको दसैँ भने अरु वेलाजस्तो भएन । संसार नै कोरोना महामारीको चपेटामा परेका कारण चारैतिर दुःख, मृत्यु र आर्थिक विषमताहरू छन् । यसपटक धेरैका घरमा चाड नै पसेन । जतिको घरमा दसैँ आयो, थोरै–थोरै कन्जुस गरेर आयो ।


पर्व आउनु भनेको पैसा आउनु मात्र होइन, सहरमा बसेका सन्तान गाउँ आउनु पनि हो । सात समुद्रपारि छरिएका परिवार एकै ठाउँमा जम्मा हुनु हो । एक–अर्कालाई धीत मर्ने गरी अँगालो हालेर दुःख–सुख बाँड्नु हो । यसपटक यस्तो केही भएन । धेरैको घरमा दसैँको सट्टा मृत्यु उपस्थित भयो । धेरैको घरमा लक्षणसहितको र केहीको घरमा लक्षणरहितको कोरोनाको वास भयो ।

 

केही घरमा वृद्ध आमा–बुबा भएका कारण सन्तानहरू कतै आफूले कोरोना भाइरस अन्जानमै बोकेको छु कि भनेर डरले गाउँ नै गएनन् । कतिपय गए पनि आमा–बुबा वा आफूभन्दा ठूलाबडाको टीका नै लगाएनन् । दसैँको महत्वपूर्ण क्षण भनेकै आफूभन्दा ठूलाबडाको हातको टीका लगाई आशीर्वाद लिनु नै हो । वरपर टीका नै नलगाएपछि आएको दसैँ पनि दसैँजस्तो नहुँदो रहेछ । मेरो अनुभवमा पनि यसपटक दसैँ निकै खल्लो भयो । यसपटक जस्तो खल्लो दसैँ कहिल्यै महसुस गरेको थिइनँ । 


जस्तोसुकै अवस्थामा पनि दसैँमा नेपाल आउने दाइ (जीवा लामिछाने) यसपटकको दसैँमा आउनुभएन । गएको डेढ दशकमा यस्तो पहिलोपटक भएको थियो । दाजु मात्र होइन, छोराछोरी पनि आउन पाएनन् । दाइ र छोराछोरीको खलबलविनाको दसैँ उसै पनि खल्लो हुने लक्षण मैले देखिसकेको थिएँ ।चितवनस्थित घरमा ८५ वर्षीया आमा हुनुहुन्छ ।

 

अरूको झैँ हामी पनि चितवन गाउँमै भेला भएर दसैँ मनाउन काठमाडौं, रुस वा जर्मनीबाट हरेक वर्ष पुग्ने गरिन्थ्यो, तर यसपटक काठमाडौंमै भएर पनि चितवन जान मेरो मन त्यति आतुर भएन । पिसिआरको परीक्षणविना मलाई घर जान हिम्मतै आएन । अष्टमीको दिन मात्र पिसिआर नेगेटिभ आएपछि म र श्रीमती चितवनस्थित घरतिर लाग्यौँ । नेपालमा गाडी चलाउन म अझै असहज महसुस गर्छु । युरोपको ड्राइभिङ सिट नेपालमा भन्दा फरक दिशामा हुने भएकाले पनि यसो भएको हुन सक्छ । तर पनि अहिलेको यस्तो महामारीमा ड्राइभरलाई नलगी दुवैजनाले बिस्तारै पालैपालो ड्राइभिङ गर्ने निर्णय गरेर चितवन घर पुगियो ।

 

आमा र छोराबीचको सम्बन्धको गहिराइ सबैलाई थाहा छ भन्ने भ्रम चिर्न पनि महामारीले काम गर्दाेरहेछ । जब–जब उहाँको छेउमा जान्थेँ, मुखमा मास्क लगाएर, हातलाई सेनिटाइज गरेर मात्र जान्थेँ । प्रत्येक क्षण हुनुपर्ने यो सचेतताभित्र आमाको स्वास्थ्यमा कुनै भवितव्य नहोस् भन्ने डर यसरी पस्यो कि मलाई लाग्यो मैले आमाको सामीप्यको यति गहिरो अनुभव यसअघि गरेकै रहेनछु ।

 

प्रत्येकपल्ट सचेत भएर उहाँको अघि पुग्दा, बस्दा र व्यवहार गर्दा जुन स्वाभाविक आत्मीयता र स्नेहको आदान–प्रदान हुनुपर्ने हो, त्यो अचम्मले अप्ठ्यारोमा पर्दाेरहेछ । आमालाई यस्ता कुराको परवाह हुने कुरै भएन । आमालाई महामारीभन्दा पनि बल्लबल्ल आएका छोरा–बुहारी, नाति, नातिनीहरूसँग आत्मीयता साट्न बढी उत्सुकता थियो । हामी सकभर उहाँसँग टाढै रहन कोसिस गरिरहेका थियौँ, जसले गर्दा पटक–पटक हाम्रो कुराकानी र स्नेहमा बाधा परिरहन्थ्यो ।

मेरो अनुहारमा मास्क देखेर भन्नुभयो, ‘बाबु, त्यो मुखमा लगाएको कुरा खोल न ।’ मैले भनेँ, ‘किन आमा ? अहिलेको यस्तो अवस्थामा यो लगाएकै राम्रो ।’ आमाको जवाफ थियो, ‘हैन के, म तिमीलाई राम्रोसँग हेर्छु ।’ 


आमाको चित्त नबुझ्दानबुझ्दै पनि नवमीको दिन निकै असहज महसुस गर्दै आफन्तलाई टीका लगाउन नआइदिन आग्रह गर्दै फोन गर्नुप¥यो । आफन्तलाई मेरो घर नआइदेऊ भन्न जति गाह्रो काम अरू केही नहुँदोरहेछ । नेपाली समाज कति घुलमिल छ र यसको जरो कति गहिरो छ भन्ने कुरा यसरी फोन गर्दा अनुभव गरियो । धेरै आफन्तले सहजै यो कुरालाई स्वीकार गरे पनि मलाई भने निकै अप्ठ्यारो महसुस भइरह्यो । लामो समयपछि घर जाँदा छरछिमेक, गाउँघर गएर भेटघाट गर्ने सामान्य चलन हो । ती सबै रोकेर घर बस्नुको अप्ठ्यारो पनि यसपटक महसुस भयो । 


यी सब बाधा अप्ठ्याराबीच पनि मैले अहिलेको यो महामारीका केही सकारात्मक पक्ष भएको महसुस गरेको छु । घर बसाइको बीचमा लामो समयपछि बोटबिरुवालाई समय दिन पायौँ । बा खेतीपाती भनेपछि हुरुक्कै गर्नुहुन्थ्यो । मलाई कहिलेकाहीँ बुबाले अत्यधिक समय खेतबारीमा बिताएको देख्दा अनौठो लाग्थ्यो । जब बोटबिरुवा र मानिसबीच सहज संवाद महसुस हुन्छ, मानिस खेतबारीमा अडिँदोरहेछ ।

 

मैले यो वेला बुबाको जीवनशैलीलाई पनि राम्रोसँग अनुभव गरेँ । केटाकेटीजस्तै भएर बारीमा तरकारी चुँडेर खाएँ । केराबारीमा बोटमै पाकेका केराको स्वाद लिएँ । एकपल्ट पुनः गाउँले हुनुको आनन्द लिँदै गर्दा सोचेँ, किसानको छोरो हुँदाहुँदै पनि समयले किसानीबाट हामीलाई टाढा पु¥याउन थालेछ । सधैँ चितवन जाँदा गाउँ चहार्ने म आमाको सधैँ गुनासो हुन्थ्यो– घर एकछिन बस्दैन भन्ने । यसपटक दिनभरि नै आमासँग घरै बसेँ । भान्सामा भाउजूलाई सघाएँ । भाउजू, आमा सबै खुसी हुनुभयो । बाँच्न जाने जहाँ पनि जीवन सुखमय छ भन्ने कुरा यो महामारीले केही हदसम्म हामीलाई सिकायो । 


तर, यीभन्दा पनि मलाई भावुक बनाउने क्षण भने आमाका शब्दहरू नै थिए । घरको आँगनमा एउटा ठूलो आँपको रूख छ । त्यही रूखको मुनि बिहानै म फोन हेरेर बसिरहेको थिएँ । आमा चिया लिएर आइपुग्नुभयो । मेरो अनुहारमा मास्क देखेर भन्नुभयो, ‘बाबु, त्यो मुखमा लगाएको कुरा खोल न ।’ मैले भनेँ, ‘किन आमा ? अहिलेको यस्तो अवस्थामा यो लगाएकै राम्रो ।’ आमाको जवाफ थियो, ‘हैन के, म तिमीलाई राम्रोसँग हेर्छु ।’ 

 

आमाका यी शब्द जति छोटा थिए, त्यति नै गम्भीर थिए । उहाँको शब्दले मलाई भावविह्वल बनायो । मैले उहाँको वचन हार्न सकिनँ र मास्क खोलिदिएँ । उहाँले मलाई यसरी हेर्नुभयो, जसरी पहिलोपटक माया बसेको कुनै जोडीले एक–अर्कालाई हेर्छन् । उहाँको आँखामा वात्सल्य यसरी उर्लिरहेका थिए कि उहाँ सम्भावित सम्पूर्ण खतरासँग कुनै मतलबै थिएन, खाली मेरो अनुहार हेरिरहनुभएको थियो ।


जीवनमा आमासँग धेरै समय बिताएको छु । कान्छो भएका कारण आमाको वात्सल्य अरू सन्तानको तुलनामा बढी नै पाएको छु जस्तो लाग्छ । तर, यसपटकको एउटा मास्कले आमाको मनमा परेको चोटले मातृस्नेहको भारी मैले राम्रोसँग अनुभव गर्न पाएँ । आफैँले जन्माएर हुर्काई ठूलो पारेको छोरो ५० वर्ष कटिसक्दा पनि उहाँका लागि म किन अतृप्त छु ? हैन हरेक आमा आफ्ना सन्तानलाई किन यति धेरै माया गर्छन् ? मैले बुझ्न सकेको छैन । 

 

अबको दसैँ दसैँजस्तो नलाग्ने गरी कहिल्यै नआओस् भन्ने कामना गर्दछु । तर, यही महामारीले निम्त्याएको एउटा मास्कले बाधा दिएको आमाको प्रेमलाई भने मैले मेरो मनमा सधैँ सजाएर राख्नेछु । आमा अब यस्तो दसैँ कहिल्यै नआओस्, जसले आफ्नो छोरोको अनुहार हेर्न पनि बाधा गरोस् ।