• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
हरि राेका
२०७७ कार्तिक २९ शनिबार ०९:३३:००
समाज

ट्रम्पिजममा अल्झिएको साम्राज्यवादको ताज

२०७७ कार्तिक २९ शनिबार ०९:३३:००
हरि राेका

 

वाइडेन कसरी अघि बढ्छन् भन्नेले अमेरिकाको महाशक्तिको ताज पुनः परिभाषित गर्नेछ

 

सानैदेखि अमेरिकाबारे सुन्दै आएँ । दलानको खाँबोमा कपडाको खोल ओढेको पुन्टे रेडियोले हरेक बिहान ७ बजे ‘यो रेडियो नेपाल हो’ भन्दै समाचार सुनाउँथ्यो । मुख्य समाचार भट्याएपछि ‘अब विस्तारमा’ भन्ने थेगो थियो । पहिला राजा, मन्त्री आदिका समाचारपछि विश्व समाचारको पालो आउँथ्यो । विश्व समाचारमा अमेरिका र अमेरिकी प्रशासन छुट्दैनथ्यो । अमेरिका कहिले भियतनाम युद्धमा जोडिन्थ्यो, कहिले इजिप्ट र इजरायलको गलफत्तीमा उल्झिएको हुन्थ्यो । कहिले अफ्रिकाको अँगोलामा छापामारसँग लडिरहेको हुन्थ्यो, कहिले घानासँग लुकामारी खेलिरहेको हुन्थ्यो । कहिले क्युवासँग जोडिन्थ्यो भने कहिले ब्राजिल र चिलीका शासकसँग मिलेर विद्रोहीहरूलाई दबाइरहेको हुन्थ्यो । सुन्दा अमेरिकाको चलखेल जादुझैँ लाग्थ्यो ।

 

कलेज पढ्न थालेपछि मात्र त्यो चलखेल जादु नभएर, उदार प्रजातन्त्रका नाममा महाशक्ति राष्ट्र अमेरिकाले साना र गरिब निमुखा मुलुकमा गर्ने वा गरिरहेको बलमिचाइ रहेछ भन्ने बुझ्न थालियो । अमेरिकी हितमा ऊ आफ्ना शत्रुलाई साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर ऐँच्याउने प्रयत्न गर्थ्यो। 

 

दुई महादेशलाई नै अमेरिका भनिन्छ, एउटा उत्तर र अर्को दक्षिण (जसलाई भाषाको बाहुल्यका हिसाबले ल्याटिन अमेरिका पनि भनिन्छ) । उत्तरमा रहेका तीन मेक्सीको, संयुक्त राज्य अमेरिका तथा क्यानडा भए पनि अमेरिका भन्नासाथ संयुक्त राज्य अमेरिकालाई नै बुझ्ने चलन छ ।

 

संसारका बहुसंख्यक देशका शासक सिद्धान्ततः उदारवादी पँुजीवादमा विश्वास राख्छौँ भन्छन् । उदारवादको जननी युरोप भए पनि अमेरिका यी सबैको नायक बन्यो । जनसंख्या, भूगोल र सम्पत्तिले (क्षमता) नायकत्व निर्धारण गर्छ । खानी तथा खनिज भण्डारण, उब्जाउशील भूमिमाथिको कब्जा, नियन्त्रित र नियमित जनशक्तिको अथाह परिचालन (दासप्रथामार्फत) सुविधा, खोज अन्वेषण र शिक्षाको माहोल निर्माण आदिले अमेरिकालाई औद्योगिक राष्ट्र बनायो । पहिलो विश्वयुद्धअगावै ऊ शक्ति राष्ट्र बनिसकेको थियो । त्यसमाथि पनि ‘ग्रेट डिप्रेसन’पछि राष्ट्रपति फ्रेन्कलिन डि. रुजवेल्टले ‘न्यु–डिल’ कार्यक्रम (सन् १९३३–१९३९) मार्फत आमजनसमुदाय सहभागी हुने गरी आर्थिक तथा सामाजिक विकासका परियोजनाहरू व्यवस्थित ढंगले लागू गरिएपछि महाशक्ति बन्न कसैले रोक्न सक्ने कुरै थिएन । किनकि युद्धमा ऊ सरिक भयो र विजय पनि हासिल ग¥यो । तर, युद्धले अमेरिकालाई छोएन । युद्धबाट बचत पुँजी उसले क्रमशः शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधिमा लगानी बढायो र श्रेष्ठता हासिल गर्दै कृषि, व्यापार, अन्वेषण, शिक्षा, स्वास्थ्य, वित्तीय प्रणाली आदिमा अग्रता हासिल ग¥यो । परोक्ष रूपमा उसकै नेतृत्वमा रहेका ‘अन्तर्राष्ट्रिय मुद्राकोष’, ‘विश्व बैंक’, ‘ग्याट’जस्ता विश्व वित्तीय तथा व्यापार नियमन संस्थामार्फत संसारको सूचनामाथि पकड राख्न पनि उसलाई गाह्रो भएन ।

ट्रम्प अनगिन्ती झुटो बोल्छन् । सिद्धान्त र विचारलाई बंग्याउँछन् । नातावाद, कृपावाद र फरियावाद त उनको धमनीमा रगरग बहिरहन्छ । यी सबै ट्रम्पका असली चरित्र हुन्, जो अमेरिकी उदार प्रजातन्त्रलाई बितेका चार वर्ष उपहारस्वरूप प्राप्त भइरहे ।

संसारका मध्यम वर्गीयहरू अमेरिकालाई स्वप्नदेश (ड्रिमल्यान्ड) ठान्छन् । भरसक आफू नभए छोरा–नाति अमेरिकामा जन्मिँदै ग्रिनकार्ड पाऊन् भन्ने रुचि राख्छन् । मुलुक नेता, उच्चपदस्थ कर्मचारी, बुद्धिजीवी, साहित्यकार, कलाकार, उद्योगपति र व्यापारी भित्रभित्रै अमेरिकासम्म पहुँच राख्न जे पनि गर्न तयार देखिन्छन् । छोराबुहारी पुगे र अडिए भने जीवनभरको सबैखाले कमाइ साइफोनिङ गरेर अमेरिका पठाउन पछि पर्दैनन् । अमेरिका ‘महान्’ अरू तुच्छ ठान्ने मनोविज्ञान धेरैमा देखिन्छ । त्यसमध्ये लेखनीको सीप हुनेहरूले यात्रा गाथामा अमेरिकाको वैभव र आधुनिकताबारे ईष्र्या जाग्ने गरी यात्रा–वर्णन यदाकदा पस्कन्छन् । यस्ता नियात्रा वर्णनले केही अभागीलाई अमेरिका पुग्न कुतकुत्याउँछ । घरखेत बेचेर भाग्य अजमाउन दलालको पछि लाग्छन् । कतिपयले बाटैमा ज्यान गुमाउँछन् । तैपनि कोसिस गर्न छोड्दैनन् । त्यसैले अमेरिका धेरैका लागि ‘हाई–हाई अमेरिका’ बन्न पुगेको छ । 

 

००० 

 

बुझ्दै जाँदा त्यो ‘ड्रिमल्यान्ड’मा सबै अमेरिकी धनी रहेनछन् । करोडौँ काला जाति, लाखौँ हिस्प्यानिक तथा एसियालीहरू जीवनका लागि अथक संघर्ष गर्न बाध्य छन् । गोरा, काला, हिस्पानिक एसियन बसाइँ सरेर अमेरिका पुगेका रहेछन्, पुराना आदिवासीहरू माथिको थिचोमिचो अन्यायपूर्ण रहेछ । विश्वयुद्धपछिको अमेरिकी ड्रिमल्यान्डमा विश्वका लाखौँ, करोडौँ मानिसहरूको रोग, शोक, भोक र आँसु गाँसिदो रहेछ । महाशक्ति अमेरिका र यसका निर्वाचित राष्ट्राध्यक्षहरू कुनै पनि निहुँमा कुनै पनि देशलाई दण्डित गर्न तम्सन्छन् । एक सनकको भरमा आक्रमण गरेर तहसनहस बनाउन सक्छन् । भियतनाम, लाओस, युगोस्लाभिया, अफगानिस्तान, इराक, सिरिया र लिबिया प्रत्यक्ष थोपरिएका लडाइँका पाठ हुन् । अप्रत्यक्ष त कति हो हो । अमेरिकाप्रति बफादार छैन भन्ने बुझेपछि नाकैमुनि सैन्य कु त गणना गरी साध्य छैन । पछिल्ला चरण रंगीन क्रान्ति सम्पन्न गराइने गरिरहेका छन् । जस्तो, भेलभेट, लिली, अरेन्ज क्रान्ति । उसले चाहेमा कुनै पनि क्षेत्रीय शक्तिको भोलि नामनिसान नरहन सक्छ । संसार थर्कमान र हरदम होसियार छ । सबैखाले अन्तर्राष्ट्रिय कानुन उसका चाहनाले बन्छन्, उसका अनिच्छाले भत्कन्छन् । महाशक्ति साम्राज्यवादी अमेरिका त्यसै भनिएको होइन र त्यत्तिकै बनेको पनि होइन । 

 

००० 

अमेरिकी निर्वाचनले संसारमै महत्व राख्नु स्वाभाविकै हो । चाहे ती उदारवादी–राजनीति बोकेका हुन् या गैरउदारवादी । नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव सम्पन्न भयो । अमेरिकामा देखिने दुई ठूला राजनीतिक पार्टी छन् । त्यसो त संघीय अमेरिकामा आवधिक निर्वाचन भइरहन्छ । संघीय हिसाबले हरेक दुई वर्षमा हाउस अफ कमन्स र सिनेटको चुनाव हुने गर्छ । प्रत्येक चार वर्षमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने गर्छ । तर, यसपटकको चुनाव पछिल्ला धेरै चुनावभन्दा बढी चर्चित बन्यो ।

 

इरानका सुप्रिम लिडर अयातुल्लाह अली खमेनीले यसपालिको अमेरिकी निर्वाचनमाथि व्यंग्य गर्दै भने, ‘क्या रमाइलो सुन्नुपरेको !’ संयुक्त राज्य अमेरिकाकै इतिहासमा सबैभन्दा धाँधलीयुक्त निर्वाचन’ भनेर स्वयं बहालवाला राष्ट्रपति भन्दै छन् ।’ तर युरोपेली संघको निर्वाचन पर्यवेक्षण टोलीले (अगनाइजेसन फर सेक्युरिटी एन्ड कोपरेसन इन युरोप (ओएससिई) राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई आधारहीन भनेर खण्डन गर्‍यो । कुनै पनि किसिमको प्रणालीगत त्रुटि नरहेको उनीहरूको प्रतिवेदनले जनाएको छ । ‘यस्ता आधारहीन कुराले लोकतान्त्रिक संस्थाहरूमाथिको आमविश्वास मात्र भत्काउँछ ।’ उनीहरूले भन्ने गरेका छन् । त्यसैगरी स्वयं अमेरिकी निर्वाचन आयोगले पनि बृहत् छानबिन गरी धाँधली नभएको जनाएको छ (इलेक्सन अफिसिएल्स नेसन्सवाइड फाइन्ड्स नो फ्रड, न्युयोर्क टाइम्स ११, ११, २०२०) । उदार प्रजातन्त्रमा संस्थागत गरिएको निर्वाचन पद्धतिमा विश्वास गर्ने भनिएको अमेरिकाको स्वयं बहालवाला राष्ट्रपति, प्रशासन, सत्तारुढ सांसद विपक्षी उमेदवार जो वाइडेनले निर्वाचन चोरेको (धाँधली) आरोप लगाइरहेका छन् । निर्वाचन हारिसकेपछि पनि राष्ट्रपति हार स्विकार्न तयार छैनन् । 

 

राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारे भने यस्तो बखेडा झिक्न सक्छन् र जे पनि गर्न सक्छन् । यस्तो पूर्वानुमान नगरिएको होइन । कतिपय देशले अझै पनि खुलेर वाइडेनलाई जितमा बधाई दिन सकिरहेका छैनन् । किनकि अर्को ७० दिन (अर्थात् २० जनवरी) सम्म अत्याधुनिक हातहतियारसहित शक्तिशाली सेनाको कमान्ड गरिरहेका डोनाल्ड ट्रम्पको हातमा न्युक्लियर बमको बटम छ । कुन वेला के गर्छन् ? के ठेगान ? आफ्नो पद कोमामा पुगिसक्दा पनि विश्वासपात्र डिफेन्स सेक्रेटरी मार्क एस्परको जागिर मिनेटमा खाइदिए । यहीबीच इरानमाथि ढिब्री कसेका छन् । कतै उनले बाँकी कार्यकालमा प्रशान्त क्षेत्रमा गडबडी त मच्चाउँदैनन् ? आशंका र आतंकपूर्ण नजरले त्यस क्षेत्रका मानिस नियालिरहेका छन् । अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिले नव–निर्वाचित राष्ट्रपतिमाथि गरेको यो वर्ताव नयाँ नभए पनि अनौठो चाहिँ हो । यद्यपि किन ? व्याख्या–विश्लेषण जारी छ ।

 

००० 

 

सन् ००८÷०९ को विश्वव्यापी मन्दी अमेरिकाबाटै फैलियो । नवशास्त्रीय अर्थशास्त्रीहरूले यो असफलता कसरी भयो भन्न सकेनन् । बजारको असफलता (मार्केट फेलियर) भन्न पनि हिचकिचाइरहेका थिए । तर, वामपन्थी अर्थशास्त्रीहरूले त्यो बृहत् मन्दीको कारण नियोक्लासिकल इकोनोमिक सिद्धान्तमा आधारित नवउदारवादी बजार फेलियर भएर संकट भएको जनाउ दिए । उनीहरूले उदारवादी अर्थराजनीतिक प्रणाली संकटमा फसिसकेको बताए । ‘अब छोटो व्यापार चक्र (ट्रेड साइकल) छलेर होइन, प्रणालीगत संरचनामै सच्याउन आवश्यक हुन्छ,’ उनीहरूले उपाय सुझाएका थिए । तर, नीति–निर्माता तथा शासकहरूलाई रुचिकर लागेन । क्वान्टिटेटिभ एजिङमार्फत बैंक रेस्क्यु, धेरथोर मार्केट रेगुलेसन (खासगरी बाह्य आयातितमाथि भन्सार दर वृद्धि गरेर), तथा अस्टेरिटी प्याकेजमार्फत सरकारी खर्च कटौती गरी मन्दी भगाउन खोजे ।

 

वास्तवमा अत्यधिक असमानता र थोरै मानिसका हातमा सम्पत्तिको थुप्रो लाग्नाले उत्पादन अवरुद्धता तथा बेरोजगारी वृद्धिका कारण संकट उत्पन्न भएको थियो । मन्दीसँगै उत्रिएका सत्तारुढ कथित सोसल डेमोक्र्याटहरूले (ओबामा, ब्लेयर–ब्राउन) पुरानै नवउदारवादी बाटो हिँड्ने तय गरेपछि अर्थतन्त्र झन् साँघुरो, झन् थोरैका हातमा थुिप्रँदै गयो । असमानता झन् धेरै फस्टायो, कालोबजारी र भ्रष्टाचार झन् मौलायो, बेरोजगार र घरबारविहीन झन् बढे । यी यावत् कठिनाइविरुद्ध लड्न लेफ्ट पार्टीहरू बलिया थिएनन् । जन–असन्तुष्टिको मलिलो ग्राउन्डमा दक्षिणपन्थी लोकप्रियतावादीहरूले राजनीतिक खेती गरे । रुसमा पुटिन, भारतमा मोदी, टर्कीमा एर्दोगान, हंगेरीमा भिक्टर ओर्वान, ब्राजिलमा बोल्सोनारोको सत्ता यही ग्राउन्डका उपज हुन् । अमेरिकामा डोनाल्ड ट्रम्प सुरुमा दक्षिणपन्थीहरूको टि–पार्टी हुँदै रिपब्लिकन पार्टी छिरेका थिए । डेमोक्र्याटहरूको असफल निरन्तरताविरुद्ध लोकप्रियतावादको झन्डा गाड्दै उनी सन् २०१६ को चुनावमा हिलारी क्लिन्टनलाई जितेर राष्ट्रपति बने ।

 

‘मेक अमेरिका, ग्रेट अगेन’ उनको नारा थियो । जनताले नारा मन पराए । महाशक्ति राष्ट्रको राष्ट्रपतिको ताज भिर्न सजिलो भयो । वासिंटन कन्सेन्सस अर्थात् सन् १९७० को मध्याह्नबाट सुरु गरिएको नवउदारवादी अर्थराजनीतिको (उदारीकरण, निजीकरण तथा भूमण्डलीकरण) ठीकविपरीत राष्ट्रिय राज्य (नेसन–स्टेट) अर्थात् सङ्कीर्ण राष्ट्रवादसँग मेल खान्थ्यो । यसको अर्थ ४० वर्षे नवउदारवादको तिलाञ्जली । राष्ट्रपतिको कार्यभार सम्हाल्नासाथ त्यो अवधिका पुराना सन्धि–सम्झौताहरू, जस्तो– एसिया–प्यासिफिक क्षेत्रको सन्धि टिपिपी उल्ट्याए । युरोपेली युनियनसँग गरिएको ट्रान्स–अटलान्टिक व्यापार समझदारी खण्डित गरिदिए । क्यानडा, युएसए र मेक्सिकोबीचको ‘नाफ्टा ट्रिटी’अपांग बनाइदिए । हामी सबैलाई थाहा छ, चीनबाट आयातित वस्तुमा उनले २०० प्रतिशतभन्दा बढीले भन्सार ठेलिदिए । हाल कुरा व्यापार युद्ध हुँदै शीतयुद्धसम्म पुगेको छ ।

 

००० 

 

‘ट्रम्पिजम’ सुन्दा अनौठो लाग्छ । ट्रम्पले नवउदारवादी भूमण्डलीकरण छोडिदिए । यो उनको लोकप्रियतावादको खेती थियो । नवउदारवादको जन्म वित्तीय फैलावटको आर्थिक वृद्धि (फिनान्सियल लेड इकोनोमिक ग्रोथ) उद्देश्य राखेर गरिएको थियो । ४ दशकपछि के प्रस्टियो भने उत्पादनमूलक उद्योगधन्दा जति नवऔद्योगिक राष्ट्रहरूमा सरे, स्वाभाविक रूपमा रोजगारीका अवसर पनि स¥यो । चीनलगायत मुलुक धनी हुँदै गए । रणनीतिक उद्योग तथा वित्तीय भूमण्डलीकरणको विस्तारले १ प्रतिशत अमेरिकीहरूकहाँ सम्पत्ति त थुप्रियो, तर असमानता आकासियो । त्यसले एक प्रतिशतका विरुद्ध ९९ प्रतिशतको आन्दोलन उत्पत्ति भयो । वामपन्थीको पछिल्लो यो नारालाई ट्रम्पले ‘अमेरिका ग्रेट अगेनमा’ हाइज्याक गरे । उनको यो राष्ट्रवादले अमेरिकामा केही लगानी फिर्ता भयो । रोजगारीमा पनि वृद्धि भयो । तर, यो स्थायी उपाय थिएन । किनकि समयले संरचनागत परिवर्तनको माग गरेको थियो । यद्यपि यति थोरै अडानले पनि दक्षिणपन्थी अमेरिकीमाझ ट्रम्पको लोकप्रियता बढ्यो । महाशक्ति राष्ट्रको हैसियतमा ट्रम्पबाट जिम्मेवारी पूरा हुने आशा गरिन्थ्यो । टड्कारो देखिएको वातावरणीय समस्या (क्लाइमेट इमर्जेन्सी) प्रति उनी जिम्मेवार रूपमा प्रस्तुत भएनन् । विश्वव्यापी असमानता र त्यसले खडा गरेको असन्तोष, विद्रोह सम्बोधनमा रुचि देखाएनन् । युद्धबन्दी तथा शरणार्थीप्रति उनले सहानुभूति जताएनन् । बसाइँसराइ गरेर भित्रिएकाप्रति उनले असाध्य हेपाहा र अमानवीयता प्रदर्शन गरे । काला र हिस्प्यानिकमाथि देखिने गरी भेदभाव जनाइरहे र खुला रूपमा गोराहरूको एकछत्र राजको वकालत गरिरहे । पछिल्लो ‘ब्ल्याक लाइभ म्याटर्स’ आन्दोलन उनको त्यो चरम जातिवादविरुद्ध केन्द्रित थियो ।

ट्रम्प हारे पनि ट्रम्पले अमेरिकी समाजमा पारेको ठूलो सामाजिक खाडल पुरिनसक्नु छ, ट्रम्प हारे पनि ट्रम्पिजम कुनै पनि वेला वाइडेन प्रशासनलाई निल्न आँ गरेर बसिरहेछ । 

उनीमाथि लागेका थुप्रै आरोप छन् । भनिन्छ, उनी षड्यन्त्रको सिद्धान्तमा (कन्पिरेसी थ्योरी) विश्वास राख्छन् । अनगिन्ती मात्रामा झुटो बोल्छन् । सिद्धान्त र विचारलाई बंग्याउँछन् । पुलिस र अदालतलाई आफ्नो हितमा प्रयोग गर्छन् । स्वतन्त्र मिडियालाई अनेक आक्षेप लगाएर दोहोलो काढ्छन् । नातावाद, कृपावाद र फरियावाद त उनको धमनीमा रगरग बहिरहन्छ । यी सबै ट्रम्पका असली चरित्र हुन्, जो अमेरिकी उदार प्रजातन्त्रलाई बितेका चार वर्ष उपहारस्वरूप प्राप्त भइरहे । र, अन्यत्रका शासकहरूजस्तो यर्दोगान, बोल्सोनारो, अब्दुल फताह सिसी, मोदी र ओलीले समेत ट्रम्पबाट शिक्षास्वरूप कोसेली ग्रहण गरेको देखिन्छ । 

 

ट्रम्प राष्ट्रप्रति कति गैरजिम्मेवार थिए भन्ने कुरा उनले तिरेको करले झल्काउँछ । उनी पेसागत हिसाबले डलरमा अर्बपति व्यापारी हुन् । न्युयोर्क टाइम्सले केही समयअघि छापेको एक विवरणअनुसार उनले बितेका १५ वर्षमा १० वर्ष राज्यलाई तिर्नुपर्ने कुनै प्रकारको कर नै तिरेका रहेनछन् । बितेका पाँच वर्षको अन्तिम दुई वर्षमा जम्मा ७५० डलर मात्र राज्यलाई ट्याक्स तिरेछन् । यी सबका बाबजुद ट्रम्प स्मार्ट हुन् भन्ने मान्नुपर्छ । यत्रो धेरै भोटले पछारिएर अल्पमतमा परेपछि पनि हार स्विकार्न पटक्कै मानिरहेका छैनन् । ह्वाइट हाउस बसुन्जेल अझ बढी राज्यलाई दोहन गर्न छोड्लान् जस्तो देखिएको छैन । राष्ट्रपति इलेक्टमाथि मुद्दा हालिरहेका छन् । उनी कति ज्याद्रा देखिए भने उनीमाथि महाभियोग लगाइयो, उनले हाँसीहाँसी फेस गरे । उनलाई २६ वटा त सेक्सुयल मिसकन्डक्ट गरेका आरोप लागेका छन् । झन्डै ४ हजारजति उनीविरुद्ध अदालतमा मुद्दा विचाराधीन छन् ।

 

हालसम्म कोरोनाबाट लगभग दुई करोड अमेरिकीहरू प्रभावित भएका छन् । २ लाख ४० हजार अमेरिकीले कोरोना संक्रमित भएर मृत्युवरण गरिसके । संसारमा सबैभन्दा कोरोना मृत्युदर प्रतिदश लाखमा अमेरिका नै पहिलो हो । अमेरिकामा प्रति १० लाख संक्रमितमा ७२७ मरे भने अस्ट्रेलियामा प्रतिदश लाखमा ३५ जना मात्र हताहत भए । ट्रम्पले चुनाव हार्नुको मूल कारण कोरोना ठम्याइएको छ ।

 

००० 

 

ट्रम्पले चुनाव हारे । संसार यही सत्य मानिरहेछ । तर, उनी टसका मस देखिन्नन् । यसपटक १६ करोड अमेरिकीले चुनावमा भाग लिएका थिए । जो कुल मतदाताको ६७ प्रतिशत हुन आउँछ । जो १६७ वर्षकै उच्चतम भोट खसाल्ने दर मानिन्छ । उल्लिखित सारा खराबी झुटो बोल्ने, ठगी गर्ने, जातिवादी, रुढीवादग्रस्त, पुरुष अहंकारवादी, कर–छलुवा भन्ने आरोप लाग्दालाग्दै पनि उनले गएको मतदानमा ७ करोड १० लाख अमेरिकी मत प्राप्त गरे । जब कि जितुवा उमेदवार जो वाइडेनले ७ करोड ४० लाख मात्र लोकप्रिय मत हासिल गरे । वास्तवमा काला, हिस्पानिक तथा एसियाली मूलका अमेरिकीहरूले जागरुक भएर मतदाता नामावलीमा नाम नलेखाएका भए, आफ्नो मताधिकारबारे पहिलाजस्तै चुपचाप प्रतिक्रियाविहीन भएको भए, डेमोक्र्याटिक पार्टीका वामपन्थीहरूले अथक प्रयत्न गरेर तिनलाई नझकझक्याएको भए र तिनले वाइडेनको पक्षमा प्रचारप्रसार नगरेको भए र अन्तमा ट्रम्प स्वयंले कोरोना भाइरसले पार्ने क्षतिबारे त्यति धेरै अवैज्ञानिक वा मुढ बुद्धि प्रस्तुत नगरेको भए ट्रम्पलाई हराउन गाह्रै हुने रहेछ । 

 

ख्यातिप्राप्त लेखक तथा वातावरणविद् नेओमी क्लान भन्छिन्, ‘डमोक्रेटिक पार्टीले जो वाइडेनलाई उमेदवार बनायो, जब कि उनको भन्दा राजनीतिक–वैचारिक तथा कार्यक्रमिक आधार बर्नी सेन्डर्स र एलिजावेथ वारेनको थियो । बर्नी सेन्डर्ससँग सबैका लागि स्वास्थ्य (मेडिकिएर फर अल), रोजगारी र मुलुक विकासका लागि ए ग्रिन न्यु डिलको कार्यक्रमको प्रस्ट खाका थियो । उनीहरू जातीय र वर्गीय मुद्दा हल गरेर सामाजिक न्यायक पक्षमा उभिएका थिए । यद्यपि समाजमा देखिएको खाडल हेरेर वाइडेनलाई टिकट दिइयो र उनलाई जित्नका लागि सबैले सहयोग गरे । उनले जिते र यो महत्वपूर्ण जित हो । यदि डेमोक्रेटिक पार्टी र वाइडेन प्रशासनले ओबामा–वाइडेन–क्लिन्टन प्रशासनकै नीति तथा कार्यक्रमगत निरन्तरता दिने हो र प्रणालीगत परिवर्तनका लागि प्रोग्रेसिभ एजेन्डा अगाडि नबढाउने हो भने सन् १९३३ मा राष्ट्रपति हर्वट हुभरले व्यहोरेको हार ४ वर्षपछि डेमोक्र्याटलाई हात लाग्नेछ (गार्जिएन ८ नोभेम्बर २०२०)।’

 

सिनेटर्स बर्नी सेन्डर्सले डेमोक्रेटिक कन्भेन्सनबाट बाहिरिएपछि आफ्ना सहयोगी तथा प्रगतिशील प्रतिनिधि साथीहरूलाई राखेर वाइडेनको पक्षमा सम्झाएका थिए । उनले त्यस क्रममा भनेका थिए, ‘यसपटक डोेनाल्ड ट्रम्पलाई हराउनै पर्छ र वाइडेनलाई जिताउनै पर्छ । चुनावपछि वाइडेन प्रशासनलाई फ्रयांकलिन डि रुजवेल्टजस्तै प्रगतिशील पथमा हिँड्न कर गर्नैपर्छ ।’ यी प्रतिनिधिहरूसँग वाइडेनले ग्रिन न्यु डिललाई समर्थन गरेर अगाडि बढाउने, क्लाइमेट चेन्ज प्यानेललाई निष्कर्षमा पुर्‍याउने, शतप्रतिशत क्लिन इनर्जीलाई अगाडि बढाउने, सन् ५० सम्म कार्वन उत्सर्जनलाई शून्य प्रतिशत एमिसनमा झार्ने सम्झौता गरेको बताइन्छ । तर, डेमोक्रेटिक पार्टी र वाइडेन प्रशासनले प्रोग्रेसिभहरूसँगको सम्झौता चुनावको नतिजासँगै तोडेर ओबामा–क्लिन्टनकै झुट र फर्जीको पुरानो बाटो हिँड्न तम्तयार भएको लक्षण अलेक्सेन्ड्रिया ओकासियो कोर्टेजको एक अन्तर्वार्तामार्फत बुझ्न सकिन्छ (८ नोभेम्बर, २०२० न्युयोर्क टाइम्स) । यो भनेको ‘खोलो तर्‍यो लौरो बिर्स्यो’ भनेजस्तै हो ।

 

ट्रम्प हारे पनि ट्रम्पले अमेरिकी समाजमा पारेको ठूलो सामाजिक खाडल पुरिनसक्नु छ । ट्रम्प हारे पनि ट्रम्पिजम कुनै पनि वेला वाइडेन प्रशासनलाई निल्न आँ गरेर बसिरहेछ । वाइडेन प्रशासनका निम्ति संरचनागत परिवर्तनका लागि प्रगतिशीलहरूसँग सहकार्य गर्नु अनिवार्य जस्तो देखिन्छ । तर, नवउदारवादीहरू प्रगतिशील सुधारको विपक्षमा छन् । तर माथि उल्लेख गरिएझैँ प्रणालीगत संकट वित्तीय ट्रिकले हल हुनेवाला छैन । वाइडेन कसरी अघि बढ्छन् भन्नेले अमेरिकाको महाशक्तिको ताज पुनः परिभाषित हुनेछ ।