• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
डा. रवीन्द्र समीर
२०७७ कार्तिक २९ शनिबार ०९:३०:००
साहित्य

प्रोफेसरलाई कोरोना

२०७७ कार्तिक २९ शनिबार ०९:३०:००
डा. रवीन्द्र समीर

कीर्तिपुरको पश्चिम भेगमा चार आना जग्गामा बनेको एकतले घर । घरको अगाडि मखमली, सयपत्री, गुर्धौलीलगायत फूल फुलेका थिए । घरको दक्षिणतिर धनियाँ, रायो, खुर्सानी र सिमी फलेका थिए । त्यो घरभित्र थिए, सेतै कपाल फुलेका प्रोफेसर शर्मा र उनकी श्रीमती । 

जीवन आफ्नै लयमा चलेको थियो । घरभित्र महत्वाकांक्षाको लहरो थिएन, मनभित्र तृष्णाको क्याक्टस उम्रेको थिएन । त्यसैले उनीहरू खुसी देखिन्थे, सुखी देखिन्थे ।

सलह फैलिएझैँ कोरोना महामारी संसारभर फैलियो । सरकारले लकडाउन गर्‍यो । जुनसुकै समाचार हेरे पनि बीभत्स दृश्य देखिन थाले । जसलाई फोन गरे पनि कोरोनाबाहेक अरू कुरा हुन छोड्यो ।

प्रोफेसर शर्मा दम्पतीले सञ्चार माध्यमले तथा विज्ञले दिएको सल्लाह पालना गरिरहेका थिए । हेर्दाहेर्दै महामारीको मुस्लो कचौराजस्तो काठमाडौंमा फैलियो । संक्रमित तथा मृतकको संख्या दैनिक बढिरहेको थियो । प्रो. शर्माको टोलमा पनि संक्रमित बढ्न थाले । शर्मा दम्पती गेट र ढोका लगाएर घरभित्र बस्न लागेको ६ महिना बित्यो । आफूले चिनेका धेरै व्यक्ति संक्रमित भएको तथा केही व्यक्तिको मृत्युसमेत भएकाले उनीहरू निकै चिन्तित थिए ।

‘दिनमा साढे तेइस घन्टा घरभित्र बसेका छौँ, दूध र तरकारी किन्न म मात्रै पसल जान्छु । डबल मास्क लगाएर, सबैसँग दूरी कायम गरेर, हात पातलो हुने गरी धोएर तथा झ्याल खोलेर बसेका छौँ । घरमा ल्याएको दूध तथा तरकारी एक घन्टा घाममा राख्छौँ अनि साबुनपानीले धोएर प्रयोग गर्छौं, तरकारीलाई पनि खाने सोडा थोरै राखेर धारोमा छल्खल पखाल्छौँ, भेटघाट बन्द गरेका छौँ, ... यति गरे पनि नहुने !’ प्रोफेसर शर्माले एक महिनापहिले भनेका थिए ।
‘हजुरलाई संक्रमण भयो र ?’
उनले भने, ‘यति गरेर पनि ढुक्क नहुने । अहिलेसम्म कोरोना सरेको छैन, पशुपतिनाथको कृपाले ।’
‘अनि किन आत्तिनुभएको त ?’
उनको जवाफ थियो, ‘यति गरे पनि नहुने !’
त्यसको एक हप्तापछि प्रो. शर्माले फोन गरे, ‘हामी बूढाबूढी एकदम निराश भयौँ, डाक्टरबाबु ! टेलिभिजन, पत्रिका, अन्तर्वार्ता, समाचार जे हेरे पनि कोरोनाले ६५ वर्षभन्दा माथिका तथा दीर्घरोगीलाई जोखिम छ भनेर हैरान गरे । म बहत्तर वर्षको भएँ । मैले सुगर, प्रेसर, प्रोस्टेट, कोलेस्टेरोल तथा ग्यास्ट्रिकको औषधि खाइरहेको छु । म्याडम सत्तरी वर्षकी भइन् । उनले सुगर, प्रेसर, थाइराइड, दम र एन्जाइटीको औषधि खाइरहेकी छिन् । कोरोना लाग्यो भने हामीलाई कुनै उपाय छैन ।’ 
मैले भनेँ, ‘सतर्क भएपछि कोरोना लाग्दैन । हजुरहरूलाई कोरोना संक्रमण भए पनि खतरा छैन । औषधिले दीर्घरोग कन्ट्रोल गरेको छ । आत्मबल र रोगप्रतिरोधात्मक क्षमताले हो, कोरोना संक्रमणलाई जित्ने । खानपिन, व्यायाम र निद्रामा ख्याल गर्नुहोला । ८०–९० वर्षका दीर्घरोगीले पनि कोरोनालाई जितेका छन् ।’
उनले भने, ‘यति गरे पनि नहुने !’
प्रोफेसर शर्माले समय–समयमा फोन गर्थे ।
‘हजुरका छोराछोरी यतै हुनुहुन्छ ?’
उनले गर्विलो स्वरमा भने, ‘छोराको परिवार अमेरिकामा छ, छोरीको परिवार अस्ट्रेलियामा छ । दुवैले त्यहीँ घर किनेका छन् । राम्रो जागिर छ । म्याडमले भनेको सुनियो, ‘छोराछोरी हुनु र नहुनुमा के फरक भयो र ? बुढेसकालमा एक्लै बस्नुपरेको छ । बिरामी परे ‘गेट वेल सुन’ भन्नेले मरेपछि रिप त लेख्ने होलान् नि ! यस्तो महामारीका वेला एक्लै बस्नुपरेको छ ।
प्रोफेसर शर्मासँग कुरा नभएको धेरै दिन भएको थियो । उनले म्यासेन्जरमा दुईवटा रिपोर्ट पठाए । रिपोर्ट हेर्दा दुवैजनाको पिसिआर पोजेटिभ थियो । सिटी भ्यालु हेर्दा भाइरसको लोड निकै बढी देखिन्थ्यो । मैले तत्कालै फोन गरेँ । सर र म्याडम दुवै एकदम निराश थिए । स्वर निकै दुर्बल थियो । 
मैले सोधेँ । ‘कस्तो छ हजुरहरूलाई ?’
‘कस्तो हुनु डाक्टरबाबु, अब माथि जाने पक्का भयो । ज्वरो लाग्–छोड् छ, फुको खोकी छ, खान पटक्कै मन छैन, शरीर पिलोजस्तै दुखेको छ, ...हँ हँ । बुढीलाई पनि यस्तै छ । तातोपानी खुवाउनेसम्म कोही छैन ।’ ‘हजुरहरूलाई गाह्रो छ भने म सामुदायिक आइसोलेसन केन्द्रमा बस्ने र खाने व्यवस्था गर्छु । हुँदैन हजुर ?’
‘घर कसले कुर्छ ? भैगो डाक्टरबाबु, सकी–नसकी यहीँ बस्छौँ !’ ज्वरो आएमा वा टाउको दुखेमा वा शरीर दुखेमा पारासिटामोल खानुहोला, खोकीका लागि कफ सिरप र एलर्जीको ट्याब्लेट खानुहोला, भिटामिन सी, डी, जिंक र तुलसी चिया खानुहोला, तापक्रम र अक्सिजन नापिरहनुहोला, अक्सिजन ९२ बाट घट्यो भने तुरुन्त अस्पताल जानुहोला, कोरोनालाई जित्ने पोषिलो खाना र उच्च मनोबलले हो भनेर मैले विस्तृत रूपमा परामर्श दिएँ ।
प्रो. शर्माले भने, ‘यति गरे पनि नहुने !’
प्रोफेसर शर्मा एकदम सतर्कता अपनाउँथे । कसरी कोरोना सर्‍यो होला भनेर मैले बुझ्ने प्रयास गरेँ । दूध किन्ने ठाउँमा चिया पसल रहेछ । पसलेले सधैँ आहा ! सर त क्या भाग्यमानी ? सबै छोराछोरी विदेश भन्दो रहेछ । सरलाई छोराछोरी विदेश भएको निकै गर्व थियो । छोराछोरीको कुरा गर्ने क्रममा उनले दुई दिन चिया पिएका रहेछन् । तेस्रो दिन चिया पसल बन्द थियो । बुझ्दा उसलाई कोरोना लागेको रहेछ । त्यसको पाँच दिनपछि पिसिआर टेस्ट गर्दा सर र म्याडम दुवैलाई पोजेटिभ देखियो । यो घटना भन्ने वेला म्याडमले भनेकी थिइन्, ‘हामीलाई तिज आएभन्दा बढी हुन्छ, उहाँलाई छोराछोरी विदेशमा छन् भन्दा ।’
प्रोफेसर शर्मा दम्पतीलाई संक्रमण भएको थाहा पाएपछि धेरैले फोन गरे । घरबाहिर गुर्जोका लहरा, निमका पात, सुकाएको तुलसी, तितेपाती, तेजपात, दालचिनी, अम्बाका पात, शिलाजित, नाम नखुलेका धुलोका प्याकेटलगायत धेरै सामान राखिदिए ।
कसैले करेलाको रस पियो भने कोरोना च्वाट्ट हुन्छ भने । कसैले लौकाको रस अमृत हो भने । कसैले गोमुत्र ल्याएर ढोकामा राखिदिए । कसैले एन्टिबायोटिक खान सुझाए । कसैले जुकाको औषधि खाने सल्लाह दिए । दूध, दही, घिउ, माछामासु, अन्डा नखानू है ! भनेर गाउँबाट निःशुल्क सल्लाह आयो एकजनाको । एकजनाले बेसार अमृत हो भन्यो, अर्कोले बेसार विष हो भन्यो । कमजोरीका वेला सुगर र प्रेसरका औषधि खानु हुँदैन भनेर फलफूल पसलेले भन्यो । 
उनका चिकित्सक मित्रले जलनेती, योग, ध्यान तथा सूर्य नमस्कार गर्न र सादा खान खान भने । अर्का मित्रले ६० सेकेन्ड सास रोक्ने सल्लाह दिए । ज्योतिष मित्रले महा मृत्युञ्जय मन्त्र जप्न सल्लाह दिए । 

ॐ त्रियम्बकं यजामहे, सुगन्धिं पुष्टिवर्धनं
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय मामृतात् ।

परिचित फार्मेसीको मान्छेले नानाथरी भिटामिन खान भन्यो । कोरोना संक्रमण जितेका उनका साथीले च्यवनप्रास र जेष्ठबासादी चूर्ण खान भने । पानीको बाफ लिने सल्लाह दिए । अदुवा, बेसार, मरिच, ज्वानो र कागती पानी बारबार खानुपर्छ भन्ने सल्लाह दिए ।
तरकारी पसलको साहुले एजिथ्रोमाइसिन र रेमडेसेभिर खाने सल्लाह दियो ।
घरमा दूध ल्याइदिने डेरीको मान्छेले साइनेक्स र ब्रुसेट खानुहोला भन्यो ।
सहकर्मी प्रो. श्रेष्ठले अस्पताल प्याक छन्, त्यसैले घरमै सन्चो हुनुहोला भने । एउटा अक्सिजनको सिलिन्डर किनेर राख्ने सल्लाह पनि दिए । सयथरी सल्लाहमा यसले काम गर्छ कि त्यसले भनेर उपदेशको बाढीमा पौडी खेल्दाखेल्दै शर्मा दम्पती निकै गले ।
यो थाहा पाएपछि मैले ती सबै कुरा बन्द गर्न सल्लाह दिएँ । असम्बन्धित व्यक्तिको सल्लाह नसुन्न आग्रह गरेँ । दिनमा ४–५ पटक पोषिलो खाना खाने, घाममा बस्ने, व्यायाम गर्ने, योग गर्ने, ध्यान गर्ने, राति छिटो सुत्नेलगायत सल्लाह दिएँ ।
तीन दिनपछि फोन गरेर प्रोफेसर शर्माले भने, ‘सबै आफन्त डाक्टर हुँदा बिजोग भएको थियो । ती सबै छाडेर डाक्टरबाबुको सल्लाहअनुसार गर्दा हाम्रो अनुहार फेरियो, बल आयो ।
उनीहरूले आफ्ना पुराना रोगका औषधि नियमित रूपमा खाए । कुन वेला सास फेर्न गाह्रो हुन्छ र अस्पताल जानुपर्ने हो भनेर अप्ठ्यारो अवस्था कुरेर बसे । तापक्रम, अक्सिजनको मात्रा सबै नर्मल थियो । राति सर ब्युँझे पनि म्याडम ब्युँझे पनि एकअर्काको निधार छामे । अक्सिजन नापे । दिनको चारपटक मलाई फोन गर्दै गए ।
प्रोफेसर शर्माको निवासमा हल्लाको हुरी फोनमार्फत चल्यो । त्यो हुरी शीतल थिएन, नुनचुक र खुर्सानीजस्तो थियो ।
‘एकदम ख्याल गर्नुहोला है, अक्सिजनको मात्रा स्वाट्टै घटेर सुतेकोसुत्यै भइन्छ ।’
‘कोरोनाले फोक्सो ड्यामेज गर्छ, किड्नी ड्यामेज गर्छ ।’
‘साइलेन्ट निमोनियाले एकैपटक भेन्टिलेटरमा पुर्‍याउँछ ।’
‘ख्याल गर्नुहोला, फ्याक्चर र प्रिग्नेन्सीबाहेक जुनसुकै लक्षण पनि कोभिडको हुन सक्छ ।’
‘आज २५ जना मरे नि ! हजुरको जस्तै रोग भएका धेरै मरे !’
‘चेक नगरेर हो, नेपालमा २० लाखलाई कोरोना छ, चार हजार त मरिसके, कुरा गर्नुहुन्छ ?’
‘कोरोनाले भित्रभित्रै ध्वस्त गर्दो रहेछ, वुहानमा निको भएका ९० प्रतिशतको फोक्सो ड्यामेज छ रे !’
‘प्रोफेसरजस्तो मान्छेले मास्क नलगाई लखरलखर किन हिँडेको ? किन भिडभाडमा गएको ? हजुरको त यो ताल छ भने अरू मान्छेलाई के भन्नु ?’ एकजना पत्रकार मित्र यसरी रन्किए ।
मुटु कमाउने फोन आइरहेका थिए । फोन आयो कि प्रो. शर्माको हात लुगलुग काम्न थाल्यो ।
प्रो. शर्माले भने, ‘हेर म्याडम, तिमीलाई ठीक हुन्छ । म मरेपछि पिर नगर्नू, यहाँ–यहाँ यति पैसा छ, लेनदेन यस्तो छ, मेरो रहर यस्तो छ, ...सबै अस्पताल भरिएका छन् रे ! व्यापारिक अस्पतालले २५–३० लाख सकाइदिएपछि शवलाई प्लास्टिकमा प्याक गरेर गाड्छन् रे ! यसो भयो भने तिमीले छुन पनि पाउनेछैनौ । गाडेपछि जीवनभर खान नपाएको सलामी किन खानू ? यसै पनि आइसियू पाउन महाभारत छ । घरमै मर्न दिनू अनि आर्यघाट लैजानू ।’
म्याडमले आँसु पुछ्दै भनिन्, ‘तपाईंलाई केही हुँदैन । म मरेँ भने हजुर कसरी बस्नुहोला ? के खानुहोला ? कोसँग कुरा गर्नुहोला ? मलाई मेरो भन्दा हजुरको पिर छ । हजुरले घरको काम त्यति दोहोर्नुहुन्न । एकैदिन एकैपटक मर्न पाए जाति हुन्थ्यो । इच्छामरणको कानुन किन नबनेको होला ?’
शर्मा दम्पती असाध्यै निराश भएको मलाई अनुभूत भयो । मैले प्रो. शर्मालाई सोधेँ, ‘छोराछोरीलाई बोलाउनुहोस् । उनीहरू आएपछि धेरै सजिलो हुन्छ ।’ प्रो. शर्माले भने, ‘उनीहरूले पिर मान्छन् भनेर हामीलाई कोरोना लागेको कुरा भनेका छैनौँ । मौसमी रुघाखोकी लागेको हो भनेका छौँ ।
प्रोफेसर शर्मा समाचारका सौखिन थिए । ‘दूरदर्शन’, ‘रेडियो नेपाल’, ‘बिबिसी नेपाली सेवा’ हुँदै टेलिभिजनसम्म समाचारका खुड्किला पार गरेका थिए । जुन वेला टेलिभिजन खोल्यो, मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक तथा दीर्घरोगी छन् भन्ने समाचार कानमा ठोकिन्थ्यो अनि दिक्क भएर टेलिभिजन बन्द गर्थे ।
एक साँझ उनीहरूले एकदम नमिठो समाचार सुने । उनका आफन्ती २९ वर्षे युवक कोभिडका कारण २२ दिनदेखि आइसियूमा थिए । उनको निधन भएछ । गत साल मात्र उनको बिहे भएको थियो । त्यो रात उनीहरूलाई एकपलक निद्रा लागेन । राति १ बजे प्रो. शर्माले भने, ‘कस्तो नराम्रो मरण हुने भयो ? जीवनभर कमाएको मलामी मात्र हो । तिनै मलामी पनि घाट जान पाउने भएनन् ।’
‘डाक्टरबाबुको आड–भरोसा मानेकी छु मैले । उनले केही हुँदैन, औषधि नखाने को छ र ? भनेका छन् । गाह्रो परे म छु भनेका छन् ।’
‘त्यसो त म पनि उनका शब्दले बाँचेको छु । आवश्यक परे उपचारको व्यवस्था म गर्छु भनेका छन् । सामान्य चिनजानका भए पनि हाम्रो मनका दियो हुन् उनी ।’ त्यसपछि सुतेका उनीहरू एकैपटक बिहान ७ बजे ब्युँझिए ।
यसो गर्दागर्दै दुई हप्ता बित्यो । मैले उनीहरूलाई पिसिआर टेस्ट गर्न भनेँ । 
‘खै, किन टेस्ट गर्नु र ? आउने पोजेटिभ नै हो । तनाव थपौँ र ?’ मैले भनेँ, ‘हजुरहरू धेरै आत्तिएर हो । सुरुका दिनबाहेक खासै लक्षण देखिएका छैनन् । पक्का नेगेटिभ आउँछ ।’ प्रो. शर्माले भने, ‘यति गरे पनि नहुने !’ भोलिपल्ट प्रो. शर्माले फोन गरे, ‘डाक्टरबाबु ! हामी दुबैको पिसिआर नेगेटिभ आयो । हामी धेरै खुसी भयौँ । नयाँ जीवन पायौँ । हाम्रो जोस, बल र स्फूर्ती फर्कियो । तपाईंलाई धेरै–धेरै धन्यवाद ! तपाईंको गुन हामीले कहिल्यै बिर्सिनेछैनौँ । अब छोराछोरीलाई पनि कोरोना जित्यौँ भनेर फोन गर्छौं ।’ प्रो. शर्माको बोली पूर्ववत् दमदार एवं उज्यालो थियो ।
प्रो. शर्माले टेलिभिजन खोले । समाचार, विज्ञापन तथा अन्तर्वार्तामा उही कुरा थियो– कोरोनाले ज्येष्ठ नागरिक र दीर्घरोगीको मृत्यु हुन सक्छ ।