• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कुन्साङ
२०७७ मङ्सिर ६ शनिबार १०:२३:००
साहित्य

हिँउमा पुरिएको जौकलाको सुइना

मनबहादुरले बनाइदिएको नागरिकताले चिसो चुलो सल्काई अनि नागरिकता सल्किएको हेरिरही

२०७७ मङ्सिर ६ शनिबार १०:२३:००
कुन्साङ

उसको पेट पुक्क देखिन थालिसकेको थियो । बढ्दै गरेको पेटतिर हेरेर गाउँलेहरू भन्थे, ‘आ...पार (खत्तम) लाटीले कसको पेट बोकी होला ।’ हिमाल छेउको नौलो गाउँका मानिसहरू उसलाई लाटी भनेर बोलाउँथे । उसको खास नाम जौकला थियोे । जौ पाक्ने वेला जन्मिएकी हुनाले उसको नाम जिया (आमा) ले जौकला राखिदिई । तर, उसलाई जौकला भनेर कसैले बोलाएन ।

 

सुरुमा उसको नाम दाइसँग जोडेर मानिसहरूले उज्जल लाटी भने । भाइ हर्क जन्मिएपछि ऊ हर्केलाटी भई । दाजुभाइको छायामा उसको नाउँ हरायो । दाजुभाइसँग छुटेर एक्लै गोठमा बस्न थालेपछि उसको नाम लाटी मात्रै भयो । समाजमा कसैले उसलाई जौकला भनेर बोलाएनन्, चिनेनन् पनि । बोल्न र सुन्न सक्ने भएर पनि ऊ लाटी भई, किनकि समाजले मान्दै आएकोजति ऊ राम्री थिइन । त्यसैले ऊ लाटी भई ।

 


दाजुभाइसँग छुट्टिँदा उसले पाएको खेतमा फलेको पन्ध्र पाथी धान फापर, चिनुसँग साटेर खान्थी । उसलाई स्वादसँग मतलब थिएन, मात्र भोको पेट भर्नु थियो । धेरैभन्दा धेरै छकालबाहाहरू काट्नु थियो । पन्ध्र पाथी धान बढीमा एक महिनालाई खान पुग्थ्यो । त्यही धान फापर, चिनुसँग साट्दा केही महिनाका लागि सजिलै छकालबाहा कट्थ्यो ।

 


फूल फुल्ने मौसम थियो । चारैतिर फुलेका थिए, टुसिपाँलेप म्हेन्दोक (फूल) । पुक् स्याउँ (गुच्ची च्याउ) टिप्न आएकी जौकला टुसिपाँलेप म्हेन्दोकको बीचमा बसेर सुल्पाको धुवाँ उडाउँदै गरेको बिर्खेले देख्यो । दाउराको भारी बिसाएर बिर्खे जौकलाको नजिकै गएर भन्यो, ‘सुल्पा दिन्या हौ क्या ?’ एउटै गाउँको भए पनि उनीहरूबीच दोहोरो कुराकानी कहिल्यै भएको थिएन । तर, त्यस दिन सुल्पा तान्दै निक्कै बेर कुरा गरेर उनीहरू बसिरहे । जौकलाले इसाराले बोलिरही । त्यसपछिका दिनमा उनीहरूबीच भेटघाट, कुराकानीको सिलसिला बढ्दै गयो । घाँस दाउरा पनि सँगसँगै जान्थे । जंगलमा सुकेका पातहरूमाथि पल्टेर मिठा सुइना (सपना) हरू देख्थे । दुवैको उमेर ३५ काटिसक्या थियो ।

 

बच्चा जन्मिनेबित्तिकै जौकला बेहोस भई । होसमा आउँदा हिउँले धर्ती सेताम्मे बनाइसकेको थियो । भर्खरै धर्तीमा पाइला टेकेको बच्चा चिसोले निलो भइसकेको थियो । निलो भएको बच्चाको शरीरमाथि सेतो हिउँ ठीक कात्रोजस्तै देखिन्थ्यो ।

 


छोरीको बिहे गराउने बा र जियाको ठूलो सुइना थियो । तर, उसको बिहे नहुँदै बा र जिया बिते । दाजुभाइका मौ (परिवार)ले हेला गर्न थालेपछि पन्ध्र पाथी धान फल्ने खेत लिएर जौकला छुट्टिएर एक्लै बस्न थाली । बाँकी छकालबाहाको छाक अरू काम गरेको ज्यालाले टार्थी । बिर्खेसँग बिहे गर्ने सल्लाह भएको दिन जौकलाले जियालाई खुब सम्झेकी थिई ।

 


बिहे गर्ने सल्लाह त भयो, तर बिर्खेको घरमा थप एकजना मान्ठ सुत्ने ठाउँ नै थिएन । उसको घर निकै स्यानो थियो । एउटा स्यानो कोठाको बीचमा तीनतिरबाट तीनवटा ढुंगाको  टाउकोहरू जोडेर चुलो बनाएको थियो । टाउको एकआपसमा निहुराएर बसेका आदिम ढुंगाहरूलाई हेर्दा लाग्थ्यो, यी तीनजना कुनै गोप्य कुरा गरिरहेका मान्ठ हुन् ।

 

घरमा भएको लुगाफाटोहरू भित्तामा कोचेको लौरोमा तुर्लुङ झुन्डिएको हुन्थ्यो । चुलोको बायाँतिर बुढी जिया सुत्थी, दायाँतिर बिर्खे खुट्टा खुम्च्याएर सुत्थ्यो । त्योभन्दा बढी मान्ठ अटाउने ठाउँ नै थिएन । घरमा पकाउनका लागि केही नहुँदा सिस्नुको फाँडो मात्र खाएर बस्थे उनीहरू । त्यो गाउँमा उनीहरू मात्रै होइन, जम्मै मान्ठ कुपोषण लागेकाजस्ता देखिन्थे ।

 

 

खान, लाउन पुग्ने चार–पाँच घर मात्र थिए । त्यहाँका अधिकांश मान्ठ अरू गाउँमा काम गरेर पेट भर्थे । बैकिनीहरू गोडमेल गर्ने, नल ओसार्ने, हिउँदमा ओखर फुटाउने आदि काम गर्थे । लोग्नेहरू हलो जोत्ने, ढुंगा ओेसार्ने, दाउरा टिप्ने काम गर्थे । एक–दुईजना फुरु निकाल्न, जडीबुटी खन्न, ताख्लाकोटतिर काम गर्न पनि जान्थे । बिर्खे पनि नजिकैको गाउँमा हलो जोत्ने, दाउरा, घाँस काट्ने, ग्वाला जाने, ढुंगामाटो ओसार्ने काम गरेर बुढी जिया र आफ्नो पेट भथ्र्यो ।

 


एकदिन बिर्खेले भन्यो, ‘ताख्लाकोटतिर काम गरेर पैसा कमाउँछु । एउटा स्यानो घर बनाएर ब्या गरौँला ।’ सुइनाहरूको भारी बोकेर पैसा कमाउन ताख्लाकोट गएको बिर्खे त्यसपछि कहिल्यै फर्केर आएन । बिर्खेसँगै हरायोे, जौकलाले देखेका मिठा सुइनाहरू पनि । बिर्खे ताख्लाकोट जाँदा जौकला तीनमहिनाकी गर्भवती थिई । उसको पेट पुक्क देखिन थालिसक्या थियो । बढ्दै गरेको पेटतिर हेरेर गाउँलेहरू भन्थे,’ आ....पार (खत्तम) लाटीले कसको पो पेट बोक्या होला ।’

 


जति–जति पेट ठूलो हुँदै जान्थ्यो । उनको सुइना पनि उति–उति बढ्दै जान्थ्यो । कहिले बच्चा खेलाएको सुइना, कहिले औँला समाएर हिँड्न सिकाएको । कहिले काखमा बच्चा उफ्रिरहेको । स्तनपान गराउँदा काउकुती लागेजस्तो हुन्थ्यो अनि ब्युँझिएर एक्लै मुस्कुराउँथी । बिर्खे आइजाला भनेर बाटो हेरिरहन्थी । आखिर उसलाई पनि अरू बैकिनीहरूको जस्तै सामान्य जीवन बिताउन मन थियो । तर, उनको मिठो सुइना र रमाइला दिनहरू छोटा थिए ।

 

समय उसले सोचेकोजस्तो भइदिएन । महिना नपुग्दै बच्चा जन्मियो । बच्चा रोएन, चल्मलाएन । बरु जौकलाचाहिँ खुब रोई, कराई, चिच्याई । जत्ति रोए कराए पनि उसको दुःख, पीडा बुझिदिने, सुनिदिने कोही भएन । न उसको सुखमा साथ दिने कोही थियो, न दुखमा नै । जौकला मरिसकेको सानो भाउ (बच्चा)लाई काखमा राखेर दिनभरि टोलाएर बसिरही । 

 


०००
कात्तिकको महिना थियो । हरिया गराहरू नांगा हुँदै थिए । तर, झर्दै गरेका भोजपत्रका पहेँला पातहरूले पूरै हिमालको स्वरूप फेरिदिएको थियो । परबाट हेर्दा लाग्थ्यो–हिमालमा सधैँ घाम लागिरहेको छ । मान्ठहरू हिउँदका लागि दाउरा, स्याउलाको जोहो गर्दै थिए । पूरै जंगल सुकेका पातहरूको सर्सराहटले गुञ्जायमान थियो ।

 


त्यस दिन पल्लो गाउँमा दुई दिन नल ओसारेको ज्याला दश पाथी फापर बोकेर जौकला गाउँ फर्किँदै थिई । गाउँ पुग्नुपहिले बाटोमै घट्ट पर्छ । त्यहाँ जाँदा घट्टमालिकले घट्टको देलो (ढोका) लगाएर जौकलालाई बलात्कार गर्‍यो । जौकलाले प्रतिकार गरी, फुत्किने कोसिस गरिरही । तर सकिन ।त्यस दिनपछि पनि घट्टमालिक दुई–तीनपटक उसको पछिपछि गएको थियो, कहिले स्याउला लिन जाँदा, कहिले दाउरा लिन जाँदा ।

 


केही समयपछि एक दिन धारामा घट्टमालिकसँग भेट भएको थियो जौकलाको । उठेको पेटतिर हेरेर घट्टमालिकले भन्यो, ‘तोइले छोरो पाइस् भने तोसित ब्या गन्र्या हुँ ।’ घट्टमालिकको घरमा छोराको आसैआसमा पाँच छोरी थिए । जौकला रातदिन नाम सुनेजति देवीदेउताहरूसँग छोरा होइजाओस् भनी प्रार्थना गर्थी । फेरि अरू बैकिनीजस्तै हुने सुइना देख्न थाली–आफ्नै घर, लोग्ने र बच्चाबच्ची... ।

 

ठूलो पेट बोकेर जौकला सकी–नसकी नजिककोे गाउँमा काम गर्न गइरही ।असारको महिना । नांगा गराहरू फेरि हराभरा हुँदै थिए । पात झरेका रुखहरूमा नौलो पालुवा पलाउँदै थिए । त्यही वेला जौकलाले छोरी जन्माई । कुनै देवीदेउताले उसको प्रार्थना सुनेनन् । ब्या गर्ने सुइना फेरि एकपटक तुहियो । तैपनि दुःखसुख गरेर छोरीलाई हुर्काउने विचार गरी । बुढ्यौलीको सहारा, कुरा गर्ने साथी । बच्चा त जन्मियो तर के खुवाउने ! बच्चा भोकले रुन थाल्यो । खाली पेट दूध आउने कुरा भएन । खाना पकाउनलाई घरमा केही पनि थिएन । धेरै दिन भएको थियो, काममा नगएको पनि । भोकले रुँदा–रुँदै बच्चाको अनुहार निलो देखिन थाल्यो ।

 

अब जौकलालाई अम्तै लोग्नेमान्ठहरू मौका ढुकेर बसेको जस्तो लाग्न थाल्यो । फेरि उही घटना दोहोरिने डरले सताउन थाल्यो । सुइनाहरूले बिझाउन थाल्यो । अन्ततः एउटा अनिँदो रात जौकलाले उपाय निकाली ।

 

सुरुसुरुमा पानी खुवाएपछि एकछिन चुप लाग्थ्यो । हेर्दाहेर्दै बच्चा मर्नै लाग्यो । जौकला निक्कै आत्तिई । घरमा यताउता खोज्दा बेलीबाहा (हिजोबेलुकी)को कोदोको रोटो भेटियो । बासी रोटो चपाएर पानीसँग खुवाई । त्यही कोदोको रोटो घाँटीमा अड्केर रुँदै गरेकी छोरीको आवाज सधैँका लागि बन्द भैगयो । बुढ्यौलीको लौरो बन्नुपहिले उनको लौरो भाँचियो । छोरीसँगै कैयौँ सुइना र रहर पनि भाँचिएर गयो । दाजुभाइलाई उनी हुनु र नहुनुसँग कुनै वास्ता थिएन । तीन दिनपछि मरेको बच्चालाई पुरानो टालोमा पोको पारेर कर्णाली नदीमा फाली । बच्चालाई नदीमा फाल्दा उसको मन खुब रोएको थियो । जौकला फेरि नितान्त एक्ली भई ।

 


०००
पटक–पटकको चोटहरूले उसलाई पत्थर बनाएको थियो । प्रसव वेदनाले भन्दा सुइनाहरूले बढी दुखाएको थियो । गाउँलेहरू जौकलालाई देखेर डराउन थालेका थिए–ठाउँठाउँमा च्यात्तिएको मैलो लुगा, महिनौँदेखि ननुहाएको झिरिङ्ग कपाल । उकुसमुकुस भएका स्तनहरू । छोरा जन्माई कि छोरी भनेर घट्टमालिकसमेत हेर्न आएन ।

 

 

घट्टमालिकको कर्तुत अरूलाई भन्दा उसको कुरा सुनिदिने पनि कसले । घट्टमालिक उसको नजिक कहिल्यै आएन । जौकला निक्कै कमजोर भइसकेकी थिई । अनुहारमा कुनै चमक थिएन । थकित थियो मन र शरीर । एकपटक छुईकुल्लो (छाउगोठ) मा बसेका वेला देलोमा लोग्ने मान्ठको छाया देखा प¥यो । त्यसपछि जौकलाले छुईकुल्लो जान छोडिदिई, आखिर उसको वास सधैँ गोठमै त थियो ।

 


०००
घट्टमालिकले जौकलाको जीवनमाथि खेलबाड गरेको दुई वर्षपछिको एक बिहान अचानक आफ्नो अगाडि मनबहादुर देखा पर्‍यो । झसंग भई, जौकला । नौलो गाउँका खाना लाउन पुग्ने, ठुलाठालुमध्येका एक थिए– मनबहादुर । हातको घडी मिलाउँदै मनबहादुरले भन्यो, ‘आई लाटी हिब्री (माथि) स्कुलमा नागरि (नागरिकता) बनाउने मान्ठ आया छन् ।

 

नागरि बनाएपछि एक्लै बस्न्या बैकिनीकन भत्ता रुपियाँ दिन्या भन्दो छ । नुन, तेल, साबुन किन्न हुने हो, नागरि बना हिँड् ।’ देलो तानेर जौकला मनबहादुरसँगै नागरि बनाउने ठाउँमा पुगी । निकै पर्खिएपछि उसको पालो आयो । फोटो खिचिसकेपछि नागरि बनाउने मान्ठले भन्यो, ‘नाम भन्नुस् ।’ जौकला चुपचाप बसिरही । यहाँ बसेका मान्ठहरू पनि एकअर्कालाई हेर्न थाले ।

 


नागरि बनाउने मान्ठ फेरि बोल्यो, ‘छिटो नाम भन्नुस् ।’ भिडबाट एकजना लोग्नेले भन्यो, ‘उज्जल लाटी, हर्के लाटी जे लेखे पनि होइजान्या हो ।’नाम सोध्ने मान्ठले जौकलातिर हेरेर अलि चर्काे स्वरमा फेरि भन्यो, ‘आफ्नो नामसमेत थाहा छैन ?’ जौकलाले केही सम्झेझैँ गरेर मुस्किलले जिब्रो चलाई, ‘जौ क ला ।’

 

त्यस दिन पहिलोपटक धेरै मान्ठहरूले उसको असली नाउँ थाहा पाएका थिए ।मनबहादुरले गाउँमा धेरै मान्ठहरूलाई नागरि बनाउन बोलाएको थियो । त्यही दिनदेखि मनबहादुर वेलावेलामा जौकलालाई भेट्न आइरहन्थ्यो । नराम्री भए पनि उसको पुष्ट अंगहरू देखेर आफैँलाई रोक्न सकिरहेको थिएन, मनबहादुरले । जौकलाको पुष्ट स्तनहरू सम्झिँदै मनबहादुर लोभिन्थ्यो ।

 

मनबहादुरले जौकलालाई कहिले जुत्ता, कहिले रुमाल किनेर दिन थाल्यो । एकल बैकिनीको भत्ता पाउँछ भनेर नागरि बनाएको थियो । तर, जौकलाले कहिल्यै भत्ता पाइन । उसलाई लाग्यो, वेला भएपछि पाइजाला । मनबहादुरलाई सोध्दा भत्ता आउँछ आउँछ मात्र भन्थ्यो । अरू सोधखोज गर्ने मेसो पाइन । नागरि बनाएपछि ०७० सालको चुनावमा भोट हाल्न गएकी थिई । उनै मनबहादुरले जौकलाको हात समाएर छाप हानेको थियो ।

 


मनबहादुरको साथ जौकलालाई पनि रमाइलो लागिरहेको थियो । तर, रमाइला दिनहरू जौकलाको पेट नदेखिएसम्म मात्र थियो । पेट देखिन थालेपछि मनबहादुर झसंग भए, अनि एकाएक टाढिए । गाउँमा फेरि जौकलाको कुरा काट्न थालियो । एक दिन छिमेकी काकीले सोध्या थिई, ‘आई लाटी फेरि कैको (कसको) भाउ बोकी देई ?’ त्यो दिन उसले मनबहादुरको नाम लिँदा छिमेकी काकी निकै डराएकी थिई ।

 


अलि नजिकै आएर काकीले मसिनो स्वरमा भनी, ‘ती ठुलाठालु मान्ठहरू हुन् । हामी दाल्द (गरिब) को कुरा कोइले सुन्ने होइन । पत्याउने पनि होइन ।’त्यो दिनदेखि उसले कसै अघि केही भनिन । उसो त उसको कुरा सुनिदिने नै को थियो र ? एक–दुईपटक मनबहादुरलाई भेट्ने कोसिस पनि गरी । तर भेटिन । बिस्तारै बढ्दै गरेको पेटसँगै बच्चाप्रतिको माया पनि बढ्दै गएको थियो ।

 

एकाएक फेरि उही पुरानै सुइना देख्न थाली । जसरी वसन्त ऋतुमा नांगा वनजंगल हराभरा हुन्छ, त्यसरी नै बढ्दै गरेकोे पेट उनका लागि वसन्त बनेर आइरहेको थियो । पीडाहरूलाई बिर्सिन थालेकी थिई । वर्षौंपछि उसको ओठ मुस्कुराउन थालेको थियो । यसपटक जसरी पनि बच्चालाई बचाउन चाहन्थी । तर, समय बित्दै जाँदा वेलावेलामा उसलाई डर लाग्थ्यो । निकै आत्तिन्थी पनि । मनमनै भन्थी, ‘फेरि पहिलेको जस्तै भयो भने ?’

 

पहिलाको घटना दोहोरिन नदिन उसले उपाय अपनाई । घाँस बेचेर मैदा र घ्युको जोहो गरी । चार पाथी रातो चामल पनि बचाएर राखी । बच्चाका लागि ओखरको तेल तयार पारी । पुस महिनाको जाडो दिन–प्रतिदिन बढिरहेको थियो । जतिवेला पनि हिउँ पर्न सक्थ्यो । हिउँ परेपछि दाउरा टिप्न जान गाह्रो हुन्थ्यो । बच्चा जन्मिने दिन पनि नजिकिँदै थियो । डर र खुसी एकसाथ बढिरहेको थियो ।

 


आकाशमा हल्का बादल लागेको वेला जौकला छकालै उठेर लगर (फापरको रोटी) खाँदै ज्यौरो (डोरी) बोकेर जाडोका लागि दाउरा जोहो गर्न जंगलतिर लागी । बेलीबाहादेखि नै अलिअलि पेट दुखिरहेको थियो । तर, यत्ति चाँडै व्यथा लाग्ला भन्ने उसले सोचेकी थिइन । भारी बनाउने वेलामा व्यथाले च्याप्यो । छट्पटाउन थाली । एकातिर भोकप्यास, अर्कोतिर चिसिँदै गएको मौसममा शरीरबाट बग्दै गरेको रगत देखेर अब बाँच्दिनँ जस्तो लाग्न थाल्यो जौकलालाई । जंगल सुनसान थियो । हिँड्न सक्ने अवस्था थिएन । घिस्रिँदै नजिकैको खोलामा पुगी ।

 

वेलावेला बेहोस हुन लाग्थी । आन्द्रा बटारिन्थ्यो । खोलाको पानीले उनको पीडा त बगाउन सकेन, तर बेहोस हुनबाट बचाइराख्या थियो । चिसोले खाएर पूरै शरीर निलो हुँदै गएको थियो । दुखाइ झन्–झन् बढिरहेको थियो । हेर्दाहेर्दै पेट नाइटोमुनि पुगिसक्या थियो । सेतो खम्बु (वनआरु )को फूल भुइँमा झरेजस्तै गरी हिउँ अलि–अलि पर्न थाल्या थियो । खाली पेट, चिसोले झन् व्यथा बढायो । जति नै व्यथा लागे पनि त्यो सुनसान जंगल र खोलाको किनारमा उसको चिच्याहट सुन्ने कोही थिएन । उसले भगवान् पुकारी ।

 


‘काँ काँ’ खोला छेवैको सल्लाको रुखमा एउटा काग बस्यो । भुइँमा झरेर एक–दुईपटक पानी पियो । फेरि काँ काँ कराउँदै भुर्र उडेर गयो । छकालैदेखि लागेको व्यथा रात पर्ने वेलामा बल्ल–बल्ल बच्चा जन्मियो । धेरै रगत बगेकाले बच्चा जन्मिनेबित्तिकै जौकला बेहोस भई । होसमा आउँदा हिउँले धर्ती सेताम्मे बनाइसकेको थियो । भर्खरै धर्तीमा पाइला टेकेको बच्चा चिसोले निलो भइसकेको थियो । निलो भएको बच्चाको शरीरमाथि सेतो हिउँ ठीक कात्रो जस्तै देखिन्थ्यो ।

 


जौकलाले बच्चालाई धोतीमा बेरी । छातीमा टाँसेर न्यानो बनाउन खोजी । तर, जति नै न्यानो बनाए पनि निलो भइसकेको ज्यानमा सास फर्केर आएन । बच्चालाई छातीमा च्यापेर निकैबेर रुँदै त्यहीँ बसिरही । तर, बच्चा चल्मलाएन । बच्चा मरिसकेको निष्कर्षमा पुगी अनि हिउँले कमलो बनाएको जमिनमा हिउँ पन्छाउँदै हातले खोस्रिन थाली । उसको हात थरथर कामिरहेको थियो । हिउँमाथि आँसु झरिरहेको थियो । बच्चालाई हिँउमा पुरेर जौकला रित्तै घर फर्की ।

 


त्यस रात जौकलालाई रातभर ङित (निद्रा) लागेन । शरीरको दुखाइले भन्दा बच्चा बचाउन नसकिएको दुखाइले उसलाई धेरै पीडा दियो । जबर्जस्ती आँखा बन्द गरेर भोकै निदाउने कोसिस गरी । तर, उसको विगतले जौकलालाई निदाउनै दिएन । जुन सुइनाले जौकलालाई जिउन सिकाएको थियो, त्यही सुइनाले पटक–पटक धोका दिएको निष्कर्षमा पुग्न थाली । अरू बैकिनीहरूको जस्तै श्रीमान्, छोराछोरी, परिवारजस्ता सुइनाले दुःख र पीडाबाहेक केही नदिएको लाग्न थाल्यो उसलाई । 


०००
आफूसँग जे हुँदैन, त्यही कुरा खोजिरहन्छ मान्ठ । उसले पनि जीवनभर त्यही कुरा खोजिरही । बिहे गरेर अरू बैकिनीजस्तै सामान्य जीवन बिताउने मन गरिरही । तर, जसले पनि उसको पुष्ट अंगहरू देखे । उसको शरीरसँग खेले, शोषण गरे । तर, कसैले उसको चाह बुझेन । उसलाई सुन्न चाहेन । उसका लागि बोलिदिने कोही थिएन । 

 


चिसो समय थियो । थारामा बसेर मनबहादुर धेरै दिनपछि लागेको घाम ताप्दै थिए । त्यही वेला जौकला उसको घरमा गएर गाली गर्न थाली । लौरो बोकेर हान्न पनि तम्सिएकी थिई । गाउँलेहरू रमिता हेरिरहेका थिए । उसो त गाउँलेहरूलाई थाहा भैसक्या थियो, लाटीको पेटमा मनबहादुरकै बच्चा थियो । होइन भने विनाकारण त्यति ठुलाठालु मान्ठको घरमा गएर गाली गर्ने हिम्मत कसैले गर्न सक्दैन थियो । तर, कसैले मनबहादुरविरुद्ध मुख खोल्न सकेन ।

 


निकै दिन बितिसकेको थियो । दिन बित्दै जाँदा जौकलाको मनभित्र द्वन्द्व पनि बढिरहेको थियो । लोग्ने मान्ठहरू देखेर डराउन थालेकी थिई । हरेक लोग्ने मान्ठ बिर्खे, घट्टमालिक र मनबहादुरजस्तै लाग्न थाल्यो उसलाई । उसले आफैँलाई पनि घृणा गर्न थाली । हरेक रात ऐँठन पर्न थालेको थियो । उसको हरेक रात सपनामा बच्चाहरू आउँथे, अनि ऊ चिच्याउँदै उठ्थी । निकै कहालीलाग्दा रातहरू बिताउँदै थिई जौकला । 

 


अब जौकलालाई अम्तै लोग्नेमान्ठहरू मौका ढुकेर बसेको जस्तो लाग्न थाल्यो । फेरि उही घटना दोहोरिने डरले सताउन थाल्यो । सुइनाहरूले बिझाउन थाल्यो । अन्ततः एउटा अनिँदो रात जौकलाले उपाय निकाली । धेरै पहिले कसैले भनेको सुनेकी थिई– शिलाजित धेरै खायो भने छुई रोकिन्छ । उसले एकरात ठूलो ताउलो भरी पानीमा शिलाजित उमाली ।

 

मनबहादुरले बनाइदिएको नागरिकताले चिसो चुलो सल्काई अनि नागरिकता सल्किएको हेरिरही । हेर्दाहेर्दै धुवाँले उसको गोठ भरियो । शिलाजित उम्लिन थाल्यो । अन्तिममा उसले लामो सास फेरी अनि शिलाजित अलि सेलाएपछि घटघट पिइदिई ।

 

 त्यसपछि सधैँका लागि जौकलाको छुई रोकियो ।

 

धेरै भयो, हिजोआज गाउँका मान्ठहरू जौकलाको पेट उठेको कुरा गर्दैनन् ।