बिस्तारै हिँड प्रिय बिस्तारै
ठीक यतिवेला हामी–
यो देशको लिच्छविकालमाथि हिँडिरहेका छौँ
यतै कतै ठोक्किन सक्छ
गणेद्यौ र देवी कुमारीसित
धिमे, मादल र खीँ बजाएर नाच्दै
यहीँ आइपुग्न सक्छ अहिले
बाघमाथि सवार नासाद्यौ !
स्मृतिका घुर्मैला बाटाहरूमा
छरिबसेका यी पत्थरका टुक्राहरू
फगत पत्थर हैनन् प्रिय,
हुन सक्छन् यी– पसिना र प्रेमकथाका धुमिल साक्षी
भोट जानुअघि कुनै अज्ञात सुकुचाले
निचोरेर मुटुलाई
यिनै कठोर पत्थरका टुक्राभित्र
कैद गरी गएको पनि हुन सक्छ
सम्झनाका सँझ्यामा दजुचा बालेर पर्खिबसेकी
बाँला मयजुका आँसुका अन्तिम थोपाले
सिञ्चिएको पनि हुन सक्छ यी पत्थरका टुक्रा
सुस्तरी हिँड प्रिय सुस्तरी !
यिनै साँघुरा गल्लीहरू हुँदै
यो देशको इतिहास हिँड्छ
गाःहिटीको गहिराइमा नुहाएर घाम ताप्दै
सखीहरूसित जिस्किरहेकी पनि हुन सक्छिन्
तलेजु भवानी
समय उल्टो हिँडेको आक्रोशमा
खड्ग बोकेर याः प्याँखको पटांगिनीभित्र
दाँत किट्दै नाचिरहेको पनि हुन सक्छ भीमसेनद्यौ
निचोरेर मुटु, भोट अन्माउनुपरेजस्तै
भृकुटीजस्ता चेलीहरू
सपनाको खाडी तरेर आज
टाढा हुँदै गइरहेको पीडामा
रुन आएका पनि हुन सक्छन् अंशुबर्मा
चण्डेश्वरीको पाउ समाउँदै
तल, भुइँमा हेर भुँइमा,
यही माटोमुनि पुरिएको हुन सक्छ
समयको जेसुम यादहरूले पौडी खेल्ने पुखु
यी चट्टानमा खोपिएका बाङ्गा–टिङ्गा रेखा
फगत शासकको इतिहास हैन
हाम्रै पुर्खाहरूको रगत–पसिनाको छाप पनि हुन सक्छ
ओ प्रिय,
बन्द गर टिकटक
स्लो बनाऊ फुट स्टेप
हो, सुस्तरी हिँड यसरी
तिम्रो पेन्सिल हिलको ठीक मुनि
यो देशको इतिहास च्यापिएको छ