• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
पुरुषोत्तम सुवेदी
२०७७ मङ्सिर ६ शनिबार ०९:०६:००
फिल्म

अल्फ्रेड हिच्ककको सिनेमा–यात्रा

१९७९ मा अमेरिकन फिल्म इन्स्टिच्युटले हिचलाई लाइफटाइम एचिभमेन्ट अवार्ड दियो

२०७७ मङ्सिर ६ शनिबार ०९:०६:००
पुरुषोत्तम सुवेदी

अल्फ्रेड हिच्कक मूक तथा वाचाल, श्यामश्वेत र रंगीन सबै प्रविधिमा काम गरेका र आफ्नो विशिष्ट प्रयोगबाट सबै प्रविधिमा उत्कृष्टता प्रदर्शन गरेर संसारभरका दर्शकबाट प्रशंसित र सर्वोच्च सम्मानबाट विभूषित व्यक्तित्व हुन् । सिनेमामा उनको प्रवेश प्रयोगशीलता, नवीनता र स्पष्ट दृष्टिकोणका कारण चर्चायोग्य रहन पुगेको छ । 

 


सन् १८९९ लन्डनमा जन्मेका शान्त, अन्तर्मुखी र लजालु अल्फ्रेड हिच्कक ६ वर्षको हुँदा घरमा बदमासी र चकचक गरेका कारण उनलाई सुधार्न उनका पिताले एउटा नोट लेखेर नजिकको प्रहरी पोस्टमा पठाए । प्रहरीले नोट हेरेपछि उनलाई हातमा समातेर चौकीको फलामको बार र ठुल्ठूला साँचाहरू रहेको हिरासत कक्षमा थुनियो । हिच्ककलाई आफू कहिल्यै बाहिर निस्कन नपाउने पीडा भइरहेको पाँच मिनेटमै हिरासत कक्षबाट बाहिर निकाली बदमासी गर्नेलाई तह लाउने ठाउँ हो यो भनेर फिर्ता पठाइयो ।

 

हिच्ककले त्यस हिरासतबापत धेरै महत्वपूर्ण कुरा सिके । डरको गहिरो ज्ञान र चेतना प्राप्त गरे । आजीवन मृत्यु, डर र सन्त्रासकै केन्द्रमा बसेर चलचित्रको खेती गरे । उनले रहस्य, रोमान्स, जासुसी, षड्यन्त्र र मृत्युका अत्यन्त गहिरा रहस्यहरूको व्यापक घेरामा कलात्मक फिल्म बनाए । जासुसी, रहस्य, रोमाञ्च र अपराधका फिल्मलाई दोस्रो दर्जाका मानिने फिल्म निर्माणको प्रारम्भिक समयमा आफ्नो विशिष्ट शैली, फोटोग्राफीको शैलीमा नवीनता र संकेतबाट जटिल कुरालाई सरल रूपमा बुझ्ने गरी पेस गर्ने नितान्त नयाँ कौशलको आरम्भ उनले गरे । 

 


मातापिता, एक भाइ र एक बहिनीको सानो परिवारमा जन्मेका हिच्ककका पिता खाद्यान्न पसल गर्थे । उनको असामयिक मृत्युपछि आमाको हेरचाह गर्ने जिम्मेवारी हिच्ककलाई आयो । सानैदेखि एक्लै रहन मन पराउने र छिमेकका बालबालिकाले खेलेको हेर्ने तर आफू खेल्न सामेल नहुने मात्र होइन, घरमा आएका पाहुनालाई पनि कुनामा बसेर हेरिरहने बानी उनको थियो । हिच्ककको अर्को रुचिको विषय थेम्स नदीमा चल्ने जहाज, डुंगा र सहरभित्र चल्ने गाडी हेर्ने र चढ्ने थियो । उनी लन्डनमा चल्ने सबै रेलको लगत राख्ने र जाने–आउने समयसमेत ख्याल गर्थे । 

 


उनको परिवार नाटक हेर्न रुचाउँथ्यो । नाटक हेर्दा उनी कस्तो चरित्रको, कस्तो अभिनय वा सक्रियता दर्शक रुचाउँथे भन्ने जस्ता व्यवहारको राम्रो ख्याल राख्थे । एउटा नाटकमा खलनायक हरियो बत्तीमुनि उभिएको दृश्य हेरेपछि उनी कस्तो प्रकाशले कस्तो चरित्रलाई अझ सुन्दर, करुण, स्वाभाविक वा डरलाग्दो बनाउन सक्छ भन्ने सामान्य प्राविधिक प्रक्रियाको चलाखीबारे पनि जानकार भए । एक रात उनी ब्युँझेर हेर्दा कोही पनि थिएनन् । पितामाता पदयात्रामा गएका थिए, भाइ र बहिनी पनि थिएनन् । उनी एक्लै थिए, डराए । बाबुआमा फर्केर आउँदा भान्सामा उनलाई रुँदै गरेको भेटे ।

 

डर कस्तो हुन्छ भन्ने ज्ञान उनले यस घटनाबाट पाए । सन् १९१० मा हिच्कक सेन्ट इग्नाइटस कलेज भर्ना भए । उनी त्यहाँ पनि एक्लै रहन चाहन्थे । उनका एकजना सहपाठीले उनलाई पेटमा हात बाँधेर भित्तामा उभिरहेको एक्लो व्यक्तिका रूपमा सम्झेका थिए । उनी अरू प्रत्येक गतिविधि त्यसरी नै हेरिरहन्थे । उनलाई स्कुलको कुखुरा खोरबाट अन्डा चोरेर शिक्षकको घरको ढोकामा फाल्न असाध्यै मन पथ्र्यो ।

 

शिक्षकले सोध्दा उनी चरी उडेर, घर नाघेर अन्डा पार्न आएको हुन सक्छ भन्थे । यस कामले उनलाई साथीहरूले कुकी र घरमा फ्रेड भनेको असाध्यै मन पर्दैनथ्यो । अतः उनले आफ्नो नामको छोटकरी रूप हिच बनाए । १४ वर्ष पुगेपछि हिचको रुचि प्रसिद्ध ओल्ड बेल्ले अदालतमा अपराधीहरूको कानुनी कारवाही हेरेर बस्ने भयो । खासगरी, हत्याका केसहरूको मिहिन विवरण सुन्न उनी मन पराउँथे ।

 

नजिकैको स्कटल्यान्ड यार्डको ब्ल्याक म्युजियम हेर्न पनि उनलाई मन पथ्र्यो । त्यस म्युजियममा म्यानमा राखिएका तरबार, छातामा लुकाइएका बन्दुक, फाँसीको फन्दा र अपराधका अन्य प्रमाणहरू पनि राखिएका छन् । १४ वर्षपछि उनलाई इन्जिनियरिङ र जाहाजरानी पढ्न स्कुल अफ इन्जिनियरिङमा भर्ना गरियो । १९१४–१९१५ सम्म इंग्ल्यान्डमा झन्डै चार सय सिनेमा घर बनिसकेका थिए र हिचको रुचि सिनेमा हेर्ने र फिल्मसम्बन्धी नयाँ कुरा सिक्नेमा थियो । हप्तामा झन्डै ८० हजारले बेलायतमा र ५० लाखले अमेरिकामा सिनेमा हेर्थे । हिचलाई सिनेमा हेर्ने नशा लागेको थियो ।

 


पिताको मृत्युपछि हिचले आफू र आमाको लागि सानातिना काम गरेर कमाउनुका साथै युनिभर्सिटी अफ लन्डनमा कला र फोटोग्राफीको कक्षा लिन लागे । फिल्मी पत्रिका हेर्नु, फिल्म बन्ने प्रक्रिया, फोटोग्राफीका अनेक पक्ष, अभिनेताहरूको व्यक्तिगत विवरण र अन्य प्राविधिक विषयमा उनी ध्यान दिएर सुन्थे, पढ्थे । अमेरिकी फिल्ममा पछाडिबाट प्रकाश दिइने (ब्याकलाइटिङ) भएकाले अभिनेता स्पष्ट देखिने र बेलायतमा भने सीधा (फ्ल्याट) दिइने हुँदा उनलाई अमेरिकी फिल्मको प्रविधि बढी मन पथ्र्यो । 

 


उनी २१ वर्षको हुँदा १९२० मा अमेरिकी फिल्म कम्पनी प्यारामाउन्ट पिक्चर्सले ‘फ्यामोस प्लेयर लास्की’ नामको फिल्म स्टुडियो बेलायतमा बनाउने घोषणा ग¥यो । हिचले त्यस कम्पनीको कार्यालयमा गएर आफ्ना केही ड्रइङ देखाए र लगत्तै उनलाई कम्पनीले फिल्मका टाइटल कार्ड डिजाइन गर्ने नोकरी दियो । सो समय फिल्ममा आवाज रेकर्ड हुँदैनथ्यो, सिनेमामा अडियो ट्र्याक हुँदैनथ्यो । सबै फिल्म मूक हुन्थे ।

 

महत्वपूर्ण सूचना वा डाइलग, जसलाई चित्रले मात्र स्पष्ट गर्न सक्दैन, त्यसलाई स्क्रिनमा शब्दमा दिइन्थ्यो, जसलाई टाइटल भनिन्थ्यो । अत्यन्त परिष्कृत र विषयसापेक्ष टाइटल बनाएका कारण उनी टाइटल हेड बनाइए । त्यसपछि उनी सम्पादन विभागमा गए, टाइटलले के भन्नुपर्छ भन्ने निर्णय गर्ने ज्ञान प्राप्त गरे । त्यहाँ नै उनले अमेरिकी लेखकहरूसँग स्क्रिप्ट लेख्ने सीप सिके । डाइरेक्टर बिरामी पर्दा हिच डाइरेक्सनमा सहयोग गर्न सक्ने भए । यसरी फिल्म निर्माणका सबै पक्षको काम गर्दै जाँदा उनले त्यससम्बन्धी ज्ञान पनि प्राप्त गर्दै गए । 

 


सन् १९२३ मा प्यारामाउन्ट लास्कीले बेलायतमा फिल्म नबनाउने घोषणा ग¥यो । उसको स्टुडियो बेलायती कम्पनीलाई भाडामा दिइयो । स्टुडियो भाडामा लिने बेलायती फिल्मनिर्माता माइकल बाल्कनले हिचलाई सहायक निर्देशकको पद दिए । स्क्रिप्ट लेख्ने व्यक्तिको खोजी गर्नुभन्दा हिच आफैँले सो जिम्मेवारी लिए । कलानिर्देशकको काम पनि आफैँले गरे ।

 

सम्पादकको काम गर्न भने उनले पहिले सँगै काम गरेकी अल्मा रिभाइललाई सिफारिस गरे । फिल्म सुटिङ लोकेसन हेर्न उनी र अल्मा जर्मनी गए । जहाजमा इंग्लिस च्यानल पार गर्दा अल्मा बिरामी भइन् । बिरामी अवस्थामै हिचले उनलाई विवाहको प्रस्ताव गरे । प्रस्ताव सुनेर बिरामी अल्माले घुरेर टाउको घुमाइन् र डकारिन् । अरूले हल्का र हास्यास्पद ठाने पनि हिचका लागि यो महानतम दृश्ययुक्त क्षण थियो । डाइलग कमजोर भए पनि सायद राम्ररी प्रस्तुत गरिएको र ज्यादा अभिनय नगरिएको मानवीय शारीरको स्वाभाविक प्रस्तुति ।

 


सन् १९२५ मा हिच स्क्रिप्ट लेखक, सेट निर्माता र सहायक निर्देशकको रूपमा काम गर्दै थिए । लामो अवधि अनेक प्राविधिक, कलात्मक र भित्री काम गर्दै फिल्मी सेटमै सिकेर अन्त्यमा हिच निर्देशक बन्न सक्ने आत्मविश्वासका साथ निर्देशन गर्न तयार भए । १९२५ मा ‘द प्लेजर गार्डेन’ उनको निर्देशनमा बनेको प्रथम मूक चलचित्र थियो । उनी जर्मन फिल्मनिर्माताहरूको शैली–शिल्प र प्रस्तुतिको तरिका मन पराउँथे । जर्मन चलचित्रकारहरूले प्रयोग गर्ने छाया, उज्यालो तथा पेस गर्ने मनोरञ्जनात्मकता तथा कहिलेकाहीँ डरलाग्दा सिनहरूबाट पनि उनी प्रभावित थिए ।

 

१९२६ मा निर्माताहरूले उनको रुचिबमोजिमको कथा भेटे– ‘द लजर’ । त्यतिखेर बहुप्रचलित र रहस्यमय ज्याक द रिपरको सत्य कथाबाट ‘द लजर’ प्रभावित थियो । हिच र पुरानो समयदेखिकी उनकी सम्पादक अल्माले मिलेर ‘द लजर’को समग्र कथामा काम गरे । ‘द लजर’ले बेलायती दर्शकलाई नयाँ किसिमको चलचित्र मात्र प्रस्तुत गरेन, प्रस्तुतिको तरिका र सूचना अत्यन्त सिर्जनात्मक रूपले निर्माण गरेर प्रस्तुत गर्‍यो । यसले यो नितान्त नयाँ प्रयोग र सम्भावनायुक्त काम थियो । घरभाडामा दिइएका व्यक्ति ‘द लजर’को चुपचाप विनाआवाजका गतिविधि प्रस्तुत गर्नु त्यति सजिलो थिएन । तर, हिचले लजरको बेडरुमको भुइँमा सिसाको प्रयोग गरे, जसले गर्दा दर्शकले पात्र हिँडेको र घुमेको खुट्टाको गतिविधि र निजले डाइनिङ रुममा गरेको कार्यसमेत देखे । अतिरिक्त पात्रको रूपमा हिच स्वयंको उपस्थितिले पनि फिल्ममा नयाँ प्रभाव देखियो । 

 


सन् १८८८ मा लन्डन सहरमै आतंक मच्चाएको ‘ज्याक द रिपर काण्ड’मा पाँचजना महिलाको हत्या भएको थियो । त्यसमा ज्याक द रिपरको संलग्नताको शंका र विश्वास गरियो, तर ज्याक द रिपर कहिल्यै भेटिएन । ज्याक द रिपर को हो भन्ने रहस्यमाथि निर्मित ‘द लजर’ फिल्ममा प्रस्तुत दृश्य कथानक र प्रस्तुतिले डर, शंका र रहस्यको व्यापक प्रस्तुति गर्छ । स्कटल्यान्ड यार्डमा हाल पनि ‘ज्याक द रिपर हुँ’ भनेर लेखिएका सयाँै पत्र छन्, तर छानबिनले सबै पत्रमा दाबी गर्ने व्यक्ति नक्कली भएको पत्ता लाग्यो । 

 


‘द लजर’ फिल्मको निर्माण सकेपछि डिस्ट्रिब्युटरहरूलाई बुक गर्न देखाउने क्रममा थिएटर ग्रुपका सिएम वोल्फले चलचित्र डरलाग्दो भएकाले बट्टामा राख्न र त्यसलाई बिर्सन भने । तर, केही चलचित्र समीक्षकहरूले फिल्ममा नयाँ प्रयोग, नयाँ फोटोग्राफी र नयाँ प्रस्तुति भएको कुरामा कन्भिन्स गरे । त्यसपछि उक्त फिल्म लन्डनमा धेरै सिनेमा हलहरूमा लगाइयो । १९२७ मा ‘द लजर’ देखाइँदा लन्डनका सिनेमा हलहरूमा दर्शकको ताँती लाग्यो । फिल्म पूर्ण रूपमा सफल र व्यावसायिक देखियो । दर्शकले फिल्मसँगै निर्देशकप्रति पनि त्यतिकै चाख राखे र अखबारहरूमा व्यापक चर्चा भयो ।

 


हिच आफू डरलाग्दा दृश्य हेर्ने, त्यसबाट मानवीय मनोवृत्तिको विविधताको चित्रण गर्न र मनोवैज्ञानिक पक्षको उद्घाटन गर्न मन पराउँथे । ‘द लजर’ हलमा आउनुभन्दा ठयाक्कै अघि हिच र अल्माले बिहे गरे । बिहेपछि फिल्मले लन्डनको सिनेमा हलमा मच्चाएको तहल्काले बेलायत र अमेरिकी फिल्मनिर्माताहरूमा हिचको खोजी झनै तीव्र बन्यो । त्यसपछि उनी अरू फिल्म बनाउन चाहन्थे । उनको रुचि र कलात्मक चेत आमफिल्मनिर्माता र निर्देशकभन्दा फरक र अनौठो थियो । कहिलेकाहीँ सेटमा अन्य प्राविधिकहरूलाई जिस्क्याउन उनी रमाइलो मान्थे । कहिले घोडालाई मेकअप रुममा बाँधिदिन्थे । कहिले अरू नै उपद्रो मच्चाउँथे । हिच स्वयं पाहुनाहरू बोलाएर खुवाउन, मनोरञ्जन गराउन र तिनीहरू खुसी भएको हेर्न रुचाउँथे ।

 


१९२७ मा प्रथमपटक वार्नर ब्रदर्सले वाचाल फिल्मको निर्माण गरे । हिचले पनि १९२८ मा ब्लाकमेल नामको वाचाल फिल्म बनाए । उक्त फिल्मको एक दृश्यमा एउटा छिमेकीले गत रातको एक हत्याको घटना भन्दा त्यस घरकी ब्रेकफास्ट खाँदै गरेकी केटीले बोल्न खोज्दा पनि छुरीबाहेक अरू शब्द उच्चारण गर्न सकिनन् । पटक–पटक छुरी उच्चारण गरिन् । दर्शक र उक्त केटीको अनुभव एकैजस्तो हुने गरी दृश्य प्रस्तुत गरेका हिचले उक्त केटी नै हत्यारा भएको रहस्य प्रस्तुत गर्न आवाज, दृश्यको विवरण र क्यामेराको एंगल पनि एकैसाथ प्रयोग गरेका छन् । लन्डन र अमेरिकामा पनि यसको प्रदर्शन अत्यन्त सफल रह्यो । 

 


हिचका लागि निर्माता माइकल वाल्कनले १९३४ मा ‘द म्यान हु न्यु टु मच’ जस्तो पटकथा र संवाद उपलब्ध गराए । फिल्ममा जासुस भएको आशंकामा बिदामा रहेका दम्पतीकी छोरीको अपहरण गरिन्छ । यसमा पनि प्रस्तुतिको नयाँ शैली, रहस्य र रोमाञ्चको नवीनता साथसाथै देखाइएको छ । यस फिल्मले पनि लन्डन र अमेरिकी फिल्मी बजारमा तहल्का मच्चायो । हिचले त्यसपछि पनि द ३९ स्टेप, सेक्रेट एजेन्ट, सोवोटाजजस्ता फिल्म प्रस्तुत गरे । उनका प्रत्येक फिल्ममा अब के हुन्छ र वास्तविक खलनायक को हो भन्ने जिज्ञासामा पूरै फिल्ममा दर्शक पनि समाहित हुन्छ । १९३७ मा हिचको नयाँ फिल्म ‘द लेडी भ्यानिसेस’ले पनि राम्रो प्रसिद्धि पायो । 

 


हलिउडका त्यसवेलाका विख्यात फिल्मनिर्माता डेभिड सेल्जनिक हिचलाई भेट्न इच्छुक थिए । १९३८ मा हिच हलिउड गए । १९३९ मा सेल्जनिकका लागि उनले ‘रेबेका’ फिल्म बनाए । १९४१ मा रेबेकाको प्रदर्शनपछि यसले दर्शकमा मात्र होइन, समीक्षक र निर्माताहरूमा समेत ठूलो प्रभाव पार्‍यो । १९४१ को एकेडेमी अवार्डमा हिच बेस्ट डिरेक्टरको रूपमा छनोट गरिए भने उनको फिल्म वर्षको उत्कृष्ट सिनेमाको रूपमा रह्यो । ‘रेबेका’ले ओस्कारसमेत प्राप्त गर्‍यो ।

 

१९४३ मा निर्देशन गरेको उनको फिल्म ‘स्याडो अफ अ डाउट’ उनका उत्कृष्टतम फिल्ममध्येको हो र यो फिल्म उनले १९४२ मा मृत्यु भएकी आफ्नी आमालाई समर्पण गरेका छन् । स्वास्थ्य खराब रहे पनि हिचले ‘लाइफ बोट’ फिल्म बनाए १९४४ मा । उनले बेलायत सरकारका लागि दुई छोटा–छोटा युद्धविरोधी फिल्म बनाए । उक्त फिल्म नाजीविरुद्ध लड्न प्रेरित गर्ने खालको थियो ।

 

१९३९ मा ‘विजार्ड अफ ओज’ र ‘गन विथ द विन्ड’बाट रंगीन फिल्मको निर्माण सुरु हुन्छ । हिचले भने पहिलो रंगीन फिल्म १९४८ मा बनाए । फिल्मको इतिहासमै प्रयुक्त प्रविधिका विशिष्टताका कारण हिचको पहिलो रंगीन फिल्म ‘रोप’मा पूरै दृश्यहरू दश मिनेटका र लामा सटहरूमा खिचिएका छन् । प्रायः फिल्ममा छोटा, ५–१५ सेकेन्डमा सटहरू खिचिन्छन् । हिच आफैँले ‘स्ट्रेन्जर्स अन अ ट्रेन’ र ‘स्याडो अफ अ डाउट’ नामका फिल्म निर्माण गरे । तर, ती दुवै फिल्म पहिलेझैँ हिट भएनन् । 

 

१९४१ मा ‘रेबेका’को प्रदर्शनपछि यसले दर्शकमामात्र होइन, समीक्षक र निर्माताहरूमा समेत ठूलो प्रभाव पार्‍यो । १९४१ को एकेडेमी अवार्डमा हिच बेस्ट डिरेक्टरको रूपमा छनोट गरिए भने उनको फिल्म वर्षको उत्कृष्ट सिनेमाको रूपमा रह्यो । ‘रेबेका’ले ओस्कारसमेत प्राप्त गर्‍यो ।


१९५४ मा गएर हिचले ‘डायल एम फर मर्डर’ र ‘रियर विन्डो’ फिल्म बनाए । ‘रियर विन्डो’मा खुट्टा भाँचिएपछि ह्विलचेयरमा बसेर छिमेकका झ्यालढोकामा चिहाउने एउटा फोटोग्राफरले एक छिमेकीले श्रीमती मारेको विश्वास गर्छ । उसकी केटी साथीले सो घटनाको छानबिनमा सघाउँछिन्, तर हत्यारा स्वयंले तिनीहरूलाई हेरिराखेको पाउँछन् ।

 

प्रत्येक पात्र अत्यन्त तनावबाट गुज्रने यस फिल्ममा अन्तमा हिच भन्छन्, ‘अवश्य नै ऊ झ्यालबाट चिहाउने मान्छे हो, तर के हामीचाहिँ होइनौँ ?’ १९५५ मा हिचको नाममा एउटा म्यागजिन ‘अल्फ्रेड हिच्कक मिस्टेरी म्यागजिन’ निस्कियो । उक्त म्यागजिनका धेरै प्रति बिक्री हुने मात्र होइन, व्यक्ति–व्यक्तिको चाख पनि हिचप्रति बढाउन सफल भयो । १९५५ मा हिचले एउटा टेलिभिजन सो पनि सुरु गरे । त्यसको एउटा अंकमा पत्नीले भेडाको फिलाले हिर्काएर पतिलाई मार्छिन् । तर, जब पुलिसहरू यथार्थ पत्ता लाउन आउँछन्, त्यही हत्यामा प्रयुक्त फिलाको मासु पकाएर खुवाउँछिन् । प्रत्येक अंकमा हिच परिचय प्रस्तुत गर्थे र आरम्भको उनको मन्तव्य सोकै उत्कृष्ट मानिन्थ्यो । १९५५ देखि हिचले अमेरिकी नागरिकता लिए र उतै बस्न थाले । 

 


सन् १९५७ मा भर्टिगो फिल्म बनाउन सुरु गर्नुअघि नै उनको हर्नियाको अप्रेसन गर्नुपर्‍यो र लगत्तै गलब्लाडर पनि हटाउनुपर्ने भयो । अर्को वर्ष अल्मालाई क्यान्सर भयो । तर, उनको क्यान्सरको अप्रेसन सफल भयो । उनले १९५८ मा ‘भर्टिगो’ फिल्म बनाए । उनको १९५९ को फिल्म ‘नर्थ वाई नर्थवेस्ट’ निकै सफल भयो । यो जासुसी फिल्म तीनवटा विधामा एकेडेमी अवार्डका लागि छनोट भयो ।

 

१९६० मा उनको फिल्म ‘साइको’ले हरर फिल्मको निर्माण परम्परा र प्रक्रियामै फरकपन ल्याइदियो । उक्त फिल्मबाट उनले ५० मिलियन डलर कमाए । १९६१ मा उनले बनाएको फिल्म ‘द बर्डस्’ सिनेमामा गरिने प्रयोगको आजसम्मकै अब्बल मानिन्छ ।

 

नायिका टिप्पी हेडेनले ६ किसिमका हरिया सुट लगाएको यस फिल्ममा एउटा सानो सहरको कथा छ । हिचले प्राविधिक रूपमा चुनौती उठाएको फिल्ममा चराहरू र चराका मोडेलहरूको प्रयोग गरिएको छ । उनले केही महत्वपूर्ण दृश्यमा ट्रिक फोटोग्राफीको पनि प्रयोग गरेका छन् । लगभग तीन सय चरा फिल्ममा प्रयोग गरिएका छन् । केही चरालाई अभिनेताहरूको काँधमा बस्ने तालिम पनि दिइएको थियो । टिप्पी हेडेनलाई फिल्मले स्टार बनाएरै छाड्यो । 

 

१९७२ मा उनको फिल्म ‘फ्रेन्जी’ले जनमानसमा गहिरो प्रभाव पार्‍यो । समीक्षकहरूका भनाइमा यो उनको अन्तिम सुपरहिट फिल्म हो । फ्रेन्जीको प्रथम लन्डन प्रदर्शन फिल्मी इतिहासको निकै महत्वपूर्ण घटना हो, जहाँ हिचको लामो फिल्मी जीवनका अधिकांश सहयोद्धा उपस्थित थिए । १९७६ मा हिचले ‘फ्यामिली प्लट’ नामको रोमाञ्चक हास्यव्यंग्यमिश्रित फिल्मको निर्माण निर्देशन सुरु गरे । यो नै उनको अन्तिम फिल्म हुन पुग्यो । आफ्नो जीवनकालमा उनले २३ वटा मात्र फिल्म बनाए, तर ती फिल्मका विशिष्टताले उनी अमर हुन पुगेका छन् ।

 

१९७९ मा अमेरिकन फिल्म इन्स्टिच्युटले हिचलाई लाइफटाइम एचिभमेन्ट अवार्ड दियो । १९७९ मै बेलायती महारानीले उनलाई ‘नाइट कमान्डर अफ द ब्रिटिस एम्पायर’ उपाधि प्रदान गरेकी थिइन् । विश्वप्रसिद्ध फिल्मकर्मी अल्फ्रेड हिच्ककको अप्रिल २९, १९८० मा अमेरिकामा मृत्यु भएको थियो ।