• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
काङमाङ नरेश राई
२०७७ मङ्सिर १३ शनिबार ०७:०१:००
साहित्य

गोर्खा भर्तीका नसुल्झिएका कथा

गोर्खा भर्तीको इतिहास रहस्यको पहाड भई उभिएको २०४ वर्ष भइसक्यो

२०७७ मङ्सिर १३ शनिबार ०७:०१:००
काङमाङ नरेश राई

मानव समाजले पहिलो र दोस्रो विश्वयुद्धजस्ता भयानक युद्ध भोगेको पनि धेरै भइसक्यो । तर, त्यो युद्धको घाउ अझै निको भइसकेको छैन । किनकि नेपाली युवाहरूले पनि बेलायती सेनामा भर्ती भई विभिन्न मोर्चाहरूमा युद्ध लडे । पहिलो विश्वयुद्धमा दुई लाख र दोस्रो विश्वयुद्धमा दुई लाख ५० हजार नेपाली युवाहरू बेलायती सेनामा भर्ती भए ।

 

सन् १८५७ मा इन्डियाको मद्रास, बम्बई, पन्जाब र बंगाललगायत ठाउँमा ठूलो सिपाही विद्रोह भएको थियो, प्रत्येकसँग आ–आफ्नै सेना थिए । विद्रोहलाई दबाउन जंगबहादुर राणा स्वयं नेतृत्व सम्हाल्दै भारत पुगेका थिए । उक्त विद्रोहमा ‘बादल सिंह’ले अदम्य साहस देखाएबापत बेलायतले उनलाई ‘अर्डर अफ मेरिट’ तक्माबाट विभूषित गरेको थियो । यो तक्मा पाउने उनी पहिलो नेपाली थिए ।


दोस्रो विश्वयुद्धमा हवल्दार सिंहबहादुर राई र खड्गबहादुर राईलाई जापानले युद्धबन्दी बनायो । सिंहबहादुर राई लिबियाको टोब्रुकदेखि ५६३.८ किमि पैदल हिँडेर इजिप्टको एल अलामाइन पुगेका थिए । यस्ता धेरै दुःखदायी कथा गोर्खा भर्तीको इतिहासमा अनगिन्ती छन् ।  नेपाली युवाहरू बेलायती सेनामा भर्ती गरेबापत बेलायतले नेपाललाई रोयल्टी दिन्छ भन्ने कहिले–काहीँ कहीँ–कतै सुन्नमा आएको विषय हो ।

 

बेलायती लेखक लियोनेन कप्लानको पुस्तक ‘वरीवर जेन्टलमेन’को पृष्ठ ३६ ले रोयल्टीको विषयमा प्रस्ट पारेको छ । दोस्रो विश्वयुद्धअगाडि नेपाली युवाहरू बेलायती सेनामा भर्ती गरेबापत १० लाख रुपैयाँ रोयल्टी नेपाल सरकारलाई दिँदै आइरहेको उल्लेख गरेका छन् । दोस्रो विश्वयुद्धपछि २० लाख रुपैयाँ रोयल्टी नेपाललाई दिन थालेको लेखिएको छ । प्रत्येक नेपाली युवा भर्ती गरेबापत नेपाल सरकारलाई बेलायतले ‘हेड ट्याक्स’ (सलामी रकम) दिने गरेको सुन्नमा आए पनि आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन । 


तत्कालीन नेपालका प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला र अर्थमन्त्री सुवर्णशमशेर राणाको पालामा नेपालको पहिलो आर्थिक बजेट सन् १९५१–१९५२ मार्च महिनामा भएको थियो । त्यसवेलाको जम्मा बजेट ५ करोड २५ लाख २९ हजार रुपैयाँ थियो । ३ करोड  ६ लाख १९ हजार रुपैयाँ ट्याक्सबाट उठाएको थियो । वर्तमान समयमा नेपाल सरकारले बेलायतबाट कति रोयल्टी पाउँछ ? यो खोज–अनुसन्धानको विषय बनेको छ । तर, गत साल मात्र ९० मिलियन पाउन्ड बेलायतले डिएफआइडी (डिपार्टमेन्ट फर इन्टरनेसनल डेभलभमेन्ट) मार्फत नेपाललाई सहयोग गरेको छ ।

 

जो युद्धमा छुटे 
युद्धमा कति मारिए ? कति घाइते भए ? कति हराए ? सही तथ्यांक न बेलायतसँग छ, न नेपालसँग । दोस्रो विश्वयुद्धमा ४३ हजार घाइते भएको ‘द गोर्खा ब्रिगेड एसोसियसन’ले उल्लेख गरेको छ । ३० हजार गोर्खालीहरूले वीरगति पाएको र अंगभंग भएको ‘नेसनल आर्मी म्युजियम’मा उल्लेख छ । पहिलो विश्वयुद्धमा गोर्खालीले लेखेको डायरीलाई श्रीभक्त खनालले ‘हिमाल खबर डटकम’मा २५ कात्तिक २०७७ मा सार्वजनिक गरेका छन् ।

 

जहाँ लेखिएको छ, ‘यो कठै साने कप्तानको चढ्दो उमेर थियो । जोवन सबै शत्रुका हातबाट गयो । पल्टनको मायामोह नेपालमै रह्यो । जिउँदै मरेर कैलाशमा गयो । ...सुबेदार भीमसिंह भँडारी भयो । हर्के थापा जसराज धर्मराज खत्री कम्पान्डर प्रजितन नैनसिंह खत्रीस्वरुप कुँवर...प्रति मन थापा ।’

 

बेलायतले सात हजार ५४४ गोर्खालीहरूले वीरगति पाएको, एक हजार ४४१ हराएको र २३ हजार ६५५ घाइते भएको जनाएको छ । दोस्रो विश्वयुद्धमा गोर्खालीहरू बर्मा, भुटान, थाइल्यान्ड, फिजीजस्ता देशहरूबाट हराएका थिए । हाल बर्मामा नेपालीको जनसंख्या तीन लाख १० हजार रहेको छ । 

 

पत्रकार तथा मानवअधिकारकर्मी माक्स इमिलियनले आफ्नो रिपोर्टमा उल्लेख गरेअनुसार बर्माबाट स्थानान्तरण भई थाइल्यान्ड पुगेका र त्यहीँ जन्मिएका नेपालीहरूको संख्या करिब एक लाख रहेको छ । उनीहरूमध्ये ९० प्रतिशत शरणार्थीको अवस्थामा छन् । उनीहरूसँग ट्राभल डकुमेन्ट छैन । धेरैजसोलाई वर्क परमिट पनि नदिइएको रिपोर्टमा जनाइएको छ ।

 

युद्ध लड्दै जाँदा फिजीमा छाडिएकागोर्खालीका सन्तान अहिले १० हजारजति पुगेका छन् । उनीहरू फिजीको सुभा, लावासा भन्ने स्थानमा बसोवास गर्दै आएका छन् । उनीहरूले नेपाली गाउँ भनी आन्तरिक नामकरण गरेका छन् । उनीहरू धेरैजसो हिन्दू र बुद्धधर्म मान्छन् । इटलीको टाभोलेटो भन्ने सहरलाई गोर्खालीहरूले दोस्रो विश्वयुद्धताका जर्मन सेनालाई पराजित गरी त्यहाँका स्थानीयवासीलाई स्वतन्त्र बनाएका थिए । गोर्खालीहरूको साहस र वीरताको सम्मानमा सडकको नाम नै ‘गोर्खा’ सडक राखिएको छ ।

 

आफ्नो नागरिकहरूलाई भर्तीमा पठाएबापत नेपाल सरकारले बेलायतबाट रोयल्टी पाएको माथि उल्लेख भइसकेको छ । यो एउटा मानवअधिकारसँग जोडिएको गम्भीर विषय हो । कुनै प्रकारका जनावर वा वस्तुहरू एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा सुरक्षाकर्मीद्वारा चेक गर्ने कानुनी प्रावधान हुन्छ । तर, नेपाली युवाहरू बर्सेनि कति संख्यामा बेलायती सेनामा भर्ती हुन्छन् ? कतिले अवकाश लिन्छन् ? यसको तथ्यांक नेपाल सरकारसँग अहिलेसम्म पनि रहेको देखिँदैन । पहिलो र दोस्रो विश्वयुद्धमा मारिएका, हराएका र अंगभंग भएका गोर्खालीहरूको सही तथ्यांक सरकारसँग छैन । खोज–अनुसन्धानकर्ताहरूले उल्लेख गरेका तथ्यांकहरू पनि कहीँ कतै मेल खाँदैन । बेलायत सरकारले सार्वजनिक गरेको आधिकारिक वेबसाइटहरूमा पनि फरक–फरक तथ्यांक छ ।

 

जातिगत उपस्थिति
पहिलो विश्वयुद्धताका तीन प्रतिशत ठकुरी, १७ प्रतिशत क्षेत्री र ८० प्रतिशत आदिवासीका जवानहरू बेलायती सैन्य सेवामा थिए । दोस्रो विश्वयुद्धमा एक प्रतिशत अन्य, एक प्रतिशत ठकुरी, १३ प्रतिशत क्षेत्री र ८५ प्रतिशत आदिवासी जनजातिहरू रहेको ‘गोर्खा भर्ती कथाव्यथा र आन्दोलन’ पुस्तकमा डा. सुरेन्द्र केसीले उल्लेख गरेका छन् । आदिवासी जनजातिको संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ । यतिवेला बेलायती सेनामा ९५ प्रतिशतभन्दा धेरै आदिवासी जनजाति रहेको अनुमान गर्न सकिन्छ ।

 

पानी पतिया
सन् १८५४ मा तत्कालीन नेपालका प्रधानमन्त्री जंगबहादुर राणाद्वारा जारी भएको मुलुकी ऐनले आदिवासीहरूका धर्मलाई निस्तेज पार्ने काम ग¥यो । त्यसको प्रभाव गोर्खा भर्ती केन्द्र र सबै रेजिमेन्टहरूमा पर्न गयो । गैरहिन्दू धर्मावलम्बीसँग उठबस र छुवाछुत भएको आशंकामा लाहुरेहरूलाई घर फर्किंदा अनिवार्य ‘पानी पतिया’ गराइन्थ्यो । पण्डितलाई मोहोर वा सुकी राखेपछि दुई हप्तासम्म उनीहरू पक्लेहवामा चोखिन्थे ।

पहिलो र दोस्रो विश्वयुद्धमा कति मारिए ? कति घाइते भए ? कति हराए ? सही तथ्यांक न बेलायतसँग छ, न नेपालसँग । खोज–अनुसन्धानकर्ताहरूले उल्लेख गरेको तथ्यांक पनि कहीँकतै मेल खाँदैन ।

 

चन्द्रशमशेरले सन् १९२५–१९२६ ताका ‘ब्लाक सी’ काटेर जान पाउने निर्णय गर्दै पानी पतियाको अन्त्य भएको घोषणा गरेका थिए । तर पनि सन् १९६० सम्म चोखिने क्रम निरन्तर चलिरह्यो । कतिपय लाहुरेहरूले पल्टनबाट ल्याएको सबै पैसा पानी पतिया गर्दा–गर्दै भट्टी पसलमा सक्थे । घर नपुगी पसलको ऋण बोकी फेरि पल्टनतिर फर्किन्थे । अर्को छुट्टीमा आउँदा पसलको ऋण तिर्थे र पुनः ऋण बोकी पल्टन फर्किन्थे । उनीहरूले घर फर्किन भुल्दै जान्थे । यो क्रम चल्दा–चल्दै कतिपयको पसल क्षेत्रतिरै मायाप्रेम झांगिसकेको हुन्थ्यो । उता गाउँघरमा उनीहरूका श्रीमतीहरूचाहिँ पल्टनबाट नफर्किएका आफ्ना श्रीमान् कुरेर बसिरहेका हुन्थे ।

 

पल्टनमा धर्म
सन् १९४७ साल नोभेम्बर ९ तारिखमा नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सन्धि भयो । १० वटा गोर्खा रेजिमेन्टमध्ये पहिलो, तेस्रो, चौथो, पाँचौँ, आठाँै र नवौँ भारतमा रहने र दोस्रो, छैटौँ, सातौँ र दसौँ बेलायतले लैजाने निर्णय ग¥यो । उक्त सन्धिले अझ कडाइका साथ आदिवासी लाहुरेहरूलाई लिखित रूपमा हिन्दू बनायो । सन्धिमा उल्लेख भएअनुसार ‘प्रत्येक गोर्खा रेजिमेन्टमा एउटा मन्दिर हुनेछ, एकजान पण्डित अनिवार्य हुनेछ र गोर्खा सेनाहरूलाई हिन्दूका विरुद्ध लड्न पठाइनेछैन ।’

 

यसपछि गोर्खा भर्ती हुन हिन्दूधर्म अनिवार्य बन्यो । सन् २००६ देखि आ–आफ्नो धर्म लेख्न पाउने अधिकार प्राप्त भए पनि बेलायतस्थित सर्नक्लिफ फोक्स्टोनमा रहेको ‘इन्फेन्ट्री गोर्खा रेजिमेन्ट’, ‘रकरुट तालिम केन्द्र क्याटरिक’, ‘क्युजिई मेडिस्टोन’ र ‘टुकर लाइन सेरिया ब्रुनाई’मा एउटा मन्दिर र एक–एकजना पण्डित अझै छन् । सन् २०१२ सम्म हरेक हिन्दू चाडपर्वमा मन्दिरछेउमा परेड हुन्थ्यो ।

 

अहिले पनि त्यो धेरै ठाउँमा कायमै छ । ‘पासिङ आउट’ परेडमा हिन्दू मन्दिर तथा तीर्थ धामहरूको नाममा कसम खुवाउने गरिन्छ । ‘आफ्नै आमा र बाउ लडाइँको क्रममा दुस्मन बनी आएमा गोली हान्नेछु’ भनी यो पंक्तिकारले पण्डितबाटै कसम खाएको पनि २० वर्ष बितिसक्यो । संवैधानिक रूपमा धर्मनिरपेक्ष नेपाल घोषणा भएपछि केही गोर्खा रेजिमेन्टमा भने लामाहरू रहेका छन् ।

 

गोर्खा भर्तीको इतिहास रहस्यहरूको पहाड भई उभिएको २०४ वर्ष भइसकेको छ । सम्मान, पेन्सन र क्षतिपूर्तिका लागि विभिन्न गोर्खा संगठनहरूले अझै आन्दोलन नै गरिरहनुपर्ने विडम्बना अझै टुंगिएको छैन ।