• वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
सोझो गाउँले
२०७७ मङ्सिर १३ शनिबार ०७:४५:००
साहित्य

काफल बेच्ने केटी

२०७७ मङ्सिर १३ शनिबार ०७:४५:००
सोझो गाउँले

अँध्यारो ढली नसक्दै उकालो लाग्छे
नवजात घामलाई म्वाइँ खाँदै मौरी लेक पुग्छे
र सुकेको रोटी चपाउँदै काफल टिप्छे
जीवनजस्तो घनघोर जंगलभित्र
वन्यजन्तुुसित डर लाग्दैन उसलाई
बरु सिकारीसँग डराउँछे
यसरी एकान्तमा एक्लै भेट्टायो भने
बाघले मृगलाई झैँ  झम्टिन्छ सिकारीले

 

लक्खान चप्पल लतार्दै ओरालो झर्छे
दुःखको देउडा गाउँदै लेक–बेँसी गर्छे
बाख्रा चराउँदा पाठीसित रमाउँछे
गाईलाई घाँस लाउँदा बहरसँग धकाउँछे
जिब्रोमा काँडो गाडेर गुजारा चलाउने हरिना
बसबिसौनीनजिक बसेर
कपडा किन्न काफल बेच्छे

 

जयपृथ्वी राजमार्गसँग जोडिएको
सुकुमबासीे बस्तीजस्तो बजारमा
मन अमिलो बनाउँदै
गुलिया काफल बेच्नुपर्छ
किनकि, काफल किन्नेको आँखा
काफलको दानामा कम
उसको छातीमा बढी पर्छ

 

पचास रुपियाँ मानोका दरले
एक पाथी काफल बेचिसकेर
पेटिकोट किन्न कपडापसलमा जाँदा
भदौको राँगोजस्तो पसलेले–
‘लुगा सिउने सियोमा धागो छिराउन आउँछ ?’
भनेर चारचोटि सोध्छ
र चारैचोटि उसले
क्षितिजमा उल्झेको आकाश हेर्नुपर्छ

 

साहुको ऋणले थिचेर
सास फेर्न मुस्किल परेपछि
सात फेरो लाएको सात दिनमै
बम्बई लागेको लोग्ने
दिल्लीको देस्यानीसित सल्किएर
उतैतिर हरायो
न फर्केर आउँछ
न रैबार पठाउँछ
मात्र सुइनामी बोलाउँछ
बेकारमा मध्यरातमा जगाउँछ

 

अग्लो डाँडाले छेकेको छ माइती गाउँ
त्यही डाँडाजस्तै छ माइतीको मन
जहाँबाट आइरहन्छ एउटै सन्देश–
‘घर खा छोरी घर खा !’
यता बैँसको बोझले थिचिएको हरिना
कुलको इज्जत जोगाउन
माइतीको नाक बचाउन
अस्पतालको वार्डजस्तो घरमा
बूढी सासू रुँगेर बसेकी छे

 

पढाइ छुटाएर परिवारले
पन्ध्र वर्षमै कन्यादान गरिदियो
अपरिचित युुवकलाई जीवन सुम्पेर
जन्मघरबाट बिदा भएकी थिई
तर, अल्जाइमरको बिरामीले झैँ 
बिर्सियो बैगुनीले उसलाई
बैगुनीले बिर्सिएको थाहा पाएपछि
डस्न थालेका हुन् पराइ आँँखाहरूले

 


जिन्दगीको यस्तो जोखिमपूर्ण यात्रामा
कहिलेसम्म एक्लै हिँड्न सक्छे ऊ ?

सैपालको शिरमा जमेको हिउँजस्तो उसको जवानी
कुनै बिरानो बादलले जुनसुकै वेला पगालिदिन सक्छ
खप्तडको पाटनमा फुलेको भुइँफूलजस्तो उसको परानी
कुनै विषालु शीतले जुनसुकै बेला सुकाइदिन सक्छ
कर्नालीको तीरमा थुप्रिएको बालुवाजस्तो उसको जिन्दगानी
कुनै बौलाहा हुरीले जुनसुकै वेला उडाइदिन सक्छ

 

शिशिरको सिरेटोजस्तो लाग्छ उसलाई समय
डढेलोले खाएको वनजस्तो लाग्छ गाउँघर
सेतीको बगरजस्तो लाग्छ जिन्दगी
र, लुटेरा समूहको नाइकेजस्तो लाग्छ
उसलाई यो नकाबधारी दुनियाँ
तर, धरतीको छातीमा टाउको राखेर
रुन सक्दिन ऊ !

 

भासुको भिरजस्तो भविष्य देखेर
मन बेचैन भइरहन्थ्यो, उसको
तेल्यालेक नाघेर आएको बताससँग
अन्तिमपटक बात मारेपछि
उद्वेलित भएकी हरिना
अब पनि सासूकै छायामा सुस्ताउँछे ?
या, नौडाँडा काटेरै भए पनि मुस्काउँछे ?
अथवा,
काफलको हाँगोमा अस्ताउँछे ?