• वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
निलम तामाङ
२०७७ मङ्सिर १३ शनिबार १०:३२:००
सम्झना

बालुवामा कोरेको परदेशीको सपना

परदेशीको पीडा टिकटक र सेल्फीमा नखोज्नू

२०७७ मङ्सिर १३ शनिबार १०:३२:००
निलम तामाङ

मान्छेका सपना पनि अनगिन्ती हुँदा रहेछन् । पूरा नहुने सपनाहरू थपिँदै मात्रै जाने । तर, आधारभूत आवश्यकता पूरा गर्न पनि धौ–धौ हुने देशमा कसरी सपना पूरा गर्ने ? एक चरण कन्सल्टेन्सीहरू धाएर थाकेपछि सुरक्षित भविष्यका लागि नेपाल छाड्ने निर्णयमा पुगेँ । परदेश जानु मेरो रहर थिएन र होइन पनि । तर, बाध्यताले पुर्‍यायो सात समुद्रपारि । 

 

त्रिभुवन विमानस्थलमा मलाई बिदा गर्न मेरो जन्मथलो काभ्रेबाट परिवारका सदस्यहरू आइपुगे । माला र खादा लगाइदिएर मलाई दक्षिणा पनि दिए । सबैजना भावुक हुँदै रोए । म पनि रोएँ । सबैलाई बिदाइको हात हल्लाएर आकाशमा उडेको १२ घन्टापछि कतार हुँदै साइप्रस भन्ने देशमा आइपुगियो । 

 

मलाई लिन एजेन्ट एयरपोर्टमै आइसकेछन् । उनले भने, ‘अब मालिक भएको ठाउँमा जाऊँ ।’ कारभित्र पसेँ । झ्यालबाट देखिने दृश्य हेर्न थालेँ । नयाँ परिवेश । वसन्त ऋतुको याम । जताततै फूलहरू ढकमक्क फुलिरहेका । नयाँ पालुवाहरू जताततै । समुद्रको किनारमा उर्लिरहेको छाल । यस्तै मनोरम दृश्य हेर्दै–हेर्दै काम गर्ने ठाउँमा पुगेँ । 


एउटा घरको अगाडि पुगेर कार रोकियो । मालिकले मलाई फुच्ची र सानी देखेर सुरुमै उमेर सोध्यो । मैले भनेँ, ‘२३ वर्ष पुगेँ ।’ मेरो सानो उमेरका कारण मप्रति मालिकको धारणा सुरुमै गलत भयो । एजेन्टले मेरा लागि काठको छाना भएको कोठा देखायो । भित्ता पनि चर्केको थियो । कोठामा इन्टरनेट थिएन । एजेन्टले भन्यो, ‘अहिले यहीँ बस्दै गर, पछि सबै व्यवस्था हुन्छ ।’ वल्लोपल्लो कोठामा बस्नेहरू सबै छुट्टाछुट्टै देशका रहेछन् । कसैले कसैको भाषा नबुझ्ने । एक–दुईजना नेपाली दिदीहरू पनि हुनुहुँदो रहेछ । भोलिपल्टैदेखि दिनको १० देखि १२ घन्टासम्म मेरो काम सुरु भयो ।

 

काम गर्ने ठाउँमा हामी १० जना थियौँ । सबै फरक–फरक देशका । सबैभन्दा सानी मै रहेछु । मालिकले मेरो चासो राख्दैन थियो । तर, छोराचाहिँले मलाई निकै हेप्न थाल्यो । उसले ममाथि राणाशासन नै चलाउन थाल्यो । ४० देखि ५० डिग्रीसम्मको गर्मी थियो । पसिनाले निथु्रक्क हुन्थ्यो शरीर । हल्केलामा ठेला फुट्यो । बिहानै झिसमिसेमै उठ्नुपर्ने । राम्रोसँग सुत्न पनि नपाइने ।

 

काम गर्दा पानीसमेत पिउन नपाउने । खाना तीन दिनसम्म फ्रिजमा राखेर खानुपर्ने । भाषा नबुझ्ने । बिरामी भयो पनि भन्न नपाउने । कतिपय काम इसाराको भरमै गर्नुपर्ने । एउटा काम नसकिँदै अर्को काम गर्नुपर्ने । यस्तो लाग्न थाल्यो, म मेसिनसँग म्याराथुन दौडमा सहभागी हुँदै छु । त्यसमाथि मालिकको तुच्छ बोली । मालिकको तुच्छ बोलीसँगै सूर्य उदाउँथ्यो, अनि तुच्छ बोलीसँगै सूर्य अस्ताउँथ्यो । एयरपोर्टबाट ओर्लिएर आउँदा साइप्रस जति सुन्दर लागेको थियो, अब कुरूप लाग्ने समय सुरु भयो ।

 

कामबाट थाकेर कोठामा आउँछु, उदास र एक्लोपनले सताउन थाल्छ । स्वदेशको याद आउँछ । दिन जसोतसो काम गर्दागर्दै बित्छ, तर रात बित्न निकै कठिन हुन्छ । घरदेशको, साथीभाइको खुब याद आउँछ । सोच्छु, आखिर जिन्दगी यही यादहरूकै भण्डार रहेछ । जति सम्झिए पनि नरित्तिने । के–के सोच्दासोच्दै राति अबेरसम्म निद्रा लाग्दैन । छट्पटिँदै कतिवेला निदाउँछ पत्तै पाउँदिनँ । 

 

कामबाट थाकेर आएका वेला साथीभाइ आफन्तहरू बोल्छन् । उनीहरूको चाहना पूरा गरिदिए सम्बन्ध नजिक, नत्र टाढा । सुरुमा सन्चो, बिसन्चो सोधेजस्तो गर्छन्, पछि लाखौँको डिमान्ड गर्छन् । तर, परदेशको दुःखबारे कसैले ध्यान दिएर सुन्न चाहँदैनन् । तलब समयमै दिँदैन । कहिलेकाहीँ दुई–तीन महिना कुर्नुपर्छ । यसबारे कसैलाई मतलब हुँदैन । मात्र मतलब हुन्छ, पैसासँग । 

 

दुःखसुख त्यहाँ चार महिना काम गरेँ । तर, त्यहाँ भनेजति तलब दिएन । एजेन्टले भनेको पैसा र मालिकले दिएको पैसामा फरक प¥यो । कामको धेरै चापले म बिरामी भएँ । मलाई ज्वरो आयो । काममा जान नसक्ने भएँ । कोठानजिकको दिदीहरूलाई सुनाएँ । उनीहरूले एजेन्टलाई खोज्न लगाएर अर्कै काम गर्न सुझाब दिए । एजेन्टहरूले त्यहाँ काम छाड्यौ भने नेपाल फर्काइदिने धम्की दिए । तर, त्यही बसिरहेँ भने म झन् बिरामी हुन्छु, मेरो बिजोग हुन्छ भनेर म त्यहाँबाट भागेँ । एकजना नेपाली दिदी पनि मसँगै भाग्न खोज्नुभएको थियो । तर, उहाँ भाग्न असफल हुनुभयो । 

 

भोलिपल्टैदेखि घरबाट फोन आयो । एजेन्टले फोन गर्‍यो । उनीहरूको चिन्ता मिसिएको एउटै कुरा थियो, ‘किन त्यसरी भागेको ?’ तर मैले त्यहाँ पाएको दुःखबारे कसैले बुझेनन् । मैले अध्यागमन विभागमा गएर २०० युरो तिरेर साइप्रस बसाइलाई लिगल बनाएँ । अब म नयाँ कामको खोजीमा हिँड्न थालेँ । एकजना साथीको कोठामा बसेर काम खोज्न थालेँ । १५ दिन खोजेँ तर कुनै काम भेटिनँ । १५औँ दिन नाघेपछि कोठा दिने मान्छेसँग मेरो झगडा भयो । उसले पुलिस बोलाउँछु भनेर मलाई धम्की दियो । त्यसपछि म रातको ११ बजे उसको कोठाबाट बाहिर सडकमा निस्किएँ । 

 

सडकमा एक्लै हुँदा म निकै आत्तिएकी थिएँ । बिरानो देशमा मेरो मन भित्रभित्रै रोइरहेको थियो । मध्यराति चिनेको एकजना नेपाली दाइलाई फोन गरेँ । ती दाइसहित अन्य नेपाली दाजुभाइले त्यो रात मेरो उद्धार गर्नुभयो । त्यो दाइले १५० युरो पहिला डिपोजिट गरेर बस्न मिल्ने कोठा खोजिदिनुभयो । मसँग एक युरो पनि पैसा थिएन । तर, मसँग नेपाली ३५०० सय रुपैयाँ थियो । त्यो पैसा एयरपोर्टबाट बिदाइ गर्दा दक्षिणास्वरूप मामा–माइजू, काका र सानीआमाले दिनुभएको थियो ।

 

समुद्रको किनारमा यादहरूलाई कैद गर्न फोटो खिच्ने, टिकटक बनाउने गर्छौं । समुद्रको छेउ बालुवामा आआफ्ना नाम पनि लेख्छौँ । बालुवामा नाम लेखेर जतिसुकै जोगाउन खोजे पनि जोगिँदैन । समुद्रको छालले हाम्रा नाम केही क्षणमै बगाइदिन्छ, हाम्रा सपनाजस्तै । 

 

त्यो पैसा मेरा लागि साँच्चै दक्षिणा साबित भयो । आपत्मा उहाँहरूको दक्षिणा काम लाग्यो । मैले त्यो पैसा साटेँ । तर, मसँग ४० युरो मात्रै भयो । अब बाँकी पैसा कहाँबाट ल्याउने ? सँगै भाग्न खोज्दा असफल हुने दिदीसँग एक सय पचास युरो सापटी मागेँ । उहाँ मालिकको घरबाट भिसाको मेडिकल गर्न अस्पताल जान्छु भन्दै ढाँटेर मलाई पैसा पुर्‍याउन आउनुभयो । उहाँबाट पैसा पाएपछि मैले कोठा लिएँ । 

 

दोस्रोपटक काम छाडेँ
भोलिपल्ट एउटा रेस्टुरेन्टमा काम छ रे भनेर पुगेँ । तर, त्यहाँ काम मिलेन । त्यसपछि एउटा घरमा बूढी मान्छे हेर्ने काम गर्न थालेँ । बूढी मान्छेलाई एक–एक घन्टाको फरकमा औषधि दिनुपर्ने । भाषा नबुझिने । नेपाली खानेकुरा खाना नपाउने । जसोतसो दिन बित्दै गयो । एक दिन बूढी लडिन् । त्यसमा मेरो केही दोष थिएन ।

 

उनलाई निकै गहिरो चोट लाग्यो । धन्न आँखाचाहिँ फुटेन । अब मलाई दोष लगाउँछन् भनेर म निकै आत्तिएँ । तर, मलाई केही पनि भनेनन् । यहाँ बस्दा–बस्दा वाक्कदिक्क लाग्न थाल्यो । पिँजडामा थुनिएकोजस्तो लाग्न थाल्यो । पैसा पनि महिनाको पाँच सय युरो दिने कुरा थियो । महिना मर्दा ३५० मात्रै दियो । बाँकी पैसा एजेन्टले खाएछ । त्यसपछि एक महिना काम गरेर त्यो काम छाडिदिएँ । 

 

म फेरि बेरोजगार भएँ । अब फेरि कामको खोजीमा निस्किन थालेँ । अस्पतालमा चिनजान गरेको दिदीले काम छ हेर्न आऊ भन्नुभयो । उहाँले भन्नुभएको ठाउँ कोठाबाट २५ किलोमिटर टाढा थियो । यातायातको व्यवस्था खासै थिएन । उतै बस्नुपर्ने भयो । मालिकले केही दिन दिदीहरूसँग बस्दै गर र पछि कोठा व्यवस्था गर्छु भन्यो । एक छाक खाना दिदीको कोठामा खाँदै अर्को छाक काम गर्ने ठाउँमा खाँदै काम गर्न थालेँ । 

 

अक्टोबर महिना थियो । दसैँ–तिहारको वेला घरपरिवार निकै सम्झिएँ । घरमा खर्च पठाउन मसँग एक पैसा थिएन । नेपाली दिदीहरूसँग भेटेर मिठोमसिनो खाएर त्यो दसैँ मनाइयो । कोठामा आएँ, फेसबुक खोलेँ । परिवार, आफन्त साथीभाइले दसैँमा रमाउँदै फेसबुकमा राखेको फोटोहरू हेरेँ । घरबाट के छ हाल खबर भनेर सोध्नुभयो । मैले झुटो मुस्कान दिएर ठिकै छु भनेँ । मनमनै सोचेँ, यस्तै रहेछ परदेशीको दसैँ । 

 

तेस्रोपटक काम छाडेँ
त्यो घरमा मालिकको बानी व्यवहार खासै राम्रो लागेन । मालिकले गिद्दे नजरले हेर्न थाल्यो । मेरो लागि त्यो यातना साबित भयो । म फेरि काम छाड्ने मनस्थितिमा पुगेँ । किनकि कुनै पनि वेला ममाथि दुःखद घटना हुन सक्ने मैले ठानेँ । कोठा जाने वेला बसमा एकजना नेपाली तामाङनी दिदीसँग भेट भयो । उहाँको घर सर्लाहीमा रहेछ ।

 

धेरै कुराकानी भयो बसमा । फेरि भेट्ने भन्दै हामी छुट्टियौँ । भोलिपल्टदेखि त्यो गिद्दे नजरले हेर्ने मालिकको घरमा जान छाडेँ । विदेश आएको ६ महिनामा मैले तीन ठाउँमा काम छाडिसकेछु । आफ्नो दुःखपीडा कसलाई सुनाऊँ ? कसले सुनिदिने मेरो पीडा ? घरपरिवारलाई सुनाऊँ भने झन् चिन्ता लिनुहुन्छ । मैले कसैलाई भनिनँ । फोनमा हाँसेरै बोलिरहेँ । 


नोभेम्बर महिनाको अन्तिम हप्ता बित्दै थियो । साइप्रसमा जाडो सुरु भइसकेको थियो । मलाई बिसन्चो हुन थाल्यो । ज्वरो, रुघाखोकी, टन्सिलले सतायो । कोठामा तातोपानीसमेत तताएर दिने मान्छे थिएन । ज्वरोसँगै एक्लोपन र उदासी पनि थपियो । जिन्दगी नै बोझ लाग्न थाल्यो । घर परिवार सम्झिएँ । नेपाल आमालाई सम्झेर रुँदै बसेँ । परदेशमै मर्छु कि जस्तो पनि लाग्न थाल्यो । त्यही वेला तीनजना नेपालीले साइप्रसमा आत्महत्या गरेको घटना सुनेँ । त्यो घटनाले मलाई झनै विचलित बनायो । हिम्मत बटुलेँ । मलाई बचाइदेऊ भन्दै भगवान्लाई पुकारेँ । नेपालबाट ल्याएको औषधि खाएँ । एक हप्ता थलिएपछि हिँड्न सक्ने भएँ । बिरामीबाट तंग्रिन १२ दिनजति लाग्यो । 


बिरामीबाट बल्लबल्ल हिँड्न सक्ने भएँ । तर, म बेरोजगार थिएँ । काम कहाँ पाइएला भन्ने तनाव छँदै थियो मनमा । सर्लाहीकी दिदीले काम हेर्न आऊ भन्नुभयो । म त्यहाँ पुगेँ । सानो होटेल रहेछ । सर्लाहीकी दिदीको आफ्नै दिदी पनि त्यहीँ काम गर्नुहुँदो रहेछ । दिदीले काम सिकाउनुभयो । केही समयपछि दिदी र म सँगै कोठा लिएर बस्न थाल्यौँ । त्यहाँको मालिकले पनि माया गर्‍यो । दिदी र मलाई बराबर पैसा दियो । तर, मलाई उचित लागेन । किनकि दिदीलाई पैसा निकै थोरै भयो ।

 

त्यसपछि मलाई काम गर्ने जोस, जाँगर नै भएन । साइप्रसमा जाडो समयमा तीन महिना होटेल रेस्टुरेन्टहरू बन्द हुने रहेछन् । अन्त ठाउँमा काम पनि पाइएन ।
विश्वभर कोरोनाको कहर सुरु भयो । साइप्रसमा पनि केही मानिसमा कोरोना देखियो । सरकारले एक महिनालाई लकडाउन गर्‍यो । लकडाउनभरि दिदीसँगै त्यहीँ बसेँ । लकडाउन खुलेपछि काम पाउन झन् मुस्किल भयो । कलकारखाना खासै नभएको कृषि र होटेल रेस्टुरेन्टबाट चल्ने समुद्रको टापुमा रहेको देश रहेछ साइप्रस । 


मेरो अवस्था नाजुक हुँदै गयो । हामीजस्ता कामदारका लागि सरकारले केही पनि व्यवस्था गरेको थिएन । कोठाभाडासमेत छुट थिएन । तीन महिना त्यसै बित्यो । एकजना दिदीले काम हेर्न आऊ भनेर बोलाउनुभयो । त्यो ठाउँमा कुन भिसामा आएको भनेर प्रश्न ग¥यो । म कृषिमा गएको थिएँ । मलाई हुँदैन भनियो । दिदीले भन्नुभयो, ‘झुट बोल्नुपर्ने थियो । किन साँचो बोलेको ? अब काम पाउँदैन ।’ 


म कोठा फर्किन बसपार्कमा आएँ । मसँग जम्मा २० युरो मात्रै थियो । त्यसै वेला मोबाइलको घन्टी बज्यो । फोन उठाएँ । गफमै भुलेर पैसा झोलामाथि राखेछु । पैसा हावाले उडाएर लग्यो । पैसा कता पुर्‍यायो कता भेट्दै भेटिनँ । अब मलाई आपत् पर्‍यो । कसरी कोठामा पुग्ने ? करिब ३० किलोमिटर टाढा थियो कोठा । मेरो आँखाबाट आँसु आयो ।

 

म गहभरि आँसु बनाएर बसपार्कमै उभिरहेँ । एक छिनपछि आफ्नै गोजीमा खोज्दा मुस्किलले दुई युरो भेटेँ । कोठामा पुग्न चार युरो लाग्थ्यो । ड्राइभरलाई दुई युरो दिएर बस चढेँ । कोठामा आएँ । अब फेरि काम कहाँ खोज्ने ? पैसा छैन । के खाने ? केही दिनपछि अर्को दिदीले कामका लागि एकजना म्याडमसँग बोल्न लगाउनुभयो । म्याडमले स्वीकार गर्नुभयो मलाई । तीन महिनापछि फेरि कामलाई निरन्तरता दिन थालेँ ।

 

आज परदेशमै भेटिएको परदेशी दिदीहरूको साथ र सहयोगले काम गरिरहेकी छु । उहाँको साथले जिउने हिम्मत मिलेको छ । उहाँको साथप्रति हृदयदेखि नै आभारी छु । हिजोआज यसैगरी बितिरहेका छन् दिनहरू । कसैले म्यासेन्जरमा सोध्छ, ‘मोज छ है परदेशमा ?’ तर, भित्रको पीडा कसलाई के थाहा ? परदेशीको पीडा टिकटकमा देखिँदैन । तस्बिरमा पनि देखिँदैन । वास्तविक जीवनमा भोग्नेलाई थाहा हुन्छ, परदेशीको पीडा ।


०००

सन् २०२० भित्र मात्रै साइप्रसमा ६ जना नेपालीको मृत्यु भयो, जसमध्ये तीनजनाले आत्महत्या गरेछन् । त्यो घटना सुन्दा मेरो मन रोयो । उहाँहरूमध्ये कतिपय त उच्च शिक्षा लिन आउनुभएको थियो । तर, उहाँहरू बाकसमा फर्किनुपर्‍यो । जस्तै दुःख परे पनि आत्महत्या गर्नुहुन्न । हामी आफू र परिवारलाई खुसी पार्न परदेश आएको हौँ । दुःखी पारेर बाकसमा फर्किन आएका होइनौँ ।


यता नेपाली विद्यार्थीहरूको पनि अवस्था दर्दनाक छ । यहाँ १० देखि १२ लाख मानिस बसोवास गर्छन् । नेपालीहरू मात्रै १२ देखि १५ हजार रहेको अनुमान छ । जसमध्ये पाँचदेखि सात हजार नेपाली अध्ययनको सिलसिलामा आएका छन् । काम पाउन निकै गाह्रो छ यता । नेपाल सरकारले रेमिट्यान्स मात्रै गनेर बस्ने होइन, साइप्रसजस्ता देशमा नेपालीले पाइरहेको दुःखबारे पुनर्विचार गरेर अध्ययनका लागि यता आउन प्रतिबन्ध लगाउनुपर्छ । काम गर्न आउनेको पनि दुःख भनिसाध्य छैन ।


आज म आफ्नो देशको जमिन बाँझो राखेर यो विरानो देशमा पाखुरा खियाउँदै, रगत पसिना बगाउँदै, युरोसँग आफ्नो बल, बैंस र जवानी पनि साट्दै छु । यो दुःख र संघर्ष घरदेशमा गरेको भए हाम्रो देश धेरै विकसित भइसक्ने थियो । आज हामीजस्ता बल भएका युवाहरू परदेशमा छौँ । उता घरदेशमा चाहिँ दिनहुुँ भ्रष्टाचार भएको सुनिन्छ । बलात्कार भएको सुनिन्छ । नेताहरूले राम्रो काम नगरेको मात्रै सुनिन्छ । हामीले पठाएको रेमिट्यान्सबाट देश कहिल्यै उँभो लागेको सुनिँदैन । 


०००

आइतबार बिदा हुन्छ । सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू भेटघाट गर्ने दिन हो यो । सबैसँग दुःखसुखको कुराकानी हुन्छ । समुद्रको किनारमा यादहरूलाई कैद गर्न फोटो खिच्ने, टिकटक बनाउने गर्छौं । समुद्रको छेउ बालुवामा आआफ्नो नाम पनि लेख्छौँ । बालुवामा नाम लेखेर जतिसुकै जोगाउन खोजे पनि जोगिँदैन । समुद्रको छालले हाम्रा नाम केही क्षणमै बगाइदिन्छ, हाम्रो सपनाजस्तै ।