• वि.सं २०७७ माघ ५ सोमबार
  • Monday, 18 January, 2021
निर्मल अर्याल
२०७७ मङ्सिर २० शनिबार ०९:५८:००
इतिहास

पत्रकारितामा पनि अब्बल भैरव अर्याल

२०७७ मङ्सिर २० शनिबार ०९:५८:००
निर्मल अर्याल

 

भैरव अर्याल नेपाली साहित्यमा शाश्वत व्यंग्य शिल्पीको रूपमा चिरपरिचित छन् । व्यंग्य साहित्यमा अर्यालले खडा गरेको उदाहरणीय ‘एकल साम्राज्य’ले समग्र नेपाली साहित्यलाई बलशाली बनाएको छ । अर्याललाई साहित्यानुरागीहरूसहित सामान्य पाठकले विशेष गरी विशिष्ट कोटीको हास्यव्यंग्य निबन्धकारको रूपमा लिए पनि अर्यालले कविता, नियात्रा, समालोचनालगायतका विधामा पनि सशक्त उपस्थिति देखाएका छन् । राष्ट्रिय कविता महोत्सवका पहिलो स्वर्णधारी अर्यालले पेट मिची–मिची हँसाउने गरी सामाजिक बेथिति, विसंगतिविरुद्ध आफ्नो तिखो व्यंग्यवाण मात्र चलाएनन्, धुरुधुरु रुवाउने सिर्जना (विशेषगरी कविता)समेत रचे । कालान्तरमा उनको मृत्यु पनि कारुणिक नै बन्न पुग्यो । अर्यालकै शब्दमा उनी कार्यालय, सहकर्मी, सहयात्रीहरूको चौतर्फी शोषणसहित भोक र रोगको सिकार भएका थिए । कलम वा कोदाली केही पनि चलाएर आफू र आफ्ना आश्रितलाई संरक्षण दिन या देशको निम्ति केही गर्न नसक्ने भएपछि अन्ततः उनले ०३३ असोज १९ गते गोकर्णको पुलबाट हामफालेर आफ्नो देह त्याग गरे । अर्यालको निधन (आत्महत्या) पनि ‘आडम्बरी’ समाजका लागि एउटा अत्यन्त ‘अप्रिय व्यंग्य’को रूपमा युगयुगान्तरसम्म दर्ज भइरहने उनका निकटवर्तीहरू बताउँछन् । व्यंग्य साहित्यका उस्तादले आफ्नो जीवनलीलाको पूर्णविराम पनि व्यंग्यमार्फत नै गर्नु अन्तर्राष्ट्रिय साहित्यका लागि समेत एक बिर्सन नसकिने दृष्टान्त हुन सक्छ । अर्यालको जीवनको आरोह–अवरोहसहित साहित्यमा उनले गरेको योगदानबारे धेरै चर्चा–परिचर्चा भइसकेका छन् । तर, प्रजातन्त्रको अभ्युदय (००७ सालपछि)सँगै ठोस आकार ग्रहण गर्दै गरेको नेपाली पत्रकारितामा उनको उच्चकोटीको श्रम, सीपका विषयमा भने खासै व्याख्या नभएको स्थितिमा पत्रकारितामा उनको योगदान खोतल्नु यस आलेखको मुख्य ध्येय हो । 

 

सर्वप्रथम ००९ सालमा ‘नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरेका भैरव रोजीरोटीका लागि सुरुवाती दिनहरूमा शिक्षक रहे पनि ०१५ सालदेखि औपचारिक रूपमा पत्रकारितामा आबद्ध भए । पत्रकारितालाई परिभाषित गर्ने क्रममा अर्याल आफ्नो टिपोटमा लेख्छन्, ‘पत्रकारिता मान्छेको चेतना, उत्सुकता र अभिव्यक्तिको सकसकी सम्बन्धित आधुनिक कला हो । यसको माध्यमबाट व्यक्ति तथा समाजले ताजाताजा गतिविधिको जानकारी, उचित दिशाको पथप्रदर्शन र रोचक मनोरञ्जनको अपेक्षा राख्दछ । यस अपेक्षापूर्तिका लागि पत्रकारिताले आफ्नो रजनको विकास सँगसँगै नयाँ–नयाँ विधाहरू पनि कोरल्दै ल्याएको पाइन्छ ।’ (शाश्वत व्यंग्य शिल्पी– ०७५) । 

 

भैरव ०११ देखि ०१३ सम्म पोखराको कन्धनीडाँडास्थित भवानी प्राथमिक विद्यालय र ०१३ देखि ०१५ सम्म काठमाडौंको इन्द्रायणी स्कुल पासिखेलमा शिक्षक रहे । ०१५ सालमा त्यतिवेलाको चर्चित दैनिक ‘हालखबर’मा संलग्न भएलगत्तै विलक्षण प्रतिभा तथा भाषामा बलियो पकड भएका भैरवको व्यंग्य साहित्यसँगै पत्रकारिता पनि व्यावसायिक हुन थालेको त्यतिवेलाका उनका घनिष्ट मित्र रहेका पत्रकार भैरव रिसाल बताउँछन् । ०१५–१६ सम्म डिल्लीबजारस्थित डेरामा सँगै बसेका रिसालसँग भैरवको सम्बन्ध यति प्रगाढ थियो कि रिसाल वैवाहिक सम्बन्धमा बाँधिएपछि भैरवले आफ्नो रसिक शैलीमा, ‘ममाथि किन सौता हालेको ?’ भन्दै रिसाललाई प्रश्न गरेका थिए । वैवाहिक सम्बन्धमा बाँधिए पनि चिठी–पत्रमार्फत भैरवसँग पत्रकारितालगायतका विषयमा वर्षौँसम्म दोहोरो संवाद भएको रिसालले पंक्तिकारलाई जानकरी दिए । ‘भैरव रिसाल’ भए पनि धेरैले अझैसम्म पनि आफूलाई नै ‘भैरव अर्याल’ ठान्ने गरेको बताउने रिसाल यसमा आफूले गर्व गर्ने गरेको बताउँछन् ।

 

फाट्टफुट्ट त्यतिवेलाका विभिन्न पत्रपत्रिकामा छापिने भैरवको आलेख, सम्पादकलाई चिठीलगायतबाट प्रभावित भएर उनका हितैषी दाताराम शर्माले उनलाई हालखबरका संस्थापक रंगनाथ शर्माको सम्पर्कमा पु¥याएका थिए । त्यतिवेला हालखबरमा मदनमणि दीक्षित (माड्साप) प्रधान सम्पादक थिए । दीक्षित र शर्मालाई भैरवले पत्रकारिताको आफ्नो गुरु मान्ने गरेको भैरवका काका बलराम अर्यालको संस्मरणमा उल्लेख छ । संवाददाताको रूपमा ऐतिहासिक महत्व बोकेको पहिलो जननिर्वाचित संसदमा कमिज सुरुवाल लगाएर रिपोर्टिङ गर्न गएको भन्दै भैरवले दीक्षितको नराम्रो खप्की खाएका थिए । हालखबरमा भैरव मूलधारको भन्दा पनि साहित्यिक पत्रकारितमा बढी रमेको काका बलराम अर्यालको बताउँछन् ।

 

एसएलसी परीक्षा दिएर फुर्सदिलो रहेका रमेशनाथ पाण्डे पनि प्रशिक्षार्थी पत्रकारको रूपमा आफ्ना भानिजदाजु साहित्यकार भीमनिधि तिवारीमार्फत हालखबरमा पुगेको थिए । हप्ताको एक दुई दिन मात्र हालखबरको कार्यालयमा आउने अत्यन्त सरल तथा रसिक स्वभावका भैरवबाट नै आफूले पत्रकार हुनका लागि पढ्नुपर्छ भन्ने ‘गुरुमन्त्र’ पाएको पाण्डे स्मरण गर्छन् । आफूलाई लेख्न हौस्याउने पनि भैरव नै भएको बताउने पाण्डे भैरवले भनेको कुरा यसरी सम्झन्छन्, ‘पहिला प्रुफ’ हेर्न सिक, प्रुफ हेर्दा शिरदेखि पुछारसम्म पढ्नैपर्ने भएकाले पढ्ने बानी बढ्छ र क्रमशः लेखाइ पनि परिष्कृत हुँदै जान्छ ।’ हालखबर छोडेर आफू राजनीतिमा सक्रिय हुन थालेपछि भैरवसँग भेटघाट हुन छाडेको बताउने पाण्डे कुनै पनि व्यक्तिले ‘नाम’भन्दा पनि ‘कृति’लाई अमर बनाउन प्रयास गर्नुपर्छ भन्ने भैरवको भनाइ सबैका लागि मननयोग्य भएको धारणा राख्छन् । 

 

हालखबरमा रहँदा भैरवले इन्डियन एयरलाइन्सको काठमाडौं–नयाँदिल्ली उडानको उद्घाटन अवसरमा दिल्ली जाने मौका पाएका थिए । ‘हालखबरमा’ आबद्ध भएलगत्तै भैरवसँगै दिल्ली पुगेको अर्का पत्रकार बालमुकुन्ददेव पाण्डे त्यतिवेलासम्म अर्यालको साहित्यिक व्यक्तित्वबारे अनविज्ञ थिए । ‘हालखबर’मा करिब एक वर्षसम्म संशोधक (प्रुफरिडर)को भूमिकामा पनि देखिएका भैरवले खोलापारिको पुरेत बाजे, बकुम्फुस शर्माजस्ता नाममा व्यंग्य लेखे । ०१७ देखि ०१८ सम्म भैरवले सगरमाथा संवाद समितिमा रहे । निरन्तरको अभ्यासपछि समाचार लेखनको दुनियाँमा अत्यन्त स्थापित भइसकेका भैरव ०१८ फागुन ५ देखि सहायक सम्पादकको रूपमा गोरखापत्रमा प्रवेश गरे । गोरखापत्रमा प्रवेश गर्दा उनले संस्कृत महाविद्यालयबाट संस्कृतमा सम्पूर्ण मध्यमा र म्याट्रिक मात्र पास गरेका थिए । गोरखापत्रमा आबद्ध भइसकेपछि पनि ठूलो परिश्रम गरेर शैक्षिक योग्यतालाई बढाए । नेपालीमा एमए पास गरेपछि उनले पूर्वी जर्मनीको कलेज अफ सोलिडारिटीबाट पत्रकारितामा डिप्लोमा पनि गरे । पहिला अंग्रेजी भाषामा दख्खल नभएर तालिमका लागि विदेश जानबाट वञ्चित भएपछि उनले आश्चर्यजनक रूपमा अंग्रेजी भाषामा बलियो बनाए । विभिन्न अंग्रेजी दैनिकहरूमा सम्पादक रहिसकेका वरिष्ठ पत्रकार प्रकाश रिमाल हालै भैरवले अंग्रेजीमा लेखेका चिठीपत्रहरू हेरिसकेपछि त्यतिवेलाको उनको अंग्रेजी अहिले चल्तीका अंग्रेजी दैनिकमा काम गर्नेहरूको भन्दा अब्बल रहेको दाबी गर्छन् । यसरी गोरखापत्रमा कार्यरत रहँदा पत्रकारको रूपमा उनले राम्रै ‘एक्स्पोजर’ पाए भन्न सकिन्छ । लामो समयदेखि स्वरनलीको समस्याका कारण चिन्तित उनले जर्मनीमा रहँदा घाँटीको शल्यक्रिया गराए पनि सोचेअनुरूप सफल नभएको उनका माइला भाइ अच्युतप्रसाद अर्याल बताउँछन् । भाइ अच्युतका अनुसार विकसित देशमा गएर शल्यक्रिया गराउँदा पनि सफल नभएपछि दाइलाई मानसिक रूपमा थप आघात पुगेको थियो । गोरखापत्रमा भैरवलाई ऋषभदेव शर्मा र दाताराम शर्माले राम्रो साथ दिएका थिए । गोरखापत्र ७५ वर्ष प्रवेश गरेको उपलक्ष्यमा निकालिएको विशेषांकका लागि भैरवले धेरै मिहिनेत गर्नुपरेको शर्मा बताउँछन् । गफैगफमा शर्माले एकपटक सुनाए, ‘भैरवजी तपाईं गोरखापत्रमा मभन्दा तीन–चार वर्षअघि पस्नुभएको हो । साँझ, बिहान, राति, दिउँसो सबै वेला रचनाकार, सम्पादक, संवाददाता सबै रूपले परिश्रमपूर्वक तपाईंले सेवा गर्नुभएको गोरखापत्र कसरी चलिरहेको होला भन्ने तपाईंलाई लागेको भए तपाईं त्यहाँ नजाँदा जसरी चलेको थियो, त्यसरी नै चलिरहेको छ भन्ने जान्नोस् । कोही आऊन्, जाऊन्, जेसुकै गरून्, ऊ (गोरखापत्र) चल्दै आएको थियो, चलि नै रहन्छ ।’ 

 

०१८ सालमा पाकिस्तान सरकारबाट आएको औपचारिक निम्तोमा गोरखापत्रले भैरवलाई नै पठाएको थियो । पाकिस्तान यात्रामा भैरव पत्रकार बालमुकुन्ददेव पाण्डेको मित्रता निकै झांगिएको पाइन्छ । साहित्यकार स्वभावैले निकै संवेदनशील तथा भावुक हुन्छन् । भैरव पनि त्यसमा अपवाद थिएनन् । उनीसँग निकट रही काम गरेका ऋषभदेव शर्माका अनुसार गोरखापत्रमा छापिएको लेखको पैसा समयमै नपाउँदा गनगन गर्ने (पैसा नपाए भरेलाई होटेलको भात किनेर खाने मेसो छैन भन्ने) पनि कुनैकुनै लेखक हुन्थे । त्यस्ता लेखक, कविलाई भए आफ्नै खल्तीबाट नभए साथीभाइसँग सापट गरेर भए पनि भैरव पैसा दिन्थे । पत्र–पत्रिकामा लेख–रचना छापिएबापत अहिले पनि पारिश्रमिकका लागि महिनौँसम्म भौँतारिरहेका स्रष्टाहरूका लागि भैरवको यो दुर्लभ उदारता किंवदन्ती नै हो । 

 

गोरखापत्रमा भैरवलाई ‘बेजोड’सँग पेलिएको उनका शुभचिन्तकहरू सुनाउँछन् । हाकिमहरूका अगाडि ‘नाइँ’ भन्ने शब्द उच्चारण नै गर्न नसक्ने भैरव एक्लैले धेरैपटक राजनीतिक, आर्थिक, सामाजिकसहित अन्तर्राष्ट्रिय खेलकूदका समाचारसमेत लेखे । राजारानीको शुभजन्मोत्सव, कुनै खास राष्ट्रिय पर्वहरूजस्ता वेलामा गोरखापत्र वा मधुपर्कमा सम्पादकीय लेखनको निम्ति भैरवलाई नै सम्झनुपर्दथ्यो । प्रत्येकजसो राष्ट्रिय महत्वका दिन वा विषयहरूमा गोरखापत्रका अग्रलेखहरू अधिकांश भैरवबाट नै लेखिएका हुन्थे । भैरवमा भित्र र बाहिर बेग्लै विचारहरू नभएका हुँदा उनले जे लेखे, त्यसमा शुद्धता देखिन्थ्यो, भैरवसँग लामो समय गोरखापत्रमा काम गरेको पत्रकार मुकुन्द पराजुली आफ्नो संस्मरणमा उल्लेख गर्छन् । (सम्झना २०३७) 

 

पराजुली आफ्नो संस्मरणमा अगाडि लेख्छन्, ‘आफूलाई पञ्चायतको भक्त भनेर मन्त्रीहरूबाट लाभ लिन दौडिने, कुनै महत्वपूर्ण घोषणा वा समाचार प्रकाशनका लागि आइपुगेको छ भने चाकडी वा आर्थिक लाभमा सोझै राजनीतिक नेताहरूको कहाँ ती कुरा पु¥याउन दौडिने जस्ता अति निकृष्ट द्वैैध चरित्र भएका व्यक्तिको कुनै अभाव नभएको गोरखापत्रमा अर्याल साँच्चिकै अनौठा व्यक्ति थिए, उच्च नैतिकताको द्योतक थिए ।’

 

०२२ सालमा उपसम्पादकमा बढुवा भएका अर्यालले गोरखापत्र संस्थानमातहतको प्रकाशन मधुपर्कमा नेतृत्वदायी भूमिका निर्वाह गरे । मधुपर्कसँगै गोरखापत्रको शनिवाशरीय परिशिष्टांकलाई देशभर लोकप्रिय गराउन अर्यालले देखाएको सक्रियताको उनका सहकर्मीहरूले पनि मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ । अर्यालका नजिकका मित्र प्रसिद्ध आख्यानकार रमेश विकल आफ्नो संस्मरणमा लेख्छन्, ‘अथक साधना र स्वभावको लोस्याइँले विरोधाषपूर्ण गल्लीबाट गुज्रेर गोरखापत्रको शनिवाशरीय परिशिष्टांक र मधुपर्कलाई अधिराज्यभर व्यापक र लोकप्रिय तुल्याउनमा भैरवको जुन विशेष योगदान, कार्यक्षमता र प्रतिभाको हात छ, त्यो कसैबाट लुकेको कुरा होइन,’ (शाश्वत व्यंग्य शिल्पी– २०७५) । 

 

गोरखा पत्रमा वरिष्ठ पत्रकार नारायणबहादुर सिंहबाट भैरवले रामै्र साथ–सहयोग पाए । सिंह पनि साहित्य सिर्जनासँगै भैरवको सम्पादन कलाबाट असाध्य प्रभावित थिए । प्रतिभाको कदर कसैले गरेमा मात्र पनि स्रष्टाको मन फुरुंग हुनु स्वाभाविक नै हो । त्यसैले भैरव आफ्ना सबै कुराहरू सिंहसँग खुलेर नै गर्थे । गोरखापत्रमा गरिरहनुपरेको कडा मिहिनेतबारे भैरवले एकपटक सिंहलाई यस्तो रोचक किस्सा सुनाए, ‘मैले एकपटक मन्त्री (सहायक, राज्य वा पूरैमध्ये एक) नामधारी एकजना (स्त्रीलिङ्गी)का लागि भाषण लेख्नुप¥यो । त्यो भाषण जुन समारोहमा पढिएको थियो, त्यसको रिपोर्टिङ गर्ने जिम्मा संयोगले मलाई नै प¥यो, भाषणको समाचार छापिएकै भोलिपल्ट फेरि त्यसैको आधारमा सम्पादकीय कोर्नुप¥यो ।’ 

 

साहित्यकार तथा समालोचक हरि अधिकारीका अनुसार कामविशेषले दुई–चार दिन बिदा बसेर कार्यालय हाजिर हुन गएका दिन भैरव सोझै आफ्नो कुर्सीमा नगई सिंहकहाँ जान्थे र मसिनो स्वरमा सोध्थे, ‘माड्साब, मेरो जागिर त खुस्क्या छैन नि ?’ जवाफमा सिंह भन्थे, ‘भैरजवी, ऊ त्यो पेपर बक्समा घाँस–परालको डंगुर छ । यसो छान्नुहोस् र आउँदो शनिबार पठाउन सकिने केही भेटिन्छ कि हेर्नुहोस् ।’

 

रामराज पौडेल गोरखापत्रको सम्पादक हुँदाको पनि एउटा चाखलाग्दो कहानी छ । भैरवका घनिष्ठ मित्र रोचक घिमिरेका अनुसार पौडेललाई पत्रकारितासम्बन्धी पुस्तक लेख्ने ठूलो रहर रहेछ, तर क्षमता भने शून्य । उनले सोझा प्रकृतिका भैरवसमक्ष प्रस्ताव राखेछन्, ‘ए भैरव, एउटा पत्रकारितासम्बन्धी पुस्तक लेख्नुप¥यो, तिमी लेख्ने, मेरो नाममा छाप्ने ।’ घिमिरेलाई लेखेको पत्रमा भैरवले भनेका छन्, ‘अरूचाहिँ रामभक्तिमा मस्त छन्, मचाहिँ हरामभक्तिमा व्यस्त छु ।’ रामराज पौडेलले लगाएको हुनाले भैरवले हरामभक्ति भनेका थिए । यसरी अरूको नाममा किताब लेखिदिनुपर्ने, हाकिमले भनेको टार्न नसक्ने चेपुवामा भैरव पटकपटक परेको घिमिरे बताउँछन् । 

 

भैरवसहित केशवराज पिँडाली, दाताराम शर्मा, ऋषभदेव शर्मा, नारायणबहादुर सिंहजस्ता दिग्गजहरू एकै समय गोरखापत्रमा कार्यरत रहनु संस्था (गोरखापत्र)का लागि ठूलो प्रतिष्ठाको विषय भएको पत्रकार भारतदत्त कोइरालाको धारणा छ । यस्तो स्थितिमा उनीहरूबीचको ‘इगो’ कहिलेकाहीँ अखबारमा समेत देखिने गरेको कटु अनुभव लामो समयसम्म गोरखापत्रमै कार्यरत कोइराला सुनाउँछन् । सम्पादनमा अत्यन्त कडा परिश्रम गर्ने भैरवले युवा लेखकहरूलाई निकै प्रोत्साहित गरेको आफूले देखेको प्रतिष्ठित रोमन म्यागसासे पुरस्कार विजेतासमेत रहेका कोइरालाले पंक्तिकारलाई बताए ।

 

कवि दैवज्ञराज न्यौपानेका अनुसार भैरवकै शब्दमा उनले धेरै ‘टाउके’हरूको लेख अधिक मिहिनेत गरेर छाप्नयोग्य बनाउँथे । भैरव न्यौपानेसँग भन्थे, ‘बिचरा टाउकेहरूले लेख्ने रहर गरेछन्, उनीहरूको इच्छा पुगोस् भनेर यसो केही गरिदिएको हुँ ।’ अनि न्यौपाने प्रतिप्रश्न गर्थे, ‘होइन दाइ अब यसको लेखक को भयो त’ उच्च नैतिक मर्यादा भएका भैरवको जवाफ हुन्थ्यो, ‘लेखक त उनै हुन् ।’ तर, भैरवको यो जवाफ आफूलाई कहिल्यै स्वीकार्य नभएको न्यौपानेको संस्मरण छ । (सम्झना २०३७)

 

लेख लेख्न नसक्ने केही सिकारु लेखकहरूले भैरवलाई पैसा दिए मात्र लेख छापिन्छ भन्नेजस्ता झुटा आरोपहरू लगाउँथे । भाषा, व्याकरण एवं विचार तीनै दृष्टिले बेकम्मा लेखलाई पनि छाप्न लायक बनाउन खोज्ने अर्यालको प्रयासबाट आफूलाई एकपटक निकै झोक चलेको उनका सहकर्मी मुकुन्द पराजुली बताउँछन् । तर, भैरवले उही आफ्नो शालीन मुद्रामा उत्तर दिए, ‘थाहा छ, यो लेख काम लाग्दैन, तर परिश्रमपूर्ण सम्पादन देखेपछि लेखकले लाज मानेर फेरि अर्को लेख दिने हिम्मत गर्दैन, सधैँको करकर खानुभन्दा एक दिनको परिश्रम गरिदिनु राम्रो होइन र ?’ भैरवको कूटनीतिक जवाफ सुनेर आफ्नो चित्त बुझे पनि सम्पूर्ण लेख पुनर्लिखित भएर छापिएका लेखका लेखक निर्लज्ज भएर दुई–चार दिनपछि नै गोरखापत्र धाउने क्रम वर्षौँसम्म चलिरहेको पराजुली सम्झन्छन् । भैरवलाई आफ्नो गुरु मान्ने पत्रकार पुरु रिसालको संस्मरण पनि यस्तै खालको छ । रिसाल सम्झन्छन्, ‘गोरखापत्रको टेबलमा ११ बजे उपस्थित भएपछि बेलुका ६ बजेसम्म र अझै कुनै दिन त्यसभन्दा पछि पनि अर्काको लेख पूरै पुनर्लेखन गरेर राम्रो बनाइदिनुहुन्थ्यो । राम्रो लेख लेखिस् भनेर जसको लेख छापिन्थ्यो उसले स्याबासी पाउँथ्यो, तर भैरव दाइ सधैँ पृष्ठभूमिमा ।’

 

लेख–रचना उत्कृष्ट छन् भने भैरव एकै स्रष्टाको तीनवटा लेख पनि एकै दिनको गोरखापत्रमा छापिदिन्थे । यस्तै भाग्यमानी स्रष्टामा पर्थे पत्रकारसमेत रहेका किशोर नेपाल । आफू संकटमा रहँदा भैरव दाइले एकै दिनको गोरखापत्रमा तीनवटा लेख छापिदिएर ठूलो गुन लगाएको पत्रकार नेपालको स्मृतिमा अझै ताजै छ । त्यसो त भैरवसँग नेपालको पारिवारिक घनिष्ठता पनि थियो, तर त्यस्तै सम्बन्धका कारण गुन लगाउने व्यक्ति भैरवदाइ कदापि नभएको पत्रकार नेपाल बताउँछन् । पत्रकार नेपाल अगाडि भन्छन्, ‘गोरखापत्रको लेख–रचना सम्पादकको रूपमा भैरवदाइ धेरैका गुरु भए, तर धेरै चेलाहरूले पछि उनका विरुद्ध विष वमन पनि गरे ।’ 

 

आफू कार्यरत संस्था (गोरखापत्र)को प्रतिष्ठाप्रति उनी कति संवेदनशल थिए भन्ने कुरा उनका अर्का प्रिय मित्र घटराज भट्टराईको संस्मरणबाट थाहा हुन्छ । भट्टराई आफ्नो संस्मरणमा लेख्छन्, ‘गोरखापत्रमा समीक्षार्थ आएका पुस्तक पत्रिका एक–एक प्रति भैरव मलाई दिन्थे । म गुण र स्तर विचारेर समीक्षा गरिदिन्थेँ र त्यसबाट उचित पारिश्रमिक पनि पाउँथेँ । एउटा पुस्तक मैले समीक्षा गरेको थिएँ र त्यसको पारिश्रमिक लिन भनेर गोरखापत्रमा गएँ, तर पारिश्रमिक भैरवको नाममा भुक्तानी भइसकेको रहेछ । लेखापालले गएर भैरवलाई भने, के गर्ने खाता गडिबडिए छ । भैरवका सहकर्मीहरूले अर्को पुस्तकको समीक्षा भैरवले गर्ने पारिश्रमिक मेरो खातामा जम्मा गरिदिने प्रस्ताव राखे । तर, भैरव किन मान्थे, उनले सयको नोट झिकेर साट्न पठाएर मलाई दिनुपर्ने रकम त्यही दिए (म अन्कनाउँदा अन्कनाउँदै पनि) र भने भट्टराईजी, भैरव त केही होइन, गोरखापत्र संस्थान त केही हो, भैरवको बदनाम भए पनि संस्था (गोरखापत्र)को बदनामी हुनुहुँदैन ।’

 

गोरखापत्रमा कार्यरत भएकोबखत भैरव स्थापित साहित्यकार भइसकेका थिए । तर, उनी आफ्नो रचनाबारे कसैले समीक्षा ग¥यो र त्यो सम्पादनका लागि उनको टेबलमा आइपुग्यो भने त्यसलाई ठाडै इन्कार गर्थे । यसै सन्दर्भमा भट्टराईको अर्को संस्मरण पनि घतलाग्दो छ । भट्टराई सम्झन्छन्, ‘नेपाली कवि र उनीहरूका कविताबारे एक लेख तयार पारेर गोरखापत्रमा छपाउन छाडेर आएँ, तर त्यस दिन भैरव कार्यालयमा थिएनन् ।’ अर्कोपटक म पुग्नेबित्तिकै त्यो लेख अगाडि सारेर भैरवले भने, ‘यो लेख कृपापूर्वक फिर्ता लैजानुहोस्, किनभने यसमा मेरो कविताबारे चर्चा गरिएको छ, आफ्नै प्रशंसा छाप्यो भन्छन्, म त्यो चाहन्नँ, बरु अरू लेख भए दिनुहोस् ।’ लेखहरूमा प्रसंग नमिल्दा पनि बलजफ्ती आफ्नो नाम घुसाएर हिरो हुन चाहने त्यतिवेला तथा अहिलेका ‘वरिष्ठ’हरूका लागि पनि भैरवको त्यस्तो त्याग गतिलो नैतिक शिक्षा हुन सक्छ । (सम्झना–२०३७) 

 

मूलधारे पत्रकारिताको कुरा गर्दा पञ्चायतकालीन समयमा गोरखापत्रजस्तो पूर्ण सरकारी मुखपत्रमा कार्यरत हुँदा कुनै पनि विषयको पक्ष–विपक्षमा सानदार ढंगले लेख्न सक्ने भैरवको अद्भुत प्रतिभा ओझेलमा परेको पत्रकार यादव खरेलको विश्लेषण छ । बीसको दशकको सुरुवातीदेखि नै भैरवसँग अत्यन्त घनिष्ठ रहेका खरेल स्वतन्त्र पत्रकारिता गर्न निकै कठिन रहेको त्यतिवेलाको समयमा भैरवले अन्य निजी अखबारहरूमा कलम चलाएको भए व्यावसायिक पत्रकारका रूपमा उनको छवि अझ उँचो हुन्थ्यो भन्छन् । खरेल २०२७ सालमा बेलायतमा रहँदा भैरवलले पटक–पटक चिठी लेखी आफू गोरखापत्रमा ‘वरिष्ठ’हरूको चेपुवामा परेको सन्दर्भ उल्लेख गरी जिन्दगीबाटै विरक्त लाग्न थालेको व्यहोरा उल्लेख गर्दथे । जवाफमा खरेल आफ्ना अनन्य मित्र भैरवलाई हौसला दिँदै प्रतिउत्तर लेख्थे, ‘प्रिय भैरव, जो कोहीको जिन्दगीमा यस्ता अप्ठ्यारा पलहरू आइनैरहन्छन्, यस्ता विषम परिस्थितिको सामना गरेर अघि बढ्नुको विकल्प छैन, धैर्यसहित अघि बढ ।’ 

 

युवा लेखकहरूलाई उत्प्रेरित गर्ने सवालमा अर्याल सधैँ सकारात्मक रहे पनि लेख–रचनाको गुणात्मक पक्षमा उनी कसैसँग सम्झौता गर्दैनथे । राजधानीको मूलपानीनिवासी अहिलेका चर्चित लेखक नारायण ढकाल ०२७–२८ सालतिर आफ्नो लेख–रचना लिएर गोरखापत्रमा भैरवलाई भेट्न जान्थे । मूलपानीनिवासी ढकालसँग छिमेकीगाउँ जोरपाटीका भैरवको सहानुभूति हुनु स्वाभाविक नै थियो । तर, धेरै लेख–रचना दिए पनि कुनै नछापिएपछि ढकाल अर्याललाई सोध्थे, ‘खोइ दाइ कति लेख दिइसकेँ तर एउटा पनि छापिएको होइन ।’ भैरवको जवाफ हुन्थ्यो, ‘लेखेर मात्र हुन्छ, राम्रो लेख्नुप¥यो नि ।’ तत्कालका लागि भैरवको त्यो कटुवाणीले आफूलाई बिझाए पनि कालान्तर त्यही शाश्वत सत्य भएको ढकाल आज पनि स्मरण गर्छन् । ‘त्योबखत सबै लेख–रचना भैरवदाइले नै सम्पादन गरी (अरू टाउकेहरूको जस्तै) सजिलै छापिदिएको भए सायद मैले थप मिहिनेत गर्दिनथँे होला, त्यसैले मलाई लेखक बनाउन भैरव दाइको ठूलो देन छ,’ ढकाल सगर्व भन्छन् । 

 

गोरखापत्रमा भैरवको खटाइ देखेर उनका मित्रहरू छक्क पर्थे । चिया र चुरोटको साथ पाएपछि भैरव घन्टौँसम्म अनवरत कलम घोट्न सक्थे । कहिलेकाहीँ त पातलिँदै गएको चुरोटको ठुटोले औँला पोलेकोसमेत पत्तो पाउँदैनथे । फुर्सद मिल्नेबित्तिकै समसामयिक राजनीतिसहित साहित्यका विविध पाटोमा भैरव, गोरखापत्रका प्रधानसम्पादक गोपालप्रसाद भट्टराई, कमलमणि दिक्षित, तारानाथ शर्मा, दाताराम शर्मा, भीमनिधि तिवारीलगायत पुल्चोकका गल्लीमा घन्टौँसम्म गफिन्थे । ०२३ सालताकाको कुरा हो, कार्यालयको कामको बढ्दो चापले गर्दा भैरवले साथीभाइहरूका लागि समय निकाल्न नसकेपछि कमलमणि दीक्षित भैरवसँग फोनमै कड्किए, ‘तपाईं कति धेरै काम गर्नुहुन्छ मित्र, तपाईंले आफ्नो तलब यसरी पचाउनुभएको छ कि सबैले यसै गरिदिए देशमा छिट्टै चौतर्फी विकास हुन्थ्यो होला ?’ 

 

भैरवलाई गोरखापत्र परिसरबाहिर कार्यालयसँग सम्बन्धित कुरा गरेको त्यति मन पर्दैनथ्यो । यस सन्दर्भमा गोरखापत्रका पूर्वप्रधानसम्पादक तथा कार्यकारी अध्यक्षसमेत रहेका वरिष्ठ साहित्यकार विजय चालिसेको स्मरण यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ । भैरवकै प्रेरणाबाट साहित्य सिर्जनामा लागेका चालिसे २०३२ सालमा एक दिन आफ्ना अग्रज रत्नदास प्रकाश र हरिप्रसाद अर्जेलसँगै जोरपाटी घर आउन रत्नपार्कमा बस कुरिरहेका थिए । भैरव पनि गोरखापत्र कार्यालयबाट घर फर्कनेक्रममा बस चढ्न त्यहीँ आइपुगेका थिए । अचानक त्यहाँ देखापरेका प्राध्यापक खड्गमान श्रेष्ठले भैरवलाई सोधे, ‘मेरो लेख के भयो भैरवजी ?’ ‘भैरव’ रूपमै अर्याल कड्किए, ‘के म अफिस बोकेर हिँडेको छु, बाटो–बाटोमा सोध्नलाई, कार्यालयसम्बन्धी कामको कुरा कार्यालयमै आएर गर्नुहोस् ।’ बिचरा, प्राध्यापक अवाक् भए । ‘सधैँ शान्त सौम्य मुद्रामा देखिने आफ्ना अभिभावकसरहका भैरव दाइ त्यसरी क्रोधित भएको जिन्दगीमै पहिलोपटक देखेको हुँ,’ चालिसे स्मरण गर्छन् । 

 

भैरवलाई निकै स्नेह गर्ने र भैरवले पनि उत्तिकै सम्मान गर्ने गोरखापत्रका तत्कालीन प्रधानसम्पादक गोपालप्रसाद भट्टराईको बहिर्गमनबाट पनि भैरवलाई निकै चोट पुगेको देखिन्छ । त्यतिवेला मन्त्रिपरिषद्मा रहेका प्रभावशाली मन्त्रीद्वय विश्वबन्धु थापा र ऋषिकेश शाहको सम्बन्ध राम्रो थिएन । प्रधानसम्पादक भट्टराईमाथि शाह समर्थकको अपजस थियो । एक दिन शाहको भाषणमाथि लेखी प्रकाशित भइसकेको सम्पादकीयमा तीन दिनपछि सम्पादकीयकै रूपमा गोरखापत्रमा जस्ताको तस्तै छापिन पुग्यो । यही कारण देखाउँदै भट्टराईलाई पदबाट हुत्याइदिँदा भैरवलाई नराम्रो आघात परेको थियो । (शाश्वत व्यंग्य शिल्पी–२०७५) 

 

भैरव आफ्ना साथीभाइहरूसँग भन्थे, ‘अन्याय भयो, काम गर्ने रामे, चोट पाउने श्यामे भनेझैँ गल्ती नगर्ने व्यक्तिलाई गल्तीको सजाय दिइयो । बिचरा, गोपालजीलाई गोरखापत्रको सम्पादकबाट पापिष्टहरूले हटाइछाडे, गोपालजी साँच्चै नै महान् व्यक्ति रहेछन्, अरूको बचाउ गर्न आफ्नो बलिदान दिन सक्ने त्याग जो कसैमा हुँदैन, गल्ती गर्नेलाई खोजी गरेर आफू सफाइ लिनतिर लागौंँ भने उनीहरूका बालबच्चा भोकै पर्छन् रे भनेर आफू दोषी बन्न स्वीकार गरे, के गरौँ त्यो त्याग मैले गर्न नसक्ने अवस्थाको प¥यो, आखिर गल्ती नै हेर्ने हो भने त्यसको जिम्मेवार म पनि हुँ, कस्तो अन्याय हो, पाइला–पाइलामा अन्याय छ ।’ 

 

०३० सालमा त्यतिवेलाका चर्चित व्यंग्यकार केशवराज पिँडालीले गोरखापत्रको लेख–रचनाको विभागको जिम्मेवारी लिए । यस घटनालाई लिएर भैरव आफ्नै पाराले यसरी व्यक्त गर्थे ‘हेर न अरूका तालुमा आलु फल्छ मेरो तालुमा त पिँडालु पो फल्यो’ भैरव पिँडालीका मुख्य सहयोगी थिए । पिँडालीकै शब्दमा भैरवको लेखनी प्रवाह करिब १२ वर्षजति मात्र रह्यो । उनी आँधीसरह आए, बौद्धिक क्षेत्रलाई चमत्कृत तुल्याए र आँधीसरह नै हराए पनि । गोरखापत्रमा कार्यरत रहँदा २०३२ सालतिर आएर भैरवको स्वाभाविक सिर्जनशीलतामा निकै कमी आएको र हप्ताको एउटा स्तम्भ लेख्न पनि उनी क्रमशः असमर्थ हुँदै गएका थिए । भैरवको त्यतिवेलाको कारुणिक अवस्थालाई पिँडाली यसरी चित्रण गर्छन्, ‘भैरव आफँैले लेखेका रचनाहरू स्वयंलाई चित्त नबुझी धरधर्ती च्यातिरहेका हुन्थे या टेबलमा घोप्टिएर चुपचाप रोइरहेका हुन्थे । स्रष्टाहरूले छाडेर गएका रचनाहरूमा उनी शंका, उपशंका निकाल्थे । उदाहरणका लागि भनौँ लेख ताना शर्माको छ भने उनी त्यसलाई ताना शर्माको लेख मान्न तयार हुँदैनथे ।’ पिँडालीले सम्झाएपछि भैरव भावुक हुँदै भन्थे, ‘म के गरुँ, बारम्बार झ्वाम्म केले छोप्छ केले’ त्यसताका उनी बारम्बार बिरामी भइरहन्थे र लेख–रचना शाखाबाट आफूलाई समाचार शाखामा सार्न चाहन्थे । तर, विडम्बना समाचार शाखामा पनि रम्न नसकेर उनी केही दिनमै फेरि लेख–रचना शाखामा नै फर्कन्थे । पछि उनले पिँडालीसँग मनको बह यसरी पोखे, ‘मनलाई कति बाँध्न खोज्छु, सक्दिनँ । म त खत्तम नै भएँ अब । कार्यालय आऊँ, काम गर्न सक्तिनँ, घर बस्यो, झनै के–के हुन्छ के–के ।’ 

 

आफूमाथिको अन्याय–अत्याचारबारे भैरव रोचक घिमिरेसँग यसरी मनको बह पोख्थे, ‘मलाई कार्यालयमा धेरैले षड्यन्त्र गरिरहेका छन्, धोका दिइरहेका छन्, तालुमाथि तातो खरानी खन्याइरहेका छन् । आफैँले अफिसमा घुसाएका पुङ्माङे पुरेतसमेत गजक्कसँग फुलेर मेरो दानापानी हर्न तम्सिरहेका छन् । आफ्नो बौद्धिक श्रमको कमाइ डकारेर मोटाएका नकचराहरूका अगाडि मगन्तेझैँ आफूले दाह्रा ङिच्याउनुपरेको छ । आफ्नै स्वजन, मान्यजनहरूसमेत अप्रत्यक्ष “यो बौलाहा” भनेर मलाई छेड हानिरहेका छन् । दुःख–सुख, नाम–बदनाम, नोकरी–चाकरी, देश–विदेश, घरवास आदि सारा कुराको अनुभव मैले पाइसकेँ । अब रित्तो ठाँडो भैसकेँ । म तिमीहरू कसैको पनि साथ दिन सक्तिनँ ।’

 

यसरी अर्याल शारीरिक तथा मानसकि रूपमा अत्यन्त जीर्ण हुन थाले । आफूलाई परेको चरम शारीरिक तथा मानसिक समस्याका बारेमा उनी आफ्ना परिवारका सदस्यभन्दा घनिष्ट मित्रहरू रोचक घिमिरे, रमेश विकल, डाक्टर नवराज चालिसे, हरिप्रसाद अर्जेल, बलराम अर्याललगायतसँग बढी खुलेर कुरा गर्थे । अर्यालको आर्थिक विवशता र सोझोपनको फाइदा धेरैले पटक–पटक उठाएकाले उनी विक्षिप्त हुन पुगेको घिमिरे बताउँछन् । घिमिरेका अनुसार कोही जापान घुम्न जान्थे भने तिनको जापानसम्बन्धी पूरा किताब भैरवले लेखिदिनुपथ्र्यो । लेख, कविता भैरव लेखिदिन्थे, विजयी भएर पुरस्कार र सुनको तक्मा अरू नै ढल्काउँथे । कोही वरिष्ठ सम्पादक कहलाएर मान–सम्मान र पत्रकार संघको सभापति पद नै पड्काउँथे । तर, तिनको हरेक अंकको सम्पादकीय भैरवले लेखिदिनुपथ्र्यो । कुनै महिला नेतृ महिलासम्बन्धी ग्रन्थ लेखेर ‘सम्माननीया’ हुन पुग्थिन्, तर तिनको त्यस ग्रन्थको प्रमुख लेखक भैरव आफ्नो पारिश्रमिक नपाएर धाउँदैमा हैरान हुन्थे । प्रकाशन संस्थाले पनि उनलाई नराम्ररी ठगे । हजारौँ कमाउन सक्ने किताब केही सय रुपैयाँ दिएर भैरवबाट लिइन्थ्यो र “सर्वाधिकार प्रकाशकमा” भन्ने कागजमा झुक्याएर सही गराइन्थ्यो । यसरी कलम घोटेर जीविकोपार्जन गर्ने एउटा कलमवीर पाइलैपिच्छे शोषित हुँदा उसको कविहृदय अधिकतम विचलित हुनु अन्यथा थिएन । त्यसमाथि शारीरिक रोगले असह्य पीडा दिइरहेकै थियो । गोरखापत्रका केही हाकिम र सहयोगीहरूको कर्कश व्यवहारबाट वाक्क भैरव दिक्क भइसकेका थिए । गोरखापत्रमा भैरवले गोपालप्रसाद भट्टराई, नारायणबहादुर सिंह, केशवराज पिँडाली, रामराज पौडेलबाहेक गोकुल पोख्रेल, भारतदत्त कोइराला, श्रीप्रसाद गौतम, कृष्णभत्त, श्रेष्ठ, पुरु रिसाल, मुकुन्द पराजुली, सुरेन्द्रराज द्विवेदीलगायतसँग काम गरे । 

 

भैरवको आत्महत्याभन्दा लगभग चार–पाँच महिनाअगाडिको कुरा गोरखापत्रमै कार्यरत रामचन्द्र गौतम यसरी स्मरण गर्छन्, “एक दिन बेलुका पाँच बजेतिर लौ अब हिँड्नुप¥यो भनेर भैरवले नजिकै सिउरिराखेको पुरानो कोट लगाउने तयारी गरिरहँदा जोसित पनि ठट्टा गरेर मस्ती लुट्नमा खप्पिस राधेश्याम भट्टले भने, ‘जाऊ, जाऊ गइहाल, हामीले चिया झिकाएका छौँ’ सधैँ शान्त तथा सौम्य मुद्रामा देखापर्ने भैरवले आफ्नो कडा रूप देखाउँदै भने, ‘ए भट्टे, तेरो चिया खान आस गरेर बसेको देखिस् ।’ कहिल्यै यसरी नकड्कने भैरवको विरूप रूप देखेर वातावरण नै केहीबेर स्तब्ध भयो । धेरैले भैरव मानसिक रूपमा केही अशान्त भएको लखसमेत काटे । (सम्झना २०३७)

 

गोरखापत्र संस्थानमा अर्यालले बुझाएको राजीनामा 

श्रीमान् अध्यक्ष तथा महाप्रबन्धक

गोरखापत्र संस्थान

धर्मपथ, काठमाडौं 

 

श्रीमान् 

 

केही समययतादेखि मेरो स्वास्थ्य बिग्रँदै गएको र आफैँलाई नियन्त्रित गर्न मलाई असाध्यै गाह्रो पर्ने महसुस गरिरहेकाले र यस्तो स्थितिमा गहन जिम्मेवारी सकी–नसकी बोकिरहन मलाई अत्यन्त संकोच लागेकाले यो लेख्तै छु । 

 

०१८ साल फागुन ५ गतेदेखि अविच्छिन्न रूपले आफ्नो घर–परिवार र इष्टमित्र कसैको कत्ति पर्वाह नगरी मैले गोरखापत्रका सेवा गर्दै आएको मेरो सहकर्मीहरू सबैमा विदितै भएको कुरा हो । विगत पन्ध्र वर्षहरूभित्र मैले कुनै ठोस देखिने योगदान केही दिन नसके पनि प्रशस्त श्रम गोरखापत्रमा दिएको छु, कैयौँ, रात, बिहान र दिन दिएको छु । आफ्नो र आफ्नो परिवारको खुसीहरू त्यही सेलाइ काम गर्दै आएको छु । 

 

अहिले पनि आफू संस्थाकै भलाइ सोचेर भोलिदेखि धेरै प्राणीको हातमुख नजोरिने स्थिति हुँदाहुँदै पनि यो जिम्मेवारीबाट अवकाश लिनु आफ्नो परम कर्तव्य सम्झिरहेको छु । 

 

मैले संस्थालाई दिनु केवल मैले लिएको सापटी बाँकी रु ४ हजारजति छ । मेरो जहान–परिवारको आपत्–विपत्लाई सोची सो माफी गरिदिनुहुन विनम्रतापूर्वक आवेदन गर्दछु र सो नमिलेमा मेरो सञ्चित कोषबाट त्यसको कट्टीमट्टी गरी त्यसमध्येको बाँकी र नियमपूर्वक मैले पाउने उपदान पाउने आशा पनि गर्दछु । 

 

श्रीमान् । गोरखापत्र संस्थानले दिनप्रतिदिन गर्दै आएको उन्नति देख्ता र आफूले पाएको जिम्मेदारीअनुसार अझ बढी काम गर्नुपर्ने बखत यसरी अवकाशका लागि राजीनामा प्रस्तुत गर्नुपर्दा मलाई अत्यन्त आत्मग्लानि लागेको छ । तर, पनि लेख्तै छु । यसैलाई नै मेरो राजीनामा ठानी स्वीकृत गरियोस् । यता केही समयदेखिका मेरो जिम्मेदारीका काममा कुन गल्ती त्रुटी छन् भने तिनका लागि क्षमाप्रार्थी छु । 

 

मैले पाउने रकमसकम मेरी श्रीमती शोभादेवी अर्याल, जसको नुहारनको नाम नन्दकुमारी अर्याल पनि छ, को माध्यम मेरा छोराछोरीहरूलाई प्राप्त गराइदिने आशा गर्दछु । 

 

गोरखापत्रको सेवा छाड्नुका साथै म देश र धरतीलाई छाड्दै छु । कारण मेरो अब केही गर्न नसक्ने भई भित्रैदेखि कुँजिँदै आएकाले र कलम वा कोदाली केही चलाएर आफू र आफ्ना आश्रितलाई संरक्षण दिन या देशका निम्ति केही गर्न नसक्ने भएकाले मैले अब आफ्नो बाँच्नु पनि बेकार सम्झेको छु । 

 

आशा छ, मेरो राजीनामा स्वीकृत हुनेछ । 

 

आज्ञाकारी

भैरवप्रसाद अर्याल 

लेख–रचना–सम्पादक, गोरखापत्र संस्थान 

काठमाडौं 

(कापीका चार पानामा लेखिएको यो राजीनामा निधनपछि नै अर्यालको कोटको खल्तीमा फेला परेको हो । उहाँले आफू जीवितै छँदै यो राजीनामा दिनुभएन । पछि गोरखापत्र संस्थानले परिवारमार्फत यसलाई प्राप्त गरेको हो ।)

 

भैरवको निधनपछि सहकर्मीहरूमाझ उनको विलक्षण शैलीको सम्पादन कलाबारे छलफल हुने गरेको वरिष्ठ पत्रकार धुव्रहरि अधिकारी बताउनुहुन्छ । २०३५ सालमा गोरखापत्र प्रवेश गरेका अधिकारी भैरवले कमजोर लेख–रचनालाई पनि अत्यन्त मिहीन ढंगले सम्पादन गरी प्रकाशित गरेपछि वास्तविक लेखक नै चकित पर्ने गरेको धेरै प्रसंग गोरखापत्रमा आफूले सुनेको स्मरण गर्छन् । अधिकारीका अनुसार भैरवले चाहेको भए आफ्नासमेत थुप्रै रचनाहरूलाई गोरखापत्र वा मधुपर्कमा प्रकाशित गर्न सक्थेँ । तर, उनले विरलै त्यसो गरे । 

 

मूलधारको पत्रकारितामा भैरवको सामीप्यता पाएर धेरै स्थापित भएका छन् । पत्रकारिताको क्षेत्रमा उनले पाएको देशी–विदेशी ज्ञानबाट दीक्षित भएकाहरूको सूची धेरै लामो हुन सक्छ । साहित्यिक पत्रकारिताका त झन् उनी ‘भीष्मपितामह’ नै हुन् । अर्यालसहित रोचक घिमिरे, रमेश विकल, पुरु रिसाललगायतको पहलमा पुस २०१८ बाट प्रकाशन थालेर अहिलेसम्म निरन्तर प्रकाशन भइरहेको विशिष्ट कोटीको साहित्यिक पत्रिका ‘रचना’को न्वारन अर्यालले नै गरेका थिए । रचना प्रकाशनका लागि भैरवसँगै रोचक र विकलले पेल्नुपरेको पापडको आयतनबारे उनीहरूभन्दा अरू बढी जानकार हुन सक्दैनन् । 

 

साथीभाइको स्वामित्वमा रहेको प्रेसका लागि काम खोज्न भैरव निकै जाँगर चलाउँथे । यहाँ रोचक घिमिरेको व्यास प्रेससँग सम्बन्धित एउटा घतलाग्दो सम्झना छ । व्यास प्रेसका लागि काम खोज्न भैरव र रोचक एकपटक आत्मीय मित्र क्षेत्रप्रताप अधिकारीको साझा प्रकाशनस्थित कक्षमा पुगे । अधिकारीले पेस्की रकमसमेत दिँदै गोपालप्रसाद रिमालको चर्चित कृति ‘मसान’ छाप्न अनुमति दिए । कलकत्ताबाट ल्याइएको उक्त अत्याधुनिक प्रेस जडान गर्ने मिस्त्रीको ढंग नपुग्दा बांगोटिंगो गरी पुस्तक छापिएपछि अधिकारीले साथीहरूले गरिखाऊन् भनी काम दिए पनि गुणस्तरहीन काम गरेपछि दोष आफ्नो थाप्लोमा आएको गुनासो पोखे । जवाफमा भैरवले उही आफ्नो मीठो शैलीको व्यंग्यमा भने, ‘महर्षि व्यासको नाम जोडिएको प्रेसलाई पहिलोपटक नै मसानजस्तो भूतप्रेत पिचास वर्गको नाम भएको किताब छाप्न दिएपछि कसरी हुन्छ त फलिफाप’ (अनुहार र अनुभूति–रोचक घिमिरे) 

 

रचनाको संस्थापक सञ्चालकमध्येका एक अर्याल ‘रत्नश्री’ पत्रिकाको सम्पादकमण्डलको पनि सदस्य हुनुहुन्थ्यो । गोरखापत्रको शनिवारीय परिशिष्टांक तथा मधुपर्कमार्फत उनको अभिभावकत्वमा साहित्यकार, साहित्यिक पत्रकारहरू कति उत्पादन भए, त्यसको लेखाजोखा नै छैन । सम्पादनमा अब्बल भैरवको प्रतिभालाई साझा प्रकाशनले निकै कदर गरेको पाइन्छ । साझाले छापेको साझा कथा र साझा निबन्धको सम्पादन भैरवले नै गरेका थिए । हास्यव्यंग्य साहित्यका ‘महारथी’ तथा लोकप्रिय कविका रूपमा आफूलाई स्थापित गरेकै समयमा मूलधारे पत्रकारितामा समेत जमिरहन भैरवलाई किमार्थ सजिलो थिएन । तर, उनी यसमा खरो रूपमा उत्रिए र पत्रिका भनेकै ‘गोरखापत्र’ भन्ने युगमा १५ वर्ष सोही संस्थामा बिताएर आफूलाई सिद्धहस्त पत्रकार प्रमाणित गर्दै व्यावसायिकतातर्फ उन्मुख नेपाली पत्रकारितालाई एक ठोस आकारसमेत दिए । पत्रकारिता र साहित्यलाई आफूमा मात्र सीमित गरेनन् । अरू धेरै पत्रकार र साहित्यकार जन्माए । यस अर्थमा मूर्धन्य स्रष्टा भैरव नेपाली साहित्य सँगसँगै पत्रकारिताका पनि अमूल्य निधि हुन् । 

 

(दुई दशकअघिदेखि पत्रकारितामा सक्रिय रहँदै पत्रकारिताको अध्यापन तथा अनुसन्धानमा संलग्न लेखक अर्याल, भैरव अर्यालका भतिजा हुन् ।)