• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुकुन्दराज शर्मा
२०७७ मङ्सिर २७ शनिबार ०८:३३:००
सम्झना

डा. ईश्वर बरालसँगको त्यो भेट

२०७७ मङ्सिर २७ शनिबार ०८:३३:००
मुकुन्दराज शर्मा

हामी जम्मा चारजना पात्रहरू– डा. ईश्वर बराल, डा. विष्णुविभु घिमिरे, शङ्कर थपलिया र म ।  समय – मध्यान्हको एक कप चिया खाऊँखाऊँ लाग्दो समय । स्थान– साझा प्रकाशनको मासिक पत्रिका ‘गरिमा’ को सम्पादकको कोठा, पुल्चोक । सम्पादकको कुर्सीमा विराजमान डा. विष्णुविभु घिमिरे, यसउप्रान्त आदर र प्रेमपूर्वक विष्णु दाइ भनिने छ ।

 

विष्णु दाइका सामुन्नेको कुर्सीमा डा. ईश्वर  बराल । छेवैको अर्को टेबल कुर्सीमा गरिमाका तत्कालीन सहायक सम्पादक शङ्कर थपलिया र वहाँको छेउको कुर्सीमा म । कोठा पूर्व दिशामा फर्केको छ, हामीचाहिँ लथालिङ्ग दिशामा फर्केका छौँ । मौसम जाडो थियो वा गर्मी ? त्यो म भन्न सक्दिनँ । म पनि गरिमामा लेख छपाउने रहरले त्यहाँ पुगेको थिएँ, त्यत्ति हो ।

 

वर्ष किटान गरेर भन्न सक्दिनँ तर नेपालमा बहुदलीय व्यवस्था आउनुभन्दा अलिकति अगाडि हो कि ? पक्कै हुनुपर्छ ।  म भर्खर–भर्खर दार्जीलिङबाट स्नातक पूरा गरेर काठमाडौँ फिरेको थिएँ । ममा पनि साहित्यप्रतिको अनुराग औधी थियो, छँदै छ । यो साहित्यानुराग मलाई दार्जीलिङको उपहार हो भन्ठान्छु । तर न विचार परिपक्व थियो न लेखन सीपमा कलात्मकता । लेखाइ कौशलको अभाव र विचारको दारिद्र्य भएपछि म केको साहित्यकार बन्न सक्थेँ ? तैपनि एकोहोरो रटान जारी थियो । 

 

गरिमाको मञ्चमा हामी बसिरहेका थियौँ, बराल सर पछिल्लो पात्रका रूपमा प्रवेश गर्नुभएको थियो । विष्णु दाइ र शङ्करजीले अभिवादनसहित स्वागत गर्नुभयो । मैले पनि नमस्कार गर्दा नै ठिक होला भन्ठानेर नमस्कार टक्रयाएँ ।


गरिमाको मञ्चमा हामी बसिरहेका थियौँ, बराल सर पछिल्लो पात्रका रूपमा प्रवेश गर्नुभएको थियो । विष्णु दाइ र शङ्करजीले अभिवादनसहित स्वागत गर्नुभयो । मैले पनि नमस्कार गर्दा नै ठिक होला भन्ठानेर नमस्कार टक्याएँ । बराल सरको नाउँ धेरै सुनेको थिएँ, धेरथोर कतै पढेको पनि थिएँ, तर साक्षात् कहिल्यै भएको थिएन । त्यसैले मैले वहाँलाई चिनिनँ ।

 

नदेखे पनि, नभेटे पनि वहाँको चर्चा सुन्दासुन्दै वहाँप्रति मेरो आदरभाव निकै बढी थियो । गरिमाको कोठामा प्रवेश गर्ने यी व्यक्ति कुनै साहित्यकार होलान् भन्ने लाग्दै थियो, त्यसमा पनि अलि ओजपूर्ण बोलीचालीले साहित्यकार माथिल्लै कोटिका हुन् कि क्या हो भनेर लख काट्दै थिएँ । त्यत्तिकैमा टेबलमुनिबाट एउटा सानो चिर्कटोमा ‘डा. ईश्वर बराल’ लेखेर शङ्करजीले मलाई चिनाइदिनुभयो । मैले थोरै ‘म्यानर’ देखाउँदै पसारिएका खुट्टा अलि भित्र सारेँ । बराल सर विष्णु दाइसँग मस्त गफिँदै हुनुहुन्थ्यो । मलाई मनमनै लाग्यो– कति राम्रो साइत जुराएर आएछु ? यति राम्रो मौका मिल्यो । 

 

हुन त यस्ता मौका मैले धेरै पाएको थिएँ तर कुनै पनि भिजेको दिया सलाईका काँटीझैँ  बल्दैबल्दैनन् । कक्षा एघार–बाह्र पढ्दा म दार्जीलिङमा साहित्यकार रामलाल अधिकारीको घरमा बस्थेँ । वहाँको विशाल पुस्तकालय र लेखन कक्ष मेरो सुत्ने बस्ने कोठा थियो । त्यहाँ राखिएका चाङ्का चाङ् पुस्तकहरूसँग मेरो कुनै प्रेम थिएन । मानौँ ती आमनेपालीका अमूल्य सम्पत्ति नै होइनन् ।

 

मेरा लागि फगत् पुस्तक थिए । तिनले मलाई सिसाभित्रबाट हेर्थे, मैले बाहिरबाट हेर्थेँ । हेराहेरमै समय बित्यो । मनभित्र गडेको पिरतीले बल्ल अहिले सताउँछ । त्यही कोठामा आइपुग्थे नेपाली साहित्यका मूर्धन्य स्रष्टाहरू त्यहीँ दार्जीलिङबाट, खर्साङबाट, कालेबुङबाट, मिरिक, डुअर्स, आसाम, मेघालय, सिक्किम र नेपालबाट । मलाई ती पाहुनाहरूप्रति कुनै रुचि हुन्नथ्यो ।

 

एक कप चियामा डेढ–दुई घन्टा गफ चुट्न आउने छिमेकीझैँ  लाग्थ्यो । कसैकसैले मलाई मेरो नाम, थर, वतन सोधिहाल्थे अन्यथा म आफ्नै कलेजका किताबमै हराउँथेँ । नर्थ पोइन्टबाट घिर्लिङ चढेर एक दिन हामी टकबर घुम्न गयौँ । रामलाल सरले त्यो ठाउँ आदरणीय लैनसिङ बाङ्देलको जन्मथलो भनेर चिनाउनुभयो । मलाई भने चियाबारीको सुरम्य दृश्यले तानिरहेको थियो । म चाहन्थेँ त्यो घिर्लिङलाई अझैँ  माथि पुर्‍याऔँ र टाढाटाढासम्मका चियाबारी नियालेर चरमानन्दमा पुरिऊँ । 


यदि म घडीको सुइ उल्टो घुमाएर त्यही समयमा पुग्न सक्दो हुँ ... । एक–एक दृश्यहरूलाई कैद गरेर राख्ने थिएँ आँखाको क्यामेरामा । हरेक वाणी, विचार, बहस, मन्थन, र निचोडहरूलाई मनको ध्वनियन्त्रमा थुनेर राख्ने थिएँ । अहिले मेरा लागि ती अमूल्य खजाना हुँदा हुन् । विद्वान् र गुणी मानिसका मौखिक कृतिहरूलाई पनि जतन गरेर राखिदिनुपर्ने रहेछ भावी सन्ततिका लागि । सर्जकका शरीर नाशवान् भए पनि विचारहरूले अमरत्व पाउनुपर्छ । मसँग अहिले पछुतो मात्रै बाँकी छ । 


तर म नेपाली साहित्यका ती अमूल्य रत्नहरूलाई नाम र अनुहारले अहिले पनि झल्झली सम्झिन्छु ।  इन्द्रबहादुर राई सर बेलाबखत आइरहनुहुन्थ्यो । लामो भलाकुसारी गर्नुहुन्थ्यो रामलाल अधिकारीसँग । मीठो मानेर चिया खानुहुन्थ्यो, मसिनो स्वरमा मीठो नै बोल्नुहुन्थ्यो । बसाइ पनि नजिकै थियो । हामी हुकर रोडमा बस्थ्यौँ, वहाँ मोटर स्ट्यान्डदेखि लरेटो कन्भेस्ट जाने ओरालोको लो नगरमा ।

 

अल इन्डिया रेडियोका समाचारवाचक, नाटककार, कलाकार इन्द्रकुमार सिंहसँग भने मेरो खुब जम्थ्यो । साह्रै रसिलो गफ गर्ने मान्छे । दिल्लीदेखि खर्साङसम्मका रमाइला किस्सा सुनाउनुहुन्थ्यो । मलाई जहिले ‘ए पँडित !’ भनेर जिस्काउनुहुन्थ्यो । बाल्यकालमा रेडियोभित्र पसेर मेरा घरमा आउने इन्द्रकुमार सिंह मेरै छेउमा बसेर गफ हाँक्दा मज्जा लाग्थ्यो । कलेजमा इन्द्रबहादुर राईको ‘जार’ कथा र शिवकुमार राईको ‘नूर आलम’ कथा पढ्नुपर्ने भएकाले वहाँहरू आउँदा भने म वहाँहरूलाई शिरदेखि पाउसम्म मजाले निहार्थेँ । 

 

आउनुहोस् ! दार्जीलिङबाट फर्केर पुल्चोकको गरिमामय कोठामा फेरि पसौँ । सम्झनाहरू चञ्चल हुन्छन्, यताउति डुलिरहन्छन् । बराल सरको बोल्ने शैली, लवज पहिलोचोटि सुन्दा गजब लाग्यो । सुनिरहेँ । एउटा घटनामा छिरौँ । म बराल सरका अन्य आदि इत्यादि कुरा गर्नेवाला छैनँ । मेरो त्यो ध्येय नैै होइन । केवल एक छोटो बसाइको विवरण मात्रै कहन्छु । कुराकानी चल्दै थिए, चल्दै थिए, चल्दै गर्दा टेबलमुनिको घर्राबाट सुस्तरी आफ्नो सायद भर्खरै प्रकाशित कृति ‘कठघरामा उभिएर’ विष्णु दाइले बाहिर निकाल्नुभयो, पहिलो पृष्ठमा केही लेख्नुभयो र बराल सरलाई टक्रयाउन   खोज्नुभयो ।

 

दुवै हातले समाएर सम्मानपूर्वक पुस्तक अर्पण गर्दा बराल सरले पुस्तक समाउनुभएन । थाप्नु नै भएन । बरु कताको कहिलेको किस्सा पो सुनाउन थाल्नुभयो– “बागबजारमा फलानोले टाढैबाट देखेर दौडिँदै आयो र आफ्नो पुस्तक हत्तपत्त झोलाबाट निकालेर बाटैमा भिराउन खोज्यो, कमलादीमा अमुकले पनि त्यसै ग¥यो, पुतलीसडकमा ढिस्कानोले पनि त्यसै गर्‍यो । तर मैले किताब समाइनँ । भनिदिएँ– यदि मलाई नै किताब दिन मन लाग्या हो भने घरमै आएर दिनू ।”


अब विष्णु दाइलाई पर्‍यो फसाद । न हात पछाडि लैजानु, न अगाडि बढाउनु । कति सकसपूर्ण  मिजास ? वा सही सिद्धान्त ? तर बराल सरले सहज गराउँदै भन्नुभयो– “तर आज म लिन्छु ।” विष्णु दाइले राहतको सास मात्रै फेर्नु भएन, हर्षित पनि हुनुभयो । अनुहारले बताउँथ्यो ।  कुनै मिजास सिद्धान्त र मूल्य–मान्यताहरूले डोर्‍याएका हुन्छन्, कुनै मिजास आफ्नै स्वभाबाट निसृत र निर्देशित हुन्छन् । 

 

ती बागबजार, कमलादी र पुतलीसडकमा हत्तपत्त किताब थमाउन खोज्नेहरू कोही उदाउँदा प्रतिभाहरू थिए होलान्, कोही उदाएर मध्याकाशतिर लम्कँदै थिए होलान्, ती सबैको नाम वहाँले भने पनि मैले सम्झिने कुरा भएन । ती स्रष्टाहरू पछि वहाँको घरमै किताब टक््रयाउन पुगे कि पुगेनन् त्यो पनि जानकारी छैन । 
एउटा अनुभवचाहिँ के भयो भने मूर्धन्य अग्रज स्रष्टाहरूको हात हुर्कँदै गरेका नवयुग शिल्पीहरूका लागि आशीर्वाद र हौसला हुँदा रहेछन् । यही उत्प्रेरणा र दिशानिर्देशनले नै साहित्यको अमृतधारा अविच्छिन्न रूपमा बगिरहने रहेछ । 

 

मैले पनि किशोरावस्थामा धेरै वाहवाही र स्याबासी पाएको छु मूर्धन्य स्रष्टाहरूबाट । अझैँ सम्म सम्झिँदा मात्रै पनि खुट्टा बुरुक्क उफ्रिन खोज्छन् । धेरै दिनसम्म मेरो मनले भनिरह्यो– जे होस् ! बूढाको सिद्धान्त कडा रैछ ।  बराल सरलाई आज फेरि अक्षरहरूलेनमन गर्न चाहन्छु । 

इति ।