• वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
डा. माधव प्रसाद पोखरेल
२०७७ पौष ४ शनिबार १०:०१:००
समाज

थारुको सांस्कृतिक इतिहास

२०७७ पौष ४ शनिबार १०:०१:००
डा. माधव प्रसाद पोखरेल

जातिशास्त्रीय, जाननिक र सांस्कृतिक विश्लेषणका आधारमा थारुहरू कुसुन्डा बाहेक नेपालका सबभन्दा पुराना आदिवासी जस्ता लाग्छन् । डोर बहादुर बिस्ट (१९७६ इ, ‘पिपल अफ नेपाल’) ‘तराईमा बस्ने सबभन्दा पुराना जाति मध्ये थारु एउटा होला भन्छन् भने, भानड्रिमहरू (राकेश तामाङ र नीरज राईहरू, २०१४ इ, ‘...थारु एन्सेस्ट्री’) र कुताननहरू (२०१६ इ, ‘माइटोकोन्ड्रियल जिनोम्स अफ अस्ट्रोएसियाटिक एन्ड ताइ(कदाइ लेङ्वेजेज’) ले गरेको जाननिक अध्ययनबाट थारुहरू यस भेगमा बसोबास गर्ने पहिला आदिवासी प्रमाणित भएका छन् । 

 

थारुहरू नेपालको चारकोसे झाडी(तरी)का बिच बिचमा र दक्षिण तिर मेचीदेखि महाकाली सम्म र नेपालको सिमाना छेउमा भारतका बिहार, उत्तराखण्ड अनि उत्तरप्रदेशमा पाइन्छन्, जहाँका जनजाति मध्ये थारुको जनसङ्ख्या सर्वाधिक छ (विद्यार्थी, २०३१, ‘भारतीय आदिवासी’, ९७–९९, मुखर्जीहरू, २०१५ इ, ‘बडीमास इन्डेक्स...), त्यसैले थारुहरूलाई मूलतः नेपालकै आदिवासी भन्न सकिन्छ ।

 

वाङ र पशुपति रेग्मीहरू (२०१२ इ, ‘रोल अफ हिमालयाज इन पिप्लिङ नेपाल’) अनि भानड्रिमहरूले इलाहाबादमा पनि थारु बसोबास गर्ने कुरो देखाएका छन् । बिस्टले थारुहरू नेपालमा शिव–लेख भन्दा दक्षिण तिर जङ्गलका बिच बिचमा र दक्षिण तिर बस्छन् भन्दै तरीसँग एकदम घनिष्ठ भएर बसेका जाति हुनाले उनीहरूको नाम थारु भएको विचार व्यक्त गरेका छन् । तराईका औलो लाग्ने घना जङ्गलका बिच बिचमा पनि डरलाग्दा गैँडा, हात्ती, बाघ र बिखालु सर्प जस्ता जन्तुले घेरिएर बसेका थारु बस्ती पाइन्छन् (बिस्ट, १९७६)। 

 

एघारौँ शताब्दीमा महमुद गजनीका इतिहासकार अल बेरुनीले थारु (‘तारू’) लाई तिरहुत (‘तिल्वात’) का बासिन्दा भनेर चिनाए (एडवार्ड साचौ, २००२ इ, ‘अलबेरुनिज इन्डिया’, अध्याय १८, पृ० ९६)। तिरहुतमा कोसी नदी गङ्गामा मिल्छ (गुगल अर्थ)। नेपाल पछि थारुको बाक्लो बस्ती नेपालको दक्षिण सिमानादेखि तिरहुत सम्म नै अटुट रूपमा देखिएको छ ।

 

नामसाम्यले गर्दा कतिले ‘थार’ मरुभूमिसित ‘थारु’ नामको साइनो गाँसेका छन् । गौतम (२०४४, ‘थारु पुराण’) ले नामको व्युत्पत्ति संस्कृतको ‘थर्ब’ (ठाउँ सर्नु) धातुबाट गरे पनि मानक कोशमा ‘थर्ब’ धातु भेटिएन । खालि जनार्दन घिमिरेको पिएचडी प्रबन्धमा पालि धातुको सूचीमा ‘र्थ’ (तर्नु) धातु भेटिएको छ । कसैले जङ्गल (तरी) मा बसोबास गर्ने भएकाले ‘तरहुआ’ (तराईको आर्द्र भूमि) बाट अथवा ‘स्थविर’ बाट अथवा दिनरात खेतको खेतै अडिने भएकाले हिन्दीको ‘ठर्ह’ धातुबाट थारु नाम बनेको पनि तर्क गरेका छन् (अशोक कुमार पाठक, २००६ इ, ‘थारु जनजाति की सामाजिक–आर्थिक...’, पिएचडी प्रबन्ध, लखनौ विश्वविद्यालय, १६८)। कडा रक्सीलाई ‘थर्रा’ (ठर्रा) भनिन्छ, त्यसैबाट ‘थारु’ बन्यो होला (पाठक, १७५)। दाङ उपत्यकाको सुकौरागढका खण्डहरलाई थारुहरू आफ्ना राजा (दङ्गाई भुसाई अथवा दङ्गीशरण) को दर्बार ठान्छन् (बिस्ट)।

 

थारुहरू मुसलमानहरूको आक्रमणमा राजस्थानबाट नोकरहरूसित भागेका रानीहरूका सन्तान हुन् भन्ने कुरा कति थारुहरू पनि पत्याउँछन् (बिस्ट), उनीहरू आफुलाई राजा बेनका सन्तान मान्छन् (पाठक, १७३)। नेस्फिल्ड (१८८५ इ, ‘ट्राइब्स एन्ड कास्ट्स इन इन्डिया’, चम्पारन गजेटियर) ले थारुहरू गङ्गा बेँसीका आदिवासी हुन्, जो आर्यहरूले विस्थापित गरेर नेपाल तराईमा पुगे भन्ने धारणा राखेका छन् । 

 

नेस्फिल्डले थारुहरूलाई द्रविड र कोलहरूसँगै धेरै बान्की मिल्ने ठहराएका छन् भने, क्रुक (१९७५ इ, ‘ट्राइब्स एन्ड कास्ट्स अफ नर्थवेस्टर्न इन्डिया’, १६८)ले थारुको बान्की द्रविडसँग मिल्छ, जो नेपालमा बसोबास गरेर मङ्गोलाभ भएका हुन् भन्ने धारणा व्यक्त गरेका छन् ।

 

थारुहरू प्रधान र अप्रधान गरी दुई किसिमका मानिन्छन्, जसमा प्रधानहरू ६ ओटा थरका हुन्छन् भने, अप्रधानहरू २६ थरका हुन्छन् भन्दै थारुका किसिममा चितौनियाँ, दङौरा, दाङबदिया, कठरिया, खस, कोचिला, लालपुरिया, लम्पुछुवा, मर्दानिया, मझौरा, मोरङिया, राजहटिया, राना, रौतार, सोलारिया र सुनाहाहरूका नाम दिइएका छन् (बिस्ट)। अशोक थारु अनुसार भित्तामा तिन किसिमका घोडाको चित्र थारुका तिन किसिमका कुल देवता हुन् । भानड्रिमहरू भन्छन्, थारुहरूका दुइटा पुर्खा छन् ः आधा (नेपाल र उत्तराखण्डका चाहिँ) पूर्वी एसियाली, आधा (इलाहाबादका चाहिँ) दक्षिण एसियाली । नेपाली र कुमाउनी थारुको वंशाणु चाहिँ इलाहाबादका थारुको वंशाणुसित भन्दा भोट बर्मेली जातिसँग मिल्छ ।

 

आज कम्तीमा सात किसिमको मातृभाषा बोल्ने थारुका विषयमा भानड्रिमहरू यस्तो लेख्छन्, धेरैजसो थारुहरू आपसमा बोल्ने र अरुसँग बोल्ने गरी कम्तीमा दुई किसिमको भाषा बोल्दछन् । उदाहरणका लागि मैथिल क्षेत्रका थारुहरू आँखालाई आपसमा ‘टेँड’ भन्छन् भने, अरुसँग ‘आँइख’ भन्छन् । ‘टेँड’ चाहिँ भोट बर्मेली शब्द हो, जसले उनीहरूको त्यो पुख्र्याैली तिर पनि सङ्केत गर्छ । अनेक किसिमको मातृभाषा बोल्ने भए पनि एकै किसिमको भौगोलिक र पर्यावरणीय बसोबासले गर्दा थारुहरू आफुलाई विविधता भएको एउटै जाति मान्दछन् । यस्तो दाबीलाई समर्थन गर्ने केही वंशानुगत प्रमाण पनि पाइएका छन् । आफ्नै जातिमा बिहे गर्ने अनेक सामाजिक र सांस्कृतिक विविधता भएका र अनेक मातृभाषा बोल्ने समूहहरूको एकीकृत जातिको नाम थारु हो । भारतमा चाहिँ थारुलाई परिगणित जातिमा राखिएको छ ।

 

थारु आधारभूत रूपमा आग्नेय जाति हो । आग्नेय जातिले नै उत्तरपूर्वी चीनमा भोटचिनियाँ जातिलाई सुँगुर र भेडा पाल्न अनि कोदो, कागुनो र फापरको खेती गर्न सिकायो, दक्षिणपूर्वी चीनको याङ्सी नदीको बेँसीमा धान खेती थाल्यो । त्यहाँबाट रक्तमिश्रण सहँदै थारु थाइल्यान्ड, युन्नान, बर्मा र असम हुँदै पहाडको फेदफेदै नेपाल आई पुग्यो । 

 

सबै नेपाली जाति भन्दा थारुहरू आफ्ना फरक चलनले टड्कारै चिनिन्छन् ।  पाठक (१९१–१९२) लेख्छन्, थारुहरूमा पहिले मातृसत्ता थियो । थारुहरू भन्दा थरुनीहरू गोरा र बढ्ता परिश्रमी, जिम्मेवार र अनुशासित हुन्छन् । थरुनीहरूको जिउ गोद्‍ने चलन छ । राना थारुहरूकहाँ महिलाहरूले नै पुरेत्याइँ गर्छन् । अन्यत्र गुरुवा प्राय पुरुष नै हुन्छन् । पूर्व तिर बाहुन पुरेत लगाउने चलन पनि चलेको छ (बिस्ट)। थरुनीहरूलाई नसोधी थारुहरूले आफ्नो चल अचल सम्पत्ति यताउती गर्न पाउँदैनन् । श्रावस्ती र बलरामपुरका ‘दँगुरिया’ थारुले कसैकी विधवा बिहे गर्‍यो भने, उसले झड्केलालाई आफ्नो जेठो छोरो मान्छ (पाठक, २०७)। थारु समाजमा गौना अघि यौन लसपस अस्वाभाविक मानिँदैन र त्यसलाई समाजले आँखा चिम्लिन्छ ।

 

गैर थारुसित यौन सम्बन्ध चाहिँ दण्डनीय हुन्छ । थारु घरमा थरुनीको शासन चल्छ । विधवाले देवरसित बिहे गर्न नमानेर अर्कै पति (चुटका) रोजी भने, उसले चुटकाको टुप्पी अलिकति काटी दिने चलन छ (१९५)। चितवनमा दुई तिन वर्ष ससुरालीमा काम लगाएर केटो पास भए पछि मात्र छोरी दिने चलन छ (बिस्ट, १९७६)। बाबुले केटाकेटी खोजी गरेर भएका बिहेमा प्राय बेउली जेठी हुन्छे । यसरी पन्ध्रसोर वर्षका केटीको बिहे सातआठ वर्षका केटासित पनि हुन्छ (बिस्ट, १९७६)। बेउलीका घरमा गाउँका केटीहरू भेला हुन्छन् र आफ्नी साथी लैजान लागिस् भनेर बेउलालाई र उसका साथीहरूलाई मनपरी गाली गर्छन् (बिस्ट, १९७६)। बेउली अन्माउँदा आमाबाबुले एक सिसी बिख पनि दिन्छन् । बाटामा शत्रुले घिस्याउन लाग्यो भने, त्यही बिख खाएर आत्महत्या गर्नु भन्ने आशय हो अरे । यो चलन देखाएर उनीहरू आफुलाई चित्तौरका राणाहरूसित आफ्नो साइनो जोड्न खोज्छन् (बिस्ट, १९७६)। 

 

थारु समाजमा मामाचेला फुपुचेलामा बिहेवारी चल्छ, तर दिदीबहिनीका छोराछोरीमा बिहे हुँदैन । थारुहरूकहाँ ‘सटाहा भोज’ वा ‘बदल भोज’ दुई परिवार बिचमा, ‘तिनतिकथी वा तिरकोन भोज’ तिन परिवार बिचमा र ‘चारकोन भोज’ चार परिवार बिचमा बिहे गर्ने परम्परा थियो । यस चलनले अनमेल बिहे धेरै हुन्थ्यो । चितवनमा बिहेको दिन बेउलो बिरामी भएर जन्तीसँग जान पाएन भने, बिहेका वेलामा बेउलाले एकछिन पनि नछोड्ने भाला जन्तीसँग पठाई दिन्छ अरे । त्यसै भालालाई बेउलाको प्रतीक मानेर बिहे सम्पन्न गरिन्छ अरे (२१२)। बेउलाका घरमा बेउली एक वास बस्छे ।

 

भोलि पल्ट बेउलीका घरबाट आएका पाहुनाहरूलाई बेउलाका घरकाले इनारबाट ३०–३२ बाल्टी पानी खन्याएर एकदम ख्यालठट्टा गरेर नुहाइधुवाइ गरेर सेवा गर्छन् र भोज खुवाएर बेउलीलाई माइत पठाउँछन् (२१२)। थारुमा अरु हिन्दु महिलालाई भन्दा बढ्ता स्वतन्त्रता हुन्छ । पुनर्विवाहको चलन पनि छ । थरुनीले विधवा हुनु पर्दैन, देवर अथवा अर्को कसैसित विधवाले बिहे गर्न पाउँछे ।

 

वैवाहिक सम्बन्ध राम्रो भएन भने, थरुनीले ‘उरारी प्रथा’ अनुसार अर्को बिहे गर्न सक्छे । त्यस परिस्थितिमा दोस्रो पतिले जारी तिर्नु पर्छ । साटो बिहेले गर्दा बालख पतिसँग परेकी तरुनीले अर्को युवकसँग माया लगाउन सक्छे । पञ्चायतले दुवै प्रेमी प्रेमिकालाई पुरानै साइनो कायम राख्न सल्लाह दिन्छ, तर मायालुहरूले मानेनन् भने, केटीले आफ्नो गहना बुझाउनु पर्छ र प्रेमीले पुरानो पतिलाई पञ्चायतले तोकेको जारी तिर्नु पर्छ । यस पछि ‘उढरी बिरादरी’ अनुसार केटी नयाँ केटाकी पत्नी हुन्छे । राँडाले पनि त्यसै गरी उढरी पत्नी पाउन सक्छ (पाठक, २१३)। 

 

थारु समाजमा विवाह पूर्व प्रणय सम्बन्ध बारे पाठक लेख्छन् : अमीर हसन अनुसार खिरीका किशोरी थरुनी (ढिङरिया) हरू रजोदर्शन पछि ‘ढिङरा’ खोज्न थाल्छन् । अलिक बढ्ता उमेर पुगेका केटाकेटी उनीहरूलाई सुहाउँदो केटो खोजी दिन पनि लाग्छन् । यस्ता प्राय सबै केटाकेटीहरूका बिचमा यौन सम्बन्ध हुन्छ । विवाहपूर्वको यस्तो यौनाचार उनीहरूको बिहेमा बाधक हुँदैन, तैपनि ती युवा युवतीले आफ्नो यौन सम्बन्धको सुइँको बाबुआमालाई दिँदैनन् ।

 

आमाबाबु पनि आफ्ना छोराछोरीको यस्तो यौनाचारको वास्ता गर्दैनन् । पतिसँग विवाह सम्बन्ध स्थायी नै हुन्छ, तर वेलाबखतमा कतै आकस्मिक यौन सम्बन्ध हुनु थारु समाजमा स्वाभाविक मानिन्छ । पुरानो प्रेमीलाई छोडेर नयाँ प्रेमीसँग सम्बन्ध गाँस्नु पनि त्यति अप्ठ्यारो हुँदैन । बिहे भई सके पछि माइत पुगेकी केटीसँग पुरानो प्रेमीसँग लसपस पनि हुन सक्छ । होलीका वेलामा यस्तो सम्बन्धलाई प्राय छुट हुन्छ (पाठक, २१३–२१४)। 

 

थारु संस्कृतिमा सुँगुर अनिवार्य छ । बेउली पहिलो पल्ट माइत जाँदा उसले आफ्नो घर पट्टिको कोसेलीमा सुँगुरको टाउको, रक्सी र गुन्द्री लैजान्छे (बिस्ट)। थारुहरूको कुलदेउता ‘गोरैया’ (माटाको डल्लाको अमूर्त रूप पिरपिराउ गर्ने देउता) लाई उनीहरू सुँगुरको वलि दिन्छन् (बिस्ट, १९७६)। पाठक (१८२–१८५) लेख्छन्, थारुहरूको विशेष पर्वका दिनमा सुँगुर र कुखुराको मासु अनिवार्य हुन्छ ।

 

उनीहरू बँदेलको पनि सिकार गर्छन्, पाल्तु सुँगुरलाई ‘जिता’ भन्दछन्, सुँगुरको सुकुटी पनि बनाउँछन् अनि मासुको अचार पनि बनाउँछन् । सांस्कृतिक रूपमा सुँगुर अनिवार्य हुने अर्को आर्य जातिमा हुँदैन । सुँगुरको मासु अनिवार्य रूपले खाने पनि आर्य जाति हुँदैन । उत्तरप्रदेशमा बालखको मुण्डनको दिन कुखुरा, खसी र ‘जिता’ (सुँगुर) काटिन्छ । जन्तीलाई बेउलीका घरमा खुवाउने खाने कुरामा ‘सिकार’ (कालो सुँगुरको मासु) र रक्सी हुनै पर्छ (२११)। चितवनका थारुकहाँ बेउलाका घरबाट बेउली भोलि पल्ट माइत फर्किँदा एकदुई बोतल रक्सी, एउटा गुन्द्री र सुँगुरको टाउको बेउलाको घरबाट कोसेली लिएर जान्छे (२१२)। माघ फागुनको ‘बरम अस्थान’ (ब्रह्मस्थान) पूजामा पनि साउनको ‘हरेरी’ पूजामा पनि सुँगुर वलि दिनु पर्छ (१९८)। 

 

अशोक थारु भन्दछन्, थारुहरूका सुँगुर बुझाउने ४ ओटा शब्द छन् : सुअर ‘दैनिक कामका लागि’, बघाहा ‘मन्छाउनु पर्ने प्रेत ?’, बराघ ‘देउतालाई चढाउने सुँगुर’ र वराह ‘वराह भगवान ।’ थारुहरूले ‘बघार’ देउता (वराह) लाई पूजा गरेनन् भने, वस्तुभाउमा पिरपिराउ हुन्छ भन्ने ठान्छन् । थारुहरू ‘जगनठ्या’ (जगन्नाथ) लाई मान्दछन् र जगन्नाथलाई पनि सुँगुर चढाउँछन् । प्राग्ज्योतिषका राजाहरू आफुलाई ‘वराहवंशी’ भन्थे (मु अब्दुल मण्डल, २००५ इ, ‘स्टेट फर्मेसन इन ब्रह्मपुत्र भ्याली’)। तिरहुतको पूर्व तिर पनि ‘वराह’ सँग मिल्दो उच्चारण भएका ठाउँ क्रमशः बरही, बाबुबरही, बरहरा र बरदही भन्ने ठाउँ छन् । पौराणिक भूगोलका पण्डित लाहा (१९७२ इ, ‘प्राचीन भारत का ऐतिहासिक भूगोल’, ३४) ले मगधका छेउमा ‘वाराह पर्वत’ र ‘वाराहक पर्वत’ छन् भन्ने लेखेका छन् ।

 

लामो प्रागितिहासिक बाटामा थारुले समुद्र र खोलामा माछाको संस्कृति सिक्यो, थाइल्यान्डबाट हात्ती कज्याउन सिक्यो, चीनको युन्नानमा बाँसको संस्कृति सिक्यो, असममा मातृसत्ता, शिवपार्वती, शीतला माई, जिउ गोद्‍ने चलन, बोक्सी र धामीझाँक्री, बङ्गालमा काली र भैरव अनि नेपालसम्मै आई पुग्दा वनका चराचुरुङ्गी र जरिबुटी थारु संस्कृतिमा नछुट्टिने भयो ।

 

पाठक (१८३–१८५) लेख्छन्, थारुहरू कोदाको रोटी पनि, भेडाको मासु पनि खान्छन् । माछा समात्ने थुप्रै किसिमका साधनका बेग्ला बेग्लै नाउँ र बेग्ला बेग्लै जातका माछाको पनि बेग्ला बेग्लै नाउँ, सिद्रा पनि थारुहरूको संस्कृतिको अभिन्न अङ्ग भएकाले र पुरुष र महिलाले बेग्ला बेग्लै माछा मार्नु पर्ने अनि माछा मार्न सपरिवार जानु पर्ने, झन्डै सधैँजसो माछा खानु पर्ने भएकाले थारुहरूको संस्कृति पानी छेउमा विकसित भएको रहेछ भन्ने बुझिन्छ । 

 

धानसँग अनिवार्य रूपले जोडिएको थारु नै एक मात्र नेपाली जाति हो । नेपालमा गरा बनाएर धानखेती थाल्ने जाति नै थारु हो । असोज महिनामा थारुहरू नयाँ धानलाई पूजा गर्छन् (पाठक, २०१), चामलकै जाँड पार्छन् र सपरिवार अनेक पल्ट पिउँछन् (१८५)। रक्सी थारु संस्कृतिको अभिन्न अङ्ग हो । सुत्केरीलाई दुई दिन सम्म रक्सी बाहेक अरुथोक खान दिइँदैन ।

 

बालखका जिउमा रक्सीको मालिस गर्ने चलन छ । पुरुष, स्त्री, बालख, बुढा सबै रक्सी खान्छन्, चाडबाड, पूजाआजा, मरौपरौ, सबै समारोहमा खुब रक्सी चल्छ, देउतालाई पनि चढाइन्छ । उत्तरप्रदेशका थारुहरूले सुत्केरी भएको दिन खाने कुरामा अलिकति रक्सी बाहेक केही पनि दिँदैनन्, दोस्रो दिन कुखुराको झोल दिन्छन् अनि राति चाहिँ जाँड खान दिन्छन् (पाठक, २०६)। ‘सौँठ्यारी’ भन्ने रातो धान थारुले आफ्नो ‘पाटा’ अर्थात्, देवस्थलमा माटाको ‘डेरी’ मा राख्नै पर्छ । अनिकालमा मात्र त्यो रातो चामल चलाउन पाइन्छ (अशोक थारु)। 

 

हात्तीसँग पनि थारु अभिन्न रूपमा जोडिएको नेपाली जाति हो । तराईका जङ्गलमा हात्ती पकड्ने, सधाउने, हात्तीको व्यापार गर्ने र नेपाल दरबारका समेत माउते थारु नै हुन्थे । अशोक थारु भन्छन्, देउखुरीमा डुमडुमा भवानीको पूजामा दुइटा हात्तीको मूर्तिको पूजा हुन्छ । थारु घरका भित्तामा पनि हात्तीघोडाको चित्र हुन्छ (अशोक)।

थारुहरू बाँसको घर बनाउँछन् (बिस्ट) र बाँसको शिवलिङ्ग पुज्छन् । थारुहरूका मुख्य देउता काली (‘मैनिया’), भैरव र महादेव हुन् (ललित प्रसाद विद्यार्थी, २०३१, ‘भारतीय आदिवासी’, ९७–९९)। ‘मैनिया’ (काली) अथवा ‘गौरैया’ (गौरी?) अनिष्टकारी पर्छिन् । गौरैयाको प्रतिमा माटाका साना साना पिण्डका रूपमा हुन्छ । मैनियाको प्रतीक चाहिँ लिस्याइलो माटो, स्वच्छ रुवा र सक्खर मिसाएर बनाइन्छ । त्यसको बिचमा सुनको टुक्रो पनि राखिन्छ । त्यस पिण्ड माथि सानो त्रिशूल पनि गाडिन्छ । घरमूली कुलदेवताका कोठामा सुत्छ र पूजा उसैले गर्छ ।

 

पुसमा थारुहरू शीतला माताको पूजा गर्दछन्, असार साउनमा ‘नियति गङ्गा’ (तु. तिरहुत) को पूजा गर्छन् (पाठक, २०१)। थारुका अरु देवीहरू ज्वाला, पारबती, हुलाका, पूरवा, कारी, भूमसेन हुन् (१९७)। थारुहरू पुथारु जादु, टुना, झारफुक, बोक्सी, डाइनी, धामी, झाँक्री, तन्त्र, मन्त्रमा विश्वास गर्छन् (२००)। थारुहरूको धार्मिक क्रिया भूत र आत्माहरूसित सम्बन्धित छ । उनीहरूका देउताहरू कि जङ्गली जन्तु कि हावा, कृषि, वन आदि प्राकृतिक वस्तुका रूपमा हुन्छन् । घरका नगरहिया देवता पनि वनकी शीतला माईको पनि माटाको मूर्ति बनाएर पूजा गरिन्छ । पर्वत निवासी भूत (परबतिया) लाई थारुहरू आफ्ना संरक्षक देवता मान्छन् । ‘अरिमल’, ‘भारमल’ र वनस्पति वनदेवता हुन् । बाघा भूत (बाघले मारेको मान्छे) र हाथिया भूत (हात्तीले मारेको मान्छे) को पनि उनीहरू पूजा गर्छन् । पितृहरूलाई पनि उनीहरू भूत नै ठान्छन् (पाठक)। 

 

माथिको विश्लेषणका आधारमा थारु आधारभूत रूपमा आग्नेय जाति हो । उत्तर भारतका खोला किनार र मध्य भारतका पहाड र जङ्गल ओगट्ने पहिलो जाति नै आग्नेय थियो (चटर्जी, १९७४ इ, ‘किरातजनकृति’, १४)। वंशाणुको अनुसन्धान (कुताननहरू) अनुसार आग्नेय जातिले नै उत्तरपूर्वी चीनमा भोटचिनियाँ जातिलाई सुँगुर र भेडा पाल्न अनि कोदो, कागुनो र फापरको खेती गर्न सिकायो, दक्षिणपूर्वी चीनको याङ्सी नदीको बेँसीमा धान खेती थाल्यो । त्यहाँबाट रक्तमिश्रण सहँदै त्यो जाति थाइल्यान्ड, युन्नान, बर्मा (टमु मैदान, मणिपुर, नागाल्यान्ड) र असम (डिब्रुगढ) हुँदै पहाडको फेदफेदै थारु नेपाल आई पुग्यो ।

 

यो तराई र तरीमै सहजाउने जाति रहेछ । लामो प्रागितिहासिक बाटामा यसले समुद्र र खोलामा माछाको संस्कृति सिक्यो, थाइल्यान्डबाट हात्ती कज्याउन सिक्यो, चीनको युन्नानमा बाँसको संस्कृति सिक्यो, असममा मातृसत्ता, शिवपार्वती, शीतला माई, जिउ गोद्‍ने चलन, बोक्सी र धामीझाँक्री, बङ्गालमा काली र भैरव अनि नेपाल सम्मै आई पुग्दा वनका चराचुरुङ्गी र जरिबुटी थारु संस्कृतिमा नछुट्टिने भयो । असमका दानव जाति चामललाई ‘मोइरङ’ भन्दछन् (बलराम चक्रवर्ती, २००५ इ, ‘दानव माइग्रेसन...’)। नेपालको मोरङ नाम थारु जातिकै देन रहेछ । ‘खा–सी’ जातिको नाम नै ‘धानका सन्तान’ भनेको रहेछ (खानिकर, २००० इ)। 

 

थारुहरूको मातृवंशाणु (एम ह्याप्लोइड) सित पूर्वी र दक्षिण पूर्वी एसियाली जाति (कोरियाली, मङ्गोलियाली, जापानी, केही चिनियाँ, तिब्बती, नेपाली, थाइवानी, मलेसियाली, भिएत्नामी, बोर्नियो, पपुवा न्यु गिनी, सोलोमन) हरू मिल्ने पाइएको छ (स्कर र वाल्यास, २००२ इ, ‘माइटोकोन्ड्रियल डिएनए इन साउथएसियन पपुलेसन्स’) भने, पितृलक्षण चाहिँ दक्षिण एसियालीसँग पनि मिल्छन् । यहीँको (आदिवासी) मातृवंशाणु र पूर्वी एसियाली पितृवंशाणु चाहिँ थारुमा मात्र पाइएको छ । यी दुइटा मध्ये पितृवंशाणु चाहिँ पुरानो देखिन्छ ।

 

मातृवंशाणु चाहिँ उत्तर तिरका (भोट बर्मेली) जातिको पाइएको छ । यी पूर्वी एसियाली वंशाणु थारुबाटै उत्तराखण्ड र उत्तर प्रदेशमा फैलेको देखिन्छ (भानड्रिमहरू)। अन्यत्र कतै फेला नपरेको नौलो पूर्वी एसियाली मातृवंशाणु (एम८१) पनि थारुमा फेला परेको छ (वाङ र पशुपति रेग्मीहरू, २०१२ इ, ‘...डिस्टिङ्कट स्ट्रेन्स अफ थारु एन्सेस्ट्री’)। थारुहरूका रगतमा भारतीय मूलका विशेषता पाइएनन् (सेमिनोहरू, १९९१ इ, ‘माइटोकोन्ड्रियल डिएनए अमोङ हिन्दुज...थारुज अफ नेपाल’)। औलो रोग नलाग्नु थारुको जाननिक विशेषता हो (भानड्रिमहरू)। यसरी नेपाली समाजमा थारु आग्नेय जातिको अहिलेको एक मात्र प्राचीन प्रतिनिधि देखिन्छ ।