• वि.सं २०७८ असार १ मंगलबार
  • Tuesday, 15 June, 2021
नयाँ पत्रिका
२०७७ पौष ११ शनिबार ०७:३२:००
इतिहास

बिपीले सोध्नुभयो, ‘बन्दुक हान्न आउँछ ?’

२०७७ पौष ११ शनिबार ०७:३२:००
नयाँ पत्रिका

सरकारी प्रशासककुमारमणि दीक्षित प्रधानमन्त्रीबिपी कोइरालाका सचिव थिए । २०१७ पुस १ गते महेन्द्रले कु गरी बिपी कोइरालाको पहिलो जननिर्वाचित सरकार विघटन गर्दा बिपीसँगै थिए दीक्षित । उनले त्यसवेलाको बिपीको मानसिकतालाई ‘फाटफुट सम्झना’ पुस्तकमा उतारेका छन् । सोही पुस्तकबाट शीर्षक परिवर्तन गरी तलका अंश साभार गरिएको हो :

 

२०१७ पुस १ को अघिल्लो दिन अरू दिनजस्तै साधारण दिनचर्या प्रधानमन्त्रीको रह्यो । त्यसको पनि एक या दुई दिनअघि जस्तो लाग्छ, सुशीला भाउजू केटाकेटीसहित विराटनगर जानुभएको थियो । उहाँहरूलाई पुर्‍याउन प्रधानमन्त्री गौचर जानुभयो । मार्ग मसान्तको दिन कानेखुसी गर्ने, कागजका टुक्रा दिन आउने ‘सिआइडी’हरूको संख्या अरू दिनभन्दा केही बढी थियो ।

 

कानेखुसीमा कहिले हरि शमशेरले मार्न खोजेको, कहिले अफिसरहरूले हमला गर्ने यस्तै कुरा र कागजमा पनि यस्तै फटाहा कुरा लेखिएका हुन्थे । पहिले–पहिले यस्ता कुरा सुनाउँदा प्रधानमन्त्रीले हाँसेर उडाइदिने गर्नुभएकाले मैले पनि यी बकमफुसेहरूको कुरामा वास्ता गर्न छाडेको थिएँ । प्रधानमन्त्रीलाई नभने पनि एडिसीलाई भने भन्ने गरेको थिएँ ।


म अफिसमा काम गर्दा दिउँसो र साँझ पनि भरतशमशेर आउनुभएको थियो रे ! राति एकपल्टचाहिँ भेटेर फर्कन लाग्नुभएको मैले पनि देखेको थिएँ । प्रधानमन्त्री भोलिपल्ट तरुण दलको बैठकमा दिने भाषणलाई पूरा गर्नेमा पनि केही छिन व्यस्त हुनुहुन्थ्यो । भाषण गोरखापत्र पठाई पत्र–पत्र गरी प्रुफ आउँथ्यो । त्यसलाई सच्याउने काम सक्दा राति १२ जति बजेको थियो ।


केही दिनदेखि म राति प्रधानमन्त्री निवासमै सुत्ने गरेको थिएँ । सो दिन सुत्न जाँदा उहाँ निदाउनुभएको थिएन, जाडो चौपट थियो । बिछ्यौनाबाट उत्रेर मट्टितेलको हिटर आफैँले बाल्नुभयो । मट्टितेलको केही गन्ध आउने भएकाले त्यो हिटर उहाँलाई उति मन पर्दैनथ्यो । मलाई जाडो भयो भनी मउपर स्नेह गरी बालिदिनुभएको मैले बुझेँ । 


म लुगा फेरी सुत्न गएपछि मलाई बन्दुक हान्न आउँछ भनी सोध्नुभयो । मैले आफूले जम्मा चारपल्ट बन्दुक चलाएको कुरा बताएँ । हाँस्नुभयो । फेरि उठेर मलाई वेगगुरियनले सौगात पठाएको उजिगन तकियामुन्तिर राख्नू भनी दिनुभयो । ‘मसँग पेस्तोल छ, यतिले १५–२० जनासम्मलाई ठिक गर्न सकिन्छ’ भन्नुभयो । म सन्न भएँ । कानेखुसी गर्नेहरूको कुरा साँचो रहेछ भन्ने लाग्यो । 


प्रधानमन्त्री राति राम्ररी सुत्नुभएन, खोकिरहनुभयो । राति तल गार्डहरूले पहरा दिँदा, घुम्दा बुट बजाएको एकदम चर्को आवाज कोठामा पनि आउँदो रहेछ । बिस्तारै गएर खुट्टा नठटाउनू भनी अह्राउन एडिसीलाई भन्दा हेडक्वार्टरबाट ‘अलर्ट’मा राखेको छ, राउन्ड त दिनुपर्छ भनेकाले मैले त्यसो भए क्यान्भास जुत्ता लगाउन लगाउनू भनी अह्राएर माथि गएँ । 


सुत्दा १ः२० जस्तै भएको हुँदो हो । भोलिपल्ट ५ बजे त उठ्ने प्रथा नै थियो । यसरी सो रात्रि बित्दै गयो, मलाई के थाहा कि भोलिको दिन प्रजातन्त्रलाई ‘बलिको बोको’ बनाउने कुदिन थियो । पुस १ गते बिहान उठेपछि दिनभरिको प्रोग्रामबारे प्रधानमन्त्रीलाई सुनाएँ । त्यही दिन ४ बजेतिर पूर्व १ र २ नम्बर जिल्लातर्फ उहाँको भ्रमण थियो । त्यो रात सुन्दरीजलमा बस्ने कार्यक्रम थियो (बिचराले त्यही ठाउँमा ८–९ वर्ष बन्दीको रूपमा बस्नुप¥यो) । बिहान ८ः३० बजेदेखि स्व. स. रुद्रराज पाण्डे, मेजर केशरबहादुर के.सी. र पुराना एक–दुई कर्मचारीसँग भेट्ने प्रोग्राम थियो ।

 

६–६:३० बजेतिर मलाई राति धेरै दुःख पाएका छौ, जाडो पनि छ, घर गएर आराम गर्नू, दिउँसो २–३ बजेतिर पूर्वतर्फ भ्रमणमा प्रस्थान गर्न ठीक परेर आउनू भनी बिदा दिनुभयो । पुरानो जिप जाडोले स्टार्ट नभएकाले सिपाहीहरूले धकेलेर स्टार्ट गर्नुपरेको थियो । २–४ थोपा पानी पनि छिटफुट परेको थियो । घर आएर दाह्री बनाई मुख धुन लागेका बखत करिब ८ बजेतिर प्रमले आफैँ फोन गरी त्रिपुरेश्वर आउनू भन्नुभयो । झटपट लुगा लगाएर गएँ । पार्टीका साथीहरूसँग भेट्दै हुनुहुन्थ्यो । पहिला टाइम दिएको स. रुद्रराज आउनुभएपछि तल ओर्लेर भेटको कार्यक्रम सुरु भयो । मलाई किन बोलाएको थाहा पाउन सकिनँ ।

 

एकछिनपछि उहाँले तरुण दलमा दिने भाषणको पढ्नेचाहिँ प्रति पाउनुभएनछ, त्यसैका लागि मलाई बोलाउनुभएको रहेछ । भाषणको प्रति मैले सधैँ जस्तै कोटको भित्रपट्टिको पकेटमा राखिदिएको थिएँ । मैलै २–३ बजेसम्मको छुट्टी बिहानै पाएको थिएँ । मूलढोकाबाहिर गएर मोटर अडियो । एडिसी मलाई बोलाउन आए । ‘रातभर मिहिनेत गरेको अब एकछिन गएर मेरो भाषण पनि सुन्नू कस्तो हुन्छ’ भन्नुभयो । म घर जान ओभरकोट लगाई ठीक परेको थिएँ । त्यसै मोटरमा पसेँ । त्यो वेला आकाश केही खुलेको थियो, हल्का घाम पनि थियो । यसरी प्रधानमन्त्री निवासबाट निस्किनुभएका बिचरा प्रधानमन्त्री फेरि त्यो निवासमा कहिल्यै फर्केर जान पाउनुभएन ।

 

तरुण दलको बैठक सुरु भयो । करिब ४–५ हजार युवकहरूको उपस्थिति थियो । मञ्चमा प्रधानमन्त्रीका अतिरिक्त गणेशमान, सूर्यप्रसाद, महासचिव श्रीभद्र शर्मा बस्नुभएको सम्झन्छु । भाषण सुरु भएपछि सुरेन्द्रराज शर्मा, म र प्रधानमन्त्रीको एडिसी अलि पर चौरमा घाम तापेर बसिरहेका थियौँ । प्रधानमन्त्रीको भाषण सकियो, श्रीभद्र शर्मा बोल्न थाल्नुभएको थियो । 


यसैवेला दरबारका समरराज कुँवर भन्ने अफिसर २–३ जना सिपाहीसँग हामी भएतिर आउनुभयो । एडिसीसँग अलि पर लगेर के कुरा गरेजस्तो लाग्छ– उनको पेस्तोल खोसेको रहेछ । मञ्चतिर गएर प्रधानमन्त्रीनिर पुगेपछि प्रधानमन्त्रीले टाउको उनीतिर फर्काएर उनको कुरा सुनेको देखियो । 


प्रधानमन्त्रीले ‘सूर्यबाबु आउनुहोस्‌, गणेशमानजी आउनुहोस्’ भनी मञ्चबाट ओर्लिनुभयो । तरुणबाट केही हल्ला हुन थालेपछि प्रमले ‘मलाई महाराजधिराजबाट बोलाइबक्सेछ, म पुगेर आउँछु तपाईंहरू आफ्नू कार्यक्रम चालू गर्दै गर्नुहोस्’ भनी आफ्नो मोटरमा चढ्न लाग्नुहुँदा ‘यसमा होइन, यो जिपमा जाऊँ’ भनी समरराजले त्यही बखत त्यहाँ आएको जिपमा चढाए । प्रधानमन्त्री अगाडि, गणेशमान र सूर्यबाबु पछाडि । समरराज र अरू २–३ जना गार्डसहित जिप कम्पाउन्डबाट बाहिर निस्क्यो ।


एउटा भारतीय अखबारवाला आएर ‘एरेस्टेड’ भन्यो (उनको नाम अहिले बिर्सें) । मैले ‘डोन्ट बि फुलिस’ भनेँ । हामी तीनजना (सुरेन्द्रराज, एडिसी र म) प्रधानमन्त्रीको मोटरमा बसेर हिँड्यौँ । ड्राइभरले कहाँ लगूँ भनी सोद्धा हामीले सिंहदरबार जाऊँ भनेपछि उतै लगे । त्यो स्थानबाट निस्किँदा सिपाहीले भरिएको ट्रक अगाडि–अगाडि थियो । जिप कता गयो, देखिएन ।


सिंहदरबारभित्र पस्दा सो ठाउँ सिपाहीले भरिएको रहेछ । के भएछ भन्ने लाग्यो । मलाई राजाबाट यो चाल भएको होला जस्तो लागेन । कागतका टुक्राबाट ‘मार्ने षड्यन्त्र’ हुन लागेको खबर दिनेहरूको भनाइमा सत्यता रहेछ भन्ने लाग्यो ।मूलढोकामा अस्ट्रेलियन राजदूतलाई बाहिर निस्किन नदिएर रोकेको रहेछ । उनले मलाई देखी सो कुरा भनेपछि मैले भित्र लिएर गएँ ।

 

झन्डामुनिको ढोकामा पुग्दा मन्त्री त्रिवेणिप्रसाद मोटरको झन्डा फरफराउँदै आए । उनले मलाई के भएको भनी सोधे । मैले थापाथलीको घटना भनेपछि ‘म पनि जाऊँ कि क्या हो’ भने । मतलब सिंहदरबारबाट निस्किने विचार जस्तो लाग्यो । मैले ‘कसैलाई पनि निस्किन दिएको छैन, राजदूतसमेत अड्किनुभएको छ । बरु मन्त्रालयमा गई के भएको रहेछ बुझ्नु जाति होला’ भनेँ र माथितिर लागेँ । 

 

‘बन्दुक हान्न आउँछ ?’ सुत्न जानुअघि बिपीले सोध्नुभयो । मैले चारपल्ट चलाएको बताएपछि बिपी हाँस्नुभयो । इजरायलका संस्थापक प्रधानमन्त्री बेन गुरियनले पठाएको उजिगन तकियामुनि राख्नू भन्दै भन्नुभयो, ‘यतिले १५–२० जनासम्मलाई ठीक गर्न सकिन्छ ।’


म पनि राजदूतलाई लिई आफ्नो अफिसमा गएर परराष्ट्र सचिवलाई फोन गर्न खोज्दा फोन काटिएको रहेछ । राजदूतलाई लगी नरप्रताप थापाकहाँ बुझाई फर्केर आफ्नो अफिसमा आउँदा उद्योग वाणिज्य सचिवले माथिबाट एक सानो नोट पठाउनुभएको रहेछ, ‘फोन चलेन, ३ बजे राजाको घोषणा छ रे, मसँग रेडियो छ सुन्न माथि आउने भए आए हुन्छ’ भनी लेखिएको थियो ।


उहाँ त्यही दिन सरकारी काममा कलकत्ता जाने भएकाले त्यहाँ रेडियोको मर्मत गर्न भनी अफिस मै रेडियो ल्याउनुभएको रहेछ । ‘घोषणा’ भन्ने सुनेपछि मलाई राजा महेन्द्रको कदमको बोध भई आँखा खुल्यो । रेडियो सुन्न जाँदा बीचको तलामा क्याबिनेट सचिवको कोठा भएकाले त्यहाँ पसेँ । उहाँले सचिवहरूलाई ४ बजे दरबार बोलाएको छ, ३ बजे घोषणा हुने र सरकारलाई अपदस्थ गरे जस्तो छ, भनी बताउनुभयो । मलाई ‘आफ्नै कोठामा बसिरहनू । दरबारमा तपाईंको बारेमा कुरा गरी आउँछु’ भन्नुभयो । 


उद्योग सचिवको कोठामा गई राजाको घोषणा सुनेँ । सन्दर्भ अर्कै भए पनि प्रजातन्त्रप्रतिको राजाको विचार देखाउनेमा भने मातृका सरकारलाई विघटन गर्दा सन् १९५५ तिर दिएको घोषणासँग हुबहु मिल्दोजुल्दो जस्तो लाग्यो । त्यो दिन कर्मचारीहरू ८ः३०–९ः०० बजे साँझ सिंहदरबारबाट निस्किन पाए । एक–दुई मन्त्री सिंहदरबारमा लुकेकाले खोजी भइरहेको भन्ने सुनियो । सिंहदरबारको क्याबिनेट र बाहिरको सानो पसलमा भएको खानेकुरा, चिया, चुरोट सबै सकिएकाले दिनभर केही खान पाइएन, रातिको कम निद्रा र भोकले सताएको थियो ।

 
बल्लबल्ल एकसरो लाइन गरी हरेकको मुखमा टर्चलाइट लगाई हेर्दै कर्मचारीलाई एक–एक गरी दक्षिणको ढोकाबाट छोड्ने काम सुरु भयो । ‘जमानसिंह कहाँ छ ?’ भनी २–३ पल्ट पल्टनका मानिसले भनेको पनि सुनिन्थ्यो । ज. नीर र ज. सुरेन्द्रबहादुर शाह जिपमा बसी कर्मचारी निस्केको हेरिरहेका थिए । म आफू चढ्ने गरेको जिप आर्मीको कब्जामा गइसकेको थियो । उद्योग सचिवले घर पुर्‍याइदिन्छु भन्नुहुँदा ठूलो सन्तोष लाग्यो । 


हामी चढेको खानी विभागको बागनमा खानीको केही वस्तु जाँचलाई ल्याएको तालाबन्द एक टिनको बाकस पछाडि रहेछ । त्यसभित्र के छ नखोली मोटर लान पाइँदैन भनी हामीलाई ओराले । साँचो नभएकाले बाकस खोल्न सकिएन, बागन त्यहाँ बास बस्यो । अब हिँडाइमा घरसम्म आउनुपर्‍यो भनी निस्कन लागेको बखत ओभरकोट लगाएका, ‘माकल टोपी’ तहसम्म तानेर लाएका हदराज बोहरा ढोकामा उभिएका रहेछन्‌ । भित्र बिपीलाई के–के चाहिन्छ भनी सोध्न पठाएको छ, सो खबर आएपछि म घर जिपमा पुर्‍याउँछु भनी उनले भनेपछि निश्चिन्त भएर जिपमा गई बसेँ ।

 
पुस २ या ३ गते गृहसचिव (प्रेमनरसिंह प्रधान)ले मलाई बोलाई प्रमनिवासमा खानतलासी लिने काममा रामबहादुर रावल, विनोदप्रसाद धिताल र म निजामतीतर्फबाट, सैनिकबाट सिंहप्रताप शाह (सायद त्यसबखत कर्नेल) र पुलिसबाट आइजिपी डी. राज पनि सामेल भएको कुरा सुनाउनुभयो । मैले मलाई यस्तो काममा जान इच्छा नभएकाले अरूलाई नै खटाइयोेस् भन्दा उसो भए सरदार विष्णुमणि (अञ्चलाधीश) लाई भेट्नू भन्नुभयो । भेट गर्न गएँ । उहाँले ‘राजाबाट बिपीले सबभन्दा पत्याएको कुमारमणि थिए क्यार, तसर्थ उनैलाई पठाइदिनू भनी तपाईंकै नाम किटिबक्सेको छ, तपाईं जानुपर्छ’ भन्नुभयो । 


बिहान ११ देखि ३–४ बजेसम्म फाइलहरू दराज, घर्रा, कोठाचोठा, भान्छा सब चहारेर हेरे । सुत्ने कोठामा झ्यालनेर राखिएको सुशीला भाउजूका चिठीहरू पनि एक–एक गरी पढे । त्यो कोठामा एउटा बस्न असाध्य सजिलो सोफा थियो । म त्यसैमा बसी तमासा हेरिरहेँ । सुशीला भाउजूको चिठी पढिसकेर ‘अंग्रेजीमा चिठीपत्र हुँदोरहेछ’ भन्ने विनोद धितालजीले रिमार्क गर्नुभएको सम्झन्छु । शंकरशमशेरले बेलायतमा राजदूत पाऊँ भनी लेखेको पत्र र सुशीला भाउजूका केही सानातिना गहना, प्रधानमन्त्रीको एक सानो पेस्तोलबाहेक अरू  केही पाएनन्, भए पो भेट्टाऊन् । तैपनि खोजतलासलाई तीन दिन लाग्यो जस्तो लाग्छ । 


तलासी सकिएको दिन साँझ केशवराज पिँडालीजीलाई झुलुक्क प्रधानमन्त्री निवासमा देखेँ । ‘मालको भर्पाई चाहिन्छ’ भन्नुभयो । आर्मीको कब्जामा माल थियो । तरुण दल बैठकमा जाँदा प्रधानमन्त्रीसँगसँगै गएपछि फेरि केशवराज पिँडालीसँग मेरो भेट भएको थिएन । मैले त उहाँ पनि गिरफ्तारीमा पर्नुभएछ भन्ने ठानेको थिएँ । कोही सैनिकले भर्पाई कागज उहाँलाई दिनुभयो । यसरी १८ महिनाजतिको पहिलो प्रजातान्त्रिक सरकारको अध्याय समाप्त भयो । 


सो बखत प्रधानमन्त्री निवासबाट लगिएको मालमा भारु एक लाखजति र नेपाली २५–३० हजार भएको कुरा अन्यत्र उल्लेख भइसकेको छ । यो रकम बिपीको नाममा नेपाल बैंकमा जम्मा गरिदिएका रहेछन् । आर्मीमा कसैले त्यति बुद्धि त पुर्‍याएछ । यसबाट सन् १९७२ तिर म काठमाण्डू आएको बखत ब्याजसहित ५ लाखभन्दा बढी पुगेको र सो फिर्ता पाउन प्रयत्न भइरहेको थियो । 


बिपीले आफैँ राजासँग आफ्नो पैसा फिर्ता दिन अनुरोध गर्नुभएको रहेछ, राजाबाट फिर्ता गर्ने हुकुम भएर पनि फिर्ता हुन अझ अरू ५–६ वर्षजति लाग्यो भन्ने पछि थाहा भयो । बिपीको स्वर्गवास भएपछि सुशीला भाउजूलाई रु. ५ लाख फिर्ता भएछ, जसमा ४०–५० हजार रुपैयाँ सो काममा केही दौडधुप गर्नेले आफूले मिहिनेत गरी फिर्ता गराएकाले कमिसन भनी लिइदिएछन् । जमानै सबैतिर कमिसनतन्त्रको थियो । त्यस बखत ५ लाखमा १० वर्षजतिमा हुने थप ब्याजचाहिँ अरू कसैले पच पारिदिएछन् । भन्न त आर्मीको खास खातामा जम्मा भएकाले फिर्ता गर्न नमिल्ने भन्ने जवाफ दिए भन्ने पनि सुनेको थिएँ । ‘धन देख्दा महादेवको पनि तीन नेत्र’ त्यसै किन भनिन्थ्यो ।


नेपालमा सन् १९५१ मा प्रजातन्त्र आयो । भारतको स्वतन्त्रतापछि ढिलोचाँडोको कुरा मात्र थियो, राणाशाहीलाई जानु नै थियो । २०१७ सालमा राजा महेन्द्रबाट एक प्रतिगामी कदम चालिबक्सिँदा ३०–३२ वर्ष देश पछाडिको पछाडि रह्यो जस्तो आफूलाई लाग्छ । देशको जीवनमा भने यी वर्ष क्षणिक हुन् । सबै मिलेर प्रजातन्त्रको विकासद्वारा गरिब जनताको उत्थान गरी देशलाई बलियो गर्ने समय छ ।