डिस्क्लेमर; शीर्षकमा उल्लेख गरिएको ‘पुरुष’ शब्दले आजसम्म यौनिकताको परम्परागत परिभाषामा अटिरहेका ‘हेटेरोसेक्सुअल’ अर्थात् विषमयौनिक पुरुषलाई जनाउन खोजेको छ । यो परिभाषामा नअट्ने, अन्य यौन अभिमुखीकरण भएका पुरुषको यौनिकता हामीकहाँ सामाजिक रूपमा लगभग अस्वीकार्य र कानुनी बाधा–अड्चनले भरिपूर्ण नै छ ।
०००
निकिशा श्रेष्ठ एक सर्वसाधारण किशोरी हुन् । उनी टिकटक नामको सामाजिक सन्जालमा वेलावेला आफ्ना भिडियोहरू पोस्ट गरिरहन्छिन् । हालसालै निकिशाका टिकटक भिडियोहरूलाई लिएर उनीमाथि भर्चुअल दुनियाँमा प्रशस्त हिंसा भयो । केही व्यक्तिहरूले उनलाई व्यक्तिगत गालीगलौज गर्दै उनकै नाममा सिंगै भिडियो नै बनाएर पोस्ट गरे ।
त्यसबाहेक उनका आफ्नै वा उनलाई गाली गर्दै बनाइएका भिडियोका तल लेखिएका प्रशस्त कमेन्टहरू पनि थप गालीगलौजयुक्त छन् । निकिशामाथि दुव्र्यवहार गर्नेहरू भर्चुअल दुनियाँमा मात्रै रोकिएनन् । उनलाई बाटोमा हिँडिरहेकै वेला मोटरसाइकलमा पिछा गर्दै दुव्र्यवहार गरियो । यो घटनाले उनले बाँचिरहेको जिन्दगी कति असुरक्षित छ भन्ने पनि प्रस्ट भएको छ । एकजना नागरिकका रूपमा उनले बाटोमा ढुक्कसँग हिँड्न पाउने मौलिक अधिकारको समेत हनन भएको छ जुन असाध्यै चिन्ताजनक कुरा हो ।
निकिशाले आजको मितिमा आफूलाई महिला भनेर चिनाउँछिन् । उनको निजी वृत्तमा यहाँभन्दा बढी छिर्ने र खोतल्ने अधिकार हामीमध्ये कसैलाई छैन । अर्थात् निकिशा जन्मिँदा उनको लैंगिक पहिचान के थियो र आज के छ भनेर सोधखोज गर्नु हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन । सार्वजनिक सामग्रीका रूपमा उनले पोस्ट गरेका भिडियो मन पराउने वा नपराउने अधिकार हामी सबैलाई छ । तर, उनलाई व्यक्तिगत गालीगलौज गर्दै भिडियो नै बनाएर पोस्ट गर्नेहरूले उनको यौनिकताको बारेमा पनि प्रशस्त भद्दा टिप्पणी गरेका छन् ।
भिडियो बनाउने वा कमेन्टमा गालीगलौज गर्नेहरूलाई सबैभन्दा ‘चित्त नबुझेको’ कुरा भनेको निकिशाको हालको यौनिक पहिचान हो । निकिशाले आफ्नो यौनिक पहिचान आफैँले निर्धारण गरेकी छिन् । यही विशुद्ध वैयक्तिक अधिकार प्रयोग गरेकै आधारमा उनीहरूले निकिशामाथि हिंसा गरिरहेका छन् । यतिसम्म कि उनीमाथि सडकमा भएको दुव्र्यवहारको समाचार लेखेको एउटा अनलाइन पोर्टलले उनको नामलाई उद्धरण चिह्नभित्र राखेको छ । त्यति मात्र होइन, समाचारको अन्तिममा भनिएको छ, ‘पहिला निकेश नाम भएका अहिले आफूलाई निकिशा भनेर चिनाउन चाहन्छन् ।’ जुन उनीमाथि साइबर र भौतिक संसारमा भएको हिंसाकै एउटा अंश हो ।
नयाँ होइन सिलसिला
महिलाको यौनिक पहिचान र यौन जीवनमाथि समाजको निगरानी, नियन्त्रण र आक्रमण निजी र सार्वजनिक वृत्त दुवैतिर कायम छ । ‘यौनबारे तपाईंको के विचार छ ?’ एकताका नेपाली सेलेब्रिटी र त्यसमा पनि अविवाहित अभिनेत्रीहरूलाई सकेसम्म नछुटाई सोधिने प्रश्न हुन्थे । अपेक्षा गरिने र लगभग शतप्रतिशत नै आउने उत्तर उही हुन्थ्यो, ‘विवाहपछि मात्र ।’ आज पनि नेपाली टेलिभिजनमा दुईजना पत्रकार प्रकाश सुवेदी र ऋषि धमलाले अभिनेत्रीहरूलाई बोलाएर सोध्ने प्रश्नमा उनीहरूको विवाह, प्रेम र यौनजस्ता अन्तरंग विषयबारे सुन्दै असहज लाग्ने प्रश्न बारम्बार दोहोर्याएर सोधिरहन्छन् ।
प्रकाश सुवेदी अभिनेत्रीहरूलाई उनीहरूको पेसासँग बिलकुलै असम्बन्धित सामान्य ज्ञानका प्रश्न सोध्ने, कार्यक्रममा आउन नमानेबापत अपशब्द बोल्ने, उनीहरूका टिकटक भिडियो विनाप्रसंग कार्यक्रममा देखाउने र त्यसबारे छुद्र टिप्पणी गर्ने आदि काममा त कुख्यात छन् नै । उनले हालसालै करिष्मा मानन्धरसँग लिएको अन्तर्वार्तामा रवि लामिछानेसँग ‘कस्तो’ खालको सम्बन्ध थियो भनेर बारम्बार खोतलिरहेको देखिन्छ । ऋषि धमलाले पाँच वर्षअगाडि अभिनेत्री ऋचा शर्मासँगको अन्तर्वार्तामा उनी विदेश गएका वेला उनका मित्रसँग होटेलमा सँगै बसेको र ‘बिहे भएपछि गरिने काम’ (अर्थात् यौनसम्पर्क) गरेको कि नगरेको भनेर दोहोर्याएर सोधेका छन् ।
आज पनि उनी अभिनेत्रीहरूले मेरो व्यक्तिगत जीवनमा यहाँभन्दा बढी नछिर्नुस् भनेर सीमा निर्धारण गरिदिँदासमेत जबरजस्ती गरिरहन्छन् । यी दुईवटा प्रसंग त उदाहरण मात्र हुन् । सबैजसो कार्यक्रममा सुवेदी र धमलाको पारा हेर्दा लाग्छ, मानौँ उनीहरूले कुनै महिला कलाकारले उनीहरूका अभद्र र व्यक्तिगत प्रश्नका जवाफ दिनैपर्छ भनेर कतैबाट लिखित आदेश लिएर आएका छन् ।
महिलाको यौनिकता र यौन जीवनमाथिको निगरानी, नियन्त्रण र आक्रमण धार्मिक व्याख्या र सामाजिक मान्यतामा मात्र सीमित छैन । महिलाको पाठेघरमाथि कानुनले नै नियन्त्रण गरेको छ ।
यौनिक पहिचान र यौनिक वा अन्य अभिव्यक्तिको आधारमै महिलालाई हेलाहोचो र दुव्र्यवहार गरिने प्रचलन आजको होइन । महिलालाई पराजित गर्ने सबैभन्दा बलियो अस्त्र यौनसँग सम्बन्धित शब्दहरूको प्रयोग गरेर गाली गर्नु हो भन्ने मनोविज्ञान हामीकहाँ बाक्लो गरी व्याप्त छ । ‘यिनले बिस्तरामा पनि यही ‘पोजिसन’ चाहियो भनेर झगडा गर्छिन् होला ।’ पत्रिकामा वा सामाजिक सञ्जालमा सार्वजनिक बहस गरेबापत महिलाले खेप्नुपर्ने यौनिक आसयका टिप्पणीमध्ये सबैभन्दा दोहोरिने टिप्पणी यही हो ।
बिस्तरामा पनि महिला आज्ञाकारी हुनु, आफ्ना यौन आकांक्षा वा रुचिलाई अभिव्यक्त नगर्नु, यौन पार्टनरको मागअनुसार नै उसलाई ‘खुसी’ बनाउनु नै असल पत्नी वा पार्टनर हुनु हो भन्ने अपेक्षा राखिन्छ । यसकै कारण सार्वजनिक बहसमा आफ्ना अभिव्यक्तिमा खुलस्त रहने महिलाको यौन पार्टनरको यौन जीवन सुखी छैन भनेर कतिपयले ठोकुवा गरेरै भन्दिन्छन् । सार्वजनिक वृत्तमा बहस गरेबापत प्रशस्त गाली खाने पुरुष र त्यही काम गरिरहेका महिलाले खाएको गाली तुलना गर्ने हो भने महिलाले खाने गालीमा यौनसम्बन्धी शब्दको प्रयोग गरिएको गालीको मात्रा अत्यधिक हुन्छ ।
‘चरित्र’को ठेकेदारी
हामीकहाँ कुनै महिला कुनै पुरुषसँग मित्रवत् सम्बन्धमा रहनु र त्यो पनि विवाहपछि, भनेको ‘चरित्रहीन’ हुनु हो । हालसालै हुम्लामा एक २३ वर्षीया महिलालाई ‘परपुरुष’सँग सम्बन्ध राखेको आरोपमा कपाल मुडेर निर्घात कुटपिट गरिएको छ । यसबारे लेखिएको समाचारमा भनिएको छ ‘परपुरुषसँग सम्बन्ध राखेको आरोप पुष्टि गरी कानुनी बाटो अपनाउनुको सट्टा उनका श्रीमान् र गाउँलेले जंगली कानुन प्रस्तुत गरेका छन् ।’ मिडियालाई पनि लाग्छ कि दुई वयस्क व्यक्तिबीचको सम्बन्ध ‘प्रमाणित गरिन र कानुनी बाटो अपनाइन’ लायक हो भनेर ठोकुवा गर्दै उसले महिलाको निजी जीवनमाथि नियन्त्रण गर्न पाउँछ ।
नागरिकता कानुनले महिलाको मातृत्व र प्रजननको अधिकार कुण्ठित गरेको कुरामा बिरलै मुख खोल्ने नेपाली मिडिया ‘अवैध सम्बन्धबाट जन्मिएको शिशु’जस्ता शीर्षकका समाचार छाप्न भने तँछाडमछाड गर्छन् । सुसन कर्माचार्यमाथि यतिवेला नारायणकाजी श्रेष्ठसँग नाम जोडेर गरिएको साइबर हिंसा चरित्रको ठेकेदारीको अर्को उदाहरण हो । आर्थिक लेनदेनमा उनीहरू दोषी होलान् वा नहोलान् त्यो अलग्गै कुरा हो । फरक लिंगका व्यक्ति भएकै आधारमा उनीहरूलाई सामाजिक सञ्जाल र केही अनलाइन पोर्टलहरूमा जसरी अन्टसन्ट भनिएको छ, त्यसले नेपाली समाजले कुनै वयस्क व्यक्तिको निजी स्पेसमा कतिसम्म धावा बोल्न सक्दोरहेछ भन्ने देखाउँछ ।
बडो जोखिम मोलेर यौन दुव्र्यवहारको अनुभव सुनाएका, बलात्कारको मुद्दा नै दर्ता गराएका महिलाको अनुभवलाई समेत ‘मन मिलुन्जेल चमत्कार, मन बिग्रेपछि बलात्कार’ भनेर खारेज गरिन्छ । दुईजनाबीचको यौनसम्पर्कमा एकजना मन्जुर नभए कुनै पनि बिन्दुमा पुगेर रोकिनुपर्छ भन्ने कुरा आजसम्म स्थापित हुन सकेको छैन । बलात्कार आरोपमा यतिवेला सुनसरी अदालतबाट सफाइ पाएका सिद्धबाबालाई आरोप लगाएकी महिलाले सयौँ मेसेज गर्थिन् भन्ने टिप्पणी आउनु त्यसैको उपज हो ।
बलात्कार वा यौनहिंसा लामो समय प्रेममा रहेका वा वैवाहिक सम्बन्धमा रहेका व्यक्तिहरूका बीचमा हुँदैन भन्ने हुँदैन । जुन बिन्दुबाट हिंसा सुरु भयो त्यही बिन्दुबाट नै हिंसाको रूपमा गणना हुन्छ । अस्ति, हिजो वा मिनेटअघिसम्म उनीहरूबीच कत्तिको प्रेमिल वा शारीरिक सम्बन्ध हुन्थ्यो भन्ने कुरा गौण हो । एक वर्ष पुरानो रोशनी शाही र कृष्णबहादुर महराको केसमा उनीहरूबीच सधैँ त्यस्तै ‘चल्दै’ आएको तर त्यो दिन उनलाई रक्सी र डिप्रेसनको औषधिले पुलिसमा फोन गर्न उक्साएको भन्नेजस्ता व्याख्या गरिएको छ जुन अत्यन्त आपत्तिजनक व्याख्या हुन् । बलात्कारको केसमा महराले सफाइ पाइसकेपछि अब बोल्ने ठाउँ रहेन होला । तर, रोशनी शाहीको अनुहारमा भएका नीलडामको रहस्यविना थप खोजतलास यत्तिकै छोडिनुमा उनलाई ‘परपुरुष’सँग नियमित भेट्ने गरेकी ‘चरित्रहीन’ महिलाको रूपमा चित्रित गरिनुबाहेक अरू कुनै कारण छैन भन्ने स्पष्ट छ ।
दुई वर्षअगाडि दरबारमार्ग बलात्कार केसमा मेडिकल रिपोर्टमा ‘महिलाको योनी सक्रिय रहेका कारण बलात्कार पुष्टि हुन गाह्रो भएको’ भन्नेसम्मको टिप्पणी गरिएको थियो । बलात्कार प्रमाणित हुनका लागि महिला यौनिक रूपमा सक्रिय रहनु हुँदैन भन्नेजस्ता धारणा राखिने हो भने यसले लामो प्रेम सम्बन्ध र बीसौँ वर्षदेखि वैवाहिक जीवनमा रहिरहेका महिलाले दिनहुँ र विनाचोटपटक भोगिरहेको बलात्कारलाई सम्बोधन गर्दैन ।
यौन दुव्र्यवहारका मि–टुजस्ता अभियानमा पनि मन मिलुन्जेल वि–टु, मन बिग्रेपछि मि–टु भनेर महिलाको आवाजलाई महत्वहीन करार गरिन्छ । जसरी हिजोसम्म पति–पत्नी नामक वैवाहिक सम्बन्धमा रहेका महिला–पुरुष ‘मन मिलुन्जेल पतिपत्नी’ रहे पनि मन नमिल्दाको घडीबाट विवाहविच्छेद गरेपछि पतिपत्नी रहँदैनन्, मि–टुको ह्यासट्यागको साथमा महिलाले उठाएको आवाज पनि ठ्याक्कै यस्तै हो । आज मन नमिल्दाको घडीमा भएको दुव्र्यवहारविरुद्ध उठाएको आवाजलाई मन मिल्दाको घडीमा गरिएको व्यवहारसँग जोडेर सही प्रमाणित गर्न मिल्दैन ।
एक मिनेट अगाडिसम्म दुईजनाको बीचमा सेक्स्टिङ (यौन आसयका शब्दहरू प्रयोग गरिएको संवाद) नै हुन्थ्यो र एक मिनेटपछि मात्र पनि कसैले उसलाई मन्जुर नभएको यौन आसयकै शब्द प्रयोग गर्छ भने उक्त कुरा हिंसा हो । हामीकहाँ यस्तोलाई ‘हिजोसम्म यस्ता कुराकानी स्वाभाविक रहेको, अचानक च्याटमा कुरा बिग्रेपछि आएर बाहिर लेखिदिएको’ भनेर टिप्पणी गर्नेहरूमा आफूलाई अधिकारको बारेमा निकै सचेत ठान्ने व्यक्तिहरू पनि देखिएका छन्, जुन अत्यन्त निराशाजनक कुरा हो ।
समाजको शक्ति सन्तुलनको अवस्थाको आधारमा कुनै विवाहित पुरुषले हिजोसम्म स्वाभाविक रहेका भनिएका ‘त्यस्ता’ संवादको आड लिएर ‘सक्छेस् भने प्रमाण देखा’ भन्न सक्नु र त्यही अनुपातमा कुनै विवाहित महिलाले मुख खोल्न नसक्ने कुरा निर्धारण हुन्छ । यस्तोमा हिजोसम्म कुनै विवाहित महिलाको कुनै विवाहित पुरुषसँग प्रेम वा यौनसंवाद सुचारु थियो नै भने पनि आज उसले आफूमाथि भएको दुव्र्यवहार बारेमा उठाएको आवाज खारेज गर्न लायक हुँदैन । मि–टुको सहायक ह्यासट्याग ‘आई बिलिभ यू’ अर्थात् ‘म तिम्रो कुरामा विश्वास गर्छु’लाई आफ्नो प्रभावशाली सामाजिक नेटवर्कमा रहेका–नरहेका व्यक्ति विशेषको आधारमा सुविधाअनुसार व्याख्या गर्ने हो भने हामीले आफूलाई हिंसाको विरोधी भन्नु बेकार छ ।
‘पवित्रता’को मनोविज्ञान
हामीकहाँ कुनै महिला ‘चोखी’ वा ‘पवित्र’ रहनु भनेको विवाह अगाडि ऊ ‘कुमारी’ अर्थात् कसैसँग यौनसम्पर्क नगरीकन बस्नु हो । यही मनोविज्ञानलाई सार्वजनिक वृत्तमा महिलाको व्यक्तित्वमाथि प्रहार गर्न बारम्बार प्रयोग गरिन्छ । ऋचा शर्मालाई ‘बिहे गरेपछि मात्रै गर्ने काम गर्यौ कि गरिनौ’ भनीभनी धमलाले दोहोर्याएर प्रश्न गर्नुमा यही मनोविज्ञानले काम गरेको छ ।
साढे दुई वर्षअगाडि दुर्गा प्रसाईं नामक मेडिकल कलेज सञ्चालकले नेपालमा निजी मेडिकल कलेज किन जरुरी छन् भन्ने आफ्नो तर्कलाई सदर गराउने कोसिस गर्दै भनेका थिए, ‘बंगलादेशमा हाम्रा छोरीहरूलाई त्यहाँका डाक्टरले करणी गरेर राखेका छन् ।’ प्रसाईंकै भनाइसँग ताल मिलाउँदै तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले भनेका थिए, ‘बंगलादेशमा हाम्रा छोरीचेलीहरूले आफूलाई नसुम्पीकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन ।’ आफ्ना नागरिकमाथि विदेशमा कुनै पनि खालको दुव्र्यवहार भएको नै हो भने त्यतिवेला राज्यले गर्नुपर्ने सम्बोधन र चाल्नुपर्ने कदम अरू नै हुन्छन् । तर, निजी मेडिकल कलेजलाई पोस्ने सरकारी नीतिको विपक्षमा उठिरहेका आवाजलाई दबाउने अस्त्रका रूपमा उनीहरूले अत्यन्त कमजोर र तुच्छ तर्कको प्रयोग गरे ।
छोरीहरू घरबाहिर गए भने स्वतन्त्र हुन्छन्, बिहेअगाडि नै यौनसम्पर्क गर्छन्, ‘चोखा’ रहँदैनन् भन्ने समाजको सनातनी डरका कारण धेरै युवतीको एक ठाउँबाट अर्को ठाउँमा जाने गतिशीलताको अधिकार पहिल्यै खोसिएको छ । छोरी कतै जान्छे, एक्लै बस्छे र ‘बिटुलिन्छे’ भन्ने मनोविज्ञानकै कारण पढाइ वा कामको सिलसिलामा घर छोड्नका लागि ठूलो संघर्ष गर्नुपर्ने छोरीहरूको संख्या यसै पनि समाजमा प्रशस्त छ । त्यसैको आड लिएर प्रसाईं र तामाङले नेपालमा प्रशस्त निजी मेडिकल खोल्नु भनेको नेपाली युवतीहरूको ‘पवित्रता’ बचाउनका लागि हो र डा. गोविन्द केसी र उनका समर्थकले यसो गर्न दिइरहेका छैनन् भनेजस्तो तरिकाले व्याख्या गरे । किनभने उनीहरूलाई थाहा छ, ‘छोरी बिटुलिने’ डर नेपाली आमाबाबुको सबैभन्दा कमजोर तन्तु हो र त्यहीँ प्रहार गर्दा सबैभन्दा बढी दुख्छ । त्यसैले उनीहरूले सबैभन्दा सजिलो मनोवैज्ञानिक अस्त्रका रूपमा यही प्रयोग गरे । आखिर उनीहरू पनि यही समाजमा यही मनोविज्ञान बोकेर हुर्केका व्यक्ति न हुन् ।
यौनिकताका द्वैध मापदण्ड
महिलाको यौन जीवनलाई पवित्रतासँग जोडिनुमा धार्मिक सांस्कृतिक व्याख्या पनि जिम्मेवार छन् । तिनै व्याख्यामा आधारित रहेर नेपाली समाज र त्यसमा पनि खसआर्य समाजमा महिला र पुरुषका लागि यौनका दोहोरा मापदण्ड बनाइएका छन् । यिनै मापदण्डको कारण महिलाको यौनिकता र यौन जीवनलाई ‘पवित्रता’सँग जोडिएको छ ।
हामीकहाँ हाबी रहेका हिन्दू धर्म–ग्रन्थहरूमा उल्लेखित कथामा यौनिकताका यस्ता दोहोरा मापदण्ड भेटिन्छन् । जस्तै रामायणमा अहिल्याको प्रसंग । गौतम ऋषिकी पत्नी अहिल्या यति आकर्षक हुन्छिन् कि ‘देवता’हरूका राजा इन्द्रले लामो समयदेखि उनीसँग यौनसम्पर्क गर्ने योजना बनाएका हुन्छन् । एकदिन गौतम ऋषि नुहाउन गएको बेला इन्द्रले गौतम ऋषिकै भेष धारण गरेर अहिल्यासँग यौनसम्पर्क गर्छन् । नुहाएर आएका गौतम ऋषिले परपुरुषसँग सम्पर्क राखेकोमा आफ्नी पत्नी अहिल्यालाई अनन्तकालसम्म ढुंगा बन्नुपर्ने श्राप दिन्छन् ।
श्री–स्वस्थानी व्रतकथामा एउटा प्रसंग छ । जालन्धर नामक असुरहरूका राजालाई सुरहरूले लडाइमा हराउन नसकेपछि त्यसको कारण खोज्छन् । जालन्धरकी पत्नी वृन्दाको ‘पतिव्रता धर्म’को कारण उनलाई मार्न नसकिएको भन्ने पत्ता लागेपछि विष्णुले जालन्धरको रूप लिएर वृन्दालाई ‘छलेर’ अर्थात् यौनसम्पर्क राखेर आउँछन् । यहीकारण अर्थात् आफ्ना पतिभन्दा अर्को ‘पर’पुरुषसँग यौनसम्पर्क गरेको कारणले वृन्दाको ‘सतीत्व हरण’ हुन्छ ।
जालन्धरको मृत्यु हुन्छ र सुरहरूले लडाईँ जित्छन् । ‘भेष बदलेको’ भन्ने मिथकलाई सही मान्ने हो भने अहिल्या र वृन्दाको दोष यत्ति हो, उनीहरूले नुहाएर आएका र लडाईँबाट आएका आ–आफ्ना पतिहरू नै ठानेर उनीहरूले चाहेको वेला यौनसम्पर्कको लागि तयार भइदिएका मात्र हुन् । पतिले चाहेका वेला, उसको यौनेच्छा जागेका वेला महिलाले तयार भइदिनुपर्ने भन्ने ‘पतिव्रता धर्म’को पालन मात्र गरेका हुन् । यदि इन्द्र र विष्णु आ–आफ्नै भेषमा आएका भए तयार नहुन पनि सक्दा हुन् भनेर कल्पना गर्न सकिन्छ । तर, आफ्ना पति ठानेर उनीहरूले चाहेका वेला यौनसम्पर्कका लागि तयार भइदिएबापत अहिल्या र वृन्दाको मात्रै पतिव्रता धर्म नष्ट हुन्छ । सरासर गएर अर्काकी पत्नीसँग यौनसम्पर्क गरेर आउने विष्णु र इन्द्र दुवैको ‘पत्नीव्रत धर्म’ भ्रष्ट हुँदैन ।
गोविन्द मैनालीको किताब छ ‘परिबन्दका पन्ध्र वर्ष’ । वैदेशिक रोजगारीको क्रममा जापानमा रहेका उनले नियमित रूपमा यौनकर्मीकहाँ जाने गरेको कुरा आफ्नी पत्नी राधालाई जानकारी गराएका हुन्छन्, जोसँग उनको पन्ध्र वर्षकै उमेरमा बिहे भएको हुन्छ । एकदिन उनी नियमित जाने गरेकै यौनकर्मीको हत्या हुन्छ, तर संयोगवश उनी त्यो दिन गएका हुँदैनन् । गोविन्द निर्दोष भन्ने बुझेकी राधाले देश–विदेशका मानवअधिकारकर्मीलाई गुहार्छिन्, साना छोरीहरूको रेखदेख गर्ने, बारम्बार जापान जाने र आउने काम सँगसँगै गर्छिन्, गोविन्दलाई निर्दोष प्रमाणित गर्न वर्षौँ लड्छिन् । अन्ततः उनी जेलमुक्त हुन्छन् । किताब पढ्दा राधा एक असाधारण साहसी महिला हुन् भन्ने त प्रमाणित हुन्छ नै, आफ्ना श्रीमान्को यौन जीवनप्रति उनको उदारता पनि असाधारण देखिन्छ ।
राधाको उदारताको पराकाष्ठा यतिसम्म छ, उनले गोविन्दलाई जेलमा भेट्न जाँदा सुरक्षाकर्मीको आँखा छल्दै माथिल्लो हरको लुगा माथि सारिदिएर ‘सन्तुष्टि’ दिलाउने कामसमेत गर्छिन् । राधा अवश्य प्रशंसनीय महिला हुन् । तर, पन्ध्र वर्षमै भएको बिहे र त्यसको केही समयपछि पति छुट्टिएर विदेश गएपछि राधाको यौनजीवन कस्तो रह्यो भन्नेमा न किताबले उल्लेख गर्छ न हामी कसैलाई त्यसको चासो रहन्छ ।
किताब पढ्दै गर्दा लागिरहन्छ, विदेशमा कुनै पत्नीले त्यसैगरी मलाई कहिलेकाहीँ ‘चाहिन्छ’ त्यसैले यौनकर्मीकहाँ जाने गरेकी छु भनेर जानकारी गराएको कतिजना पतिले सहँदा हुन् ? अझै ऊ जाने गरेकै यौनकर्मीको हत्यामा पत्नीले निर्दोष छु भनेको कुरामा विश्वास गरेर उसका लागि त्यति लामो लडाईँ लड्दा हुन् ? उल्टो नेपालमा त यस्ता सयौँ महिला छन्, जो विदेशमा बलात्कृत भएर आउँदासमेत पति र परिवारबाट स्वीकार नगरिएका कारण अलपत्र परेका छन् ।
संस्थागत छ नियन्त्रण
महिलाको यौनिकता र यौन जीवनमाथिको निगरानी, नियन्त्रण र आक्रमण धार्मिक व्याख्या र सामाजिक मान्यतामा मात्र सीमित छैन । महिलाको पाठेघरमाथि कानुनले नै नियन्त्रण गरेको छ । हाम्रो यौनिक तथा प्रजनन अधिकार र पहिचानलाई देशको कानुनमार्फत नै बाबु र पति नामक पुरुषको अधीनस्थ बनाइएको छ । आमाको मात्रै एकल पहिचानबाट बच्चाका कुनै पनि कानुनी कागजात सहजै बन्दैनन् ।
कुनै महिलाले बाबुकै नामबाट नागरिकता लिनुपर्ने बाध्यता छ चाहे उक्त बाबुले आफूलाई बलात्कार नै गरेको किन नहोस् । नागरिकता नबन्दै बिहे गरेका महिलालाई उसको पति नै उसको वंशज भनेर उसैको नामबाट नागरिकता लिन बाध्य बनाइन्छ । नागरिकता नबन्दै बिहे गरेका र केही समयमै लोग्नेले छाडेर हिँडेपछि आफूले नागरिकता र छोराछोरीले जन्मदर्तासमेत नपाएका महिलाको संख्या ठूलो छ ।
बिहे गरेका र कथित सुखी वैवाहिक सम्बन्धमा रहेका महिलाको पनि बच्चाको नागरिकता बनाउनुपर्दा ‘आमाको नाम’ भनेर लेखिने कोठामा दुईथरी प्रावधान पुरा गरेको खन्डमा मात्र आमाको नाम लेखिन्छ । या त आमाले बिहेपछि लोग्नेको थर राखेर लोग्नेलाई नै आफ्नो ‘वंशज’ ठानेर नागरिकता निकालेको हुनुपर्छ । या बच्चाको बाबुसँगको विवाह दर्ताको प्रमाण पत्र पेस गर्नुपर्छ । अर्थात् आमाको मात्रै एकल पहिचानबाट नागरिकता दिनु त परको कुरा, बाबुको नामसँगै आमाको नाम लेखिदिन मात्र पनि उसले उक्त बच्चा ‘फलानाकी श्रीमती बनिसकेपछि मात्र जन्माएको’ भनेर प्रमाणित गर्नुपर्छ । जब कि बाबुले ‘फलानीको श्रीमान् बनेर यो बच्चा जन्माएको’ भनेर प्रमाणित गर्नुपर्दैन । बाबुको नाम भनेर लेखिने खण्डमा सीधै बाबुको नाम लेखिन्छ ।
संविधान त विभेदकारी छ नै, संशोधित नागरिकता विधेयकमा समेत महिलाका लागि अमर्यादित प्रावधानहरू राखिएका छन् । कुनै आमाले आफ्नो बच्चाको नागरिकता निकाल्नको लागि बच्चाको बाबु वर्षौँदेखि सम्पर्कमा नआएको वा सम्पर्कमा भए पनि नाम खुलाउन नचाहेको अवस्थामा ‘बाबुको पत्तो नलागेको स्वघोषणा गर्नुपर्ने’ प्रावधान राखिएको छ ।
बाबुको पत्तो नलागेको स्वघोषणा गरिसकेपछि आमाको नामबाट नागरिकता प्राप्त गरेको बच्चाको बाबु फर्केर आएमा आमाले कडा सजायको भागीदार हुनुपर्नेसमेत भनिएको छ, जुन अत्यन्त अमानवीय हो । किनभने नेपाली समाजमा कुनै पुरुष तीसौँ वर्ष बेपत्ता भएपछि फर्के पनि लाजै नमानी श्रीमती र छोराछोरी भएको ठाउँमा जाने र उनीहरूले विनाप्रश्न स्वीकार्ने चलन सामान्य हो ।
यस्तोमा बाबु फर्केर आएपछि आमाले बच्चालाई उसको अनुपस्थितिमा आफ्नो नामबाट नागरिकता बनाइदिएकै आधारमा सजायको भागीदार हुनुपर्ने भन्ने प्रावधान बर्बरताको हद हो । नागरिकतासम्बन्धी कानुन कठोर र अमर्यादित त छन् नै, यतिले नपुगेर सांसदले समेत नै आमाको एकल पहिचानबाट सहजै नागरिकता बन्ने प्रावधान बने नेपाली महिलाले ‘व्यभिचार’ बढाउँछन्, उनीहरूले विदेशी बच्चा पाउने अभियान चलाउँछन्, जस्ता अभिव्यक्ति संसद्भित्रै दिन्छन् ।
कसकी श्रीमती भएपछि वा कोसँग यौनसम्पर्क गरेपछि जन्माएको बच्चा हो भनेर स्पष्टीकरण दिइसकेपछि मात्र आफ्नो बच्चाले ‘नागरिक’को मान्यता पाउने कानुनले हाम्रो देशका महिलाको प्रजननको अधिकार हनन गरेको छ । आमाको एकल पहिचानबाट बच्चाले चिनिन नपाउने कानुन भएको कारण अविवाहित महिला एकल मातृत्वको हक प्रयोग गर्न चाहेको खण्डमा पनि गर्न नपाउने स्थितिमा छन् ।
ठूलो संख्यामा विवाहित पुरुषहरू वैदेशिक रोजगारीमा भएका कारण विवाहित महिलाको पनि प्रजननको प्रकृतिप्रदत्त अधिकार खोसिएको छ । किनभने कतिपय पतिहरू विदेश गएको दस पन्ध्र वा बीस वर्षपछिसम्म पनि फर्केर आउँदैनन् र उनीहरूको प्रजनन गर्ने उमेर बितिसक्छ । कसैसँग सम्बन्धको औपचारिक धागोमा बेरिँदैमा महिलालाई उसको प्रजनन अधिकारबाट वर्षौंवर्ष वा जीवनभर नै वञ्चित गराउन पाइने हो कि होइन भन्नेसम्मको निर्मम बहसको संघारमा हामी उभिएका छौँ । तर, त्यसको ठीक विपरीत हामीकहाँ महिलाको यौनिकताकै आधारमा उनीहरूमाथि धार्मिक, सामाजिक र कानुनी रूपमा गरिएको निगरानी, नियन्त्रण र आक्रमण बर्बर छ ।